साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृंखला १

Chovar Blues Mobile Size

भागः १

सन् असीको खडेरी उत्कर्षमा पुग्दै थियो । अकस्मात त्यसैबेला जागुला (फुटनोटः पश्चिम बङ्गाल राज्यको आधुनिकतातिर उन्मुख हँुदै गरेको एउटा शहर )को आकासमा कालोसेतो बादल मडारियो र पानी पर्न थालिहाल्यो ।

जागुला अहिले शान्त छ । एकदम शान्त । थाहा छैन – यो शान्ति अग्निगर्भी हो वा साँच्चिकै श्मसानजन्य शान्ति ?

जागुला आउनुअघि नै द्वैपायन सरकारले सबैथोक पत्ता लगाइसकेको थियो । हुन त ऊ एक जना प्रौढ अनुसन्धाता हो र वामपन्थी राजनीतिको दक्षिणी छेऊको स्थायी बासिन्दा । तर पनि खोई कुनचाहिँ लुटाहाले उसको मष्तिष्क कोष खनीखोस्री सबै थोक लिएर हिँडिदियो र उसले चालै नपाई एउटा नियन्त्रक यन्त्र उसको मष्तिष्कमा जडान गरिदियो । परिणामस्वरूप बाहिरबाट हेर्दा उसको अनुहार त उस्तै देखिन्छ तर दिमागमा भने नानाथरीका कुरा खेलिरहन्छन् । लुटाहाहरूले यो मुलुकका थुप्रै मनमष्तिष्कहरूलाई अचेल आफ्नो नियन्त्रणमा लिएका छन् । त्यसैले ती नियन्त्रित मष्तिष्कहरू मुलुक र मुलुकबासीका लागि हानिकारक कुरो चिताउँदछन् , नराम्रो काम गर्दछन् र पनि आफूलाई इमान्दार तथा विवेकशील ठान्ने गर्दछन् । सबै कामकुरो लुटाहाहरूकै मनमाफिक चल्दछ । उनीहरूको एउटै मात्र इच्छा–आकाङ्क्षा हुन्छ कि शोषितहरूको वर्ग–समुदायमा हिंसात्मक तथा सशस्त्र प्रतिवाद फेरि कतै र कहिल्यै नदेखियोस ता कि हिंसात्मक र सशस्त्र हुने अधिकार शासकहरूसँग मात्र होवोस् ।

sagarmani mobile size

द्वैपायन सरकार उमेरले साठी वर्षको छ । गहुँगोरो वर्ण, कुशाग्र बुद्धि । उसको पछाडि एउटा रक्तरञ्जित अतीत छ । त्यही इतिहास ढाकछोप र लिपपोत गर्नका लागि उसले अचेल अहिंसा,समाजवाद,साम्यवाद जस्ता पञ्चरङ्गी कार्यक्रमको दीक्षा लिएको छ । शोधको सिलसिलामा अचानक उसको आगमन जागुलामा भयो । साँच्चै भन्ने हो भने मातो डुम भुतको डरले नतर्सिँदो हो त धर्मपुजाको जात्राको भीडमभीडमा द्वैपायनको अप्र्रत्याशित आगमनतिर कसैको ध्यानै जाँदैनथ्यो ।

मातो वेगले रिक्सा चलाउँछ र रिक्साको बत्ती कहिल्यै पनि बाल्दैन । बानी नै बसिसक्यो । कन्स्टेबल(भारतीय प्रहरी सेवामा सबभन्दा तल्लो पद वा ओहदा,प्रहरी जवान) लालमोहनले थानाअगाडि उसलाई रोक्यो र बिना बत्ती रिक्सा चलाएवापत ‘साला ,खुब गर्मी चढिरा’छ तँलाई ’ भन्दै उसको कमिजको गोजीमा चीललेझैँ झम्टियो । पैसाको साटो गोजीबाट धर्म ठाकुर(देवता)को जन्तरमन्तर मात्र हातमा परेपछि लालमोहन चिढिएर उसलाई हपसीदपसी गर्न लाग्यो । हल्लीखल्ली सुनेर झगडा साम्य पार्न देवकी मिश्र बाहिर निस्क्यो । दुबैलाई हप्कायो प्रत्युत्तरमा मातोले अनुनय गर्दै भन्यो, “भुत देखेर आत्तिँदै भागेँ, हजुर । त्यसैले बत्ती बाल्ने होशै रहेन ।”

“भुत ?”

“अँ, भुत ?”

“ कहाँ ?”

“काली बाबु (समाजका गण्यमाण्य व्यक्तिको नामसँग तथा कसैलाई मायाप्रेम गरेर बोलाउँदा प्रयोग गरिने आदरसुचक÷स्नेहसुचक सम्बोधनको पदावली)को अफिसमा ।”

“ हँ ऽ ऽ ! के भन्छ यो ?”

“हजुर , काली बाबु त उहिल्यै बित्नुभयो । उहाँको अखबारको कार्यालय पनि त बन्द नै रहन्छ । त्यहाँ गएर हेरेँ । उहाँ त बत्ती बालेर बसिरहनु भएको छ । देखेर मेरो त सातोपुत्लो उड्यो ।”

अब भने देवकी मिश्र निकै चिढियो र सोध्यो, “बित्नु भयो ? काली बाबु बित्नु भयो ??”

“अँ , हजुर ।”

“साले , थानाको भित्तामा उसको फोटो किन झुण्ड्याइएको छ ? बेपत्ता भएको छ । त्यति पनि थाहा छैन ? बित्यो रे !”

रक्सीको धङधङी र प्रेतको डरले सातो उडेको मातोले भन्यो, “उहाँ जिउँदो हुनुहुन्न ,मरिसक्नु भयो ।” ऊ विलाप गर्दै रुन लाग्यो र भन्न थाल्यो, “हजुर, भलाद्मी मान्छेलाई मारिदिए र उहाँको परिवारलाई पातकी बनाइदिए ।”

“ के भन्छस् ,तँ ?”

“सबलाई थाहा छ ,हजुर । बसाई टुडुलाई मार्न भनेर पुलिस चरसाको जङ्गलमा पसेको थियो । आम्मै..! त्यहाँ त मिलिट्री । काली बाबु पनि त्यहीँ हुनुहुन्थ्यो । बसाईलाई नभेटेपछि उहीँलाई मारेर जङ्गलमा फालिदिए । बेतुल काउराले त्यहाँबाट हाडखोर बटुलेर पोको पारेर ल्याउँदै थियो । उसलाई पनि मारिदिए । यो कुरो हाटबजार सबैतिर फैलिएको छ । हजुरले र थानेदार साहेबले त्यो बेलामा कति दौडधुप गर्नु भएको थियो । त्यसपछि सामन्त बाबुले के सल्लाह दिनुभयो कुन्नि , अनि त काली बाबुको तस्वीर झुण्ड्याइयो थानामा । यो भनेर कि काली बाबु जीवितै छन् र बेपत्ता छन् । उहाँको जहानलाई पनि यसै भनियो । त्यसैले त उनले सिँदुर पुछेकी छैनन् ,चुरा फुटालेकी छैनन् । काली बाबुलाई तपाईँहरूले मारिहाल्नु भयो नि , होइन र ?”

“रक्सी धोकेर तँ बौलाएको छस् ! यस्तो कुरो गरिस्भने तँलाई पनि खोरमा हुलिदिन्छु । बुझिस् ?”

“किरिया–कर्म भएको छैन ,त्यसैले मरेको मान्छे घरमा आएर बसेका छन् । मैले त देखेँ ।”

“भुल भयो, प्रभु ।” हतप्रभ भएर देवकी मिश्रले मातोलाई ‘प्रभु’ भनेर सम्बोधन गरेको थियो ।

सन् सतहत्तरको बसाई टुडु अपरेसनमा चरसाको जङ्गलमा पुलिसले काली साँतरा अर्थात् काली बाबुलाई मारेर लाश त्यहीँ जङ्गलमै फ्याँकिदिएको थियो । महिना दिनपछि बेतुल काउराले उनको हाडखोर ,चश्मा तथा माटोले मक्किएको चप्पल खनीखोस्री खोजेर बर्कोमा बाँधेर थानामा ल्यायो र थानामा ती सब सामग्री देखाउँदै कालीको मृत्युमा संवेदित हुँदै विलौना गर्दै खुब रोइकराई ग¥यो । फलस्वरूप उसले पनि मर्नु प¥यो । यी तमाम कुराहरू सत्य हुन् र कुनै पनि घटना सामन्त वा एस.आई. (सब इन्स्पेक्टर वा स.इ.)वा देवकी मिश्रबाट लुकेको छैन । यसैले काली साँतराको फोटो भित्तामा झुण्ड्याएर उसलाई ‘बेपत्ता’ घोषित गरिएको छ । कालीकी जहान गिनीमालालाई सधवाकै भेषमा रहन भनिएको थियो । देवकी अब यसबारेमा कुरा गर्न चाँहदैन । यसैले उसले रिक्साचालक मातोलाई फकाउँदै भन्यो, “घर जाऊ ,बा । ती त कुनै बाबु हुन् । कुनै कामले आएका हुन् । त्यहाँ बसेर काली बाबुको अखबार हेरिरहेका छन् । उनैलाई देखेर तँ डराइस् । काली बाबुको समाचार यदि दिन सकिस भने त बक्सिस पाउँछस् ।”

मातोले आँखाको आँसु पुछ्यो र फेरि टाउको नकारमा हल्लाउँदै भन्न थाल्यो, “नाईँ हजुर, अब म त्यस्तो काम गर्दिनँ । बाउ बल्लबल्ल अब मसँग बोल्न र कुराकानी गर्न लाग्या छ । बाउले मनाही गरेको छ । थानामा खबर पनि गर्दिनँ, पैसा पनि लिन्न ।”

“के भन्छ, रतन ?”

“भन्छ, त्यो घृणित,निच र फोहोरी काम हो । तिमीले रुपियाँ पनि पाएनौ र बसमा तिम्रो नोकरी पनि लागेन । जे भयो, भै गो । अब चाहिँ त्यस्तो काम नगर्नू ।”

“त्यसो भए त राम्रो कुरो हो । घर जा । आजकाल रतन कहाँ छ ?”

“घरैमा छन् ।”

“के गर्छ अचेल ?”

“म के जानौँ ?”

मातो गयो । ‘देख्लास्, हुँ ..’ को भावमा हुँकार गर्दै देवकी मिश्रले मुण्टो हल्लायो, अनि स्वगत सोच्यो, ‘साना जातका मान्छेहरू अचेल खुब चढेका छन् । मातो खुफिया काम गर्न चाहँदैन । पहिलापहिला गथ्र्यो । उसको बाउ रतनले पक्कै पनि उसलाई सिकाइपढाइ गरिरहेको छ ।

कन्स्टेबल लालमोहन देवकी मिश्रसँगै कोठामा आयो र छेउमा बस्यो । अनि कुनै रहस्यको उद्घाटन गरेझैँ भन्नथाल्यो, “यो साल मेलामा कुरो निक्कै बढ्यो, मिश्राजी । धर्मराजको मेलामा हामी उठौती त लिन्थ्यौँ नै, तर यसपालि त इन्द्र बाबुले सबैलाई मनाही गरेका रहेछन् , कसैले केही पनि दिएनन् । के इन्द्र बाबु पार्टीको काम गर्दैनन् ?”

“को ? इन्द्र प्रामाणिक ? ऊ यहाँ…?”

“अँ , मिश्राजी ।”

“ए..,ल बुझियो कुरो । भै गो , तँ जा ।” केही कुराको भेऊ पाएझैँ गरी गम्भीरताका साथ देवकी मिश्रले भन्यो । मनमनै भावी सङ्कटको अनुमान पनि लगायो । इन्द्र प्रामाणिक भन्ने नामले निकै नै अप्ठ्यारो र सकसमा पारिदिन्छ उसलाई । राजनीतिको खेलमा किनबेच,अंशबण्डा भइसकेपछि पनि इन्द्र प्रामाणिक जस्तो युवकले सबैलाई हैरान पारिराखेको छ । पार्टीलाई पनि । पश्चिम बङ्गालमा हरेक ठाउँमा जेजस्तो भइरहेको छ जागुलामा पनि त्यस्तै भइरहेको छ । जागुलामा जेजति घटित भइरहेको छ त्यसलाई राम्रोसँग बुझ्न सकियोभने सम्पूर्ण पश्चिम बङ्गाल ( भारतको पूर्व उत्तरतिरको एउटा राज्य । ई.सं.१९४७मा भारतको विभाजन हुनुभन्दा पहिले यस राज्यको पूर्वतिरको राज्यलाई पूर्वी बङ्गाल र यो राज्य पश्चिम बङ्गाल भनिन्थ्यो । विभाजनपछि पूर्वी बङ्गाल पाकिस्तानमा पर्यो र पूर्वी पाकिस्तान भनिन थाल्यो । पछि पाकिस्तानबाट अलग्गिएर उक्त राज्य बङ्गलादेश बन्यो । तर पनि यो राज्य अहिलेसम्म पश्चिम बङ्गालकै नामबाट चिनिने गरेको छ ।)को मानचित्र मोटामोटी बुझ्न सकिन्छ । यो भयङ्कर जटिल वा एकदमै सरल मानचित्रमा पश्चिम बङ्गालको सर्वाधिक महत्त्वपूर्ण राजनीतिक पार्टीका लागि इन्द्र प्रामाणिक जस्तो इमान्दार र लडाकु कार्यकर्ता एउटा तिखो काँडा बनेको छ । स्थानीय जनप्रतिनिधि सामन्तका लागि पनि । देवकी मिश्रका लागि त हो नै । सामन्त र सामन्त जस्तोको पार्टीका लागि आज इन्द्र प्रामाणिकभन्दा देवकी मिश्रको बढी आवश्यकता छ । उनीहरूको लागि देवकी मिश्र नै बढी भरपर्दो छ । विश्वसनीयताका हकमा देवकी वा एस.आई. निश्चयनै इन्द्रको खुट्टाको नङ जत्तिको पनि होवोइनन् तर पार्टी नेतृत्वका लागि आज इन्द्रजस्ता कार्यकर्ताहरूभन्दा थाना–पुलिस बढी आवश्यक छन् । पुलिसलाई खुसी राख्ने कुरालाई लिएर नै इन्द्र र सामन्तका बिच चर्को भनाभन भएर ठूलो भाँडभैलो मच्चियो । त्यो दिन सामन्तले रिसले मुर्मुरिँदै भन्यो, “काली साँतरा गयो, तिमी आयौ । विवेकको चालामाला पनि हेरिरहेको छु..। अब तिम्रो पालो हो ।”

“कालीदा (फुटनोटःबङ्गाली बोलीचालीमा दादा/दाइ,दिदी,काका आदि साइनोलाई पहिलो अक्षरबाट मात्र बोल्ने गरिन्छ । यहाँ काली दाइलाई कालीदा बोलिएको हो ।) को नाम तपाईँ उच्चारण पनि नगर्नुस् ।”

“किन , त्यसयोग्य छुइनँ र ?”

“अहँ । तपाईँहरूको आशिर्वादले पार्टीको छविमा धेरै पहिलेदेखिनै धमिरा लागिरहेको छ । यसैले कालीदाले विवेकको भार बोक्नु पर्दथ्यो । मलाई तपाईँ कालीदाको समकक्ष नराख्नुस् । म त उहाँको खुट्टाको धुलोजति पनि छुइनँ ।”

“धेरै जान्ने पल्टेर प्यार्प्यार् नबोल ।”

“पार्टीका युवकहरूलाई पुलिसले मारेन ? मिश्रले त नक्सलीहरूलाई मारेको थियो ? सन् पचहत्तरमा कति युवाहरू मारिएका थिए ?(नक्सलवादी आन्दोलनको दमनको क्रममा पश्चिम बङ्गालमा राज्यद्वारा गरिएको नरसंहारतर्फ सङ्केत गरिएको हो ।) त्यही पुलिसलाई मद्दत गरिरहनु भएको छ । तिनैलाई आमा–बाबु,दाजु–भाइ भन्नुहुन्छ । के हो कुरो ?”

“काली त्यस्तै थियो । तिमी पनि देख्दैछु.. ”

“काली ‘थियो’ भन्दै हुनुहुन्छ । अघि त ‘काली गयो’ भन्नुभएको थियो । कालीदालाई के गर्नु भयो तपाईँहरूले,सामन्तदा ? तपाईँहरूले त्यस्तो के गर्नु भयो कि त्यही निहुँ पार्दै सबै जना कुरा काट्दै छन् ? के त्यो कुरो साँचो हो ? कसको निर्णयले सामन्तदा, कसको निर्णयले ?”

सामन्त उठेर हिँड्यो । हैरानी एकदम बढिरहेको थियो । काली साँतरा बेपत्ता छ । उसको खोजी भइरहेको छ । तर यस कुरामा कसैैलाई पनि विश्वास छैन । इन्द्रलाई पनि विश्वास छैन । रिसले चुर भएर सामन्तले काली साँतराको छोरा अनिर्वाणलाई बोलाउन पठाएको थियो र आफ्नो विख्यात गम्भीर वाणीमा हप्काउँदै सोधेको थियो, “ के हो कुरो ?”

“किन , सामन्तका ?”

“बाउ बेपत्ता भयो भन्ने आशयको विज्ञापन त अखबारमा बेलाबेलामा दिन सक्छौ नि । के यो काम मेरो हो ?”

काली साँतराप्रति उसको छोरामा पनि कुनै श्रद्धा थिएन । तर पनि कालीबारेको यावत् बजारिया समाचारहरू उसलाई पनि थाहा थियो । उसले भन्यो,“आमाले मनाही गर्नुभएको छ । यसबाट केही फाइदा होलाजस्तो मलाई पनि लाग्दैन ।”

“तिम्री जहानले कलकत्तामा जागिर थाली त ?”

“अँ ।” अनिर्वाणले अलि अप्ठ्यारो मान्दै भन्यो, “आमाले भन्नुभएको छ – यहाँको घरजेथा सबै थोक बेचिदिनू ।”

“किन ?”

“कलकत्ता जानु छ ।”

काली कसरी मारिएको थियो भन्ने कुराको भेउ सामन्तले पाइहाल्यो । उसलाई राम्ररी थाहा छ यो कुरो । कालीकी पत्नी र छोरालाई पनि राम्ररी थाहा छ । तिनीहरू यो ठाउँ छोडेर जाँदैछन् अर्थात् डराइसकेका छन् ।

“जे मन लाग्छ गर । अँ, इन्द्र.. , इन्द्रले केही भनेको थियो ?”

अनिर्वाण एक्कासि रुन थाल्यो । सामन्त पनि अक्क न बक्क भयो । अनि फेरि आँखाको आँसु पुछदै भन्नथाल्यो, “ बुबालाई उपेक्षा गरिरहिस् , उहाँको मूल्यमहत्व बुझ्न सकिनस् भनी मान्छेहरू मलाई छिःछिः दूरदूर गर्छन् । आमाले सिउँदोमा सिँदुर हाल्न छोडनु भएको छैन । त्यसैले पनि मानिसहरू नानाथरी कुरा काटदछन् ,सामाजिक निम्तोमा पनि डाक्दैनन् । त्यो बेलामा जसरी पनि यस बारेको उजुरी वा समाचार पुलिसप्रशासनमा दर्ता गराइदिन पाएको भए पनि आज यस्तो अपमान र तिरस्कार सहनु पर्दैनथ्यो । सबै जना भन्दछन् कि बुबालाई मारेकै हुन् । तपाईँहरू भन्नु हुन्छ कि उहाँ बेपत्ता हुनुभयो । हामी के गरौँ ? बेतुललाई पनि…बेतुलले त उहाँको चश्मा भेटेको थियो नि । त्यो त प्रमाण थियो नि । त्यो चश्मा तपाईँले हामीलाई दिइदिनुभएको भए त्यसै बेला म उजुरी दर्ता गराउने थिएँ । हाम्रो यसरी यस्तो बेइज्जति त हुँदैनथ्यो नि ।”

“तिमीले कुरो बुझ्या छैनौ ..”

“कलकत्ता गएर आमाले गेरु वस्त्र धारण गर्नु हुनेछ । बाह्र वर्षपछि सेतो वस्त्र लगाउनु हुनेछ । हामी जाँदैछौँ , सामन्तका ।”

“काली छैन । प्रमाण बिना नै पत्याइहाल्छौ कि ऊ छैन ? यस्तो कसरी हुनसक्छ ?”

“बेपत्ता भन्नु भयो नि ? यसैमा सबैले अविश्वास गरे । जागुला छोडेर बुबा घर र ‘जिल्ला वार्ता’ (काली साँतराले आफ्नो सम्पादकत्व र प्रकाशकत्वमा चलाउने गरेको स्थानीय अखबार) को अफिसबाहेक अन्त कतै पनि जानुहुन्नथ्यो । कहिल्यै कसैको केही पनि बिगार गर्नु भएको थिएन ।”

अनिर्वाण हिँडन लाग्यो । उसले सुन्नेगरी सामन्तले हकार्दै भन्यो, “अहिले त ‘बुबा,बुबा’ भन्दैछौ । घरमा उसको कस्तो उपेक्षा र अपमान गथ्र्यौ, त्यो सबैलाई थाहा छ ।”

अनिर्वाण अरु केही बोलेन, गयो ।

कालीको मामिला एकदम जटिल बनिसकेको थियो । यो कुरा सामन्त पनि अनुभव गर्दै थियो । तर अब काली साँतराको हत्या भएको यत्तिका वर्षपछि काली म¥यो भनेर सरकारी तवरले कसरी घोषणा गरियोस ? अहँ,सम्भव छैन । पहिले यी यावत् कुराहरू मनमा किन आएन ?अनिर्वाणका परिवारबाला कलकत्ता जान्छन् ,जाऊन । अनिर्वाणलाई अझ राम्ररी चेताउनु–धम्काउनु पर्नेछ ताकि बाबुको मृत्युबारे जथाभावी बोल्दै नहिँडोस् । कलकत्ता जागुला त होइन नि । शासक दलको वरिष्ठ र निर्वाचित नेताको हैसियतले सामन्तले जागुलामा सबैलाई थिचथाच–मिचमाच गरेर राख्न सक्छ तर कलकत्तामा यस्तो गर्न सम्भव छैन । जागुलाका राजनीतिक विरोधीहरूसँग सामन्त डराउँदैन । गोप्य सम्झौता मार्फत् उनीहरूलाई जागुलाको अंशबण्डा गरेर उनीहरूको भाग छुट्याइ दिइसकेको छ उसले । साँच्चै भन्ने हो भने शहर अचेल उसको गुण्डा–भारदार–ठेकेदार–व्यापारीहरूको कब्जामा छ । यो शासनमा सबै जना खुसी छन् । मनमाफिक मुनाफा लुटिरहेका छन् । मनमाफिक गुण्डागर्दी चलिरहेको छ । मनपरी मूल्यवृद्धि भइरहेको छ । कालोबजारी चरमचुलीमा छ । यति गर्न पाउँदापाउँदै पनि यो शासनको पतन कुन प्रतिपक्षले चाहला,किन चाहला –सामन्त सोच्न पनि सक्दैन ।

प्रतिपक्ष भरपर्दो छ ।

बरु इन्द्र भरपर्दो छैन ।

अनिर्वाण भाग्नेछ । अनिर्वाण मौन रहनेछ । कालीको समाचार साँचो होइन भनी इन्द्र किन शङ्का गरिरहन्छ ?

यहाँ पटकपटक आउनु परिरहन्छ । अलिदिन आइएन भने त जोधाहा बदमास इन्द्रले यस्तो झमेला खडा गरिदिन्छ कि कलकत्ताबाट दौडादौड गर्दै यहाँ आइपुग्नु पर्ने हुन्छ । भोट माग्नका लागि त सामन्त सबै ठाउँमा जान्छ नै तर अनिकालका बेलामा,बाढीका बेलामा पनि इन्द्रले उसलाई यहाँ आउन बाध्य पारिदिने गर्दछ ।

गधालाई ‘काली साँतरा’ बनाइदिन पनि सम्भव छैन । जनतामा उसको छवि राम्रो छ ।

सामन्त यही समस्याले पीडित थियो र त्यसैबेला माथिबाट आदेश आयो कि द्वैपायन सरकार शोधको सिलसिलामा जागुला आउँदैछन् । कुनै विश्वसनीय पार्टी कार्यकर्ता साथ लगाएर उहाँलाई गाउँगाउँ पठाउनु पर्नेछ । कार्यकर्ता विश्वासिलो हुनुपर्नेछ ।

निकै भाँडभैलो मच्चाइरहेको इन्द्र प्रामाणिकलाई ठेगान लगाउन सकिने एकदम उपयुक्त अवसर यही हो भन्ने ठानेर सामन्त एकदम खुसी भयो ।

(क्रमशः)

प्रतिक्रिया
Loading...