प्रकृति सधैं जिङग्रिङ्ग परेकी, मयलले पोतिएकी, घीनलाग्दी देखिन्थी । काती परेका वस्त्र र दुङदुङ गह्नाउने शरीरका कारण उसको कलकलाउँदो उमेरमा पनि कुनै आकर्षण भेटिन्नथ्यो । ऊ निराश र तनावको जीवन जिउन बाध्य छ भन्ने संकेत यौवन नढल्किंदै जीउडालमा बुढ्यौलीको लक्षण देखिनुले स्पष्ट पार्थ्यो । मानसिक रूपले विक्षिप्त प्रकृतिको अनुहारमा मुस्कान बिरलै देख्न पाइन्थ्यो । मनमनै म सोच्थें पनि, प्रकृतिलाई नुहाइधुवाइ, कोरीबाटी गरी सफा लुगा लगाइदिएर नियाल्न पाए कस्ती देखिन्थी होली ? तर, उसलाई चिटिक्क परेकी देख्ने चाहनाहरू मनभित्रै गुम्सिएर रहन्थे । प्रकृतिको दिनानुदिन खस्कँदो अवस्थाप्रति धेरैलाई सरोकार नै हुन छाडिसकेको थियो । प्रकृति सधैं उस्तै त हो नि भनेर अरूले सोचे जस्तै उसलाई बिर्सने प्रयास गरिरहें मैले पनि ।
आजकल भने प्रकृतिलाई हेरेको हेरै गर्न मन लाग्छ । ऊ चिटिक्क, सफा र लोभलाग्दी देखिन थालेकी छ । उसलाई हेर्दा आँखा थाक्न छाडेका छन् । उनको शरीरमा एकटकले धेरै हेर्नु पनि पर्दैन, एकै छिन हेर्दा पनि किन हो चरम सुखको अनुभूति हुन्छ । उनको बदलिएको रूपरङ्ग र धपक्क बलेको यौवनको रहस्य जान्न प्रगाढ कौतूहल जागृत भएर आयो ।
मन थाम्न नसकेपछि उनको समीप गएर सोध्ने हिम्मत जुटाएँ, “सधैं निराश देखिने तिमी आजकल एकदमै प्रसन्न देखिन्छ्यौ । तिम्रो मुहारमा अप्रत्याशित चमक आएको छ । तिमी यति विधि उज्याली विगतमा कहिल्यै देखिएकी थिइनौ । तिम्रो ओइलाएको सुन्दरता आजकल फक्रिन थालेको छ । तिम्रो सुन्दरता हिजोआज किन हो स्वर्गकी अप्सरालाई पनि मात गर्ने खालको छ । तिमीमा एक्कासि अचम्मित हुनेगरी आएको परिवर्तनको रहस्य के हो ? भन न प्रकृति ।”
प्रकृतिले आँखाबाट भरर आँसु चुहाइन् । लामो सास फेरिन् र भनिन्, “हो, विगत केही दिनदेखि म एकदमै प्रसन्न छु । मैले आफ्नो पछिल्लो जीवन कालमा यति विधि खुशी कहिल्यै भोग्न पाएकी थिइनँ । यस जगतमा सृष्टिलाई निरन्तरता दिनु मेरो प्रमुख कर्तव्य हो । मेरो जन्म र मेरो जीवनको ध्येय नै अरूलाई खुशी पार्नका लागि हो । तर म भने जीवनभर प्रताडित भएर रहें । धूलो, धूवाँ, फोहोर, विषाक्त रसायन आदिको कारणले यो शताब्दीको शुरूदेखि त झनझन उकुसमुकुसपूर्ण वातावरणमा जीवन बिताउनु पर्ने बाध्यता आइलाग्यो । म एकदमै रोगी भैसकेकी थिएँ । मैले पर्याप्त स्याहारसुसार पटक्कै पाउन सकिनँ । मेरो मनको व्यथा बुझिदिने कोही भएन । म रोगी भए पनि, कमजोर भए पनि, बेहोसी अवस्थामा भए पनि मेरो अस्मिता लुट्ने क्रम रोकिएको थिएन ।”
उनले फेरी लामो सास फेर्दै आफ्ना रसाएका आँखा पुछिन् । मलिन स्वरमा उनले फेरी कुरा अगाडि बढाइन्, “तिमीले सोधेको प्रश्नको उत्तर दिंदा मेरो मन आज भक्कानिएको छ, तर उत्तिकै प्रफुल्लित पनि भएको छ । मलाई कसैले पनि तेरो दुःख र पीडा के छ भनेर आजसम्म सोधेनन् । न त मेरो सुन्दरतालाई निरन्तरता दिन के गर्नुपर्छ भन्ने कुरामा कसैले आजसम्म प्रश्न गरे । कम्तीमा तिमीले मेरो सुन्दरताको रहस्य के हो भनेर त सोध्यौ । यसका लागि तिमीलाई धन्यवाद !” खुशी र पीडा दुवै मिसिएको आँखा मेरो आँखामा एकछिन जुधाइन् ।
केही क्षणको मौनतापछि उनले ओठमा वेदनाको मिश्रण सहित हलुका मुस्कान छर्दै भनिन्, “आजकल ममाथि किन अनौठो व्यवहार भइरहेछ, म पनि बुझ्नै सकिरहेकी छैन । म आफैं अचम्मित भएकी छु । मैले अनायास माया पाउन थालेकी छु । माया पाएपछि ओइलिएको मन पनि यसै तंग्रिने रहेछ । जीवनमा उत्साह उमङ्ग पलाउने रहेछ । जीवन र जगत् सबै सुन्दर लाग्ने रहेछ । अरू भन्दा पनि मैले विश्राम पाएकी छु । मेरो शरीरमा लुछाचुँडी गर्ने क्रम रोकिएको छ । मैले यौवन कालमा पाइने आनन्दको प्रत्यक्ष अनुभूति गर्न पाएकी थिइन । जीवनमा सधैं पीडा मात्र भोगिरहें । मैले व्यर्थ सम्झिन थालेको जीवनमा फेरि आशाको पालुवा पलाएको छ । यस जगतमा सृष्टिलाई निरन्तरता दिनसक्छु भन्ने झिनो आत्मविश्वास बढेर गएको छ ममा ।”
उनको दुवै आँखाबाट एकै साथ एकएक थोपा आँसु खसे । रसाएको आँखा पुछ्दै थपिन्, “अहिलेको जस्तै मेरो पीडा बुझेर मलाई सधैं माया गरिदिए म पनि माया बाँड्न पाउने थिएँ । म स्वास्थ्य र निरोगी रहनसक्दा यस धर्तीलाई अनन्तकाल सम्म निरन्तरता दिइरहन पाउने थिएँ । मेरो प्रसन्नता र सुन्दरतामा रमाउन चाहन्छौ भने मलाई पनि उपयुक्त वातावरण चाहिन्छ । मेरो यौवनको भरपूर आनन्द लिन चाहन्छौ भने मलाई पनि प्रेम भरिएको आलिंगन चाहिन्छ । ममाथि विगत जस्तो व्यवहार नहोस् भन्ने मेरो ठूलो अपेक्षा पनि छ । मेरो जीवनमा पूर्णविराम लाग्यो भने समस्त प्राणी जगतकै भविष्यमा विराम लाग्ने अवस्था छ ! मानव जतिले यो यथार्थलाई बुझेर पनि बुझ पचाइरहेको छ !”
एकछिन सास रोकेर सुँक्कसुँक्क गरिन् । अनि भक्कानिंदै आफ्नो मनको बह अझ पोखिन्, “मलाई थाहा छ, कोरोना जस्तो महामारीको कारण नै ममाथि हुने चरम दोहन अहिले रोकिएको छ । त्यसैले मेरो मुहार फेरिएको छ । आपतविपत पर्दा मात्र मनुष्यले मलाई जोगाउनु पर्छ भन्ने रट लगाउँछ । मेरो नाममा हरेक वर्ष विश्वभरि नै विभिन्न सम्मेलन र गोष्ठीहरू आयोजना गरिन्छ तर मैले भने ठूलो भिन्नताको अनुभव गर्न सकिरहेकी छैन । मैले आफ्नो विगत नियाल्दा म ढुक्क हुनसक्ने अवस्थामा त छैन । तर पनि मेरो सुन्दरता र यौवनमा लालायित हुने मनुष्य जातिलाई एउटा मात्र बिन्ती छ – मलाई जसरी उपयोग गर्छौ गर, तर तिमीहरूले आफ्नो स्वास्थ्यको ख्याल गरिरहँदा मेरो स्वास्थ्यको पनि ख्याल गरिदिए यो ब्रह्माण्डकै लागि हितकर हुने थियो । अहिले कोरोना कालमा मप्रति देखाइएको सहानुभूतिले सदाका लागि निरन्तरता पाए हुन्थ्यो ।”
प्रकृतिले धेरै शंका र थोरै विश्वासले मेरो आँखामा एकोहरो हेरिरहिन् । मसँग नजिक हुन अलिकति अगाडि सरिन् । म भने एक कदम पछाडि सरें । उनको आँखाले मबाट उनको स्वास्थ्यको ख्याल गरिदिने बचनबद्धताको माग गरिरहेको झल्को दियो । म एक्लैले उनको माग पूरा गर्नसक्छु भन्ने कुरामा विश्वस्त हुन सकिनँ । बिस्तारै उनको आँखाबाट आफ्नो आँखा हटाएँ र शिर झुकाएँ । उनले मानव जातिप्रति तीव्र असन्तोष पोखिरहँदा म भने किंकर्तव्यविमूढ बन्नपुगें ।
तर, सुन्दर प्रकृतिसँग निरन्तर लुटपुटिने लालस भने मेट्न सकेन मेरो मनबाट ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।