कथा पढ्नुअघि

समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।

यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।

अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।

डा. बलराम अर्याल

::२::

नाक

कलेजियट असेसर कभाल्योफ बिहान सखारै बिउँझियो र ओठले “बरर …” गर्‍यो– जो ऊ सधैँ गर्थ्यो उठ्दाखेरि, यद्यपि ऊ आफैँ सुझाउन सकिरहेको थिएन, के कारणले हो भनेर । कभाल्योफ यसो लम्कियो, आफैँलाई आदेश दियो टेबुलमाथि भएको एउटा सानो ऐना उसलाई दिनको लागि । ऊ फोको एकछिन हेर्न चाहन्थ्यो, जो पछिल्लो रात उसको नाकमा निस्किएको थियो, तर, महान आश्चर्य त के भयो भने, नाकको सट्टामा उसले पूरापुर सम्म ठाउँ देख्यो ! डराएर उसले अलिकति पानी मगायो र तौलियाले आफ्नो मुख पुछ्योः साँच्चै हो, नाक त छैन ! उसले हातले छामछुम गर्न लाग्योः कहीँ निद्रामा त छैनँ भनेर । लाग्छ, सुतिरहेको छैनँ । कलेजियट असेसर बिछ्यौनाबाट जुरूक्क उठ्यो, झट्कारियोः नाक छैन ! … उसले आफूलाई लुगा लगाउने आदेश दियो, अनि सिधै पुलिस कमिशनर भएतिर हान्नियो ।
यसैबीच कभाल्योफको बारेमा केही भन्नु पर्ने छ, पाठकले देख्न सकोस्, कस्तो किसिमको मान्छे हो कलेजियट असेसर भनेर । कलेजियट असेसरहरूलाई जो विद्योपार्जनका प्रमाणपत्रहरूबाट यो उपाधि पाउँछन्, कसैगरी पनि दाँज्न सकिँदैन उनीहरूसँग जो ककेसमा बनेका थिए । यी दुबै बिलकूल फरक कोटिहरू हुन् । विद्वान कलेजियट असेसरहरू … । रूस यस्तो अद्भूत भूमि हो, यदि कुनै एक कलेजियट असेसरबारे भनिहाल्यौ भने, सबैजना कलेजियट असेसर, रिगादेखि काम्छ्यात्कासम्म, -ले बिलकूल आफ्नै लागि भनेको हो भनेर लिन्छन् । यही नै अरू ओहदा र पदको बारेमा
बुझ । कभाल्योफ ककेसियन कलेजियट असेसर थियो । दुई साल मात्र भएको थियो ऊ यो पदमा आएको र त्यसैले ‍एक मिनेट पनि ऊ यो ओहदालाई बिर्सन सक्थेन; अनि आफूलाई बढी रोब र वज दिनको लागि ऊ आफूलाई कलेजियट असेसर भन्थेन, बरू सधैँ मेजर भन्थ्यो ।“सुन त, प्यारी, – भन्थ्यो ऊ साधारणतः, सडकमा कमिज बेच्नेवाली भेटेपछि, – तिमी मकहाँ घरमा आऊ न, मेरो आपार्टमेन्ट सादोभयामा छ; सोध मात्रः मेजर कभाल्योफ कहाँ बस्छ भनेर ? तिमीलाई जो – कोहीले भनिदिन्छ” । यदि उसले कुनै सुन्दर लड्की देख्यो भने गोप्य आदेश समेत दिन्थ्यो, अनि थप्थ्यो, “तिमी सोध है, मेरी आत्मा, मेजर कभाल्योफको आपार्ट्मेन्ट” । यसै कारणले, उप्रान्त हामी यो कलेजियट असेसरलाई मेजर भन्ने छौँ ।
मेजर कभाल्योफको हर रोज नेफ्स्कीइ एभेन्युमा डुल्ने बानी थियो । उसको कमिजको कठालो हमेसा असाधारण किसिमले सफा र माड लगाइको हुन्थ्यो । उसका गाला-जुँघा यस्तो ढङ्गको थियो कि, जो अहिले पनि प्रान्तीय र जिल्ला स्तरीय सर्भेयरहरू, वास्तुकलाविद्हरू, सेनाकाका डाक्टरहरू, त्यस्तै हर–तरहका पुलिसी जिम्मेदारीहरू निर्बाह गर्नेहरू र साधारणतः ती सब सज्जनहरूको देख्न सकिन्छ, जसका भरिला र राता–राता गालाहरू हुन्छन्, अनि एकदम राम्रोसँग बोष्टन खेल्छन् : यी गाला-जुँघाहरू गालाको ठीक बीचसम्म गएका हुन्छन् र सिधा नाकसँग जोडिएका हुन्छन् । मेजर कभाल्योफले थुप्रै कार्नेलियन प्रिन्ट्हरू लगाउँथ्यो, जसमध्येमा केहीमा ताज पनि बनेको हुन्थ्यो, केहीमा वारका नामहरू बुधवार, बिहीवार, सोमवार, आदि समेत खुँदिएका हुन्थे । मेजर कभाल्योफ पिटर्स्बरगमा आवश्यकताले नै आएको थियो, विशेषतः आफ्नो ओहदालाई मिल्ने ठाउँ खोज्नको लागिः भाग्यले साथ दिएमा उप–गभर्नरको, नभए कुनै प्रतिष्ठित डिपार्ट्मेन्टमा प्रशासकको काम । मेजर कभाल्योफलाई विवाह गर्नु पनि आपत्ति थिएन, तर त्यस्तो अवस्थामा मात्र, यदि दुलहीसँग दुई लाख पुंजी भयो भने । यसैले पाठक आफैँले फैसला गर्न सक्छ, यो मेजरको अवस्था कस्तो भयो होला भनेर, जब उसले बिलकूल राम्रो र मध्यम नाकको सट्टामा एउटा अति मूर्खत्तर, सम्म र चिल्लो ठाउँ देखेको थियो ।
दुःखमा जस्तै सडकमा कुनै पनि घोडा –गाडी देखापरिरहेको थिएन, अनि उसले पैदलै हिँड्नु परिरहेको थियो, आफ्नो लामो कोटले लपेटिएर र हाते रूमालले मुख छोपेरै, यस्तो देखाउँदै, मानौँ उसको रगत बगिरहेको छ । “तर हुन सक्छ, मलाई त्यस्तो लागेको होः हुनै सक्दैन, नाक गायब भएको होस् मूर्खतापूर्वक”, सोच्यो उसले र जानाजान एउटा कनफेक्शनरी पसलमा पस्यो, ऐना हेर्न भनेर । सौभाग्यवस, कनफेक्शनरी पसलमा कोही थिएन, केटाहरू भुईँ पुछ्दै थिए, कुर्सीहरू मिलाएर राख्दै थिए; केही चाहिँ निद्राकै आँखामा किस्तीहरूमा तात्-ताता पिराश्की निकाल्दै थिए; कुर्सीहरू र टेबुलहरूमा अघिल्लो दिन कफी पोखिएका पत्र–पत्रिकाहरू पडिरहेका थिए यत्र–तत्र । “हे भगवान, यहाँ कोही पनि रहेनछ, – उच्चारण गर्‍यो उसले, – अब चाहिँ हेर्न सकिन्छ” । ऊ डराउँदै – डराउँदै ऐनातिर गयो र हेर्‍यो – शैतान जानोस् के भएको हो भनेर, कस्तो रद्दी वस्तु ! – उच्चारण गर्‍यो उसले, थुकेर । यद्यपि नाकको सट्टामा केही त हुनु पर्थ्यो, ठीकै
हुन्थ्यो ! …”
निराशाले ओठ टोकेर ऊ कन्फेक्सनरी पसलबाट बाहिरियो, आफ्नो बानी – बेहोराको ठीक विपरीत, कसैतिर पनि नहेर्ने र कसैप्रति पनि नमुसकुराउने, निधो गर्‍यो । एक्कासी ऊ एउटा घरको ढोकानिर ठूटो झैँ भयो; उसका आँखामा वयानै गर्न नसकिने दृश्य देखा पर्‍योः ढोकै अगाडि बग्गी खडा भयो; ढोकाहरू खुले, भुद्रुक्क झरे एकजना वर्दीवाला महोदय अलिकति निहुरिएर, अनि माथितिर दगुरे सिढीँ हुँदै । कभाल्योफको सन्त्रास कस्तो भयो हो, अनि सँगसँगै विस्मय पनि, जब उसले चिन्यो उसको आफ्नै नाकलाई ! यो साधारण दृश्यमा, उसलाई लाग्यो, सब फनफनी घुमिरहेको थियो उसको आँखामा, उसले अनुभूत गर्‍यो, ऊ बल्ल–तल्ल उभिन सकिरहेको छ, पूरापुर काम्दै ज्वर आउँदाखेरि जस्तै, तर आँट गर्‍यो जस्तो–जेसुकै किन नहोओस् ऊ बग्गीमा फिर्ता आएको हेर्न पर्खिने छ । दुई मिनेटपछि नाक साँच्चै बाहिरियो । उसले सख्त र उच्च कठालोको सुनौलो झाँजरवाला वर्दी लगाएको थियो, उसमा स्वेड पतलुङ् र साइडमा तरवार थिए । टोपको प्वाँखअनुसार फैसला गर्न सकिन्थ्यो, ऊ स्टेट काउन्सिलरको तहमा गनिन्थ्यो
भनेर । सब चाल -ढालअनुसार सङ्केत गर्न सकिन्थ्यो कि ऊ कसैलाई भेट्न जाँदै थियो । उसले दुबैतिर यसो हेर्‍यो, बग्गीवालातिर करायो, -“ यता आइज !” – बस्यो र गइहाल्यो ।
विचरा कभाल्योफ, झण्डै होश हराएको । उसलाई थाहै भएन, त्यस्तो घटना हुँदा कसरी सोच्ने भनेर । कसरी हुन सक्ला, यस्तो स्थितिमा, कि नाक जो हिजोसम्म मात्रै उसको अनुहारमा थियो, अनि न गाडीमा हिड्न सक्थ्यो न पैदलै डुल्न सक्थ्यो, – वर्दीमा थियो ! ऊ बग्गीको पछिपछि दगुर्‍यो, जो सौभाग्यवश त्यति टाढा पुगेको थिएन, काजान गिर्जाघर सामु खडा थियो ।
ऊ हतार – हतार गरेर गिर्जाघर भित्र पस्यो, दुईवटा स –साना प्वालहरू राखेर अनुहारमा कपडा लपेटेका केही बूढियाहरू, जसमाथि खूब हाँस्थ्यो पहिले, भएतिर घुस्यो, अनि चर्चभित्र पस्यो । उपासकहरू चर्चभित्र खासै धेरै थिएनन्; उनीहरू सबैजना प्रवेश द्वारनिर मात्र उभिएका थिए । कभाल्योफले त्यस्तो निराशाको अवस्थामा अनुभूत गर्‍यो कि ऊ प्रार्थना गर्न सक्ने शक्तिमा थिएन; र सबै कुनातिर आँखा दौडाएर यी महाशयलाई खोज्यो । अन्ततः उसले यो महोदयलाई एउटा छेउमा उभिएको देख्यो । नाक महोदयले आफ्नो अनुहार पूरापुर आफ्नो उचो कठालोभित्र लुकाएको थियो र असीम भक्ति – भावले प्रार्थना गर्दै थियो ।
“कसरी जाने होला उनीकहाँ ?” – सोच्यो कभाल्योफले । उनको वर्दी, टोपबाट लाग्थ्यो कि उनी स्टेट काउनसिलर हुन् । “शैतान जानोस, यो कसरी गर्ने भनेर !”
उसले उनको नजिकै खोक्न लाग्यो, तर नाक महोदयले एक छिन पनि आफ्नो ऐश्वरीय अवस्था छोडेन, र निहुरी–निहुरीकन शीर झुकाउँदै रह्यो ।
– दयावान प्रभो, – कभाल्योफले भन्यो भित्र – भित्र आफूलाई साहस बटुल्दै ।
– मलाई डर लागेको छ, दयावान प्रभो … मलाई लाग्छ … तपाईँले आफ्नो ठाउँ
थाहा पाउनै पर्छ । अनि अचानक म तपाईँलाई फेला पार्दै छु, त्यो पनि कहाँ ? – चर्चमा । सहमत हुनुहोस् … । मलाई माफ गर्नुहोला, मैले कुनै तुकको कुरा बुझिरहेको छैनँ, तपाईँले के मर्जी हुँदै छ भनेर … । बुझाइदिनुहोस् न … ।
“म उनलाई कसरी संझाऊँ ?” – सोच्यो कभाल्योफले, अनि शुरू गर्‍यो आत्मबल बलियो बनाएरः
– निश्चय नै म, अँ, म मेजर हुँ । मलाई नाकबिना हिंड् –डुल गर्नु, मान्नुहोस्,
शोभनीय होइन । कुनै बेच्नेवाली, जो भस्क्रिसेन्स्कीइ पुलमा बसेर सफा गरेका सुन्तलाहरू बेच्छे, नाकबिना पनि बस्नु हुन्छ, तर, केही पाउने सन्दर्भमा, त्यसमा पनि निकै घरहरूका भद्र महिलाहरूः स्टेट काउन्सिलर चिख्तार्‍योभा, र अन्य भद्र महिलाहरू …सँग परिचित छु । तपाईँ आफैँ फैसला गर्नुहोस् … मलाई थाहा भएन, दयावान प्रभु (यसो भनिरहँदा मेजर कभाल्योफले कुम हल्लायो) । माफ गर्नुहोस् …यसमा इज्जत र कर्त्तव्यका नियमले हेर्ने हो भने … तपाईँ आफैँले बुझ्न सक्नुहुन्छ … ।
– मैले राम्रोसँग बुझिरहेको छैनँ, – नाकले उत्तर दिँदै भन्यो । बुझिने गरी भन्नुहोस् न
सन्तोषपूर्वक रूपले ।
– दयावान प्रभु …, – भन्यो कभाल्योफले बढी गरिमासाथ, मैले बुझिरहेको छैनँ,
तपाईँले भन्नुभएका कुराहरू … । यहाँ सब काम – कुरा, मलाई लाग्छ, बिलकूल स्पष्ट छ …। वा तपाईँ चाहनुहुन्छ कि … तपाईँ त मेरो आफ्नै नाक हो नि !
नाकले मेजरतिर हेर्‍यो, अनि उसका आँखिभौँ केही खुम्चिए ।
– तपाईँ भूल गर्दै हुनुहुन्छ, दयासागर प्रभु । म स्वयम हुँ । त्यसमा पनि हामी बीचमा
कुनै निकटतम संबन्ध छैन । तपाईँको वर्दीका टाँकहरू देख्दाखेरि लाग्छ, तपाईँले कुनै अर्कै विभागमा काम गर्नु पर्छ ।
यति भनेर नाक फरक्क फर्कियो र प्रार्थना गर्न जारी राख्यो ।
कभाल्योफ पूर्णतः अलमलमा पर्‍यो, के गर्ने अनि के सोच्ने समेत मेसो नपाएर । यही बेलामा महिलाको पोशाकको सरसराहट स्वाट्ट सुनियो; केही पाको उमेरकी एकजना महिला उसको निकट आइन्, पूरापुर सजिसाजाउकी, अनि उनीसँग थिइन् एउटी दुब्ली – पातली युवती, सेतो लिबासमा, जो उनको सुगठित कमरमा ट्याप्प मिलेको थियो; अनि पहेँलो रङ्गको, पिरोझ्नये/स्पन्ज् केक जस्तै हल्का, ह्याटमा । उनीहरूको पछाडि ठूल्ठूला गाला–जुँघा र गर्दन-भर कठालाहरू भएको एक जना अर्दली टक्क अडियो र नसवारको डिब्बा खोल्न लाग्यो ।
कभाल्योफ सट्ट केही नजिक आयो, कमेजको क्यम्ब्रिक कलर माथि उठायो, सुनौलो सिक्रीमा झुण्डिएको आफ्ना पञ्जा सर्‍यायो, यता-उता हेरेर मुस्कुराउँदै आफ्नो ध्यान बढायो एउटी कोमलाङ्गी युवतीतिर, जो वसन्तका फूलको थूँगा जस्तै हल्का निहुरिएकी थिइन्, अर्धपारदर्शी औँलाहरूसहितको आफ्नो सेतो हातलाई निधारतिर लगेकी थिइन् । कभाल्योफको अनुहारमा मुस्कान अरू फैलिएर गयो, जब उसले देख्यो ह्याटभित्रबाट उनको गोलो र सफा सेतो चिउँडो, अनि वसन्तको पहिलो गुलाफको रङ्ले निलो बनाएको जस्तै गाला । अचानक ऊ पछाडि हट्यो कुनै तातो वस्तुले पोले सरी । उसलाई याद आयो, उसको नाकको सट्टामा केही पनि छैन भनेर, अनि उसका आँखाबाट तरक्क आँशू झरे । ऊ फरक्क फर्कियो वर्दीवाला महोदयलाई भन्न भनेर, कि उसले स्टेट काउन्सिलर हुनुको ढोंग गरिरहेको छ, ऊ सरासर जाली र फटाहा हो, अनि अरू केही होइन ऊ उसको आफ्नै निजी नाक भन्दा बढी …। तर नाक थिएन त्यहाँ; ऊ भाग्न भ्याइसकेको थियो, संभवतः कसैलाई भेट्न भनेर ।
यसले कभाल्योभलाई निराश बनायो । ऊ पछाडि फर्कियो र एक मिनेट कोलोन्नेडमुनि उभियो, बडो बिस्तृत रूपमा सबैतिर हेर्दै कहीं – कतै नाक फेला पर्छ कि भनेर । उसलाई राम्रोसँग के संझना थियो भने उसमा भएको टोप प्वाँखवाला थियो र वर्दी चाहिँ सुनौलो सिउनीको थियो; तर उसले उसको वर्दी – कोट संझेन, न त संझियो उसको बग्गीको रङ्, न त घोडा नै, त्यस्तै त्यो पनि कि उसको पछाडि कुनै अर्दली थियो वा थिएन, थियो नै भने पनि कुन रङ्गको वर्दी लगाएको थियो भनेर । त्यसमा पनि कि बग्गीहरू यति धेरै यताउति गर्दैथिए, र यति छिटो गर्दै थिए कि चिनिहाल्नु पनि गाह्रै थियो; तर यदि उसले चिन्न भ्याइहालेको भए पनि रोक्ने कुनै साधन थिएन उसमा । दिन शानदार र घमाइलो थियो । नेफ्स्की (एभेन्यु) मा मान्छे खचाखच थिए; पैदल बाटोभरि पूरापुर फूलको झरना जस्तै महिलाहरू वैरिएका थिए, पालिचेस्की देखि आनिछ्कीन पुलसम्म । उ, उसको परिचित अदालती सल्लाहकार पनि आउँदै छ, जसलाई ऊ लेफ्टिनेन्ट कर्नेल भनेर बोलाउँथ्यो, खास गरेर अरू मानिसहरूको सामुन्ने । उ यारिगीन, सिनेटको विभागीय प्रमुख, एउटा ठूलो मित्र, जो सदा नै बोस्टनमा हार्ने गर्थ्यो, आठको दाउमा खेल्दाखेरि । उ अर्को मेजर, जसले ककेससमा असेसरी पाएको थियो, हात हल्लाउँदै छ ऊतिर आओस् भनेर … ।
– अरे शैतान ! – भन्यो कभाल्योफले । ए कोचवाला, मलाई सिधै पुलिस कमिश्नरकहाँ लैजाऊ त !
– कभाल्योफ बग्गीमा चढ्यो र कोचवालाप्रति कराउँदै मात्र रह्योः “पूरापुर इभानभतिर लैजाऊ !” (= भगाऊ, छिटो गर !)
– कमिश्नर साहेब घरमा हुनुहुन्छ ? – करायो ऊ ड्योंढीमा पुगेपछि ।
– हुनुहुन्न, – उत्तर गर्‍यो पालेले, – भर्खरै मात्र बाहिर निस्किनुभयो ।
– यी तैँले खाइस् नि !
– अँ, थप्यो पालेले, उहाँ त्यति अगाडि त होइन, तर गइसक्नुभयो । एक मिनेट मात्र पनि चाँडै आउनुभएको भए घरमा फेला पार्नु हुन्थ्यो होला । कभाल्योफ, मुखबाट हाते रूमाल ननिकालिकनै बग्गीमा बस्यो र निराश स्वरले कराउन थाल्योः हिंड् !
– कता ? – भन्यो बग्गीवालाले ।
– सिधा हिंड् !
– कसरी सिधा ? यहाँ मोडछः दायाँ कि वायाँ ?
– यो प्रश्नले कभाल्योफलाई रोकिदियो र पुनः सोच्न बाध्य बनायो । उसको यो अवस्थामा त सर्वप्रथम सार्वजनिक निकायतिर लाग्नु पर्ने थियो उसले, तर यस –उसले होइन कि यसको सिधा सम्बन्ध पुलिससँग थियो, बरू यस उसले कि यसको तोक–आदेश छिटो सुन्न सक्थ्यो, अरू ठाहँहरूमा भन्दा; त्यो ठाउँ, जहाँ नाकले आफू कर्मचारी भएको घोषणा गरेको थियो, -का अधिकारीबाट सन्तोषजनक जवाफ पाउन खोज्नु कुनै तुक थिएन, किनकि नाक स्वयमका उत्तरहरूबाट देख्न सकिन्थ्यो कि यो मान्छेको लागि पवित्र भन्ने कुरा केही पनि थिएन, अनि यो घटनामा पनि ऊ झूट् बोल्न सक्थ्यो, जसरी झूटो बोलेको थियो, विश्वस्थ पार्दै उसले, उसँग कहिल्यै भेट भएको थिएन उसको भनेर । यसरी, कभाल्योफले झण्डै सार्वजनिक निकायतिर जाने आदेश दिन चाहेको थियो, जसै उसलाई एउटा विचार आयो, लुच्चो र छट्टू, जसले पहिलो भेटमा नै यस्तो अशोभनीय ढङ्गबाट व्यबहार गरेको थियो, पुनः सजिलैसँग शहरबाट फुत्किन सक्थ्यो, समयको उपयोग गरेर – त्यतिखेर सबै खोजी कार्यहरू व्यर्थै हुन्थे वा भगवानले रक्षा गरून्, महिना भरि नै जारी रहन सक्यो । अन्त्यमा, उसलाई लाग्यो, पूरा आकाशले नै उसलाई स्मरण गराइदियो । उसले सिधै अखबार गृहतिर जाने र समयभित्रै पूरापुर आधार रहेका सारा विशेषताहरूको बयानसहितको सूचना प्रकाशित गर्ने निधो गर्‍यो, ताकि जो कोही, यदि कसैले उसलाई देख्यो भने तत्क्षण ऊसामु पेश गर्न सकोस्, वा कमसे कम, ऊ भएको ठाउँबारे थाहा दिन सकोस् । यसरी, यसै गर्ने निधो गरेर उसले बग्गी – चालकलाई पत्रिकाको कार्यालयतिर जान आदेश दियो, अनि बाटोभरि नै कराउँदै – चिच्याउँदै उसको पीठ्यूभरि नै मुक्का बजार्दै रह्यो, “छिटो हिंड् बदमाश !” ,”छिटो चला लुच्चो !” भन्दै । “उफ, साहेब !” – भन्थ्यो बग्गी – चालक, हल्लाउँदै आफ्नो टाउको र झट्कार्दै लगामले आफ्नो घोडालाई, जसमा रौँहरू ल्याप-डगका जस्तै लामा–लामा थिए । आखिरमा बग्गी रोकियो, कभाल्योफ लामो–लामो सास फेर्दै एउटा सानो रिसेप्शन कोठाभित्र पस्यो, जहाँ पुरानो टेल–कोट र चस्मा लगाएको र सेतै फुलेको एकजना कारिन्दा मेचको सामु
बसिरहेको थियो, र ओठमा कलम टोकेर गन्दै थियो कतैबाट ल्याएर राखिदिएको तामाका सिक्काहरू ।
– यहाँ विज्ञापन कसले लिन्छ ? – कराएर सोध्यो कभाल्योफले । अँ, नमस्कार
छ है !
– मेरो सलाम छ ! –सेतै फुलेका कपालवाला कारिन्दाले भन्यो, एकछिनको लागि आँखा उठाएर र तुरुन्तै पुनः छरिएका पैसाका थुप्रोतिर आँखा झार्दै ।
– म छपाउन चाहन्छु … ।
– आज्ञा होस् । एक छिन बिलम्ब गर्नुहोस्, – कारिन्दाले उच्चारण गर्‍यो, एउटा
हातले कागतमा अङ्कलेख्दै र देब्रे हातका औँलाले हिसाब गर्ने मेशिनका दुईवटा गोटी सार्दै ।
एकजना अर्दली, जो झल्लरी कोट र आउटरमा सजिएको थियो, अनि देखिन्थ्यो ऊ कुनै सम्भ्रान्त परिवारसँग रहेको कुरा, टेबुलको आडमा उभिएको थियो, हातमा एउटा चिटकरो लिएर; आफ्नो साहस देखाउनु शोभनीय ठान्यो र भन्योः
– पत्याउनुहुन्छ कि पत्याउनुहुन्न, महाशय, एउटा फुच्चे कुकुरको आठ ग्रिभ्न्या (मौद्रिक एकाइ) पनि पर्दैन, मतलब म भए त्यसलाई आठ पेनी पनि दिने थिइनँ, तर काउन्टेस् उसलाई माया गर्छिन्, हे भगवान, माया गर्छिन्, – यी, जसले त्यसलाई फेला पार्छ, उसलाई एक सय रूबल ! मर्यादाअनुसारकै कुरा गर्ने हो भने, यी, यस्तै अहिले तपाईँ हामी जस्तै, मान्छेका स्वाद बिल्कूल नमिल्नेः (आफू) शिकारी हुँदाखेरि शिकारी कुकुर वा पूडल पाल; पाँच सयको लोभ नगर, बरू कुकुर राम्रो होस् ।
कारिन्दा महोदय उसलाई बहुतै ध्यान दिएर सुन्दै थियो र सँगसँगै इस्टिमेट्मा पनि लागेको थियोः ल्याइएको चिटकरोमा कतिवटा अक्षरहरू छन् । उसका चारैतिर चिटकराहरू लिएका थुप्रै बूढियाहरू, सौदागरहरू र बन्धक चौकीदारहरू उभिएका थिए । एउटामा अङ्कित थियोः रक्सी नपिउने एकजना बग्गी – चालक चाहियो भनेर, अर्कोमा – कमै मर्मत – संभार गरिएको सन् १८१४ मा फ्रान्सबाट आयात गरिएको प्र्याम; लुगा धुने काममा अभ्यासरत, अरू कामको लागि पनि उपयोगी, नौ वर्षकी बन्धक केटी चाहिएकी छे; एउटा स्प्रिङ्ग नभएको मजबुत गाडा; खेरो सेतो १७ वर्षे जवान घोडा; लण्डनबाट मगाइएको मूला र सलगमका नयाँ वीउ; सबै सुबिधाहरूसहितको दाछ्याः घोडाको लागि दुईवटा तबेला, जहाँ सुन्दत्तर बर्च र फरको वगैँचा बनाउने ठाउँ छ; त्यहीँ जुत्ताका पुराना तलुवाहरू किन्न चाहनेहरूका लागि आह्वान थियो, हरेक दिन आठ बजेदेखि विहान चार बजेसम्म हुने पुनर्बिक्रीको निम्तासहितको । कोठा, जहाँ यो सब समाज अटेको थियो, सानो थियो, र त्यहाँ हावा असामान्य रूपले बाक्लो थियो । कलेजियट असेसर कभाल्योफ गन्ध सुन्न सक्थेन किनकि ऊ रूमालले बन्द थियो, अनि किनकि नाक चाहिँ उसको, भगवान जाने, कुन कुन ठाउँमा अवस्थित थियो ।
– दयावान प्रभु, विन्ति गर्न पाऊँ … । मलाई एकदम चाहिएको छ, – भन्यो उसले अन्ततः अधीर भएर ।
– अहिले, अहिल्यै ! दुई रूबल त्रि चालिस कापेइका ! एक छिन ! एक रूबल
चौसट्ठी कापेइका ! –बोल्यो सेतै फुलेको महाशय, बूढियाहरू र पालेहरूलाई आँखैमा चिट्करो फाल्दै । – तपाईँलाई के चाहियो नि ? – अन्ततः भन्यो उसले, कभाल्योफतिर हेर्दै ।
– म विन्ती गर्छु … – भन्यो कभाल्योफले, – ठगी वा छट्टुपना घटेको छ, मैले अहिलेसम्म जान्न सकिरहेको छैनँ । म के मात्र छापिदिन आग्रह गर्छु भने जसले यो निचलाई मसामु प्रस्तुत गर्ला, उसले पर्याप्त इनाम पाउने छ ।
– म थाहा पाऊँ न, तपाईँको थर के हो भनेर ?
– पर्दैन, किन चाहियो थर ? मैले यो भन्नु हुँदैन । मेरा धेरै जान- पहिचानहरू छन् : चिख्तारेभा, स्टेट् काउन्सिलर; पलागेया ग्रिगोरियेभ्ना पात्तोछिना, स्टाफ–अफिसर …। अचानक थाहा पाउलान्, भगवानले रक्षा गरून् ! तपाईँले साधारण रूपले लेखे हुन्छः कलेजियट असेसर, वा त्यो भन्दा राम्रो, मेजर पदमा बहाल रहेको ।
– त्यो भाग्ने मान्छे तपाईँको बन्धक नोकर थियो ?
– केको बन्धक नोकर ? यो त्यति ठूलो ठगी हुन्थेन ! मबाटै भाग्यो … नाक …।
– हअँ ! कस्तो अचम्मको थर ! अनि ठूलै रकममा यो नोसफ् मयोदयले तपाईँलाई
चोर्‍यो ?
– नाक होइन के … तपाईँ ठीक सोचिरहनुभएको छैन ! नाक, मेरो आफ्नै नाक हरायो, थाहा छैन कहाँ गयो ? शैतानले ममाथि ठट्टा गर्न चाहेको !
– अँ के गरेर हरायो त ? मैले के हो त राम्रोसँग बुझ्न सकिरहेको छैनँ ।
– अँ, म तपाईँलाई भन्न सक्दिनँ, कसरी हरायो भनेर, तर मुख्य कुरा, ऊ शहरभरि
यता –उता सवार भइरहेको छ र ऊ आफूलाई स्टेट काउन्सिर हुँ भन्छ । त्यसैले म तपाईँलाई सूचित गर्न आग्रह गर्दछु, पक्रिनेले जति सक्यो चाँडो मसामु पेश गरोस् भनेर । तपाईँ आफैँ सोच्नुहोस्, म कसरी रहने शरीरको त्यस्तो थाहा हुने भागबिना ? यस्तो होइन कि मेरो खुट्टाको कुनै औँला काटिएको हो, जसलाई म जुत्ताभित्र राखूँला – अनि कसैले देख्ने छैन, त्यो छैन भने पनि । म विहिबार – बिहीबार स्टेट काउन्सिलर चिख्तारेभा, स्टाफ आफिसर पलागेया ग्रिगोरियेभ्ना पात्तोछिनाकहाँ जाने गर्छु, उनकी छोरी एकदम असल छिन्, साथीहरू पनि राम्रा छन्, अनि तपाईँ आफैँ सोच्नुहोस्, मैले अब कसरी …। मलाई अब उनीहरूकहाँ मुख देखाउनु पनि हुँदैन ।
कारिन्दा सोच –मग्न भयो, जुन उसका कस्सिएका ओठले स्पष्ट देखाउँथे ।
– अहँ, म यस्तो विज्ञापन पत्रिकामा छाप्न सक्दिनँ, – उसले भन्यो
अन्ततः लामो समयको चूप –चापपछि ।
– कसरी ? के कारणले ?
– त्यसै । पत्रिकाले आफ्नो रिपुटेशन गुमाउन सक्छ । यदि सबले उसको नाक भाग्यो भनेर लेख्न थाल्यो भने … । यसै त भन्ने गर्दछन्, धेरै असङ्गत र झूठा हल्लाहरू छापिन्छन् भनेर ।
– अँ के कारणले यो कुरा असङ्गत भयो त ? यहाँ लाग्छ, त्यस्तो केही छैन ।
– यो तपाईँलाई लाग्छ, छैन भनेर । अँ, गएको हप्ता यस्तो घटना भएको थियो ।
अचानक एकजना कर्मचारी आयो, जसरी अहिले तपाईँ आउनुभएको छ, उसले एउटा चिटकरो ल्याएको थियो; हिसाब गर्दा दुई रूबल त्रिहत्तर कापेइका पर्‍यो छपाउनको लागि, अनि सब सूचना कालो रौँको पुडल कुकुर भाग्यो भन्ने थियो । लाग्छ, त्यहाँ त्यस्तो के छ र ? तर निस्कियो एउटा निन्दा – लेखः यो पुडल त क्यशियर पो रहेछ, संझना छैन कुन संस्थाको चाहिँ हो ।
तर मैले पुडलको बारेमा सूचना छपाइरहेको छैनँ नि, बरू आफ्नै नाकको बारेमा पो तः मतलब, करिब करिब आफ्नै बारेमा हो यो ।
– तर म यस्तो सूचनालाई कसैगरी पनि ठाउँ दिन सक्दिनँ ।
– अँ, जब मेरो नाक गायब पक्का भएको छ !
– हराएको हो भने, यो त चिकित्सकको काम भयो । भन्छन्, त्यस्ता मानिसहरू छन्,
जो जुन–सुकै नाक पनि जोड्न सक्छन् । तर, यद्यपि, मलाई लागिरहेको छ, तपाईँ रमाइलो स्वभाबको मानिस हुनुहुन्छ अनि समाजमा हँसी – मजाक गर्न रुचाउनुहुन्छ ।
– कसम खान्छु तपाईँसामु, भगवान पवित्र हुनुहुन्छ भनेर ! अँ, कुरा त्यहाँसम्मै पुगेको हो भने, म तपाईँलाई देखाइदिन्छु ।
– किन चिन्ता गर्ने ? – भन्दै रह्यो कारिन्दाले, नाकले सुर्ती सुँघ्दै ।
– तथापि, यदि यसले कुनै दुःख – कष्ट दिँदैन भने, – थप्यो उसले एउटा जिज्ञासाको भावमा, – यसो हेर्नु वाञ्छनीय नै हुन्थ्यो ।
कलेजियट असेसरले अनुहारबाट रूमाल हटायो ।
– वास्तबमा नै असाधारण रूपले चकित किसिमको ! – भन्यो कारिन्दाले, – ठाऊँ त पूरापुर चिल्लो छ, भर्खरै पकाएको ब्लिन् – रोटी जस्तै । अँ, असम्भवकै हदसम्म चिल्लो !
अँ, अब पनि तपाईँ विवाद गर्नुहुन्छ ? तपाईँ खूद देख्दै हुनुहुन्छ, नछापिहुँदैन सूचना । म यहाँप्रति विशेष कृतज्ञ हुने छु; एकदम खुशी पनि छु, यही घटनाले तपाईँसँग परिचय गर्ने सौभाग्य मलाई दियो भनेर …।
यसबाट जो देखियो, मेजरले यो पटक अलिकति खुशामद गर्ने निधो गर्‍यो ।
– छाप्ने काम त, निश्चय नै ठूलो होइन, – कारिन्दाले भन्यो, – तर मैले देखिरहेको छैनँ तपाईँको लागि कुनै लाभ । तपाईँ चाहनुहुन्छ भने, उसलाई दिनुहोस् जो शब्दसँग खेल्न जान्दछ, यसलाई प्रकृतिको दूर्लभ कृतिको रूपमा ब्याख्या गर्न, अनि यो लेखलाई “उत्तरी माहुरीहरू” पत्रिकमा छपाइदिने (यसैबीचमा उसले नसवार लियो) किशोरहरूको प्रयोजनको लागि (यतिखेर उसले नाक पुछ्यो) वा, यसै आम जिज्ञासाको लागि ।
कलेजियट असेसर पूरापुर निराश भयो । उसले आफ्ना आँखा पत्रिकाको पुछारतिर निहुरायो, जहाँ नाटकको बारेमा सूचना थियो; उसको अनुहार हाँस्नको लागि तम्तयार थियो, स्वयममा राम्री परिचित अभिनेतृको नाम भेटेर, अनि उसको हात खल्तीतिर लाग्योः उसँग नीलो (पाँच रूबल) नोट छ कि छैन भनेर, किनकि स्टाफ आफिसरहरूले, कभाल्योफको विचारमा, आराम – कुर्सीमा बस्नु पर्छ, – तर नाक बारेको सोचाइले सब बिगारिदियो !
कारिन्दा स्वयमलाई चाहिँ, लाग्थ्यो, कभाल्योफको कठीन हालतले मन छोएको थियो । थोरै भए पनि उसको दुःखलाई सहज बनाउने चाहना गरेर, उसले आफ्नो सहभागिता व्यक्त गर्न शोभनीय ठान्यो केही शब्दमाः
– मलाई, साँचो कुरा हो, एकदम दुःख लागेको छ, तपाईँसँग यस्तो हँसी –
मजाकको घटना भएको छ तपाईँ सुर्ती सुँघ्न चाहनुहुन्थ्यो कि ? यसले टाउको दुखाइ र निराशाको अवस्थालाई राहत दिन्छ; यो बवासीरमा पनि राम्रो हुन्छ ।
यो भन्दै कारिन्दाले कभाल्योफतर्फ सुर्तीको बट्टा बढायो, बडो होसियरिसाथ ह्याट लगाएकी एक महिलाको तस्वीर भएको बिर्को त्यसको तलतिर लगाएर ।
यो अञ्जानी हरकतले धैर्यताको सिमा नघायो कभाल्योफलाई । म बुझ्दिनँ, तपाईँ कसरी ठट्टाको लागि ठाउँ पाउनुहुन्छ, – भन्यो उसले सहृदयतापूर्वक, – के तपाईँले देखिरहनुभएको छैन, मेरो खासमा त्यही छैन, जसले म सुँघ्न सक्थेँ । भाँडमा जाओस् तपाईँको सुर्ती ! अहिले त्यसतिर हेर्न समेत सक्दिनँ, अनि तर तपाईँको खत्तम बिरिजिन्सकीइतिर मात्र होइन, बरू तपाईँले मलाई उही उत्तम रेपे – सुर्ती नै दिनुभएको किन नहोस् । यति भनिसकेर, ऊ अखबार गृहबाट बाहिर निस्कियो एकदम आजित भएर, अनि एउटा इलाका इन्चार्ज भएतिर सोझियो, जो असाधारण रूपले चिनीको शोखिन थियो । घरमा, उसको अगाडि पट्टीको कोठाभरि, जो भोजनालय पनि थियो, छर्पष्ट चिनीका टुक्राहरू हुन्थे, जो उसलाई व्यापारीहरूले मित्रता स्वरूप कोशेली दिन्थे । भान्से चाहिँ यो बेलामा इलाका इन्चार्जबाट सरकारी बूट–जुत्ता फुकाल्दै थिई, तरवार र सबै सैनिक फौजी ताम–झामहरू बडो शान्तपूर्वक ढङ्गले कोठाका फरक फरक कुनामा झुण्डिएका थिए, अनि डरलाग्दो तीन कुने ह्याट उसको तीन वर्षे बालक चलाउँदै थियो, अनि, ऊ चाहिँ फौजी, अपमानजनक जीवनपछि शान्तिको आनन्द लिन तयार गर्दै थियो ।
कभाल्योफ उसकहाँ त्यस बेला पस्यो, जब ऊ तनक्क तन्किदै थियो, क्याँ–क्याँ गर्दै थियो र भन्दै थियो, “एहे, अब मजाले दुई घण्टा सुत्छु !” यसैले पहिले नै देख्न सकिन्थ्यो कि कलेजियट असेसरको आगमन बिल्कूल ठीक समयमा भएको थिएन । मलाई थाहा भएन, उसले त्यो बेलामा केही पौँड चिया वा कपडा ल्याएको भएतापनि ऊ अति खुशीसाथ स्वागत गरिने थिएन । इलाका इन्चार्ज कला र उद्योगहरू सबको बडो प्रशंसक थियो; तर सरकारी बैंक नोटलाई सबभन्दा बढी प्राथमिकता दिन्थ्यो । “यो चीज हो” सामान्यतः ऊ भन्ने गर्थ्यो, “योभन्दा राम्रो चीज केही छैन”: खान माग्दैन, ठाउँ थोरै ओगट्छ, खल्तीमा सधैँ अट्छ, खसिहाल्यो भने पनि – फुट्दैन ।
इलाका इन्चार्जले कभाल्योफलाई निकै सुखा ढङ्गले भेट दियो, अनि भन्यो, दिउँसोको खानापछि छानवीन गर्ने ठीक समय होइन भनेर; प्रकृति आफैँले तोकेको छ, टन्न खाएपछि केही विश्राम गर्नु पर्छ भनेर (यसबाट कलेजियट असेसरले देख्न सक्थ्यो, प्राचीन ज्ञानीहरूका भनाइ उसलाई थाहा नभएको होइन भनेर), इज्जतदार मान्छेको नाक चुँड्दैनन् भनेर र संसारमा भाँती – भाँतीका मेजरहरू हुन्छन्, जसका अण्डरवेयर ठीक अवस्थामा समेत हुँदैन र किसिम किसिमका बदनाम ठाउँहरूमा जाने गर्छन् ।
मतलब, आँखिभौँमा होइन, सिधै आँखामा ! उल्लेख गर्नु पर्छ, कभाल्योफ असाधारण रूपले दुःख मान्ने मान्छे हो भनेर । ऊ सबै कुराको माफी दिन सक्थ्यो, उसको बारेमा जे जस्तो बोलेतापनि, तर कसैगरी पनि माफी गर्थेन यदि यो पद वा दर्जासँग सम्बन्धित थियो भने । ऊ के समेत ठान्थ्यो भने नाटकका दृश्यहरूमा सबै कुरा छोडिदिन सकिन्छ यदि यो जुनियर आफिसरहरूप्रति सम्बन्धित छ भने, तर स्टाफ आफिसरहरूलाई चाहिँ कसैगरी पनि प्रहार गर्नु हुँदैन । इलाका इन्चार्जको यस्तो स्वागतले उसलाई कस्तो असमन्जस पार्‍यो भने उसले टाउको झट्कार्‍यो र बडो गरिमाको अनुभूतिसाथ आफ्ना हात थोरै हल्लाउँदै भन्योः “मान्दछु, तपाईँको तर्फबाट यस्ता मन दुख्ने संकेतहरूपछि म केही पनि थप्न सक्दिनँ …” र बाहिरियो ।
ऊ घरमा आयो, आफ्ना पद-चापहरू समेत बिरलै सुनिने गरी । झिमझिम साँझ परिसकेको थियो । यी सब ब्यर्थको खोजवीनपछि उसलाई आपार्मेन्ट निराश र असाधारण किसिमले उदास लाग्यो । आपार्टमेन्टको अग्र भागमा पसेपछि उसले आफ्नो अर्दली इभानलाई छालाको दागी सोफामा देख्यो, जो उत्तानो पल्टिएर सिलिङ्तिर थुक्दै थियो निकै सफलतापूर्वक एउटै ठाउँमा निशाना पारेर । मान्छेको यो उपेक्षाले उसलाई रीस उठायो; उसले अर्दलीलाई टोपले मुखै मुखमा दियो, “तँ, सुँगुर, सँधै मूर्ख काम मात्र गर्छस्” भनी चिच्याउँदै ।
इभान झटपट आफ्नो ठाउँबाट उठ्यो र पूरा खुट्टाले / कुदेर मेजरको वर्षादी फुकाल्न पुग्यो ।
आफ्नो कोठामा पसेपछि, थकित अनि उदास मेजर आराम कुर्सीमा थचारियो, अनि, अन्तिममा, केही पटक खुइय गरेपछि भन्योः
“हे भगवान ! हे मेरो भगवान ! केको लागि यो दुःख ? म बिना हात वा खुट्टा भएको भए – यो सब यो भन्दा राम्रो हुँदो हो; कानबिना भएको भए – यो साह्रै नराम्रो हुन्थ्यो, परन्तु सब यो सहन सकिने कुरा होः तर नाकबिनाको मान्छे – थाहा भएन कस्तो हुन्छ भनेरः चरा चरा होइन, मान्छे मान्छे होइनः बस, समात र फाल्देऊ झ्याल बाहिर ! युद्धमा काटिदिएका हुन् वा द्वन्द्व – युद्धमा, वा म आफैँ कारण भएको भए; तर यद्यपि कुनै कारणले, यसै हराएको होइन, सित्तैमा हरायो, एकपैसा पनि परेको हइन ! …तर होइन, यस्तो हुनै सक्दैन”, उसले थप्यो केही सोचेर ।“संभावना नै छैन, नाक गायब होस् भनेर; कसैगरी पनि असंभव । यो साँच्चै हो वा सपना हो, वा यसै दिवा –सपना हो; हुन सक्छ, गल्तीले मैले पानीको सट्टामा पिएँ पो कि भोत्का, जसले म दाह्री बनाएपछि पुछ्ने गर्छु । त्यो बुद्धू इभानले उठाएन, र मैले चाहिँ समातिहालेँ कि त्यो” –उसले रक्सी पक्का पिएको छैन भनेर यकीन गर्नको लागि, उसले यसरी दुख्ने गरी आफूलाई चिमोट्यो कि ऊ आफैँ ऐया भन्दै करायो । यो दुःखाइले उसलाई बिलकूल विश्वस्थ बनायो, ऊ कृयाशील छ र विपनामा नै बाँचिरहेको छ भनेर । ऊ बिस्तारै ऐना नजिक गयो, अनि पहिले आँखा चिम्लियो त्यो विचारले कि उसको नाक आफ्नो ठाउँमा देखियोस् कसरी हो त; तर तत्क्षण ऊ पछाडितिर भुद्रुक्क हट्यो, “कस्तो निन्दापूर्ण दृश्य !” भन्दै ।
यो ठ्याक्कै नबुझिने ढङ्गको थियो । यदि टाँक, चाँदीको चंचा, घडी वा अरू केही यस्तै – उस्तै हराएको भए; – तर हराउने, जसले हराउनै नहुने ? अनि त्यसमा पनि आफ्नै आपार्टमेन्टमा ! …मेजर कभाल्योफले सबै परिस्थितिलाई बुझेर सत्य निकट भएको यो कुराको अन्दाज गर्‍यो कि यसको दोषी अरू कोही नभएर श्टाफ–अफिसर पात्तोछिना हो, जसले ऊ आफ्नी छोरीसँग विवाह गरोस् भनेर चाहेकी थिइन् । ऊ आफैँ पनि उसको पछिपछि लाग्न मन पराउँथ्यो, तर अन्तिम संझौताबाट भने भागिरहेको थियो । श्टाफ – आफिसरले आफ्नी छोरीको विवाह उसैसँग गरिदिन चाहन्छिन् भनेर कभाल्योफलाई सिधै भन्दाखेरि, ऊ चिल्ला-चापुल्ला सम्मानका कुरा गरेर पछि हट्थ्यो, ऊ आफू कलिलै भएको भन्दै; अब उसले पाँच वर्ष सेवा गर्नु पर्छ, तब उसको उमेर ठ्याक्कै बयालीस वर्षको हुने छ । त्यसैले श्टाफ–अफिसरले पक्कै बदला–भावले उसलाई बिगारिदिने निधो गरिन् र यसको लागि कुनै बोक्सी–बूढियाहरूलाई भाडामा लिइन्, किनकि कसैगरी पनि अन्दाज गर्न सकिन्थेन, नाक काटिन्थ्यो भनेरः कोही पनि उसकहाँ कोठामा पसेको थिएन, हजाम इभान याकाभ्लेभिछ्ले उसको दाह्री बनाइदिएको बुधवार उहिल्यै हो, अनि बुधवारको बाँकी समय र बिहीवारभरि उसको नाक सही – सलामत थियो, – यो ऊ एकदम राम्रोसँग संझन्थ्यो र थाहा थियो उसलाई; त्यसमा पनि उसलाई कुनै दुखेको अनुभूति भएको भए, अनि, शङ्कै छैन, घाउ त्यति छिट्टै भरिइसक्थेन र चिल्लो हुने थिएन, ब्लिन-रोटी जस्तै । उसले दिमागमा योजना बनाउँदै थियोः श्टाफ –अफीसरलाई औपचारिक रूपमा अदालतमा बोलाउने वा उनीकहाँ आफैँ उपस्थित भएर आरोप लगाउने उनलाई । उसका विचारहरू ढोकाका प्वालहरूबाट छिरेको उज्यालोको चहकले रोकिदियो, जसले जानकारी दिन्थ्यो, इभानले सामुन्नेवाला कोठामा मैनबत्ती बाल्यो भनेर । केही छिनपछि इभान आफू पनि देखा पर्‍यो मैनबत्ती हातमा बोकेर र पूरै कोठा उज्यालो पारेर । कभाल्योफको पहिलो चाल नै रूमाल समात्ने र त्यो ठाउँ बन्द गर्ने भयो, जहाँ अघिल्लो दिन मात्रै नाक थियो, यथार्थमा चाहिँ बुद्धू अर्दलीले मुख नबाओस्, मालिकको यस्तो अचम्मको अवस्था देखेर ।
इभान आफ्नो कुकुर–घरमा जान समेत भ्याइसकेको थिएन, सामुन्नेवाला कोठामा “यहीँ बस्नुहुन्छ कि कलेजियट असेसर कभाल्योफ ?” बोलको एउटा अपरिचित आवाज सुनियो ।
“भित्र आउनुहोस्, मेजर कभाल्योफ यहीँ हुनुहुन्छ”, भन्यो कभाल्योफले हतारिँदै जुरुक्क उठेर ठोका खोल्दै ।
रातो आउटरको एउटा पुलिस कर्मचारी भित्र पस्यो, उसको गाला –जुँघा त्यति उज्याला पनि थिएनन् र त्यति अँध्यारा पनि थिएनन्, उसका गाला पुक्क फुलेका थिए; ऊ त्यही थियो, जो कथाको थालनीमा इसाकियेफ्स्कीइ पुलमा उभिएको थियो ।
-“तपाईँले आफ्नो नाक हराउने कष्ट गर्नुभएको थियो ?”
-“ठ्याक्कै हो” ।
-“त्यो अब पाइएको छ” ।
“के भन्दै हुनुहुन्छ ?, करायो मेजर कभाल्योफ । खुशीले उसको जिब्रो नै चुँड्यो । उसले आफ्नो अगाडि उभिएको इलाका प्रहरीका आँखा, अनि उसका मोटा ओठ र गालामा हेर्‍यो, जसका शरीरभरि मैनबत्तीको तेजिलो प्रकाश चम्किरहेको थियो । “कुन किसिमले ?”
“अचम्मको घटना-क्रमले : उसलाई करीब बाटोमै समातेका हुन् । ऊ स्टेज-कोचमा बसिसकेको थियो, र रिगा जान चाहन्थ्यो । राहदानी उहिल्यै कुनै एकजना कर्मचारीको नाममा लेखिइसकेको थियो । अजीवको कुरा त यो छ कि म आफैँले उसलाई एकजना महोदयको रूपमा लिएको थिएँ । सौभाग्यवश, मसँग चश्मा थियो, अनि मैले तत्कालै देखिहालेँ, यो नाक हो भनेर । म अल्पदृष्टिवाला हुँ नि, यदि तपाईँ मेरो अगाडि उभिनुभयो भने म मात्र देख्न सक्छु, तपाईँको एउटा अनुहार छ भनेर, न कि नाक, दाह्री, केही पनि सङ्केत गर्न सक्दिनँ । मेरी सासु, मतलव मेरी श्रीमतीकी आमा, पनि केही देख्नुहुन्न” ।
कभाल्योफ आफैँबाहिर थियो । “ऊ कहाँ छ त ? कहाँ छ ? म अहिल्यै कुदिहाल्छु” ।
“चिन्ता नलिनुहोस् । मलाई थाहा भएर कि ऊ तपाईँलाई चाहिएको छ, आफैँसाथ ल्याएको छु । अजीव कुरा त यसमा के छ भने यस मामिलाको मूल सहभागी भज्नीसेन्स्कीइ पथको ठग हजाम हो, जो हाल थानामा बसेको छ । मैले पहिलेदेखि नै उसलाई शङ्का गर्दै आएको हुँ पेयक्कडी र चोरीमा, अस्ति मात्र उसले एउटा पसलबाट एक दर्जन टाँक उँडाइदिएको थियो । तपाईँको नाक हुबहू उस्तै छ, जस्तो थियो । – यसै बीचमा इलाकावालाले खल्तीमा हात हाल्यो र त्यहाँबाट कागजमा बेरिएको नाक
झिक्यो ।
“त्यही हो !” – करायो कभाल्योफ ।“ठ्याक्कै त्यही हो”।“आज मसँग एक कप चिया पिउनुहोस्” ।
ठूलो सौभाग्यको रूप ठान्ने थिएँ, तर सक्दिनँ : मलाई यहाँबाट मेलमिलाप गृहमा जानु पर्छ । सबै चीज-वीजहरूमा निकै ठूलो महङ्गी बढेको छ …” मेरो घरमा सासू, मतलव श्रीमतीकी आमा, पनि बस्छिन्, बच्चाहरू पनि; जेठो चाहिँले खास गरेर
आशा जगाएको छः एकदम बुद्धिमान बच्चा, तर शिक्षा – दीक्षाको लागि साधन बिलकूल छैन” ।
कभाल्योफले अनुमान लागायो, अनि टेबुलबाट रातो नोट च्याप्प समात्यो, निरिक्षकको हातमा घुसारिदियो, जो एकदम झुकेर ढोकाबाट बाहिरियो, अनि अन्दाजी त्यही क्षणमा कभाल्योफले उसको आवाज सडकमा सुन्यो, जो एकजना बुद्धू किसानको मर्मत गर्दै थियो आफ्नो गाडा सडक पेटीमा चढाएकोमा ।
कलेजियट असेसर्, इलाका प्रहरी गइसकेपछि, केही क्षण चूपचाप बस्यो कुनै अनिश्चित हालतमा, अनि मात्र केही मिनेटपछि देख्ने र अनुभूत गर्ने अवस्थामा फर्कियो; यस्तो बेहोशको अवस्था उसलाई एक्कासीको खुशीले ल्याएको थियो । फेला परेको नाक उसले होसियारीपूर्वक दुबै हातको मुट्ठीमा लियो, फेरि गौर गरेर त्यसलाई हेर्‍यो ।
“यही हो, त्यो बिलकूल यही हो !” बोल्यो मेजर कभाल्योफले । यी देब्रे तिरको फोको, हिजो निस्केको” । मेजर खुशीले झण्डै हाँसेको ।
तर संसारमा केही पनि दीर्घ कालीन छैन, दोश्रो मिनेटमै हाम्रो हर्षोल्हास जीवन्त रहँदैन, पहिलो मिनेटको जस्तो, तेश्रो मिनेटमा त झन् त्यो अरू बढी कमजोर हुन्छ, अनि अन्त्यमा मनको साधारण अवस्थासँग विलीन हुन्छ, ढुङ्गा खसेर उब्जिएको पानीको गोलाकार झैँ, अन्ततः चिल्लो समथरसँग विलीन हुन्छ । कभाल्योफले सोच –विचार गर्न थाल्यो, अनि उसले महसुस गर्‍यो कि मामिला यत्तिमै सकिएको छैनः नाक फेला परेको छ, तर त्यसलाई टाँस्नु पर्छ, आफ्नै ठाउँमा अटाउनु पर्छ ।
“अनि के होला, यदि टाँसिएन भने?”
आफैँलाई सोधिएको यस्तो प्रश्नमा मेजर मलीन भयो ।
वयानै गर्न नसकिने त्रासको अनुभूतिसाथ ऊ टेबुलतिर हान्नियो, ऐना सार्‍यो, कसैगरी पनि नाक बाङ्गो नराख्नको लागि भनेर । उसका हातहरू थरथर कामे । सावधानी र निगरानीपूर्वक त्यसलाई उसले पुरानै ठाउँमा राख्यो । ओहो, भयङ्कर ! नाक जोडिइरहेको थिएन !… उसले त्यसलाई मुख नजिक ल्यायो, आफ्नो सासले हल्का ततायो, अनि पुनः दुई गालाबीचमा रहेको चिल्लो ठाउँनिर लग्यो; तर नाक कसैगरी पनि अडिइरहेको थिएन ।
“अँ, अँ नि ! अडिएर बस्, मूर्ख !” भन्यो उसले नाकलाई । तर नाक भने काठको जस्तै थियो र टेबुलमा त्यस्तो अजीव आवाजले खस्थ्यो, मानौँ यो कुनै बिर्को हो । मेजरको चेहरा थरथर हल्लियो ।“यो नबढ्ने नै हो त ?” बोल्यो उसले एउटा सन्त्रासमा । तर जतिसुकै पटक उसले त्यसलाई उसको आफ्नो ठाउँको नजिक लगेको किन नहोस्, प्रयास पहिलेजसरी नै बेकार हुन्थ्यो ।
उसले इभानलाई बोलायो र उसलाई डाक्टर लिन पठायो, जो त्यही घरको तल्लो तलामा सबभन्दा राम्रो आपार्टमेन्ट् लिएर बस्थे । यी डाक्टर स्वयंमा प्रतिष्ठित मान्छे थिए, उनका गाला–जुँघा सानदार र कोइला जस्तै काला थिए; स्वच्छ, स्वस्थ डाक्टर्नी थिइन्, विहान विहान ताजा ताजा स्याउ खान्थे, मुख असामान्य तवरले सफा राख्थे, अन्दाजी तीन चौथाइ घण्टा कुला गरेर र दाँत बिभिन्न खाले पाँच फरक फरक बुरूसले सफा गरेर । डाक्टर तुरून्तै आइपुगे । कति लामो समय पहिले यो दुःखद घटना भएको थियो भन्ने सोधेर उनले मेजर कभाल्योफलाई उसको च्यूडो समातेर उठाए, अनि आफ्नो बूढी औँलाले त्यही ठाउँमा ट्वाक्क हिर्काए, जहाँ पहिले नाक थियो, एबम् रीतले मेजरले आफ्नो टाउको पछाडितिर झुकाउनु पर्ने थियो त्यही बलले, जसरी कञ्चटले भित्तामा लाग्दा हुन्छ । चिकित्सकले यो केही होइन भनेर भने, अनि भित्ताबाट केही हट्न सल्लाह दिँदै, उसलाई टाउको बङ्ग्याउन अह्राए पहिला दायाँतिर, अनि त्यो ठाउँ छामेर जहाँ पहिले नाक थियो, भनेः “हम् !” त्यसपछि उसलाई बायाँतिर टाउको बङ्ग्याउन अह्राए र भने” “हम् !”, अन्त्यमा पुनः उसलाई बूढी औँलाले ट्वाक्क पारे, यसरी मेजर कभाल्योफले टाउको झट्कार्न लाग्यो, दाँत जाँच्दाखेरि घोडाले जस्तै । यस्तो परीक्षण गरिसकेपछि डाक्टरले टाउको हल्लाए र भनेः “अहँ, हुँदैन । बरू राम्रो हुन्छ, तपाईँ यत्तिकै बस्नुहोस् किनभने अरू बढी खराब गर्न सकिन्छ । यो, निश्चय नै, टाँस्न त सकिन्छ; म यहाँलाई अहिल्यै यो टाँसिदिन्थेँ पनि; तर म तपाईँलाई के आश्वस्थ पार्छू भने यो तपाईँको लागि अरू खराब हुन्छ” ।
“ल ठीक छ !” म नाकबिना रहने कसरी नि !” , भन्यो कभाल्योफले । “अरू बढी नराम्रो हुन सक्दैन, अहिले झैँ । यो त भगवान जानून्, के भएको हो भनेर ! यस्तो लाज मर्दो हालतमा म कहाँ देखा परूँ ? मेरो राम्रो जान–पहिचान छः आज मात्रै मैले दुईवटा घरमा रात्रि भोज जानु छ । मेरो धेरैसँग परिचय छः स्टेट काउन्सिलर चिख्तार्‍योभा, श्टाफ – आफिसर पात्तोछिना … यद्यपि आजको उसको हरकतपछि म ऊसँग अरू कुनै मामिला राख्दिनँ, मात्र पुलिसमार्फत बाहेक । “दया गर्नुहोस्”, उच्चारण गर्‍यो कभाल्योफले अनुनय – विनयको स्वरमाः “ कुनै साधन छ कि ? जसले तपाईँले राख्न सक्नुहुन्छ, नराम्रैगरी भएतापनि, अडोस् मात्र पनि; खतर्नाक अवस्थामा म यसलाई हल्का हातको सहारा दिन सक्थेँ । त्यसमा पनि म नाच्ने छैनँ पनि जसमा कि कुनै असावधानी चालले म खराब गर्न सकूँ । ती सब कुरा जो तपाईँको होम भिजिटको लागि कृतज्ञताका कुरा छन्, विश्वस्थ हुनुहोस्, जति मेरा साधनले भ्याउँछन् …” ।
“पत्याउनुहोस्”, डाक्टरले भन्यो न चर्को न मलीन स्वरमा, तर असाधारण रूपले आग्रहपूर्ण र चुम्बकीय ढङ्गकोः “म कहिल्यै पनि कुनै फाइदाको लागि उपचार गर्दिनँ, यो मेरा नियम र कला बिरूद्ध हो । साँचो कुरा हो, म होम भिजिटको लागि लिन्छु, एक मात्र मेरो इन्कारीले मेरा विरामीहरूको मन नदुखाउनको लागि । निश्चय नै म तपाईँको नाक टाँसिदिने थिएँ, तर म तपाईँलाई इमान्दारीपूर्वक विश्वास दिलाउँछु कि, यदि तपाईँ मेरा शब्दहरूलाई विश्वास गर्नु नै हुँदैन भने, यो बहुतै खराब हुन्छ । प्रकृति स्वयमको कृयाकलापलाई बढी स्थान दिनुहोस् । अक्सर चिसो पानीले मुख धुनुहोस्, अनि म तपाईँलाई विश्वास दिलाउँछु कि, तपाईँ, नाक नभएरै, त्यसरी नै स्वस्थ हुनुहुन्छ, तपाईँको त्यो हुँदाखेरि जसरी नै । अनि नाक चाहिँ म तपाईँलाई स्प्रिट हालेको एउटा बट्टामा राख्ने वा त्यो भन्दा राम्रो त्यहाँ दुई ठूलो चम्चा खुर्सानीवाला भोत्का र अलिअलि तताएको भिनेगर त्यहाँ हालेर राख्ने सल्लाह दिन्छु, – त्यतिखेर तपाईँले राम्रै पैसा लिन सक्नुहुने छ । म स्वयम् समेत लिउँला त्यो, मात्र यदि तपाईँले महङ्ग्याउनुभएन भने !”
“होइन, होइन! कुनै मूल्यमा पनि बेच्दिनँ, ! – जुरुक्क उठ्यो निराशामा मेजर कभाल्योफ, बेहत्तर त्यो हराइजाओस् ।“
“माफ गर्नुहोस् !” भने डाक्टरले इन्कार गर्दै, “मैले त यहाँलाई उपयोगी कुरा गरेको हुँ । के गर्ने त ! कम्तीमा पनि तपाईँले मेरो प्रयास देख्नुभयो नि” । यो भनेर डाक्टर बडो गरिमासाथ कोठाबाट बाहिरिए । कभाल्योफले उसको अनुहारसमेत देखेन र गहिरो अनुभूतिहीनतामा उसको कालो टेल – कोटका बाहुलाहरूबाट चियाइरहेका बरफ जस्तै सेता र सफा कमिजका कफ मात्र देख्यो ।
भोलि पल्टै, उजुरी दर्ता गर्नु भन्दा पहिले, श्टाफ–अफिसरलाई चिट्ठी लेख्ने निधो गर्‍यो, सहमत हुन्छिन् कि हुन्नन् उनी कुनै लडाइँबिनै उसलाई त्यो फिर्ता गर्न, जे गर्नु पर्ने हो भनेर । चिट्ठी यो ब्यहोराको थियोः
प्रिय महोदया,
आलिक्सान्द्रा ग्रिगोरियेभ्ना !
तपाईँको तर्फबाट भएको अजीव कृयाकलाप मैले बुझ्न सकिरहेको छैनँ । विश्वस्थ हुनुहोस्, त्यस किसिमले व्यबहार गरेर तपाईँले केही पनि जित्नुहुने छैन र मलाई कत्ति पनि बाध्य पार्न सक्नुहुने छैन तपाईँकी छोरीसँग विवाह गर्न भनेर । पत्याउनुहोस् कि मेरो नाकको संबन्धको इतिहास मलाई पूरापुर थाहा छ, त्यस्तै समान रूपमा कि, यसमा तपाईँ प्रमुख सहभागी हुनुहुन्छ, अरू कोही होइन । एक्कासी यो आफ्नो ठाउँबाट छुट्टिनु, भाग्नु र लुकी –छिपी हिंड्नु, कहिले कुनै कर्मचारीको रूपमा, कहिले, अन्ततः आफ्नै रूपमा, यी सब कुरा, जादू – टुनाको हरकतका नतिजाहरू बाहेक अरू बढी केही होइनन्, जो तपाईँले वा यस्तै कलामा अभ्यासरत अरू कसैले गरेको हो । म आफ्नो तर्फबाट तपाईँलाई के पूर्वसूचित गर्न कर्तव्य ठान्दछु भने यदि मैले स्मरण गरेको नाक आजै आफ्नो ठाउँमा भएन भने म सुरक्षा र कानूनको संरक्षणतिर लाग्न बाध्य हुने छु ।
यद्यपि, तपाईँप्रतिको पुरापूर सम्मानसाथ, तपाईँको आज्ञाकारी सेवक
प्लातोन कभाल्योफ
प्रिय महाशय,
प्लातोन कुज्मीछ् !
मलाई तपाईँको चिट्ठीले असामान्य रूपले आश्चर्य – चकित बनायो । म, तपाईँसामु खुलस्त रूपमा स्वीकार गर्छु, कसैगरी पनि अपेक्षा गरेकी थिइनँ यसको, अनि त्यो भन्दा बढी तपाईँको तर्फबाट लगाइएको अकारण लान्छनाको । म तपाईँलाई पूर्वजानकारी दिन्छु, मैले त्यो कर्मचारी, जसको बारेमा तपाईँले उल्लेख गर्नुभएको छ, आफूकहाँ घरमा कहिल्यै पनि भेटेकी थिइनँ, भेष बदलेर होस् वा असली रूपमा । साँचो हो, मकहाँ फिलिप इभानभिछ पातान्छीकफ आउ–जाउ गर्थ्यो । अनि, यद्यपि उसले मेरी छोरीको पाणि ग्रहण गर्न चाहन्थ्यो, ऊ आफू असल, स्वस्थ आचरण र महान विद्वान त थियो नै; तर मैले उसलाई कहिल्यै कुनै आशा दिएकी थिइनँ । तपाईँले कुनै नाकको बारेमा कुरा गर्नुभएको छ । यदि तपाईँ यसमा मानौँ मैले तपाईँलाई नाकबाट छुटकारा दिन चाहेको हूँ, मतलब मैले तपाईँलाई औपचारिक रूपमै इन्कार गर्न चाहेको हुँ भन्ने मतलब राक्नुहुन्छ भने मलाई उदेक लाग्छ कि तपाईँ आफैँ यसबारेमा कुरा गर्दै हुनुहुन्छ, जब म, जहाँसम्म तपाईँलाई थाहा छ, बिलकूल बिपरीत धारणाको मान्छे थिएँ, अनि यदि तपाईँ मेरी छोरीसँग कानूनी रूपमै विवाह गर्नुहुन्छ भने म अहिल्यै तपाईँका चाहना पूरा गर्न तयार छु, किनभने यो मेरो जीवन्ततम् चाहनाको विषय सधैँ रहेको थियो, जसको आशामा सदा तपाईँको सेवामा
रहने छु ।
आलिक्सान्द्रा पात्तोछिना
“होइन”, कभाल्योफले भन्यो, चिट्ठी पढिसकेर । “उनी बिलकूल दोषी छैनन्, हुनै सक्दैन ! चिट्ठी यसरी लेखिएको छ, जसरी अपराधमा दोषी रहेको मान्छेले लेख्न सक्दैन । कलेजियट असेसर यो सबमा जानकार थियो किन, कि केही पटक ऊ ककेसस क्षेत्रमा पठाइएको थियो अनुसन्धानको लागि । “कुन किसिमले, कुन भाग्यले यो सब भएको थियो ? मात्र शैतानले छानवीन गर्न सक्छ यो !”, उसले भन्यो अन्ततः, हात तल झारेर ।
यसैबीच यो असाधारण घटनाबारेको हल्ला राजधानीभर फैलियो, जसरी फैलिने गर्छ, न कुनै खास जोड-जाडबिनै । त्यतिखेर सबका दिमागहरू असाधारण कुराप्रति खास गरेर लक्षित थिएः भर्खरै मात्र शहरभरि चुम्बकत्त्वको असरका परीक्षणहरूले डेरा जमाएका थिए । यसैबीच कान्युश्नया पथमा नाच्ने कुर्सीहरूको किस्सा अझै ताजा थियो, त्यसैले चकित हुनु पर्ने कुनै कारण छैन, छिट्टै यो चर्चा गर्न थाले भनेर, कि मानौँ कलेजियट असेसर कभाल्योफको नाक ठीक तीन बजे नेफ्स्की एभेन्युमा डुल्ने गर्छ । जिज्ञासुहरू हरेक दिन बढ्दा थिए । कसैले भन्यो पनि, नाक युन्केरको पसलमा देखा परेको थियो भनेरः अनि युन्केरको आडैमा त्यस्तो भीड र हुलमुल जम्मा भयो, जसमा पुलिसले हस्तक्षेप नै गर्नु पर्‍यो । एकजना नाफाखोर, सम्मानित बाह्य आकृतिको, अनि गाला–दाह्रीवाला, जो थियटको अगाडि बसेर मिठाइका बिभिन्न सुक्खा पिराश्कीहरू बेच्थ्यो, -ले जानीजानीकन काठका राम्रा–राम्रा, बलिया बेन्चहरू बनायो, जसमा हरेकबाट ८० कापेइका लिएर उत्सुकहरूलाई तमासा हेर्न बोलाउँथ्यो । एकजना इज्जतदार कर्नेल साहेब जानिजानीकन घरबाट चाँडै निस्किए यसैको लागि, अनि बडो मुस्किलसाथ भीड पार गरेर त्यहाँ पुगे; तर आफ्नो ठूलै असमन्जसले पसलको झ्यालमा नाकको सट्टामा साधारण ऊनी जर्सी र स्टकिङ्ग मिलाउँदै गरेकी एकजना तरूनी केटी प्रतिबिंवित छापा-चित्र र उसतिर रूख पछाडिबाट हेरिरहेको इष्टकोट लगाएको र थोरै दाह्री पालेको सुन्दर पहिरनको एकजना जवान केटालाई देखे, – चित्र, जो दश वर्ष भन्दा बढी एकै ठाउँमा झुण्डिएको थियो । पछाडि हटेर उनले नाराजीसाथ भनेः “कसरी यस्ता बुद्धिहीन र असत्य हल्लाले जनतालाई अलमल्याउनु हुन्छ ?” – त्यसपछि हल्ला चल्यो, नेफ्स्की एभेन्युमा होइन, ताभ्रिछेस्कीइ उद्यानमा मेजर कभाल्योफको नाक डुल्ने गर्छ भनेर, मानौँ पहिलेदेखि नै ऊ त्यहाँ छ, जहिले त्यहाँ खोज्रफ–मिर्जा (फारसी राजदूत) बस्ने गर्थे, प्रकृतिको यस्तो डरलाग्दो खेलबाट निकै आश्चर्य-चकित भएका थिए उनी । शल्य–चिकित्सा प्रतिष्ठानका केही विद्यार्थीहरू त्यहाँ गएका थिए । एकजना कुलीन, सम्मानित महिलाले उद्यान – वार्डेनलाई एक विशेष पत्रद्वारा अनुरोधै गरिन्, उनका बालबच्चाहरूलाई प्रकृतिको यो दूर्लभ कुरा देखाइदिन भनेर, अनि हुन सक्छ भने नवजवानहरूको लागि शिक्षाप्रद तथा उपदेशमूलक व्याख्यासहित ।
यी सब घटनाहरूबाट समाजको उच्च श्रेणीका व्यक्तिहरू, रात्रि –भोजहरूका आवश्यक आगन्तुकहरू, जो महिलाहरूलाई हँसाउन मन पराउँथे, जसका मनोरञ्जनका सब मौज्दातहरू रित्तिइसकेका थिए, असाधारण रूपले खुशी थिए । ईज्जतदार तथा असल – आकाङ्क्षाका मानिसहरूको सानो सङ्ख्या चाहिँ असामान्य रूपले असन्तुष्ट थियो । एकजना सज्जनले त चरम असन्तुष्टि पोख्दै के भने भने, उनले बुझ्न सकिरहेका छैनन्, यस्तो पढा–लेखा युगमा पनि कसरी यस्ता हास्यास्पद मनगढन्तहरू फैलिन सक्दछन्, उनी छक्क परेका छन्, किन सरकारले यसप्रति ध्यान दिइरहेको छैन भनेर । यी सज्जन स्पष्टतः ती सज्जनहरूको वर्गमा पर्थे, जो चाहन्थे, सरकारले हर कुरामा दखल देओस् भनेर, श्रीमतीसँगको आफ्नो हर दिनको झगडामासमेत । यसपछि … तर यहाँ पुनः सब घटना कुहिरोले छोप्छ, अनि पछि के भयो, निर्णायक रूपले थाहा छैन ।

(बाँकी अर्को साता)