भन्दिनँ म

कसैले मलाई प्रेम गर्दैनन् भनेर

 

बोकेर रंगीन सपनाहरू

उजाड – उजाड मेरो अनुहारमा

हरियो रङ पोतिरहने

कयौं प्रेमिल मानिसहरू छन्

 

म प्रकृति हुँ

प्रेमीहरूसँग

साट्छु –

प्रेमको साटो प्रेम

मुस्कानको साटो मुस्कान

बाँड्छु –

द:खको साटो दु:ख / खुशीको साटो खुशी

 

दु:खीहरूको आँसु खस्दा

थापिदिन्छु मेरो अञ्जुली

शितलु श्वासले – फुकिदिन्छु नयन

मखमली रुमालले – पुछिदिन्छु पसिना

०००

तर केही मानिसहरू

किन यति बिघ्न डरलाग्दा छन् ?

 

खुनी बाजको नङ्ग्राजस्तै देखिने

बुलडोजरका विशालु दाँतहरू

गाडिदिन्छन् मेरो शिरमा

रोपिदिन्छन् मुटु छेड्ने झीर

 

र, गुट्का खाएर

पिच्च थुकिदिन्छन्  – मेरो शृङ्गारमा

 

म दुख्छु / छट्पटाउँछु

म चर्कन्छु / चिच्याउँछु

०००

ओ ! स्वार्थको भारी बोकेका

नैतिकताविहीन बुटहरू

नदुखाइदिनु मेरो छाती यसरी

 

दुखाइले फुट्यो भने मेरो छाती

भासिन सक्छन् तिम्रा पैतालाहरू

 

पीरले झारेँ भने आँसु

बगाउन सक्छ तिम्रो बस्ती

 

म क्रोधित भएँ भने भत्किन सक्छन्

तिम्रा अवैध र अव्यवस्थित संरचनाहरू ।