
कबीरका कविताहरूमा नारीत्व खोज्दा
जीवन र जगतका प्रश्नहरू लैंगिक पहिचानको पर्वाह नगरी हाम्रो वरिपरि घुम्छन्। तर यी प्रश्नहरूको जवाफ खोज्ने बाटो भने लैंगिक रुपमा तटस्थ छैन। यो भूभागका सन्त कविहरूले बारम्बार जे भित्र छ त्यो बाहिर र जे बाहिर छ त्यो भित्र हुन्छ भन्ने कुरालाई जोड दिन्छन्।
अन्तरमनको यात्रा गर्ने क्रममा पनि बाह्य संसारमा महिलाहरूले सामना गर्ने चुनौतीहरू दोहोर्याइन्छन् र प्रतिबिम्बित हुन्छन्। आफ्नो आध्यात्मिक स्व खोज्ने र भौतिक इच्छाहरूको प्रतिरोध गर्ने प्रयाससँगै महिलाहरूले पुरुषहरूको इच्छाहरूलाई उत्तेजित नगर्ने भार पनि बोक्नुपर्छ। यसरी महिलाहरू आफ्नै पहिचानसँग बेखबर पुरुषहरूको आध्यात्मिक मार्गमा बाधा अवरोध बन्छन्।
परापूर्व कालमा आध्यात्मवाद, बौद्धिकता र आत्म साक्षात्कार सबै धर्मसँग जोडिएको थियो। लगभग सबै धर्म पितृसत्तात्मक थिए र प्राय महिला र पुरुषको लागि फरक फरक आध्यात्मिक मार्ग निर्धारण गर्थे। तर एउटा यस्तो समय आयो जब शक्तिका कृत्रिम गढहरूमा ती साधकहरूले हमला गरे जसले ईश्वर प्राप्तिको खोजीमा सबै सामाजिक बन्धनहरू पार गरिसकेका थिए।

सन्त कबीर
यहाँ संकेत भक्ति आन्दोलन तर्फ गरिएको हो। धर्मको लोकतान्त्रिकरणको लागि यो एउटा महत्वपूर्ण आन्दोलन बन्यो। धर्ममा विद्यमान पदानुक्रम र कुलीनताको विनाशमा पनि प्राय अछुतो भने लैंगिक वर्चस्व नै रह्यो। यो विषय यही आन्दोलनको भावना जत्तिकै असीमित भएता पनि यो लेख कबीरका कविताहरूको विरोधाभासी लैंगिक स्थिति प्रदर्शन गर्न खोज्दछ जहाँ रुढीवादी कठोरता र आध्यात्मिक तरलता दुवै छ।
मूर्ति भजनलाई आफ्नो कविताको श्लोकमा प्रस्तुत गर्दै उनी लेख्छन्
कबीरा खड़ा बाजार में, लिए लुकाठी हाथ,
जो घर फूंके आपनौ, चले हमारे साथ
कबीर उभिएको छ बजारमा, लिएर मसाल हातमा,
जलाइदेऊ आफ्नो घर, त्यसपछि आऊ र हिँड मेरो साथमा
तर सहरको बीचमा उभिएर सबै स्थापित संस्था र मान्यतालाई चुनौती दिने र आध्यात्मिक क्रान्ति ल्याउन तयार भएका कबीर महिलाको बारेमा लेख्दा अर्कै व्यक्ति बन्छन्। जुन श्लोकमा उनी महिलाको बारेमा कुरा गर्छन्, त्यहाँ उनको स्वर एकदमै एकाङ्की र उनको आफ्नै चरित्रभन्दा निकै भिन्न सुनिन्छ। उनी महिलाको शरीरबाट उत्पन्न हुने संक्रामकताबारे सचेत गराउन मात्र पुरुषहरूलाई सम्बोधन गरिरहेका छन्। त्यो पक्षमा पनि उनको कामको चौडाइका कारण ती श्लोकहरूमध्ये कुन सबैभन्दा नीचको छ त्यो भेट्टाउन गाह्रो छ। तर उदाहरणको लागि, उनका दुईवटा श्लोकहरू यहाँ प्रस्तुत गरिएको छ, जसले उनको स्त्रीद्वेष उद्गार गर्दछ।

मोहित जोशी
कबीर नारी की प्रीति से, केटे गये गरंत
केटे और जाहिंगे, नरक हसंत हसंत।
कबीर भन्छ नारीको प्रीतिले धेरैलाई बनाएको छ रङ्क
अझ धेरै जानेवाला छन् हाँस्दै हाँस्दै नर्क
नागिन के तो दोये फन, नारी के फन बीस
जाका डसा ना फिर जीये, मरि है बिसबा बीस।
सर्पको हुन्छ दुइटा फण, नारीका हुन्छन् बीस
उसले टोकी भने बाँच्नै नसकिने, त्यस्तो खतरनाक विष
पुरुषहरू प्रायः महिलाको शरीरमार्फत आफ्नो कमजोरी लुकाउँछन्। कबीर पनि फरक निस्किएनन्। उनले महिलाहरूलाई आध्यात्मिक रूपमा घृणित प्राणीको रूपमा चित्रण गरेर उनीहरूलाई ‘काली नागिनी’, ‘सुन्दर सर्पिनी’, ‘विष फल’, ‘जगत कि जुठन’, आदिको उपमा प्रयोग गरेका छन्। यी मानार्थ उपाधिहरूको संख्या त्यसबेला बढ्छ जुनबेला महिलाको व्याक्तिवाचक नाम ‘परनारी’ हुन्छ। एउटा उदाहरण तल दिइएको छ।
परनारी पैनी छुरी, बिरला बंचै कोये
ना वह पेट संचारिये, जो सोना की होये।
परनारी धारिलो छुरी जस्तै हुन्छन्, प्रहारले बिरलै बाँच्दछ कोही
आफ्नो हृदयको नजिक कहिल्यै नराख्नु, सुनकै रुप भएपनि
‘कैसे खाओगे उनके हात कि रोटिया, जब पैदा ही नहीं होने दोगे बेटिया’, भन्ने बेटी बचाओ अभियानमा भारत सरकारले ल्याएको नारा कै स्तरका पंक्तिहरू पनि कबीरले लेखेका छन्। पछि गएर सन्त बन्न सक्ने पुरुषको जन्मदाता भएको कारण मात्रै थोरै सम्मान महिलाहरूलाई दिइएको छ।
नारी नरक ना जानिये, सब सौतन की खान
जामे हरिजन उपजै, सोयी रतन की खान।
नारीलाई नर्क नसोच्नु, ऊ त सबै सन्तको खानी
हरिजन जन्माउने नारीले नै हो, नारी नै सबै रत्नको खानी
नारी निन्दा ना करो, नारी रतन की खान
नारी से नर होत है, ध्रुब प्रहलाद समान।
नारीको निन्दा नगर्नु, नारी रत्नकी खानी
सबै पुरुष जन्मिने नारीबाटै, ध्रुब र प्रह्लाद पनि
कयौँ श्लोकमा कबीर महिलाहरूको रुढीवादी र सामाजिक रुपमा स्वीकृत भूमिकालाई आत्मसाथ गर्दछन्। उनको मान्यता छ– ‘प्रेमको परिभाषासँग पर्यायवाची भनेको आज्ञाकारी र वफादार महिला हो। लाक्षणिक महिला सधैँ वास्तविक महिला भन्दा राम्रा हुन्छन्।’

श्रद्धा उपाध्याय
सती को कौन सिखावता है,संग स्वामी के तन जारना जी
प्रेम को कौन सिखावता है, त्याग माँ ही भोग का पावना जी
सती जान विधवा श्रीमतीलाई कसले सिकाउछ
प्रेमलाई त्यागमा आनन्द लिन कसले सिकाउछ
जैसे सती चढ़ै अग्नि पर प्रेम बचन ना टारा हो
आप जरै औरनि को जारै रखै प्रेम मरजादा हो
प्रेम श्रीमती जस्तै हुन्छ, श्रीमानको वचनमा सती जाने
आफू जलेर अरुलाई शोक दिने, र पनि प्रेमको अनादर नगर्ने
कबीरका श्लोकहरूमा विशुद्ध प्रेमको रुपक सती जाने महिलाहरू हुन्छन् जसलाई आफ्नो प्रियको अनुपस्तिथिमा यो दुनियासँग लिनुदिनु केही पनि छैन। चिताको अग्नि सामु कालो विषको जहरिलोपना हराउछ। खैर, यी श्लोकहरू एक सन्त कविको अत्यन्त स्त्रीद्वेशी छवि स्थापना गर्छन् जसले आध्यात्मिक पदानुक्रमको विद्यमान अधिरचनालाई परास्त गरेर आध्यात्मिक दासताबाट लाखौँलाई मुक्त गरेका थिए।
प्रभुको लागि आफ्नो प्रेमको घोषणा गर्दा कबीरको स्वरमा विनम्रता आउछ। उनी असुरक्षित र भयभित महसुस गर्छन्। चाहना र बिछोडको भावनाहरूको वर्णन गर्दा उनमा एक प्रकारको नाजुकता आउदछ। र यहिनै बेला उनको आवाज नारीको आवाजमा परिणत हुन्छ। स्त्रीको आवाजको मुखौटा ओढेर कबीर आफ्नो अहंकार त्यागछन् र भगवानसँग घनिष्ठ रुपमा कुरा गर्छन्।
निस दिन सालै घाव नींद आवै नहीं
पिया मिलन को आस नैहर भावै नहीं
खुल गए गगन किवाड़ मंदिर उजियार भयो
भयो है पुरुष सो भेट तन मन बार दयो
एउटा घाउ मलाई रातदिन सताउछ, म सुत्न सक्दिन
छटपटाउछु प्रियसँगको मिलनको आशमा, बाबाको घरले मलाई आनन्द दिदैन
गगनको द्वार खुलेको छ, मन्दिर अहिले प्रकाशमान छ
श्रीमानसँग भेट भइसक्यो र मेरो तन मन उसकै पाउमा विराजमान छ
आयौ दिन गौने कौ हो मन होत हुलास
डोलिया उठावे बीजा बनवाँ हो जहँ कोई न हमार
पईयाँ तोरी लागौ करवा हो डोली धर छिन बार
मिल लेवै सखिया सहेलर हो मिलौं कुल परिवार
गौनाको दिन आइसक्यो र हृदय खुसीले फुली नसक्नु छ मेरो
उनीहरूले हाम्रो डोली जङ्गलमा ल्याए जहाँ कोही छैन मेरो
ए कहार १ म तिम्रो पाउ पर्छु, एकछिनको लागी डोली भुइँमा राखीदेऊ
म आफ्नो साथी, संगी, आफन्तसँग बिदा त लिउँ
यी कथनहरूमा, भगवान पुरुष पात्र बन्छन् जोसँग सन्त एक हुन चाहन्छन्। स्त्री पात्र बनेर मात्रै, पुरुषले आफ्नो स्व पूर्ण रुपमा मारेर आफूलाई आफ्नो प्रभुको चरणमा आत्मसमर्पण गर्नसक्छ। यो सांसारिक व्याकरणमा भक्तिको लागि कुनै शब्दावली नभएका पुरुष कविहरूको मिहिन असक्षमता हो। अर्कोतर्फ, मीरा र लाल देदजस्ता महिला कविहरूले प्रेम वियोगको बेला आफ्नो असहायता व्यक्त गर्न कहिल्यै असुरक्षित महसुस गरेनन्। पुरुषहरूले आफ्नो नाजुक अवस्था व्यक्त गर्न नारी स्वरहरू र आफ्नो प्रेमको गहनता व्यक्त गर्न नारी अनुभवहरू उधारो लिन्छन्। तसर्थ कबीरको कवितामा सिन्दूर, गाजल, ससुराली आदिका सन्दर्भ प्रशस्त छन्।
कबीरु रेख सिंदुर अरू काजर दिया न जाय
नैनन प्रीतम रमि रहा दूजा कहाँ समाय
मैले सिन्दूर र गाजलजस्ता बाहिरी सौन्दर्य प्रसाधन प्रयोग गर्नु हुदैन
मेरो प्रिय बस्ने आँखामा अरू कोही अटाउदैन
सब कोई कहै तुम्हारी नारी, मोकों लगत लाज रे।
दिल से नहीं लगाया, तब लग कैसा सनेह रे।
जब मानिसहरूले म तिम्रो दुलही हुँ भन्छन्, मलाई लाज लाग्छ
तिम्रो हृदयलाई मेरो हृदयले छोएको छैन भने कसरी यसलाई माया भन्न सकिन्छ र ?
यस्ता श्लोकहरू पनि छन् जहाँ कबीर प्रेमिसँगको पहिलो रात अघि नयाँ दुलहीको हृदयको कम्पनको बारेमा घनिष्ट रूपमा कुरा गर्छन्। नारी स्वरले कवि र उसको कवित्वको बीचमा एउटा पर्दा सिर्जना गर्छ भने नारी अनुभवले तिनीहरूलाई प्रेमका असंख्य भावनाहरू बुझ्न गर्न मद्दत गर्छ जुन तिनीहरूको पुरुष अस्तित्व रहुन्जेल बेखबर हुन्छ। एउटा सम्झौता यस लेखको सुरुमा चर्चा गरिएको तथाकथित विषालु प्राणीको चरित्र यहाँनेर कबीर आफैँले ग्रहण गरेका छन्। र यहीँनेर लैङ्गिक पहिचान अप्रासंगिक वा कम्तिमा तरल हुन्छ।
कबीरको कवितामा नारीत्वको अर्को पक्ष छ जहाँ उनी एक घनिष्ठ महिला साथीलाई विश्वास गरेर गोप्य कुरो भन्छन्, जसलाई उनका कवितामा प्रायः सखी, पियारी वा सहेली भनेर सम्बोधन गरिएको पाइन्छ। आफ्नो प्रियतमाभन्दा बढी उनी यही सखीसँग कुरा गरिरहेका भेटिन्छन्। उहाँले आफ्नो आध्यात्मिक बुझाईको पाठ प्रायः उपदेशको रूपमा यही सखीलाई बताउछन्। यद्यपि यी श्लोकहरूमा एक प्रकारको आत्मीयता छ–
बाग़ों ना जा रे ना जा, तेरी काया में गुलज़ार।
सहस कँवल पर बैठ के, तू देखे रूप अपार॥
बगैचामा नजाऊ, तिमी भित्रै छ उपवन।
कमलको पत्रमा आसन लिएर देख्नेछौ ईश्वरको रूप अपार ।
जागो पियारी अब का सोवै,
रैन गई दिन काहे को खोवै
जिन जागा तिन मानिक पाया,
तैं बौरी सब सोय गँवाया
उठ पियारी, अब धेरै नसुत
रात गयो, के अब दिन खेर फाल्छौ ?
उठ्नेहरूले माणिक प्राप्त गरिसके
तिमी पागल हौ जसले पुरा समय सुतेर गुमायौ
उनको कविता यी महिला साथीसँगको भावपूर्ण कुराकानीले भरिएको छ। यी श्लोकहरूले पाठकमा धेरै गहिरो प्रभाव पार्छन् र यस्तो देखिन्छ कि कबीरले पाठकहरूलाई आफ्नो ज्ञानको मोती प्रदान गर्दै घनिष्ठ रूपमा कुराकानी गरिरहेका छन्। पाठकलाई लाग्छ शब्दले अंगालो मारिरहेछ।
निरपेक्ष स्त्रीद्वेषबाट स्त्रीत्वदेखि लैङ्गिक तरलतासम्मको यात्रा गर्दै कबीर लैङ्गिक तटस्थताको स्थानमा पुग्छन्। उनका केही कवितामा महिला र पुरुष दुवैको मुक्तिको लागि एउटै आध्यात्मिक मार्गको सम्भावना देखिन्छ। कबीरको कविता मौखिक परम्परामा बलियो रूपमा सम्मिलित भएकोले, उनले लेखेका कविताहरूको समय रेखाको बारेमा थोरै मात्रै प्रमाणहरू छन्। त्यसैले लैङ्गिक तटस्थताको विकास भएको हो कि होइन भन्ने निष्कर्षमा पुग्न सकिँदैन। तर उनको कविताको यो पक्षलाई नजर अन्दाज भने गर्न सकिँदैन।
नर नारी में एक विराजे
दो दुनिया में दिसे क्यूँ
जब तिमी नर र नारी दुवैमा बस्छौ भने
यो दुई संसार बनाउनुको के औचित्य ?
नारी पुरुष सबही सुनो, येह सतगुरु की साखी
बिस फल फले अनेक है, मति कोई देखो चाखी।
सुन सबै नारी पुरुष, यो सद्गुरूको पाठ
अनेक विषफल फालेका छन्, कहिल्यै नचाख्नु तिमी
जहाँसम्म लैङ्गिक पहिचानको सवाल छ, कबीरको कविता विरोधाभासले भरिएको छ। यी विरोधाभासहरू लगभग मानवीय प्रकृतिका छन्। तिनीहरूले कबीरको रचनायात्रा प्रतिबिम्बित गर्छन्। तिनीहरूले कबीरलाई दोष र आश्चर्य सहितको मानिस बनाउँछन्। कबीरको कविताहरूले महिलाको मध्ययुगीन छविलाई झल्काउनु सँगै दूर दूरसम्म पनि दृष्टिगोचर गरेका छन्। उनको कवितालाई निष्कर्षको रूपमा नभई अन्वेषणको भावनाले हेर्नुपर्छ। आफ्नो एक उत्कृष्ट कवितामा, कबीर भन्छन् म पुरुष हुँ र म नारी हुँ। सायद उनको कविता आश्चर्यको सहरको यात्रा हो जहाँ पहिचानको लागि कुनै स्थान छैन।
आफ्नो सबैभन्दा चर्चित श्लोकमा, कबीर भन्छन्, सन्तको जात नसोध, बरु उनीसँग ज्ञान खोज। यद्यपि लैङ्गिक पहिचानसँग ज्ञानको के साइनो छ ?
मूल लेखकः श्रद्धा उपाध्याय
अनुवादकः मोहित जोशी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

