यात्रा आरम्भ गरेको ता एक्लै थियो । आज फर्केर हेर्दा दुई दशक नाघेछन् । पहिलोपल्ट टेकेका पाइलाहरू मेरा ‘उत्तरआधुनिक ऐना’ (२०६२) र ‘उत्तरआधुनिक विमर्श’ (२०६४) थिए । तिनै ग्रन्थमा मैले नेपाली साहित्यमा पहिलो पल्ट परिवृतीय/पर्यावरणीय साहित्यको वीजारोपण गरेको थिएँ । त्यहाँ ती तत्त्वको परिचय थियो ।
त्यसपछि यो विरुवा कुन खडेरीमा पुगेर मर्छ कि भन्ने भयले छोपिरहन्थ्यो । एउटा नवीन चेतनाको वीजारोपण गरेँ भन्ठानेर किञ्चित सन्तुष्टि पनि लिन्थें । एउटा नयाँ चिन्तकको भनाइबाट मनोबल लिन्थेँ— “आज म लहरा जेउला पन्साउँदै काँढाहरू टेक्तै, यो पहाड चढ्ने मार्गका बुटाहरू फाँड्दै यहाँसम्म आइपुग्दा थाकिसकेछु । तर भोलिका तपाईंहरू यहाँसम्म त मेरा खुडकिला टेक्तै सरासर नथाकी आइपुग्नु हुन्छ । त्यसपछि माथिमाथि चढ्ने खुडकिला कप्तै जानुहोला ।”
मलाई ठीक त्यस्तै अनुभूति हुन्छ किनभने परिवृत्तीय साहित्यका दुई दशकपश्चात् हेर्दा गणना गर्दा तीनजना शोधार्थीले यस विषयमा विद्यावारिधि सम्पन्न गर्नुभयो । विश्वविद्यालयले यस पाठ्यक्रमको स्वागत गर्यो र अन्य शोधार्थी थपिए । अध्येताहरूले यस विषयलाई अँगालेर अघि बढने उत्साह राख्नु भएको छ । यतिखेर नेपालमा आयोजित स्तरीय गोष्ठी वा सम्मेलनमा पर्यावरणीय साहित्य एउटा अनिवार्य विषयजस्तो हुन थालेको छ ।
गत वर्ष (२०८१) भएका सम्मेलन पोखरा (लिट्रेचर फेष्टिवल), चितवन (साहित्य परिषद्), इलाम लिट्रेचर फेस्टिवल प्रत्येकमा एउटा शीर्षक पर्यावरण र साहित्य थियो । अन्यत्रबाट पनि यस विषयप्रति सचेतताका सुसमाचार आइरहेका छन् । नेपाल भारतका गोष्ठीहरूमा पनि यो विषयको उठान हुन्छ । केही अघि दार्जेलिङको सेन्ट जोसेफ कलेजले यस विषयको साहित्य गोष्ठी राख्यो जसमा यताबाट प्रा. अभि सुवेदी, महेश पौड्याल, खगेन्द्र प्रसाई र देवेन्द्र पौड्यालले आआफ्ना वार्ता प्रस्तुत गर्नुभयो ।
यो क्रमिक रुपले अघि बढेको उन्नति हो तर अझै पनि हामी फेदीमै छौं । हाम्रा देशमा पनि रुख–वृक्षबारेको चेतना ता सय वर्षअघिदेखि नै सरकारले फैलाउँदै आएको हो । धनकुटाको सल्लेरी वन अथवा इलामको चिया बगान देशभरि यस्ता कति वनोद्यान र फलफूल बगान, कति हरिया उद्योग छन् । पर्यावरण साहित्य नआउँदैका प्रकृति र मानव सम्बन्धका प्रेमले ती गरिए । तर अब मानवको मात्र हितमा केही सोचेर नहुने दिन आएको छ । यो विश्व भनेको बोल्ने नबोल्ने सबैको, जीवित निर्जीव सबैको बरावर हक लाग्ने ठाउँ हो भन्ने चेतना जागृत भएको छ । यस सिद्धान्त मार्गको कार्यान्वयनमा कहाँ–कहाँ अवरोध छन्, तिनको समाधानमा सचेतता बढाउनु परको छ ।
त्यसैले अबको पर्यावरण वन विभाग, सफाइ विभाग, उद्योग र विकाश विभागको नियम–कानून भित्र मात्र सजाएर नपुग्ने भएको छ र यसलाई साहित्यमा, कलामा अथवा सिर्जनाका विभिन्न विधामा र तिनको समालोचनामा गम्भीर रूपले प्रवेश गराउनु परेको छ । गैंडा अथवा बाघ मार्नेलाई अथवा सखुवाको रुख ढाल्नेलाई पचास वर्षअघि पनि दण्ड सजाय थियो । तर त्यसरी कानूनले मात्र संरक्षण गरेर साध्य हुँदैन । ती प्रयत्नहरू शरीरको बाहिरी भागमा दलेका दवाई जस्तै हुन् । शरीरको भित्रैदेखि अर्थात् हड्डी, स्नायू र मांसपेशीदेखि नै भरेर ल्याउनुपर्छ । अर्थात् त्यस्ता जीव र वनस्पतिको विनाशले, तिनका वासस्थानका क्षतिले के के हानी हुन्छ र त्यसको दुष्प्रभाव कहाँसम्म पुग्छ भन्ने चेतना र ज्ञानको विस्तार आवश्यक छ ।
चालीसको दशकदेखि नै त्रिवि अन्तर्गत अंग्रेजी विभागको पाठ्यक्रममा पर्यावरणीय चेतनाका पाठ— सिद्धान्त र विशेष गरी कविता निबन्ध पढ्न थाल्यौं । पहिलो पुस्ताका अन्तर्राष्ट्रिय स्तरका अग्रणी प्रा. श्रीधर लोहनी, मोहन लोहनी, डीपी भण्डारी, अभि सुवेदी जस्ता विद्वानहरूले विश्व हेरेर ल्याएका ती सन्देश थिए । हामीले तिनै दिनमा रचेल कार्सनको ‘साइलेन्ट स्प्रिङ’ पढ्यौँ । त्यताबाटै प्रेरित भएर मैले सर्वप्रथम पर्यावरणीय साहित्यलाई अल्पमात्रामा भए पनि चिनाउन थालेको थिएँ ।
केही वर्षपश्चात् बेलायत पुगेको बेला मैले भाइ विजय हितानलाई भेटेँ । उनी पर्यावरण विषयमै उच्च अध्ययन गरेका नेपाली रहेछन् । मेरो पुस्तक ‘उत्तरआधुनिक विमर्श’मा समाविष्ट पाठप्रति उनी पनि आकर्षित भए र उनले आफ्नो साहित्यिक इच्छा र कर्मको रुचिलाई क्रमशः यतैतिर फर्काए । गर्दागर्दै बितेका १५ वर्षमा उनले एक दर्जन कृतिको रचना र सम्पादन गरे, सबै पर्या साहित्य विषयका ।
विजय जस्तो समर्पित पात्र भेटेपछि मेरो पनि मनोबल बढ्यो; म दह्रो गरी यतातिर हिँड्न लागेँ । मेरो साथले उनको मनोबल झन् सारो बढेछ, उनी ता कुध्नै पो लागे ।
वास्तवमा पर्यावरण भन्ने कुरा यो पृथ्वीको आवरणदेखि भित्री आँतसम्म अध्ययन गर्ने तीन दर्जन जति विभिन्न विधाको समष्टि रूप रहेछ । पृथ्वीको अस्तित्वलाई भूगोल, इतिहास, संस्कृतिले पढ्छन्, अझ भित्र पसेर भूगर्भशास्त्र, त्योभन्दा गहिरो जीव विज्ञान, मृत्तिका विज्ञान, जलवायु परिवर्तन, जलस्रोत यस्ता विषयको जालो रहेछ । साहित्यसँग प्रत्यक्षतः जोडिएको देखिन्न । तर हरेक स्रष्टाले आफ्ना परिवेशका ज्वलन्त समस्याहरू नदेखे जस्तो गरेर अरु प्राणी बनस्पतिसँगै हामी साराको आवास र परिवेश क्रमिक रूपले समाप्त हुने सम्भावनालाई भुल्न सक्तैनौं ।
यही बोधले होला हामीले संगठित भएर पर्यावरणीय साहित्य/समालोचनाका विषयमा ध्यान दिन थालेका थियौं । सन् २०२३ मा ‘नेपाली पर्या साहित्य प्रतिष्ठान’को स्थापना भयो । यो नेपाली जगतको प्रथम प्रतिष्ठान थियो जसको अध्यक्षता उनै विजय भाइले ग्रहण गरे । त्यसपछि यसले वार्षिक सम्मेलन गर्न थाल्यो । त्योभन्दा पहिले सन् २०१६ देखि विजयले वातावरण साहित्य गोष्ठी नाम राखेर वार्षिक सम्मेलन गर्दै आएका थिए । यसअघि नौवटा सम्मेलन सम्पन्न भइसके अब हुने दशौं वार्षिक पर्या साहित्य सम्मेलन जेष्ठ १७, २०८२ (मई ३१, २०२५) का दिन हुनेछ । जसमा ‘प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह’ पनि लोकार्पित हुनेछ ।
साथै यस संस्थाले धेरै सह–चिन्तक स्रष्टा पनि जन्मायो । अनेक कृति पनि प्रकाशन गर्न थाल्यो । खासगरी ‘स्वच्छन्द सुसेली’ (कवितासङ्ग्रह भाग १— वि स २०७४ र भाग २– वि स २०७७) महत्त्वपूर्ण सङ्ग्रह हुन् । त्यसपछि विजय भाइको ‘ब्लू प्लानेट’ ( वि.स. २०७४), र दुई वर्ष अघि ‘पर्या साहित्यः सिद्धान्त र सिर्जना’ (वि.स. २०८०) आए । यो पछिल्लो कृतिका सम्पादनमा हामी दुवै जुट्यौं ।
नेपाली साहित्यमा यो कृति (निबन्धसङ्ग्रह) पर्या साहित्यको एक कोशेढुङ्गा हो भन्ने लाग्दछ । हाम्रो संस्थाका तीन चार वर्षका परियोजना यस्तैमा व्यतीत भए । तर हाम्रा प्रयत्नको प्रतिध्वनि टाढा टाढासम्म पनि पुग्यो । आसाममा समेत हामीले दुईपल्ट प्रस्तुति राख्यौं । उतातिर सिर्जनामा डा. देवेन सापकोटा (कविता/कथा) र सिद्धान्तमा ज्ञानबहादुर क्षत्री अघि लाग्नाले गर्दा आज पर्या विषयक निकै स्रष्टा अघि आउँदैछन्— छत्रमान सुब्बा, विशाल क्षत्री, नीलिमा आचार्य, कुञ्जदेवी, पुरुषोत्तम उपाध्यय आदि ।
यता दार्जेलिङ सिक्किमलाई प्रभावित गर्नेगरी उदाएका विद्वान छन्— सिक्किमका डा. देवचन्द्र सुब्बा, कविता र कथामा दार्जेलिङका मनप्रसाद सुब्बा, नाटकमा सिलिगुढीका मुक्ति उपाध्याय बराल र कविता अनि विचारमा राजा पुनियानी । यो राम्रो सङ्केत हो । तर यसको सिद्धान्त पढ्न गाह्रो छ र पढिएको सिद्धान्तलाई व्यवहारमा उतार्न पनि गाह्रो छ । ज्यादाजसो ता सिद्धान्तकै खेल छन्— जलको, वायुको, आकाशको, प्रकाशको सबै मिलेर जमीनमा प्रभाव पार्दछन् । जमीनका प्रदूषणले अरु तत्त्व प्रभावित हुन्छन् । विशेषगरी सम्पूर्ण अध्ययन मानव व्यहार केन्द्रित हुन्छन— उसको लोभले, स्वार्थले, करुणा विहीन हृदयको शुष्कताले गरे–गराएका दुष्कर्षहरूको दृष्टान्त दिनु पर्दछ ।
वर्षैपिच्छे योजना बनाउँछौं, यो सानो गोरेटो अलिक फराक पार्ने इच्छाले । गत वर्ष हाम्रो प्रतिष्ठानले एक चिन्तन गर्यो— अबको पर्या साहित्य उत्सव कसरी सम्पन्न गर्ने भन्ने विषयमा । अन्त्यमा एक सार निस्कियो— शुरुका वर्षमा पर्यावरणीय कविताको आह्वान गर्यौं । कविता धेरैतिरबाट आए र दुई वर्षसम्म उत्सव गर्यौं, धेरै जानकारी भयो । फेरि कथाको गर्यौं । विजय भाइको ‘ब्लू प्लानेट’ भित्रका कथा विविध विषय छोएर आउने नमूना भए । अब हामी यसपालि पर्यावरणीय निबन्ध प्रतियोगिताको लागि आह्वान गरौँ भन्ने सोच आयो ।
मनमा सन्देह थियो, नेपाली स्रष्टा/पाठकले यसका नमूना गुरुकापी पढ्न पाएका छैनन। त्यसैले कविता जसरी निबन्ध नआउने पो हुन् कि भन्ने भय थपियो । तर सम्पूर्ण यसको उत्तरदायित्व पालना गर्ने कार्यमा विजय हितान भाइ समर्पित भएर लाग्नुभयो । ‘साहित्यपोस्ट’ले समय समयमा सूचना गर्दै रह्यो । विजय भाइले प्रतियोगितालाई ‘फलो अप’ गर्दै मलाई अपडेट गराउदै गर्नुभयो । ‘बीस पुगे सर’ भन्नु हुन्छ; केहीपछि चालीस, फेरि पछि सत्तरी, फेरि ‘तोकिएको समयभित्र एकसय नाघे’ भन्नु भो । यसरी जम्मा १०८ प्रतियोगी निबन्ध प्राप्त भए, हामी आश्चर्यमा पर्यौं । हाम्रा स्रष्टामा कत्रो तीर्खा रहेछ, कत्रो उत्साह । त्यसपछि सर्वप्रथम ता एउटा स्वतन्त्र समितिले ती निबन्धको प्रारम्भिक छनौट (स्क्रीनिङ) गर्यौं र ३२ निबन्ध छुट्यायौं । तीनको पनि योग्यता क्रम जाँच गर्ने, तीन सदस्यीय स्रष्टाको अर्को समिति बन्यो । पारिश्रमपूर्वक लागेर उहाँहरूले दिनुभएको परिणाम नै आज सार्वजनिक भएको छ ।
नेपाली साहित्यमा नै यस्तो व्यापक सहभागिताका लागि आह्वान गर्ने अत्यन्तै राम्रो संस्कार आरम्भ भएका तीन वर्ष बिते । सर्वप्रथम बाह्रखरीले २०७६ देखि नेपाली कथाको यस्तो प्रतियोगिता आरम्भ गर्यो, त्यसपछि गत वर्ष (२०८१) चितवनको भरतपुर महानगर पालिकाको प्रज्ञा–प्रतिष्ठानले, त्यसपछि नेपालगन्जले, साथै चक्रपाणि चालिसे प्रतिष्ठान भक्तपुरले । उनीहरूले ती सङ्कलित प्रतियोगी रचनाको सङ्ग्रह पनि निकाले । तिनमा अन्तर्राष्ट्रिय चेतनाका प्रतिस्पर्धी कथा प्रकाशित छन् । नेपाली कथा विधामा यो एउटा नव प्रस्थानविन्दु हो । नयाँ शक्ति र चेतनाले कथा लेख्न जान्ने नयाँ पुस्ता पुराना स्थापितसँग जोडिएर एकैचोटि आकर्षक नव–चौतारीमा उभिए । यी त डिजिटल पुस्ताका स्रष्टा हुन् ।
ती कर्मबाट प्रेरित भएर हामीले पनि पर्या निबन्ध प्रतियोगिताको परिकल्पना गर्यौं । यो नेपाली निबन्ध साहित्यमा प्रथम प्रयत्न थियो । संयोगले हामीले सोचेभन्दा धेरै स्रष्टा यसमा संलग्न हुनुभयो । हर्षको सीमा रहेन तर सङ्ग्रहमा सहभागी समावेश गर्ने सीमा रहेछ । यो व्यक्तिगत उत्साहको भरमा नेपाली साहित्यको प्रेमले गरिएको कर्म हो— यसमा कतैबाट कुनै सहयोग छैन । अहिलेको सरकारले पनि यस्ता फलदायी कर्मतिर लगानी गर्न भनेपछि घोर अनिच्छा प्रकट गर्दछ किनभने यसले कुनै पाटिको निहित स्वार्थमा सघाउ पुर्याउँदैन । विश्व कला साहित्य कहाँ पुग्यो, हामी कति पछि परेका छौं, भन्ने चिन्ताले मात्र हामी यता लागेका हौँ । सरकारलाई त्यतातिर चिन्ता हुँदैन ।
मूल्याङ्कन सम्पन्न भएपछि प्रकाशनपूर्व एकसर्को एक सय आठवटै निबन्ध पढेँ । मैले नवीन चेतनाले हेर्न सक्ने नेपाली आँखाहरू सचेत भएको देखेँ । सर्वप्रथम ता नेपालदेखि टाढाटाढा अनेक सुदूर भूमिमा स्रष्टाहरूको अभिरुची र सहभागिता देखिनु ठूलो कुरा हो । दोस्रो नेपाली हिमाल पर्वत, हिमराशि, उताको जनजीवनदेखि पहाडी क्षेत्रको परिस्थिति, विकास र विकृति, सुनसान र निर्जनताले ढाक्तै गरेका ठाउँ, खेतीमा हुर्केका जंगल र शहर निर्माणको डरलाग्दो चाप अनुभव गर्न बाध्य भइयो । कति त देश छोडी जानेहरूको अतीत प्रेम र प्रलाप आदि छन् । केही जनगोष्ठीबाट राम्रो प्रतिनिधित्व पनि भएको छ । काठमाडौं उपत्यताको परिवेश छुने तीन चार लेख छन् । तर तराई प्रदेशको जनगोष्ठी र त्यहाँको पर्यावरण चित्र आएन । खासगरी संहार खपिरहेको चूरे प्रदेश, संरक्षण क्षेत्र, अति दुर्लभ जीवजन्तुमाथिको सांघातिक आघातले आवाज पाएनन् ।
यी निबन्धहरूमा केही प्राज्ञिक प्रस्तुतिको रूपमा गनिने तथ्याङ्कले युक्त छन् केही प्रभावपरकता, केही सुन्दर संस्मरणात्म छन् भने केही सामान्य वर्णनहरू ।
त्यसो त निर्मूल हुन लागेका अथवा जोखिममा परेका जीव, प्राणी, वनस्पतिको संरक्षणमा समर्पित अनेक व्यक्ति र संस्था छन्— पन्छी समाज, जटायु संरक्षण, वाघ संरक्षण, सालक संरक्षण, सर्प, पाण्डा, गैंडा, भालु संरक्षण यस्ता अनगिन्ती संस्था र तिनका पछि लागेका व्यक्ति छन् । तिनको विवरण विजय भाइको खण्डमा प्रस्तुत छ । त्यसको सूचना राख्ने एक तिर्खालु व्यक्ति उहाँ नै हुनुहुन्छ । नदी, वन, चुरे, हिमाल, लोपोन्मुख वन्यजन्तु तथा वनस्पति संरक्षण समूहहरू, र क्लाईमेट चेन्ज एक्टिभिष्टहरू देशभरि छन् । वन तथा वन्यजन्तु विज्ञानका ज्ञाताहरू, कृषिविज्ञहरू, वायुप्रदुषण तथा फोहर व्यवस्थापनविज्ञहरू, जलवायु परिवर्तनविज्ञहरू धेरै धेरैले यस्तो चिन्ता गरेका छन् । तर अझै पनि हामीलाई साहित्यमै जानु छ किनभने साहित्य भनेको सर्वाधिक गहिरो गरी व्यापक रूपले भिज्ने, भिजाउने पढिने र मानव चेतनालाई प्रभावित गर्ने माध्यम हो । पर्या कथाका नमूना भन्नासाथ हामी विजय हितानका ‘ब्लू प्लानेट’का १५ रचना सम्झिन्छौं । प्राविधिक भाषालाई सरल बनाइ सुबोध्य शैलीमा प्रस्तुत गरिएका नेपालका बेग्लाबेग्लै संरक्षण चिन्तासँग जोडिएका विचार छन् त्यसमा ।
आजसम्म पर्या निबन्धको नेपाली नमूना थिएन । यद्यपि गतवर्ष नै शारदाको पूर्णाङ्क १२७ (२०८१) ले प्रथम पर्या विशेषाङ्क प्रकाशित गर्यो । त्यसैगरी शब्दांकुर मासिकले वर्ष २३ पूर्णाङ्क २७५/२०८१ भदौलाई पर्या कविता विशेषाङ्क बनायो । व्यक्तिगत रूपले पर्यावरणीय रचना/सङ्ग्रह निकाल्नेहरू ता धेरै पुग्नु भयो । गोरखपुर भारतबाट प्रकाशित विश्वप्रशिद्ध हिन्दी जर्नल कल्याणले वर्ष ९९ (२०२५) पर्यावरण अंक विशेषाङ्क प्रकाशित गर्यो । यो नेपालमा पनि उपलब्ध छ । तर यसले धार्मिक दृष्टिले वृक्ष वनस्पतिको मात्र वर्णन गर्दछ । जस्तै— उद्यानको सृङ्गार— सुगन्धित झाडीहरू, नवग्रह र उनका वृक्षहरू, आयुर्वेदोक्त वृक्ष–विज्ञान, तुलसी महीमा, किसानको मित्र वृक्ष इत्यादि । यो दृष्टिले क्लासिकल प्रकृतिको पर्यावरणीय चेतनालाई स्थापित गर्दछ । हाम्रामा लेखनाथ पौड्याल वा देवकोटाका प्रकृति वर्णन र पूजाका क्षण हेरौं— तर समकालीन यथार्थ भिन्न छ ।
अब हामीलाई रचेल कार्शनको ‘साइलेन्ट स्प्रिङ’, अलन् वेइज्म्यानको ‘द वल्र्ड विदाउट अस्’, सल्मानको ‘डेजर्ट सोलिच्यूड’, नेल्सनको ‘अदर टू अन्टार्काटि’का जस्ता आख्यानेतर गद्य कृति पढ्ने र आफ्नो देशको स्थितिबारे त्यसरी लेख्ने पुस्ता चाहिएको छ । त्यसैगरी अब पर्यावरणीय आख्यान लेख्नेले रिचार्ड पावर्सको ‘ओभरस्टोरी’, जस्ता कृति पढेर नेपाली पर्यावरणमा आधारित आख्यान रच्ने स्रष्टाको आवश्यकता छ । हामीले अविनाश श्रेष्ठ, सरुभक्त, मनप्रसाद सुब्बा, देवेन सापकोटाका कविता, तेराख र अनिता पन्थीका उपन्यास, अमर नेम्बाङका निबन्धलाई आधार मान्नु पर्दछ । तर अबका परिस्थिति अलग छन् ।
त्यसैगरी बार्बरा किङसोल्मरको ‘फ्लाइट बिह्याभियर’ बेष्ट क्लाई-फाई (जलवायु परिवर्तन) आख्यान गनिएको छ ।
हामीले यसरी एक नव पथको यात्रा आरम्भ गरेका छौं ।
यसपालि ३२ वटा छानिएका निबन्ध प्रकाशित गरेर नेपाली साहित्यमा एउटा ऐतिहासिक अभियान आरम्भ भएको घोषणा गर्दछौं । अर्कोपल्ट दुई वर्षको समय दिएर यो प्रतिष्ठानले स्रष्टा समक्ष पर्यावरणीय आख्यान वा नाटकका पाण्डुलिपि आह्वान गर्यो भने आश्चर्य नमान्नु होला । त्यसैगरी यस विषयका सिद्धान्तकार एवम् समालोचकको एक नवीन प्रजन्म अघि आउने बेला भएको छ । किनभने हाम्रो प्रतिष्ठानले क्रमिक रूपले यसका विविध स्वरूप र प्रकृतिका विधाको उत्पादनतिर नेपाली जातिलाई डोर्याउँदै लानेछ ।
यस अघिको हाम्रो अन्तिम प्रकाशन ‘पर्या साहित्यः सिद्धान्त र सिर्जना’ (२०८०) थियो । यसले त्यस विषयका अध्येतालाई नेपालको सन्दर्भसँग जोडेर अलिकति मार्ग निर्देशन गर्न सक्यो होला भन्ने छ । यसपालिको प्रकाशन अझ ठूलो महत्त्वको छ । पर्यावरणीय निबन्धको प्रथम प्रमाण हाम्रा प्रिय पाठक समक्ष प्रस्तुत छ । यो पूर्ण छैन, झाडी जंगल पन्साउँदै खनिएको पहिलो गोरेटो हो । यसलाई राजमार्ग बन्न धेरै लाग्ला । तर यो नेपाली साहित्यको प्रथम प्रयत्न हो र समयले यस कर्मलाई बिर्सने छैन ।
विजय हितान जस्ता आँटिला भाइ स्रष्टाको साथ पाएर म पनि नयाँ सपना देख्तैछु । उनका समर्पण त्याग र प्रयत्नहरू निस्वार्थ भएकैले प्रशंसनीय छन् । आफ्नो देश र जातिको हितमा समर्पित यी अथक योद्धा बेलायतको एउटा कुनामा बसेर सधैं आफ्नै भूमिको सपना देख्छन् । अन्य पनि धेरै जना यस्ता भाइ र बैनी हुनुहुन्छ तर आज विजयको मात्र नाम लिएर म यहीं रोकिन्छु ।
हामी एक्लै भए कहाँ पुग्थ्यौं होला र ? तर धेरै हितैषी, प्रेमी, सहकर्मी वरिपरि हुनुहुन्छ । तीमध्ये एक उल्लेख्य संस्था साहित्यपोस्ट नामक अनलाइन साहित्य प्रकाशन र यसका परिवार हुन् । साहित्यपोस्टले नेपाली साहित्यलाई डिजिटल युगमा पुर्याएको छ । यसले संसार जोड्दैछ र साहित्यपोस्टमा आफ्ना रचना प्रकाशित हुनुलाई स्रष्टाहरू गौरव ठान्दछन् । हाम्रो पर्यावरणीय साहित्यको विस्तारमा पनि आरम्भदेखि नै साहित्यपोस्टले पुर्याएको सहयोग बिर्सिनसक्नु छ । हामी अश्विनी कोइराला र उनका परिवारको गुनलाई सदा सम्झिने छौं ।
यो कृति आफैं बोल्नेछ । बाँकी ७६ वटा उत्तिकै राम्रा निबन्धहरूले भविष्यमा पालो पाउलान् । यसपालिको लागि ३२ जना चयनित रचना समाविष्ट कृति नेपालीमा प्रथमः पर्या निबन्ध सङ्ग्रहमा पढ्नु होला । तिनमा ठूलो विविधता पाइन्छ । अझै हामीले पत्ता नलगाएका कति हो कति विषय र क्षेत्र छन् । यो ता पृथ्वी विज्ञान रहेछ, यो साराको अस्तित्व विज्ञान रहेछ ।
यसपालिको प्रतिनिधित्व सन्तोषजनक छ । खासगरी नारी स्रष्टाको उत्साहले ठूलो अर्थ राख्तछ । यद्यपि सङ्ग्रहमा केही नमूना (अतिथि) रचना राख्ने उद्देश्यले आह्वान गर्दा जम्मा पाँच स्रष्टाका रचना प्राप्त भए र तिनलाई अतिथि स्रष्टा स्तम्भमा राखेका छौं । ती हुन्— मनप्रसाद सुब्बा, ज्ञानबहादुर क्षत्री, विष्णुसिंह राई, विजय हितान र गोविन्दराज भट्टराई । यस खण्डका लागि नारी अतिथि पाउन सकिएन, हामी सचेत नभएर होइन ।
यस ऐतिहासिक कर्ममा समर्पित सबै प्रति हार्दिक धन्यवाद । यो साहित्य सिद्धान्त, विचार, चिन्तन, प्रयोग सबैतिरको उत्तरआधुनिक चिन्तन हो ।
(प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रहबाट साभार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










