परापूर्व कालदेखि चलिआएका हाम्रा वैदिक परम्परा, संस्कार र संस्कृतिमा प्रकृतिलाई पूजिन्छ । जल, वायु , आकाश, धर्ती र समग्र पर्यावरणको पूजाबिना हामीले गरिने कुनै पनि दैविक पूजाआजा र पितृ कार्जेहरू पूरा हुँदैनन् ।
पहिला-पहिला पूजामा प्रयोग गरिने सबै सामग्रीहरू प्रकृतिमैत्री हुन्थे । सालका दुना, टपरीमा पूजा सामग्री सजाइएको हुन्थ्यो । मण्डप सजावटदेखि पूजा गर्नको लागि विभिन्न थरीका मगमग बास्ना आउने फूलहरूले वातावरण सुगन्धित बनाउँथे । शुद्ध घिउले हवन गरिन्थ्यो । मगमग बास्ना आउने सालका टपरीमा प्रसाद वितरण गरिन्थ्यो ।
त्यति बेला भोजनका निम्ति पनि सालकै टपरी थालको रूपमा प्रयोग गरिन्थ्यो । यस्तो मान्यता थियो कि सालको पात शुद्ध हुन्छ । यसरी गरिन्थ्यो पवित्र कार्जे ।
तर आज विकास सँगसँगै परिवर्तन भयो चालचलन पनि । धर्मको नीति-नियममा पनि परिवर्तन ल्याए धर्मात्माहरूले । जेनतेन दुईचार वटा फूल, अलिकति पातको जोहो गरी दस्तुर गरेपछि अरू सबै तिनै प्लास्टिकका सामग्रीको सहायता लिन थाले । सबै कुराको नीति-नियम बनाई पूजा गर्नेले यो प्लास्टिकको प्रयोग गर्न हुन्छ होला कि हुँदैन, पूजा गर्दा यसरी धर्म होला कि नहोला ? भन्नेतिर पनि थोरै ध्यान दिन जरुरी छ । नत्र हामीले पूजा गर्दा प्रयोगमा ल्याएका प्लास्टिकका सामग्रीहरू प्रकृतिको लागि एकदमै हानिकारक हुन्छन् । यस्ता हानिकारक वस्तु त भगवानले पनि के मन पराउँथे होला र ?
हामीले बालेका केमिकलयुक्त धूपले वायु दूषित बनाउँछ । प्लास्टिकका झोलामा बत्ती, धूप, चन्दन,अक्षता, फूल,प्रसाद लगायतका पूजा सामग्री पोको पारेर ल्याउने अनि पूजा गरिसकेपछि पूजा सामग्री पोको पारेर ल्याएका प्लास्टिक त्यतै कतै मन्दिरतिर अथवा मन्दिरको नजिकै नदी भए त्यहीँ नदीमा मिल्काउने नराम्रो आदत छ हाम्रो, जो नदी र सिङ्गै धर्तीलाई कष्टकर हुन पुग्दछ ।
हाम्रो वरपर जति पनि धार्मिक तीर्थस्थलहरू छन् । त्यस्ता तीर्थस्थलहरूमा अत्यधिक रूपमा पूजा सामग्री पोको पारेर ल्याएका प्लास्टिकहरू यत्रतत्र देखिन्छन् । अझै भनौँ मन्दिरमा वितरण गरिने प्रसाद पनि प्लास्टिकमै पोको पारेर दिन थालिएको छ । एक घुट्की पानीको लागि एउटा प्लास्टिकको गिलास । यसरी अनियन्त्रित रूपमा प्रयोगमा ल्याइएका प्लास्टिकले धार्मिक स्थलको सुन्दरतालाई कुरूप बनाएका छन् । कालीगण्डकीको किनार, मुक्तिनाथधाम, कागबेनी, त्रिवेणी, मातातीर्थ जस्ता नेपालका जुनसुकै तीर्थस्थलमा पनि प्लास्टिकका फोहोर यत्रतत्र देखिन्छन् । यहाँसम्म कि घरमा हुने कार्जेमा पनि प्लास्टिकको र यसबाट निर्मित सामग्रीहरूको प्रयोग व्यापक रूपमा देखिन्छ ।
यसले प्रकृतिलाई प्रत्यक्ष असर पारेको छ । धेरै पर जानुपर्दैन हामीले भोगेको विगतलाई अलिकति स्मरण गरौँ है !
मन्दिरमा जाँदा होस् अथवा कुनै पूजा, यज्ञमा जाँदा आकर्षक तरिकाले बुनेका ढकियाहरूमा रङ्गीचङ्गी फलफूल, पूजा सामग्री बडो कुशलतापूर्वक हरिया पातका खरी, दुना, टपरीमा सजाइन्थ्यो । त्यहाँ कुनै पनि प्रकारका प्लास्टिकका सामग्रीको प्रयोग हुन्थेन । कति राम्रो देखिन्थ्यो । पहिले गरिने सम्पूर्ण दैविक कार्जेहरू प्रकृतिमैत्री हुन्थे ।
तर अहिले यो एउटा विकराल समस्याको रूपमा देखिएको छ । सम्पूर्ण धार्मिक स्थलहरूलाई प्लास्टिकको फोहोरले छपक्कै छोपेको छ । अब सोच्नुपर्ने बेला आइसक्यो । कतै ढिलो नहोस् ! धार्मिक कार्जेहरू गर्दा अलिकति प्रकृतिमैत्री भएर गर्नु अहिलेको टड्कारो आवश्यकता हो । जसले हाम्रो परम्परा र चलनलाई पनि निरन्तरता दिन्छ ।
संस्कृतिलाई प्रकृतिमैत्री बनाउन त्यस्तो गाह्रो केही पनि छैन । अलिकति जाँगर, थोरै तत्परता र पूजा गर्ने श्रद्धा भए पुग्छ । प्लास्टिकका प्लेटको ठाउँमा सालका पातका दुना-टपरीको प्रयोग गर्ने बानी बसालौं । प्लास्टिक एकदमै अशुद्ध चिज हो । यो मान्छेको लागि पनि हानिकारक छ । मान्छेलाई हानी हुने चिज भगवानलाई पनि हानी गर्छ । भगवानलाई हानी गर्ने भनेको समग्र पर्यावरणलाई हानी गर्नु हो । जब हाम्रो श्वास नै पर्यावरणमा निर्भर छ भने त्यही पर्यावरणलाई प्रदूषित पार्न हामी किन उद्धत छौं ? अनि हाम्रा समग्र संस्कृतिहरू प्रकृतिको काखमा रमाउन चाहन्छन् भने त्यही प्रकृति विनाशमा लालायित छौं । तसर्थ हामी बाँच्न, पृथ्वीमा हाम्रो अस्तित्व कायम राख्न र संस्कृतिको विकास गर्न प्रकृतिको संवर्द्धन अपरिहार्य छ । प्रकृति जोगाए मात्र संस्कृति जोगिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।