कालो शरीर
मानिसको हेराइ
कर्कश स्वर
मानिसकै सुनाइ
अपमानित छ काग !

उत्तर आधुनिकताको छायामा
धूमिल आकाशमा
काग बनेर विचरण गर्दा
कालो आँखाबाट धरती निहार्दा
मन चकनाचुर हुन्छ
स्वघोषित जीव श्रेष्ठ मानिसले
शक्ति सङ्घर्षमा संसार बदल्दा
अरूले के देख्छन् कुन्नि
कागको कालो आँखाले
मानिसले पछ्याएको विनाश देख्छ
प्रदूषणको खेती गर्दागर्दै
आफ्नै विनाश निम्त्याउने
अन्ध आधुनिकताको दुर्दशा देख्छ ।

प्राकृत सत्य
हावाको सङ्गीतमा
बुद्धि बाँड्दछ
काग एक शिक्षक
कठोर पुकारा !

पालना गरेर स्वधर्म
पृथ्वी भ्रमण गर्नुको आनन्द
अवलोकन गरेर धरती
अनुभवी हुनुको गौरव
नाच्दै खस्छन् वर्षाका थोपोहरू
जीवनका लागि आशीर्वाद
हावामा हल्लन्छन् पातहरू
जीवनको नवीकरण नृत्य
सद्भावमा फस्टाउँछन् जङ्गलहरू
विविध जीवनका घर
स्वतन्त्र बग्छन् नदीहरू
समस्त जीवनका आधार
हावाको धुनमा
चराको गीतमा
ऋतुको नाचमा
एउटै सन्देश सुनिन्छ
माया र हेरचाहको बीउ रोपौँ
पर्याप्रेमी नयाँ संसार रोजौँ
सद्भाव र सहअस्तित्वको गीत गाउँदै
प्रकृतिसँग नजिक बनौँ
भोलिको पुस्ताका लागि
माया र हेरचाहको बीउ रोपौँ
पर्याप्रेमी नयाँ संसार रोजौँ ।

कालेश्वर, महाङ्काल–४, ललितपुर