खलिल जिब्रान

विवाह

‘विवाह के हो प्रभु ?’ अलमित्राले फेरि सोधी ।

अलमुस्ताफाले भन्यो :

साथ-साथ तिमीहरू जन्मेका थियौ, साथ-साथ रहनेछौँ सदा ।

मृत्युको छायाँले जीवनका घडीहरू विथोल्दा पनि तिमीहरू साथ-साथ रहनेछौ ।

तिमीहरू ईश्वरको मौन स्मृतिमा समेत साथ-साथ रहनेछौ ।

तर यो अन्योन्याश्चिततामा तिमीहरू अवकाश रहन देऊ । तिमीहरूबीच सिर्सिरे बतासलाई नृत्य गर्न देऊ ।

आपसमा प्रेम गर तर प्रेमलाई बन्धन नबनाऊ ।

बरु तिम्रा आत्माहरूको किनारमा प्रेमलाई छचल्किँदो समुद्र बन्न देऊ ।

एक अर्काका प्याला भर तर एउटै प्यालाबाट नपिऊ ।

बाँडेर खाऊ तर एउटै रोटीको टुक्रा लुछाचुँडी नगर ।

सँगै गाऊ, सँगै नाच र सँगै उमंग मनाऊ तर एक अर्काको एकान्तवास नबिथोल ।

वीणाका तारहरूसमेत अलग-अलग हुन्छन्‌ यद्यपि ती एउटै रागमा तरंगित हुन्छन्‌ ।

हृदय समर्पण गर तर उसैलाई राख्न नदेऊ ।

किनभने जीवनको अञ्जुलीमा मात्र तिम्रो हृदय स्थिर रहन सक्छ ।

साथ-साथ उभिऊ तर ज्यादै नजिक नहोऊ ।

किनभने देवालयका स्तम्भहरू पनि अलग-अलग हुन्छन्‌ ।

साल र सिसौ पनि एक अर्काको छायाँमा हुर्कन सक्दैनन्‌ ।

विवाह पृथ्वीमा तेस्रो आत्मा जन्माउनका निम्ति दुई दिव्य स्वरुपहरूको ईश्वरीय मिलन हो । दुई आत्माको यो प्रेमपूर्ण एकताले आपसका
समस्त विभिन्नताहृरु मेटाइदिन्छ ।

– द वर्डस्‌ अफ्‌ द मास्टर |

मूल लेखकः खलिल जिब्रान

अनुवादकः नेत्र आचार्य र पुष्प आचार्य