कवि निर्मला पुतुलको परिचय

 

निर्मला पुतुल

६ मार्च १९७२ मा जन्मेकी बहुचर्चित सन्थाली लेखिका निर्मला पुतुल कवयित्री तथा सामाजिक अभियन्ता हुन् । झारखण्डको दुमका, सन्थाल परगनाको दुधानी कुरुवा गाउँमा जन्मेकी पुतुल हिन्दी कवितामा एक परिचित आदिवासी नाम हो । निर्मलाले राजनीतिशास्त्रमा अनर्स तथा नर्सिङमा डिप्लोमा गरेकी छन् ।

उनका प्रमुख कृतिहरूमा ‘नगाड़े की तरह बजते शब्द’ र ‘अपने घर की तलाश में’ हुन् । उनका कविताहरूको अनुवाद अङ्ग्रेजी, मराठी, उर्दू, उड़िया, कन्नड़, नागपुरी, पन्जाबी, नेपाली अदि भाषामा भएका छन् ।

कविता लेखनका साथसाथै विगत १५ वर्षभन्दा लामो समयदेखि उनी शिक्षा, सामाजिक विकास, मानवाधिकार तथा आदिवासी महिलाहरूको समग्र उत्थानका लागि व्यक्तिगत र संस्थागत रूपमा लगातार सक्रिय छिन् । अनेक राज्यस्तरीय र रष्ट्रिय सम्मान हासिल गरेकी निर्मला हाल निर्वाचित जनप्रतिनिधि (मुखिया) हुन् ।

यस पटकको ‘चर्चित कविता नेपालीमा’ स्तम्भमा उनै कवि नर्मलाको एउटा कविता प्रस्तुत गरिएको छ ।

 

बुबा ! त्यति टाढा बिहे नगरिदिनू मेरो

निर्मला पुतुल

निर्मला पुतुल

बुबा !
त्यति टाढा बिहे नगरिदिनू मेरो
जहाँ भेट्न आउनका लागि मलाई
घरका बाख्रापाठा बेच्नु परोस् तपाईँलाई

नगरिदिनू बिहे त्यस्तो देशमा
जहाँ मान्छेभन्दा धेरै
देउताहरू बस्तछन्

वनपाखा नदी छैनन् जहाँ
नआउनू त्यहाँ मेरो लगन जुराएर

त्यस्तो ठाउँमा त झन् हुँदै होइन
जहाँका सडकमा
असीमित गतिमा दौडिन्छन् मोटरगाडीहरू
अग्लाअग्ला घर
र पसलहरू छन् ठूलाठूला

त्यस्तो घरसित नजोडिदिनू नाता मेरो
छैन जहाँ विशाल खुला आँगन
भालेको डाकले बोलाउँदैन बिहान जहाँ
र, साँझमा घरपछाडिबाट
देखिँदैन पहाडमाथि अस्ताउँदै गरेको सूर्य ।

नरोज्नू मेरा लागि त्यस्तो वर
जो जाँड र जुवामा
डुबिरहन्छ रातदिन

अल्छी बेकामे
र जात्राबाट केटी उडाएर लैजाने
यस्तो वर नरोज्नू मेरा लागि
कुनै थाल अम्खरा त होइन नि
जसलाई फेर्न सकूँ पछि चाहेको बेलामा
राम्रो-नराम्रो भएमा

जसले बातैपिच्छे
लट्ठीमुङ्ग्रीको कुरा गर्छ
निकाल्छ धनुकाँण वा बन्चरो
मन लागेको बेलामा हिँडिदिन्छ बङ्गाल, असम, कस्मिर
यस्तो वर चाहिँदैन मलाई
नदिनू त्यस्ताको हातमा मेरा हात
जसका हातले रोपेनन् कहिल्यै कुनै रुख
अन्न उमारेनन् जुन हातहरूले
कहिल्यै कसैको साथ दिएनन् जुन हातले
बोकिदिएनन् कसैको भारी

अरु त अरु
जुन हात लेख्न जान्दैनन् ‘ह’ बाट हात
उसका हातमा नदिनू कहिल्यै मेरा हात

गर्नु नै छ त त्यहाँ गरिदिनू बिहे
जहाँ गएर बिहान
साँझ फर्कन सक्नुहुन्छ पैदल

कुनै दिन दुःख पाएर वारि घाटमा रुँदा म
पारि घाटमा तपाईँले नुहाउँदै गर्दा
सुनेर आउन सक्नुहोस् तपाईँले मेरो करुण विलाप…

महुआको फूल र
खजुरको सख्खर बनाएर पठाउन सकूँ सन्देश
तपाईँका लागि
त्यताबाट आउनेजाने जेसुकैका हात
पठाउन सकूँ फर्सीका गट्टा, सिमी र अरु तरकारी
समयसमयमा आमाका लागि पनि

हाटबजार जाँदा
भेटियून् कोही आफन्त
सुनाउन सकून् गाउँघरको हालखबर
मालीगाई ब्याएको समाचार
दिन सकून जोकसैले यताबाट आउँदाजाँदा
त्यस्तो ठाउँमा बिहे गिरदिनू मेरो

त्यहाँ बिहे गरिदिनू
जहाँ ईश्वर कम र मान्छे बेसी बस्छन्
बाख्रा र बाघले एउटै घाटको पानी खान्छन्
त्यहाँ बिहे गरिदनू मेरो !

त्यसैसँग बिहे गरिदिनू जो
जोडी परेवा र चखेवाजसरी
सधैँ रहन्छ सँगै
घरआँगन खेतमा काम गर्नेदेखि
राति सुखदुःख बाँड्दासम्म

रोज्नू यस्तो वर
जसले बजाउँछ सुरिलो बाँसुरी
र सिपालु होस् दमाहा-मादल बजाउन पनि

वसन्तका दिनरूहमा ल्याउन सकोस् ऊ
मेरो जुरोका लागि पलाँसका फूल

जसले खान नसकोस्
म भोकै रहँदा
उसैसँग बिहे गरिदनू मेरो ।
***

kavitakosh.org बाट
अनुवादः निमेष निखिल