जीवनमा यस्ता विन्दुहरू आउँछन्, जहाँ पुगेर समय टक्क रोकिन्छ । र, पुन एउटा नयाँ मोड लिन्छ । जीवनमा अनेक घुम्तीहरू आउँछन्, जुन घुम्तीले जीवनको दिशालाई एकतर्फबाट अर्कातर्फ घुमाइदिन्छ । हो, जीवनमा लक्ष्य अवश्य हुनुपर्छ । तर, एक लक्ष्यले मात्र जीवन पूर्ण हुन्छ र ?

हिजो मीठो लागेको खाने कुरा आज नमीठो लाग्नसक्छ, आज एकदमै मनपर्ने मान्छे भोलि एकदमै मन नपर्ने पनि हुनसक्छ । समयले प्राथमिकताहरू लाई परिवर्तन गरिदिन्छ । लक्ष्यहरू पनि समयसँगै बग्दा हुन्, परिवर्तन् हुँदा हुन् । फेरि जीवनको एक लक्ष्य पूरा हुँदैमा जीवन कहाँ सकिन्छ र ! जीवनले त एउटा लक्ष्य पूरा नहुँदै अर्को लक्ष्य बनाइसकेको हुन्छ । त्यही लक्ष्यका अंशअंश मिलेर नै पूर्ण जीवन बन्छ, सायद । तिनै लक्ष्यका अंशको मेलले पूर्ण बनेको एउटा समयको विम्ब हो ‘हैट’ उर्फ बुद्धि तामाङ ।

अनेक घुम्ति अघि रोकिदै, अघि बढ्दै, भरिदै अनि आफैँलाई खालि गर्दै, यात्रारत छ एउटा जीवन, बुद्धि तामाङ् । यो उही बुद्धि तामाङको घुम्तीहरूको कथा हो जसलाई तपाईँ हनुमान सम्झेर हाँस्न सक्नुहुन्छ अथवा हैट सम्झेर मुस्कुराउन सक्नुहुन्छ ।

……………………………………..

बुद्धि तामाङ् उर्फ हनुमानको स्थानीय घर तिमाल गाउँपालिका, काभ्रेपालान्चोक हो । दुई दिदी र दुई बहिनाका धनी उनी परिवारका एक्ला छोरा हुन् ।

उनी सानोमा एकदमै चकचके थिए रे । परिवारको एक्लो छोरो, चार दिदीबहिनीको एक्लो माइती, पक्कै पुलपुलिने नै भए । हुनसक्छ, त्यही पुलपुल्याईले पनि उनलाई चकचके बनाएको होस् ।

बाल्यकाल सम्झँदै उनी भन्छन्, “घरको काम सिन्को भाँच्नु पर्दैन थियो । दिनहरू उफ्रीपाफ्रीमै बिताइन्थ्यो । म ठूलोबाको छोरासँग हिँड्थे, जो रामायण पढ्नुहुन्थ्यो । उहाँले रामायण पढेर मलाई पनि सुनाउनुहुन्थ्यो, जसको साटो म उहाँलाई गाईवस्तुको गोठालो गर्न सघाउँथे । कुनै काम बाध्यतावश गर्नु परेन, मनमौजी हुन पाएको थिएँ ।”

बुद्धिमा सुषुप्त रूपमा भएपनि पुस्तक प्रेम थियो । मुनामदन, पारिजातलगायतका कृतिहरू पढ्दा उनी भावुक बनेर रोइदिन्थे ।

उनीसँग बच्चैबेलादेखि एउटा अनौठो प्रतिभा निहित थियो । उनी एकातिरको कथा सुनेर अर्कातिर साथीहरूलाई त्यो कथा कण्ठस्थ सुनाउन सक्थे । सुन्नेलाई उनको कथामा चासो होस् या नहोस्, उनलाई कुनै मतलब हुँदैन थियो । बस् ! उनलाई कथा सुनाउन पाए पुग्थ्यो । अनुहारमा मुस्कानका रेखाहरू दौडाउँदै उनी एउटा किस्सा सुनाउँछन्, “एक रात साथीलाई अभिमन्यु चक्रभ्यूमा परेको कथा म रुँदै सुनाउँदै थिएँ । जब कथाको अन्त्यमा ‘अनि अभिमन्यु मर्याे नि !’ भनेर आँखाको आसुँ पुछ्दै, हिक्हिक् हुँदै साथीको अनुहारतिर फर्कँदा त ऊ निद्रा लोकको यात्रामा पो रहेछ । ननिदाओस् पनि कसरी, बिहानको चार पो बजिसकेको रहेछ ।”

बेलामा प्रेममा पनि नपरेका हैनन् बुद्धि । तर त्यस्तो घनिभूत प्रेममा कहिल्यै पर्न सफल भएनन् जसले विवाहसम्मको यात्रा तय गरोस् । उनी प्रेम पत्र लेख्नमा भन्दा पनि ओसारपसार गर्नमा सक्रिय थिए । तर उनी साथीहरूका लागि प्रेम पत्र भने लेखिदिन्थे । अनि आफैँले लेखिदिएको साइरी तथा कवितामिश्रित प्रेम पत्र साथीको नाममा केटीसम्म पनि आफैँ पुर्याउँथे रे।

घुम्ती एकः पैसा

”गरिब भएर जन्मनु तिम्रो दोष हैन, गरिब भएरै मर्नुचाहिँ तिम्रो दोष हो”– बिल गेट्स

गाउँमै एसएलसी सकेपछि उनलाई काठमाडौँले बोलायो । वा भनौँ उनले काठमाडौँलाई रुचाए । एकमात्र कारण थियो– पैसा ।

“पैसा कति कमाउनुभयो त ?” भन्ने प्रश्नमा उनी भन्छन्, “चाहिने जति कमाइयो भनौँ होला ।”

उनको हँसिलो मुहारलाई उस्तै राख्दै थप्छन्, “आमा पहिलेबाटै बिमार परिरहनुहुन्थ्यो । मलाई एसएलसी सकेपछि सहरमा पैसा कमाएर आमाको उपचार गराउनु थियो । जुन सफल पनि भयो ।”

उनले आमाको उपचारमात्र गरेनन्, यही सहरमा सेटल पनि भए । आफ्नो एउटा ज्यानलाई टिकाइरहने घुम्तीहरू निर्माण गरे । यस अर्थमा पनि उनले पैसा चाहिने जति कमाए । आवश्यकताहरू लाई केही हदसम्म सम्बोधन गर्नेगरी कमाए ।

काठमाडौँमा बुद्धिका आफन्तहरू थिए । उनीहरू गाउँ जाँदा भन्थे, “एसएलसी सकेर काठमाडौँ आएस्, कामको चिन्ता नगरेस् ।” तिनै आफन्तहरूको आडमा उनी एसएलसी सकिनासाथ काठमाडौँ हानिएका थिए । काठमाडौँ आइसकेपछि आफन्तहरूले सहयोग पनि नगरेका भने होइनन्, तर भनेको बेला गोजीको पैसा त निकालेर दिन नसकिने यो सहरमा जागिर पाउन सजिलो कहाँ थियो र ! उनले जागिरको खोजीमै तीनचार महिना बिताइदिए ।

उनले सोचेका थिए– काठमाडौँ गएर घोटिएर काम गर्छु, धेरै पैसा बचत गर्छु, आमाको उपचार चाँडोभन्दा चाँडो गराउँछु … आदिइत्यादि । तर, उनले गाउँबाट देखेको र सुनेको जस्तो सहज कहाँ थियो र काठमाडौँ ? उनी भन्छन्, “सोच्नु, देख्नु र भोग्नु बिल्कुलै फरक कुरा रहेछन् ।”

केही महिना बिना जागिर काठमाडौँका गल्लीहरूमा भौँतारिएपछि उनले इटाभट्टीमा काम सुरु गरे । इटा बनाउने । इटाभट्टीको काममा पेश्की पनि पाइने हुँदा उनलाई इटाको कामले तानेको थियो । त्यही कामको शिलशिलामा उनी रेडियोबाट प्रसारित विभिन्न साहित्यिक तथा गैरसाहित्यिक कार्यक्रमहरू सुन्थे । करिब दुई वर्षको अवधि इटाभट्टीमा व्यथित गरिसकेपछि उनलाई एउटा कुराले सतायो, जुन कुराले उनलाई पहिलेबाटै सताउँदै आएको थियो– वाट नेक्स्ट (अब के त ?) । त्यही “अब के त ?” को डोरी समाएर उनले व्यवसाय गर्ने मनशाय बनाए । र, सुरु गरे पहिलो व्यवसाय– बदाम र बरफ बेच्ने ।

उनले करिब पाँच महिना बदाम र बरफको व्यापार गरे । तर त्यहाँ पनि उनलाई सन्तुष्टि मिलेन । “वाट नेक्स्ट”ले खेलाउन छाडेन । जहिल्यै व्यापार नहुने कारण र छँदै थियो । कुरो त आखिर पैसो कै थियो । फेरि उनलाई लाग्यो, ‘व्यापारभन्दा त जागिर नै पो बेस रहेछ ।’

व्यापार छोडेर पुन जागिर खाने मन त गरे बुद्धिले तर उनलाई यो पनि थाहा थियो कि यो सहरमा जागिर पाउन उत्ति सजिलो छैन । एक दिन उनलाई साथीहरूले भनिदिए, “होटलमा भाँडा माझ्छस् त ? त्यो पनि जागिर नै त हो नि ।” उनलाई त जागिर चाहिएको थियो, भाडाँ माझ्नु पनि जागिरै हो भने किन नगर्ने र ?

आफ्नो दोस्रो जागिरको सम्झना गर्दै मुस्कानसाथ उनी भन्छन्, “मैले पहिलो दिनै भाँडा यस्तो मस्काएँछु कि ती भाँडाहरू जीवनमै दोस्रोपटक टिलिक्कै टल्किएछन् । मालिकले त्यतिखेरै तलव आठ सयबाट बाह्र सय बनाइदिए ।”

करिब एक वर्षको अवधिमा उनी बढुवा हुँदै भाँडा माझ्नेबाट उही होटलको मेनेजरसम्म पुगे । तर, उनलाई त्यहाँ पनि “वाट नेक्स्ट”ले खेदाउन छाडेन । मेनेजरभन्दा नेक्स्टमा मालिक हुन्थ्यो, जो उनी हुन सक्दैन थिए ।

यो बेलासम्म पनि उनमा पैसाको भोकबाहेक अरू थिएन । पैसाकै पछि लागेर उनी एक ट्रेकिङ एजेन्सीमा काम सुरु गरे । उनलाई त्यो काम त गज्जबकै लाग्यो । पैसाको साथै घुम्न पनि पाइने । तर समयक्रमसँगै उनी त्यहाँ पनि अडिन सकेनन्, सायद उनको सन्तुष्टि त्यहाँ पनि थिएन । उनलाई त अन्त नै कहीँ पुग्नुथियो । तर गन्तव्य ? अहँ, थाहा थिएन ।

उनी भन्छन्, “सुरुमा पैसा आउने सबै काम गरेँ । कारण मलाई पैसाको भोक थियो । तर एउटा बिन्दुमा पुगेपछि पैसा नै सबथोक होइन रहेछ भन्ने लाग्न थाल्यो । जीवन सार्थक हुन त सन्तुष्टि पो चाहिने रहेछ । पैसा पनि चाहिन्छ, आर्दशले पेट भर्न त सक्दैन । तर पनि पैसा भनेको सेकण्डेरी रहेछ । राजेश हमालले भनेजस्तै– “सन्तुष्टिपूर्ण कामको बाइ पोडक्ट ।”

घुम्ती दुईः नाटक

बुद्धिमा जतिजति पैसाको भोक रित्तिदै गयो, उतिउति आत्माले सन्तुष्टिको बाटो रोज्न थाल्यो । उनले पैसाको व्यापकता बुझे, सँगसँगै यसको सीमितता पनि । उनलाई पैसाबाट सन्तुष्टिको बाटोतर्फ खेदाउने पनि उही “वाट नेक्स्ट” नै थियो ।

उनी त्यसबेलाको समयलाई मुस्कानले सम्बोधन गर्दै भन्छन्, “ट्रेकिङ्मा काम गर्दाताका मलाई जीवनमै अनौठो फिल भयो । कतै अडिन नसक्ने म, के जीवन यसरी नै मात्र चल्छ र ? अब के गर्ने ? अब के त ? बाँकी रहेको जिन्दगीलाई केमा खर्च गर्ने, जुन खर्चले पैसामात्र नभएर सन्तुष्टि पनि दियोस् ?

बुद्धिले एसएलसीपछिको पढाइलाई डोर्याउन सकेका थिएनन्, जसको पीडा उनको मनमा गडेर रहिरहेकै थियो । फेरि कलेजको पढाइलाई निरन्तरता दिने न उनीसँग समय थियो न त आँट नै । उनलाई लाग्यो, “अब एउटा कलाको विषय पढ्छु, बरु घोटिएर पढ्छु” । नभन्दै उनी कलाको सागर रगंमञ्चमा होमिन पुगे ।

सुरुका दिनहरूमा उनले केही सडक नाटकहरू गरे । सडक नाटक गर्दागर्दै उनलाई स्टेजको नाटकले तान्यो । स्टेजकै खातिर उनी डबली पुगे । अझ भनौँ उनलाई डबलीका ¥याकहरूमा सजिएर रहेका किताबहरूले ताने । उनमा किताब मोह सानैदेखि नै थियो । आफ्नो वरिपरि किताबमात्र भएकाले उनलाई त्यसले आफूबाट टाढा पुग्न दिएन । अत: जिन्दगीलाई कुनै एक पाटोमा लाउने क्रममा उनी नाटकमा अल्झिन पुगे ।

सुरुका दिनमा आफूले दिएको प्रस्तुतिले उनी आफैँलाई जिस्क्याएझैँ लाग्यो । उनले आफूमा निहित कमजोरीहरू लाई केलाए । सुधारका ठाउँहरू प्रशस्तै थिए । तर पनि उनलाई त अब नाटकमै टिकिरहनु थियो । अझ भनौँ, कलाकै क्षेत्रमा आफूलाई लगानी गर्नुथियो । त्यसपछि उनी अभिनयलाई निखार्ने नियतका साथ नाटककै टेक्निकल पाटोमा जोडिन पुगे । उनी भन्छन्, “आफूले रोजेको बाटोमा घिसिपिटी भए पनि हिँड्न चाहँदोरहेछ मान्छे ।”

टेक्निकल पाटोसँग जोडिएर उनी नाटकमा जमे । उनले जब नाटक “चरनदास” मा काम गरे, उनलाई लाग्यो, ‘नाटक इमन्दारिताको पेशा हो, बाँकी जीवनलाई मैले अब इमन्दारितापूर्वक नाटकमा खर्च गर्नुपर्छ ।’ उनलाई इमान्दार नै हुन त पुस्तकहरूले पनि सहयोग गरेको सम्झन्छन् उनी ।

उनलाई नाटक खेलिरहँदा पनि “वाट नेक्स्ट”ले खेद्न भने छाडेन । उनी नाटकमा जमिरहेकै थिए, तैपनि उनलाई गाउँले बोलाएझैँ लाग्यो । उनले गाउँ फर्कने सपना बुन्न थाले । तर भइदियो यस्तो कि गाउँले बोलाइरहेकै समयमा उनलाई बङ्गलादेशले पनि बोलायो । उनको “वाट नेक्स्ट” त्यही नै भयो ।

बङ्लादेशमा भएको नाटक फेस्टिबलमा उनी टेक्निसियसनको रूपमा नाटक “माइलो डट कम” लिएर बङ्लादेश पुगे । त्यही समय उनले आफ्नो पासपोर्ट बनाए ।

पासपोर्ट बनाउने योजना उनले पहिले पनि नबनाएका भने होइनन् । उनले एसएलसी सक्दा गाउँमा विदेशको माहोल उत्कर्षमा थियो रे । उनलाई त पैसाको भोक थियो । आखिर विदेश भन्नु नै पैसाको पर्यायवाची बनेको छ नेपालीका लागि । उनले पनि विदेशिने विधेयक आमासामु पेस गरे । तर उनलाई आमाको खिन्न अनुहारले त्यस विधेयकलाई पास गराउन दिएन । उनले पासपोर्ट बनाउने तयारीलाई हापीदिए । उनलाई रंगमञ्चले नै पासपोर्ट बनाउन बाध्य तुल्यायो । नाटकमा होमिएको सात वर्षपछि ।

उनी आफ्नो त्योबेलासम्मको उपलब्धीलाई सम्बोधन गर्दै भन्छन्, “नाटकमा कति सफल भएँ, कति असफल, त्यो त दर्शकहरूले मूल्यांकन गर्नु नै भो । व्यक्तिगत रूपमा हेर्दा सुरुमा म भ्वाइस एण्ड स्पिचमा कमजोर थिएँ । विस्तारै आफूमा सुधार आउँदै गयो । कामहरूले तारिफ पाउन थाले । तर त्योबेला पनि ‘वाट नेक्स्ट’ ले सताउन भने छाडेन । रंगमञ्चको यात्रा उत्कर्षमा रहेकै समयमा फिल्मको महासागरमा हाम फलियो ।”

घुम्ती तीनः फिल्म

फिल्मको रूपमा उनले काम गरेको पहिलो चलचित्र थियो, ‘साँघुरो’ । तर त्यसमा उनले अभिनेताको रूपमा नभएर लाइट डिजाइनरको रूपमा काम गरेका थिए । अभिनेताको रूपमा उनले गरेको पहिलो फिल्म भने ‘कबड्डी’ रह्यो ।

उनी कबड्डी यात्रालाई स्मरण गर्छन्, “अब रामबाबु दाइ, निश्चल दाइ र दया दाइ त मण्डलाको बोसहरू नै हुनुभयो । कबड्डी बनाउने प्रोसेसमा हुनुहुन्थ्यो । मेरो पनि बास मण्डलामै हुन्थ्यो । उहाँहरू ले नै तिमरुको लागि क्यारेक्टर बुन्दैछु भन्नुभएको थियो । त्यसैलाई मूर्तरूप दिँदै दाइहरू कै साथमा फिल्ममा पाइला राखियो । त्यसपछि त मेरो लागि एकाएक चमत्कार नै भयो ।”

सुरुका उनका प्रायः फिल्महरू हिट रहे । उत्कृष्ट टिमसँग काम गर्ने मौका पाए । नाटकमा आठ बसन्त बिताएका उनलाई फिल्ममा जम्न कुनै समय लागेन । उनका सुरुवाती हिट फिल्महरूमा कबड्डी, छक्कापञ्जा, टलकजंग भर्सेस टुल्केलगायत पर्दछन् ।

कबड्डीको रिलिज समयलाई स्मरण गर्दै भन्छन्, “आफ्नो अभिनयप्रति भन्दा पनि दर्शकले मन पराउने कुरामा म फिल्म रिलिज हुँदासम्म पनि उत्ति विश्वस्त थिइनँ । कन्फिडेण्टको कमी थियो ममा । तर फिल्म रिजिल भएपछि अर्कै भयो ।”

हनुमान क्यारेक्टरलाई बोल्न कुनै प्रशंग नचाहिने, जे मन लाग्यो त्यही कुरा बिन्दासमा बोल्दिने । अनि “हैट” लाई बोल्ने तरिकाले यो शब्दमा उनको मौलिकता झल्काउन थाल्यो । पछि खगेन्द्र दाइ, रामबाबु र निश्चिलको स्वीकृतीमा हनुमान क्यारेक्टर र हैट शब्दले नेपाली फिल्म मात्र नभएर मेरीबास्सैसम्म नै आफ्नो उपस्थिति कडा रूपमा जनायो रे ।

कबड्डीको सफलतापश्चात केही समय अन्य फिल्म खेल्नका निम्ति भाउ खाएको अनुभव पनि उनीसँग ताजै छ । कबड्डीको सफलताले उनमा उत्साह र जिम्मेवारी दुवै एकैपटक दिलाएको थियो । एकातिर चारैतिर बुद्धिको वाहवाही थियो भने अर्काेतिर आउँदो फिल्ममा पनि यस्तै उपस्थिति जनाउन सक्नेबारे ठूलो प्रश्न चिन्ह । तर उनी नेपाली फिल्मी जगतमा यस्ता प्रश्नहरू लाई कडा उत्तर दिँदै अघि बढी नै रहेका छन, बढी नै रहने छन् ।

उनले करिब पचासको हाराहारीमा फिल्महरू गरिसकेका छन् । गर्नेक्रम पनि जारी नै छ । तर उनी फिल्मको महासागरमा टिकिरहन मुश्किल हुने बताउँछन् | नाटकमा चाहिँ आफूलाई सन्तुष्टि मिलुन्जेल डटिरहने उनको दृढता छ |

उनी असफल हुनु, हण्डर खानुलाई जीवनको एक पाटो मान्छन् । उनका शब्दमा, धोका, असफलता, सफलता, खुसी, दुख आदि भोगाइको मेलमा नै सार्थक जीवन बन्छ ।

आफूलाई सहरले दिएको कुराहरू सम्झँदै भन्छन्, “मलाई यो सहरले धेरै चीज दियो । परिचय, पेट पाल्ने आधार, गाउँघरमा लाउन मिल्ने फूर्ति । तर यो सहरलाई चाहिँ मैले केही दिन सकेजस्तो लाग्दैन ।”

उनी अहिले पनि फिल्महरू प्रायः हेरिरहन्छन् । धेरैचोटि फिल्म हेर्दा रोएका पनि छन् रे । उनीसँग आफ्नै फिल्म पनि माक्स लाएर हलमा दर्शकहरूकै बीच रहेर हेरेको अनुभव छ ।

फिल्ममा नआएको भए बुद्धिलाई हामी कहाँ पाउथ्यौँ भन्ने प्रश्नको उत्तरमा भन्छन्, “विदेश जान्थेँ जस्तो लाग्छ । पैसा हुन्थ्यो मसँग प्रसस्त, गाडी पनि हुन्थ्यो होला । तर अरूलाई आफ्नो परिचय दिँदै हिँड्नुपर्ने पक्का हुन्थ्यो ।” यसो भनिरहँदा उनी अलि भावुक पनि देखिन्छन् ।

बुद्धि कलाकारको भोगाइलाई नै उसको गहना मान्छन् । थोरै अनुभव, अलिकति ज्ञान, अनि फ्यानसँगको हाइहेलो र मिडियामा दिइने प्रस्तुतिलाई नै उनी आफ्नो गहनाको रूपमा मान्दै आइरहेका छन् ।

उनै तामाङ्को जीवनले नै पनि साउती गर्दै भन्छ, ‘जीवनमा कुनै निश्चित गन्तव्य नहुनुको पनि फाइदा रहेछ । निश्चित गन्तव्य नभएको मान्छेले आफूलाई घुम्तीघुम्तीमा परिक्षण गर्न पाउँछ । त्यो परिक्षणको क्रममा ऊ कुनै घुम्तीमा पुगेर अडिन्छ, जहाँ उसलाई सन्तुष्टि मिलेको हुन्छ । त्यो घुम्तीमा पनि त्यतिन्जेलमात्र रोकिन्छ, जतिन्जेल उसले त्यहाँ सन्तिुष्टि प्राप्त गर्छ । आखिर खालि हुनु भनेको भरिनुको तयारी पनि त रहेछ । बारम्बार खालि भइरहने मान्छेले नै त हो बारम्बार भरिने अवसर पाउने ।’

…………

बुद्धिलाई पाँच प्रश्न:

१. यदि भगवान प्रकट भएर, तैँले नाटक र फिल्ममध्ये एकमात्र गर्न पाउँछस् भन्नुभयो भने कुन रोज्नु हुन्छ ?

(केहीबेर सोचेर …. हाँस्दै) अब सुरुमा त भगवानसँग किचकिच गर्थें । दुवैमा खेल्ने अवसर मिलाइदिनु, बरु तपाईँलाई पाँच मिनेट हसाउँछु भन्थेँ । यदि केही सिप नै नचले नाटक नै रोज्थेँ होला ।

२. रिलमा त तपाईँका जोडीहरू गज्जबका नै हुनेगर्छन् । रियलमा चाहिँ के छ ? बिहे कहिले गर्नुहुन्छ ?

अब के छ भने, म पैँतिसको रहिनँ । आउँदो सालचाहिँ बाजा बजाऊँ भन्ने लागेको छ । तर, बिहे भन्ने कुरा जुर्नु पनि पर्दाेरहेछ ।

३. कुनै यस्तो क्यारेक्टर, जुन तपाईँलाई गर्न मन लागेको ?

एउटा थियो, नेगेटिभ क्यारेक्टर गर्ने । तर, त्यो वीरबिक्रम दुईमा पूरा भयो । अब त्यस्तो गर्छु नै भन्ने अहिलेलाई छैन ।

४. कुनै नायिका जोसँग डेटमा रहन मन छ ?

(हाँस्दै) खै है, त्यस्तो रूपमा अहिलेसम्म सोच्दै सोचिएन । गल्ती गरिएछ । अब सोच्नुपर्ने देखियो ।

५. बिहेको लागि जोडी त तयार होलिन् नि ?

हैट ! छैन । तयारीमा हो । हेरौँ, के हुन्छ ।