प्रकृतिले सृजेका विषम भूखण्ड र मान्छे-जातिले कोरेका
भूगोलका सीमारेखाहरू छिचोल्दै
हजारौँ माइल परपरदेखि
हजारौँ मिटर माथिमाथि
भूगोलको उच्चाशनमा रहेका हिमगिरि
र पठारहरूभन्दा पनि अझै उचाइबाट
आफैँले कोरेका आकाशरेखा पछ्याउँदै
कहिले बादल माथिमाथिबाट
कहिले बादलसँग लुकामारी खेल्दै
बाटोमा आइपर्ने अवरोधहरूसँग जुध्दैजुध्दै
सयौँ प्रजातिका लाखौँ पक्षीहरू
ऋतु परिवर्तनको कठोर प्रतिकूलता छल्न
जिजीविषाको औडाहा बोकेर
अनुकूल गन्तव्यको विकल्प खोज्दै
अज्ञात समयबिन्दुदेखि
दूरदराजको यो पवित्र भूआकृतिसँग
अविस्मरणीय साइनो गाँसेर
बर्सेनि भ्रमण-परम्परा अविछिन्न राखेका छन्
राष्ट्रियता र विशेष पहिचान
राहदानी र प्रवेशाज्ञा
कसैको आमन्त्रण वा निषेध
कुनै शर्त वा सन्धि-सम्झौता
आदिआदिको किञ्चित झन्झट-झमेला छैन यिनलाई
कोही रूसको साइबेरिया र छिमेकी भूगोलबाट
कोही कोरिया र मंगोलियाबाट
कोही चीन र विश्वका विभिन्न भूगोलबाट
उडान भर्छन् यो भूमिमा आउनको लागि
यिनीहरू बाहेक कसलाई थाहा होला र ?
यिनको ट्रान्जिट कहाँकहाँ हुन्छ
यिनको रसदपानी कसरी जुट्छ
यिनको समूह परिचालन र अगुवाइ
नियम, गति, लस्कर र लय
समूह समन्वय, सहयोग र सहकर्म
कसरी व्यवस्थित हुन्छ
दैनिक पार गर्नुपर्ने दूरी र समय
प्रतिकूलताहरू विरुद्धको रणनीति
बिरामी, घाइते र अशक्तहरूको सहयोग उद्दार
र गन्तव्यमा पहुँचपश्चात्
व्यवस्थापन र अनुकूलन योजना आदि
कसरी बनाउँछन् होला ?
आफ्नो अनुकूल परिवेश,
स्वच्छ वातावरण,
सुरक्षित बासस्थान
र मनमोहक भूआकृति खोज्दैखोज्दै
ताल, पोखरी र रिजर्भ्वायर
बाँध, कुलो र नहर
माछापोखरी, धानखेत र सिमसार
हिमाल-निसृत निर्मल पानीका
सदाबहार बग्ने नदीखोलाहरू
सफा नदीतट, बगर र वनपाखाहरूलाई
वैकल्पिक बासस्थानको आधार मानेर
शान्तिपूर्वक वर्षको झण्डै आधा समय
प्रकृतिको न्यानो काखमा
मायपिरती उन्दै र बुन्दै
रमाइरमाइ विचरण गर्न
सदियौँदेखि निम्तोबिनाका पाहुना बनेर
सुनमा सुगन्ध थपेर
हाम्रो गौरव बढाउन
हरेक हिउँदे ऋतुमा
भ्रमणको थिति बसालेका छन्
यी निर्दोष सुन्दर पक्षीहरूले
यिनको भ्रमणको लागि-
भ्रमण वर्ष वा दशक घोषणा हुँदैन
भ्रमणदूत तोक्नु पर्दैन
निम्तो पठाउनु पर्दैन
देशदेशावरमा कुनै अभियान चलाउनु पर्दैन
प्रचारप्रसार गर्नु पर्दैन
प्रवर्द्धनको लागि खर्च गर्नु पर्दैन
वर्षको पहिलो मान्छे-पर्यटकलाई जस्तो
स्वागत-सम्मान गर्नु पर्दैन
संख्यात्मक लक्ष्य तोक्नु पर्दैन
पर्यटन-पूर्वाधारहरू निर्माण,
स्तरोन्नति र सिङ्गारपटार गर्नुपर्दैन
सरोकारवालाहरू विशेष तयारीमा जुट्नु पर्दैन
त्यति हुँदाहुँदै पनि
हरेक वर्ष
नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म
हिमाली क्षेत्रदेखि तराईसम्म
बिना कुनै माग र गुनासो
खुशीखुशीले भ्रमण गर्छन्
र यो अनुपम प्राकृतिक वैभवको भकारीमा
विशेष रङ्गीन बान्की थप्छन्
प्रकृतिको सुरम्य क्रीडास्थलमा
मन्त्रमुग्ध मान्छे-पर्यटकहरू
यिनकै सुन्दर सामीप्यमा वशिभूत हुन्छन्
त्यति टाढाटाढाबाट
भोकतिर्खा नभनेर
दुःखकष्ट झेलेर
जोखिम मोलेर
स्वस्थ र स्वच्छ परिवेशमा
ढुक्क र शान्तिपूर्वक विचरण गर्न
हरेक वर्ष पर्यटक भएर आउँदा
परिवेशमा “सुनमा सुगन्ध” थपिँदा
यिनकै लालित्यमा
मान्छे-पर्यापर्यटक झुम्मिने भएपछि
अतिथि देवो भवः संस्कृतिका हिमायती हामीले
दिल खोलेर यिनको स्वागत किन नगर्ने ?
तर
समय बदलिएको छ
यिनका पूर्खाहरूबाट सुनेजस्तो
पहिलेपहिले यिनीहरूले देखेभोगेजस्तो
कहाँ छ र स्वस्थ परिवेश ?
खुम्चिएका छन् क्रीडास्थल र वासस्थान
दुर्गन्धित र विषाक्त हुँदै गएका छन् जलभण्डारहरू
डढेलोले काला र विद्रूप भएका छन् वनजङ्गल
आँखा पोल्ने र धूमिल छ वायुमण्डल
दृष्यता छेकेको छ धुवाँ, धूलो र तुवाँलोले
कोलाहल व्याप्त छ चर्को ध्वनिको
अभाव र अपर्याप्यता छ आहाराको
व्याप्त छ आहाराभन्दा बढी प्लाष्टिकको
देखा पर्दै गएको छ विषादिको असर
कतिबेला मारिने हो भन्ने खतरा छ शिकारी र लोभीपापीहरूबाट
जोखिमपूर्ण बन्दै गएको छ शान्ति र सुरक्षा
तसर्थ
अब राज्यको प्राथमिकता,
प्रकृतिप्रेमीहरूको प्राथमिकता
र जनजनको प्राथमिकता
मान्छे-पर्यटक मात्र होइन
पर्यटक-पक्षी पनि हुनुपर्छ
केलाउनुपर्छ अन्तरसम्बन्ध
सँगसँगै चलाउनुपर्छ अभियान
पक्षी-पर्यटन र पर्यटक-पक्षी प्रवर्द्धनको
अनुकूल वासस्थान कायम राख्न
र स्वस्थ वातावरण पुनर्स्थापना हेतु
हातेमालो गर्नुपर्छ सबैले-
ढलमुक्त र फोहोरमैलामुक्त अभियानमा
प्लाष्टिकमुक्त र विषादीमुक्त अभियानमा
अतिक्रमणमुक्त र शिकारमुक्त अभियानमा
भूक्षय र वन डढेलो रोकथाम अभियानमा
माटो, ध्वनि, जल र वायु प्रदूषण नियन्त्रण अभियानमा
वनस्रोत र क्षयीकरण न्यूनीकरण अभियानमा
र सार्थक वातावरणीय सुरक्षा अभियानमा
तब मात्र बढ्नेछ भ्रमणको निरन्तर तृष्णा
प्रकृतिका गहना यी पर्यटक-पक्षीहरूको युगौँयुगसम्म ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










