आज बिहान चाँडै उठेँ र बाहिर हेरेँ । सूर्योदय सधैँ जस्तो थिएन । आज शीतका थोपामा हरियो किरण टल्केका थिए । आँगनका छेउका दुबाका बोटमा हरिया मोती थिए । करेसाबारी, तोरीका फूल र गुलाफका पत्रपत्र हरिया देखिन्थे । नदीको पानी र आकाशका बादल हरिया देखिन्थे । सुनगाभाका फूल र कुखुराका चल्ला हरिया देखिन्थे । मेरो मनले भन्दै थियो आज संसारको एउटा यस्तो दिन हो जहाँ हरियो दृष्टिको उदय भएको छ । आज सूर्य, चन्द्र र मेरो मन परिवर्तन भएका छन् ।
कृषिविद्हरू भन्छन् आँखाले हरियो देख्नु कृषि क्रान्ति हो । उखानविद्हरू चाहिँ आँखाले हरियो देख्नुलाई यथास्थितिवाद ठान्छन् । अर्थशास्त्रीहरू यसलाई मुद्राको गुणस्तर वृद्धि र द्वन्द्वविद्हरू समस्या समाधान ठान्छन् ।
जसले जे भनुन् वास्ता नगरी मेरो मन भन्छ – मेरा आँखाले हरियो देख्नु भनेको विचार हरियो हुनु हो । मस्तिष्कमा हरियो पोतिनु हो । कालो विचारले सेता चिजलाई अन्धकारमा लुकाउँछ । सेतो विचारले कालो देख्दै देख्दैन । हरियो सोचले चाहिँ अन्धकारभित्रबाट सेता, राता, पहेँला रङ्गिन रत्न जन्माउँछ । यसैले हरियो दृष्टि रत्नको भण्डार हो, विचारको सिर्जना हो । आविष्कार, अनुसन्धान र नवप्रवर्तन हो । उत्तर आधुनिकतावाद, विनिर्माण वा पुनःसिर्जन हो । मेरो दृष्टि हरियो हुनु एक युगको अन्त्य र अर्को युगको सुरुआत हो । नयाँ सभ्यताको आरम्भ हो । भग्न क्रमिक निरन्तरता हो ।
युद्ध मानिसको चाहना होइन तर विश्वमा धेरै युद्ध भए । पहिलो युद्ध भयो, हैकम उदायो । दोस्रो युद्ध भयो र उद्योग स्थापनाको होड सुरु भयो । बुद्धिले सोझो बाटो खोज्दा मानिसले जीवन सहज बनायो । गाँस, बास, कपास, सम्मान र सन्तुष्टि पायो ।
बुद्धि बाउँटिएपछि मानिसले आफ्ना तरकारीबारीमा तरकारीको जुस बनाउने कारखाना खोल्यो र पल्लो गाउँबाट तरकारी ल्याएर जुस बनाउन थाल्यो । छिमेकीको पछ्यौराले आफ्नो आङ ढाकेको थाहै पाएन, त्यसैमा रमायो । हरिया सागसब्जी मेसिनमा हालेर मेसिनबाट कालो धुवाँ हावामा मिसाइदियो । हावाले आफ्नो रूप गुमायो र बहुरूपी भयो । हावाले मानिस चिनेन र मानिसलाई हाँसोको सट्टा रोदन दिन सुरु गर्यो ।
फेरि मानिसको खुसी गुम्यो, ऊ निराश र विरक्त भयो । यो विरक्तिले उसको आँखाको नानी फेरिदियो । उसले कारखानाका छेउछाउमा रुख रोपेर धुवाँ भगायो । हरिया वन जोगाएर वर्षा बोलायो । करेसाबारीमा फूल रोपेर सुगन्ध झिकायो । सुगन्धले सासको सफाइ गर्दा ऊ खुसी भयो अनि वर्षौंसम्म हरियो दृष्टिका लागि प्रयासरत रह्यो । विषालु बादललाई दुत्कार्यो । शक्तिका मालिकलाई सराप्यो । साझा सासको खोजी गर्यो अनि सासको ऐँठन पार्नेहरूका आँखामा हरियो दृष्टि भर्ने प्रयास गर्यो । यही प्रयासको एक भाग आज मेरो आँखामा पनि पर्यो । मेरो आँखाको दृष्टि र सोचको पर्दा हरियो भयो ।
मानिसलाई विकास चाहिन्छ तर त्यसभन्दा पहिले स्वच्छ हावा र खाना चाहिन्छ । भोको पेटले विकास खोज्दैन । नाङ्गो आङले विलास रोज्दैन । सहज प्रश्वास नभए अग्रगामी पाइलो पनि डेग चल्दैन । स्वच्छ हावा मानिसको प्रगति हो । मेरो हरित दृष्टिको पहिलो आधार हो ।
भोकमरी, खडेरी, बाढी, हावाहुरी, आगलागी, बिरामी, महामारी मानिसका रोजाइ होइनन् । मेरो मनले यो सोच्दै थियो आँखाले खेतभरी धान फलेको देखे । बारीमा मकैका धानचामर देखे । दलहन र तेलहनका फाँट देखे । सरकारले किसानलाई सुविधा दिएर रैथाने बाली लगाउन सिकाएको देखे । पेट भरिएका खेताला देखे । आफ्नै गाउँमा बैङ्क खुले, सहकारी खुले । समिति बने । कृषि बिमा गर्ने कार्यालय खुले । दुर्घटना तथा प्रकोप बीमा गरिदिने योजना बने । मुनाफावितरण र बचत योजना बने । किसानलाई ऋण, बिउ, मलखाद, औजार पाउन सजिलो योजना र ढाँचा तयार भए । वैज्ञानिक तरिकाले खेती गरेर जमिन हराभरा बनाउने योजना बने । मेरा आँखा एकटकले हेरिरहेका थिए, आफ्नै खेतबारीमा नयाँ नयाँ प्रजातिका अनाजका बोट हरिया भए ।
चराको चिरबिर सुनियो । वन्यजन्तु रमाए । दूधका ट्यामी भरिए । दहीका ठेकी भरिए । गोठ, टाट्ना र खोर भरिए । मेरो वासस्थान हरियो सौन्दर्यमा परिणत भयो । शब्दकोश र विश्वकोशमा हरियो शब्दको परिभाषा नै परिवर्तन भयो । मेरा आँखाका नानीले दशै दिशामा हरियाली आनन्द देख्न थाले । सिकाइ, सोचाइ, वातावरण, ज्ञान, विज्ञान र व्यवहार हरिया बने ।
मेरो मनले उडान भर्यो । आँखाले कृषिमा सुधार देख्यो । हामी पहिले छिमेकीलाई अन्न दिन्थ्यौँ । आज एउटा पत्रिकाले समाचार लेख्यो, छिमेकीले अन्न नदिए हाम्रा एक चौथाइ सन्तान खान नपाएर परलोक हुने छन् । तर मेरा आँखा यो मान्न तयार थिएनन् । नेपाली शिर झुक्न नदिने र पाखुरा र मस्तिष्कले विश्वमा आफूलाई चिनाउने पुर्खाको रगत नशानशामा बगेकाले आँखाले कृषिमा क्रान्ति देख्यो, चीन र भियतनामको खेत देख्यो । अमेरिकाको मकै र जर्मनीको आलु देख्यो । सिँचाइ, सडक, बिजुली कृषिमा जोडिएको देख्यो । सरकारको साथ र मेरो प्रयासले आफ्नो पालीमा ठाउँ नपुगेर भकारी बनाउन अर्काको आँगन भाडामा लिएको देख्यो । मेरा आँखाको हरियो दृष्टिले पसिनाको नयाँ सृष्टि देख्यो । वृष्टि छायामा भोक मेटाउने नयाँ उपाय देख्यो ।
हेर्दाहेर्दै मैले परम्परागत कृषि पद्धति छाडेँ । काठको हलो बेचेर हार्भेस्टर, ट्याक्टर र पम्पिङ सेट किनेँ । बढी उत्पादन हुने उन्नत बिउ खोजेँ । मनसुनको वास्ता गरिनँ, खेतमा कुलो, नहर आइपुगे । खेतीमा मेसिनीकरण भयो । काम गर्ने मानिसको अभाव भएन । लगानी घट्यो, फाइदा बढ्यो । मेरा हरिया आँखा झन् तेजिला भए । मलाई बैङ्कले पत्यायो । पैसाको अभाव भएन ।
छिमेकी र हामी भएर भिर, पाखा, टार, सिम सबै चक्लाबन्दी गर्यौँ । जहाँ जे हुन्थ्यो रोप्यौँ, गोड्यौँ । बजार घरमै आइपुग्यो । व्यापार कृषिमा सलबलायो । हामीले खल्तीभरि पैसा बोकेर मिठो निद्रालाई प्रेम गर्यौँ । छोराछोरीले विद्यालयमा हाम्रा कथा पढेर पानाभरि समीक्षा गरे । हामी साहित्यकारका रचना बन्यौँ । कलाकारका कलाकृति बन्यौँ ।
विद्यालयले मेरी छोरीलाई हरिया आँखाले के देख्छ, लेखेर ल्याउने गृहकार्य दियो । बाबुछोरीले बहस गर्यौँ । हरिया आँखाले अन्नका रैथाने प्रजाति मासेको देख्न सक्दैन । उत्पादकता बढाउने प्रजातिले खेतबारी भरिएको देख्छ । रासायनिक मलले माटो बिगारेको सट्टा प्राङ्गारिक उत्पादन बढेको देख्छ । उर्वरताको सुरक्षा देख्छ । कृषिमा यान्त्रीकरण देख्छ । रोप्ने, गोड्ने, काट्ने, थन्क्याउने मेसिन चलेको देख्छ । मानिसका ओठमा खुसी मुस्काएको देख्छ । भोक, अभाव र शोकको बादल मडारिएको देख्दैन ।
छोरीको कापीका पाना भरिँदै थिए । मैले कृषिमा अनुसन्धानका लागि आफ्नै घरपछाडिको ढुङ्गे पाखामा कृषि अनुसन्धान केन्द्र खुलेको देखेँ । विदेशबाट कृषिविज्ञान पढेर आएका आफ्नै भान्जा त्यहाँ वरिपरि गाउँलेलाई राखेर बालीको सुरक्षाका लागि प्राकृतिक र जैविक विधिको प्रयोग गराउँदै थिए । भूमिसुधार र बालीसुधार कसरी हुन्छ भन्ने सिकाउँदै थिए । बाली चक्र र एकीकृत कृषिको अवधारणा सिकाउँदै थिए । थोपा सिँचाइ र हाइड्रोपोनिक्स पढाउँदै थिए ।
गाउँले चाहिँ व्यावसायिक कृषि, अन्तर्राष्ट्रिय बजारीकरण र आयआर्जन तथा बचतका बारेमा प्रश्न सोध्दै थिए । छोरीलाई यी कुरा सुनाउनासाथ फेरि मेरो हरियो दृष्टि बहुबाली प्रणालीमा पुगेर अड्कियो ।
अब त हामीसँग सिँचाइ, औजार, बिउ, मल सबै छन् भने वर्षैंभरि खेती गर्दा के हुन्छ ? फेरिफेरि बाली लाउँदा के हुन्छ ? बाली फेरिन्छ र माटो उर्वर बन्छ । हरेक मौसममा अनाज हाँस्छन् र रोगकिरा पराइ बन्छन् । क्रयशक्ति बढ्छ र शिक्षा स्वास्थ्यमा सुधार आउँछ । बालीनालीका प्रजाति सङ्ग्रह तथा सुरक्षा हुन्छन् र हाम्रा उत्पादन सीमापारिसम्म पुग्छन् । विदेशी पैसा घरमा आउँदा घरको त आफैँसँग रहन्छ ।
मेरा हरिया आँखाले क्षितिजसम्मै देखे र झन् चम्किला बने । म वरिपरि हेर्दै थिएँ, सूर्य अझै रापिलो बन्दै थियो । रापलाई तर्काउन आँखामा हात राखेँ, चस्माबाट हरियो सिसाको टुक्रा चर्केर भुइँमा खस्यो । मेरो आँखाको हरियोपना क्रमशः घट्दै गयो र आँखाले पुनः सेतो देख्न थाल्यो ।
हरियाली बाँच्ने आधार हो । हरित सौन्दर्यका लागि हरित दृष्टि चाहिन्छ । म आँखामा बनेली र सोचमा जुनेली भर्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।