थालनी

परमात्माको प्रेमपात्र अलमुस्तफा आफ्नो समयको उषाकाल थियो । परमात्माले उसलाई रोजेका थिए । अर्फालिज नगरमा दिव्य बाह्र वर्षपछि आफूलाई जन्मभूमि लैजाने पानी जहाजको उसले प्रतीक्षा गरिरहेको थियो ।

बाह्रौं वर्ष बाली भित्र्याउने ईलूल महिनाको सातौं दिनमा उसले शहरबाहिर पहाडको शिखर चढेर टाढा समुद्रतर्फ हेर्दा कुहिरोसँगै आफ्नो जहाज आइरहेको देख्यो ।

उसको हृदयका द्वारहरू अनायास खुले र उसको खुशी पड्ख फैलाई समुद्रमा टाढासम्म उड्दै गयो । उसले आँखा बन्द गर्यो र आत्माको गहन शान्तिमा डुबेर परमात्माको प्रार्थना गर्यो ।

शिखरबाट ओर्लँदा ओर्लदै ऊ उदास भयो र मनमनै सोच्न थाल्यो :

हृदयमा वेदना नलिई म कसरी शान्ति धाममा जान सक्छु ?

होइन, भावनामा घाउ नलिई मैले यो नगर छोड्नै सक्तिनँ ।

नगरका पर्खालहरूभित्र मैले बिताएका दु:खका दिनहरू लामा थिए, एकान्तवासका रातहरू पनि लामा थिए । दु:ख र एकान्तको पीडा बिर्सेर पछुतो मान्दै नमानी को विदा हुन सक्छ ?

मेरो अनुभूतिका अगणित खण्डहरू मैले यहाँका सडकहरूमा छरेको छु, मेरो अभिलाषाका अनन्त शिशुहरू निर्वस्त्र यहाँका पहाडहरूमा घुमिरहेका छन्‌ । यो सबै सम्झँदा दुःखित र व्यथित नभई म यिनीहरूबाट विदा हुन सक्तिनँ ।

यो कुनै वस्त्र होइन जसलाई मैले फुकालेर फ्याँक्दैछु । यो त मेरै शरीरको त्वचा हो र मैले आफ्नै हातले यसलाई च्यात्दैछु ।

न त यो कुनै कल्पना हो जसलाई म पछाडि छोड्दै छु बरु यो त भोक र प्यासले मिठास भरेको हृदय हो ।

अब म अलमल गर्न सक्तिनँ ।

सबै चीज वस्तुहरूलाई आफूतर्फ बोलाउने समुद्रले मलाई पनि बोलाउँदै छ र म अब प्रस्थान गर्नैपर्छ ।

किनभने पर्खनु भनेको चिसिएर हिउँ पर्नु, पत्थर बन्नु र निर्जीव हुँदै जानु हो ।

यहाँका सबै चीज बोकेर लैजाने मन हुन्छ तर कसरी म सबै थोक बोकेर लान सक्छु ?

आवाजले समेत आफूलाई पङ्ख दिने ओठ जिभ्रो सँगै लग्न सक्दैन, एक्लै आकाशमा वेग लिनुपर्छ ।

चीलले पनि आफ्नो गुँडलाई छोडेर एक्लै शून्यतामा विचरण गर्नुपर्छ ।

जब पहाडको फेदीमा पुग्यो ऊ फेरि समुद्रतर्फ फर्कियो । आफ्नो जहाज किनार नजिक आउँदै गरेको उसले देख्यो । जहाजको अग्रभागमा समुद्र यात्रीहरू र उसको जन्मभूमिका आफन्तहरू थिए ।

उसको आत्माले तिनीहरूको स्वागत गर्दै रहँदा उसले भन्यो :

मेरी आदि माताका सन्तानहरू ! समुद्रका लहरहरूमा यात्रा गर्नेहरू !

सधैँ सधैँ तिमीहरू मेरो सपनामा आउँथ्यौ । अहिले विपनामा आइपुगेका छौ, तर यो त मेरो अझ गहिरो सपना हो ।

जानलाई म तम्तयार छु । मेरा उत्कण्ठाका पालहरू एक झोंक्का हावाको प्रतीक्षामा छन्‌ ।

यो स्थिर पवनमा केवल एक श्वास लिनेछु, केवल एकफेर स्नेहपूर्ण दृष्टिले पछि फर्केर हेर्नेछु ।

त्यसपछि म तिमीहरूको माझमा हुनेछु, एउटा नाविक धेरै नाविकहरूको बीच हुनेछ ।

महासमुद्र, सुषुप्त प्रकृति, तिमी नै निर्भर र नदीका निम्ति शान्ति र स्वतन्त्रता हौ ।

केवल एक फेर यो झरना प्रवाहित हुनेछ, केवल थप एक कलकल आवाज निकुञ्जमा सुनिनेछ ।

त्यसपछि म तिम्रो छैउ आउनेछु, एउटा अनन्त विन्दु असीमित समुद्रमा मिसिनेछ ।

क हिँड्दै गर्दा पुरुष र महिलाहरू आफ्नो खेत र अंगुरको लताकुन्ज छोडेर हतार हतार शहरको ढोकातर्फ कुदिरहेको उसले टाढैबाट देख्यो ।

तिनीहरूले उसकै नाम लिइरहेको उसले सुन्यो । तिनीहरू एक आपसमा उसको जहाज आइपुगेको हल्लीखल्ली गर्दै थिए ।

उसले आफैँसँग भन्यो :

विदाइको क्षण पनि जमघटको अवसर हुनसक्छ ?

मेरो सन्ध्याकाल यथार्थमा मेरो उषाकाल थियो भन्न सकिन्छ र ?

यसरी खेत जोत्दा जोत्दै छोडेर आउनेलाई मैले के दिन सकुँला, रक्सी बनाउने कोलको पाङ्ग्रो रोकेर आउनेलाई म के दिन सक्छु खै ।

के मेरो हृदय लटरम्म फलेको वृक्ष हुन सक्छ जसबाट फलहरू चुँडेर तिनीहरूलाई दिन सकुँ ?

के मेरा इच्छाहरू झरना जस्तै बग्न सक्छन्‌ जसबाट प्यासीहरूका प्याला म भर्न सकूँ ?

के म त्यो वीणा हुँ जसले ईश्वरको स्पर्श पाउँछ अथवा त्यो

बाँसुरी जसबाट उसको श्वास गुज्रन्छ ?

म त मौनताको साधक हुँ । तर मैले कुन सम्पदा पाएको छु यो मौनतामा जसलाई म विश्वासपूर्वक बाँड्न सकूँ ?

यदि यो मेरो बाली भित्र्याउने दिन हो भने कुन जमिनमा मैले बीऊ छरेको थिएँ, कुन विस्मृत मौसममा ?

यदि वास्तवमै मेरो लालटिन माथि उचाल्ने बेला आएको हो भने अवश्य नै त्यहाँ बलिरहेको ज्योति मेरो होइन ।

मैले रित्तो अप्रकाशित लालटिन माथि उचाल्ने छु।

स्वयं रात्रीदेवताले यो लालटिनमा तेल भर्नेछन्‌ र उनैले यसलाई बाल्नेछन्‌ ।

उसले यी कुराहरू वाणीमा भन्यो । तर उसको हृदयमा धेरै कुराहरू अव्यक्त रहे । किनभने ऊ स्वयंले उसको हृदयका गहन रहस्यहरूलाई व्यक्त गर्न सक्दैनथ्यो ।

उसले नगरमा प्रवेश गर्दा सबै नगरवासीहरू उसको नजिक आए । एक स्वरमा सबैले उसको नाम पुकारिरहेका थिए । यत्तिकैमा नगरका बूढापाकाहरू अगाडि सरेर भने :

आजै हामीहरूलाई छोडेर नजाऊ ।

हाम्रो गोधूलीमा तिमी मध्यान्हको प्रकाश बनेर रहेका छौ, तिम्रो युवावस्थाले हामीलाई सपनाहरू दिएको छ ।

तिमी हाम्रा लागि परदेशी होइनौ, आफ्नै सन्तान हौ ।

आजैबाट तिम्रो दर्शनको अभिलाषाले हाम्रा आँखाहरुलाई नतड्पाऊ ।

मन्दिरका पुजारीहरूले भने :

आजै समुद्रका लहरहरूले हामीलाई नछुट्याउन्‌। सँगै बिताएका ती वर्षहरू स्मृति नबनून्‌ ।

हामीबीच तिमी उत्साह बनेर हिँडेका छौ र तिम्रो छायाँले हाम्रो मुहार उज्यालिएको छ ।

हामीले तिमीलाई धेरै माया गरेका छौँ तर हाम्रो प्रेमको वाणी थिएन, यसलाई घुम्टोले ढाकेको थियो ।

आज यसको वाणी खुलेको छर यो तिम्रो सम्मुख छर्लङ भएको छ।

प्रेमले बिछोडको घडी नआएसम्म आफ्नै गहिराइ थाहा पाउँदैन । सधैँ यस्तै हुन्छ ।

अरू मानिसहरू पनि उसको नजिक आएर आफ्ना कुरा भने । तर उसले केही बोलेन, शिर ‘झुकाइरह्यो । उसको नजिकै उभिनेहरूले उसको छातीमा खसेका आँसुका दानाहरू देखे ।

त्यसपछि ऊ र भेला भएका नगरवासीहरू मन्दिरको अगाडिपट्टिको फराकिलो चोकमा गए ।

मन्दिरबाट एउटी महिला बाहिर निस्किई ऊ अलमित्र नामकी एक मनीषी थिई ।

अलमुस्तफाले उसलाई स्नेहपूर्वक हेर्यो । यस नगरमा आउँदा अलमित्राले उसलाई पहिलो दिनमै चिनेकी थिई र विश्वास गरेकी थिई ।

अलमित्राले यसरी उसको अभिनन्दन गरी :

ओ ईश्वरका सन्देश वाहक, सत्यका उपासक, तिमीले लामो समयदेखि आफ्नो जहाजको खोजी गरेका थियौ ।

तिम्रो जहाज आइपुग्यो र अब तिमीलाई जानै पर्ने भएको छ ।

तिम्रो स्मृतिको देश र तिम्रा उत्कट अभिलाषाहरूको आश्रयस्थलका निम्ति तिम्रो उत्कण्ठा अत्यन्त गहन थियो । हाम्रो प्रेम तिम्रो निम्ति बन्धन हुनेछैन न त हाम्रा आकांक्षाहरूले तिमीलाई रोक्न सक्नेछन्‌ ।

तैपनि जानुभन्दा पहिला आफ्ना अमूल्य सद्वचनहरू व्यक्त गरिदिन हामी तिमीसँग अनुरोध गछौँ ।

ती सद्वचन हामी हाम्रा सन्तानहरूलाई बाँड्नेछौँ र उनीहरूले आफ्ना सन्तानलाई । यसरी ती सद्ववचनहरू शाश्वत रहनेछन्‌ ।

एकान्तवासमा रहँदा तिमीले हाम्रा दिनहरूसँगै हामीलाई अवलोकन गरेका छौ र जागृत रहँदा तन्द्वामा हामीहरू हाँसेको र रोएको सुनेका छौ।

त्यसैले तिमीले हाम्रो वास्तविक स्वरूप हामीलाई देखाइदेकऊ । जीवन र मृत्युका रहस्यहरू पनि हामीलाई बताऊ ।

अलमुस्ताफाले भन्योः
अर्फालिजवासीहरू हो, तिमीहरूकै आत्मामा यतिखेर तरङ्गिरहेका तथ्यहरू बाहेक मैले अरू के भन्न सक्छु ।

 

 अनुवादः नेत्र आचार्य

                 पुष्प आचार्य