बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध हुन् । आजभन्दा करिब २६०० वर्षअगाडि उनी नेपालको लुम्बिनीस्थित शाक्यवंशी राजा शुद्धोधनका पुत्र थिए । यिनको जन्मनाम सिद्धार्थ गौतम थियो । दरबारको सुखसयल र विलासी जीवनका बाबजुद मानिसहरूमा आउने रोग, बुढ्यौली र मृत्युले उनीभित्र वैराग्य उत्पन्न गर्यो र यस्ता दुःखहरूको निदानका लागि उपायको खोजी गर्न थाले ।
यही ज्ञान प्राप्तिको तृष्णाले सिद्धार्थ गौतम २९ वर्षको उमेरमा आफ्ना मातापिता, पत्नी यशोदा, पुत्र राहुल र दरबार समेत छोडी मध्यरातमा ज्ञानको खोजीमा लागे । ६ वर्षको कडा तपस्यापश्चात् बोधगयामा सिद्धार्थ गौतमलाई मानिसमा तृष्णा, रोगव्याधि, बुढ्यौली र मृत्यु आदिको मूल कारण अविद्या रहेछ भन्ने ज्ञानको प्राप्ति भयो । यसरी नेपालको लुम्बिनीमा जन्मिएर भारतस्थित बिहारको बोधगयामा ज्ञान प्राप्तिपश्चात् उनको नाम गौतम बुद्ध रहन गयो ।
आज नेपालको लुम्बिनी बुद्धको जन्मस्थलको रूपमा प्रसिद्ध धार्मिक र पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छ भने भारतको बिहारस्थित बोधगया बुद्धले बोधिसत्त्व प्राप्त गरेको स्थलको रूपमा प्रसिद्ध छ । लुम्बिनी अहिले संयुक्त राष्ट्र संघको विश्वसम्पदा सूचीमा पनि सूचीकृत छ ।
बौद्ध परम्पराको मौलिक विशेषता क्रियाशील सत्य हो । जगत्मा कोही र केही पनि नित्य छैनन्, सबै परिवर्तनशील छन् । तसर्थ, निरन्तर परिवर्तन नै नित्य हो । बौद्ध मार्गीहरू आत्मा हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्दैनन् । यसर्थ, यिनीहरू अर्को विशेषता अनात्मवादलाई हो । आत्माको सट्टा मानिसभित्र चेतना प्रवाहको रूपमा हुन्छ । चेतनाको त्यही प्रवाहले मानिस सोच्न सक्दछ । बौद्ध मार्गीहरू कर्म र पुनर्जन्मलाई स्वीकार गर्दछन् ।
पुनर्जन्मको सवालमा बौद्ध धर्मले भन्छ, मानिस चेतनाको प्रवाहमा चल्छ र मुत्युपश्चात् त्यही चेतना “पुद्गल”को रूपमा सरेर अर्को शरीरमा जाने भएकोले पुनर्जन्म हुन्छ भन्ने मान्यता बौद्ध दर्शनमा पाइन्छ, साथै बुद्धले ईश्वर र ईश्वरीय सत्ताको पूर्ण रूपमा खारेज गरेका छन् । यसैले बौद्ध दर्शन एक अनिश्वरवादी दर्शन हो ।
====
१. धर्मचक्र प्रवर्तन
ज्ञान प्राप्तिपश्चात् गौतम बुद्धले सारनाथमा आफूले प्राप्त गरेको ज्ञानप्रचारका हेतुले धर्मसम्बन्धी पहिलो भाषण दिए । गौतम बुद्धले ज्ञान प्राप्तिपश्चात् सार्वजनिक तवरमा दिएको यही पहिलो धर्मोपदेशलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।
बौद्ध धर्ममा निकै प्रचलित एउटा शब्द छ ‘निर्वाण’ । निर्वाणको अर्थ हो जीवित अवस्थामा दुःखबाट मुक्ति पाउनु । यसैगरी दोस्रो शब्द छ ‘परिनिर्वाण’ । यो बुद्धत्व प्राप्त गर्ने ज्ञानी मानिसले पाउने मृत्युपश्चात्को मुक्ति हो । त्यस्तै, तेस्रो शब्द पनि छ “महापरिनिर्वाण” । गौतम बुद्धको मृत्युलाई महापरिनिर्वाण भनिन्छ ।
२. आर्यसत्य
गौतम बुद्धले ज्ञान प्राप्ति गरेपछि दिएका विभिन्न धर्मोपदेशमा उनले चार सत्यहरूलाई विशेष जोड दिएका छन् । बुद्धोपदेशका यी चार सत्यहरूलाई नै आर्यसत्य भनिन्छ । नेपाली शब्दकोशमा आर्यसत्य भनेको ठूलो सत्य; बुद्धले दिएका सत्मार्ग सम्बन्धी उपदेश भन्ने लेखिएको छ । तसर्थ, गौतम बुद्धले तपस्याद्वारा प्राप्त गरेको ज्ञान भनेकै यी चार बोधहरू हुन् । बुद्धका यिनै बोधहरू बुद्ध धर्मका चार आर्य सत्यका रूपमा विख्यात छन् । संस्कृतमा यिनीहरूलाई ‘चत्वारि आर्यसत्यानि’ भनिन्छ । आज विश्वमा जति पनि बुद्धमार्गी छन्, तिनका सबै सिद्धान्त, प्रवचन, दर्शन आदि यिनै चार आर्यसत्यमा आधारित छन् ।
चार आर्य सत्यहरू हुन्—
२.१ सर्वम् दुःखम् ।
२.२ दुःख समुदाय ।
२.३ दुःख निरोध ।
२.४ दुःख निरोध मार्ग ।
२.१ सर्वम् दुःखम् – संसारमा दुःखै दुःख छ ।
यो संसार दुःखमय छ । मानिसहरू जीवनभर विभिन्न दुःख कष्टको बाटोमा हिंडिरहेका छन् । कुनै कुरा प्राप्तिका लागि, इच्छा वा भोगका लागि मानिस हिँडिरहेको छ । प्राप्तिको इच्छाले, भोगको तृष्णाले मानिस दुःखको घेरामा परेको छ, मानिसलाई दुःखले पनि पछ्याइरहेको छ । शरीर मोहले, तृष्णाले, ईर्ष्या डाह र द्वेषले मानिस पीडित छ । यो पहिलो आर्य सत्य हो ।
२.२ दुःख समुदाय – दुःखका कारणहरू छन् ।
दुःख समुदायमा भनिएको छ– संसारमा भएको यो दुःखको कारण छ । यही कारणले दुःखको उत्पत्ति हुन्छ । यही आर्य सत्यका अन्तर्गत बुद्धले प्रतीत्य समुत्पादवादको व्याख्या गरेका छन् । यो बौद्ध दर्शनको कारणताको सिद्धान्त पनि हो । यसमा कुनै कार्य हुनका लागि कारण अवश्य हुन्छ । यसलाई बुद्धको सापेक्ष कारणवाद पनि भनिन्छ । यसबारे तल प्रतीत्य समुत्पाद भागमा छुट्टै वर्णन गरिएको छ ।
समुदाय शब्दको अर्थ हो उन्नति, समुत्थान वा समुन्नति । मानिस आफ्नो यही प्रगति, उन्नतिका चिज, वस्तु, पद वा प्रतिष्ठा प्राप्तिको इच्छा राखेर अगाडि बढ्न खोज्छ । ती चिज प्राप्तिका जुनजुन उपायहरूको अवलम्बन गर्दछ, ती दुःखैदुःखले भरिपूर्ण छन् । दुःखले आर्जन गरेका ती उपलब्धि वा सुख स्थायी राख्न वा जोगाउन अर्को दुःखको बोझ उठाउनुपर्दछ । तसर्थ, प्राप्तिको इच्छाले दुःख गरी प्राप्त भएको उपलब्धि गुम्ने भयले फेरि मानिस दुःखित भइरहेको हुन्छ । यसको अर्थ प्राप्तिमा पनि सुख हुँदैन, त्यहाँ पनि दुःखै छ भन्ने हो । अतः दुःख त्यतिकै आउँदैन, त्यसका कारण हुन्छन् । यो नै दुःख समुदाय हो ।
२.३ दुःख निरोध – दुःखको निवारण सम्भव छ ।
निरोध भनेको दुःखलाई अवरोध गर्नु वा उत्पन्न हुन नदिनु वा रोक्नु हो । दुःखको बाटोलाई थुन्न सकिन्छ अथवा यसको निवारण सम्भव छ भन्ने कुरा तेस्रो आर्य सत्य मानिएको छ ।
२.४ दुःख निरोध मार्ग – बौद्ध दर्शनमा दुःख निरोध मार्गलाई अष्टाङ्गिक मार्ग पनि भनिन्छ ।
दुःखलाई निरोध गर्न वा रोक्न सकिन्छ । दुःख निरोधका तिनै मार्गलाई “दुःख निरोध मार्ग” भनिन्छ । बुद्धले दुःख निवारणका लागि आठ मार्गहरू बताएका छन् । तिनलाई संस्कृतमा ‘अष्टाङ्गिक मार्ग’ पनि भनिन्छ । दुःख निरोधको अवस्थालाई मोक्ष पनि भनिन्छ । उसो त अलग अलग विचारकहरूले यसलाई अलग अलग शब्द प्रयोग गरेका छन् । बौद्ध धर्ममा यसलाई निर्वाण भनिएको छ भने जैन धर्ममा अपवर्ग वा कैवल्य भनिएको छ । यसलाई मीमांसा दर्शनमा निश्रेयस भनिएको छ भने हिन्दु धर्ममा शंकराचार्यले मुक्ति शब्दको प्रयोग गरेका छन् ।
दुःख मोचनका आठ बाटा “अष्टाङ्गिक मार्ग”हरू हुन्–
२.४.१ सम्यक् दृष्टि
जीवन र जगतलाई सही रूपमा देख्नु अथवा बुझ्नुपर्छ । यसका लागि सम्यक् दृष्टिको खाँचो हुन्छ । सम्यक् दृष्टिले मानिसलाई अविद्याबाट मुक्ति दिन्छ । अविद्या भन्नाले अनित्यलाई नित्य सम्झने, जे देखिन्छ त्यही सत्य मान्ने आदि मिथ्या बुद्धि ।
२.४.२ सम्यक् सङ्कल्प
सङ्कल्प सही र साहसिक हुनुपर्छ । यदि सङ्कल्प सही र साहसिक भएन भने जीवनमा दुःख प्रवेश गर्नेछन् । तसर्थ, निर्वाणका लागि सम्यक् सङ्कल्पको जरुरी हुन्छ । भावना र उत्तेजनामा गरिएका क्रिया, कसम वा प्रतिज्ञा सम्यक् सङ्कल्प होइनन्, ती क्षणिक उत्तेजना हुन् । जीवनमा दुःखलाई प्रवेशै गर्न नदिन सम्यक् सङ्कल्पको खाँचो हुन्छ जसले पश्चाताप् होइन, सुख दिन्छ ।
२.४.३ सम्यक् वाक
बोलीचाली सन्तुलित हुनुपर्छ । जतिसुकै तीतो भए पनि सत्य बोल्नुपर्छ । सत्य तीतो हुन्छ भनेर तीतै तरिकाले बोल्नु हुँदैन । यस्तो बोल्नुपर्छ जो सत्य पनि होस् र मधुर पनि होस् ।
सत्य पनि मधुर पनि बोल्नेबारे इन्टरनेटमा भेटेको एउटा रोचक उदाहरण यहाँ प्रस्तुत छ –
“एक समयमा एक राजाले आफ्ना भारदारलाई सोधे, ‘गए राति सपनामा मैले मेरो सबै दाँतहरू झरेको देखें । यसको फल के हुन्छ ।’ ती भारदारले जवाफ दिए, ‘महाराज ! तपाईंले आफ्नो जीवनकालमा आफ्नो परिवारका सबै सदस्यहरूको मृत्यु देख्नुपर्नेछ ।’ भारदारको यस्तो जवाफ सुनेर राजाले उनलाई मृत्युदण्ड दिए । राजाले त्यही प्रश्न अर्को भारदारलाई सोधे । दोस्रा भारदारले जवाफ दिए, ‘महाराज ! तपाईं आफ्ना परिवारका सबै सदस्यहरूभन्दा दीर्घायुको हुनुहुनेछ ।’ राजाले उसलाई धेरै पुरस्कार दिए ।”
यहाँ दुवै भारदारले एउटै जवाफलाई अलग अलग बोलीद्वारा प्रस्तुत गरे । पहिलो भारदारको सम्यक् बोली थिएन, उसले दण्ड पायो भने दोस्रो भारदारले सम्यक् वचन बोलेको हुँदा पुरस्कार पायो ।
२.४.४ सम्यक् कर्म
खराब कर्म छोड्नु र असल कर्म मात्र होस् भन्ने भाव राख्नु सम्यक् कर्म मानिन्छ । गलत नियतले कर्म गरिनुहुँदैन । अरूलाई हानी पुर्याउने कर्म गर्नुहुँदैन । सबै कर्महरू सही भाव र समभाव राखेर गर्नुपर्दछ ।
२.४.५ सम्यक् आजीविका
मानिसको जीविका कुनै पनि गलत कर्मद्वारा आर्जन भएको अर्थ वा साधनबाट प्राप्त भएको नहोस् । भ्रष्टाचार वा गलत कर्मद्वारा प्रेरित कर्मले आफ्नो जीवन चलाउन नपरोस् । अधिक धन थुपार्नु, कृत्रिम अभाव खडा गरी धन आर्जन गर्नु सम्यक् आजीविका होइनन् । तसर्थ, जीविका चलाउन गरिने आय आर्जन शुद्ध कर्मबाट गर्नुपर्दछ ।
२.४.६ सम्यक् व्यायाम
यहाँ व्यायामलाई कुनै शारीरिक अभ्यास भन्न खोजिएको होइन । शारीरिक अभ्यास जस्तै मस्तिष्कलाई पनि व्यायाम चाहिन्छ । यसको लागि मन वा चेतनाको शक्तिलाई लगातार बलियो बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोच्नु, असल सङ्गत गर्नु र त्यस्तो सङ्गतबाट प्राप्त ज्ञान सम्यक् व्यायाम हुन्छ ।
२.४.७ सम्यक् स्मृति
यसको अर्थ कुनै कार्य वा सङ्कल्पको अभ्यास भइरहेको छ भने अभ्यास विश्रामका समयमा आफ्नो कर्म वा सङ्कल्प आदिको स्मरण गर्नुपर्छ जसले अभ्यासलाई स्थायी भावमा ल्याउन मद्दत गर्दछ ।
२.४.८ सम्यक् समाधि
यसको अर्थ हो अभ्यासको समयमा एकचित्त वा एकाग्रता कायम गर्नु । चेतना र चित्तलाई एकाग्रताको चरम अवस्थासम्म पुर्याउनु सम्यक् समाधि मानिन्छ । जस्तो: अध्ययन चलिरहेको छ भने ध्यान केवल अध्ययनमा मात्र केन्द्रित गर्नु र बाँकी सबै अवस्थालाई विस्थापित गर्नु । अध्ययन वा सङ्कल्पमा लीन हुनु सम्यक् समाधिमा हुनु हो ।
अतः बौद्ध दर्शनका यी चार आर्य सत्यहरूको स्मरण गर्नु र दुःख निवारणका हेतुले बुद्धले बताएका अष्टाङ्गिक मार्गहरूको अनुसरण गरे निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान बुद्ध दर्शनले सिकाउँछ । अष्टाङ्गिक मार्गको उद्देश्य नै निर्वाण प्राप्त गर्नु हो ।
====
३. प्रतीत्यसमुत्पाद
प्रतीत्यसमुत्पाद शब्द दुई वटा शब्दको सन्धि भएर बनेको शब्द हो । “प्रतीत्य”को अर्थ कुनै वस्तुको उपस्थित हुनु वा ‘कारण’ हो भने समुत्पादको अर्थ कुनै अन्य वस्तुको उत्पत्ति हुनु वा ‘कार्यव्यापार’ हो । यसकारण, प्रतीत्यसमुत्पादको अर्थ कुनै वस्तुको उपस्थिति हुनुले अन्य कुनै वस्तुको उत्पत्ति हुन जान्छ । अर्थात् कारणले कार्यको उत्पत्ति गर्दछ ।
जस्तै– भोक लाग्नुका कारणले भोजन गर्ने कार्य हुन्छ । यहाँ भोकको उपस्थिति ‘कारण’ हो भने भोजनको उत्पत्ति ‘कार्य’ हो । त्यस्तै– दुःख छ, त्यसकारण दुःखको कारण छ । कारण के हो भने अधिक प्राप्तिको लोभ वा तृष्णा छ । यहाँ लोभ, तृष्णा कारण हो भने दुःख कार्य हो । भन्नुको मतलब तृष्णाको कारण “प्रतीत्य”ले दुःखको उत्पत्ति “समुत्पाद” भएको छ । निद्राको प्रतीत्यले सुताइको समुत्पाद भएको हुन्छ ।
यदि कार्यभन्दा अगाडि कारण नहुँदो हो त कार्यको उत्पत्ति नै हुँदैन । तसर्थ, बौद्ध दर्शनमा कारण र कार्यको सिद्धान्तलाई नै प्रतीत्यसमुत्पादवाद भनिन्छ ।
सिद्धान्तमा जाँदा कुनै घटना अथवा ‘कार्य’ हुनका लागि पहिलो घटना ‘कारण’ बनेर आएको हुन्छ । यो कारण र कार्यको चक्र निरन्तर चलिरहन्छ । यसमा ‘कारण’ प्रथम हुन्छ भने ‘कार्य’ द्वितीय हुन्छ ।
प्राणीहरूको जीवनमा पनि कर्मको कारणले विपाक वा परिणाम निस्कन्छ । प्रकृति होस् वा जीवन, सबै अनित्य छ, नित्य केही छैन । सबै प्राणीहरू अनात्मा हुन् र यहाँ सबै शून्य छ । केवल वस्तुहरू एउटाको उपस्थितिले अर्को उत्पन्न हुनाले मात्र देखिन्छन्, छन्, महसुस हुन्छ । कारण नहुँदो हो त केही हुँदैन, केवल शून्य बाँकी रहन्छ । यसकारण, बौद्ध दर्शनमा प्रतीत्यसमुत्पादलाई कारणताको सापेक्षतावाद पनि भनिन्छ । यो बौद्ध दर्शनको मौलिक सिद्धान्त हो ।
जीवनमा “सर्वम् दुःखम्” सर्वत्र दुःख छ भन्नुको अर्थ दुःखको कारण पनि छ र यस्तो कारणको निदान गरेमा निर्वाण प्राप्त हुन्छ । बौद्ध दर्शनमा दुःखको अन्तपछि प्राप्त हुने सुख वा मोक्षलाई निर्वाण भनिन्छ । निर्वाण जिउँदै प्राप्त हुने मोक्ष हो । यसैलाई बुद्धत्व पनि भनिन्छ ।
====
४. भवचत्रः द्वादश निदान चक्र
कारणले कार्यको व्यापार गर्दछ भन्ने बौद्ध सिद्धान्तको यो प्रक्रियालाई भवचक्र भनिन्छ । भवचक्र प्रतीत्यसमुत्पादमाथि निर्भर गर्दछ । यही भवचक्रलाई बौद्ध दर्शनमा द्वादश निदान चक्र पनि भनिन्छ । जीवनमा मानिस किन रोगी, अशक्त, वृद्ध र अन्तमा मर्दछ भन्ने ज्ञान दिनका लागि बुद्धले द्वादश निदान चक्रको व्याख्या गरेका छन् । यसका १२ कारणहरू छन् ।
४.१ अविद्या
पूर्ण विवेक विना गरिएको कार्य अविद्या हो । यसलाई अज्ञान पनि भनिन्छ । सत्यलाई नजान्नु नै अज्ञान हो, अविद्या हो । दुःखलाई सुख जस्तो देख्नु, अनित्यलाई नित्य मान्नु र परिवर्तनलाई शाश्वत देख्नु आदि अविद्या हुन् । पूर्वजन्ममा पूर्ण विवेक वा चेतनाको जानकारी नभई कार्य भएकोले अविद्या भयो । तसर्थ, अविद्याका कारण संस्कार उत्पन्न हुन्छ ।
४.२ संस्कार
संस्कार भन्नाले पूर्व जन्मको कर्म वा पूर्व कर्मको छाप नै संस्कार हो । कर्म गर्दा कर्मले आफ्नो चिह्न छोड्छ त्यो नै संस्कार हो । संस्कारकै कारण ठीक-बेठीक, असल-खराब, राम्रो-नराम्रो, मिठो-नमिठो जस्ता धारणाको विकास हुन्छ । तसर्थ, संस्कारका कारण विज्ञान उत्पन्न हुन्छ ।
४.३ विज्ञान
विज्ञान भन्नाले चेतनाको एक सूक्ष्म रूप हो । जीवनको पहिलो विन्दु नै विज्ञान हो । शुक्राणु र डिम्बको मिलनपछि उत्पन्न हुने भ्रूण नै विज्ञान हो । तसर्थ, विज्ञानका कारण नामरूप उत्पन्न हुन्छ ।
४.४ नामरूप
नामरूप भन्नाले जीवनको सूक्ष्म रूप विकसित भएर नामरूप बन्छ । रूप भन्नाले शरीर र नाम भन्नाले मनलाई बुझाउँछ । मन भनेको पाँच इन्द्रियको अतिरिक्त छैठौं इन्द्रिय हो । यसरी नामरूप कारण भइदिनाले षडायतन उत्पन्न हुन्छ । यदि नामरूप नहुँदो हो त षडायतन हुँदैन थियो । तसर्थ, नामरूपका कारण षडायतन उत्पन्न हुन्छ ।
४.५ षडायतन
पाँच इन्द्रिय र मनको समूह नै षडायतन हो । अथवा यसलाई स्थूल शरीरको रूपमा पनि बुझ्न सकिन्छ । यहाँ षडायतन अथवा स्थूल शरीरको उपस्थितिले इन्द्रिय स्पर्शको कार्यव्यापार हुन जान्छ । भन्नुको अर्थ इन्द्रियलाई छोए स्पर्श उत्पन्न हुन्छ । षडायतन कारण भए स्पर्श कार्य हो । तसर्थ, षडायतनका कारणले स्पर्शको उत्पत्ति हुन्छ ।
४.६ स्पर्श
इन्द्रियको वस्तुसँगको सम्पर्क हुनु स्पर्श हो । अथवा स्पर्श भनेको छोइनु हो । इन्द्रियमा स्पर्शले शरीरमा वेदना अथवा इन्द्रिय सुख उत्पन्न हुन्छ, अथवा स्पर्शको कारणले वेदनाको उत्पत्ति हुन्छ । तसर्थ, स्पर्श कारण भए वेदना कार्य हो ।
४.७ वेदना
वेदना भनेको स्पर्शको अनुभूति हो । कुनै इन्द्रियमा स्पर्शबाट हुने अनुभूति वा वेदना तीन प्रकारका हुन्छन्– (क) सुख वेदना । यो सुखानुभूति हुने वेदना हो । (ख) दुःख वेदना । यो दुःखानुभूति हुने वेदना हो । (ग) उपेक्षा वेदना । यो सुख वा दुःख दुवै नहुने वेदना हो । छोटकरीमा वेदनालाई इन्द्रिय सुख पनि भनिन्छ । वेदनाका कारण तृष्णा उत्पन्न हुन्छ । तसर्थ, वेदना कारण भए तृष्णा कार्य हो ।
४.८ तृष्णा
तृष्णा भनेको मानिसभित्र हुने वासना वा इच्छा हो । यो विषयप्रतिको राग, द्वेष र मोह पनि हो । तृष्णाले नै विषय वा वस्तुप्रति राग जगाउँछ । तृष्णाको अर्को अर्थ हो लालसा । यही तृष्णाको उपस्थिति (कारण)ले उपादान कार्यको कार्यव्यापार गर्दछ, अथवा अधिक तृष्णाको कारणले उपादान उत्पन्न हुन्छ । तसर्थ, तृष्णा कारण भए उपादान कार्य हो ।
४.९ उपादान
कुनै वस्तु प्राप्त गरेरै छोड्ने मोह अथवा सांसारिक वस्तुहरूको भोग गर्ने प्रबल इच्छा वा आशक्ति उपादान हो । यसका चार भेद छन्ः
क. कामोपादान – यसलाई कामवासनाको आशक्ति भनिन्छ ।
ख. दृष्ट्युपादान – यसको अर्थ हो मिथ्या सिद्धान्तलाई देख्ने वा हेर्ने आशक्ति ।
ग. शील–व्रत–परामर्शोपादान – यसको अर्थ हो व्यर्थको कर्मकाण्डी आशक्ति ।
घ. आत्मोपादान – यसको अर्थ हो आत्मवादमा हुने आशक्ति ।
उपादानका कारण पुनः जन्म लिने इच्छा वा भव उत्पन्न हुन्छ । तसर्थ, उपादान कारण भए भव कार्य हो ।
४.१० भव
फेरि फेरि जन्म लिने इच्छा नै भव हो । अधिक विषयको प्राप्तिलाई भोग गर्न पटकपटक जन्मने इच्छा हुन्छ । भवका कारण जाति उत्पन्न हुन्छ । तसर्थ, भव कारण भए जाति कार्य हो ।
४.११ जाति
जातिको अर्थ हो जन्म । जन्मने इच्छा भएपछि मानिस जन्म लिन्छ । यस जन्म र पूर्वजन्मको कर्मको कारणले यस लोकमा प्राणीहरूको जन्म हुन्छ । मानिस जन्मिएका कारणले यस लोकमा भएका सबै दुःखहरू झेल्नुपर्दछ । जातिका कारण जरामरण हुन्छ । तसर्थ, जाति कारण भए जरामरण कार्य हो ।
४.१२ जरामरण
जरामरणको अर्थ ‘वृद्धता र मरण’ हो । मानिस किन वृद्ध हुन्छ, किन मर्दछ – यसको कारण हो मानिसको जाति अथवा जन्म हुनु । हरेक जन्मने वस्तु हुन् वा प्राणी, तिनीहरूको आयु हुन्छ, तिनीहरू वृद्धावस्थामा पुग्दछन् र अन्तमा तिनीहरूको मृत्यु हुन्छ । जरामरणको कारण जन्म हो ।
यसरी “अविद्या”को कारणले १२ चक्र पूरा गरी “जरामरण” हुने भएकोले मानिस जन्म-जन्मसम्म पनि दुःखैदुःखमा परिरहेको हुन्छ ।
क्रमशः
====
(बौद्ध दर्शनसँग सम्बन्धी यो सामान्य जानकारी हो । बौद्ध दर्शनको विषयमा आधारभूत जानकारी नभएका पाठकहरूका लागि आलेख तयार गरिएको छ । यो आलेख तयार गर्न बौद्ध विश्वविद्यालय लुम्बिनीमा अध्यापन गर्नुहुने डा.शारदा पौडेलले सामग्री उपलब्ध गराई सहयोग गर्नुभएको छ ।)
रिचमण्ड, भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।