
लुकेर, छिपेर, टॅासिएर या झुक्याएर
कसरी र कहॅाबाट छिर्योछिर्यो
अवैध आप्रवासी जस्तो वनस्पति
थाहा छैन
हावामा उडेर आयो या पानीसॅग बगेर
जहाज चढेर आयो या मोटरमा बसेर
बाटो बिराएर आयो या भ्रम छरेर
कसैको साथ लागेर आयो या मात लागेर
अदृश्यरुपमा
छिर्यो भाइरस बनेर, फैलियो महामारी बनेर
छिर्यो मुसोझैँ भएर, प्रकट भयो बाघजस्तो बनेर
छिर्यो सियो बनेर, निस्क्यो घन बनेर
लुकीलुकी कताकता पाइला टेक्योटेक्यो ?
नयाँ माटो र पानीसँग कसरी मित्रता गाँस्योगाँस्यो ?
छोटै समयमा
पराइ परिवेशमा घुलमिल भएर
मायापिरतीको मायावी जाल बुनेर
स्थानीय र रैथाने जातिहरूले भेउ नपाउँदै
तिनकै ओतमा शरण लिएर
मान्यजनबाट आशीर्वचन पाएझैँ
असङ्ख्य सन्तति जन्माएर डाँडाकाँडा ढाक्यो
वनपाखा, पाटन र पानी मुहानहरू ढाक्यो
खेतबारी, कान्ला र खरबारी ढाक्यो
हेर्दाहेर्दै-
विशाल सजातीय सञ्जाल बिछ्याएर
रैथाने-जातिलाई माकुरीजालोमा अल्झाएर
ठूलै चुनौती दिँदै आएको छ
मानौँ, ऊ यहाँको विजेता शासक हो
हुन पनि आफ्नो प्रभुत्व जमाउन
कुनै कसर बाँकी राखेको छैन उसले
भुइॅमा कार्पेटसरी छपक्कै छोपेर फैलिएको छ
रुखका काण्ड, हॅागा र छत्र सर्लक्कै ढाकेर जेलिएको छ
न स्याहारसुसार चाहिने
न त रेखदेख र प्यार चाहिने
जहॅा पनि, जस्तोमा पनि
उम्रन सक्ने, हर्लक्कै बढ्न सक्ने
प्रजनन र प्रशारण क्षमताको त के कुरा गर्नु र ?
प्रकृतिको वरदान भन्नु कि अभिसाप ?
विस्तारवादी भन्नु कि प्रभुत्ववादी ?
स्थानीय र रैथाने प्रजातिको
गास, बास र प्रकास खोस्ने
परागसेचन र प्रजननमा अवरोध पैदा गर्ने
सकेसम्म उम्रन र पुनरुत्पादन हुनै नदिने
उम्रिहाले हुर्कन र बढ्न नदिने
बिचरा !
आफ्नै थातथलोमा तिनको स्वतन्त्रता कैद भएको छ
नस्लबन्दी अभियानले गति लिएको छ
वंश नाश हुने खतरा बढिरहेको छ
लाग्छ मिचाहा जाति-
सामान्ती युगका क्रुर शासक हुन्
जसले अरुलाई जालभित्र फँसाएर रजगजमा मस्त छन्
दास युगीन मालिकहरू हुन्
जसले वन्य जीवजन्तुको आहारा कब्जा गरेर
आवागमनमा अवरोध खडा गरेर
जीवनयापनमा तगारो हालेर
प्रजनन-वातावरणमा बाधा पुर्याएर
बहुलजातीय समुदायमाथि बलमिच्याइँ गरेर
जर्मनीमा हिटलरले नाजीकरण गरेझैं
एकलजातीय प्रभुत्व जमाइरहेका छन्
नेपालमा राणाहरूले जहानियाँ एकछत्र राज चलाएझैँ
अरुको स्वतन्त्रता अपहरण गरिरहेका छन्
तिनीहरू सोच्दा हुन्-
अबको युग तिनीहरूकै हो
तिनको दया, माया र आदेशविना
त्यहाँ कोही चलमलाउन सक्ने छैन
गास, बास र कपासको जोहो गर्न सक्ने छैन
विस्तारवादी अभियानमा ओट लाउन सक्ने छैन
प्रभुत्ववादको जरा उखेल्ने कल्पनासम्म गर्न सक्ने छैन
लाग्छ तिनीहरू –
विगत शताब्दीका अतिक्रमणकारी, विस्तारवादी
र प्रभुत्ववादीहरूकै हैसियतमा छन्
शायद फरक यति मात्र हुन सक्छ-
मिचाहा जाति तोप, गोलाबारुद र बन्दुक चलाउँदैनन्
स्पाइयन्त्र र मिसाइल प्रक्षेपण गर्दैनन्
तिनीहरू गर्व गर्दा हुन्-
हातहतियार नचलाइकन
नयाँ भूखण्ड कब्जा गर्न सकेकोमा
कसैको अवरोध र प्रतिरोधविनै
नाकाबन्दी लगाउन सफल भएकोमा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा-
नाङ्गो क्षतविक्षत जमिनको लाज छोपिदिॅदा
भलपानीसँगै बगिरहेको माटो रोकिदिँदा
एकलजातीय नै सही
हैसियत बिग्रेको उजाड र नाङ्गो जमिनमा
हरियाली आवरण पहिरिदिँदा
गुणकारी नै लाग्न सक्छ
तिनको आगमन कहिलेकाहीँ
तर
प्राकृतिक छटालाई कुरुप बनाउॅदा
अन्य प्रजातिलाई थिचोमिचो गरिरहॅदा
अस्तित्व र वंश निरन्तरतामा धावा बोलिरहॅदा
आश्रित जीवहरूको जीवनचर्यामा प्रतिकूलता निम्त्याइदिँदा
दिक्क लाग्छ- तिनको नाजायज हस्तक्षेपप्रति
तसर्थ
स्थानीय र रैथाने प्रजातिहरूको अस्तित्व रक्षार्थ
अवैध आप्रवासी मिचाहा वनस्पति प्रजातिहरूको
विस्तारवादी बलमिचाइँ समुल अन्त्यको खातिर
जैविक विविधाको यो साझा फूलबारी सुन्दरता बचाउन
एकल प्रजातिको वाटिकामा रुपान्तरित हुनबाट रोक्न
प्रकृतिप्रेमीहरूले अब किञ्चित् ढिला गर्नु हुँदैन
इतिहास साक्षी छ-
यो सुन्दर भूखण्ड आजसम्म कसैको उपनिवेश भएन
र त मिचाहा प्रजातिको उपनिवेश पनि अस्वीकार्य छ
स्थानीय र रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धनमा जुटौँ
दीगो वनस्रोत व्यवस्थापन अभियान चलाएर
मिचाहाको औपनिवेशिक प्रभुत्व र रजाइँ अन्त्य गरौँ ।
जय प्रकृति !
*****
वाफल, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

