तामाकोसी, त्यो सुनकोसी

त्यो गिरि फोरी बहने रोशी…

युगकविको हृदयलाई हरदम पवित्र पार्ने प्राकृतिक रोशीको रौद्र रूप यो पटक ‘ज्यानमारा’ को आलोकमा प्रकट भयो । यो वर्ष शरदमा रोशीको विकराल वितण्डाले पुराना भाष्यकारहरूलाई आफ्ना अनुभूतिहरू बदल्न कति प्रेरित गर्‍यो, त्यो भने अबका स्रष्टाका सिर्जनाहरूमा निर्भर होलान् ।

केही समय अगाडी मेरै सहित्यपोस्टमा प्रकाशित आलेख थियो, ‘रोशीको वाङ्मय र भूगोल’ । अनि सारमा रोशीको प्रवर्षणमा अन्तर्घुलित जनजीवन र संघर्षलाई काभ्रेली वाङ्मयको आधारको साक्ष्यमा रोशीको भूगोलको चर्चा थियो । रोशीको अनेकन् किम्बदन्ती, महिमा-महत्तादेखि प्रवर्षण क्षेत्रका प्राकृतिक छटाहरूले आलेखमा राम्रै स्थान पाएका थिए ।

यो पटकको असोजको भारी वर्षामा सबैभन्दा धेरै वितण्डा गर्ने पनि रोशी देखियो ।  महाभारत, बेथानचोक र पनौती आसपासको भूगोल रोशीको उद्गमस्थल हो, र काभ्रेको सग्लो भूगोलले मात्र रोशी चिन्दछ । ललितपुर जिल्लाको एकाध खोल्सा-कन्दाराको गन्ध रोशीतर्फको पानीढलोमा मिसिएको छ । त्यसैगरी रोशी धेरै सर्जकहरूको काव्य, स्मृति, कथा र संस्मरणमा समावेश छ । तर, प्राकृतिक स्रोतका शोषकहरूको छिनाझपटीबाटमा रोशी नैरन्तर्य घायल थियो । र, आज  त्यो ‘अति’ भएपछि रोशीले आफू माथिको अतिक्रमणका विरुद्ध रौद्र रूप प्रकट गरेको होइन र ?

काभ्रेको पुराना आलोकहरूमा महाभारत र बेथान चोकको अधिकतर भूगोल ‘लेक’ र मान्छेलाई ‘लेकाली’ भन्ने भाष्य सुगमेहरूको मुखमा झुन्डिएको हुन्थ्यो । अनि, लेकालीहरू दुःख बोक्नेहरू थिए अर्थात् तिनीहरू धेरै बोझ उठाउन सक्ने मान्छेहरू थिए तर त्यो उनीहरूको नियति थियो । तर पछिल्लो परिचयहरू फेरिएका थिए, र उनीहरूको पनि तन्नेरी बैंस लामो समय जिउँदो जाग्दो देखिन थालेको थियो । अर्थात् त्यो भूगोल पर्या-पर्यटन एवं कृषिको विकासले सम्पन्न र हराभरा हुँदै थियो ।

अर्कोतिर तथ्यगत आँकडाले पनि पुष्टि गरेको थियो: त्यो क्षेत्र भयावह प्राकृतिक स्रोतको खानी हो । त्यो लेक समग्र जिल्लाको पानीको स्रोत थियो अर्थात् बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध समेत करीब अन्य पाँच वटा नगरपालिकाको खाने पानीकै जुगाड हुनसक्ने क्षेत्र थियो । अर्थात् महाभारत लेकका मुहानहरूले रैथानेहरूको प्यास त मेट्यो नै बचेखुचेको कन्चन पानी फेरि रोशीमै अन्तर्घुलित भैरह्यो ।

अनि रोशीले उता नियात्रा र पर्या साहित्यमा बाक्लो स्थान लियो, ‘रोशीका हजार छाल, रोशीको वाङ्मय र भूगोल, … लगायत यस्तै यस्तै शीर्षकहरूमा ।

वैदिक  साहित्यहरूमा प्रकृति प्रतिको मानवीय कर्तव्यको बलियो भावनाहरू ओतप्रोत छ । तर पछिल्ला साहित्यमा कति जलवायु परिवर्तनको प्रतिरोध र पर्यावरणीय चक्रको स्थिरताका लागि सचेतन अक्षरहरू लेखियो होला र ? पछिल्लो वैश्विक मुद्दा बनेको छ: जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको प्रतिरोध र पर्यावरणीय चक्रको स्थिरता । तर के त्यसको पारिस्थितिक सन्तुलन र वातावरणीय सद्भावलाई प्रवर्द्धन गर्ने कार्य सरकारको मात्र हो र ? के चेतनशील मान्छेले नबोल्ने हो, नगर्ने हो र नलेख्ने हो त ?

प्राकृतिक स्रोत व्यवस्थापन समग्रमा स्रोतको उपयोगलाई वर्तमान र भावी पुस्ताको जीवनको गुणस्तरता वृद्धिका निम्ति कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा केन्द्रित रहन्छ । तर विद्यमान अवस्थाको स्रोतको उपयोगले उल्टो वर्तमान पुस्ताकै जीवनलाई नै तहसनहस गर्ने स्थितिमा छ भन्ने बुझ्न कठिन छैन । प्राकृतिक स्रोत व्यवस्थापनले भूमिको प्रयोग, पानीदेखि जैविक विविधता संरक्षण, कृषि, खानी, पर्यटन, र वनजन्य उद्योगहरूको दीर्घकालीन सहसम्बन्धलाई जोड्न आवश्यक छैन र ?

नीति निर्माताले जे गर्लान्,  अबको पर्या-साहित्यको चेतले यो विषयलाई किन उठान नगर्ने त ?

चराचर प्रकृतिले सबै जीवन स्वरूपहरूको सुरक्षा नै गर्छ, विनाश होइन । प्रकृति तत्त्वले मान्छेलाई पर्यावरणीय सन्तुलनको जिम्मा दिएको छ, र त्यो जस्ताको तस्तै कायम राख्ने विचारको पक्षपोषण मान्छेले गर्नैपर्छ । स्वस्थ वातावरणले शरीर र आत्मा दुवैलाई शुद्ध पर्दछ, र जीवनको मूल्यको बोध गराउँछ । यो सत्यको बोध अबको पर्या-चेतले किन नगर्ने ?

प्राकृतिक स्रोत व्यवस्थापनमा नैतिकता, अन्तरनिर्भरता र मानवीय अन्तर सम्बन्धहरूप्रति जिम्मेवार विधिहरूको प्रयोग आवश्यक छ । हाम्रो वैदिक मान्यताले पनि वातावरणीय आयामहरूको व्यापक चर्चा गर्दै प्रकृतिसँग एकाकार भएर जीवन बिताउन जोड दिएको छ । धर्म दर्शनको अनेकन् दृष्टिकोणहरू प्राकृतिक स्रोतहरू आध्यात्मिक महत्त्व, समुदायको सद्भाव र जीवनको उन्नयनमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित छन् ।

धेरै शास्त्रीय लेखकहरूले प्रकृतिलाई ईश्वरीय तत्त्व मानेका छन्, र प्रकृतिको स्तुतिगान गरेका छन् । तर आजका मान्छेले प्राकृतिक स्रोतमाथिको राक्षसी रजाइँ जारी राखेका छन्, र  विद्वतहरू मौन छन् । के यो दुर्दशालाई अब पनि विद्वत वर्गले  टुलुटुलु हेर्ने हो ?

रोशीले दशैं लुटेको मात्र होइन, रोशीले प्राकृतिक ‘पराशक्ति’लाई कमजोर नआँक्न सन्देश पनि दिएको हो । आखिरमा प्रकृति नै आत्मज्ञान प्राप्ति हुने र ईश्वरीय तत्त्व समाहित भूमि हो । रोशी असहनीय उमङ्ग झंकृत ठाउँ त हो नै, साथसाथै आदिकालीन मान्छेको इतिहास जोडिएको भूगोल हो । यो अर्थमा रोशीलाई दशैं उजाड्नु थिएन, परन्तु आफ्नै अलौकिकताको उजागर मात्र गर्नु थियो ।

अनि ‘रोशी’ किनार आजको मान्छेले मात्र हिंडेको बाटो होइन, ‘ने’मुनि काठमाडौं उपत्यका आएको बाटो हो । प्रामाणिक आलेखलाई नै आधार मान्ने हो भने पनि प्रसिद्ध चीनियाँ यात्री ह्वेन शाङ्गले यात्रा गरेको बाटो रोशी हो, उनी भारतको बिहार हुँदै नेपाल आएका थिए । त्यति मात्र होइन, चौधौं शताब्दीमा पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने बङ्गालका सुलतान शमसुद्दीन तुग्लक सुनकोसी-रोशी किनारबाटै काठमाडौं आएर फर्केका थिए ।

हुन त उपत्यकाबाट पूर्वतर्फका धेरै यात्रुहरूको स्पन्दनमा रोशीको आ-आफ्नै अनुभूति छन्  । रोशी हुँदै यात्रा गर्नु रोमाञ्चकारी पनि थियो, तबै त युग कविले लेखे मेरो हृदयको तिम्रो चित्र पारिरहन्छ हरदम पवित्र’ ।

यात्रा पूर्वीय जगतमा अनादिकाल देखिकै मान्छेले अपनाएको जीवनको एउटा अङ्ग हो, र पौरस्त्य वाङ्मयका लगभग सबै ग्रन्थहरू वेद, उपनिषद्, पुराण लगायतले यात्रालाई जीवन र जगतका निम्ति अपरिमेय मानेको छ ।  अर्थात् पूर्वीय जगतमा यात्रा ईश्वरीय-तत्त्व प्राप्त गर्ने माध्यम बनेको छ, जीवन दर्शन बनेको छ, आत्मज्ञानको स्रोत बनेको छ, र आध्यात्मिक चेतना प्राप्तिको मूलस्थान मानिन्छ । यात्रामार्फत नै महात्मा र सिद्ध पुरुषहरूले जगत् चिनेका हुन्, अनि भूमिको स्पर्शसँगै तप र साधनामार्फत बुद्धत्व र बोधिसत्त्व प्राप्त गरेका हुन् । र, अर्थात् उनीहरूले ‘यात्रा’ गर्दै-गराउँदै चराचर जगतको गुणसँग मान्छेको जीवनलाई समाहित गर्न प्रेरित गरे, सँगसँगै माटो, आकाश, जल, वायु र अग्निसँग आत्मालाई एकात्मक गराउँदै लगे ।

पछिल्लो समय ‘रोशी’मा यात्रा गर्नेहरू धेरै थपिए, तर रोशीको क्रन्दन कसैले सुनेनन् । रोशीका अवैध क्रसर कसैले देखेनन्, छाती (भित्ता) कोपरेको कसैले हेरेनन्, र पल्लवित प्रकृतिको सुवास निसासिएको कसैले महसूस गरेनन् । न त चराचर जगतको गुणसँग मान्छेको जीवनको सम्बन्धलाई समाहित गर्न कसैले लेख्यो  न त त्यहाँको प्रकृति तत्त्वको सुरक्षाको पैरवी । अनि रोशीले पिडा चाहिं चूपचाप सहनुपर्ने ?

…. त्यसकारण रोशीले दशैं उजाड्यो !  रैथानेहरूमा धेरैको उजाड्यो र यात्रुहरूमा थोरैको उजाड्यो ।