खर्कको बास
रोकियो सास
झ्याप्प निभ्यो
त्यो आँखाको ज्योति !
चुपचाप छ ऊ !
मुढा झैं लमतन्न
उल्टो भयो
पात र हाँगाहरुले जमिन छोए
जराहरुले आकाश छोए
जीवनको रङ्ग सकिएछ
तर जीवनका सूचकहरु
छरपष्ट छरिएका झैँ !
पात र डाँठ बोकी उडे चराहरु
गूंड सजाएर वचेरा उडाउने छ |
झ्याउ र बोक्राहरु बोकी हिंडे कमिलाहरु
दरवार सजाउने छ आफ्नो
सेता फुलहरु जोगाउने छ बर्षातमा ओढाएर
फैलाउने छ आफ्नो दर सन्तान !
हाँगा कसैले
दाउरा कसैले
गोलिया कसैले
बोकेर आफ्नो आफ्नो
घर सजाए
बचेका जराजुरी
फेदहरुमा
देवल बनायो धमिराले
ज्योति ज्योति महा ज्योति !
निभ्यो त्यो आँखाको ज्योति !
निभ्यो के भन्नु !
कुनै दिन
गुमनाम पात्रले बाल्ने छ त्यो ज्योति !
र हेर्ने छ
– हराभरा वन उपवन
– धमिरा, छिचिमिरा अनि कमिलाका ताँती
हेर्ने छ
– उडाई लाने चराहरु
– स्थुल बोकेर घरजम गर्ने विचराहरु
अश्रांग, गोरखा
(हाल: कटुन्जे, भक्तपुर )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।