साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जब विष्णुमतीमा शिर गिँडियो…

Chovar Blues Mobile Size

त्यो बेलाको मृत्युदण्ड

वि.सं. १९०९ चैत्र १५ गते शनिबार, काठमाडौँ

खत्री जातको एउटा सिपाहीलाई हत्याको अभियोग लागेको थियो। हत्या भएको दश दिनपश्चात् उसको शिर छेदन गर्ने मिति तय भैसकेको थियो। शनिबार र मंगलबार अशुभ बारहरु भएको हुँदा मृत्युदण्ड सो दिनहरुमा मात्रै दिने गरिन्थ्यो। स्वयम्भुनाथ जाने बाटोमा पर्ने विष्णुमति खोलासँग मिसिने सानो खोल्सोको दायाँ किनार नै त्यस्ता दण्डहरु दिने स्थानको रुपमा प्रयोग गरिन्थ्यो। सो क्षेत्रमा खोला मोडिने हुनाले त्यसको किनार र नजिकको पहाडबीच केही जमिनको भाग रहेको थियो, जो मृत्युदण्ड दिनको निम्ति प्रयोग हुन्थ्यो र पहाडको केही उच्च भागमा रहेर सर्वसाधारणले पनि सो तमासाको दृश्य हेर्न सक्दथे।

मृत्युदण्ड संचालन गर्ने अधिकारप्राप्त अधिकारीलाई मेरो उक्त तमासामा संलग्न हुनको लागि भएको हिचकिचाहट बारेमा पुर्वसूचना दिइएको थियो र अभियुक्तको भावना भन्दा पनि मेरो सहजतालाई ध्यानमा राखी जुन बेलामा मैले उक्त अपराधीको शिर छेदन भएको हेर्न चाहन्छु सोही बेलामा टाउको गिँडिने र म मैदानमा आएपश्चात् मात्रै सो व्यक्तिको शिर छेदन हुने जानकारी गराइएको थियो ।

मृत्युदण्ड सूर्यास्त हुनु दुई घण्टा अघिको लागि निर्धारण गरियो र समयको ख्याल राख्दै करिब चार बजेतिर म मैदानमा पुगेँ। तर समय केही हेरफेर भएको हुँदा म दुई घण्टासम्म कुरिरहेँ। करिब एक दर्जन जति अरु व्यक्तिहरु पनि कुरिरहेका थिए। त्यस क्षेत्र हुँदै ओहोर दोहोर गरिरहेका अलि धेरै संख्यामा रहेका व्यक्तिहरुले भने कुरेर बसिरहनुको खासै औचित्य नरहेको महसुस गरेजस्तो देखिन्थ्यो। सूर्यास्त हुनै लाग्दा एउटा सानो भिडले भने कैदी आउँदै गरेको अनुभूति दिलायो। कैदीलाई वास्तवमा चार बजे नै जेलबाट निकालिएको रहेछ र पछाडि डोरीले हात बाँधी सहरको प्रमुख स्थानहरुमा परिक्रमा गराइएको रहेछ। त्यो परिक्रमा गर्दा एक जना व्यक्तिले भने उसले कसुर के हो र उसलाई अब के दण्ड हुने वाला छ भनेर ठूलो स्वरमा कराउँदै सूचना दिने जिम्मेवारी पाएको हुँदोरहेछ। त्यसो गर्दा करिब तीन सय जना व्यक्तिहरु जम्मा भएर त्यही कैदी तथा सरकारी सिपाहीहरु सँगसँगै मैदानतर्फ आएका रहेछन्। सँगै आएका मानिसहरु यताउता हेरेर भुइँमा पलेँटी कसेर बस्न थाले र सरकारी अदालतका एउटा अधिकारी मलाई आएर सलाम गरे र मैले (अपराधीले होइन) धेरै बेरसम्म कुर्न परेकोमा क्षमा मागे। अपराधीलाई निर्धारित ठाउँमा जान लगाइयो। उसको वरपर पोर्‌याह जातका २० जना व्यक्तिहरु थिए, जसलाई त्यस्तो मृत्युदण्डका कार्यहरुको जिम्मेवारी दिने गरिन्थ्यो। उनीहरुले उक्त कार्यको निम्ति खोला किनारको अलि समथल भूभाग खोजे, उसलाई सोही जमिनमाथि घुँडा टेकेर निहुरन भने- त्यो जमिनमा त्यही स्थानमा मृत्युदण्ड दिइएका अघिल्ला अपराधीहरुको हड्डीहरु पुरिएका थिए।

मृत्युदण्ड पाउने व्यक्तिले त्यो सबै कुराहरुमा खासै ध्यान दिइरहेको थिएन। उसको अनुहारमा थोरै चिडचिडापन तथा केही रिस देखिन्थ्यो तर ऊ केही पनि बोलिरहेको थिएन। कम्मर वरपरको कपडाबाहेक उसका अरु सबै वस्त्रहरु उतारिएका थिए। उसलाई मुन्टो निहुरी परेर बस्नको निम्ति आदेश दिइयो, उसले स्वीकार्यो। उसका हातहरु पछाडि बलियो गरी बाँधिएको थियो र उसको कपाल चुल्ठो पारी टाउकोमा बाँधिएको थियो। दुईतीन जना आएर बडो व्यावसायिक ढंगले उसको टाउको यता-उता सोझ्याउन लागे। उनीहरु कुन ठाउँमा कुन कोणबाट कत्तिको जोडले प्रहार गर्दा आफ्नो क्षमताको उच्च प्रदर्शन भई आफूलाई दिइएको जिम्मेवारी उच्चतम रुपमा पूरा गर्न सकिन्छ भनेर हिसाब-किताब गर्दैथिए र त्यसो गरिरहँदा उनीहरु शान्त देखिन्थे।

sagarmani mobile size

त्यति भैरहँदा अब केही क्षणमा विचराको विस्मात र रहस्य समाप्त हुनेछ भनेर म सोच्दै थिएँ। तर उखानमा “जुन काम सबैको हो, त्यो काम कसैको पनि होइन” भनेजस्तै ती बीस भन्दा बढी मानिसहरुमध्ये कसैले पनि हतियार बोकेर आएका रहेनछन्। त्यहाँ हेर्न बस्नेहरु कसैले पनि आफ्नो खुकुरी दिन चाहिरहेका थिएनन्। केही क्षणमा भिडबाट दुईतीन वटा खुकुरी दिइयो। अब कुरा ती खुकुरी धारिलो छन् कि छैनन् भन्नेमा पुग्यो। तीमध्ये एउटा अलि राम्रो खुकुरी रोजियो र हतियार चलाउने व्यक्तिले उक्त खुकुरीमा केही धार लगाएपश्चात् “काम गर्छ” भन्यो। उसले ढुंगामा धार लगाउन थाल्यो, बेलाबेलामा धारलाई औँलाले छोएर महसुस गर्दै, पुन: धार लगाउँदै, धेरैजसो समय गफ गर्दै र हाँस्दै गरिरह्यो।

यतिबेला अभियुक्त निहुरी परी घुँडा टेकेर बसिरहेको थियो र वरपर के-के भैरहेको छ, सबै सुनिरहेको थियो। कैदीको विषयमा भैरहेको हेल्चेक्र्याइँले होइन कि साँझ पर्न लागेकाले एकैछिनमा अँधेरो हुने र सो दृश्य राम्रोसँग हेर्न पाइँदैन कि भनेर अब भीड अलि अधीर हुन लागेको थियो। खुकुरीको धार लगाइसकेपछि सो कार्बाहीको नेतृत्व गरिरहेका अदालतको कर्मचारीलाई निरीक्षण गर्न दिइयो। सायद एउटा युरोपेली दर्शक पनि त्यहाँ रहेको छ भन्ने उसलाई आदेश मिलेको र उचित ढंगबाट कार्बाही सञ्चालन गर्नपर्ने बाध्यता भएकाले होला उसले उक्त खुकुरी कार्बाहीका लागि अयोग्य भएको ठहर गर्यो। त्यसले गर्दा अझै केही अबेर भयो र भिडबाट “छिटो गर्नपर्ने, नत्र अँधेरो हुने” जस्ता स्वरहरु आउन थाले। अन्त्यमा आफ्नो अनिच्छा माझ पनि भिडबाट ठूलो तालीको गडगडाहटबीच सोही कार्बाहीमा समाबेस भएको एउटा सिपाहीले आफ्नो तरबार प्रस्तुत गरे। उक्त तरबार हतियार चलाउने व्यक्तिलाई हस्तान्तरण गरियो। जसले सो तरबारको धारलाई बडो कलात्मक हिसाबले महसुस गर्दै त्यो तरबार उच्चकोटीको भएको घोषणा गर्दै गर्वका साथ त्यसलाई उचालेर अभियुक्त नजिक पुग्यो, जो करिब पैंतालिस मिनेटदेखि निहुरी नै रहेको थियो। सन्तुलन ठीक रहोस् र निहुरेर घुँडा टेक्दा अगाडि नपल्टियोस् भनी करिब दुई-तीन मिटरको डोरी उसको कुहिनो भन्दा माथि पछाडि ढाडतिर लगेर बाँधियो।

त्यो डोरी बाँधिसकेपछि अभियुक्तको शरीर थोरै अगाडितिर ल्याइयो र पछाडिबाट डोरीले समाइयो; उसको टाउको सिधा गरी राखियो र तरबार घाँटीमाथि एकैछिन राखेर निसाना लिइयो, हावामा उचालियो र चट्याङ्गको बेगमा तरबार तल हुत्त्याइयो। त्यो व्यक्तिको शरीर र शिर त्यही क्षणभरमा नै अलग भैहाल्यो। पछाडिबाट समातिएको डोरी छोडियो, शिर बिनाको शरीर आफ्नै शीरमाथि बजारियो र घाँटीबाट रगतको फोहरा निस्कियो | दुई-तीन वटा अत्यन्तै चरम छटपटाहट र आँखीभौँ एवं आँखाका अस्वभाविक चालपश्चात् आँखाको डरलाग्दो टोलाहटसँगै सबै समाप्त भयो।

सो कार्बाही पक्कै पनि उच्च स्तरमा सञ्चालन गरियो। यद्यपि त्यो ढिलाई, कैदीको मनस्थितिको बारेमा पनि सोच्दिए हुन्थ्यो भन्ने मेरो कुण्ठा, त्यहाँ उपस्थित व्यक्तिहरुको कैदी उपरको बेमतलबीपना जस्ता कुराहरुले भने अवस्थालाई साह्रै घिनलाग्दो बनायो। सोचनीय त के पनि थियो भने त्यहाँ उपस्थित तीन-चार सय जना मानिसहरुमध्ये मैले एक जना पनि महिला देखिनँ।

शिर शरीरबाट अलग भएपश्चात् शिर अलग गर्ने व्यक्तिको तारिफमा त्यहाँ तालीको गडगडाहटमाझ “वा-वा” को स्वर गुन्जायमान भयो र सो व्यक्ति नायकको शैलीमा आफ्नो कार्यसम्पादन उपर गर्व गर्दै यताउता फर्किदै थियो। तरबार सफा गरियो र सिपाहीलाई फिर्ता दिइयो। आफ्ना बुबाले अंग्रेजविरुद्ध लड्दा प्रयोग गरेका खानदानी तरबार ती सिपाहीले गुमाउन चाहेनन्। त्यो तरबार एकदम राम्रो र धारिलो थियो। ढलेको लासको ओरपर कोही पनि गएनन् र कसैले पनि शव छुने प्रयत्न गरेनन् र त्यहाँको चलनअनुरुप स्याल, गिद्द, कुकुर इत्यादिलाई खानको निम्ति भुइँमा नै छोडियो र भिड लाखापाखा लाग्न थाल्यो।

जंगबहादुर बेलायतबाट फिर्ता भएपश्चात् यस्तो मृत्युदण्ड अहिले विरलै हुने गर्छन् र यदि भैहालेमा पनि ज्यान मार्ने मुद्दा इत्यादिमा परेका सीमित व्यक्तिहरुलाई मात्र मृत्युदण्ड दिने गरिन्छ। अपराधसम्बन्धी दण्डहरुमा हुने सजायको कठोरतामा उनले परिवर्तन गरेका छन् र अपराधीको शरीरका अंगहरु काटिदिने जस्ता सजायहरु त हटाई नै सकेका छन्। वि.सं. १९०८ पश्चात् मैले सुनेको त्यस्तो खालको सजाय भनेको जम्मा एक जना व्यक्तिलाई दिइएको थियो र सायद त्यो व्यक्ति त्यस्तो सजाय प्राप्त गर्न लायक नै थियो। त्यो व्यक्ति गाउँगाउँमा गएर जंगबहादुरले देवीलाई १५० जना नाबालकहरुको बलि दिन आफूलाई खटाएको, ऊ बच्चाहरु छान्नको निम्ति गाउँ आएको र कसैले मोटो रकम उसलाई घुस दिएमा उसले उनीहरुको बच्चालाई छोडेर अरुको बच्चा लैजाने भन्दै गुप्त प्रचार गर्दै हिँडेको रहेछ। त्यो व्यक्ति समातिएछ र टुनाखलको भरी सभामा पेश गरिएछ। सभामा उसको कसुरको बारेमा बताइएछ र सभाबीच नै उसको जिब्रो काटिएछ र पछि उसलाई ती ती जिल्लामा हिँडाइएछ, जहाँ उसले गएर त्यस्तो झूटो बोलेको थियो। जिल्लामा भएका अरु व्यक्तिहरुलाई पनि त्यस्तो किसिमको झूटो व्यवहारले कस्तोसम्मको सजाय आकर्षित गर्न सक्छ भन्ने चेतावनीस्वरूप पनि यो कार्य सम्पादन गरिएको थियो।

ब्राह्मण जातिलाई भने मृत्युदण्ड दिइँदैन। उसको कपाल चारपाटे मुडिन्छ, सुँगुरको मासु खान लगाइन्छ, भित्री मासुहरु जस्तै पेट, आन्द्रा इत्यादि खुवाइन्छ, रक्सी पिउन लगाइन्छ र उसको जात झारी, सिमाना कटाई देश निकाला गराइन्छ। महिलाहरुलाई पनि मृत्युदण्ड दिइँदैन, उनीहरुलाई कैदमा राखिन्छ, जात झारिन्छ, नाक काटिन्छ, दासी बनाइन्छ, देश निकाला गरिन्छ तर कहिले पनि मृत्युदण्ड भने दिइँदैन। नाक काट्ने काम भने सरकारको भन्दा पनि निजी मामिला हुने गर्छ। ज्यादाजसो परपुरुषसँग लागेको थाहा पाएको महिलाको श्रीमानले उसको श्रीमतीको नाक खुकुरीले काटिदिने र घरबाट निकालिदिने चलन छ।

हाम्रो बेलायती रेजिडेन्सको सुरक्षाकर्मी हवल्दार कहर सिंहले मलाई एकदिन एउटा खुकुरी देखायो, जसबाट उसले आफ्नो श्रीमतीसंग सम्बन्ध राख्न खोज्ने एक जना व्यक्तिलाई काटेको बतायो। त्यस बेलामा ऊ त्यही खुकुरीले मुला काटेर बडो आरामसँग मुला खाइरहेको थियो।

मैले सोधेँ, “अनि तिमीले आफ्नी श्रीमतीलाई चाहिं के गर्यौ त?”

उसले भन्यो, “मैले त्यसको नाक काटिदिएँ र त्यसलाई दैलोबाट बाहिर निकालिदिएँ…खान नपाएर मर्ली भनेर मैले त्यसलाई पाँच रुपियाँ दिएँ !”

त्यस्तो घटनामा गरिने भनेको बाबुले छोरा-छोरी आफूसँग राख्नु हो र उसले पनि त्यस्तै गरेको थियो। महिला भने आफ्नो जात, बच्चा, दर्जा, घर, नाक र सबै चिजबाट वञ्चित हुन्छिन्।

 

हेनरी एम्ब्रोज ओल्डफिल्डको किताब स्केचेज फ्रम नेपाल भाग-१ को अध्याय १९ बाट साभार गरिएको, प्रकाशित सन् १८८०

अनुवादक ध्रुव अधिकारी इतिहास अध्ययनमा रुचि राख्छन्। उनी हाल चेपाङ् जातिको उत्पातिको विषयमा शोध अनुसन्धान गर्दै छन्। उनका कार्यहरू http://chepangchautari.wixsite.com/home मा हेर्न सकिन्छ।

प्रतिक्रिया
Loading...