धेरै पछि एकदिन,
गाउँ पसेर
सदियौंदेखि उभिएको
एउटा बुढो रुखलाई सोधें-
कस्तो छ तिम्रो वर्तमान?
बोल्न थाल्यो रुख
शुष्क लवजमा:
के हुनु र मेरो वर्तमान;
सँगै लिई गयो विगतले
आफूसितै अल्झाएर,
मेरा सारा सपना र सन्ततिहरू,
म ‘म’ हुनुको गर्व र इमान;
लिलामीमा छ अब मेरो वर्तमान !
परायाहरू छन् काखमा
जो सधैं मेरो दोहन गरिरहेछन्-
के सोध्छौ आज-
मेरो वर्तमान तिमी !
भोक लाग्यो भन्दैमा
बाघले घाँस खाँदैन
बाघले खाला भनेर
मृग जङ्गल छोड्दैन;
संकट पऱ्यो भन्दैमा
तिमी घर छोडी हिँड्यौ !
भन्यो मात्र तिमीलाई विश्वले ‘वीर’
कहिल्यै तिमी वीर भएनौ,
अब पनि हुने छैनौ-
परजीवी बालक बबुरो
बरा, सर्काउँदा फुर्क्याउँदैमा
आफ्नो ज्यान अर्काकै निम्ति फाल्ने
तर, स्वत्वरक्षाको हाँकमा
माखो मार्न नसक्ने;
व्यर्थै के सोध्छौ तिमी
आज मेरो वर्तमान !
बरु अलिकता विगत सोध
व्यथा कैरन गर्दा मात्र पनि
थोरै शीतल होला कि;
शीतमा न्यानो आभास होला कि !
तिमी गएपछि यहाँ धेरै कुरा भए-
मलाई जतन गरी
मलजल गर्ने हातहरू काटिए,
मेरो सुसेली सुन्ने कानहरू
जरैबाट उखेलिए …
म जवान हुँदाका हितेरी-मितेरी
मेरो छायामा शीतल ताप्ने बटुवाहरू
बाटो हिँड्नै निषेधित भए,
उखेलिए सारा स्मृतिविम्बहरू-
अहिले मेरो बस्ती रुग्न छ !
पहिले एक हुल आइमाईहरू
मेरो बस्ती पसेर मलाई नङ्ग्याए
कसैको बिहे छ, कसको न्वारन
दुना-टपरीको पात चाहियो भने,
मलाई निर्विवाद उजाडे
म चुपचाप उभिइरहें !
फेरि ‘हामी गरिब’ भनेर
अर्को हुल अधबैँसे बुढाहरू
मेरो बस्ती पसे र,
मेरा हात-पाखुरा गिँडे
‘हामी त दाउरे’ भन्दै लिई हिँडे !
यसरी नै किसानहरू आउँछन्,
घाँस भनेर मलाई काटी काटी
क्षतविक्षत बनाउँछन् !
गेरुधारीहरू कर्मकाण्डको बहानामा
बारम्बार मेरा पात-वस्त्र लुछेर
सर्वाङ्ग नाङ्गो बनाउँछन्-
तस्कर व्यापारीहरू
मेरै करङ-पाँसुला छिलेर
मोलतोल गरी नाफा कमाउँछन् !
मान्छे नामका जीवहरूको
जन्मदेखि मृत्युसम्म
संस्कार मैले धानेको छु-
यसरी म एक्लै एक्लै बिलिएर
यस धराको जीवनलीला चलाएको छु !
हेर न-उहिले जन्मिएको
त्यो हर्के,
शिशु, बालक, किशोर युवा हुञ्जेल
मेरै वरिपरि घुमिघुमी हुर्कियो-
हिजो ऊ मऱ्यो रे-
लाश जलाउने लकडी चाहियो रे-
अहिले त मेरो ढाड छिनाल्न
आरावालहरूको एउटा हुल
आफ्नो हतियारमा रेती लाउँदै छ !
म गिँडिएर फेदैबाट ढलेपछि
मेरा जरा उखेलौंला सोचेर
कुटो, गैंती, झम्पल कोदाली
बोक्ने अझै अर्को एउटा
जवानहरूको टोली पनि तयार छ !
यसरी युगौंदेखि म काटिएको छु
प्रतिवाद नगरेरै म सधैं चोइटिएको छु !
यद्यपि म चुपचाप उभिएको छु,
म मौन छु किनकि एकदिन
ममाथि अन्याय थोपर्ने
ती पीडक आफैंले
आफ्नो कर्तुतको
ज्वार अनुभूत गर्नेछन् !
के थाहा बरा तिनीहरूलाई
सधैं यस्तै चलिरहे-
उनीहरू पनि एकदिन
मभन्दा बीभत्स गरी
गिँडिएर- सडिएर, कुहेर, पाकेर,
खडेरी, हैजा, आँधीहरूको सामना गर्दै
अनेकौं रोग र भोकसँगै बिलाउनेछन्-
म कम्तीमा मरेर पनि तिमी
र, तिम्राहरूको प्रयोजनमा थिएँ –
तिमी र तिमीजस्ता तीहरू सबै
निरर्थक काल भोगेर सकिने छौ !
अब म सोध्छु तिमीलाई
एकपटक घुँडामाथि कुइनो-
हत्केलामा चिउँडो राखेर सोच
र, मलाई सहज उत्तर देऊ-
कस्तो छ तिम्रो वर्तमान ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।