तपाईं पनि मजस्तै
पक्कै पनि समुद्रप्रेमी हुनुहुन्छ,
सायद मैले जस्तै कहिलेकाहीँ
किनारमा घन्टौँसम्म बसेर
समुद्र-सुधा पान गर्नुहुन्छ।
पुरी, पुदुचेरी ,
दिघा वा गोपालपुरबाट फर्केर आएपछि
रातभरि अनिँदो बसेर समुद्रको नीलो जलराशि
र छालहरूको ऊर्मिलाई लिएर
सायद मैले जस्तै तपाईंले पनि
एउटा कविता लेख्नुभयो,
तपाईं पनि त मजस्तै
समुद्रको प्रेमी हुनुहुन्छ।
तर हामीले त कहिल्यै सोधेनौँ,
समुद्रले हामीलाई मन पराउँछ कि पराउँदैन।
तपाईंले पनि पक्कै मैले जस्तै
वनजङ्गललाई माया गर्नुहुन्छ,
समय पाउनासाथ अवश्य
वनजङ्गलतिर जानुहुन्छ,
चराहरूको गीत सुन्नुहुन्छ,
रुखको छाया लिनुहुन्छ,
गोरेटो छुँदै जानुहुन्छ।
वनजङ्गलको शरीर निस्तब्धतामा डुब्दैन र?
अरण्यको गन्ध लिएर सायद फर्केर आएपछि
रातभरि अनिँदो बसेर मैले जस्तै वनजङ्गललाई सम्झेर
तपाईंले पनि एउटा कविता कोर्नुहुन्छ,
तपाईं पनि त मजस्तै वनजङ्गलप्रेमी हुनुहुन्छ।
तर हामीले कहिल्यै सोधेनौँ,
अरण्यले हामीलाई मन पराउँछ कि पराउँदैन।
के ठीक,
समुद्रले सायद आकाशको नीलोपनलाई माया गर्छ,
र अरण्यले निस्तब्धतालाई।
के ठीक,
समुद्रलाई हामी मन नपरौँला,
अनि वनजङ्गललाई पनि।
हुन सक्छ हामी समुद्र र अरण्यका घृणाका पात्र पो हौँ,
जुन कुरा उनीहरूले मुख खोलेर हामीलाई प्रत्यक्ष भनेनन्,
तर भनेका छन् उनीहरूका मित्रहरूलाई।
के ठीक,
समुद्र र वनजङ्गललाई हामीलाई देख्नासाथ
एक झापड हान्न मन लाग्ला।
तैपनि समुद्र वा वनजङ्गलले हामीलाई केही
नदिइकन कहिल्यै फर्काएनन्,
प्रकृतिले यसरी नै सिकाउँछ प्रेमको पाठ।
दुई हात कहिलेकाहीँ आफै जोडिन्छन्,
सायद कृतज्ञता वा क्षमा-प्रार्थनामा,
आजसम्म थाहा छैन।
मूल असमिया कविता: फणीन्द्र कुमार देव चौधुरी अनुवाद: डा. देवेन सापकोटा
१) पुदुचेरी (पण्डिचेरी), दिघा र गोपालपुर समुद्रको तटमा भएका ठाउँहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










