मान्छेको जीवनमा प्राण भर्दैमा
बित्यो मेरो जवानी र पुरापुर जीवन
बिर्सेर रहरहरू आफ्नै
मान्छेको तृप्तिमा, चाहनामा, रागमा, आलापमा
मलाई बालेर प्रेमगीत गाउँछ मान्छे
मलाई काटेर , मलाई के के नामका साधनमा
प्रेमालाप गर्छ, संगीत भर्छ मान्छे
म गाइन्छु, बजाइन्छु, घोटिन्छु, कोट्टिन्छु
मेरो आत्माको क्रन्दनमा
सङ्गीत महसुस गर्छ मान्छे
म खुसी हुन्छु जीवन गीत बन्न पाएकोमा
गर्व गर्छु म सङ्गीत र मानव जीवनसँगै
अमरत्व प्राप्त गरेकोमा
जीवनको तातो दिन्छु म
मलाई बालेर जीवन गाउँछन् मान्छे
कोट्याउँछन् मिठो इतिहासको नोस्टाल्जिया !
मानिसको हरेक सुखदुःखमा
जन्ममा
ब्रतबन्धमा
विवाहमा
उत्सवमा
समाधिमा
मृत्युमा
हरेकमा म छु मान्छेसँगै
म छु
तिमीले लिने हरेक श्वासप्रश्वासमा
तिम्रो मायामा
स्पर्शमा
तिमीले माया प्रकट गर्न दिइएको
गुलाफमा

बेचिन्छु
किनिन्छु;
तिम्रो माया बन्न
तिम्रो कलममा
कापीमा
किताबमा
तिम्रा भावनाका
हरेक थोपा थोपा मसीमा म छु
तिमीले
तिम्रो
प्रेमिकाका लागि
लेखेको प्रेमपत्रमा
हरेक अक्षरमा म छु
तिम्रो विवाहमा साक्षी बसेको छु म
बल्दै
तड्पिँदै
तिम्रो छोराको न्वारानमा
अनि फेरि
त्यही तिम्रो छोराको पाश्नीमा
मेरो प्राणको आहुति दिएको छु मैले
हरेक भावनामा तिम्रो
झङ्कृत छु म
गाइनेको सारङ्गीमा
गितारमा
मादलमा
तबलामा
पियानोमा
मुरलीमा
ड्रममा
तिम्रो जीवनको
हरेक सिम्फोनीमा
तिम्रा हरेक रहरमा
कहरमा
तरङ्गमा
तिम्रा हरेक चाहनामा
भावनामा
अभावमा
दबाबमा
तडपमा
कामनामा
आकाङ्क्षामा
सपनामा
जपनामा
सुखमा
दुःखमा
तिमीले लिएको प्रत्येक श्वासमा
तिमी भोको हुँदा खाना बनेर
तिमी नाङ्गो हुँदा नाना बनेर
तिमी बेघर हुँदा छाना बनेर
तिमी रोगी हुँदा ओखती बनेर
म विभिन्न रुपमा
स्वरुपमा
रङमा
प्रकारमा
विभिन्न अवतारमा
सधैंभरि तिम्रो दीर्घायुको कामनामा
बलिरहन्छु म
जलिरहन्छु म
गलिरहन्छु म
कहिले मन्दिरको दियो बनेर त
कहिले सफलता र शुभकामनाको धुप बनेर
तिम्रो पञ्चतत्त्व प्राणवायु बन्ने म
तर पनि तिमी किन
तिम्रो प्रत्येक श्वासमा
म भएको महसुस गर्दैनौ ?
क्रुर हिटलर बनेर तिमी
मेरो वंश सखाप पार्दा पनि म
जीवाग्निको तातो बनेर
ममतामयी आमा बनेर
आशीर्वाद बर्साइरहेँ तिमीलाई सधैँ
आरोग्यको, दीर्घजीवनको
मृत्युअघि मेरो अन्तिम इच्छास्वरूप
तिमीसँग एउटा माग राख्छु मान्छे
के तिमी मेरो एउटा अन्तिम इच्छा
पुरा गरिदिन सक्छौ ?
के तिमी तिम्रा सन्ततिलाई
मेरो मृत्युको कारण
बताइदिन सक्छौ ?
के तिमी तिम्रा सन्ततिलाई
जन्मदिनको शुभकामना बाँड्दा
फूल चुँडेर होइन
रुख रोपेर एउटा नयाँ जिन्दगीको
जन्मदिन मनाउने संकल्प
शुरूवात गर्न सक्छौ ?
त्यति भए मरेपछि पनि
मेरो आत्माले शान्ति पाउनेछ
त्यागेर त्यो पुरानो दुश्मनी
महसुस गर्न सक्यौ भने मलाई तिमीले
दीर्घजीवनको तिम्रो प्रत्येक श्वासमा
महसुस गर्नेछौ मलाई
जिजीविषाको तिम्रो रोटीमा
तिम्रा कर्मका प्रत्येक गह्रा र कान्लाहरूमा
स्वप्नील भविष्यका
धानका बालाहरू बनेर
झुलिरहनेछु म
तिम्रो श्वासप्रश्वासमा
प्रत्येक स्पन्दनहरूमा
युगौँयुग बाँचिरहनेछु
म पनि तिम्रो सभ्यतासँगै ।

बर्दघाट न.पा. वडा नं: १० नवलपरासी, नेपाल
हाल: ओस्लो, नर्वे