पृथ्वीमा भइरहेको पर्यावरणको ज्वलन्त समस्या र इको लेखनको विश्व तरङ्गलाई हृदयदेखि आत्मसात् गरी त्यसको प्रयोगमा व्यापकता प्रदान गर्दै साहित्यिक अभियानका रूपमा अघि बढाएर धेरै स्रष्टासम्म पुऱ्याउने प्रथम नेपाली साहित्यिक विजय हितान हुनुहुन्छ भन्ने कुरा डा. गोविन्दराज भट्टराईले सन २०२१ मा प्रकाशित कथासङ्ग्रह ब्लु प्लानेटको भूमिकामा नै उल्लेख गर्नुभएको छ । विश्वमा भइरहेका राम्रा, नराम्रा विभिन्न घटनाहरूबारे प्रविधिले गर्दा तत्काल जानकारी हुन्छ । अहिलेका मानिसहरूमा पर्यावरण संरक्षणबारे चेतना धेरै पसिसकेको भए तापनि राजनीति, समाज व्यवस्था, स्वार्थ, आदि विभिन्न कारणहरूले गर्दा प्रकृतिलाई बचाउन चाहनेले पनि सही रूपमा काम गर्न सकिरहेका छैनन् ।

प्रकृतिसँग नारीवादलाई जोडेर लेखिनु सर्वथा नयाँ प्रयोग मानिन्छ । ब्लु प्लानेट कथासङ्ग्रहको पहिलो कथा हो ‘पँधेरीले लुकाएको अँध्यारो कथा’ । कथा सरसर्ति पढ्दै गएँ । सुरुमा सासू-बुहारीको बीचमा परम्परागत रूपमा भइआएको भनावैरीको एउटा साधारण कथा झैँ लाग्यो । दुई-तीन पटक पढेपछि मेरो चेत खुल्दै गए झैँ भयो ।

मधेशमा जन्मिएर आफ्नो घर गरिखान पहाड चढेकी एउटी केटी दीपाको कथा मात्रै होइन रहेछ यो । दीपाको चरित्रलाई अघि राखेर यहाँ नारी मनको विश्लेषण गरिएको छ । त्यस विश्लेषणमा दीपाले भोगेका समस्याहरूको तहमा झर्दा पर्यावरणको गहिरो मन्थन पनि लुकेको देखिन्छ । कथाकार स्वयम व्यवहारिक रूपमा पर्यावरणमाथि काम गरेर अध्ययन चिन्तनमा कलम चलाउने विद्वान व्यक्ति भएकाले यस कथामा इको फेमिनिजमको नयाँ चेतनालाई घटनाक्रम सँगसँगै समानान्तर रूपले अघि बढाउँदै लगेको चतुऱ्याइँ झल्किएको छ ।

हलुका तवरले कथालाई सुरु गरिएको छ । मधेशमा जन्मिएर खेलेकी, हुर्किएकी छोरी दीपा मधेशको ढुङ्गा, माटो, हावा, पानी सबैलाई स्पर्श गर्दै रमाउने गर्थी । मधेशको उखरमाउलो गर्मीमा मच्छडको आतङ्कबाट बाँच्न नरिवलको डोरीले बुनेको खाटमा मच्छडदानी टाँगेर सुत्नु पर्ने बाध्यता हुन्छ अनि मधेशको हुरीबतासको आतङ्क पनि बेहोरेकी हुन्छे दीपाले । समय सँगसँगै मधेशमा मान्छे बाक्लिँदै गएर घरहरू पनि बढ्न थाल्छन् ।

पहाडमा मूल फुटेर आएको पानीले मधेशको जमिनलाई उर्वरशील बनाएर मुरीका मुरी धान फलाएको उसले देखेकी छ । खोलाको पानी अपुग भएर मान्छेले घरघरमा चापाकल गाड्छन्, त्यतिले पनि पानी नपुगेर मानिसले बोरिङ गर्न थाल्छन् । जमिनमुनि बाट त्यसरी दिनका दिन पानी निकालियो भने पनीको स्रोत रित्तिएर मान्छे काकाकुल बन्ने छ भन्ने भय बाह्र क्लाससम्म पढेकी दीपाको मनमा उब्जिन्छ । जीवनलाई चाहिने अनमोल अवयवहरू जल, वायु, वनस्पति, जीवजन्तु आदिको संरक्षण भएन भने मानिस मात्रै किन सम्पूर्ण पृथ्वीको अस्तित्व लोप हुन बेर लाग्दैन ।

प्रकृतिको सुन्दर रचना, जैविक र सामाजिक विविधताको खानी, मान्छेहरू किन फर्किन चाहँदैनन् पहाड ? यो संसारलाई एकदिन आफ्नो पुर्खौली ठाउँ फर्किएर देखाइदिन्छु म ।  कथाकी मूल पात्राको मुखबाट बोलाइएको यस वाक्यमा कथाकारले आफ्नो मनको बह पोखेका छन् । यो कथन कथाकारको मनमा रहेको आफ्नै भावना हो । उनी अत्यन्तै प्रेम गर्छन् आफ्नो पुर्ख्यौली थलोलाई ।

कहिल्यै नपुगेको उसका पूर्खाहरूको पहाडको सुन्दर कल्पनाले दीपाको मनमा बास गरेको हुन्छ । पहाड सफा छ, त्यहाँको मुहानको पानी मीठो छ, हावा-पानी स्वच्छ छ, खाना स्वादिलो छ, धुलो उड्दैन, हिमाली हावाले परिवेशमा चिसो पार्छ, मधेशको जस्तो गर्मी हुँदैन भन्ने कुरा उसको प्रेमी तिलकले उसलाई फकाउनका लागि च्याट गरेर भनेको हुन्छ । उसले दीपालाई पहाडमा सडक, बिजुली, इन्टरनेट आदि पुगेको कुरा पनि गर्छ ।

पहाडका त्यस्ता रमाइला र मनमोहक कुराले पहाडप्रतिको दीपाको मनमा भएको कल्पनालाई ऊर्जा मिल्छ र उसको बाल रहरले गर्दा पहाडको केटा तिलकसित उसको बिहे हुन्छ । यसरी विवाहपछि दीपाको सङ्घर्षको कथा सुरु हुन्छ । सुरु सुरुमा कोदो रोप्न जानु, ताउलोमा कुँडो पकाउनु, दूध दुहुनु, मोही पारेर घिउ झिक्नु, डोकामा गाग्री लिएर पानी लिन धारा जानु आदि काम उसका लागि नयाँ अनुभव हुन्छन् र जीवनसाथीको प्रेमले आनन्दसाथ गर्छे। तर केही महिनापछि वैदेशिक रोजगारीमा तिलक मलेसिया जान्छ ।

त्यसपछि परम्परागत संस्कार हाबी हुँदै जान्छ । छोराको अनुपस्थितिमा सासूको कचकचले सीमा नाघ्छ । अनि त पहाडको वास्तविकता उसको सामु आउँदै जान थाल्छ । पहाडमा घरघरै पानीको मुहान कहाँ हुँदो रहेछ र ?

पहाडमा पर्यावरण संरक्षण नभएकाले मुहानहरू सुक्दै गएको उसले थाहा पाउँछे । गाउँमा जलवायु परिवर्तन र विकासका निर्माण कार्यले रुख आदि काटिन थाले, हिउँ पर्न छोड्यो, खडेरी पनि पर्दो रहेछ । मूल सुक्दै गएको धाराबाट पानी बोकेर ल्याउन उसलाई धेरै समय लाग्न थाल्यो । दुई जिउकी भएपछि त झन् पानी बोक्न ठुलो समस्या हुन थाल्यो । त्यसमाथि सासूको कचकच । टाढा रहेको आफ्नो भनाउँदो पतिको साथ पाएको भए पनि उसले आफ्नो जीवनसित सम्झौता गर्ने थिई होला । त्यो पनि उसले पाइन ।

आमाछोराबाट उत्सर्जित आक्षेप र तिरस्कारले दीपाको मन क्षतविक्षत हुन थाल्यो । उसलाई आफ्नो गर्भमा हुर्किँदै गरेको सन्तानको भविष्यबारे चिन्ता हुन थाल्यो ।  विरक्त भएर उसले आफ्नो लोग्नेलाई मोबाइलमा लेख्छे – हाम्री जन्मिनेवाला छोरीले पनि मैले जस्तै यसरी नै पानी बोकेर पिउनु पर्ने होला । दुई घण्टा त होइन चार घण्टा लाग्न सक्ला भविष्यमा उसलाई पानी बोकेर परिवारलाई पिलाउन । पानी बोक्नुको शारीरिक पीडा र उसकी सासू र पतिले सम्भवतः दिने मानसिक यातना, भो मेरी छोरीलाई भोग्न नपरोस् । मलाई अब उप्रान्त बाँच्ने रहर भएन तिलक !”

विडम्बना त के छ भने यस कथामा नारी आफैँ गौण भएर उभिएको देखिन्छ । समस्या, पीडा साथै सासूको वचन उसले भोगिरहेकी हुन्छे । सहने प्रकृतिको धर्म बनिएझैँ ऊ पनि सहिरहन्छे । जसरी पृथिवीले कुनै विरोध नगरीकन अनेक पीडा, निर्यातन खपिरहेको हुन्छ । सोही अनुरूप यहाँ पनि नारी प्रकृति झैँ मौन सहनशीला बनिएकी छ ।

दीपाकी सासू एउटी नारी भएर नारीको पीडा बुझ्न नसक्नु, माया गर्न नसक्नु, मन र वचनले सहयोग गर्न नसक्नुको पछाडि पनि पुरुष तन्त्रको अभिमान लुकेको देखिन्छ । नारी भएर नारी मनले नारीको पीडा विश्लेषण गर्ने क्षमता उसमा लोप भएको हुन्छ । किनभने उसको मन र मस्तिष्कलाई पुरुष तन्त्रले डोहोऱ्याएको हुन्छ । जसले गर्दा नारीलाई पनि प्रकृतिलाई झैँ विनाशको सँघारमा पुऱ्याएर नाजुक अवस्थामा छोडिएको चित्रण यस कथामा सुन्दर तवरले गरिएको छ ।

पर्यावरीय विनाश हुँदा नारीहरू धेर प्रभावित हुन्छन् भन्ने कुरालाई पनि कथाकारले भन्न चाहेका छन् । नारीवाद र इको फेमिनिजमबारे अध्ययन गरेका कथाकार हितान स्वयमले आफ्नो भनाइ ‘कथाकारको कथन’मा यसरी भनेका छन् –  पुरुषभन्दा महिलाहरू वातावरणसँग समीप हुने हुनाले उनीहरू नै पर्यावरणीय असरबाट बढी पीडित हुन्छन् ।   

यहाँ नारीवादलाई पारिस्थितिकीसित जोडेर हेर्ने काम भएको छ । लेखनको विश्वतरङ्ग बुझेर साहित्यिक अभियानमा लागेका विजय हितानज्यूलाई यस कथाका लागि धेरै धेरै बधाई छ । भविष्यमा उहाँका इको सिर्जनाहरू अझ निखारिँदै जाउन् भन्ने शुभकामना सहित मैले के कति न्याय दिनसकेँ वा सकिनँ भन्दा पनि पर्यावरण लेखनको विश्वतरङ्गतिर मेरो ध्यानाकर्षण गरिदिनु भएकोमा विजय हितानज्यूलाई अन्तर हृदयबाट धन्यवादका पुष्पाक्षर अर्पण गर्दछु ।

(‘पर्या साहित्य सिद्धान्त र सिर्जना’पुस्तकबाट साभार)