जनवरी
२०२१ ले धेरैलाई रुवायो । कोरोनाले संत्रासपूर्ण समय गुजार्नुपरे तापनि मेरा लागि उत्पादनमुलक रह्यो । साहित्यका दुई छोरी जन्माएछु ।
२०२२ को स्वागतार्थ विश्व नेपाली साहित्य महासंघ (विनेसाम) दक्षिण र पश्चिम शाखाको सिर्जना वाचन कार्यक्रम राखेँ । वाइन र स्याम्पेनको साथमा आआफ्ना घरबाटै जोडिए साथीहरू । नयाँ वर्ष साँझको भर्चुअल भेटघाट बिहान २ बजेसम्म तन्कियो । इजरायलबाट केन्द्रीय महासचिव सुनिता राई पनि जोडिइन् ।
सुनसानले जगडेको छ बाहिर । कोभिडमय छ वातावरण । मान्छेलाई घरभित्र थुनेर प्रकृतिले राज गरेको अनुभूति हुन्छ ।
औसत तापक्रम ८–९ डिग्री हो, तर अहिले तातिएको छ जनवरी १५–१६ डिग्रीको तापले ।

मेरो इको कथासङ्ग्रह ‘ब्लु प्लानेट’को विमोचन तथा विमर्श सम्पन्न गरेँ । डा. गोविन्दराज भट्टराई, ज्ञानबहारदुर क्षेत्री, डा. गिता त्रिपाठीलगायत अन्य साहित्यकार, शुभचिन्तकहरूको साथमा । जुममा ५२ जनाको सहभागिता रह्यो । ‘ब्लु प्लानेट’को १५ कथामाथि १५ जनाले समीक्षात्मक टिप्पणी राखे । यसलाई नेपालको प्रथम इको कथासङ्ग्रह भने । यसभित्रको ‘वर्षगाँठमा रेड पाण्डा’ प्राय सबैले मन पराएको कथाजस्तो लाग्यो । इको राइटिङको बलियो सञ्जाल निर्माण भएको महसुस भयो । एउटा अनलाइन मिडियाले ‘ब्लु प्लान्ट’ शीर्षक दिएर समाचार छापेछ ।
नेपाल गएर ‘मगर रिन्हाक’ प्रकाशन गर्ने, ‘लाहुरेको रेलिमाई’ प्रकाशन गृहलाई देखाएर छाप्ने र डिसेम्बरमा भाग्सु धर्मशाला गएर विमोचन गर्ने नयाँ वर्षको सङ्कल्प बनाएँ ।
भूपू सैनिक शिवधन राईको आत्मकथा ‘इलुम वम जिन्दगी’ विमोचन हुनपर्ने । भर्चुअल विमोचनको मिति तोकेर मलाई समीक्षकको रूपमा पत्रमार्फत निमन्त्रणा गरिएको थियो । पुस्तक पनि उपलब्ध गराइसकिएको थियो । यसैका लागि भनेर दुई साहित्यिक कार्यक्रमलाई त्यागेर बसेको थिएँ । यो युद्ध साहित्यको पुस्तकको विमोचन नै भएन कि ? वा मवेगर नै भयो, पत्तो लागेन । कसैसँग सोधिनिधी गर्न पनि मनले मानेन ।

हाम्रो विवाहको ३० औँ वर्षगाँठ पर्‍यो । क्रुजमा गएर भव्यताका साथ मनाउने योजना थियो तर कोरोनाले दिएन । स्थानीय इलाकामै गएर विषेश तरिकाले मनाइयो । शेफर्ड हट अर्थात् भेडीगोठ बुक गरेँ, साउथ डाउन नजिक एउटा कृषि फार्ममा । बाख्राका खोरभन्दा अलि ठूलो एटेच किचन, टोइलेट र वेडरुम भएको । कोरोनाले गर्दा मानिसहरू होटेलमा बस्न डराउँछन् । यस्ता सेल्फ क्याटरिङ गर्ने होलिडे क्याम्प च्याउ उम्रेजस्तै उम्रेका छन् । झ्यालबाट देखिने खेत, वन र पहाडको सुन्दर दृष्यमा रमायौँ । बाहिर थुरथुर गराउने ९ डिग्री, भित्र हिटरको न्यानो २० डिग्री तापक्रममा सेकियौँ । दिनभर ‘एरिया अफ आउटस्ट्यान्डिङ नेचुरल ब्युटी’ भनिने संरक्षित क्षेत्रमा हिँड्यौँ । यो एककिसिमले पर्या पर्यटन थियो हाम्रो । यस विशेष दिनलाई पारेर, मेरो कथा ‘वर्षगाँठमा रेडपाण्डा’मा जस्तै, नेपालमा पिन्चु नामको एक रेड पाण्डार्लाइ एडप्ट ग¥यौँ । रेड पाण्डा नेटवर्कमार्फत रेड पाण्डा संरक्षणार्थ महिनाको एक निश्चित रकम प्रदान गर्न सुरु गरेँ ।
जनवरीमा कान्छो छोरा १६ वर्ष पुगेको अर्को विषेश दिवस पनि पर्‍यो । किशोरबाट वयस्कमा प्रवेश गरेको उपलक्ष्यमा भव्य तरिकाले जन्मदिन मनाइदियौँ । अब ऊ आफ्नो निर्णय आफैँले गर्ने भयो । कानुनी तरिकाले पनि ऊ अब बाआमाको नियन्त्रणबाट स्वतन्त्र रहने भयो ।
जाडो भए पनि हिँडँे वेस्सरी । ओकका वृक्ष निर्वस्त्र देखिन्छन् । गाउँका घाँसेमैदानमा गाई, भेडा केही देखिन्नन् । गाउँलाई कन्ट्री साइड भनिन्छ यहाँ । नेपालीमा कन्ट्री माने देश हुने भएकाले मलाई कन्ट्री साइड भनेर लेखनमा प्रयोग गर्न मन पर्दैन ।
मगर भाषाको मुक्तकसङ्ग्रह ‘जिन्दगीलाई यम’का सर्जक समीप बैरागीको एकल कविता बाचनमा जोडिएँ । नेपाल मगर लेखक संघले मातृभाषाको साहित्य प्रवर्धनका लागि शृङ्खलाबद्ध यो कार्यक्रम गर्दै आएको छ । मगर भएर मगर भाषा बोल्न आउँदैन । तर आफ्नो भाषा जोगाउनुपर्छ भन्ने लागेर समय बचाउँछु र मगर भाषाका स्रष्ठाहरूलाई प्रोत्साहन मिलोस् भनेर यस्ता कार्यक्रममा सहभागिता जनाउँछु ।

प्रधानमन्त्री बोरिस जोन्सनले मास्क लगाउने, कोभिड पासपोर्ट चाहिनेजस्ता नियम हटाए । नेपालमा कोभिडको ओमिक्रोन भेरियन्टको बिगबिगी देखिन्छ । दशबाह्र हजार सङ¥क्रमित, दुईचार जनाको मृत्यु भएको खवर सुनिन्छ । यातायातमा जोरबिजोर प्राणाली र लकडाउन लागू गरेर कोरोना महामारीको व्यवस्थापन गरिँदै रहेछ ।
२०२० को लकडाउनको बेला बोरिस जोन्सनले डाउनिङ स्ट्रिटमा ३० जना कर्मचारीमाझ आफ्नो जन्मदिन मनाएर लकडाउनको नियम मिचेको भन्ने समाचार मिडियामा खुलस्त हुन्छ ।
‘लाहुरेको रेलिमाई’ पुनर्लेखन गर्दै ।

युक्रेनको सिमानामा १ लाख रुसी सैनिक तैनाथ गर्न सुरु गरियो । युक्रेनलाई नेटोको सदस्यता नदिनु, पूर्वी युरोपमा अमेरिका र बेलायतले सैनिक अभ्यास नगरोस् र हातहतियार नबेचोस् भन्ने रसियाको भनाइ रहेको बुझिन्छ ।
जनवरीको अन्त्यतिर स्कटलेण्ड र उत्तरी इङलेण्डमा हुरीबतास आयो । रुख ढलेर २ जनाको मृत्यु भएको समाचार सुन्नुपर्‍यो ।
पोहोर सालको मेरो ‘बेल्पाली पुरुषको डायरी’ एभरेष्ट टाइम्स र राज्यसत्तामा प्रकाशित भयो ।

फेब्रुअरी
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सरप्राइज युक्रेन भ्रमण भयो । ८० मिलियन पाउण्ड बराबरको सैनिक सहयोग दिने प्रतिबद्धता गरेर फर्के । त्यसको लगत्तै रसियाले युक्रेनमाथि आक्रमण सुरु ग¥यो ।
वातावरणीय प्रदूषणको अनुसन्धान गर्नु हो मेरो दिनदिनैको कार्य । यसै सिलसिलामा प्रत्येक दुई महिनाजतिमा हप्ताभरिको चौबीस घण्टे ड्युटी पर्छ । एउटा शनिबार मिडवे नदीमा तेल चुहावट भएछ । कारमा हाँक्किएर अनुसन्धान गर्न गएँ । प्रदूषणको स्रोत पत्ता लगाउन त सकिनँ तर दुई दर्जन राजहाँसहरू तेलमा लपेटिएको पाउँदा दुःख लाग्यो । त्यसपछि चराचुरुङ्गी संरक्षण गर्ने संस्था ‘रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड’लाई सूचित गराएँ । तिनीहरूलाई हाँसको उद्दार गर्न सहयोग गरेँ । तिनीहरूले हाँसलाई ल्याबमा लगेर तेल पखालेपछि नदीमै छोडिदिए । हाम्रो फिल्ड टिमलाई बोलाएँ र नदीमा तैरिँदै गरेको तेललाई छेक्ने बुम लगाउन मद्दत गरेँ ।
भावेश भुमरीसँग ‘मगर रिन्हाक’ सम्पादनमा व्यस्त भएँ । आजसम्म मगर समुदायलाई मैले दिएको योगदान, यो समुदायप्रतिको मेरो विचार र लेखहरूको दस्तावेजीकरण हो यो पुस्तक ।

पाठकहरूले ‘ब्लु प्लानेट’ पढेर प्रतिक्रिया फेसबुकमा सेयर गर्न थालेको देख्दा आत्मसन्तुष्टी प्राप्त भयो ।निर्मला न्यौपानेको कवितासङ्ग्रह ‘निर्मल मनका भावहरू’को भर्चुअल विमोचन भयो । विनेसाम दक्षिण युकेको अध्यक्षको नाताले प्रतिनिधित्व गर्दै जोडिएँ । यसप्रतिको मेरो पाठकीय धारणा राखेँ । यसको शीर्षकको नाम जुराउने कार्यका साथै कविताहरू पढेर सल्लाह सुझाव दिएको थिएँ ।
राजा पुनियानीको संयोजनमा दार्जिलिङबाट प्रसारण हुने पब्लिकनामा फेसबुक पेजमा ‘इको राइटिङको महत्व र चुनौती’ विषयमा एक घण्टा बोलेँ । यो प्रस्तुतिले मलाई इको साहित्यमा अझै अभ्यस्त पारेको बोध भयो ।
दुई महिने भ्रमणका लागि नेपाल प्रस्थान गरेँ । जानुअघि कोभिड लागेको छ कि छैन भनी पिसिआर टेस्ट गरियो । कोभिडको पोजेटिभ परिणाम आयो भने यात्रा गर्न पाइने थिएन । धन्न, रिजल्ट नेगेटिभ आयो ।
विनेसाम दक्षिण र पश्चिम युके शाखाहरुको आयोजनामा दोस्रो मातृभाषा साहित्य दिवस भर्जुअलमा सम्पन्न गरियो । म नेपाल पुगेर जोडिएँ । डा. सोमबहादुर धिमाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
नेपाल पुगेको केही दिनमा प्रा. डा. गोविन्दराज भट्टराईको निवास गएँ । ओरिएन्टल प्रकाशनका हरि गौतम, लाइसी कथाका लेखक दाजु गुरुङ, ‘पैतालामा हिउँ आँखामा हिमाल’ नियात्राका लेखक राजेन्द्रमान डङ्गोल, अञ्जना भाउजू, प्रा. डा. विष्णु राईसँग भेट भयो । यहाँ आउँदा जहिले पनि साहित्यको मन्दिरमा आएको अनुभव हुन्छ ।
बन्दाबन्दीले गर्दा साढे दुई वर्ष भएको थियो आमासँग भेट नभएको । आमालाई प्रशस्त टाइम दिनु थियो । गएको भोलिपल्ट सबेरै ५ बजे आमासँग ब्रह्मकुमारी आश्रम पुगेँ । क्या मिठो लाग्छ, आमाले पकाएको सादगी भोजन !
काठमाडौँमा इको स्ट्रिट हाइकिङ गर्दा फोहोरको पहाडको सामना गर्नुप¥यो । पैतालाले धुलो चुम्ने, आँखाले तुवाँलो देख्ने । बाग्मती किनारैकिनार हाइकिङ गर्दा फोहोरको ढल पसेको, निर्माण कार्यबाट निस्केका फोहोर डम्पिङ गरिएको पाएँ । बाग्मतीको धारमा सिथिलता र उत्सर्जित दुर्गन्धले अति चिन्तित बनायो मनलाई ।

मार्च
मगर समुदायप्रतिको मेरो विचार, अनुभव र योगदानबारे लेखिएको पुस्तक ‘मगर रिन्हाक’को विमोचन गरियो । डा. मीन श्रीसको प्रमुख आथित्य र गङ्गा खासु तथा श्रवण मुकारुङको विषेश आथित्यमा । अनिता पुन र भावेश भुमरीले पुस्तकको समीक्षा गरिदिनुभयो । पुस्तकको बिक्रीबाट मगर लेखक संघले स्थापना गर्न लागेको प्रकाशन गृहलाई सहयोग गर्ने वचन दिएँ ।
कार हायर गरेर आमासँग गृहनगर बुटवलतिर लागेँ । चितवनदेखि बुटवल राजमार्गको स्तरोन्नति गरिँदै थियो । गर्मीले उकुसमुकुस बनायो । काम गर्दागर्दै ठेकेदारले छोडेर भागेको जस्तो अलपत्र अवस्था रहेछ राजमार्गको । दाउन्नेको उकालोमा जहिले पनि बाटो बिग्रिरहेको हुन्छ । गत वर्षायाममा खसेको पहिरोको डोब विद्यमान र त्यसले सिर्जित कुहिरिमण्डल धुलोको बिगबिगी थियो । यसले चालक र यात्रुलाई बाह्रै महिना दिने सकस देखेर यही खण्डलाई मात्रै मर्मतसंहारको व्यवस्थापन गर्ने छुट्टै सडक विभागको शाखा हुनुपर्ने सोच पलायो ।
बुटवलमा ‘ब्लु प्लानेट’ प्रमोट गर्दै बित्यो एक हप्ता । म पढेको वाणिज्य क्याम्पसका एमबीबीएस र एमए पढ्दै गरेका विद्यार्थीमाझ ‘वातावरणीय समस्या र पर्यावरण साहित्य’बारेमा दुई सेसन अन्तक्र्रिया सम्पन्न भए । प्राध्यापक माधव पौड्याल र माया आचार्यको संयोजनमा । ‘ब्लु प्लानेट’ र ‘स्वच्छन्द सुसेलीहरू’ पुस्तकालयलाई हस्तान्तरण गरेँ । ३८ वर्षअघि आफूले पढेको क्याम्पसमा आएर आर्जेको ज्ञान बाँड्न पाउँदा खुसीको अनुभूति भयो ।
चिया चौतारीमा पर्या साहित्य संवादको आयोजना गरे साथीहरुले । पाठक मञ्च बुटवलको तत्वावधान र हिमालय बुक हाउसका सञ्चालक माधव गौतम र ‘एकलव्यको देब्रेहात’ कवितासङग्रहका सर्जक गिरि श्रीसको प्रमुख संयोजनमा । बुटवल सेरोफेरोका २७ जना साहित्यकारको सहभागिता रह्यो । पर्या साहित्य एक पृथक् विषय भएर होला सबैमा उत्साह छाएको पाएँ । गिरि श्रीसको ब्लु प्लानेटमाथि समीक्षा अत्यन्तै रोचक थियो । मैले एकल पर्या कविता, मुक्तक र गजल वाचन गरेर सुनाएँ । उपस्थित व्यक्तिहरूले जल्दोबल्दो वातावरणीय समस्या र पर्यावरणमा आदिवासिको भूमिकाजस्ता विषयमा प्रश्नहरू राखे ।
त्यसपछि जन्मथलो गुल्मी र मावल बाग्लुङतिर उक्लिएँ । बीस वर्षपछिको थियो यो यात्रा । काली गण्डकी र बढीघाट खोलामा पानीको धार पातलिएको पाएँ । बगरैभरि गिट्टीबालुवा उत्खनन गरिँदै थिए । रिडीसम्म पिच, त्यहाँदेखि उता पिच नभए पनि सडकको अवस्था राम्रै लाग्यो । मुल सडकदेखि हरियो पहाडलाई खोपेर नागबेली सहायक सडकहरू बनेका । मान्छेको दागैदागको अनुहारजस्तो । बजारबाट पहाडको माथि डाँडामा बसेका गाउँतिर धुलो उडाउँदै छुट्दै गरेका जिपहरू । जिपले यात्रुका साथै मालसामान, डकुमेन्ट, पार्सल र पत्रहरू पनि बोक्दो रहेछ । नेपाल सरकारको हुलाक सेवा कता हराएछ कुन्नि ?
वन र घाँसे मैदान अम्ल प्रदूषणले खाएको कोराल रिफजस्तै खैरो न खैरो देखिन्थ्यो । पातभरि धुलोको पत्र टाँसिइरहँदा फोटोसिन्थेसिसमा असर पर्न सक्छ र कालान्तरमा वनस्पतिको प्रजाति नै लोप हुने सम्भावना देखेँ । यो एक इकोलोजिकल अध्ययनको विषय हुन सक्थ्यो कि जस्तो लाग्यो ।
खोलामाथि पहिला फलामका झुलुङ्गे पुल हुन्थे । अहिले कङ्क्रिटै कङ्क्रिटका पुल बनाइसकिएका रहेछन् । ती पुलहरू जलवायु परिवर्तनको प्रभावसँग मेल नखाने खालका होचा र निर्बल देखिन्थे ।
पहाडघर पुगेपछि नेपाली कांग्रेसका वडा अध्यक्ष साइँलाबा पूर्णबहादुर हितानसँग भेट भयो । आफ्नो कार्यकालमा स्कुल भवन, हेल्थ पोष्ट, सिँचाइ, खानेपानी, बिजुली, बाटोघाटो निर्माण सम्पन्न गरिसकेका रहेछन् । टिनका छानाले खरका छानालाई, ट्र्याक्टरले गोरु र हलोलाई अनि चेन सोले बञ्चरोलाई प्रतिस्थापन गरिसकेको अवस्था रहेछ । घरघरमा पिउने पानीको धारा र चर्पी । हातहातमा मोबाइल र फेसबुक । प्रायः सबैका घरबाट युवाहरू वैदेशिक रोजगारीमा गएका रहेछन् । गरिबी हटिसकेको आभासले खुसी तुल्यायो तर विद्यमान छुवाछुतले गाउँ फेरि फर्केर नजाऊँ कि जस्तो गरायो । स्थानीय चुनाव मुखैमा आउँदै थियो । साइँलाबामा फेरि उठ्छु भन्ने जोस देखियो । ‘वृद्ध हुनुभयो युवालाई पालो दिनुहोस् ।’ भनेर सुझाव दिएँ ।
पहाडी हुलाकी मार्गले गर्दा यातायातको सुविधा र ठाउँठाउँमा बजार बसिसकेका थिए । गोठमा गाई, भैँसी र बाख्राजस्तै प्राय सबैका आँगनमा गाडी र मोटरसाइकल पार्क गरिएको पाइयो । बजारमा हार्डवेर, कपडा, किराना पसल, मेडिकल, सहकारी, बैँक सबै पुगिसकेका । यातायातको सुविधाले बाह्य ठाउँ र विदेशका सामग्री सजिलै पाइने । गाउँमा उत्पादन हुने कोदो, फापर, फलफूल, मह, घिउ, खसीबोका इत्यादि सजिलै निकासी गर्न मिल्ने । खेतबारीमा रसायनिक मलको अत्यधिक प्रयोग हुन थालेछ । ग्याँस सिलिन्डर र बिजुली ऊर्जाको प्रयोगले वनजङ्गल संरक्षित भएको पाइयो । चितुवा, बाँदरको विगविगी तर ढेँडु प्राय लोप भैसकेछ । बृद्ध, विधुवा, एकल महिलालगायत दलितले भत्ता पाउँदा रहेछन् । दलितले ६० वर्षमा, आदिवासी र ब्रामणले ७० वर्ष पुगेपछि बृद्ध भत्ता पाउँदा रहेछन् ।

अप्रिल
खर्वाङ, हटिया, गलकोट हुँदै वालिहाङ (बाग्लुङ) बजारतिर लागेँ । बढीघाट जलाधार क्षेत्रभन्दा यो भेग अलि ओसिलो र हरित लाग्यो । वालिहाङमा दश व्यञ्जनको थकाली भोजन गरियो । भात, मुस्ताङे सिमीको दाल, काप्रोको अचार अनि कालीगण्डकीको भुरा माछा इत्यादि थिए परिकार । माछाले भर्खरै बच्चा काढेको सिजन थियो । जालहारीले तिनै बच्चालाई जालमा पारी रेष्टुरेन्टमा बेचेको हुनपथ्र्यो । ती माछालाई बढ्न दिन मार्चदेखि मे महिनासम्म नदीमा माछा मार्न बन्देज हुनपर्ने । कानुन त होला तर कसले पालना गर्छ र कसले पालना गराउने यस्ता पर्यावरण संरक्षणका कानुन ? सामुदायिक वन संरक्षण भनेजस्तै सामुदायिक खोला संरक्षणको अवधारणा लागू गनुपर्ने । अनि मात्रै नदीमा सन्तुलित इकोलोजी र पानीको सुद्धता कायमै रहन मद्दत मिल्छ ।
वालिहाङ र पर्वत जोड्ने नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल तरेँ । पानी नपरेको महिनौ भएको छ तर गनडी (कालीगण्डकी) को पानी धमिलो देख्दा यो मनै धमिलो भयो । गनडी संरक्षण अभियन्ता आरके गिरी कुस्मामा बस्छन् । पुलबाट वारि आउँदै गर्दा उनलाई सम्झेर फोन गरेँ । ‘हाइड्रो पावर ड्याम निर्माण र गिट्टीबालुवा उत्खननले होला दाइ खोला धमिलो भएको । ’ भनेँ ।
भोलिपल्ट पोखरा लेक साइड पुग्छु । कोभिडले होला चामलमा बियाँजत्तिकै पर्यटक कताकति देखिन्थे । म बसेको होटेल खाली थियो । होटेलबाटै फेवाको निर्मल पानी देखिन्थ्यो । डुङ्गा हायर गरेर बराही मन्दिर दर्शन अनि पारिको एक क्याफेमा उत्रेर लन्च लिएँ । पोखराका बिजुली र टेलिफोनका पोल काठमाडौँका जस्ता त्यति जेलिएका देखिएनन् । यहाँको दृश्य प्रदूषण अलि कम लाग्यो ।
सरुभक्तको निवासमा पुगेर साहित्यिक भलाकुसारी र ‘ब्लु प्लानेट’ हस्तान्तरण गरेँ । साहित्यको अर्को मन्दिरमा आइपुगेको महसुस भयो । जरो टुप्पो साहित्य समाजको तत्वावधान र पिएन क्याम्पसका प्राध्यापक दीपक पराजुलीको संयोजनमा पोखरा थिएटरमा ‘ब्लु प्लानेट विमर्श’ कार्यक्रम सम्पन्न भयो । नेपाली विभाग प्रमूख प्रा. डा. कुशुमाकर न्यौपानेसँग क्याम्पसमा भेटवार्ता गरियो । पुस्तकालयका लागि केही पुस्तक हस्तान्तरण गरेँ ।
भर्तीको फन्दाका लेखक तथा अधिवक्ता मनोज घर्तीमगरसँग उनकै कार्यकक्षमा भेट भयो । इतिहासका विद्यार्थी उनी, भीमसेन थापा र अमरसिंह थापा ‘मगर’ हुनुपर्छ भन्ने सोचमा सहमत देखिए । चलचित्रकर्मी मेजन पुन र पत्रकार श्याम राना म बसेको होटेलमा आए । पर्या साहित्य विषयमा भिडियो अन्तरवार्ता रेकर्डिङ गरेर लगे ।
खोकीले छोएको थियो काठमाडौँ झरेदेखि । कोभिडको लक्षण केही थिएन । पोखरा आएर झनै च्याप्यो । गण्डकी टिचिङ हस्पिटलमा जाँच गराउन पसेँ । एक्सरे, इसिजी, रगत परीक्षण गरियो । छातीमा थोरै निमोनिया देखिएको र हस्पिटलमै भर्ना भएर उपचार गर्ने डाक्टरको सल्लाह थियो । थुप्रै काम गर्नुपर्ने थियो, मैले मानिनँ । धेरैपछिको हस्पिटलको अनुभव थियो यो, भिडभाड, ठेलाठेल, रिसेप्सनमा लाइन नलाग्ने, थोत्रा ढोकाझ्याल, उध्रेका भुइँ अनि अँध्यारा कक्ष । हस्पिटलको पछाडिको प्राङ्णमा मेडिकल वेस्ट प्लास्टिकका ब्यागमा त्यतिकै लडाइराखिएका । चरा, फ्याउरा र मुसाले खोतल्न सक्थे । त्यस्ता ‘हजार्डस् वेस्ट’लाई कन्टेनरमा बन्द गरेर राखिनुपर्छ र सुरक्षितसाथ जलाएर विसर्जन गरिनुपर्ने । बेलायतमा मैले यस्ता फोहरमैलालाई उचित व्यवस्थापन गरेको सम्झना आयो ।
गुरुङ साहित्य समाजकी अध्यक्ष गौरी तमुसँग उनकै होटेलमा भेटन गएँ । खाजा खाँदै ३६० डिग्रीको पोखराको सुन्दर दृश्यावलोकन गर्‍यौं ।
काठमाडौँ फर्केपछि ‘पर्या साहित्य लेखनका सन्दर्भमा ब्लु प्लानेट’ कार्यक्रमको आयोजना गरेँ । ३० जना प्राज्ञिक व्यक्ति, समालोचक, साहित्यकार, पत्रकार, पिएचडी विद्यार्थिी, संरक्षणविद्हरूको सहभागिता रह्यो । इको पोलिटिक्स, माक्र्सवाद र इकोलोजी, पूँजीवाद र विकासले वातावरणीय क्षय ल्याएको र त्यसलाई स्थानीयवासी÷आदिवासीले कसरी प्रतिवाद गर्छ भन्ने विषयमा चर्चा भए ।
अनि गोविन्दराज भट्टराई, विष्णु एस राई, अञ्जना वस्ती, कुमार कोइरालाहरूजस्ता अग्रजहरूको पछि लागेर असमतिर साहित्य भ्रमणमा निस्किएँ । काँकरभिट्टा, जलपाइगढी हुँदै गुवाहटी । त्यो भन्दा एकदिन अघि विराटनगरमा जयप्रसाद पाण्डेको कृति ‘मनोलय’ र ‘आफ्नै स्वर आफ्नै शैली’ विमोचन कार्यक्रममा सरिक भएको थिएँ ।
विश्वनाथ कलेजमा अन्तर्राष्ट्रिय साहित्य गोष्ठी चल्यो । ‘इको साहित्यको आवश्यकता र महत्व’ विषयमा मैले प्रवचन दिएँ । ब्रह्मपुत्र नदीको किनार पुग्दा सामुद्रिक तटनजिकै पुगेको अनुभूति भयो । गुवाहटी र तेजपुरमा अर्को एकएक संगोष्ठीमा भाग लिइयो । कामक्ष देवीको मन्दिर दर्शन पनि गरेँ । साहित्यकार लिलबहादुर क्षेत्रीको घरमा पुग्ने पनि सौभाग्य जु¥यो । मजस्तो साहित्यभक्तका लागि साहित्यको अर्को मन्दिरमा आइपुगेको अनुभूति नहुने कुरै भएन । गत दुई वर्ष बेलायतबाट भर्चुअलमा आयोजना गरेको वातावरण साहित्य गोष्ठीमा जोडिएका मित्रहरू ज्ञानबहादुर छेत्री, देवेन सापकोटा, खगेन शर्मा, सरिता शर्मा, अञ्जान बास्कोटा, क्षत्रमान सुब्बा, पूर्ण शर्मा, निता गुरुङ, महिम आचार्य, विलोक शर्माहरूसँग प्रत्यक्ष भेट्दा खुसीको सीमा रहेन । फेरि यहाँ दर्जनभन्दा बढी नयाँ साथीहरूसँग मित्रता गाँसियो ।
अनि गुवाहटीबाट नाइट बसमा जलपाइगढी झरेर काँकरभिट्टा, झापा हुँदै यति एयरबाट काठमाडौँ फर्केको थिएँ ।
असमबाट आएपछि नेपाल टेलिभिजनमा मिनु पोख्रेलसँग अन्तरवार्तामा बस्ने अवसर जुर्‍यो । यो जीवनकै पहिलो टेलिभिजन अन्तरवार्ता थियो । कार्यक्रमको नाम थियो ‘अन्तध्र्वनि’ । हाम्रो संवाद ‘ब्लु प्लानेट’, पर्या साहित्यको आवश्यकता र महत्व, वातावरणको अहिलेको अवस्थाबारे केन्द्रित रह्यो र केही इको कविताहरू पनि वाचन गरेँ । यसले रेडियो नेपालमा धेरै पहिले रमेश पौड्यालद्वारा सञ्चालित एक कार्यक्रममा बोलेको सम्झना दिलायो । त्यो थियो सन् २०१३, मेरो ‘बाग्मती ब्लुज’ प्रकाशित भएपछि । सबैभन्दा बढी रेडियो कार्यक्रम हुने त मेरो बिएफबिएस गोर्खा रडियोमा हो ।
अनि दुई महिनाको नेपाल बसाइँपश्चात एक किसिमको खुसी एक किसिमले दुखी मन लिएर कर्मथलो बेलायत फर्केको थिएँ ।

मे
उता त मौसम न्यानिन सुरु ग¥यो होला । यता चिसै छ । यद्यपि दिनहरू तन्किन थालेर तापक्रम १५–१६ डिग्री उक्लिन थालेको छ । फराकिला पाटामा तोरी झुल्न सुरु गरेका छन् । गार्डन र पार्कतिर चराको चिरविर गीत सुन्न र पुतली र भमराको फुरफुर नृत्य देखिन्छ । डाफाडेल फुल्न थालेर पाखाहरू पहेँलो, रातो र हरियो इन्द्रेनीमा सजिँदै छन् ।
नेपालमा स्थानीय चुनावको चहलपहल सुरु भयो । ‘के छ मेयर तिम्रो ग्रिन एजेन्डा ?’ शीर्षकको पर्या–राजनीतिक लेख लेखेर नेपाली मिडियामा प्रकाशन गरेँ । चुनावको पूर्ण नतिजा आउन हप्तौँ लाग्यो ।
नेपाल भ्रमणछेका यम्बुमा इको स्ट्रिट हाइकिङ खुबै गरेको थिएँ । त्यसैमा केन्द्रित रहेर ‘पैतलामा धुलो, आँखामा तुवाँलो’ शीर्षकको नियात्रा लेखेँ । ‘आँखामा हिमाल पैतालामा हिउँ’ नियात्रा लेख्ने मित्र राजेन्द्रमान डङ्गोललाई यसको पाण्डुलिपि पहिला देखाएँ । उनको पुस्तकको शीर्षकको नक्कल गर्दै मैले लेखेको नियात्रा मन परेछ ।
युक्रेन युद्ध चर्किंदो छ । तेस्रो विश्वयुद्ध होला जस्तो लक्षण देखिन्छ । पुटिनका एक भारदारले न्युक्लियर सुपरसोनिक क्षेप्यास्त्र प्रहार गरेर बेलायतलाई पृथ्वीको मानचित्रबाट सखाप पारिदिने धम्की दिए । तिनको धम्की वास्तविकतामा परिणत भयो भने सबैभन्दा पहिला उक्त क्षेप्यास्त्र मेरै छानामाथि खस्ला भन्ने सन्त्रासले पिरोलिएँ । किनकि म बस्छु रसियादेखि नजिक, इङ्लिश च्यानलको तीरमै ।
पर्या साहित्य प्रतिष्ठानको स्थापना गरेर पर्या साहित्यलाई व्यापकता दिने नेपालका साहित्यकार साथीहरूको सुझाव आउनथाल्यो ।
अल्डरसटमा ओपन कन्सर्ट हेर्न आयोजकले व्यवस्था गरिदिएको बसमा ५ पाउण्ड तिरेर गएँ । कार चलाएर जान अल्छी लाग्यो, डिजलको मूल्य पनि रकेटजस्तै आकासिएर १.७६ पाउण्ड पुगेको थियो । जबकि वर्षको सुरुमा लिटरको १.१९ पाउण्ड जति पथ्र्यो । त्यो दिन कार नचलाउनुको अर्को कारण भर्खरै नेपालबाट उडेर आएको थिएँ, कार्वन फुटप्रिन्ट बढ्ने चिन्ताले दोषी महसुस गर्दै थिएँ । युक्रेनको युद्ध सुरु भएदेखि ग्यास र तेलको मूल्यले आकाश छँुदै छ । यसैको कारण राजमार्गमा गाडी कम चलेका हुन् कि भन्ने भान हुन्छ । तारा श्रीसको गायन र स्थानीय कलाकारको प्रस्तुति हेरेर साँझ फर्किएँ ।
मलाई मन नपर्ने परिकार केही छैन । जापानिज सुसी, कोरियन बीबीक्यु, मले साते, फिलिपिनो आदोबो, मेक्सिकन तापास, इटालियन पिज्जा, अमेरिकन बर्गर, इङ्लिश फिस एन्ड चिप्स, साउथ इन्डियन साकाहारी भोजन र नेपाली दालभात र ढेँडो त भैहाल्यो सबैसबै रुच्छ । हङकङ बसेर होला, चाइनिज डिमसम खाने बानी लागेको । परिवारसँग लण्डनको चाइना टाउन गएर डिमसम खायौँ ।
भुटानी साहित्यकार साथीहरूले ‘जुलाईमा अमेरिका आउनुपर्छ है, एक साहित्यिक सम्मेलनमा ।’ भन्ने कुरा गर्नुभयो । ‘हुन्छ नि, इको राइटिङलाई प्रवर्धन गर्ने गरेर आउँला ।’ भनेर निधो दिएँ ।
महिनाको अन्त्यमा विश्व नेपाली साहित्य महासंघ प्रदेश १ ले राखेको भर्चुअल गोष्ठी ‘पालुवा’ मा जोडिएर कविता वाचन तथा श्रवण भयो ।

जुन
जीवनमै नगरेको कार्य गरियो । मेरो ‘शिशिर खेल्छ लुकामारी’ गीतको म्युजिक भिडियोमा सारा बुढासँग मोडेल भएर खेलेँ । चलचित्रबारे अध्ययन गर्दै गरेका विश्वजित थापाको निर्देशनमा एकै दिनमा छायाङ्न सिद्धियो । एकै हप्तामा भिडियोलाई इडिटिङ गरेर युटुबमार्फत् सार्वजनिक पनि गरियो । सिनेमा हेर्दा हिरोजस्तै अभिनय र नृत्य गर्न पाए हुने भन्ने कल्पनामा त म डुबिरहन्थेँ । तर यही जुनीमा आफैँले यसरी हिरोजस्तै मोडेल गरिएला भन्ने चिताएको थिइनँ । यस्तो पनि संयोग आउँदो रहेछ ।
सातौँ वातावरण साहित्यको आयोजनामा लागेँ । प्रमुख अतिथिमा संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, विशेष अतिथि प्राध्यापक समालोचक डा. गिता त्रिपाठी र वक्ता पियचडी विद्यार्थी हरिप्रसाद काफ्ले थिए । जुममार्फत गरिएको कार्यक्रममा नेपाल, भारत, बेलायत, जापान, इजरायलबाट ४८ जना सर्जकहरूको सहभागिता रह्यो । पोहोरको छैठौँ वातावरण साहित्य गोष्ठीका विजेता सिता कँणेल र सयपत्री थुलुङलाई पुरस्कार तथा सम्मान अर्पण गरियो । साथै बुटवल (माधव गौतम), पोखरा (दीपक पराजुली) र असम (देवेन सापकोटा) मा पनि पर्या साहित्य गोष्ठी सम्पन्न भए । तीनै स्थानमा आर्थिक प्रायोजन गरिदिने सुअवसर मिल्यो । पर्या साहित्य यसरी एक वृक्षसरी झाँगिँदै गैरहेको देखेर खुसीको अनुभूतिले भिजेँ ।
यस महिना महारानी एलिजावेथ राज्यरोहण गरेको ७० औँ वर्षगाँठ पर्‍यो । सपरिवार नानिटनमा समर बिबिक्यु पार्टीको आयोजना गरेर यो दिवस मनायौँ ।
प्रम बोरिस जोन्सनलाई पार्टीगेटको कारणले अविश्वासको प्रस्ताव पारित भयो । धन्न २११÷१४८ मतले विजयी भए बोरिस ।
विनेसाम पश्चिम र दक्षिण शाखा युकेले भूपी शेरचनको ३३ औँ स्मृति दिवस आयोजना गर्‍यो । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा । भर्चुअलमा ३० जनाको सहभागिता थियो । भूपीका २ श्रीमती, वनारस पढेका, झ्याउरे लोक शब्द संयोजन गरेर कविता लेख्ने कवि रहेछन् भन्ने थाहा पाएँ ।
प्रत्येक वर्ष गर्मीयाम पारेर पछाडि गार्डनमा मेसिङ पकाउँछु । साथीभाइलाई बोलाउँछु खान । कराई छ, चुलो छ । गार्डनको रुखको हाँगा पोहोर काटेको थिएँ, दाउरा पनि छ । सेवारो, गोर्खा हिल र एभरेस्ट क्यास एन्ड केरी किराना दोकान छन् नेपालीका । त्यहीँबाट मासु किनेर ल्याएँ र पकाएँ रक्ति हालेर सुँगुरको मेसिङ ।
इङ्लिश च्यानल तरेर दिनमा सय डेड सय आप्रवासी आउँछन् र मेरै घरनजिकको सामुद्रिक तटमा डुँगाबाट उत्रन्छन् । ती अल्वानिया, सिरिया, इराक र इरानका हुन्छन् । अध्यागमनका कर्मचारी आएर तिनलाई डोभर लग्छन् । ब्रेक्जिट भएपछि आप्रवासी भित्रिने क्रम झन् बढेको छ । ब्रेक्जिटपश्चात फ्रान्स र बेलायतको सम्बन्ध चिसिएको छ । फ्रान्समा यिनलाई रोक्न केही गरिएको छैन जस्तो लाग्छ । बरु मानव बेचबिखन गर्ने गुटलाई प्रोत्साहन गरेझैँ लाग्छ फ्रान्सले ।
मेरो घरको छाना खपटाले छाइएको छ । हिउँदमास छानामा लेउ उम्रन्छ र खपटालाई खियाइरहेको छ । सन् १९५० तिर बनेको यो घर, सम्भवत त्यसबेलादेखि छाना छाइएको छैन । एउटा स्थानीय बिल्डर कम्पनीले खपटा फेरिदियो । मङ्हगो लियो तर काम चित्तबुझ्दो गरेन । बेलायतमा बिल्डरको रेपुटिसन राम्रो छैन । केही वर्षअघि ग्यारेजलाई कोठामा परिणत गर्दा पनि यस्तै भोग्नुपरेको थियो ।
खाम भाषीले आयोजना गर्ने भूमे पर्वमा सरिक भएँ । प्रत्येक साल सहभागी हुन्छु । अथार मगरातका साथीहरूलाई प्रोत्साहन मिलोस् भनेर । हाँस्य कलाकार खुबबुले पेट मिच्ने गरेर हँसाए ।
कोरोना कालमा विवाहका गतिविधि रोकिएका थिए । अहिले खुलेको छ बन्दाबन्दी । विवाह हप्तैपिच्छे भैरहेका छन् । हाम्रो उमेरका साथीका छोराछोरीको विवाह गर्ने उमेर पनि पुग्यो नि त । यो महिना दुईटा भव्य विवाहको भोज खान भ्याएँ । एउटामा त हजार बाह्रसय हुँदा हुन् पाहुना । हल र मण्डपको शृङ्गार, बफेट करी- साँच्चै सिनेमाको सेटजस्तै सुन्दर र स्वादिलो थियो । नेपालीहरू प्राय सबै मिडल क्लास जीवन बाँचिरहेका छन् । विवाह भोजमा नै हो महिलाले सारी, चोलो र सुनका गहना प्रदर्शन गर्ने । अनि पुरुषले स्मार्ट टाई, सुट, डिजाइनरका जुत्ता अनि चिल्ला कार देखाउने मौका । अनि कसको छोराछोरी कुन प्रेस्टिज युनिभरसिटीबाट ग्रेजुयट भए र लण्डनमा के काम गर्छन् भनेर सुनाउने । भनिन्छ, विवाह भोज आयोजना गर्नमात्रै झन्झट हो खर्च त अतिथिले दिने उपहारस्वरूपको अर्थ दानले उठ्छ ।
१३ जना भिसीको नाममा गोर्खा वाकमा भाग लिएँ । १५ पाउन्डको टिकट काटेर । यसलाई गोर्खा पिस फाउन्डेशनले आयोजना गर्छ वर्षेनि । यस च्यारिटी संस्थाले यहीँका निवृत्त गोर्खा र नेपालका स्कुल कलेजमा आर्थिक सहयोग दिन्छ साथै ससाना परियोजना गरिदिन्छ ।

जुलाई
यो महिनामा बेलायती राजनीतिमा गर्मागरम देखा प¥यो । यहाँको भूभाग र हावा पनि सर्वाधिकले तात्यो । मेरो व्यक्तिगत गतिविधि पनि तातेर आयो । अझ एउटा दुर्लभ घटना पनि घट्यो । स्मार्ट फोन किनेर फेसबुक चलाउन सिक्नुभएछ, आमालाई अबदेखि सिधै भिडियो कल गर्न पाउने भएँ ।
बोरिस जोन्सनलाई अन्तत्व प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारियो । उनको सरकारका चान्सलर ऋषि सुनाक, स्वास्थ मन्त्री सजित जाभेदलगायत ५५ जना मन्त्री, सहायक मन्त्रीले राजिनामा दिएपछि । चुरो कुरो के थियो भने कोभिडकालमा जनतालाई बन्दाबन्दीमा राखेर आफूले भने डाउनिङ स्ट्रिटमा पार्टी खाएका थिए । मिडियाले खोज पत्रकारिता गरेर पारदर्शी तरिकाले तथ्य कुरा बाहिर ल्याइदिन्छ । अनि, त्यसैलाई सन्दर्भ सामग्रीको रूपम प्रयोग गरेर त्यस क्षेत्रका विज्ञहरू बोल्छन् । शिक्षित जनता, प्रहरी र कानुनविद् बहसमा उत्रन्छन् र गल्ती गर्नेलाई आवश्यक छानविन गरिन्छ । गल्ती ठहर भएमा कानुनअनुसारको कारवाही गरिन्छ । नैतिकताको आधारमा आम माफी माग्ने, पद त्याग गर्ने या राजिनामा दिने संस्कार छ ।
बेलायतमा पहिलाको रेकर्ड तापक्रम थियो ३८ डिग्री । यसपालि त्यसलाई तोडेर मिडलेन्डमा ४१.३ डिग्री भयो । म बसेको फोक्सटनमा ३३ डिग्री, लण्डनमा ३८ डिग्री । जताततै डढेलो लाग्यो । लण्डनको एक ठाउँमा त विश्वयुद्धमा जस्तै घर, पार्क, खेत, गोठहरू सबै जलेर खरानी भए । अग्नि नियन्त्रक अति व्यस्त भए । कोभिडकालमा एम्बुलेन्स र नर्स व्यस्त हुन्थे नि त्यस्तै । अत्यधिक तापक्रमका कारणले पिउने पानीका पाइप फुटे । अनि, पानी वितरण कंम्पनीले चोकचोकमा बोतलको पानी बाँडे । खोला र तालहरू सुक्दै गए । पाइप प्रयोग गरेर गाडी धुने र फूलबारीमा पानी लगाउने कार्यलाई स्थानीय सरकारले प्रतिबन्द लगायो । राष्ट्रिय विपतको घोषणा गरियो । यो उष्णलहर युरोपभरि चल्यो । स्पेन, पर्चुगल, फ्रान्समा डढेलोले १०० जनाभन्दा बढीको मृत्यु । यति लामो उष्णलहर बेलायतमा मैले पहिला कहिल्यै भोगेको थिइनँ ।
यही अस्वाभाविक मौसमले गर्दा काममा पनि म अति व्यस्त रहेँ । माछा मर्ने, डढेलो लाग्ने, ब्लु ग्रिन आल्गी देखिने, उच्च तापमानको कारणले ओर्गानिक तत्व कुहिन जाँदा पानीमा एमोनियाको स्तर बढ्ने र अक्सिजनको मात्रा घट्ने जस्ता रासायनिक प्रक्रियामा वृद्धि भए । यस्ता दुर्लभ वातावरणीय घटनाको व्यवस्थापन गर्न एन्भाएरोमेन्ट एजेन्सीलाई धौधौ प¥यो ।
भर्चुअल माध्यममा विनेसाम केन्द्रको अधिवेशन चल्यो । मलाई उपाध्यक्षको पदभार ग्रहण गराइयो । नेपाली साहित्यको सेवामा लागेको म मान्छेलाई यो एउटा ठूलो अवसरको रूपमा लिएँ । योभन्दा अगाडि दुई कार्यकाल कार्यकारी सदस्य थिएँ ।
विनेसाम दक्षिण र पश्चिम युकेको प्रत्यक्ष भेटघाटको आयोजना गरेँ । कोरोनाकालभरि कम्प्युटर र फोनको स्क्रिनमा थोपडामात्रै देखेर बसेको, यो जमघटले शरीरको माथिदेखि तलसम्म एकले अर्कोलाई हेर्न पाइयो । २८ जना हामी स्रष्टा अल्डरसटको द प्यालेस रेष्टुरेन्टमा भेट्दा सबै उत्साहजनक देखिए । वातावरण दिनभर साहित्य र सङ्गीतमय बनायौँ ।
प्रथमपल्ट सीसेक्पा ताङ्नाममा सहभागी भएँ । यो साउनेसङ्क्रान्ति र लुतो फाल्ने पर्व पनि रहेछ । मेलामा च्याब्रुङ बजाएर नाचेँ । बिबिक्यु खाएँ । तोङ्वा पिएँ । सुनका गहनाले छपक्कै ढाकिएका लिम्बुनीहरूसँग साक्षात्कार गरेँ । सुनको भाउ तोलाको १ लाख पु¥याएको यिनैले रहेछ भन्ने लाग्यो । प्रमोद सेटलिङ, नरेन्द्र लिम्बू, गणेश लिम्बू दाइहरूलाई भेटेर, मैले त्यही भएर लिम्बुनी विवाह नगरेको भनी हाँसिमजाक गरेँ ।
अनि महिनाको अन्त्यतिर उडेँ अमेरिका । भुटानी नेपाली साहित्य समाजको निमन्त्रणामा । इको राइटिङको पोको बोकेर ।

अगस्त
दुई महिना भयो बेलायतमा खडेरी छाएको । पार्क र मैदानका दूबो, घाँस मरेका छन्, पहेँलिएर खैरा भएका छन् । कृषकले गाईवस्तुलाई घाँसमा चराउन पाएका छैनन् । हिउँदका लागि साँचेको सुख्खा नल, पराल खुवाएर गुजारा गर्दै छन् । भनेका जस्ता आकारका आलु उम्रेका छैनन् । बालीको उत्पादकत्व घटेको छ । म सप्ताहान्तमा दुई ढाई घन्टा हिँड्ने गर्छु । प्राय पसिना आउने थिएन । अहिले पसिनाले लुछुप्पै हुने भएको छु । जलवायु परिवर्तनको प्रत्यक्ष अनि तीव्ररूपमा प्रभाव भोगिँदै छ ।
नयाँ ड्रिलमसिन किनेर ल्याएँ । घरमा ठोकठाक गर्ने, प्रमाणपत्रहरू झुन्ड्याउने कार्य भयो । गर्मी मौसमको फाइदा उठाउँदै घरपछाडिको फूलबारीमा काम गरेँ । साग उमारेको छु । काउली फुलेर दुईटा फल लागेको छ । पाँचवटा सूर्यमुखी अग्लिएर मभन्दा अग्ला भएका छन् । तिनको फूल टपरीजत्रा फुलेका छन् । तिनलाई मसार्दै, झारपात गोडेर कम्पोस्टिङ गर्दै मेरो अतिरिक्त समय व्यतीत भैरहेको छ ।
पाकिस्तान बाढीले जलमग्न छ । एक तिहाई भूभाग पानीमा डुबेको छ । हजारौँको मृत्यु, सयौँ पुल भत्केका, विश्वलाई सहायताका लागि आह्वान भैरहेको छ ।
विष्णु राई सरलाई मेरा ५ इको कविता पठाइदिएँ । अङ्ग्रेजीमा अनुवाद गरेर पुस्तक छाप्ने रे । मेरो ब्लु प्लानेटका कथा पनि अनुवाद गर्ने सल्लाह दिनुभएको छ गोविन्दराज भट्टराई सरले । नेपालमा अङ्ग्रेजी साहित्यका विद्यार्थीलाई सन्दर्भसामग्री हुन्छ । विदेशी राइटरका पुस्तकमा मात्रै निर्भर हुनुपर्दैन भन्नुभयो अनि अनुवादकसँग कुरा चलिसकेको छ ।
रक्ष राईकृत ‘पल्टनेको फोटो’ कथासङ्ग्रहमाथि दुई वर्ष पहिला समालोचना लेखेको थिएँ । त्यसलाई अलिकति परिमार्जन गरेर पठाइदिन प¥यो जर्नलमा छाप्ने रे भन्नुभयो । बनाएर पठाएँ । विचारलाई लेखेर छापेपछि त्यो त पानीजस्तो कताकता सलल बगेर जाँदो रहेछ ।
प्रत्येक साल फेमिली क्याम्पिङ गर्छौं । हामी ६ परिवारका २४ जना छौँ । लेक डिस्ट्रिकमा एउटा कृषि फार्मलाई होलिडे हाउसमा बदलेको घर बुक गरेका छौँ । एक हप्ताका लागि । गर्मी अलि कम भएको छ ।

सेप्टेम्बर
यो महिना जीवनको सबैभन्दा बढी शोकसन्तप्त भएको महिना बन्यो । त्यसैगरी एकल महसुस भएको महिना पनि । तीबाहेक केही साहित्यिक गतिविधि त भई नै रहे ।
महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा ८ तारिखको दिन स्कटलेण्डको बेमोराल क्यासलमा निधन भयो । १८ वर्षको उमेरदेखि तिनैको नुनपानी खाएर बाँचेको र परिवार पालेको छु । मृत्युको खबरले अश्रुधारा धुरुरु बगे । चौबीसै घण्टा बिबिसी र अन्य बृटिश मिडियाले रानीकै बारेमा कभर गरे । राजकुमार चाल्र्सर्लाइ राजा घोषणा गरियो । अनि, उनी स्कटलेण्ड, वेल्स र उत्तरी आएरलेण्ड राज्यमा पुगेर त्यहाँको पार्लियामेन्टलाई सम्बोधन गर्दै आफू राजा भएको बताए । उनी ‘राजा चाल्र्स तृतीय’ भनिए र देशको नाममा सम्बोधन गरे । रानीको शवलाई लण्डन ल्याएर वेस्टमिन्सटर पार्लियामेण्टको च्यापलमा एक हप्ता राखियो । दुई लाख पचास हजार मानिस ५–६ माइल लामो लाइन र १५–१६ घण्टा कुरेर श्रद्धाञ्जली अर्पण गर्न च्यापल पुगे । १९ तारिख लण्डनदेखि विन्सर क्यासल लगेर शवलाई दफन गरियो । २००० राष्ट्रिय अन्तर्राष्ट्रिय मलामीका रूपमा आएका अतिथिहरूबीच । लाखौँ जनता बाटोमा निस्केर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । १९ तारिख मात्रै सार्वजनिक बिदा दिइयो । तर, अन्य दिनमा देशको दैनिकी चलेपनि सरकारले कुनै नयाँ कानुन अथवा नीति ल्याउने काम गरेन । म भने यी घटनालाई टेलिभिजनमा प्रत्यक्ष हेरेर भावविभोर बन्दै बसेँ । एलिजावेथ रानी भएपछि ‘म जीवनभर, त्यो छोटो होस् या लामो, तिमीहरूको सेवामा समर्पित हुने छु ।’ भनेर जनतालाई सम्बोधन गरेकी थिइन् । निधन हुनु दुई दिनअघि मात्र नव नियुक्त प्रधानमन्त्री लिज ट्रसलाई दर्शन दिएर ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी थिइन् । दुर्भाग्य, लिज ट्रस प्रम बनेपछि उनको न्यून कर प्रणाली नीतिले पाउण्डको भाउ सर्लक्कै ओरालो लाग्यो र बृटिश अर्थतन्त्र नै धरापमा पर्ने सङ्केत देखाप¥यो ।
अन्नपूर्ण रेडियोमा ‘रेडियो पावर’ कार्यक्रममा जोडिएर भूपेन्द्र लुइँटेललाई महारानीको मृत्यबारे छोटो जानकारी दिएँ ।
गत जुन महिनामा एउटा म्युजिक भिडियोमा खेलेर अपार सफलता प्राप्त गरेपश्चात् पुनः मेरै पर्या गीत ‘संवर्धनका हातहरू’ भिडियो सुटिङमा व्यस्त हुनुपर्‍यो ।
बासु शर्माको अङ्ग्रेजी उपन्यास ‘विजुवा’को परिचर्चाका साथ साहित्य चौतारीको छैटौँ वार्षिक उत्सव लण्डनमा सम्पन्न भयो । अशोक चापागाईं र तेजेन्द्रले समीक्षा गरे । मैले ‘बञ्चरे डाँडा’ शीर्षकको कविता वाचन गरेँ । यो कविता काठमाडौँको फोहोरमैला समस्या र ल्यान्डफिल्डबारे थियो । भर्खरै पदभार सम्हालेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग यहीँ मेरो प्रथम भेट भयो ।
बेलायती भाञ्जाहरूले भिसी कुलवीर थापामगरको बहादुरीमा आधारित ‘गोर्खाज बेनिथ द ब्रेभरी’ सिनेमा निर्माण गरेका छन् । यसैलाई हेर्न आसफोर्ड पुगेँ । सङ्कलित कोष गोर्खा वेलफेर ट्रष्टलाईलाई बुझाइने रहेछ ।
‘पर्या साहित्य सिद्धान्त र सिर्जना’ पुस्तकका लागि सामग्री सङ्कलन, लेखन अनि सम्पादनमा व्यस्त महिना पनि हो यो । यो पुस्तक नेपालमा पर्या साहित्य अध्ययन गर्ने विश्वविद्यालयका विद्यार्थीलाई केन्द्रित गरेर तयार गर्दै छु । म र डा. गोविन्दराज भट्टराईको संयुक्त सम्पादनमा ।
एक महिला सहकर्मी साथीको विवाह भोजमा निम्ता थियो, पुगेँ । दुलाहा दुलही दुवै केटीहरू हुन् । चालिस जनाजति निम्तालु आएका थिए । सबै स्थानीय, म र मेरी श्रीमतीमात्रै विदेशी थियौँ । मेडस्टोन क्यासलको सानो हलमा प्रवेश गर्नसाथ बारमा आफैँले किनेर ड्रिङ्क पिएँ । दुलाहा दुलही नाचेको हे¥यौँ । केक काटेपछि बफेट डिनर खायौँ । वातावरण व्यवस्थापन विभागका हामी सहकर्मी ११ जना थियौँ । पैसा उठाएर गिफ्ट भौचर किनिदिएका थियौँ । विवाहको एक पृथक् अनुभूति सँगालेर घर फर्केको थिएँ ।
महिनाको अन्त्यतिर दशैँ मान्न श्रीमती नेपाल उडिन् । अनि, मेरो एक्लो दिन सुरु भयो, यद्यपि दुई छोरा साथैमा थिए । कोरोना मत्थर भएको छ तर नेपालमा डेँगी महामारीले सताउँदै छ । लाम्बाउले कपडा लाउनू भनेँ । जानुअघि सुँगुरको मासु बनाएर फ्रिजमा राखिदिएकी छिन् । लुगा धोएर छोडेकी छिन् । बासिङ मेसिन यसरी चलाउनुपर्छ भनी लेसन दिएर गएकी छिन् । सर्फ यहाँ छ, टोएलेट पेपर त्यहाँ छ, तेल त्यहाँ छ, फलानो यहाँ छ र ढिस्कानो त्यहाँ छ भनेर सजग बनाएकी छिन् । यति भएर पनि तरकारीमा नुन लागेन भने मेरै कमजोरी हुने छ ।
उनी गएको साँझ लेमन लिफ रेष्टुरेन्टमा विनम र डल्लाकोटीको लोकदोहोरी हेर्न गएँ । मस्तले पिएँ, खाएँ, नाचेँ । एककिसिमले उनी नभएको एक्लोपन, अर्को स्वतन्त्र भएको महसुस गरेँ । राति १२ बजे घर पर्कें । स्वास्नी घरमा नभएको लोग्ने मान्छे त यी यसरी अबेलासम्म बाहिर हल्लिँदो रहेछ । बिहान विस्तरामा ब्युझिएँ, उनी थिइनन् छेउमा ।
पकाउन अल्छी लाग्दो रहेछ, खत्राकखुत्रुक खाँदै दिनहरू बिते । पकाएर खाएपनि भात र मासु मात्रै । दाल, सलाद, चटनी, तरकारी, मासु गरेर बाह्र व्यञ्जन कहाँबाट पाएर ? पहिलोचोटि वासिङ मेसिनमा एक बान लुगा धोएँ, दुई डब्बा धुलो साबुन हालेर, १००० स्पिनमा लगाएर, ३० डिग्री तापक्रममा अनि बाहिर घाममा सुकाएँ । यो आधुनिक जमानामा मेसिन प्रयोग गरेर लुगा धुन रकेट सायन्स नै रहेछ । छोराहरूले किचन महिला छोड्दा रहेछन् । आफैँ पकाएर खाने, एक वथान भाँडा धुने, किचन सफा गर्ने, हुवर लगाउने, टोइलेट धुने कार्यले निक्कै व्यस्त भइँदो रहेछ । एक दिनको एक चौथाइ समय किचनमा लाग्दो रहेछ । अनि कहाँ सक्छन् त महिला पुरुषसरह अगाडि बढ्न । अब कानुन नै यस्तो बनाउनुपर्छ कि पुरुषले पनि हप्तामा ३ दिन खाना पकाएकै, ४ दिन लुगा धोएकै, भाँडा माझैकै हुनुपर्ने । मैले त यसो पनि भन्दै आएको छु, ‘बच्चा पनि पालैपालो पाउनु र हुर्काउनुपर्छ । कि त महिलाको आफ्नै राजनीतिक पार्टी हुनुपर्छ, महिला सञ्चारकर्मीको जस्तो, महिला सङ्गठनजस्तो । तिनको आफ्नै महिला उम्मेदवार हुनुपर्छ । तिनको आफ्नै सरकार र संसद् हुनुपर्छ । अर्थात् पुरुष र महिलाको समानान्तर सरकार हुनुपर्छ एउटा देशमा । अनिमात्र महिलाले अवसर पाउँछन्, क्षमता विकास हुन्छ र यो संसार भेदभावरहित होला ।’ आफूले सास्ति भोग्दा यस्ता नवचेतना पो जागृत हुँदा रहेछन् ।
अब त फर्किने बेला भयो । निक्कै सम्झना आइरहन्छ, विस्तरामा उनको न्यानो अँगालोको, भान्साकोठामा उनको स्वदिष्ट खानाको ।
विनेसामको केन्द्रीय बैठक चल्यो । संस्थालाई आर्थिक रूपले सबल बनाउन सचिवालयका साथीहरूले पैसा उठाउनुपर्ने भयो । पदअनुसारको कोषमा आर्थिक सहयोग गर्नुपर्ने भयो । दिल खोलेर सहयोग गरेँ ।
विनेसाम साउथ युकेको अधिवेशन आउँदै छ त्यसको पूर्व तैयारीमा व्यस्त हुनुपर्‍यो ।
रसिया युक्रेनको युद्ध जारी छ । आक्रमण गरी ओगडेका डनवासलगायत ४ प्रदेश पुटिनले जनमत गराएर रसियामा गाभेको घोषणा गरे । ड्रोन, मिसाइल, आर्टिलरी, हवाई हमलाका मात्रै लडाईं भएको देखिन्छ । पहिलाको जस्तो बन्दुक र खुकुरीको लडाईं छैन । सहर र गाउँका भवनहरू ध्वस्त भएका देखिन्छन् । बम र क्षेप्यास्त्रले रासायनिक र ध्वनि प्रदूषण सिर्जना गरेर पर्यावरणमा कस्तो असर परेको होला ? त्यहाँका पशुपक्षी विचरा कता भागे होलान् ? म जाबो एक्लैले घरमा फोहरमैला रिसाइकलिङ गरेर, प्लास्टिक झोला प्रयोग नगरेर, कार्वन फुटप्रिन्ट कम होस् भनेर कार नचलाएर के भयो र ? भन्ने वितृष्णाले सताउन थाल्यो ।

अक्टोबर
विनेसाम साउथ युके तेस्रो कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भयो । म, विश्वास, औतारी, गणेश, थिर, घन, विश्वजित, लाहाङ, अमित, मिन भान्साघर आसफोर्डमा भेला भयौं र थिर थापाको नेतृत्वमा १९ सदस्यीय चौथो कार्यसमिति गठन गरिदियौं । यस शाखामा दोस्रो कार्यकाल समाप्त गरी अध्यक्षको जिम्मेवारी थिरलाई सुम्पेर म बाहिरिएँ । अब मेरो साहित्यिक स्रोत र साधन केन्द्रतिर केन्द्रित गर्नुपर्ने छ ।
फ्लु लागेजस्तो भयो । जरो आयो, जिउ दुख्यो । कोरोना लाग्यो कि भन्ने शङ्का पनि । धन्न पारासिटामोल खाएर सञ्चो भयो । दुई दिन कामबाट बिदा लिएर बसँे ।
अक्टोबर लाग्यो कि दशैँ, टीका लगाउने नलगाउने, सेतो टीका कि रातो ? भन्ने वहस चल्छ फेसबुकभरि । खपाङ्गीले दशैँ वहिस्कार गर्न लगाए । धेरैले अनुशरण गरे । मेरा बा खपाङ्गीका नजिकका साथी थिए । बाले पनि पहिचानको मुद्दा खपाङ्गीसँगसँगै उठाएका हुन् । तर किन हो कुन्नि दशैँ वहिस्कार गर्नुपर्छ भनेर कहिल्यै परिवारमा लादेनन् । मेरा बाजे गाउँमा दशैँ पर्वको प्रमुख संयोजक बनेर काम गर्थे । इस्मा पौँदीको कोटमा पाडा, भेँडाको मार हान्ने पुजारी मगर हुन्थे । यदि दशैँ मगरको संस्कार हुन्थेन भने किन मगरलाई संयोजन बनाइन्थ्यो र किन मगर पुजारी राखिन्थ्यो ? सम्भवत त्यही भएर हामीले घरमा दशैँलाई निरन्तरता दियौँ । यो साल मेरो परिवारले बुटवल, काठमाडौँ र यहाँ बेलायतको घरमा भव्य दशैँ मनायौँ । पोहोर साल जुठो परेको थियो । पहाड घरमा त ४०–५० जना हितान परिवारका सदस्य जम्मा भएर दशैँ मनाएछन्, कुलायनको थान निर्माण गरिएको उपलक्ष्यमा ।
११ अक्टोबर देखि ११ नोभेम्बरसम्म हाम्रा शाखाहरूले ‘गोर्खा हिस्ट्री मन्थ’ आरम्भ गरेको छ । यो तेस्रो वर्ष हो । रिमेमबरेन्स डेलाई पारेर युद्ध साहित्य गोष्ठी पनि गर्दै आएका छौँ । त्यसैको तैयारीमा व्यस्त रहेको महिना हो यो । बेलायती तथा भारतीय गोर्खा पल्टन, नेपाल पुलिस, नेपाली सेना, सिंगापुर पुलिस, जिआरयु ब्रुनाईमा सम्पर्क र निमन्त्रणा गरेँ । पल्टनमै सेवारत सैनिक र तिनका आफन्तले नै लेखेनौँ भने हाम्रो इतिहास जोगिन्न भन्ने धारणाका साथ यो अभियान आरम्भ गरेका हौँ ।
‘युद्ध भूमिमा बरालको आँसु’ कथा लेखेर हिमाल खबरमा छपाएँ ।
रसियाबाट किभलगायत युक्रेनको अन्य सहरमा ७५ मिसाइल आक्रमण गरेको समाचार आयो । धन्न ४६ वटालाई एन्टी मिसाइल डिफेन्स सिस्टमले खसालिदिएछ । युरोप युद्धको चपेटामा परेको छ । रसिया र नाटो न्युक्लियर युद्धको धम्की दिरहेका छन् ।
असमतिरबाट आजकल पर्या साहित्यको लेखन आइरहन्छन् । साथीहरूले पर्या सिर्जना पठाउँछन् । केकस्तो भयो भनी सल्लाह माग्छन् । जानेको जति हेरेर सुधारेर कमेन्ट गरिदिन्छु । ‘चोरी सिकारी र कमलजङको जङ’ इको कथा हेरेर पठाइदिएँ ।
विनेसाम दक्षिण युके शाखाको बैठकमा युद्ध साहित्य गोष्ठीमा युद्ध गीत प्रतियोगिता पनि गर्ने निर्णय गरियो ।
प्रम भएको ४४ दिनमा लिज ट्रसबाट राजिनामा आयो । बेलायती इतिहासमै सबैभन्दा छोटो प्रम बनिन् उनी र अर्थतन्त्र डुबाएर निस्किन् । धनीलाई कर बढाइनन् । २० बाट १९ प्रतिशतमा कर घटाइन् । बिजुली, तेल र ग्याँसको मूल्य चौबलले बढेकाले २ वर्षसम्म जनतालाई ऊर्जा राहत दिने प्याकेज ल्याइन् । तर विश्व सट्टापट्टा बजारले यो नीति स्वीकारेन । फलस्वरूप बेलायतको मुद्रास्थिति बढ्यो, अर्थतन्त्र ओरालो लाग्यो ।
यस्तो अस्थिर बेलायती राजनीति प्रथमपल्ट भोग्दै छु । यी सबै ब्रेकजिट र कोरोनाको कारणले सिर्जना भएका हुन् । लिजको राजिनामापश्चात् कन्जरभेटिव पार्टीको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो । ऋषि सुनाक, बोरिस जोन्सन र पेनी मोर्डन भिड्ने भए । ऋषि सुनाक योभन्दा अघिको लिडरसिप ब्याटलमा लिज ट्रससँग हारेका थिए ।
नेपाली साहित्य विकास परिषद्ले आयोजना गरेको ११३ औँ लक्ष्मीप्रसाद देवकोटा दिवस लण्डनमा म र गीतकार मित्र घन थापा गयौँ । गत हप्ता स्वर्गबास भएका शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण पनि गर्‍यौँ । नई प्रकाशनको रजत जयन्ती पदक र सम्मानपत्रबाट सुशोभित भएँ म । पर्या साहित्यमा पु¥याएको योगदानको कदर गर्दै यो सम्मान दिइएको होला मलाई ।
२४ अक्टोबरमा ऋषि सुनाक बेलायतको नयाँ प्रम बने । ४२ वर्षका ऋषि इतिहासमा सबैभन्दा कान्छा, प्रथम अश्वेत, अनि आप्रवासी एसियन बृटिश प्रम हुन् । यसले बेलायत अब बहुसांस्कृतिक युगतिर लागेको सङ्केत दियो ।
अक्टोबर महिना निख्रिन लाग्दा पनि चिसो बढेको छैन । १९–२० डिग्री छ तापमान । जलवायु परिवर्तनको असली रूप देखिन थालेको छ ।
तिहार लाग्यो । टीका थापियो चित्रा बहिनीको हातबाट । दाजुले पनि उपहार दिने बहिनीले पनि दिने, कस्तो विकृति जन्म्यो । बैनीले टीका लगाएर सेलरोटी रक्सी खान दिने अनि दाजुले उपहार दिएपछि पुग्नुपर्ने हैन र ? दोहोरो उपहार साटासाट किन गर्नुप¥यो ?
कोभिड बुस्टर सुई लगाइयो । पहिलाजस्तो थला पार्ला कि भन्ने त्रास जागेको थियो । त्यस्तो भएन । दोस्रो दिन अलिकति गलेको अनुभव मात्रै भयो । यो चौथो डोज थियो । पहिलो डोजमा त एक हप्ता सुताएको थियो । यो शरीरका कोषिकाले एडप्ट गरिसकेछन् कोरोना भाइरसको खोपको डोजलाई जस्तो लाग्यो ।

नोभेम्बर
रात लम्बिँदै दिन छोट्टिदै छन्, हुरीबतास लागेर जाडोको आभास हुँदै छ ।
आउँदो गोर्खा हिष्ट्री मन्थ र युद्ध साहित्य गोष्ठीका बारेमा बिएफबिएस गोर्खा रेडियोमा योगराज राईसँग अन्तरवार्ता प्रशारण भयो । पल्टनमा खेलकुद, गीतसङ्गीतजस्ता अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन दिइएझैँ साहित्य लेखनलाई पनि दिइन प¥यो भन्ने मेरो भनाइ छ । काठमाडौँबाट तुलसी बस्नेतले गीति कथाको रूपमा ‘युद्धको राप’ बाचन गरेर प्रसारण गरिदिए । विश्वभरिका स्रोताबाट यस्तो पृथक् कथाको कमेन्टको ओइरो लागेछ । अनि पुनः अर्को कथा ‘युद्ध भूमिमा बरालको आँसु’ पनि गीति कथाको रूपमा वाचन भयो । बीचबीचमा वीररसका गीत बजे । राजन राईको गीत ‘तक्मा भिरेर आउनुभएछ’ ले मलाई निक्कै छोयो । आफ्नै बाजेको पल्टने कथामा आधारित रहेछ यो गीत ।
१२ नोभेम्बर शनिबार चौथो युद्ध साहित्य गोष्ठी सम्पन्न गरियो । भर्चुअलमा चार दर्जनभन्दा बढिको सहभागिता थियो । लालसुन्दर राई सभापति र सुरेन्द्र लिम्बू परदेशी प्रमुख अतिथि थिए । वक्ताहरूमा थिए टिम गुरुङ, डा. भूपेन्द्र घिसिङ, डा. प्रेम आले । १ आरजिआरबाट गोर्खा मेजर जीवन पुन, नेपालबाट भारतीय गोर्खा पल्टनका कर्णेल विजयकुमार राई, असमबाट सैनिक कवि विशाल केसी पनि प्रतिनिधिको रूपमा जोडिएका थिए ।

युद्ध गीत प्रतियोगिताको नतिजा पनि प्रकाशन गरियो । प्रथम– तिला लेखाली, मोरङ्, द्वितीय– निनाम प्रणे थुलुङ, काठमाडौँ, तृतीय– गायत्री लम्साल, इटहरी, सान्त्वना– प्रतिमा केसी, युके र चिम्खोले काइँला, युके ।
मेरो रेडियो अन्तरवार्ता सुनेर वङ्शु गुरुङ प्रतिष्ठानले युद्ध गीत प्रतियोगिताका सबै पुरस्कार प्रायोजन गरिदिने भयो ।
युद्ध साहित्य गोष्ठी सम्पन्न गरेपश्चात एउटा युद्ध नै जितेको प्रशन्नताको लहर चल्यो यो मनमा ।
नेपालमा प्रदेश र संसदीय चुनावमा भोट हाल्ने समाचार छाइन सुरु भयो । संघीयता लागू भएपछिको दोस्रो आम चुनाव हो यो । साथीहरूले मत हालेपछि मसी लगाएको नङ देखाएर फेसबुकमा पोष्ट गरे । आफूले भने नेपालमा एकचोटि पनि मताधिकार प्रयोग गर्ने अवसर जुरेको छैन ।
युक्रेनमा रसियाले कब्जा गरेको भूभाग फिर्ता लिँदैछ । खेहरसेन शहर युक्रेनी सेनाको कब्जामा आयो । रुसी सेना भागेर डेनेस्क नदीपारि डिफेन्स लिएर बसेको समाचार सुनिन्छ । रसियाले ऊर्जा केन्द्रहरूमा मिसाइल हमलालाई तिव्रता दिइरहेको छ । ५–६ मिलियन युक्रेनी जनता बिजुलीविना बाँचेका छन् ।
कतारमा विश्व कप आरम्भ भयो । अत्यधिक गर्मी हुन्छ भनेर युरोपियन राष्ट्र बेखुसी थिए । खेल मैदान तयार पार्दा सयौँ कामदारको मृत्यु, मानव अधिकारको उलङ्घन, होमो सेक्सुवालिटीलाई प्रतिबन्ध इत्यादिले सरुवाती चरणमा विवाद निम्त्यायो । विश्वकप सुरु भएकै दिन मेरो घरमा ५० इन्चको स्मार्ट टिभिको जडान भयो । १३ वर्षमा बल्ल टिभी फेरियो । किन्न नसकेर होइन कि राम्रै चलेको माललाई फाल्न मनखात लागेर । वाईफाई जोडेर ठूलो स्क्रिनमा युटुब, सिनेमा, सिरियल, फुटबल सबै हेर्न मिल्दो रहेछ क्या मज्जासँग । पहिलो चरणमै अर्जेन्टिना साउदीसँग हा¥यो । इङ्लेण्डले भने इरानलाई ६–२ ले जित्न सफल बन्यो । किन हो कुन्नि, जापान र कोरियाले जित्दा खुसी लाग्ने हार्दा नमज्जा ।

डिसेम्बर
डिसेम्बर भन्नसाथ क्रिसमस सम्झिइन्छ । तर त्यसो भएन यसपालि । विश्वकपको ज्वरो हटेको छैन । सप्ताहान्तमा अन्य कार्यक्रमहरू छोडेर भएपनि विश्वकपमा रमाउँदै छु । अन्तत्व मेसीको अर्जेन्टिना र एम्वाप्पेको फ्रान्सबीच फाइनल खेल हेरियो । ९० मिनेट मा २–२, अतिरिक्त समयमा ३–३ गोल थियो । आखिरमा पेनाल्टीमा अर्जेन्टिनाले जित्यो । यसअघि मेसीलाई विश्वकपले मात्रै धोका दिएको थियो । अरू त उसले फूटबलका सबै ट्रफी सोहरपटार पारिसकेको थियो । महान् खेलाडी भनेर मेसीको नाम स्वर्ण अक्षरले लेखिने भयो इतिहासमा । इङ्लेण्ड फ्रान्ससँग सेमिफाइनलमा हारेर बाहिरिँदा मलाई नमज्जा लाग्ने नै भयो ।
विनेसाम केन्द्रले आयोजना गर्ने महिनैपिच्छेको कार्यक्रम ‘बिम्ब र विमर्श’ यसपालि मैले सञ्चालन गरेँ । असमका पर्या कवि डा. देवेन सापकोटा थिए अतिथि वक्ता । यस्तो साहित्यिक कार्यक्रम सञ्चालनको पहिलो अनुभव हो मेरो । उनको कवितासङ्ग्रह ‘परिश्रान्त पृथ्वी’ र पर्या साहित्यमा हाम्रो विमर्श केन्द्रित रहेको थियो ।
ब्लु प्लानेटको अङ्ग्रेजी अनुवाद समाप्त भयो । अव प्रकाशनका लागि तैयार हुँदै छ । ‘पर्या साहित्य सिद्धान्त र सिर्जना’का लागि सामग्री सङ्कलन तथा लेखन ९५ प्रतिशत पूरा भैसकेको छ ।
मेरो डेब्यु उपन्यास ‘लाहुरेको रेलिमाई’ अर्को वर्षको अप्रिल लाग्दै प्रकाशन गर्ने सहमतीका साथ साङ्ग्रीलाबाट सम्पादन कार्य सुरु हुँदै छ ।
अर्को साल मेरा तीन किताब आउने भए भनेर मन फुरुङ्ग बन्यो ।
नेपालमा प्रचण्डले केपीसँग मिलेर सरकार निर्माणको थालनी गते । कांग्रेसलाई लोप्पा खुलाइदिएछन्, त्यसैगरी नेपाली जनतालाई पनि । किनकि कांग्रेससँग गठबन्धन गरेर चुनावमा गएका थिए । देउवाले प्रधानमन्त्री नछोड्ने अडान लिएपछि एमालेको शरणमा पुगेका रहेछन् प्रचण्ड । तर, जुन प्रण र घोषणापत्र लिएर जनताकोमा भोट माग्न गएका थिए सो मुताविक गरेनन् । हेर्दै जाऔँ, अर्को आम चुनावमा नेपाली जनताले प्रचण्डलाई कसरी सम्झने छन् !
क्रिसमस डेको दिन घरमा पारिवारिक भेटघाट र डिमसमको आयोजना गरेँ । २२ जनाको उपस्थिति रह्यो र क्रिसमस गिफ्ट वितरण गरेँ ।
बेलायतमा नर्स, रेल ड्राइभर, रोयल मेलले हडताल गर्न सुरु गरे । चीनले सून्य कोभिड नीति त्यागेको घोषणा गर्‍यो ।
अर्को वर्ष लामो वेतलबी बिदामा नेपाल जाने दिनहरू गन्दै मेरो २०२२ को डायरीका पानाहरू बन्द हुन्छन् ।