हिमालको शिरमा हम्मर हानियो
पहाडको छातीमा गोली बर्षाइयो
तराईको काखमा लात मारियो
खोला-नदीमा बिष मिसाइयो
माटोमा प्लास्टिकका बेर्ना सारिए
हावामा धुवाँको मुस्लो छोडियो
चुरेको भुइँमा डढेलो लगाइयो
पानीको मूलमा आगो बालियो
मसँगै ठिङ्ग उभिएर विरह गाउँछन्
आगोले पेट पोलेका निरीह रुखहरू
चुपचाप सहन्छ पीडा पृथ्वी

विरही गीत गाउँछन् निर्वासित चराहरू
पेट पाल्न मुगलानिएका युवाहरूझैं
चुच्चोमा चारो होइन
प्लास्टिकका त्यान्द्रा आउँदा झन् विरक्तिन्छन्
खानु थियो ज्यान बचाउन
तर त्यही खानाले अकाल मार्यो
हिउँ विनाको हिमाल रुञ्चे हाँसो बोकेर
पृथ्वी चिहाउँछ
रुख बिनाको जङ्गल जलाशय खोज्दै
पृथ्वीलाई नै धिक्कार्छ
अपहेलित पृथ्वी

मान्छेहरू घर बनाउँछ्न् यहीँ
जनावरहरू रात गुजार्छन् यहीँ
चराहरू गुँड लगाउँछन् यहीँ
भक्तहरू देउता पुकार्छन् यहीँ
घरदेखि गोठसम्म
लेकदेखि बेंशीसम्म
अन्न उमारेर जीवन धान्न
यहीँ पृथ्वीको माटो चलाउँछन्
तर,
पृथ्वीलाई आपत पर्दा
यही मान्छेको जात
हानेर हिँड्दछ लात

आफ्नै सन्तानको निर्मम प्रहारले
प्रताडित पृथ्वी
आफ्नो छोटिंदो आयुको अङ्कगणित
दिनरात सुमसुम्याउँछ
मान्छेलाई हेक्कै छैन-
पृथ्वी सक्किँदा
ऊ पनि सकिन्छ ।