म खोला हुँ
खोलाबाट नदी बनेर बगेको हो
हिमाल हाँसेको देशबाट
बग्नु मेरो कर्म हो
आफ्नै बाटो छ / आफ्नै गति छ
आफ्नै संघर्ष छ / आफ्नै कथा छ
मेरो कुनै स्वार्थ छैन
केवल यहाँसम्म आइपुग्नु थियो
मेरो अनुहारमा जूनले
आफ्नो छाया देखेर मुस्कुरायो
जूनसँग प्रेम बाँड्दै आएँ
ओइलिँदै गरेका फूलहरूको जरामा पुग्दा
फूलहरू खुशीले मुस्कुराए
फूलहरूसँग प्रेम बाँड्दै आएँ
०००
सबैलाई समान प्रेम गर्नु
मेरो धर्म हो
मन्दिरमा पुगेँ / चितामा पुगेँ
महलमा पुगेँ / झुपडीमा पुगेँ
र, पुगेँ खेडेरीले तिर्खाएका खेतहरूमा
डढेलोले जलिरहेका जङ्गलहरूमा
पवित्र बनाउँदै आएँ – मानिसहरूलाई
मलाई तिनै मानिसहरूले अपवित्र बनाए
यो दुनियाँका केही मानिसहरू
किन यति धेरै
स्वार्थी र घिनलाग्दा हुन्छन् ?
मलाई प्लास्टिकका भारी बोकाइदिए
मरेका सिनोहरू बोकाइदिए
फालिदिए बैँस गएका कपडाहरूको थुप्रो
र, मिसाइदिए आफ्नो घरको ढल
कयौंपटक धमिलिएँ / कयौंपटक सङ्लिएँ
तिनै मानिसहरूले थपिदिए उपमाहरू
धमिलिँदा – बौलाहाको
सङ्लिँदा – पवित्र गंगाको
०००
यात्राको पनि त बहुरङ्गी हुँदोरहेछ
यो बहुरङ्गी यात्रामा
झेल्नु पर्यो – बहुरङका थुप्रै कष्टहरू
मैले विश्राम पनि गर्न पाएन
जब बिसौनीमा थकाइ मार्न बस्थेँ
मेरो छाती माथि कुदाइदिन्थे – डुङ्गा
म खल्बलिएपछि / म छचल्किएपछि
सुनाउँदै आएँ – मेरा पीडाहरू
मैले बिदाइ मागी आएका बगरहरूलाई
सुनाउँदै आएँ – मेरा भोगाइहरू
किनारामा उभिएर
रुमाल हल्लाइरहेका रुखहरूलाई
मेरो गन्तव्यमा आइपुगेँ
मलाई समुन्द्र बन्नु थियो
र, खोलाबाट नदी हुँदै समुद्र बनेँ
तर, यहाँ पनि त दुख्नुरहेछ आखिर
मानिसहरू
मेरो छातीमाथि पानीजहाज कुदाइरहेछन् ।
०००
रोल्पा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।