साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई पर्या साहित्य पुस्तक प्राप्त भएकाे छ ।

डा. गोविन्दराज भट्टराई र विजय हितानद्वारा सम्पादित पर्या साहित्य सम्बन्धित सिद्धान्त बारे लेखिएको पहिलो पुस्तक हो — “पर्या साहित्य सिद्धान्त र सिर्जना” ।

३ सय ९५ पृष्ठमा रहेको यस पुस्तक परिच्छेद १ : सिद्धान्त, परिच्छेद २ : सिर्जना (४ थान कथा, ७ थान कविता, ४ थान निबन्ध), परिच्छेद ३ : कथासङ्ग्रह ‘ब्लु प्लानेट’को समीक्षा, परिच्छेद ४ : अन्य कृति समीक्षा गरी ४ परिच्छेदमा विभाजित छ ।

“विश्वसाहित्यमा वातावरण लेखन र समालोचना अत्यन्तै प्रबल हुँदै आएको छ । पर्यावरणीय चेतना बोकेका हाम्रा सर्जकले यतिखेर यस्ता केही प्रश्न सोध्ने बेला आएको छ, यस कृतिमा प्रकृतिलाई कसरी प्रस्तुत गरिएको छ ? प्राकृतिक स्वरूप, यसको परिवर्तन, अनेक तत्त्वको क्षय, लोप र विनाशप्रतिको लेखकको धारणा के कस्तो छ ? कसरी आज विज्ञान पनि साहित्य सिद्धान्तको एउटा अङ्ग बनेको छ ? आदि” पुस्तकको पछिल्लो पृष्ठमा डा. गोविन्दराज भट्टराई लेख्छन्, “वास्तवमा वातावरणीय समालोचना भनेको विज्ञानको एउटा हाँगाले साहित्य हेर्ने दृष्टिकोण हो, मानव क्रियाकलाप र पृथ्वीका स्वरूपका बिचको अन्तरसम्बन्ध हेर्ने कुरा हो । सहरीकरणको तीव्र गतिले समाप्त पारिरहेको प्रकृतिमाथि पुनर्विचार गर्ने प्रक्रिया हो ।”

“भानुजयन्ती सँगसँगै भालु जयन्ती पनि मनाऔँ । किनकि उत्तरी ध्रुवका हिउँभालु लोपोन्मुख अवस्थामा छन् । मोती जयन्ती मात्रै होइन, माटो जयन्तीको महत्त्व पनि त्यत्तिकै छ । किनकि भूक्षय र रासायनिक मलको प्रयोगले गर्दा माटोले उर्वराशक्ति गुमाएको छ ।” पुस्तकको पछिल्लो पृष्ठमा विजय हितान लेख्छन्, “पृथ्वीनायारण जयन्ती मात्रै कति, पृथ्वीग्रहका पनि जयन्ती मनाऔँ न अब हामी भुखको मात्रै कति अब, रुखको पनि कथा लेखौँ । निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरुरी छ । छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीतहरू लेखिए । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँचितुवा र अन्टार्कटिकाको पेङ्गुइनको पनि गीतहरू लेख्न जरुरी छ ।”

पुस्तकलाई सम्पूर्ण किताबले प्रकाशनमा ल्याएको हो ।