प्राणी, वनस्पति र वातावरणमा रहेका यावत् जैविक  र अजैविक तत्त्वहरूको साझा घर पृथ्वीको काखमा रमाइरहेका जल, जमीन, जङ्गल र जनावर सार्वभौम रूपमा रहनु पर्दछ । पूर्वीय सभ्यताका वैदिक परम्परामा पृथ्वीलाई धर्तीमाताका रूपमा पूजा गरिने गरेको कुरा उल्लेख छ । त्यस्तै , पश्चिमा जगतमा कैयौं शताब्दी अघिका दार्शनिक प्लेटोले ग्रहलाई एउटा जीवन्त प्राणीका रूपमा चित्रण गरेका थिए । तत्पश्चातका धेरै विद्वानहरूले उक्त विचारलाई प्रचारप्रसार गरेका थिए । अहिले आएर उक्त विचारको वकालत गर्नेहरूको जमात नै देखिन्छ । जस्तै , फ्रान्सका दार्शनिक टेलहार्ड कार्डिन (सन् १८८१-१९५५) को अङ्ग्रेजीमा अनुदित पुस्तक फेनोमेनन अफ म्यान (सन् १९५९) मा उल्लेख भएअनुसार पृथ्वीका विभिन्न तहहरू छन् । तीमध्ये जियोस्फियर (पृथ्वीको बाहिरी सतह), बायोस्फियर (पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी र वनस्पतिहरू रहेको भाग), र नुस्फियर (त्यो भूभाग जहाँ मानव मस्तिष्कले काम गर्छ) मुख्य रहेको छन् । यी सबै भाग वा तहहरूले समग्र जीवको प्रणालीको जस्तै कार्य गरिरहेका हुन्छन् ।

अर्कातर्फ, ब्रिटेनका जीवविज्ञ र आविष्कारक जेम्स लभलकले सन् १९७० मा टेलहार्डले भन्दा भिन्न विचार प्रस्तुत गर्दै गाईया सिद्धान्त प्रतिपादन गरे । यस सिद्धान्तमा प्रयुक्त ग्रीक भाषाको शब्द ‘गाईया’ को अर्थ ‘पृथ्वी देवी’ हुन्छ । व्युत्पत्तिका दृष्टिकोणबाट हेर्दा पृथ्वी आफैँमा एकीकृत जीवन्त पद्धति हो, जसमा प्राणी र वातावरण अन्योन्याश्रित भएर रहेका हुन्छन् । यस सिद्धान्तअनुसार जीवित प्राणीहरूले वातावरणसँगको सहसम्बन्धमा बाँच्नका निम्ति अनुकूल अवस्था निर्माण गर्दछन् । यसरी हेर्दा उत्पत्ति कालदेखि नै मान्छे, अन्य जीवजन्तु र वातावरण एकापसमा अन्तरघुलित् भएर पृथ्वीरूपी जीवन्त घरमा एकल परिवारका रूपमा रहेको देखिन्छ । लभलकपछिका केही वैज्ञानिकहरूले उनको सिद्धान्तको खण्डन गरे तापनि केही भूगर्भशास्त्रीहरूले यसको विश्वसनीयता प्रष्ट्याएका छन् । ठोस निष्कर्ष त भविष्यको गर्भमा नै रहेको भए तापनि पृथ्वीमा कायम रहेको प्राणी, वनस्पति र वातावरणको सन्तुलनले यसको इकोसिस्टमलाई जीवन्त राखेको छ । यी विविध पक्षहरूको उचित सन्तुलन कायम नरहेको अवस्थामा पृथ्वीको एकीकृत जीवन्त प्रणाली विचलित हुने कुरा सहजै आँकलन गर्न सकिन्छ ।

चेतनाका दृष्टिले हेर्दा मान्छे सृष्टिको सर्वोत्कृष्ट प्राणी ठहरिन्छ र उसको दायित्व पृथ्वीको जीवन्त प्रणालीलाई  कायम राख्नु हुन आउँछ । तथापि उसको चेतनाको दुरुपयोगले गर्दा  मान्छे प्रकृति विनाशका स्वार्थी खेलमा निमग्न रहेका देखिन्छन् । प्रसिद्ध बेलायती निबन्धकार जोनाथन स्विफ्टले तर्क गरेबमोजिम मान्छे क्षमताका दृष्टिले उच्चकोटिमा पर्ने भए तापनि व्यवहारमा पृथ्वीका अन्य जीवजन्तुभन्दा निकै तल्लो स्तरमा पर्दछ । भौतिक विलासिताका सामग्रीहरू उत्पादन र प्रसारण अधिक मात्रामा गर्न अग्रसर देखिए तापनि पर्यावरण संरक्षणमा उसको यथेष्ट ध्यान पुगेको देखिँदैन । फलस्वरूप, पृथ्वीमाता अहिले आहत भएको अनुभूति भइरहेको छ । सर्वत्र प्रकृतिको दोहन र उत्पादित फोहरहरूको उचित व्यवस्थापनको अभावमा जल, जमीन र वायु मुख्य रूपमा प्रदूषणको सिकारमा परेका छन् ।

पृथ्वीको मुहारमा मैलोपन निम्त्याउने फोहरमैलाको उचित व्यवस्थापन समयमा नै गर्न नसक्दा वातावरणमा तात्कालिक र दूरगामी असरहरू पर्न सक्छन् । तात्कालिक असरहरूमा हिमालमा हिउँको मात्रा घट्दै जानु , समुद्री सतह परिवर्तित हुँदै जानु, अनावृष्टि हुनु, अतिवृष्टि हुनु, अम्लीय वर्षा हुनु, मरूभूमिमा हिउँ पर्नु , वनजङ्गल मासिँदै जानु जस्ता लक्षणहरू प्रत्यक्षतः देखा परिरहेका छन् । भूमण्डलीय तापक्रम वृद्धिका प्रशस्त प्रमाणहरू र ओजन तहका समस्याहरू लगायतका आधारमा पृथ्वीको आयु घटिरहेझैँ लाग्छ । यसरी नै फोहरमैलाको उचित व्यवस्थापनको अभावमा मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर पर्न सक्छ । तीमध्ये वातावरणीय विनाश, मानव स्वास्थ्यमा जोखिम, जल प्रदूषण, जमीन प्रदूषण, अनावश्यक आर्थिक लगानी, जीवजन्तुमा हानि र जलवायु परिवर्तन मुख्य रूपमा पर्ने असरहरू हुन् ।

फोहरमैला जथाभावी फालिदिनाले जमीन, जल र हावा प्रदूषित हुन पुग्छन् । मान्छेले फोहर कि जमीनमा फाल्छन् कि ढलमार्फत पानीका स्रोत  खोलानाला, ताल, समुन्द्र आदिमा फाल्छन् । बाँकी रहेका फोहरहरू जलाउँदा हावामा कार्बनडाइअक्साइड व्याप्त हुन्छ । त्यस्तै, सवारी साधनबाट उत्सर्जन हुने कार्बनमोनोअक्साइड तथा उद्योगबाट उत्सर्जन हुने विषालु ग्यासहरूले हावा प्रदूषित हुन पुग्छ । यस्ता विषाक्त ग्यासहरूले बारम्बार पृथ्वीलाई जोगाइराख्ने तहमा आक्रमण गरिरहँदा यो तह पातलिँदै जान्छ र अन्त्यमा मुटुमा प्वाल परेजस्तै प्वालसमेत पर्न सक्छ । अनि त हरितगृह प्रभाव, भूमण्डलीय तापक्रममा वृद्धि लगायतका यावत तत्त्वहरूले पर्यावरणमा असर पारिरहन्छन् ।

यसरी हुन पुगेको वातावरण विनाशले सम्पूर्ण प्राणी जगत आहत हुन्छ । फोहरमा किटाणुहरूले साम्राज्य फैलाउँदै गएपछि प्राणीमा स्वासप्रस्वास सम्बन्धी रोगहरू, आँखाको मोतीविन्दु तथा छालाको क्यान्सर जस्ता स्वास्थ्यमा गम्भीर असरहरू देखा पर्न थाल्छन् । त्यसैगरी, जल प्रदूषणका कारणले पानीजन्य रोगहरू फैलने र समग्रमा महामारी नै फैलन पनि सक्छ । यसैका सङ्केतका रूपमा मानव जगतलाई सचेत गराउन प्रकृतिले बेलाबेलामा महामारीका पराकम्पनहरू नदिएका होइनन् । यदि साँच्चै नै महामारीको भूकम्पले समग्र पर्यावरण विघटित भएमा यसको जिम्मेवारी मानवरूपी सचेत प्राणीले लिनुपर्ने छ ।

प्राणी मात्रको आहराको स्रोत उत्पादन गर्ने माटो प्रदूषणका कारणले विषाक्त हुन गएमा कृषि उत्पादन न्यून हुन जान्छ । अनि भोकमरी र कुपोषणले टाउको उठाउन थाले भने मान्छेले वैकल्पिक स्रोत कसरी र कहाँबाट व्यवस्थापन गर्न सक्छन् ? यसरी आजको मान्छेको विवेकहीन व्यवहारले भोलि गएर सफाइ र सुधारका कार्यहरू अत्यन्त महङ्गा पर्न सक्छन् । आर्थिक बोझले त्यतिबेलाका मान्छेहरू ढुङ्गाले अठ्ठिएका भ्यागुता बन्न सक्छन् । थोरै उत्पादन गर्न धेरै लगानी गर्नुपर्ने परिस्थिति आइपर्न सक्छ ।

पर्यावरण विनाशका सिकारमा निर्दोष जीवजन्तु पनि पर्दछन्, यद्यपि परिणामका कारक मान्छे मात्र हुन् । जीवजन्तुले फोहर तथा हानिकारक वस्तु भक्षण गर्दछन् जसका कारणले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नाका साथै प्रजनन क्षमतामा ह्रास हुँदै जान्छ । जस्तै, घाँस खाने गाईवस्तुले प्लास्टिक, कपडा आदि खान थालेपछि आवश्यक पौष्टिक तत्त्व कहाँबाट प्राप्त गर्छन् रु यसैगरी जलचर र थलचर जीवजन्तुहरूले प्रदुषित खाद्य पदार्थ खाएपछि मान्छेले खाने मासुजन्य पदार्थ कसरी स्वस्थ हुन सक्छ रु यसरी पर्यावरणको चक्र हेर्दा मान्छे मात्रको विवेकहीन व्यवहारले अन्त्यमा मान्छेलाई नै असर पुर्‌याउँछ । सर्वाधिक समस्याको उत्कर्ष विन्दु जलवायु परिवर्तन हो, जसका कारणले पछुताउन ढिलो भइसकेको हुनेछ । रोग लागिसकेपछि उपचार गर्दा धेरै महँगो हुने भएकाले रोकथामका उपाय आजैबाट अपनाउनु बुद्धिमानी हुन्छ ।

यदि बेलैमा सचेतनामूलक अभियान नचलाउने हो भने भविष्यमा पृथ्वी मान्छे मात्रका लागि रहन योग्य ठाउँ नरहन पनि सक्छ । यही विकराल सुदूर भविष्यको बचाउका निम्ति विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रमहरू पनि गरिरहेकै छन् । यसै सन्दर्भमा पर्यावरण जोगाउने पवित्र कार्यमा पृथ्वीबाट उत्सर्जन हुने फोहरमैलाको उचित व्यवस्थापनका रणनीतिहरू कोसेढुङ्गा सावित हुनसक्छन् ।

फोहरमैलाको उचित व्यवस्थापनका निम्ति यसको महत्त्वमाथि प्रकाश पार्नु आवश्यक छ । फोहरलाई मोहरमा बदल्ने तरिका जान्नका निमित्त फोहरको पहिचान हुनु जरुरी छ । मानव जीवनमा उपभोग र उपयोग गरिसकेपछि थुप्रिन जाने वस्तु वा पदार्थले फोहरको रूप लिन्छन् । फोहरको व्यवस्थापन उचित तरिकाले गर्न नसक्दा वातावरण प्रदूषित भई मानव स्वास्थ्यमा नै गम्भीर चुनौती सिर्जना हुनसक्छ । अतः प्रयोग गरिसकेर बेकार बनिसकेका वस्तुहरूलाई उचित व्यवस्थापन गर्नुपर्दछ । मान्छेले आफूलाई बेकारका लाग्ने वस्तु अरुलाई काम लाग्न सक्छ भन्ने हेक्का राख्नु जरुरी हुन्छ । जस्तै, प्रयोगपश्चातका प्लास्टिक, विद्युतीय सामग्री, लत्ता कपडा आदिजस्ता सामग्रीहरू सम्बन्धित उद्योगका कच्चा पदार्थका रूपमा प्रयोग हुन सक्छन् । यसका साथै बेकारका भनिएका र मानिएका वस्तुहरू व्यक्ति वा समूहका आम्दानीका स्रोत बन्न सक्छन् र रोजगारीका अवसर प्रदायक पनि बन्न सक्छन् । यसो गर्दा हाम्रा टोल र बस्तीहरू सफा, स्वच्छ र हराभरा रहन्छन् । अर्कोतर्फ अर्थव्यवस्थामा पनि टेवा पुग्न सक्छ ।

फोहरमैलाको उचित व्यवस्थापनका निम्ति प्रकृति र प्रकार एकिन गर्न आवश्यक पर्छ । सरसर्ति अवलोकन गर्दा फोहरमैला तीन प्रकारका देखिन्छन्; पहिलो प्रकारका फोहरहरू कुहिने खालका हुन्छन् । यस वर्गमा फलफूलका बोक्रा, तरकारी केलाउँदा निस्कने वस्तुहरू, पातपतिङ्गर, बढी भएर फालिएका खाद्य वस्तुहरू आदि पर्दछन् । यस्ता फोहर घरमा नै कम्पोस्ट मल बनाउन प्रयोग गर्न सकिन्छ । त्यस्तै दोस्रो प्रकारका फोहर नकुहिने वा छिट्टै नष्ट नहुने खालका हुन्छन् । यस वर्गमा प्लास्टिक, गिलास, धातु, रबर, कपडा र विद्युतीय उपकरणहरू पर्दछन् । यस्ता वस्तुहरूलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ । जस्तै, टायरबाट कुर्सी , प्लास्टिकका बोतलबाट सजावटका सामान आदि बनाउन सकिन्छ । तेस्रो वर्गमा हानिकारक फोहरहरू पर्दछन् । यस्ता वस्तुहरूमा ब्याट्री, रसायन युक्त पदार्थहरू र औषधिजन्य वस्तुहरू पर्दछन् । यस्ता फोहरहरू सर्वसाधारणका निम्ति खतरनाक हुन्छन् र उचित व्यवस्थापन बेलैमा गरिएन भने बस्ती बस्तीमा रोग फैलने कारक तत्त्व बन्न सक्छन् । अतः यस्ता फोहर अरु विशेषज्ञ वा आधिकारिक निकायले नै व्यवस्थापन गर्नुपर्दछ ।

फोहरमैलाको वर्गीकरण किन र कसरी गर्ने भन्ने विषयवस्तु निकै महत्त्वपूर्ण छ । पानीको मुहान सफा र स्वच्छ बनाइएमा पिउने पानी स्वच्छ हुन्छ भनेजस्तै, फोहोरमैलाको सङ्कलन गर्दा नै छुट्याएर राखेमा पछि पुनः प्रयोगमा सहजता हुन्छ । कुहिने, नकुहिने र हानिकारक वस्तुहरू सङ्कलनकै चरणमा छुट्याएर राख्दा पछिको कार्य सहज र सुलभ हुन्छ । फोहरमैलालाई वर्गीकृत गर्दा प्रमुख रूपमा सुख्खा र भिजेको, पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने, हानि नपुर्‍याउने र हानिकारक जस्ता वर्गमा छुट्याउनुपर्छ । यसरी उचित वर्गीकरण गर्दा फोहर वस्तुहरूको पुनः प्रयोग तथा प्रशोधन गर्न सजिलो हुन्छ । साथै, यसले वातावरण स्वच्छ राख्न र आय आर्जनमा पनि योगदान पुर्‍याउँछ । उदाहरणका लागि प्लास्टिक, कागज, धातु र जैविक फोहोरलाई अलग-अलग राख्दा पुनः प्रयोग तथा प्रशोधन गर्दा सजिलो हुन्छ । घर, अफिस, टोल, र समुदायमा यस्ता वस्तुहरूको सङ्कलन, पुनः प्रयोग, र प्रशोधन गर्ने तरिकाहरू अपनाउनु पर्छ । यसले केवल वातावरणमैत्री समाज निर्माणमा मद्दत मात्र गर्दैन, फोहरमैलाको उचित व्यवस्थापनले आर्थिक फाइदा पनि पुर्‍याउँछ । यसरी मात्र वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ ।

कुहिने वा जैविक फोहर घरबारीमा नै प्रयोग हुन सक्ने वा बिक्री गर्न सकिने जैविक मल बनाउन प्रयोग हुन्छ । हानिकारक वा अस्पताल जस्ता ठाउँबाट उत्सर्जन भएका वस्तुहरू विशेषज्ञ वा जानिफकार निकायले व्यवस्थापन गर्नुपर्दछ । नकुहिने वा नसड्ने वा छिट्टै नष्ट नहुने फोहरमैला सर्वसाधारणका लागि समस्या हुनसक्छन् । यस्ता वस्तुहरूलाई आय आर्जनका स्रोत बनाउने र पुनः प्रयोगमा ल्याउने मुख्य तीन रणनीतिहरू; पुनः प्रयोग , रिसाइक्लिङ् वा पुनः चक्रण र अपसाइक्लिङ् वा पुनः उपयोग हुन् । यीमध्ये पहिलो रणनीतिमा बेकार मानिएका वस्तुहरू प्रयोगमा ल्याइन्छ ।  रिसाइक्लिङमा बेकारका मानिएका वस्तुहरू प्रशोधन गरी नयाँ वस्तुमा परिवर्तित गरिन्छ र पुनः प्रयोगमा ल्याइन्छ । प्रयोगमा नआएका वा गरिसकिएका कागजबाट नयाँ कागज बनाउनु, पुराना प्लास्टिक पेलेर नयाँ प्लास्टिकका सामान बनाउनु  र थोत्रा कपडा पेलेर कपास बनाउनु रिसाइक्लिङका दृष्टान्तहरू हुन् । यसरी प्रशोधन गर्दा प्रकृतिको दोहन कम हुन्छ र प्रदूषणको मात्रा कम हुन्छ । साथै प्रशोधनकर्ता र उपभोक्ता दुवैलाई आर्थिक लाभ प्राप्त हुन्छ ।

अपसाइक्लिङ प्रक्रियामा फालिएका र काम नलाग्ने वस्तुहरूलाई सिर्जनात्मक ढङ्गले नयाँ र उपयोगी वस्तुमा परिणत गरिन्छ । यो प्रक्रियामा पुनः प्रयोग गर्न मिल्ने वस्तुहरूको सिर्जनात्मक प्रयोग गरिन्छ । फोहर वस्तुहरूलाई यसरी पुनः प्रयोग गर्दा वातावरणमैत्री र आर्थिक लाभ दुवै प्राप्त हुन्छ । जस्तै, पुराना कपडाहरूलाई झोला, थाङ्ना, टेबुलपोस्टजस्ता वस्तुहरू बनाउन सकिन्छ । यसले केवल कपडाको पुनस् प्रयोग मात्र होइन, फोहोर पनि कम गर्छ । त्यस्तै, प्लास्टिकका फोहरलाई गमला र सजावटका सामानहरूमा परिणत गर्न सकिन्छ । यसरी प्लास्टिकको पुनः प्रयोगले वातावरणमा प्लास्टिकको फोहर कम गर्न मद्दत गर्दछ । फलामको हकमा पुराना औजारहरूलाई कृषि औजारमा परिणत गर्न सकिन्छ । यसले कृषि उपकरणको अभावलाई कम गर्न मद्दत गर्छ र पुराना फलामका वस्तुहरूको पुनः प्रयोगद्वारा फोहोर व्यवस्थापनको कार्यलाई सहज बनाउँछ । यसरी नै सिसाका बोतललाई गमला र सजावटी सामानहरूमा परिणत गर्न सकिन्छ । यसले सिसा फोहरको कम गर्ने कार्यलाई सहयोग पुर्‍याउँछ । अपसाइक्लिङको यो प्रक्रियाले व्यक्तिमा सिर्जनात्मकता विकास गर्न ठूलो टेवा पुर्‍याउँछ । मानिसहरूले आफ्नो सिर्जनशीलता प्रयोग गरेर पुराना र काम नलाग्ने वस्तुहरूलाई नयाँ र उपयोगी वस्तुमा परिणत गर्न सक्छन् । यसले उनीहरूको व्यक्तिगत विकास मात्र होइन, सामाजिक र आर्थिक लाभ पनि पुर्‍याउँछ ।

फोहोरमैला व्यवस्थापन प्रकृतिको मुहार दुरुस्त राखिराख्न अति आवश्यक छ । साथै, दुर्गन्ध घटाउन वा हटाउन, प्रदुषण घटाउन, मैलाको मात्रा घटाउन, रोजगारी सिर्जना गर्न, माटोको उर्वराशक्ति बढाउन, र निर्माण कार्य मजबुत बनाउन फोहोरको व्यवस्थापनले मद्दत गर्दछ । प्रथमतः वातावरणमा दुर्गन्ध फैलाउन र प्राणी जगतमा विभिन्न रोगहरूको फैलावट ल्याउन फोहरमैलाले मुख्य हिस्सा ओगटेको हुन सक्छ । अतः यसको उचित व्यवस्थापन गर्दा बस्तीमा दुर्गन्धका कारणले उत्पन्न हुने र फैलन सक्ने रोगहरूमा नियन्त्रण हुन्छ तथा जगतको स्वस्थ जीवनयापनमा सहयोग पुग्न जान्छ ।

माथिकै अनुच्छेदहरूमा वर्णन गरिबमोजिम जङ्गल र वातावरण कुरूप बनाउने फोहोरको व्यवस्थापन गर्दा प्राकृतिक स्रोतमा प्रदूषणको मात्रा सहजै घट्ने हुन्छ । परिणामस्वरुप प्राणी जगत उचित पर्यावरणमा निरोगी जीवन बाँच्ने अवसरमा रमाउन सक्छन् । त्यसैगरी पुनः प्रयोग। पुनः चक्रण र पुनः उपयोगका माध्यमले एकातर्फ नयाँ उत्पादन कम गर्न सकिन्छ । अर्कातर्फ भनिन्छ, मानव मात्रको विवेकपूर्ण व्यवहारले ९५ प्रतिशतसम्म फोहोर मानिएका वस्तुहरू घरबाटै व्यवस्थापन गर्न सकिन्छ । बाँकी पाँच प्रतिशत यस्ता वस्तुहरू व्यवस्थापन गर्न निकै सहज हुन्छ ।

फोहोरमैला व्यवस्थापन गर्नका निम्ति मानव संसाधनको आवश्यकता भई सङ्कलन केन्द्र, ल्यान्डफिल साइट र उद्योगमा समेत रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । सबै तहमा सरसफाई अभियानका निम्ति दक्ष वा अर्धदक्ष मानवस्रोत विकासका निम्ति विभिन्न चरणमा तालिम, गोष्ठी, कार्यशाला आदि सञ्चालन गर्नुपर्ने भएकाले सरकारी र गैर सरकारी निकायबाट सबै तहका जनशक्ति विकास गर्नुपर्दछ । यसरी खेर गएका वस्तुहरूको सदुपयोग गर्दा मान्छेमा सिर्जनशीलता विकास भई नयाँ उद्यमीहरू उत्पादन हुँदै जान्छन् । थोत्रा कपडाबाट झोला बनाउने, टायरबाट बगैँचा तयार गर्ने र प्लास्टिकका बोतलबाट गमला बनाउने जस्ता नयाँ नयाँ सोचको विकासले फोहरलाई मोहरमा सहजै परिणत गर्न सकिन्छ । त्यस्तै, गरेर फोहरबाट ग्यास निकाल्न सकिने, प्लास्टिकबाट रोड निर्माण गर्न सकिने तथा फोहरलाई मलका रूपमा प्रयोगमा ल्याई माटोको उर्वराशक्ति बढाउन सकिन्छ ।

माथि उल्लिखित छलफलका आधारमा फोहरमैला व्यवस्थापनका रणनीतिहरू कार्यान्वयन गर्न विभिन्न कदमहरू लिनु आवश्यक हुन्छ । पहिलो कदम स्वरुप बस्ती-बस्तीमा चेतनामूलक तालिम, गोष्ठी र कार्यशालाहरू सञ्चालन गर्नु पर्दछ जसले वातावरणीय चेतना फैलाउन मद्दत गर्दछ । यस प्रकारका कार्यहरूबाट स्थानीय समुदायहरूमा वातावरण संरक्षणको महत्त्व बुझाउन सजिलो हुन्छ । दोस्रो कदमका रुपमा, सञ्चारका माध्ययम जस्तै रेडियो, टेलिभिजन, सिनेमा आदिमार्फत चेतनामूलक अभियान सञ्चालन गर्न जरुरी छ । यसका लागि सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता माध्यमहरूको प्रयोग गरेर वातावरण संरक्षणका सन्देशहरूलाई व्यापक रूपमा फैलाउन सकिन्छ । जनचेतना फैलाउन विभिन्न सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरूको आयोजन गर्न सकिन्छ, यसबाट सबै उमेरका मानिसहरूको ध्यान आकर्षण गर्न सहयोग पुग्छ ।

यसैगरी, फोहरलाई मोहरमा परिणत गर्ने लक्ष्य प्राप्तिका लागि स्थानीय, प्रादेशिक र सङ्घीय तहका सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय आवश्यक हुन्छ । यसका लागि अनुदान, प्राविधिक सहयोग र स्रोतहरूको साझेदारी गर्नुपर्छ । यसबाहेक स्थानीय समुदायलाई पनि सक्रिय रूपमा संलग्न गराउनु पर्दछ ता कि उनीहरूले फोहर व्यवस्थापन र पुनः प्रयोगका तरिकाहरू अपनाउन सकून् । अन्त्यमा, मान्छेको सक्रियता र सुझबुझपूर्ण व्यवहारले वातावरण जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । व्यक्तिहरूलाई आफ्नो दैनिक जीवनमा वातावरणमैत्री तरिकाहरू अपनाउन प्रोत्साहित गरिनुपर्छ । उदाहरणका लागि, प्लास्टिकको सट्टा कपडाको झोलाको प्रयोग, ऊर्जाको बचत र पुनः प्रयोग गर्न सकिने वस्तुको प्रयोगजस्ता तरिकाहरूले ठूलो परिवर्तन ल्याउन सक्छ ।

यसरी मात्र वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ र धर्तीमा मानव जातिको सर्वोच्चता सार्थक हुन सक्छ । अनि पो पृथ्वीमाताको मुहारमा मुस्कान छाउन सक्छ !