दिदी, बहिनी र छोरीहरू,
पढ्नू भनेको प्लस टु, स्नातक वा स्नातकोत्तर पास गरेको छु भनेर प्रमाण पत्र पेस गर्नु मात्र होइन । पढ्नु भनेको आफ्नो योग्यता र सीप अनुसारको काम गर्नू हो । पढ्नू भनेको विनम्र हुनू हो । पढ्नू भनेको सम्मानीत तरिकाले आयआर्जन गर्नु हो । पढ्नू भनेको आत्मनिर्भर हुनू हो र आफ्नो परिचय बनाउन स्वतन्त्र हुनू हो ।
जिन्दगीमा ज्ञान र सीपसँगै कमसे कम आर्थिक आत्मनिर्भरता किन चाहिन्छ थाहा छ ? पहिलो कुरा त आफ्नै कमाइ हुनूको गर्व ती दिदीबहिनीहरूलाई पक्कै थाहा छ जसले आफ्नै कमाइले आमाको धोतिचोलो र बाको कमिज फेरिदिएका छन्, घरका आवश्यकताहरू पुरा गर्न सहयोग गरेका छन् अझ कतिले त घरको सबै व्यवहार धानेका छन् । यति मात्र होइन, आर्थिक आत्मनिर्भरताका धेरै सुन्दर पक्ष छन्, म आज त्यही पेरिफेरीमा रहेर केही भन्छु है?
पहिलो कुरा त एउटा महिलाभन्दा पहिले तपाईं एउटा मानव हो र आफ्नो जिविको पार्जनका लागि आफू सक्षम हुनू जीवनको अपरिहार्य पक्ष हो । त्यसैले आत्मनिर्भर किन हुने ? भन्ने प्रश्न नै आफैँमा गलत छ । यति हुँदाहुँदै पनि धेरै महिला दिदी बहिनीहरू परनिर्भरताको पासोमा परेर धेरै कष्टकर जिन्दगी झेलिरहेको उदाहरणहरू देखेको हुनाले म यो लेख्दैछु ।
तपाईं आत्मनिर्भर किन हुने ?
१. आफ्ना सपना र रहरहरूलाई बिना सर्त पूरा गर्न तपाई आत्मनिर्भर हुने ।
२. जसरी तपाईंको परिवारका अन्य सदस्यले कमाएर तपाईंको घरको चुल्हो बलेको छ, त्यसलाई सहयोग गर्न तपाईं आत्मनिर्भर हुने ।
३. कुनैदिन घरका अन्य सदस्यको कमाइ भएन वा उहाँहरू असक्त हुनुभयो भने पनि तपाईंको पारिवारीक रोजिरोटिमा कुनै असर पर्न नदिन तपाईं आत्मनिर्भर हुने ।
४. महिलाहरु आफ्नो सुरक्षाकै लागी धनी केटासँग विवाह गर्छन् भन्ने महिलामाथि लाग्ने आरोपलाई गलत साबित गर्न तपाईं आत्मनिर्भर हुने ।
५. तपाईंको विवाहपछि श्रीमानलाई आर्थिक भार पर्न नदिन तपाईं आत्मनिर्भर हुने।
६. तपाईँको श्रीमानले तपाईँमाथि शोषण गरेमा वा तपाईँ उहाँसँग बस्नै नसक्ने अवस्था आउँदा आर्थिक असबलताकै कारण जिन्दगी र सम्बन्धसँग सम्झौता गर्न नपरोस् भनेर तपाईँ आत्मनिर्भर हुने ।
७. कुनै दिन तपाईंको श्रीमान आर्थिक रुपमा कमजोर हुँदा वा कमाइ गर्न नसक्ने अवस्थामा परिवारको दैनिकी र बालबच्चाको हेरचाहमा कुनै सम्झोता हुन नदिन तपाईं आत्मनिर्भर हुने ।
८. कुनै अप्रिय दुर्घटनाका कारण तपाईंको श्रीमानको मृत्यूभयो भने तपाईं भावनात्मक रुपमा त कमजोर हुनु नै हुनेछ, त्योसँगै आर्थिक रुपमा पनि कमजोर नहुन तपाईं आत्मनिर्भर हुने । भावनात्मक र आर्थिक दुबै चोटको पीडा साँच्चै असह्य हुन्छ ।
९. तपाईँले जति अवसर तपाईँका अभिभावकले पाउनु भएन । छोरीलाई आत्मनिर्भर भएर आफ्नै पहिचान बनाएको हेर्ने आफ्ना बाआमाको सपना पूरा गर्न र पढ्न पाएकै कारण तपाईँको जिन्दगी तपाईँको आमाको भन्दा फरक र सुन्दर छ भनेर आमालाई सन्तुष्टि दिन तपाईँ आत्मनिर्भर हुने ।
१०. म छोरी हुँ, अभिवाहित हुँदा बाआमामा र बिहेपछि श्रीमानमा निर्भर हुन सकिहाल्छु भनेर परजीवीजस्तो जिन्दगी बिताउने रहर नगर्नु होला । जिन्दगीको यात्रा हो, जहाँ पनि, जहिले पनि, जस्तोसुकै परिस्थिति आउन सक्छ । आफ्नो जिन्दगीलाई अरूको कारण असर पर्न नदिन तपाईँ आत्मनिर्भर हुने । हस् ?
(यस सामग्री बिनिता कार्कीको फेसबुकबाट लिइएको हाे ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।