— महेश पौड्याल

कविताको भाषालाई लिएर धेरै बहस भएको छ विश्वभरि । “काव्यिक भाषा” अर्थात् पोयटिक डिक्सन भन्ने छुट्टै स्तर हुन्छ कविताको भन्ने विश्वास लामो समयसम्म हावी रह्यो कविताकर्मको र समालोचनाको फाँटमा । त्यस विश्वासअनुसार कविताको भाषा बढी लाक्षणिक, उन्नत, श्रुतिमधुर र गेयात्मक हुनुपर्छ भन्ने मान्यताहरू स्थापित भए । फलतः कविताले आफ्नो आयतनभित्र आमभाष्यलाई अटाउन सकेन । र कविता, पठनका दृष्टिले केही मान्छेहरूको ज्ञानव्योममा सीमित भयो ।

पश्चिमा साहित्यमा पोएटिक डिक्सनको प्रभाव उन्नाइसौँ शताब्दीसम्म पनि कायम रह्यो । यस प्रकारको उन्नत, प्राञ्जल र लाक्षणिक भाषाको प्रभाव अक्षुण्ण रहनुमा काव्यको ध्येय र अभीष्ट पनि जिम्मेवार थियो । त्यस बेलासम्म काव्य आम मान्छेका कथाव्यथाको संवाहक पनि हो भन्ने चिन्तन खासै लोकप्रिय थिएन । हुन त बेलायतमा, चौधौँ शताब्दीमा जेफ्री चौसरले आफ्नो केन्टरबरी टेल्समा आम मान्छेका जनभावनालाई आम मान्छेकै भाषामा लेख्ने प्रयास नगरेका होइनन्, तर उनका उत्तराधिकारीहरू पुनः शास्त्रीयताकै भासतिर फर्किए । फलतः कविता पुनः एकपल्ट पुरानै भाषाको लयमा फर्कियो ।

साहित्यको भाषा उन्नाइसौँ शताब्दीमा अएर तब फेरियो, जब साहित्यको वृहत् उद्देश्यमाथि नै बहस हुन थाल्यो । आर्थर मिलरजस्ता नाटककारहरूले नाटकलाई अरस्तुकै पालादेखि सम्भ्रान्त र शासक वर्गको चरित्रको चित्रणका लागि प्रयोग गर्दै आइएको परम्पराको व्यतिरेकमा आमा मान्छेको कथाव्यथाको चित्रणमा रूपान्तरित गर्नुपर्ने वकालत गरे । कवितातर्फ पनि बर्तोल्ट ब्रेख्टजस्ता लेखकले जनसाधारणकै हितका लागि कविता लेखिनुपर्छ भन्ने मत प्रकट गरे । अगष्टो बाउलजस्ता चिन्तकले त अरस्तुजस्ता लेखकलाई सीमान्तवर्गका लागि हानिकारक नै हुन् भन्ने सोचे । विलियम कोर्लोस विलियमका कवितामा आम मान्छेको मनोदशा परिलक्षित हुन थाल्यो । अमेरिकामा अलेन गिल्सबर्गहरूले त सडककै भाषालाई काव्यमा उतारे, र आम जनमानसको मनोकांक्षा लेखे । फतलः आम मान्छेको भाषा नै साहित्यको भाषा बन्न पुग्यो ।

कविताको लम्बाइ र आयतनका बारेमा प्राज्ञिक जगतमा, र समालोचनाको वृत्तमा त्यति बहस भएको पाइँदैन । त्यसको अर्थ, कविताको भौतिक आयतन गौण विषय हो । कविता शब्दको मितव्ययिता, भाव वा विचारको गाम्भीर्य तथा शब्द र तिनको संयोजनको कलात्मकतामा उभिनुपर्छ भन्ने बारेमा धेरै मतान्तर छैन । त्यसैले, कविताको लम्बाइ कति हुनुपर्छ भन्ने बारेमा प्राज्ञिक जगत मौन छ । लामा कविता लेख्नेहरूले निकै छोटा कविता पनि लेखे, गहिरो प्रभाव छोड्न सफल भए । अङ्ग्रेजी कविताको हकमा एज्रा पाउण्ड, विलियम कार्लोस विलियम्स्, बर्तोल्ड ब्रेख्ट र सिन्थिया जेरिनहरूका धेरै कविता केही हरफमात्रमा सीमित छन् । रूपी कौरले यस्तै कविताको जगमा आफूलाई स्थापित गरिन् । नेपाली भाषामा पनि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, राजेन्द्र भण्डारी, तुलसी थापा, कृष्ण प्रसाईं आदि कविहरूका धेरै र लोकप्रिय कविताहरू केही हरफमा सीमित छन् । यसको अर्थ, कवितामा आयतन गौण हो । कविताले बोकेको भाव र विचारको गाम्भीर्य र त्यसमा पोखिएको कलाको उच्चता नै कविताको उचाइ नाप्ने आधारहरू हुन् । पछिल्लो समय, मानिसहरूको जीवनमा देखिएको भागदौड र व्यस्ततालाई हेर्ने हो भने, कविताको भौतिक आयतन घट्नु र भावायतन बढ्नु झनै वाञ्छनीय छ । यसैले सायद ठूला आकारका महाकाव्यहरूको प्रकाशनमा क्रमशः देखिएको सिथिलतालाई पनि व्याख्यातित गर्दछ ।

आकारमा साना तर भावगत घनत्वका दृष्टिले शक्तिशाली कविता लेख्ने प्रचलन नेपाली कविताको फाँटमा निकै बढेको अनुभव गरिएको छ पछिल्लो समय । यसै क्रममा, एउटा सिङ्गो सङ्ग्रह लिएर पाठकसामु आएका छन् कवि लालगोपाल सुवेदी । हुन त लालगोपाल सुवेदीको नाम नेपाली कविताको फाँटमा नयाँ नाम होइन, तर छोटा र प्रयोगशील कवितासहितको उनको यो अवतरण नयाँ हो । नयाँ र प्रयोगशील हुनुको रोमाञ्च पनि यी कविताले बोकेका छन्, र जोखिम पनि उठाएका छन् ।

२०५७ मा फूलको देशमा छन्दोबद्ध कवितासङ्ग्रह तथा, पानी, इन्द्रेणी र यागमाया (२०७१) तथा सबाल्टर्न पात (२०७२) जस्ता कवितकृतिले कवि लालगोपाल सुवेदीको कवित्व स्थापित छ, यद्यपि निबन्ध, गीत, मुक्तक र बालसाहित्यमा पनि उनको विशिष्ट पहिचान छँदै छ । यसअघिको उनको कविताकारितामा पूर्व र पश्चिमका मिथकीय सन्दर्भ, दार्शनिक दृष्टिहरू तथा नारीका सूक्ष्म मनोविज्ञानका अनेक पक्षहरू परिलक्षित भएका भेटिन्थे । यस सङ्ग्रहमा उनी आजको समयको शल्यक्रिया गर्न तथा जीवनका मिहिन तर दर्शनिक पक्षको उत्खननमा केन्द्रित भएका देखिन्छन् । सङ्ग्रहमा ५१ कविता छन्, जसले जीवन, मानवीय सम्बन्ध, परिवार र संस्कार, मान्छे र प्रकृति, कविता र कलाको महत्ता, जीवन र मृत्युचिन्तन् आदि विविध दार्शनिक विषयलाई स्पर्श गरेका छन् । खस्कँदो मानवीय मूल्य, विचलित काव्यकारिता, बढ्दो क्रितिमता, मक्किँदा सम्बधहरू आदि विषयलाई पनि उनले प्रवेश गरेका छन् ।

साहित्यकै एक मेधावी विद्यार्थी हुनु, एक कवि पनि हुनु, र साहित्य कर्ममा निरन्तरा लागिरहनुले उनको काव्यचेत परिपक्व भएको प्रतीत हुन्छ, र साहित्यिक अभ्यासलाई नै पनि कविताको विषय बनाएर आलोचनात्मक कविता लेख्ने आत्मविश्वास राख्दछन् । उनीभित्रको एउटा तीव्र समालोचना चेत यसका कारक हुन सक्छ । एउटा चाखलाग्दो प्रसङ्गमा उनी स्पष्टतः भन्छन्, “प्रहार नहोस् भनिरहेको सधैँ÷भाषामाथि, साहित्यमाथि, संस्कृतिमाथि ।” उनलाई साहित्यकार आफैँले पनि आडम्बर र राजनीतिको आड लिएर माथि जाने उपक्रम गरिरहेको कुरामा आपत्ति छ । सीधै लेख्छन्, “आगामी चुनावमा पिँडुलामा तेल घसेर आउनुहोस्\साहित्यकार भइन्छ ।”

यसको अर्थ हो, लालगोपाल सुवेदीका कवितामा, कथ्यका हिसावले एउटा भँगालो अधिकवितात्मक र समालोचकीय कविताहरूको हो, जसमा उनको कविताचेत र कवितादृष्टि छरिएको छ । पछिल्लो समय कविताको सङ्ख्यामा देखिएको बाढी, र भाषाको प्रयोगमा देखिएका संवेदनहीनताप्रति उनी असन्तुष्ट देखिन्छन् । लेख्छन्, “बाठा कविहरू\कवितालाई खोलैमा छोडेर÷पारि पुगिहाल्छन् ।” साहित्य सिर्जनामा दिनदिन गुम्दैगरेको मौलिकताप्रति पनि उनी क्षुब्ध छन् । बनिबनाउ फ्रेममा ढालेर आफ्ना रचना पस्कने छद्म सर्जकलाई लक्षित गर्दै उनी भन्छन्, “साँचोमा हाल्नुमात्रै पर्छ, जुत्ता जन्मन्छ\साँचोमा हाल्नुमात्रै पर्छ, इँटा जन्मन्छ ।”

घट्दो मानवीय मूल्य, र मर्यादाहरूको क्रमिक क्षयीकरण कवि लालगोपाल सुवेदीले उठाएको अर्को गम्भीर विषय हो । उनका कविताभरि यत्रतत्र छरिएको छ विसङ्गतिप्रतिको व्यग्ङ्ग । व्यवस्थामा देखिएको अराजकता, र जिम्मेवारहरूमा देखिएको लापर्वाही उनको काव्यिक झटारोका लक्ष्य हुन् । नेपालभित्र कार्यालय व्यवस्थामा देखिएको अस्तव्यस्तताबारे व्यङ्ग्य गर्दै उनी लेख्छन्, “अदृश्यमा पैसाको बोट छ ।” अगाडि भन्छन्, “अनुभवी पिउन भन्छ÷हाकिम साहेब आएपछि काम हुन्छ ।” कुशासन र विक्रृत राजनीति उनले चुनेको प्रमुख विषयमध्येका हुन् । “सस्तो भयो जनतानको खुन÷खुनमा कर लाग्दैन” जस्ता प्रभावशाली अभिव्यक्तिमार्फत् उनले कुशासनप्रतिको आफ्नो आक्रोश पोखेका छन् । व्यथितिको पराकाष्ठा अनुभव गरेपछि उनी सोध्छन्, “त्यो कस्तो देश होला जहाँ पुच्छरले हात्ती हल्लाउँछ?” देश यस्तो पनि छ, जहाँ भ्रष्टाचारको व्याप्ति शब्दातीत । घाँस खाँदैन भनिएको बाघले पनि खान्छ घाँस । यहाँ काम “टेबलमुनिबाटै फत्ते हुन्छ ।” भ्रष्ट आचरण र दुई नम्बरीबाटोबाट सम्पत्ति कमाएर पनि कहिल्यै नअघाउनेप्रति उनको प्रश्न छः “भन्नुस् तपाईं\सुनको माला लाउने कि \फूलको माला लाउने?”

अनगिन्ती महत्वाकांक्षा र सपनाको पछिपछि दुगुर्दै, स्वदेशको प्राङ्गारिक सुख छोडेर प्रवासको मायावी सुखको छाया पछ्यउनेहरू—जसमा कवि आफैँ पनि पर्छन्—उनको काव्यिक व्यङ्ग्यका लक्ष्य हुन् । प्रथमतः उनी यस्तो पलायनवादी मनोविज्ञानकै वर्खिलाफ देखिन्छन् । सोध्छन्, “किन मेरै देशबाट करोडौँ करोड जवानी खेर जान्छ?” यो देशबाट उडेको जवानी अमेरिकालगायतका मुलुकहरूमा दिनरात एक गरेर पसिना बगाउन अभीशप्त छ, तर हृदयमा आह्लाद छैन । उनको टिप्पणी छ, अमेरिमा जिन्दगी सधैँ उधारोमै चल्छ, र मानिसहरूका देब्रे छातीमा “भुङ्ग्रोमा परेका माछा झैँ मुटु चल्छ ।” अर्को एउटा प्रसङ्गमा भन्छन्, “अम्रिकामा पटक पटक चुँड्छ प्रेम धागो ।” मरिहत्ते गरेर त्यसै अमेरिकामा पुगेका, र सधैँ कामको बोझले थाकेका मान्छेहरूको मनस्थितिको प्रनिनिधित्व गर्दै भन्छन्, “जहाजमा चढेर मान्छे होइन \ गधा पो अमेरिका आएछ ।”

भूमण्डलीकरणका कारणले बढ्दैगरेको वस्तुकरण र मूल्यको क्षय उनका कविताको अर्को विषय हो । यसको चक्रमा मानवीय सम्बन्ध र प्रेम पनि बजारको बिकाउ माल बन्न पुगेको छ । लेख्छन्, “आजको एक रातको लागि\डलर वा पाउण्डमा किन्न सकिन्छ प्रेम ।” प्रेमका ग्राहकहरू पनि छली छन्, विक्रेता पनि छली । लण्डनको एउटा घटनालाई आधार बनाएर लेखिएको एउटा कवितामा उनी एउटी कालीको चित्रण, जो आफ्नो सम्मोहशक्तिले कुनै पहलमानलाई आकर्षित गर्छे, चेकबुक र क्रेडिटकार्डहरू थुत्छे, र उलाई नेप्किनलाई जस्तो डस्टविनमा फाल्छे । मान्छेले आफ्नो वास्तवित महत्ता गुमाएको छ । यो बेला, कविकै शब्दमा, “मान्छेहरूभन्दा त\फोटोहरू नै बढी बाँचेको देख्छु ।”

यसै गरी मूल्यको क्षयीकरणकै क्रममा प्रकृतिक फूलको भन्दा कृतिम फूलको चलन चलेको, र त्यसमा अत्तर छर्केपछि प्रकृतिकका भ्रम छर्ने चलन चलेको पनि उनको ठहर छ । भन्छन्, “अत्तर छर्किदिए पुग्छ फूलमा ÷फूल होइन तपाईं मग्मगाउनुहुन्छ ।” अस्थिर व्यवहार र ढुल्मुले व्यक्तित्व भएकाहरूका बारेमा उनी लेख्छन्, “हाउभाउ र बोली बदल्दा ÷जीवन महानाटक बन्छ ।” उनलाई टट्कारो रूपमा लाग्छ, यस्तै विपरीत समयसँग जुझ्नका लागि आज हामीलाई चाहिएको “प्रतिभा काट्ने मुसो होइन, फाटेको मन सिउने सियो” हो ।

सन्दिग्ध समयप्रतिको विमत्ति उनको कविताको पेटेन्ट कथ्य हुँदै हो । मान्छेको सोचमा देखिने लीलामय तर अवाञ्छनीय परिवर्तनका कारण पर्न जाने समस्या उनको चिन्तनको अर्को पाटो हो । पोखरीको पानी सङ्लो वा धमिलो देखिनु समयको कुरा हो, तर त्यस सङ्लोपन वा धमिलोपनबाट स्वार्थपूर्ति गर्न खोज्नेको कुनै कमी छैन मानव समाजमा । उनको चिन्ता, त्यसैले, यसरी अभिव्यक्त भएर आएको देखिन्छः “अरे माझी दाइ÷आज सङ्लो पानी पनि धमिलो देखिन्छ ।” यो हुनु र देखिनुबीचको फरक दृष्टिदोषका कारण हो, र दृष्टिदोष प्रकृतिमा होइन मान्छेको विचारमा विद्यमान छ भन्ने सङ्केत यी हरफहरूले गरेका छन् । अरुको खिसिट्युरीमा समय व्यतीत गर्नेहरूलाई ऐनाको विम्बले आफैँलाई जिस्क्याइरहेको पनि हुन सक्छ भन्दै कवि एकपल्ट आत्मदर्शन पनि गर्न सल्लाह दिन्छन् । रुखहरूको विनाश तथा प्राकृतिक सम्पदाहरूमाथिको अतिक्रमणका कारण वातावरणमा परेको असर, र त्यसँग सम्बन्ध सांस्कृतिक पक्षहरूको ह«ास पनि उनको चिन्ताको एउटा प्रमुख विषय हो ।

मानवीय सम्बन्धहरू कवि लालगोपाल सुवेदीको कविताले उठाउने अनेक विषयमा एक हुन् । सम्बन्धहरूमा उनी प्रेमी, परिवारजन र साथीभाइहरूबीचको सम्बन्ध उठाउँछन् । बद्लँदो समयसँग सम्बन्धहरू कृत्रिम र क्षणिक हुँदै गएको पनि बोध छ उनलाई । प्रेम अथवा वैवाहिक सम्बन्धहरू पनि प्राविधिक हुँदै गएको उनको ठकर छ । ऐनाअगाडि उभिएर सिँउदोमा सिन्दूर हालिरहेको युवतीको नियममाथि पनि विश्वास गर्ने आधार भेट्दैनन् । लेख्छन, “जब युवती गइन्ऐ\नाको छातीकी युवती पनि गइन्शि\रिषको फूल भएछ माया ।”

प्रकृतिको नियमबद्धताभित्र मानव जीवनको लय निहित हुन्छ भन्ने उनको ठहर छ । “हिउँद र वसन्त एकैपल्ट आउँछ त?” भनेर उनले, ऋतुचक्रको क्यालेण्डर पछ्याउनुको विकल्प नरहेको कुरा उल्लेख गरेका छन् । निरन्तर पलायनको बाटो लागेको युवाशक्ति पुनः स्वदेश फर्कंदा स्वदेशको स्वभावसहित फर्कन्छ वा फर्कन्न भन्ने कुरामा पनि उनलाई शङ्का छ ।

दर्शनहरूको पुराना मान्यता सन्शोधित हुनुपर्छ भन्ने मत राख्छन् कवि लालपोगाल । परिवर्तित समयमा पुरानै मान्यता मानक नहुन पनि सक्छन् भन्ने उनको सोच हुन सक्छ, जो मनासिप पनि छ । त्यसैले, आफ्नो एक कवितामा उनी कार्ल माक्र्सको चस्माले “फेरि” हिमाल, पहाड र तराईले हेर्नुपर्ने आवश्यकता औँल्याउँछन् । अर्थ हो, आजसम्म हेरिएका मापदण्डहरूमा कहीँ न कहीँ खोट छ । जीवनबारे उनको मत छ, यसको अवसान अवश्यम्भावी छ, फूलको जस्तो । तर कसले कति वास्ना छर्ने हो, त्यो महङ्खवपूर्ण हो । यस्तो, आफूलाई विशिष्टता प्रदान गर्न सक्ने मान्छे अन्धारको जुनकिरी होज, जो एकमात्र किन नहोस्, उसलाई तर “महङ्खवका साथ हेरिन्छ ।”

यी ममाम विषय र परिस्थितिका बावजूद पनि कवि लालगोपालभित्र जीवनप्रेम अगाध छ । सकारात्मकता प्रचूर छ । सुख होस् वा दुःख, जीवनलाई उज्यालोले स्पर्श गर्नुपर्छ भन्ने उनको अभिमत छ । स्पष्टै लेख्छन्—
पीरमा बाँच्नै पर्दैन पनि नभन्नुस्
भीरमा हिँड्नै पर्दैन पनि नभन्नुस्
जस्तो हुनुहुन्छ
सबका सामु त्यस्तै बन्नुस्
खिच्नुस् तस्बिर फूलसित मुस्कुराएको
र त्यसलाई ठूलो बनाएर
आफ्नै आँखाहरूको चौरस्तामा टाँङ्नुस् ।

उनलाई आमाहरूमाथि भरोसा छ । “तिमी नभए मुटु र ढुङ्गामा कुनै अन्तर हुँदैन ।” मान्छेहरूको भीडमा कोही असल मान्छे हुन्छ अथवा जन्मन्छ भन्ने कुरामा पनि उनलाई कुनै द्विविधा छैन । उनको विश्वास छ, “अरबौँमा एउटा कृष्ण सुदामाका साथी हुन्छन् ।” यस्ता कृष्णजस्ता साथीको उपादेयतामा उनको चित्त टिकोको देखिन्छ । भन्छन्, “अँध्यारोमा बत्तीजस्तै बलिदिन्छन् सच्चा साथी ।”

भौतिक रूपमा मान्छे भिन्नभिन्न भए पनि कुनै चित्रकारले आफ्नो अमूर्त चित्रकलामा कोरेको उनीहरूको छाया समान हुन्छ भन्दै आवरणमा देखिने विविधता, सारमा, एक निस्सार सत्य हो भन्ने सङ्केत कविले गरेका छन् । “पानीको कविता पानीमै छोडेर घर फर्किएँ” जस्ता प्रभावशाली विम्बात्मक अभिव्यक्तिमार्फत् उनी छुटेको वाल्यकाल, र त्यसैसँग छुटेको निर्दोषिता र मनको निश्छलतालाई पनि खेदका साथ सम्झन्छन् । कारण, उमेर घर्कँदै गएपछि वाल्यकालमा पानीभित्र हेरेको त्यो सग्लो कविताको ठाउँमा, कविकै शब्दमा ज्वारघाटाहरूले भाँचेका कविताबाहेक अरु केही भेटिँदैन । उमेरसँग कसरी फेरिँदै जान्छ कल्पनाको क्षितिज !

“रोटीको दन्त्यकथा” यस सङ्ग्रहको शीर्ष कविता हो, र एक उत्कृष्ट कविता पनि हो । विम्बैका आधारमा यसले एउटा संस्कारगत तर्क पनि अघि सारेको छ । मान्छेको इच्छा अथवा कार्यशक्तिको उसनको मनोविज्ञान र उसको विश्वाससँग गहिरो सम्बन्ध छ । नानीहरूलाई माछाले चाँदीको रोटी खाए भन्ने दन्त्यकथामा विश्वास जगाउन सकियो भने, उनीहरू चामलको रोटी पनि खान्छन्, त्यसै रोमाञ्चकारी कल्पनामा । यो एउटा दार्शनिक तर्क हो ।

यिनै भावभूमिहरूमा केन्द्रित कवि लालगोपाल सुवेदीका कविता स्वरूपमा प्रयोगशील छन् । छोटा छन्, तर प्रभावशाली पटाक्षेपसहित अवतरण गर्छन, चेतनाको तहमा । ताँदो नक्काएर छोडेका बाणजसता बेगवान् छन्, र तीव्र छन् । उनको सबैभन्दा इमान्दार पक्ष के छ भने, आफैँलाईसमेत प्रश्नको घेरामा राखेर उनले पलायनको र विदेशमा देखिने व्यस्त र कृक्रिम जीवनशैलीको पूरजोर विरोध गरेका छन् । आधुनिक, डिजिटल संसारका विम्बहरूलाई समेत कविताको फ्रेममा अटाएर उनले बद्लँदो समयका कविताको भाषा पनि आमभाष्यतिरै उन्मुख छ भन्ने तर्कलाई अनुमोदित गरेका छन् । विदेशमा रहेर पनि स्वदेशको चिन्ता, कल्पनमा सिर्जन घरदेशको चिन्तन, र घरदेश र परदेशबीचको अदृश्य खोँचबाट हेर्दा देखिने खण्डित पहिचानको पीडा पनि उनको कविताका परिलक्षित हुन्छ, जसरी संसारैभरिका आप्रवासी र डायस्पोरा लेखकहरूमा परिलक्षित हुन्छ । यस अर्थमा, उनी एउटा वैश्विक रेन्ज भएका कवि हुन् ।

( “रोटीको दन्त्यकथा” पुस्तकको भूमिकाबाट)