ऊ यात्रारत छ, तर उज्यालोको समयमा । प्रकाशको सहायतामा । रातको समयमै बिरलै यात्रा गर्ने मनुवा हो ऊ (सायद चराचर प्राणी जगत् नै ) । यस क्षण महसुस गर्दैछ, साँझ परेपश्चात् ऊ रोकिन्छ । झोला बिसाउँछ । गन्हाएको मोजा खोल्छ । पसिनाले च्यापच्याप भएका लुगा फुकाल्छ र साँझको खानाको तयारीपश्चात् एक दुई राउन्ड गफ गरेर सुत्छ ।

तर, वास्तवमा यात्रामा सूर्योदय र मन उफार्ने बिहानहरू मात्रै हुन्छन् ? सूर्यास्त र मन लोलाउने चकमन्न रातहरू हुँदैनन् ?

  • जरुर हुन्छन् । तर यसबारे उसले सोच्नै भ्याएको छैन ।

ऊ त ‘प्रकाश प्रदूषण’का कारण रात हुनै नसकेको, आकाश-जूनतारा हेर्नै नभ्याएको कथित ‘उज्यालो विकास’ र सो सम्बन्धका गतिविधिसँग पो यात्रारत छ । ऊ प्रकाशसँग मात्रै होइन, छायासँग पनि यात्रारत रहेको रहेछ भनेर ऊ यतिबेला चाल पाउँदै छ । रातभर भुकिरहेको कुकुर र झ्यालबाट पसिरहेको छुस्स उज्यालो पनि उसको यात्राको एउटा महत्त्वपूर्ण कडी हो । र, यहाँ देशका विभिन्न भेगमा यात्रारत उसको छायासँगको यात्रा वा भनौँ यात्रारत रहँदा रातको समय ऊ के गर्दछ भनेर सोचिबस्दैछ । ऊ बडो हिफाजतले जोगाएको आफ्नो उज्यालो रहस्यको अँध्यारो सम्झना जोडसँग च्यात्न खोज्दै छ । ध्यार्र…!

***

केही घटना सम्झौँ ।

जस्तो: ऊ छकालै बास्ने चराहरूको चिरबिर थाहा पाउँछ या सबेरै घरदेखि होमस्टे बढार्न आइपुगेका रामजान थारु दाजुसँग गफिन्छ र ‘तपाईँहरू आफैँ चाहिँ किन होमस्टे चलाउनुहुँदैन, घोंगी खुवाउनु हुँदैन’ भनेर सोध्न भ्याउँछ । वा, लुम्बिनी ग्रामका उसका आर्कियोलोजिस्ट दोस्तहरूसँग बुद्धले समेत खाएका कालानमक धान खान खेततिर गइरहेको सारस हेर्न पुगिहाल्छ र ‘\बिहानको लुम्बिनी कति शान्त र मनोरम छ’ भनेर बताउन भ्याइहाल्छ । वा, दारु पिएर सुतेको रात अलि ढिलो ब्युँझिएँ पनि, दाँत माझ्दै त्यस क्षेत्रका विद्यार्थी नेतासँग ‘सिङ्गो दिन तिमीहरूले यो बिहान जस्तै सुन्दर बनाउनुपर्छ’ भनेर बडो दार्शनिक झापड उसतिर पड्काई हाल्छ । अझ, कहिले श्रीअन्तुको चियाबारीमा र मेची किनारको बाहुनडाँगीमा, कहिले खाँचीकोट र बुढीगाँड खोलामा, कहिले दुर्लुङकोट र कालिगण्डकी किनारको मोदी-बेनी घाटमा, कहिले मैधीकोट र चैनपुरकोटमा, कहिले सिद्धलेक र ल्याक्चेकुण्डमा, कहिले स्यामदुङ र सेर्तुंङ जस्ता तिख्खर तामाङ गाउँको टुप्पोमा त कहिले त्रिवेणी पाटन र बडीमालिकामा, कहिले सौराहाको राप्ति किनारमा र कहिले इटहरीको बुढीखोलामा उदाउँदो घाम (सनसेट) हेर्न पुग्छ र धुन्धानसँग दिनको सुरुवात गर्छ । उज्यालो तारिफमा शब्द खर्चन्छ । अझ, मुहारभरि एक डल्लो घाम बोकेर त्यसपछि उद्देश्यअनुरूपमा आफ्नो यात्रालाई अघि बढाउँछ । भनौँ, यो उज्यालोको हनुमान भइखान्छ।

तर,उसलाई झिसमिसेको रङमा उत्ति रुचि लाग्दैन । अस्ताउँदो क्षितिजप्रति ऊ उत्ति प्रेमभाव प्रकट गर्न सक्दैन । यात्राकै क्रममा फर्किन ढिला भएर कुनै डाँडाबाट सनसेट हेरे हो, नत्र सनराइज सरह सनसेटले उसको हृदयमा उति हलचल मच्याउदैन ।

यस्तो किन होला ? 

थकानले मात्रै होइन, वस्तुतः नै उसलाई झिसमिसेसँगै चाक बाल्दै आउने जुनकिरीको कता हराए भनी सोचीबस्न भन्दा बिहानदेखि यात्रालाई एक कप तातो चिया, त्यसपछि रैथाने स्वादका अचारसँग मुछिएका खाना र लोकल मदिरा (मौवा, स्याल, लालीगुराँस, कालो कोदो आदि) पिएर ओछ्यानमा ढल्नमै आनन्द हुने गर्दछ । कता, झ्याउँकिरीको झ्याउझ्याउ वा वैशाख लागेसँगै पहाडी भेगका छानोमाथि आएर रातभर कराइरहने ‘काफल पाक्यो चरी’ र बर्दिया-सौराह- गुलरिया क्षेत्रमा निदाएका बाघ-गैँडा-र कृष्णसारबारे सोचिबस्ने फुर्सद हुन्छ र उसलाई ? उसलाई त दिनभरका यात्राका क्रममा भेटिएका जनमानस, वस्तुस्थिति, घटना-परिघटनाबारे मूल्याङ्कन-पुनर्मूल्यांकन गर्ने समय हुन्छ तर, निश्चिन्त भएर ‘प्रकाशमय बिहानदेखि साँझसम्म’ प्रत्यक्ष अनुभवका आधारमा ‘प्रकाशविहीन साँझदेखि बिहानसम्म’ घटित भइरहेका घटनाहरूप्रति प्रतिबद्ध हुन्न । उत्तरदायी रहँदैन ।

फेरी, यात्रा र यात्रुको एउटा दैनिकी हुन्छ, बिहान घाम झुल्केसँगै ऊ पनि झुल्किनुपर्छ र घाम डाँडामुनि लुकेसँगै ऊ पनि सिरकमुनि लुक्नुपर्दछ । अन्यथा यात्राको क्रम बिथोलिन्छ । यात्राको ‘इन्धन’ भनेको ‘निन्द्रा’ हो, त्यसपछि खाना अनि बल्ल सहयात्री, यात्राका उद्देश्य र निरन्तरता आदित्यादी आउने गर्दछन् । यसैकारण इन्धन (निन्द्रा) को अनावश्यक खर्च ऊ गर्दैन । सम्भवतः यसैले उसलाई देशको कुन भूगोल जून उदाएको एवं अस्ताएको नियाल्ने (Moonrise and Moonset) दामी ठाउँ हो भनेर थाहा छैन । वा, रातको समयमा देशमा बाढी-पहिरो गयो\गएनन्, जङ्गल डढ्यो/डढेन, बाघले मान्छे खायो/खाएन, जलवायु परिवर्तन भयो/भएन, पुरातात्त्विक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक अवस्था ओरालो झर्दै गयो/गएन लगायतका कुरा उसलाई थाहा हुँदैन । थाहा भए पनि, त्यो प्रकाशमय बिहानदेखि साँझसम्मको यात्रामा प्रदान गरेको ज्ञान र अनुभवको आधारमा मात्रै थाहा हुन्छ ।

रातबारे, अन्धकारबारे वास्तवमै ऊ अन्धाधुन्ध छ । ऊ जेजति रात भोगचलन गर्दछ, त्यो सुत्नका लागि गर्दछ, अन्यथा निदाउन सकेन भने दिनको समयमा भएका घटनाहरूको बियाँ केलाउनमा खपत गर्दछ । ऊ सम्झनै सक्दैन, अन्तिमपटक कहिले उसले एक घण्टा बत्ती निभाएर पूर्ण होसहवाससहित अन्धकार रातलाई शवन गरेको थियो ? या अन्तिमपटक कहिले उसले भुकिरहेको कुकुर कुन रङको छ भनेर घरबाट निस्किएर खोजबिन गरेको थियो ? तर, ऊ दिनको समयमा तिँदुको बोटमा कराउने चरा कुन हो र कुन रङको छ भनेर थाहा पाउन सित्तैमा एक घण्टा फ्याल्दिन्छ र थाहा पाएरै छाड्ने हठी मनोभावनाले ग्रसित भई अर्को एक घन्टा पनि खेर फ्याँक्छ । यसमा उसका आँखाको मात्रै दोष छैन । आँखालाई उज्यालो चाहिन्छ तर, यति उज्यालो पनि चाहँदैन जति ऊ दिइरहेको छ।

कसैले भन्न सक्ला, ‘यात्रा बिहान ब्युँझिएर वा ब्युँझिएपछि मात्रै सुरु हुन्न, सुत्नु अघि र दिनभरको यात्रामा भेटिएको अनेकन् घटना, परिघटना, दृश्य-उपदृश्य, कानेखुसी, साउती, गुनगुन र आँखीझ्यालहरूको मूल्याङ्कन-पुनर्मूल्यांकन गरेपछि पनि सुरु हुन्छ । बिहान सूर्योदय भएदेखि सुरु भएको यात्रा सूर्यास्त भएपछि खाना खाएर ओछ्यानमा पल्टिनासाथ कहाँ सकिन्छ र ? तर, सिङ्गो प्राणी जगत नै यसै गरिरहको छ । सिङ्गो प्राणीजगतलाई भोकबाट जति प्रताडित छ, निन्द्राबाट त्योभन्दा कैयन सुख चयनको दशामा छ । भोक र निन्द्रा बेगर प्राणी जगतको अस्तित्व नै कायम रहन्न । दिनभर भोको रहने प्राणी जगत र रातभर टन्न खाएर निदाउन चाहन्छ । दिनको उसको हो, रात अरु कसैको । प्राणीजगतको मूलभूत जीवन यत्ति हो । ’

हो, ऊ सही छ । रात विश्रामको लागि हो र दिन श्रमको लागि । तर, यहाँ कुरा रात र दिनको मात्रै होइन, न प्रकाश र अन्धकार खपतको हो । यहाँ कुरा, ऊ अन्धकारलाई नचिन्ने, अन्धकारबाट यो या त्यो बहानामा निरन्तर पर भाग्ने, भागिरहेको वर्तमान स्थितिबोध बारे हो । ऊ सम्झदैछ, वर्तमान युगले सुत्ने समय ६ घण्टामा ओरालेको छ र श्रमलाई ८ घण्टाबाट १० घण्टातर्फ तन्काउँदै छ । ऊ जस्ता मध्यमस्तरीय समाजका मनुवाका लागि ओभरटाइमका कारण त्यो १५ घण्टातर्फ उक्लिएको छ । भन्नाले, ऊ वस्तुतः आजभन्दा भोलि बढी समय उज्यालोको सङ्गतमा छ । उसले रातमा बत्ती बालेर आफ्नो कोठा उज्यालो बनाउने दर/अनुपात आश्चर्यजनक रूपमा ‘कान्लो चढ्दो’ छ । र, यहाँ यिनै चिन्ता पोखिनेछन्। वासरल्ल.. ! छताछुल्ल… !

***

उसलाई थाहा छ, उसको देशले लोडसेडिङबाट मुक्ति पाएको र उसले आफ्नो आँखामा युभी रे र ब्लु लाइट प्रोटेक्सन सहितको चस्मा लगाएको लगभग हाराहारीकै कुरा हो । ऊ त्यो पुस्ताको पनि प्रतिनिधित्व गर्दछ, जसले रातिको समयमा प्रकाश अभावका कारण साँझ अबेरसम्म झ्यालमा सेंपिएर पनि पढ्यो वा टुकीमा कपाल झोसेर एकप्रकारको मासु अँगेनोमा पर्दा आउने गन्ध जस्तो कपाल पोलिएको गन्धलाई बेवास्ता गर्दै पनि पढ्यो । ऊ पानसमा मट्टितेल सकिँदाको पीडा र एभ्री-डे ब्याट्रीलाई घाममा सुकाई रहँदाको उत्साह, दुवैसँग परिचित छ ।

ऊ आफ्नो मैधीस्थित पुर्ख्यौली घरमा सर्वप्रथम बिजुली आउँदा आश्चर्यचकित रूपमा खुसी भएको क्षण पनि सम्झन्छ र शमीभन्ज्याङ नजिकैको ट्रान्समिटर-बक्स (मगर गाउँमाथिको, सागर दाइको मासु पसलदेखि यता) मा मध्यान्हको १२ बजे आसपास सर्वप्रथम फिलामेन्ट बल्ब बलेको र सो नै उसको गाउँको पहिलो बत्ती बलाई भएको पनि सम्झन्छ । र, दिउँसो उज्यालोमा प्याल्ल बलेको पहेँलो बत्तीले उसको हृदयको कहाँकहाँ मात्रै काउकुती लगाएको थियो, त्यो उसलाई मात्रै थाहा छ । उसको तन्तुतन्तुमा अद्भुतता, हार्दिकता, कोमलता, भाव मुक्तता, अनियन्त्रित वा स्वच्छन्दता, सहजता, स्वप्निलता.. आदित्यादी केके पो थिए तत् क्षण ।

भन्नाले, ऊ त्यस पुस्ताको प्रतिनिधित्व गर्दछ, जसले ७/८ वर्षको उमेरमा बिजुली आफ्नो गाउँमा देख्यो, एसएलसी पासपछि काठमाडौं आगमनपश्चात् करिब ४/५ वर्ष लोडसेडिङ तालिकालाई हग्ने-मुत्ने वा खाने-सुत्ने समयभन्दा बेसी महत्त्व दियो ।  र, ऊ हाल त्यो पुस्ताको पनि प्रतिनिधि पात्र हो, जो विश्वव्यापी रूपमा चलिरहेको ‘प्रकाश प्रदूषण’ सम्बन्धी आन्दोलनमा आफ्नो समर्थन दिइरहेको छ । भलै उसकै गृह जिल्ला धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र छिमेकी जिल्ला चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको समाचार उसले आज बिहान मात्रै पढेको किन नहोस् ?

तर, ऊ ‘काठमाडौंका जुनकिरी मास्ने शहरी उज्यालो हो’ भनेर वा ‘जुनकिरीका भालेपाथीको भेट नै उनीहरूले बाल्ने बत्तीका कारण हुन्थ्यो अब त्यो रहेन र पुतली मासिँदै छन्’ भनिरहेका पुतली विज्ञ प्राध्यापक भैया खनालसँग बेसी सहमत छ किनभने ऊ पनि चाल पाउँदैछ, रात्रिकालीन प्रकाशको उपयोगतर्फ ऊसहित सर्वश्रेष्ठ प्राणीको पाइला निकै लमकलमक गर्दै छ, जसले ऊ, उसका गोठका गाईवस्तु, उसको खेतको मकै खान आउने बाँदर र बँदेलदेखि खोरमा बाख्रा नभेटेको झोँकमा कुखुरो चोरेर भागिरहेको चितुवालाई र समग्रतामा सिङ्गो जलवायुमा पनि गम्भीर असर परिरहेको छ । प्रकाश प्रदूषणले जीवजन्तुको आनीबानी, प्रजनन प्रक्रिया, बच्चा कोरल्ने समय, उनीहरूको बसाइँ सर्ने ढाँचामा फेरबदल ल्याएको छ भने रातको समयमा बसाइँ सर्ने चराहरूले चहकिलो प्रकाशका कारण बाटो भुल्ने, अलमलमा पर्ने जोखिम बढाएको छ । ठूलो सङ्ख्यामा कीराहरूको विनाश हुनुको प्रमुख कारण प्रकाश प्रदूषण भएको ठोकुवा गर्दा केही फरक पर्दैन । किनभने, रूखहरूलाई ‘नियोन लाइट’ सजाएपछि, सम्पदाहरूलाई रात्रिकालीन बत्ती राखेर सिँगार्न थालिएपछि, गाउँगाउँमा सडकबत्ती जडान बढेपछि कुन चाहिँ झ्याउँकिरी त्यहाँ बसेर झ्याउझ्याउ गरिरहँदो हो ? झ्याउँकिरीको झ्याउझ्याउ सुनिनु भनेको अँध्यारो सुनिनु हो, देखिनु हो, हेरिनु हो । हामी त अहिले अँध्यारो हेर्नै नसक्ने हुँदैछौँ । हाम्रा आँखा सूर्योदय–सूर्यास्त–सूर्योदयसम्मको छकालैको उज्यालो-सूर्योदय हुँदाखेरको उज्यालो- बिहानीपखको उज्यालो-मध्यान्हको उज्यालो-अपरान्हको उज्यालो-झिसमिसको अँध्यारो-गोधुली क्षितिजको अँध्यारो- रातको अँध्यारो- तारा र पूर्णिमाको उज्यालो आदिआदि हेर्नका लागि हो, तर हामी एकछत्र ट्वालट्वाल्ती हेरिरहनुपर्ने अनि निद्रा नलाग्ने, चिडचिडाहट हुने र डिप्रेसन लगायतका स्वास्थ्य समस्याबाट गुज्रिरहनुपर्ने विसङ्गतिलाई अँगाल्दै छौँ ।

उसलाई थाहा छ, राजा-महाराजाका दरबारबाट बिजुलीको कृत्रिम उज्यालोलाई जनताको झुपडीसम्म फैलायो  र त्यही बिजुलीको उज्यालो नै कृत्रिम उज्यालोको पर्यायका रूपमा स्थापित भइसकेको छ । कृत्रिम उज्यालोलाई विकास र समृद्धिको मानक बनिसकेको छ । अझ, सन् २०३० सम्ममा पृथ्वीका सबै मानिसहरूका लागि सुलभ, भरपर्दो, दिगो र आधुनिक ऊर्जासँगको पहुँच बढाउने भनेर  राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको सातौँ लक्ष्यले बोलिसकेकै छ । स्थिति यो भइसकेको छ कि, अहिले स्याटेलाइटबाट राति खिचिएको पृथ्वीको तस्बिरका आधारमा गरिबीको मापन सर्वमान्य भइसकेको छ । ऊ बेलाबेला पढ़द्छ पनि- ‘उत्तर कोरियामा बत्ती बल्दैन, त्यहाँका जनता गरिब छन् ।’ अन्य मापन प्रणालीका अनुसार त्यहाँ काजनता गरिब छन्\छैनन्, ऊ जान्दैन, तर अमेरिका (नासा)ले स्याटेलाइटबाट हेर्दा उत्तर कोरियामा कम बत्ती बलेको देखेकै कारण उत्तर कोरियाको जनता गरिब भएको बताइएको हो भन्ने ऊ जान्दछ । बत्ति बल्नु धनि हुनु हुनु भएको छ, ठुलो टौवाको जुग सकिएको छ अब  ।

हाल संसारका ८९ प्रतिशत मानिसहरू बिजुलीको पहुँचमा अर्थात् उज्यालोमा छन् ।  नेपालजस्तो गरिब देशमा समेत करिब ९२.५ प्रतिशत मानिसका घरमा बिजुलीको पहुँच पुगेको तथ्याङ्क नेपाल विद्युत् प्राधिकरणको छ । छैन त सुखद कुरा ? भलै बिजुली चम्किएपछि ५० प्रतिशत गाउँमा बत्ती किन नजाओस् ? तथ्याङ्क हो, मान्दिनुपर्छ ! हाहा..

अर्को कुरा, ऊ आफैँ पनि सम्झन्छ, सहरका सडकबत्ती, गाडी, घर वा भवनबाट निस्केको चहकिलो उज्यालो, जसले रातलाई पनि दिउँसोजस्तै झलमल बनाइरहेका छन् । ठमेल, दरबारमार्ग, लेकसाइड आदित्यादी त आज पनि रातभर चमकचमक गर्दछन्, चमकदार छन् । टलकटलक गर्दछन्, टलकदार छन् । चम्किरहेछन्, टल्किरहेछन् ।  भलै, त्यस भेगमा आक्कलझुक्कल देखिने रुखमा गुड बस्ने एउटै चरा किन नहुन् ? ऊ ख्यालख्यालमा सोचिबस्छ, कस्तो हुँदो हो ठमेलमा रातको १२ बजे ऊ आफ्नो प्रेमिकासँग जुनकिरी समात्न पुगोस् ? अनि समातिएको जुनकिरी प्रेमिकाको केशराशीमा सिउरिदिएर ऊ भनिदिओस्, ‘एहै मैचा, हेर हेर ठमेलमा कति सेक्सी जुन उदाएको ।” उताबाट पनि जवाफ आइदिओस्, “हेर हेर, बोका बाहुनको ल्याम्पोस्ट फुस्सै भएको ।” तर, यो कोरा कल्पना (भावुकता) हो भन्ने ऊ जान्दछ ।

राति पनि देख्न सक्ने आँखाको प्राकृतिक क्षमता गुमाउने तरखरमा रहेको ऊ, यसो सम्झन्छ- साँच्ची त, उसको मुलुक भू-प्राविधिक जोखिममा बेवास्ता गरेर धमाधम हाइड्रोपावर उत्पादन र ऊर्जा व्यापारमा अग्रसर पो छ त ! नेपाल र भारतबिचको बढ्दो ऊर्जा व्यापारले गर्दा अबको २८ वर्षपछि (सन् २०४५ सालसम्म) मा नेपालको कुल ग्रार्हस्थ उत्पादन  १३ हजार १ सय अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण उसको राज्यले गरिसकेको छ । नेपालको प्रतिव्यक्ति विद्युत् माग सन् २०१२ मा १ सय ३९ किलोवाटघन्टा प्रतिवर्ष रहेकोमा २०४५ मा १५ सय किलोवाटघन्टा प्रतिवर्ष पुग्ने अनुमान पनि उसकै सरकारले गर्न भ्याइसकेको छ । अझ, नेलको जलविद्युत उत्पादन सन् २०४५ मा ३४.४ गिगावाट पुग्ने आङ्कलन गर्नसम्म सरकारले भ्याइसकेको छ । यसरी विद्युतको प्रतिव्यक्ति माग बढ्ने बित्तिकै मानिसको जीवनस्तरमा सुधार आउने र यसले मानव विकास सूचकाङ्कमा पनि सकारात्मक असर पार्ने भने विज्ञहरूले सरकारलाई र सरकारले पनि विज्ञहरूलाई स्याबासी दिइसकेका छन् ।

तर, यी सब कुराभन्दा पनि ऊ आफैँलाई नियाल्छ, आफ्नै यात्रालाई हेर्दछ ।  र, यसो गर्दा ऊ के पाउँदछ भने प्रकाशको अनावश्यक प्रयोग वा रातको दोहनले उसमा नजानिँदो तवरले उसको दैनन्दिनी बिथोलिएको छ । बत्ती नहुनासाथ ऊ धेरै हदसम्म आफूलाई खुला पाउँछ । सर्वप्रथम उसको मोबाइलमा वाइफाई हुँदैन, ऊ ल्यापटप सेटअगाडि बस्दैन । बत्ती नहुनासाथ ऊ किताब पढ्न थाल्छ, या बार्दलीमा निस्केर आकाश हेर्न थाल्दछ वा बत्ती भएका रातहरूको तुलनामा एक दुई घण्टा अगाडि नै सुत्दछ र बिहान बेसी चङ्गा पनि हुन्छ ।  तर, यो उसको विवशता छ कि ऊ अत्यधिक रूपमै अँध्यारोसँग डराउने मनुवा भएको छ । रातसँग ‘एकान्ति’ गर्नै नसक्ने हुँदै गएको छ । डिम लाइट नबालीकन सुत्न नसक्ने भएको ऊ वा भनौँ मध्यरातसम्म मोबाइल स्क्रिन नघिसारेसम्म निदाउन नसक्ने ऊ रातमा बढी सक्रिय हुने निशाचर बन्दै छ । यसले उसमा धेर खलबली ल्याएको छ । ऊ निन्द्राको मजाबाट दूर हुँदैछ । यसैकारण पनि, ‘काठमाडौंको बत्तीले गाउँमा भूत लखेट्यो’ भन्ने उसको बुबा पुस्तासँग यसक्षण ऊ कताकता सहमत छ । ऊ जान्दछ, उसको देशको हकमा सार्वजनिक सुरक्षा वा व्यवहारिक सुविधाका लागि आएको अत्यधिक कृत्रिम प्रकाशको विरुद्ध बोल्न ढिला भइसकेको छैन, तर जसरूपमा ऊ उज्यालोकै कारण पनि देशका विभिन्न स्थानमा सांस्कृतिक एवं सामाजिक अवयवहरू मासिएको पाउँछ, उसलाई बोल्नुपर्छ भन्ने लाग्दछ । र, यो  प्रकाश प्रदूषणबारे बोल्ने ठिक समय पनि हो । बाढी,पहिरो, डढेलो, वायू प्रदूषण सरह प्रकाश प्रदूषण पनि सन्निकट मानव सृजित प्रकोप बन्दै छन्, यसबारे अहिल्यै किन नबोल्ने ?

यसबारे अहिले बोल्नुपर्ने अन्य कारणहरू यस्ता पनि छन्:

गाउँगाउँ डुलिरहेको ऊ के पाउँदछ भने गाउँसँग मान्छे र आफूले फलाएको धानको भकारी र मकैको कुन्यो मात्रै होइन, रोदी छैन, ख्याली-ठट्टा छैन । गाउँ घनघोररूपमा वाइफाइ जडानमा लागेको छ । गाउँ जसप्रकार एक दशकअघि मोबाइल र टिभीसँग लालायित थियो, सोहीप्रकारले वाइफाई र युट्युबसँग फिदा छ । करिब दुई दशकअघि गाउँ छिरेको बिजुलीले उसलाई मात्रै होइन, गाउँलाई गाउँबाटै लखेट्दिन्छ भन्ने उसलाई बोध थिएन ।

फेरी, गाउँमा पहिला भ्याक्सेटोमी  र कन्डम छिरेको हो अनि उसको पछिपछि ‘छोरा छोरी दुवै बराबरी’ छिरेको हो । ऊ प्याल्ल बलेको फिलामेन्ट बल्बदेखि पुटुङ पुटुङ बजिरहने वाइफाइसम्मको दुई दशकको यात्रामा के पाउँदछ भने माओवादी गाउँ छिर्नु र गाउँ कन्डम पस्नु सँगसँगै भएको हो । तर, ऊ यो पनि जान्दछ रेडियोमा ‘ढाल नै हो’ बजेकै कारणले मात्रै गाउँ रित्तिएको होइन, या माओवादीका कारण मात्रै सहरीकरण र प्रकाश प्रदूषण बढेको होइन, गाउँ रित्तिनुका अनेकन् कारण छन् । गाउँ वृद्धाश्रम बनिनुमा एउटा कारण बिजुली पनि हो मात्रै भन्न खोजेको । बिजुलीको कारण गाउँको  शारीरिक लय अर्थात् ‘साइकेडिन रिदम’ वा ‘जैविक घडी बिग्रियो भन्न खोजेको । आज गाउँले पनि आश्चर्यजनक रूपमा उज्यालोसँग सङ्गत बढाएको छ । ऊ आफै, घरगाउँ पुग्दा सबैभन्दा ढिला सुत्ने एवं उठ्ने गर्दछ । गाउँको पनि सुत्ने र उठ्ने समय फेरिएको छ । कुखुरो उठिसक्छ, गाउँ उठ्दैन आजभोलि । यस्तै हो भने कुखुरो पनि मलाई चाहिँ केको ठनकठनक भनेर बिहानको ८ बजेसम्म सुत्दिन बेर लगाउँदैन ! अझ, उसको पुस्ताले बिहानको उदाउँदो घाम मुस्किलले देख्छन्, तर दुर्भाग्य उनीहरू रातको आकाश पनि मुस्किलले देख्दछन् । यो विषयमा पसिरहे निस्कन नसक्ने जोखिम बेसी छ, यसकारण पङ्क्तिकार त्यता लाग्दैन ।

ऊ यहाँ आफ्ना यात्रा र यात्रालिन समयका रातहरू सम्झिन चाहिरहेको छ, भनौँ उज्यालोसँग बिरक्तिइरहेको छ । किनभने उसलाई थाहा छ, दिनभरको यात्रामा ‘ऊ एक, समाजका अनेक’सँग उठबस गर्दछ । ऊ एउटा व्यक्ति समाजका अनगीनत अवस्थासँग ठोक्किन्छ । तर, यो सब प्रकाशमै हुन्छ । उज्यालोमै हुन्छ । ऊ यसै वरपर केन्द्रित हुन् चाहन्छ तर प्रकाश प्रदूषण सरह ऊ पनि परपरसम्म छरिँदै छ र आफ्नो लेखनलाई एकीकृत गर्न सकिरहेको छैन ।

***

काठमाडौंमा भन्दा बेसी निन्द्रा गाउँमा लाग्दछ र, गाउँले जति मिठो निन्द्रा काठमाडौंले सुत्न सक्दैन । यो चाल पाएकै क्षणदेखि ऊ यात्रामा निस्किएको सोह्रै आना सही हो । ढाँटे मरिजाऊ, ऊ गाउँगाउँ पुगेर र हरेक रात फरक बिछ्याउनामा सुत्नको लागि मरिमेट्ने अद्भुत प्राणी हो । यसकारण हालसम्म उसले एक हजार चानचुन ओछ्यानमा आफ्नो पादिरहने चाक, दुखिरहने कम्मर, र पौराणिक कथाहरूको जस्तो, किंवदन्ती जस्तो यो सोलोडोलो टाउकोलाई बिसाइरहेको छ । उसको स्मरणपटमा रातभर एकोहोरो काफल पाक्यो भनिरहने चरा, बडीमालिका-गणेश-बर्दिया-श्रीअन्तु-धादिङ-बन्दीपुर-भैरहवा-लुम्बिनी लगायतका क्षेत्रमा मस्त निदाउँदा लोरीभाँती गुन्जिरहेका खोला/खहरे/नदी र रात्रिकालीन हावाको वेग आदि आइरहेछन् । जसलाई तत् क्षण ठिकठिक सुन्न नसकेको,महसुस गर्न नभ्याएको लघुताभासबाट पनि यतिबेला ऊ ङ्याकिएको छ ।

ऊ यस क्षण यात्रालिन समयमा राति के गर्दछ भनेर पनि सम्झदैछ । तर, उल्लेखनीय केही भेट्दैन । दिनभर बरोबर मात्रामा शारीरिक र मानसिक थकान भयो भने ऊ त्यस रात सजिलै निदाइदिन्छ । भित्ताको माउसुली, माकुरो आदि तर्सिने गरि घुर्छ बरु..! अनि, निन्द्रारत रहँदा देखिएका सपनाहरू बिहानीपखको हाइ वा दाँतको पखालपखुलसँगै पखालिदिन्छ । गत दिनको प्रकाशसँगको यात्रालाई निरन्तरता दिन्छ या बिल्कुल नयाँ भूगोल र समकालीनतालाई प्रत्यक्षरूपमा महसुस गर्दै अघि बढ्छ ।

यो पक्का छ, प्राय: छायासँग यात्रा कमै भएको छ उसको । कुनै पनि ठाउँलाई रातको समयमा कम परख गरेको छ उसले । बर्दियाको जङ्गलको बिच भागतिर ऊ मध्य रातमा गएको छैन । घाम डुब्नुअघि नै फर्किएको छ । उसलाई वास्तवमै चिन्ता हुँदैन कि रातको समय बर्दियाको जङ्गलमा के हुन्छ ? भनौँ, दिनको प्रदीप्त प्रकाशलाई नियाल्ने उसलाई रातको निस्तब्धता वा निस्पट्टता प्रति उतिविधि चासो  रहँदैन । रातको १२ बजे पूर्व सुत्न नसक्ने ऊ मध्यरातसम्म होहल्ला गर्दै रैथाने जातको दारु पिएर प्रकाशकालीन समयमा देखिएका घटनाको समीक्षा गर्न सक्छ तर, मदिराले लट्ठिएर तत् समयलाई तटस्थ रही हेर्न भ्याउँदैन ।

भनौँ, रातको गतिशीलता, जीवन्तताबाट ऊ टाढा रहन्छ । गुँडमा झोक्राएका चराबारे ओछ्यानमा गुँडुल्किएको उसले सुन्ने गर्दैन । एकप्रकारले रातको समयमा ऊ मृत हुन्छ । जति पनि ऊ प्रगतिवादी वा यात्राशील हुन सक्छ, प्रकाशसँगै हुन्छ । जसै अँध्यारो हुन्छ, ऊ घोर कट्टरपन्थी हुन्छ, रुढीवादी हुन्छ । कि ऊ आफ्ना शत्रुहरूलाई गाली गरि बस्छ या  सरकारलाई । अन्त्यथा त्यस रात सुत्न ओछ्यान दिएका होमस्टेको साहुलाई । नभए दिउँसो खिचेका फोटो भिडियोको पुनरावलोकन या टिपोट लेखनमा आफूलाई खर्चिन्छ । त्यो भन्दा बढी ऊ केही गर्दैन । गरेको पाउँदैन, यो लेखिरहेको नैकापको सन्ध्याकालीन क्षणमा पनि ।

नढाँटी भन्दा उसले श्रीअन्तुमा घाम डुबेको हेरेको छैन वा मानहुँकोटमा सूर्यास्त हेर्न उक्लिने चाह देखाएको छैन । उसले रातभर ती ठाउँमा बिताएर दिउँसो सुत्ने जोखिम कहिल्यै मोलेको छैन किनभने उसलाई रातमा के हुन्छ, अँध्यारो कुन चराको नाम आदिसँग बालमतलब छैन । रात सिटामोल खाने समय हो, लोकल ठर्रा सुइक्याउने समय हो, यौनस्वप्न र स्वप्नदोष गर्ने/देख्ने समय हो । रात गोडा फ्याकेर, हात पसारेर घुर्ने समय हो । रात जम्मामा, सुत्नुअघि मुताई र उठ्नुअघि मुताई बीचको निदाई हो। बस त्यत्ति !

ऊ देशको जुन ठाउँ जाओस्, जसो गरोस्- उसलाई डुलाउने, घुमाउने वा बाटो देखाइदिनेहरूको नियतकै आधारमा ऊ यात्रारत छ । कोही भनिदेला, “तपाईँले बिहान ६ बजे गाडी पाउनुहुन्छ ।”  ऊ ६ बजे तत् स्थान पुगिदिन्छ । तर उसले रातको समय भयो कि त, “हाम्रो होटेल ९ बजे बन्द भइसक्छ” जस्तो रातप्रति साह्रो नै दयनीय भैँ आफ्नो राय राख्छ । र, ऊ पनि ९ बजे पूर्ण नै होटेल पुगिदिन्छ । होटेल पुगेपछि झ्यालबाट देखिने आकाश हेर्दैन, बरु पर्दा तानिदिन्छ र उज्याला रङका मोबाइलजन्य मनोरोगसँग लहसिन पुग्छ । फेरी, उसलाई आफ्नो यात्रामा सहजीकरण गर्ने जोकोही उसको निन्द्राको चिन्तामा रहेकै पाउँछ । उनीहरू सबेरै उसलाई उठान र रातमा उसलाई सुताउन नै अभ्यस्त पाउँछ । यसैले ऊ सुतिदिन्छ र उठिदिन्छ । यसप्रकार, उसलाई सहजीकरण गर्ने कसैले पनि, प्रकाशलाई जति छाँयालाई महत्त्व दिएको पाउँदैन । ऊ सरह नै उनीहरू पनि छाँयाको उपस्थितिलाई स्विकार्दैनन् । उनीहरू बस्, प्रकाशको उपस्थितिलाई स्विकार्छन् र सोही अनुसारको समय तालिकामा हिँड्छन् र उसलाई पनि हिँडाउने एउटा विनम्र आग्रह गर्दछन् । र, त्यसलाई ऊ कटक्क काटेको पेटले ट्वाइलेटतर्फ जान गरेको इशारा सरह लुरुक्क मानिदिन्छ ।

***

प्रकाशको महत्त्वलाई अचाक्ली महत्त्व दिएका हामीले छाँयालाई महत्त्व दिएका छैनौ । वा जति दिनलाई महत्त्व दिन्छौ, रातलाई दिँदैनौँ । फेरि, यसो भन्दा हामीले रातलाई वा अँध्यारोलाई अवहेलना गरेका होइनौँ । हामीलाई रात र अँध्यारो चाहिन्छ र त्यो हामीलाई दिन र उज्यालो सरह नै चाहिन्छ भन्ने हामीलाई बोध छ तर, ऊ यस क्षण सोचिरहेछ, हामी यो जाज्वल्यमान उज्यालो दुनियाँमा थप उज्यालोको यात्रामा छौँ तर वास्तवमै अँध्यारोतर्फ यात्रारत छैनौँ । हाम्रा आँखा वा शरीर प्रकाश मात्रै चाहन्छ भनेसरह हामी रातमा पनि बल्ब झुन्डाइरहेकै छौँ । अँध्यारोलाई सकभर चिर्ने प्रयासमा छौँ । हामी जति आकाशमा बत्ती झुन्डाउँदै छौ वा जति प्रकाशसँग लहसिएका छौ, हामी उति अँध्यारो र छाँया उत्पादन गर्दै छौँ ।

अँध्यारोको एउटा स्वभाव प्रिय लाग्छ
ऊ आफ्नो छायाँ कहिल्यै देखाउँदैन 

ऊ आफ्नो यो शेर सम्झिन्छ । यो शेर कुन मनोवेगमा लेख्यो, ऊ जान्दैन तर, उसलाई यो शेर लेख्दा यतिविधि हामी अँध्यारोलाई घृणा गर्छौ भन्ने थाहा थिएन । रातको चुक घोप्टिएसरहको अँध्यारोलाई महसुस गर्नै छाडेको, कोठादेखि रुक्स्याकसम्ममा एउटा डीम लाइट/टर्च लाइट बोकिहिँड्ने उसले (आधुनिक मानिस) ले रात वा अँध्यारोप्रति वास्तवमै अत्यधिक क्रुद्ध छ । ऊ हदै आशावादी छ, यसैले उज्यालोप्रेमी छ । ऊ पूर्णिमाको रात पनि आफ्नो कोठाको बत्ती निभाउँदैन । ऊ अप्रत्याशित रूपमै उज्यालोसँग समागममा लिप्त छ । ऊ उज्यालो मनपराउने र अँध्यारोसँग निरन्तर भाग्दो छ । ऊ निराशाको अँध्यारो रङसँग भाग्दै छ तर, आशाको आँखा पोल्ने उज्यालो रङसँग पनि झन् बेसी दुर्घटित छ । किनभने उज्यालोमा आफूलाई हेर्न पर्दैन । उज्यालो अरूलाई देखाउने कुरा हो तर, अँध्यारो आफूलाई देखाउने कुरा हो । अँध्यारोकै कारण मानवले आफ्नो ज्ञान, अनुभव, अनुभूति वा बाह्य वस्तुका कारण आफूमा परेको प्रभावको मूल्याङ्कन गर्न सकेको हो तर यतिबेला यति धेरै अनुभव, अनुभूति मानवसँग छ (चाहे त्यो दोस्रोको अनुभवमा आधारित किन नहोस्?) कि ऊ थप अँध्यारोमा रहेर अर्को दर्शन, अर्को सिद्धान्त, अर्को कविता वा अर्को कला सिर्जना गर्न चाहँदैन । गलत नलागोस्, तर यो युगमा यात्रारत हामी, २४औँ घन्टै ठमेल खोल्ने हामी, बाह्य जगतको अध्ययन र अभ्यासमै केन्द्रीकृत हुँदैछौँ । हामीले वास्तवमै आफूमा केन्द्रित हुन छोडेका छौँ ।

ऊ आफै पनि चाहिनेभन्दा बेसी उज्यालोको लसपसमा छ । साँझ नपर्दै उसको कोठामा बत्ती बलिसक्छ । रात अबेरसम्म बत्ती बालिरहन्छ । उज्याला स्क्रिन अगाडि नै बढी बस्छ । उसले धिमा उज्यालो दिने टुकी, पानस वा अँगेनोबाट थुतेर बाटो देखाउने चिर्पटोलाई छाडेको दशकौँ भएको छ । ऊ जति मोबाइलको फ्ल्यास लाइट, कोठाको बल्बसँगको लसपसमा छ, उति औँसीको रात, पूर्णिमाको रातको मन्द उज्यालो, झ्याउँकिरी वा ममबत्तीको मधुरो उज्यालोमा छैन । कठै, उसको भौतिकावादिता ! ऊ आफूलाई चाहिने भन्दा बढी उज्यालो खपत गर्दैछ । ऊ उसले थेग्नेभन्दा बेसी प्रकाशको उपस्थितिको सङ्गतमा छ । ऊ क्रमशः प्रकाशको अनुपस्थिति खप्नै नसक्ने हुँदैछ । तर, उसले यादै गरेको छैन, ऊ जति उज्यालो हुनेछ, उति उसको छायाँ हुनेछ । वास्तवमा बाघ, भालु, किराफट्यांग्राको भन्दा पृथ्वीमा मान्छेको छायाँ बढी देखिनुको कारण पनि यहीँ हो ।

ऊ आफ्नो अर्को शेर सम्झन्छ;

बिहान यसकारण सुन्दर देखिएको हो
ऊ अँध्यारोको बाटो हिँडिआएको हो !

अस्तु !

(नैकाप, झल्लुदरबार)