खोलाको गुनगुननै
कलकल बग्नु हो
सङ्गीत भरेर सधैँ
जीवनको भाका गाउनु हो

कलकल बग्ने खोलाले
सबैको तिर्खा मेट्छ
उसको शब्दकोशमा
कतै पनि भेटिँदैन
विभेदको तानाबाना

बरु
बगिरहन्छ खोला
एकनासले सलल
आफ्नै जीवनको गतिमा

कलकल
कुलुकुलु
जेजे छन् खोलाका ध्वनि
ती सबै हुन् जागृतिका लय

हुन त
रिसाउँछ खोला पनि
बहकिँदै उर्लन्छ
आफ्नै किनारा काटेर
गरिरहन्छ संवाद
आफ्नै प्रतिबिम्बभित्र
गाउँछ दु:ख पनि

तर
आफूले मेट्नुपर्ने तिर्खा
सिञ्चनु पर्ने मरुभूमि
खोलाले
कदापि बिर्सिँदैन

आफ्नै प्रतिबिम्बभित्र
सुसाउँछ खोला
माटोको प्रेमले लेपिँदै
धरतीकै प्राण भर्छ सधैँ

आफ्नै रूप रङ्ग
छाया र जुनी भएर
खोला कलकल गर्दै
आफ्नै तालमा
सुसाइरहन्छ बराबर

खोलाको आफैँमा
कुनै सिमाना हुँदैन
कुनै भूगोल हुँदैन
बगिरहन्छ कलकल

अतृप्त प्यास मेट्दै
अतृप्त ऊर्जा बनेर
खोलाले
गाइरहन्छ एक्लै भए पनि
जीवनको गीत

जे जति छन् जलचर
सबैले खोलामै जिएका छन् जीवन

बगिरहने खोलाले पनि
पसिनाको खोलाले जस्तै
आफैँ सुसाउनुको
परिचय खोज्दछ

खोलाले पनि
निधारबाट बगिरहेको
दुःखको पीडा ओकल्दछ
आफ्नै परिचय खोज्दछ

हिउँ पग्लिएर बग्ने खोला जस्तै
रगत र पसिनाको खोला पनि
शरीरबाट बग्ने गर्छ

त्यस‌ैले
खोलाको कलकल
कुलुकुलु पनि
आफैँमा हो जीवनको भाका ।

सिद्धिचरण नगरपालिका -१० , ओखलढुङ्गा ।