पृथ्वीको मौसम बदलिने छ । मौसम बदलिएसँगै पृथ्वीको रूपरङ्ग बदलिने छ । रित्तो वायुमण्डलमा वायुप्रवाह हुनेछ । यथास्थित महादेशीय भूमिहरूमा रुखहरू पलाउने छन् । ध्रुवीय महादेशहरूमा पूर्ववत् हिउँ जम्ने क्रम शुरु हुनेछ । कालापत्थरहरूमा परिणत हिमालहरूमा हिउँ जम्नेछन् । हिमनदी र नदीहरू बग्न थाल्नेछन् । पहाडहरू हरिया हुनेछन् । विनास हुनबाट बचेका इतर मानव प्राणीहरू पूर्ववत् वन्यजीवन र सामुद्रिक जीवनमा देखा पर्नेछन् । सागर–महासागरहरू आफ्ना सीमामा फर्कनेछन् । महासागरमा समाधि लिन अभिशप्त भूमिहरू फेरि मानिस र अन्य जीवजन्तुका लागि उपलब्ध हुनेछन् ।

सभ्यताहरू जुन ध्वस्त र अस्तव्यस्त भएका थिए, फेरि उठ्न र सम्पर्कमा आउन थाल्नेछन् ।

यो वातावरणीय परिवर्तनको कारण प्रकृतिको विवर्तन प्रक्रिया हो या त्यसमा मानिसको योगदान छ ? निर्माण समयको सर्वोत्तम धात्विक संरचनाहरूद्वारा निर्मित्त अत्याधुनिक एन्ड्राइड वर्गको यामा अर्थात् यान्त्रिक मानव काञ्जिरोवाले आफैलाई एक अहम् प्रश्न गर्ने छ र मुस्कान संवेदनामा खासै नतन्कने ओठभित्र एक सुखद परमाणु विद्युत् ऊर्जा महसुस गर्नेछ । पृथ्वीहरू टाढा सुदूर अन्तरिक्ष पिण्डहरूमा मानववस्ती निर्माण गर्न सफल मानिसहरूले पृथ्वीमा अक्सिजनसहितको वायुमण्डल आपूर्ति गर्ने योजना सञ्चालन गर्दैछन् भन्ने जानकारी उसलाई हुन्छ । तर सञ्चालित भएको सूचना ऊसित हुँदैन । ऊ सम्पूर्ण मानवीय सञ्चार सम्पर्कबाट टाढा एक अनाम र दुर्गम पर्वतीय स्थलमा हुन्छ ।

‘म मौसम बदलिने प्रतीक्षामै थिएँ ।’ यामा काञ्जिरोवाले पर्वतीय जमिनका अभ्यस्त पाइला चाल्दै वायुमण्डलको अदृश्य वायुलाई सुँघेजस्तो गर्नेछ । अनि देब्रे हातको काखीपट्टिबाट अक्सिजनमापक यन्त्र निकालेर वायुमण्डलमा अक्सिजनको मात्रा नाप्ने छ ।
‘सन्तोषजनक तर केही अप्रयाप्त !’ उसले एक अव्यक्त संवेदना अनुभूत गर्नेछ अनि भूमिगत घरभित्र प्रवेश गर्नेछ । दिनहरू बित्नेछन् । ऊ प्रतीक्षामा रहनेछ । जब प्रतीक्षाको समय समाप्त हुनेछ, उसको सम्पूर्ण धात्विक स्वतः परिचालित अस्तित्वमा खुसीको पारमाणिक विद्युत् ऊर्जाले सुन्दरतम् नर्तन गर्नेछ ।

ऊ विशेष रूपले निर्मित भूमिगत घरको भूमिगत प्रकोष्टमा प्रवेश गर्नेछ । सम्पूर्ण रूपले वैज्ञानिक उपकरणहरूद्वारा सज्जित प्रकोष्टमा पारदर्शी बाकसहरूमा निषेचन गरी अक्रियायाशील अवस्थामा राखिएका सूक्ष्मतम् जैविक मानव अस्तित्वलाई क्रियाशील पार्नेछ ।

भ्रूण विकासप्रक्रिया आरम्भ हुनेछ ।

बलिष्ठ धात्विक शरीरभित्र अर्ध जैविक मस्तिष्क । अर्ध जैविक मस्तिष्कभित्र मल्टी इलेक्ट्रोड एरेमा कल्चर गरिएका न्यूरोनहरूको धनिभूत उपस्थिति । काञ्जिरोवाले यामिक सपना देख्न सक्नेछ । महान् कार्यको ।

उसलाई कार्य दिइएको थियो– धरतीमा जैविक वातावरण स्थापना भएपछि विषेचित भ्रूणहरूबाट दुई जैविक मानव शिशुलाई सुरक्षित रूपमा जन्म दिलाउने, ती शिशुहरूको जन्मपछि आवश्यक समयमसम्म सम्पूर्ण आवश्यकताहरू जम्मा पारी राखिएको भूमिगत घरभित्र हुर्काउने अनि उपयुक्त समयमा उनीहरूको पुर्ख्यौली घरमा पुर्याउने ।

‘निश्चय पनि जैविक मानव विनाशको समयमा मलाई महान् कार्य दिइएको हो ।’ काञ्जिरोवाले अर्ध जैविक न्युरोनद्वारा परिचालित शरीरका स्नायुहरूमा सन्तोषपूर्ण परमाणु ऊर्जा महसुस गर्नेछ । यही सन्तोषमा ऊ भूमिगत घरको खाद्यभण्डार कक्षमा प्रवेश गर्नेछ । शिशुहरूलाई आवश्यक पर्ने दूध, कृत्रिम दूध, पानी, अन्य खाद्य सामानहरू, जुन विशेष वैज्ञानिक रसायनद्वारा ठोसरूपमा नकुहिने–नबिग्रने अवस्थामा राखिएका थिए, निरीक्षण गर्नेछ । यसपछि सन्तोषपूर्वक भूमिगत घरबाट बाहिर निस्केर एउटा ठूलो चट्टानमाथि उभिनेछ । अनि आफ्ना धात्विक नाकका प्वालबाट यसरी हावा तान्ने छ मानौं ऊ वायुमण्डलमा अक्सिजनको मात्रा कति छ भन्ने जैविक अनुभूति गर्न चाहन्छ ।

ऊ धातु, उसलाई जैविक अनुभूति कसरी हुनसक्छ र ? अभावमा उसलाई निराशाले छोप्ने छैन मात्र स्मृतिहरूले छोप्ने छ, स्मृतिहरूले ।

जीवन र झरना । दुवै उसका मित्र । भेट पोखराको माछापुच्छ्रे यान्त्रिक मानव कारखानामा । जीवनले त्रिभुवन विश्वविद्यालय र पछि हवार्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरी न्यूयोर्कमा व्यवसाय सञ्चालन गरेका थिए । झरना पोखराको इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गर्थी । दुवैको भेट सोलुखुम्बुको नाम्चेबजारमा भएको थियो । दुवैले आआफ्ना दलका साथ सँगै सगरमाथा बेसक्याम्पको यात्रा गरेका थिए ।

नाम्चेबजारमा जुधेका आँखाहरूले कालापत्थरमा पुग्दासम्ममा प्रेमका रंगिन भावहरू साटेका थिए । सगरमाथा बेसक्याम्पमा सामूहिक फोटो खिचेर खुम्बु आइसफलतर्फ फर्कंदा असाध्य चिसो वातावरणमा दुबैका मनले प्रेमको न्यानो अनुभूति गरेका थिए । पोखरा फर्केपछि दुवैले यताउति घुमफिर गरी एक अर्कालाई बुझ्ने भन्ने कुरामा समय खर्च नगरी सिधै विवाह गरेका थिए । केही समयपछि दुवै उसलाई खरिद गर्न आएका थिए ।

‘काञ्जिरोवा, मलाई तिम्रो नाम मन पर्यो । नेपाल हिमालहरूले धनी देश हो । हामी यसमा गर्व गर्छौं ।’ कारखानाबाट बाहिर निस्केपछि जीवनले भन्यो ।

‘धन्यवाद हजुर ! मलाई पनि तपाईंहरूको नाम मन पर्यो जीवन र झरना । दुवै सुन्दर कुरा हुन् ।’ काञ्जिरोवाले जवाफ दियो ।

‘कसरी थाहा पायौ ? तिमी पहिलोपल्ट कारखानाबाट बाहिर निस्कँदैछौ । झरना त देखेका पनि छैनौ ।’ जीवनले के जवाफ दिन्छ भन्ने जिज्ञासा राख्यो ।

‘पृथ्वी, जीवन, प्रकृति र विज्ञानका धेरै कुराहरू मेरो मस्तिष्क चिप्सका न्यूरोनहरूमा सङ्गृहीत छन् ।’ काञ्जिरोवाले जानकारी दियो ।

‘ए, हो त ! तिमी बहूउद्देश्यीय यामा हौ, बहूज्ञान र बहूसामर्थ्यले सम्पन्न ।’ जीवनले भन्यो ।

‘धन्यवाद मालिक !’ काञ्जिरोवाले शिर झुकायो ।

‘मलाई मालिक होइन साथी मान ।’ जीवनले भन्यो ।

‘मलाई पनि । तिमी हाम्रा साथी हौ ।’ झरनाले भनी ।

‘धन्यवाद साथीहरू !’ काञ्जिरोवाले भन्यो ।

जीवन र झरना एकअर्कालाई हेरी मुस्कुराए ।

* * * *

अमेरिका प्रस्थान । जीवनका धेरै कारोबारहरूमा काञ्जिरोवा निजी सहयोगी नियुक्त । केही प्रयासपछि झरना न्यूयोर्कको एक विश्वविद्यालय क्याम्पसमा प्राध्यापक नियुक्त । प्रेम, गृहस्थी सुख र व्यस्तता, सबै सुखद्, सबै अनुकूल ।

‘वैश्विक उष्णता !’ एउटा चिसो र जीउ सिरिङ्ग्याउने प्रश्न भने विश्वसञ्चार माध्यमहरूमा परिव्याप्त । वैज्ञानिकहरूका बारम्बारका चेतावनीहरू, राजनेताहरूका फोस्रा भाषणहरू ।

जीवन र झरनाले वैश्विक प्रश्नलाई सकेसम्म घरभित्र प्रवेश गर्न दिएनन् ।  तर जब ध्रुवीय हिउँहरू पग्लिएर न्यूयोर्कका केही तटीय स्थानसहित विश्वका अन्य तटीय शहरहरू, साना द्वीपहरू, पानीमा डुब्न थाले तब वैश्विक प्रश्न घरभित्र घुस्यो ।

‘देशमै फर्कनु पर्ने जस्तो छ…!’ एक साँझ जीवनले निःश्वास पोख्यो ।

‘यहाँ तपाईंको यति धेरै कारोबार छ, कसरी छोड्न सक्नुहुन्छ?’ झरनाले प्रश्न गरी ।

‘यो मोह पनि छोड्न गाह्रै छ, भावनामा बगेर मात्र के गर्ने ? करौडौंको व्यवसाय छ ।’ जवाफमा जीवनले निःश्वासमा सामान्य कटौती गर्यो ।

‘हिमालय पर्वत लगायत एन्डिज, एस्कार्यमेन्ट, रकी, ट्रान्सएन्टार्टिक, आल्पस्लगायत सबै पर्वत शृङ्खलाका हिउँहरू पग्लिरहेका छन् । वैश्विक उष्णतामा कुनै पनि देश सुरक्षित छैन । अनि सबैभन्दा ठूलो समस्या–वायुमण्डलको तीव्र विनाश ।’ काञ्जिरोवाले भन्यो ।

‘क्या फसाद !’ जीवनले टाउको समात्यो ।

‘यस्तो बिग्रँदो अवस्थामा के गर्नुहोला ?..?’ झरनाले काञ्जिरोवामाथि निराश दृष्टि दिई । काञ्जिरोवाले पारमाणविक अनुभूति गर्यो, त्यस दृष्टिमा निराशा मात्र छैन, विश्वास पनि छ, भरोसा पनि छ ।

‘साथीहरू, म तपाईंहरूलाई न्यूयोर्क राज्यको कुनै पर्वतीय क्षेत्रमा एउटा भूमिगत घर बनाइराख्ने सल्लाह दिन्छु जहाँ आवश्यक पर्दा सुरक्षित रूपमा बस्न सकियोस् । निश्चय पनि त्यहाँ वर्तमान मात्र होइन, भविष्यसम्मका लागि आवश्यक सामग्रीहरू भण्डारण गर्नुपर्नेछ ।’ काञ्जिरोवाले सोचविचारमा धेरै ऊर्जा खर्च नगरी भन्यो ।

‘मलाई लाग्छ, तिमीले सही सल्लाह दियौ यसका लागि धन्यवाद छ साथी । अहिले व्यवसाय विस्तार भन्दा जीवन विस्तार गर्नु पर्ने समय आएको छ ।’ जीवनले निरासा बीच आसाका केही किरण भेटेको अुनभूति गर्यो अनि मुस्कुरायो । झरना, झरना जस्तै मुस्कुराई ।

काञ्जिरोबाले हलुका शिर झुकाई धन्यवाद स्वीकार गर्यो ।

न्यूयोर्कको उत्तरपूर्वी भागमा अवस्थित आदिरोन्डाक पर्वत श्रृङ्खलाको सन्निकट एक पर्वतीय इलाका । खरिद गरी भूमिगत घर निर्माण । वर्तमान र भविष्यका लागि आवश्यक सामानहरूको बन्दोबस्ती ।

भूमिगत घर निर्माण इञ्जिनियरहरू र कामदारहरूले गरे पनि ती सबै कार्यको निरीक्षण अनुगमन गर्ने जिम्मेवारी काञ्जिरोवाको । जीवनले उसलाई अरू जिम्मेवारीबाट पूरै छुट्टी दिएको थियो ।

‘साथी, भूमिगत घर बस्नका लागि तयार भयो ।’ करिब तीन महिनाको समयावधिपछि काञ्जिरोवाले सूचना दियो ।

‘ए हो, धेरै खुसी लाग्यो ! यति महत्त्वपूर्ण कामको जिम्मेवारी लिइदिएकोमा तिमीलाई धेरै धन्यवाद ! तर प्रिय साथी, कतै मैले मिलियन्स डलर खर्च गरेर भूल त गरिनँ ?’ जीवनले अधुरो मुस्कुराउँदै मानसिक अन्तर्द्वन्द्व प्रकट गर्यो ।

‘मलाई त्यस्तो लाग्दैन । धन जीवनको लागि हो, जीवन धनको लागि होइन ।’ काञ्जिरोवाले भन्यो ।

‘ठीक भन्यौ…तर पनि म एक व्यवसायी मान्छे, भूमिगत घर निर्माणमा मैले जति मिलियन खर्च गरेँ त्यसलाई व्यवसायमा लगाउँदा अरू धेरै कमाउन सक्थेँ । व्यवसायको एक अघोषित नियम छ– तिमी घाटा पनि नाफाका लागि उठाऊ कसो ?’ जीवन हाँस्यो । काञ्जिरोवा पनि विद्युत् चुम्बकीय हाँस्यो । उनीहरूका कुरा सुनेर क्याम्पसका विद्यार्थीहरूलाई पढाउनु पर्ने पाठ तयार पार्ने क्रममा एउटा मोटो किताब पढिरहेकी झरना पनि मुस्कुराई ।

केही समय भूमिगत घर निर्माण भएको खुसी र सुरक्षानुभूतिमा बित्यो । यसबीच सागर महासागरका जलस्तर बढ्ने क्रम तीव्र हुँदै गयो । हिमालय श्रृङ्खलाहरूका हिउँ पग्लने र हिम नदीहरू समाप्त हुने क्रम पनि तीव्र भयो । तापक्रम वृद्धि सहन नसकी कति मानिसहरू मरे । जङ्गलहरूमा भयानक डढेलो लाग्यो । धेरै जीवजन्तुहरू डढेर मरे । विश्व राष्ट्रहरू र मानिसहरूले बेलाबेला चिन्ता व्यक्त गरे तर प्रभावकारी ढंगले केही गरेनन् । विश्वमा राष्ट्रहरू र मानिसहरूका स्वाभाविक प्रकृति एउटै हुन्छन्– स्वार्थी,

लोभी र आत्मकेन्द्रित ।

सबैले वर्तमान मात्र सोचे भविष्य सोचेनन् ।

हरितगृह ग्याँस उत्सर्जनमा झन्झन् वृद्धि । कोइला, तेल र अन्य ग्याँसहरूबाट कार्बनडाइअक्साइड र नाइट्रोस अक्साइड उत्सर्जनमा वृद्धि । बचेका वनजंगलहरूको तीव्र विनाश । औद्योगिक विकाससँगै उत्पन्न सल्फरडाइअक्साइड, नाइट्रोजनअक्साइड, मिथेन र अन्य हानीकारक रसायनहरूको वृद्धि । निर्माण कार्य, यातायात, विद्युत् परियोजना, खानी उत्खनन्, जनसंख्याको अनियन्त्रित वृद्धि ।

वृद्धिहरू कुनै पनि सुखद् थिएनन्, तर जीवन र झरनाले आफ्नो सानो प्रेमको घरलाई सुखद बनाइराख्न चाहे ।

पर्याप्रणालीमा जति परिवर्तन आओस्, हाम्रो प्रेम अपरिवर्तित छ । उनीहरूले महसुस गरिरहे ।

अन्य कुरालाई यथावत् राखेर भन्दा जहाँ प्रेम हुन्छ, प्रेमको घर हुन्छ त्यहाँ सन्तानको पनि चाहना हुन्छ ।

‘प्रिय, हामीले प्रेम विवाह गरेको धेरै भयो तर के हाम्रो प्रेममा एउटा अभाव महसुस गरिएको छैन ?’ एक साँझ झरनाले मुख फोरी । मुख फोर्दा उसलाई धेरै लजाउन मन लागेन ।

‘मैले तिम्रो सङ्केत बुझेँ, तर…।’

‘तर के ?’

‘यो वैश्विक उष्णताको समयमा सन्तान जन्माउनु उपयुक्त होला र ? के हामीले सन्तान जन्माएर सन्तानलाई न्याय दिन सकौंला र ?’

‘सन्तानलाई दिनका लागि हामीसित के कुराको कमी छ प्रिय ?’

‘बाँच्न लायक पृथ्वीको कमी छ प्रियसी !’ जीवनले अत्यन्त भावुक र संवेदनशील भई भन्यो । झरनाको मातृत्वमा हाहाकार मच्चियो । ऊ रोई । उसलाई अँगालोमा बाँधी वैश्विक उष्णताले नसुकेका आँसु आँखामा भर्दै जीवनले भन्यो– ‘धैर्य गर प्रियसी, धैर्य गर । राम्रो समयको प्रतीक्षा गर । हाम्रो सन्तानलाई राम्रो समयमा जन्मने अधिकार छ ।’

समय आयो । तर राम्रो समय आएन । न्यूयोर्कस्थित विश्वका सबै सागर–महासागरसित जोडिएका तटीय शहरहरू र द्वीपराष्ट्रहरू पानीमा पूरै डुबेपछि पृथ्वीमा प्रलय उत्पन्न भयो । जति महादेशीय भूमिहरू डुबेनन्, तिनमा भयानक रूपले तापमान वृद्धि भयो । करोडौं मानिसहरू डुबेर वा ताप सहन गर्न नसकेर मरे । सम्पूर्ण धरती अस्तव्यस्त भयो । धेरै देशहरू हराए । धेरै देशका सीमारेखाहरू मेटिए । राजनीति, समाज, धर्म, दर्शन, संस्कृति भन्ने कुराहरू बेपत्ता भए । प्रलयमा जीउ जोगाउनु बाहेक अन्य कुनै कुराको महत्त्व रहेन ।

प्रलय भन्दा अगाडि पर्वतीय भूमिगत घरमा सरेका जीवन र झरना यी प्रत्याशित– अप्रत्याशित संघटनाहरूबाट स्तम्भित भइबसेका थिए । साथमा आएको काञ्जिरोवासित स्तम्भित हुने जैविक क्षमता थिएन तर मौन हुने यान्त्रिक क्षमता थियो, त्यसैले ऊ मौन थियो ।

‘साथी, यो सबै के हो ? के भइरहेछ ?’ स्तम्भवनको अवधि बीच दुखानुभूतिले लोथ परी जीवन फुसफुसाएर बोल्यो ।

‘तपाईंलाई जानकारी छ …।’ काञ्जिरोवाले भन्यो ।

‘तर यति चाँडै अपेक्षा गरिएको थिएन । सबै खत्तम भयो, स्वाहा भयो ।’ जीवनको फुसफुसाहट वृद्धि भयो ।

‘उता नेपालमा हाम्रा आफन्तहरू कुन अवस्थामा होलान्, थाहा पाउने कुनै माध्यम पनि छैन ।’ झरनाले रोएरै भनी ।

‘के गर्ने प्रियसी, हामी आधुनिक युगबाट एकै झट्कामा ढुंगेयुगमा पुगेका छौं । हामीसित समययन्त्र पनि छैन । अब हामी एउटै काम सैद्धान्तिकले गर्न सक्छौं– धैर्य, हैन साथी ?’ जीवनले झरनाको रुवाई भाँच्ने कोशिश गरेर फुसफुसाइलाई बिदाइ दियो ।

‘मलाई लाग्छ, यो सैद्धान्तिक कुरा हैन व्यवहारिक कुरा हो । व्यवहारमा धैर्य गरी बस्नु अहिलेको समयको आवश्यकता हो ।’ काञ्जिरोवाले भन्यो ।

प्रत्युत्तरमा जीवन बोलेन, फिस्स हाँस्यो मात्र निरीह ।

गामा किरण विस्फोटको प्रभाव छैन ।

छुद्र ग्रहहरूको प्रहार छैन ।

ज्वालामुखीहरू विस्फोट भएका छैनन् । व्यापक रूपमा ।

अतिरिक्त सौर्यिक प्रभावहरू छैनन् ।

पृथ्वीको अक्ष–कक्ष गतिमा परिवर्तन आएको छैन ।

अन्य कुनै काटाक्लिस्मिक (Cataclysmic) घटना पनि घटित छैन ।
तब ?

‘साथी, यो वैश्विक उष्णता प्राकृतिक कारणहरूले नभएर जम्मै मानवीय कारणले भइरहेछ ?’ केही समयको सन्नाटा र शक्ति आर्जन पछि जीवनलाई आफ्नो विश्वासमा विश्वस्त हुन मन लाग्यो ।

‘हो, मलाई यस्तै लाग्छ । म क्षमायाचना गर्दै यो कुरा भन्न चाहन्छु कि जबदेखि जैविक मानिसहरू वैश्विक महासिकारी (Global super predators) मा परिणत भए, त्यसैबेलादेखि यो समस्या तीव्र बन्दै गयो । अहिले पृथ्वी होलोसिन एक्सट्रिन्सन ( Holocene Extinction) अथवा छैटौं महाविनाशतर्फ (Mass Exintintion) उन्मुख छ ।’ काञ्जिरोवाले भन्यो ।
‘मतलब ?’ जीवन थप कुरा सुन्न इच्छुक भयो । झरना पनि हातमा निरुद्देश्य झैं किताब समातेर कुरा सुन्न इच्छुक भई ।
‘यो करिब १० हजार वर्षदेखि घटित हुन थालेको अनुमान छ तर जैविक मानवसभ्यता निर्माण पछि यसमा तीव्रता थपियो । अहिलेको परिस्थिति त्यसको परिणाम हो ।’ काञ्जिरोवाले भन्यो ।

‘मैले पढेकी थिएँ, करिब एक बिलियन वर्षपछि पृथ्वीका अधिकांश प्राणी अक्सिजनको अभावले मर्नेछन् । अक्सिजनको स्तर महान् अक्सिकरणको घटना (The Great Oxidation Event) पूर्वको अवस्थामा पुग्नेछ ।’ झरनाले किताब राखेर भनी ।

‘सही कुरा । पृथ्वी यस्तो अवस्थामा पुग्नेछ, वायुमण्डलमा भएका कार्वनडाइअक्साइडहरू टुट्नेछन् । अक्सिजन उत्पादन गर्ने बिरुवाहरू र कोषीय जीवहरू जो प्रकाश संश्लेषण क्रियामा भर पर्थे, ती सबै मर्नेछन् । पृथ्वीमा डिअक्सिजेनेसन (Deoxygenation) को अवस्था स्थापित हुनेछ । साढे दुई बिलियन वर्ष पहिलेको अक्सिकरण घटनापछि सास फेर्न लायकको जुन अक्सिजनयुक्त वातावरण पृथ्वीमा स्थापित भएको थियो त्यसको विनाश हुनेछ । यी वैज्ञानिक अनुमान अब सत्य रहेनन् । यसको कारण प्राकृतिक प्रक्रियामाथि मानवीय हस्तक्षेप नै हो ।’ काञ्जिरोवाले कुरा प्रष्ट्यायो ।

जीवन र झरनाले एकअर्कालाई काँतर आँखाले हेरे । उष्णतामा उनीहरूलाई चिसो महसुस भयो ।

‘भनेपछि… हामी अहिले महाविनासतर्फ नै उन्मुख छौ, हैन त ?’ जीवनले पराजय साथ आत्मसमर्पण गरे झैँ गरी सोध्यो ।

‘अवश्य हो, महाविनाश एक विवर्तनात्मक प्रक्रिया (Evolutionary Process) हो । अहिलेसम्म पृथ्वीमा पाँच ठूला महाविनाश भए । हावापानीका परिवर्तन, परिस्थिति पर्यावरणमा परिवर्तन, सागर महासागरमा अम्लीकरण, ज्वालामुखी विस्फोट, भूइँचालो आदि भौगर्भिक क्रियाकलाप, आकाशीय पिण्डका आकस्मिक हमला आदि तिनका कारण थिए । वैज्ञानिक अनुमान अनुसार प्रत्येक मिलियन वर्षमा १० प्रतिशत, १० मिलियन वर्षमा तीस प्रतिशत, सय मिलियन वर्षमा पैंसठ्ठी प्रतिशत प्राणीहरू विनष्ट हुन्छन् । २५२ मिलियन वर्ष पहिले, पर्मियन अवधिको अन्त्यमा साइबेरियामा घटित श्रृङ्खलाबद्ध ज्वालामुखी विष्फोटनले ९५ प्रतिशत सामुद्रिक प्रजातिहरू विनष्ट भएका थिए । यसलाई महामृत्यु अवधि (Great Dying Period) भनिन्छ, जुन पाँच ठूला महाविनाशमा सबभन्दा ठूलो मानिन्छ । त्यसबेला डाइनोसरहरूसमेत जन्मेका थिएनन् । अहिले नयाँ अध्ययनले के देखाएको छ भने पर्मियन मास एक्सटिन्सन (Permian Mass Extinction) वैश्विक उष्णताले (Global Warming)  भएको थियो ।’ काञ्जिरोवाले अरू जानकारी दियो ।

वैश्विक उष्णताले …. त्यस समयमा ….? झरनाले आश्चर्य व्यक्त गरी ।

‘हो, वैश्विक उष्णताले । समुद्रहरूमा तापक्रम वृद्धि भयो । तात्तिएका सामुद्रिक प्राणीले अक्सिजन बचाइराख्न सकेनन् र अक्सिजन अभावको अवस्था (Oxygen Deprivation) सिर्जना भयो ।’ काञ्जिरोवाले भन्यो ।

‘ईश्वरलाई धन्यवाद छ कि त्यस वैश्विक उष्णताका लागि हामी जिम्मेवार थिएनौं ।’ जीवनले फिस्स हाँसेर परिहास गर्यो ।

‘तर यसपालि भने जिम्मेवारीबाट बच्न सक्ने अवस्था छैन ।’ काञ्जिरोवाले भन्यो ।

जीवन फेरि फिस्स हाँस्यो । त्यसमा निरीहतापूर्वक झरनाले साथ दिई ।

दिनहरू बाहिरी उष्णता र भित्री शीताङ्ग अवस्थामा बिते । भूमिगत घरभित्र स्वचालित परमाणु विद्युत अवस्था भएकाले अँध्यारोको असुविधा थिएन । सबै घरेलु प्रयोजनका विद्युत उपकरणहरू चलिरहेका थिए । कुनै कुनै उपकरणमा खराबी आयो भने काञ्जिरोवाले सहज यान्त्रिक प्रवृत्ति अनुसार तुरुन्त ठीक पारिहाल्थ्यो । यसै ऊ लगभग कार्यविहीन अवस्थामा पुगेको थियो । दिनरात जीवन र झरनालाई दुःखी, चिन्तित र भयभीत अवस्थामा देख्नु, सुन्नु र आफूले उनीहरूलाई जैविक समस्याबाट मुक्ति दिन नसक्नु उसको यान्त्रिक नियति बनेको थियो ।

दिनमा कयौंपल्ट जीवन, झरना र काञ्जिरोवा भूमिगत घरबाट बाहिर निस्कन्थे र आँखाले भेट्ने संसारमा कुनै परिवर्तन आएको छ कि भनी हेर्थे । एकदिन साँझमा भूमिगत घरबाट बाहिर निस्कँदा झरनाले केही नवीन कुरा अनुभूत गरी ।

‘प्रिय, तिमीले देख्यौ ?’

‘के प्रियसी ?’

‘हाम्रो घरमाथिका यी रुख बिरुवा र यस पर्वतमा बचेका सबै जसो रुखबिरुवाहरू मुर्झाउँदै छन् ।’

‘हो र …सायद नयाँ पालुवा लाग्नका लागि होला । रुखबिरुवाले आफ्नो धर्म छोड्दैनन् ।’

‘होइन साथी, यी रुखबिरुवाहरू उष्णतापले मर्ने अवस्थामा पुगेका छन् । यी केही दिनमा मर्नेछन् ।’ काञ्जिरोवाले बीचमा हस्तक्षेप गर्यो ।

जीवनले छेउका रुखबिरुवालाई मायालु आँखाले स्पर्श गर्यो । यदि मसित क्षमता भएको भए म तिमीहरूलाई अमरताको वरदान दिन्थेँ ।  उसले चुपचाप सदिच्छा अनुभव गर्यो ।

‘साथी तिमीले मलाई यो कुरा पहिले किन भनेनौ ?’ पछि जीवनले गुनासो पोख्यो ।

‘सुखद नभएर…।’ काञ्जिरोवाले भन्यो ।

‘तिमी हाम्रो सुखदुःख अनुभव गर्न सक्छौ ?’ जीवनको यो सामयिक  वा असामयिक गुनासो थामिएन ।

‘म अनुभव गर्न सक्दिनँ बोध गर्न सक्छु ।’ काञ्जिरोवाले भन्यो । जीवनको निरीह गुनासो लोथ पर्यो ।

साँच्चै नै रुखबिरुवाहरू द्रूतगतिले मुर्झाएर मर्न थाले । जब अरू उष्णता वृद्धि भएर वायुमण्डलमा अक्सिजनको मात्रामा गिरावट शुरु भयो तब जीवन र झरनालाई सास फेर्न अतिरिक्त परिश्रम गर्नुपर्ने भयो ।

‘के हाम्रो प्रेमको अन्त्य सास फेर्न नपाएरै हुन्छ प्रिय ?’ एक रात झरना असह्य वेदनाले रोई ।

‘हुने छैन प्रियसी, विश्वास गर । प्रेमको आरम्भ हुन्छ अन्त्य कहिले पनि हुँदैन ।’ प्रेमले अभिभूत भएर भन्यो ।

दुवै वेदनापूर्वक अँगालोमा बाँधिए । आँखाबाट केही थोपा आँसु बगे । भूइँमा झर्न नपाई आकाशमै सुके ।

महाकष्ट र सन्तापमा रात बित्यो । बिहान जीवनले अतिरिक्त परिश्रमले सास फेर्दै सम्झ्यो– पृथ्वीमा २८ प्रतिशत अक्सिजन वर्षा वनबाट, ५०–८५ प्रतिशत सामुद्रिक बोटबिरुवा फाइटोप्याङटन वा एल्गीहरूबाट र दुई प्रतिशत अन्य स्रोतबाट उत्पन्न हुन्छन् । के अब सबै श्रोतहरूले हाराकिरी गरिसके ?

‘काञ्जिरोवा मेरो साथी, तिमी कति भाग्यशाली छौ कि तिमी जैविक मानव होइनौ । तिमीलाई सास फेर्नु पर्दैन ।’ काञ्जिरोवालाई हेरी जीवनले भन्यो ।

‘त्यस्तो नभन्नुहोला साथी । धैर्य गरौं । हामी सबै मिलेर राम्रो समयको प्रतीक्षा गरौं ।’ काञ्जिरोवाको छातीमा असहज विद्युत ऊर्जा प्रवाहित भयो ।

जीवन फिस्स हाँस्यो । झरनाले उसका हातका औलाहरूमा आफ्ना औलाहरू फँसाई ।

‘काञ्जिरोवा, तिम्रो तीक्ष्ण पारमाणिक दृष्टिले वायुमण्डल अध्ययन र भेदन गर्ने क्षमता राख्छ । तिमी मलाई सल्लाह नदिइकन जानकारी देऊ– के निकट भविष्यमा वायुमण्डल सुधार हुने आसा छ ?’ झरनाको प्रेम र स्पर्शको जीवनदायी चाप महसुस गर्दै, केही समयको अन्तरालमा मनलाई कसेर जीवनले सोध्यो ।

‘मैले अफसोसपूर्वक भन्नुपर्छ, त्यस्तो आसा निकट भविष्यमा देखिदैन । कार्वनडाइअक्साइड र अन्य हरितगृह ग्याँसहरूको वृद्धि अनि प्राणवायु अक्सिजनको गिरावटले क्षोभमण्डल (Troposphere) को संरचना बदलिएको छ । त्यसभन्दा माथिको समतापमण्डल (Stratosphere)  जसको ५० किलोमिटर दूरीसम्म ओजनतहको उपस्थिति हुनुपर्ने, त्यो नगण्य अवस्थातर्फ उन्मुख छ । त्यसभन्दा माथि बाह्यमण्डल (Exosphere)  सम्मका कुरा नगरूँ ।’ काञ्जिरोवाले भन्यो ।

‘यसको अर्थ … अब यस धरतीमा हामी धेरै दिनका पाहुना हुन सक्नेछैनौं, हैन ?’ जीवनले दुःख र कायरताले गल्न नचाही एक विरोधभावना महसुस गर्दै सोध्यो ।

‘प्रिय, तिमी कस्तो कुरा गर्दैछौ ?’ झरनाले प्रेम र स्पर्शको दबाब बढाई ।

‘म सत्य कुरा गर्दैछु प्रियसी ! दुर्भाग्यवश हामी मर्न बाध्य हुनेछौं तर सौभाग्यवश हामीले एक अर्कालाई प्रेम गरेर मर्न पाउनेछौं । म तिमीलाई एउटा अनुरोध गर्छु ।’ जीवनले  सबै दुःख भुलेर झरनामाथि एक सुखद र प्रेमिल दृष्टि दियो । झरनाले पनि दुःख भुली ।

‘के कुराको अनुरोध ?’ अनि सोधी

‘सन्तान जन्माउने । अब हामीले सन्तान जन्माउने कोसिस गर्नुपर्छ ।’ जीवनले भन्यो । झरनालाई सुनेको कुरामा विश्वास लागेन ।

‘के यो पृथ्वी हाम्रो सन्तान बाँच्न लायक छ ?’ पछि उसले जीवनले भनेको कुरा सम्झेर सोधी ।

‘अहिले बाँच्न लायक छैन तर भविष्यमा हुनेछ । काञ्जिरोवाले भनेको सुनिनौ ? हामीले धैर्य गर्नुपर्छ, प्रतीक्षा गर्नुपर्छ । अनि आशा गर्नुपर्छ ।’ जीवन मुस्कुरायो ।

‘तर यदि हामी मर्दैछौं भने सन्तान जन्माउने अभिलाषा किन राख्ने ? सन्तान जन्माएर हामी तिनलाई अन्याय गर्नेछौं ।’ झरना मुस्कुराउन सकिन ।

‘तिमीले कुरा बुझेनौ प्रियसी । हामी हाम्रो सन्तानलाई हामी मरेपछि मात्र जन्माउने छौं जब पृथ्वीमा बाँच्नका लागि उपयुक्त वातावरण सिर्जना हुनेछ । धेरै काल लाग्नसक्नेछ । काञ्जिरोवा हाम्रो हितैषी साथीले हामीलाई सहयोग गर्नेछ ।’ जीवनको मुस्कान काञ्जिरोवातर्फ उन्मुख भयो ।

‘साथीहरू, त्यो मेरो यान्त्रिक मानवीय सौभाग्य हुनेछ ।’ काञ्जिरोवाले एक अनुकूल आलोकको झनझनाहट मस्तिष्कचिप्समा महसुस गर्दै भन्यो ।

‘ऊ सुन्यौ प्रियसी, अब सबै आशङ्काहरूलाई परित्याग गर । हामी जीन सम्पादन विधिद्वारा डिजायनर वेवी जन्माउने छैनौं ।

सिन्थेटिक मानव भ्रूणको विकासमा पनि लाग्ने छैनौं । हामी हिमतापीय परीक्षण विधि (Cryopreservation) मा पनि जानेछैनौं । ती सबैभन्दा स्वाभाविक र उन्नत तरिकाले हामी हाम्रो भ्रूणलाई संरक्षित गरिराख्ने छौं ।’ जीवनले मुस्कानलाई झरनातर्फ मोड्यो ।
‘यसका लागि भूमिगत घरभित्र भूमिगत प्रकोष्ट तयार छ । वैज्ञानिक उपकरणहरू तयार छन् । भूमिगत घर निर्माणको क्रममा सुदूर भविष्यसम्मलाई विचार गरिएको थियो ।’ काञ्जिरोवाले झरनालाई हेर्दै भन्यो ।

‘प्रियसी, कुरा बुझ्यौं ?’ जीवनले सोध्यो ।

‘बुझें प्रिय !’ झरनाले भनी ।

दुवै प्रेमयुक्त सँगालोमा बाँधिए ।

भूमिगत घरको भूमिगत प्रकोष्टमा भ्रूण संरक्षण गरेपछि जीवन र झरना अतिशय भावुक बने । सन्तानको मुख हेर्न नपाइने तीव्र पीडाबोधले गर्दा उनीहरू अँगालोमा बाँधिएर रोए । तर केही दिनपछि उनीहरूलाई रोइबस्ने फुर्सद भएन । वायुमण्डलमा अक्सिजनको गिरावट अरू वृद्धि भएपछि उनीहरूलाई सास फेर्न साह्रै गाह्रो भयो । भूमिगत घरमा संकटकालको लागि भण्डारण गरिराखिएको अक्सिजन प्रयोग गरियो । प्रयोग गरेपछि भण्डारण गरिएको अक्सिजन सकियो तर संकट सकिएन । वायुमण्डलमा अक्सिजनको मात्रामा अरू गिरावट आएपछि जीवन र झरना सास फेर्न नसकेर तड्पिए । उनीहरूले एकअर्कालाई अँगालोमा बाँध्न प्रयास गरिरहे, तर अँगालो फुस्किरहे । सास फेर्न नसक्नुको भयानक पीडा र छटपटी बीच अन्ततः उनीहरूले अँगालोमा बाँधिएकै अवस्थामा देहत्याग गरे ।

मृत्युद्रष्टा काञ्जिरोवाको सम्पूर्ण शरीरमा केही समयसम्म पारमाणविक विद्युत ऊर्जा अनियन्त्रित भयो । उसलाई चक्कर आए जस्तो भयो । बलैले नियन्त्रित भई उसले आफ्नो कर्तव्य स्मरण गर्यो । जीवन र झरनालाई उनीहरूको चाहना बमोजिम भूमिगत घरबाहिर खाल्डो खनेर सँगै अँगालो बाँधिएकै अवस्थामा गाड्यो ।

‘हे मेरा प्रिय साथीहरू ! तिमीहरू जैविक प्रेम गरेर मर्यौ, म यान्त्रिक कर्तव्य गरेर बाँचिरहनेछु ।’ उसले गाडिएका शवहरूमाथि माटोका अन्तिम कणहरू समर्पित गर्दै विनीत भावले भन्यो । उसको छातीमा असहज रूपले विद्युत ऊर्जा प्रवाहित भइरह्यो ।

* * * *

एउटै भ्रूण विभाजन भई विरल रूपले जन्मेका भाइबहिनी, निधन भएका बाबुआमाको इच्छानुसार राखिएका नामहरू आकाश र धरती । काञ्जिरोवाले आकाश र धरती जन्मेदेखि उनीहरूको लालनपालन गर्नेछ । उनीहरूलाई भाषाहरू सिकाउने छ । शिक्षादीक्षा दिनेछ । खेलाउने छ । घुमाउने छ । अभ्यस्त भएका कर्महरू बाहेक कुनै नयाँ र जटिल कर्म गर्नुपरे ऊ आफ्नो मस्तिष्क चिप्समा अवस्थित असीमित ज्ञानकोषको सहायता लिनेछ । आकाश र धरती राम्ररी हुर्कने छन् । उपयुक्त समयमा काञ्जिरोवाले उनीहरूलाई निधन भएका बाबुआमाको चाहना बमोजिम नै स्वदेशमा लिई जानेछ ।  पोखरामा आफ्नो घर पुगेपछि उनीहरू हिमालहरू देखेर छक्क पर्नेछन् ।

उपयुक्त समय लागेपछि काञ्जिरोवाले उनीहरूलाई बाबुआमाको प्रेमिल जीवनकथा सुनाउने छ । उनीहरूले प्रेमिल कथालाई मन्त्रमुग्ध भई सुन्नेछन् ।

‘बाबुआमाको प्रेमकथा तिमीहरूलाई कस्तो लाग्यो ?’ काञ्जिरोवाले सोध्नेछ ।

‘अत्यन्त सुन्दर र महान् ! तर उहाँहरू हाम्रो बाबुआमा हुनुहुन्न ।’ आकाशले भन्नेछ ।

‘उहाँहरू हामीलाई सृष्टि गर्ने भगवान् हुनुहुन्छ ।’ धरतीले भन्ने छे ।

‘त्यसो भए तिमीहरूको विचारमा तिमीहरूका बाबुआमा को हुन् त ?’ काञ्जिरोवाले सोध्नेछ ।

‘तपाईं ! तपाईं हाम्रो बाबुआमा दुवै हुनुहुन्छ ।’ आकाश र धरतीले एक स्वरमा भन्नेछन् ।

काञ्जिरोवाको मस्तिष्क परिपथ र धात्विक छातीभित्रका संवेदनशील कृत्रिम अवयवहरूमा भावनात्मक ऊर्जातरङ्ग प्रवाहित हुनेछन् जसलाई उसले थाम्न सक्नेछैन । परिणाम– उसले आफूभित्रका विश्वकोश र शब्दकोशका शब्दहरू जम्मै हराए जस्तो अनुभूति गर्नेछ ।