आज एउटा गजबको लेख लेख्छु भनेर बसेको छु । लेख्न लागेपछि के लेखौँ, के लेखौँ हुन थाल्यो । एकछिन आफैँ यसो घोत्लिएँ अनि निर्णय गरेँ । कि लेख्नुहुन्न कि गतिलै लेख्नुपर्छ भन्ने मनमा लागेको छ । मनको सोचअनुसार लेख बन्न सक्नु पनि पर्यो नि, गफ गरेजस्तो सजिलो नहुने रहेछ । आफू विद्यार्थी हुँदा पढेको एउटा निबन्ध सम्झेँ अनि निबन्धकार शङ्कर लामिछानेलाई पनि सम्झेँ । उनको भूमिकाकै कारण पारिजातले मदन पुरस्कार हात पारेको विश्वास गरिन्छ र पछि उनी स्वयम्ले निबन्ध लेखनका माध्यमले त्यही चर्चित मदन पुरस्कार हात पारे ।
मणिराज उपाध्यायलाई सम्बोधन गरी पत्रात्मक शैलीमा लेखेका थिए, त्यो निबन्ध उनले । सायद, २०१९ सालतिर लेखिएको ‘एक पत्र: सम्पादकलाई’ शीर्षकमा थियो । मलाई अति मन परेको निबन्ध थियो र अहिले पनि मनपर्ने निबन्धहरूमध्ये एक हो । ‘मणि दाजु’ भनेर सम्बोधन गर्दै लेखिएको उक्त निबन्धको विषयवस्तुले उनी बाँचेको समय बोलिरहेको पाउँछु र निराशाहरूका बीचमा आशाको खोजीका पात्र र दृश्यहरू आँखैअगाडि सचित्र बन्न थाल्दछन् ।
फेरि लाग्यो । होइन, म त शङ्कर लामिछाने होइन अनि उनको शैली चोरेँ भने मेरो निजत्व कसरी बन्छ त ? मेरो स्वपरिचय कसरी हुन्छ र ? म नक्कली साबित हुन पुग्छु अनि बन्दै गरेको परिचय पनि ध्वस्त हुन्छ । भर्खरै लेख्न सुरु गर्दैछु र सिक्दैछु । सिक्नु पो पर्छ र लेख्नुपर्छ । पुनः अलमलमा घोरिएँ ।
हिजोआज राजकुमार बानियाँ साहित्यपोस्टमा खोजमूलक लेख लेख्न थालेका छन् । उनको शैली पो ठिक होला कि ! संयोगले केही दिनअगाडि मात्रै पङ्तिकारसँग लामो टेलिफोन संवाद भएको थियो । धेरै प्रभावित भएको थिएँ । यसो अरू केही स्रष्टासँग कुराकानी गरेँ । बानियाँको लेखनशैलीका बारेमा धेरैले खुलेरै प्रशंसा गरेको पाएँ । आज, उनकै प्रेरणा र प्रभाव लिएर लेख्नुपर्छ भन्ने लाग्न थालेको छ ।
लेखनको पृष्ठभूमि
अब यी लामिछाने र बानियाँ दुवैका शैली अलिअलि मिसमास गरेर मेरो छुट्टै शैलीजस्तो बनाएर लेख्छु भनेर बसेँ । भर्खरै हातमा परेको छ, मूलतः पत्रकारितामा रमाउने र साथसाथै साहित्यिक लेखनका जुटेका जीवन लामा ‘यात्रा’को ‘निर्दोषी मान्छे’ (२०७२) कवितासङ्ग्रह । यिनका बारेमा धेरै कुरा थाहा छैन । सन्दर्भ सामग्रीका रूपमा केही सामान्य कुरा मात्रै छन् । ती सामग्रीमा उनको सोही कवितासङ्ग्रह, पुस्तकमा रहेको पुष्कर लोहनीको भूमिका, श्रीबाबु कार्की उदासको ‘ब्लर्ब’ भनाइ, ‘दोलखाली सर्जक पुस्तक समीक्षा’मा समेटिएको सर्मिला बुढाथोकीको छोटो समीक्षात्मक लेख र उनै कवि जीवनसँगको काठमाडौँको बानेश्वरमा एक कप चिया पिउँदै गर्दाका केही गोलमटोल जिल्लाका साहित्यिक गतिविधिका चर्चा मात्रै हुन् । यिनै सामग्रीका आधारमा केही लेख्न कँसिएको छु ।
पहिलो कुरा, यो निबन्ध होइन । दोस्रो कुरा, यो समीक्षा पनि होइन । बरु एक विशुद्ध पाठक प्रतिक्रिया मात्र हो ।
कृति केही पुरानो हो भनेर सुरु गरौँ कि ! अहँ, कृति त कसरी पुरानो हुनसक्छ ? प्रकाशिन भएको जम्माजम्मी पाँच वर्ष भयो । त्यसरी साहित्यको पुस्तक वा कुनै साहित्यिक रचना पुरानो हुन थाल्ने हो भने त लेखनाथका कविता कसले र किन पढ्ने त ? साहित्य पुरानो हुनै सक्दैन । यो त मायाजस्तै हो, अनि सञ्जीवनीको आवाजमा गुञ्जने सुमधुर गीतजस्तै, ‘पुरानो हुँदैन माया… जुनी जुनी लाए पनि !’
हिजो युवा उमेरमा माया भनेको प्रेम हो युवक–युवतीबीचको जस्तो मात्रै लाग्थ्यो । आज, उमेरले आधा शताब्दी छुनै लाग्दा लाग्दैछ, माया भनेको अरू पनि हुनसक्ने रहेछ । अहिले मलाई नेपाली साहित्यको औधी माया लाग्न थालेको छ । त्यसैले म साहित्यप्रेमी हुँ, निरन्तरको साहित्यिक पाठक हुँ, एक भावक हुँ ।
‘निर्दोषी मान्छे’ र जीवन लामा
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा आफ्नै जन्मथलो/जिल्लालाई कर्मथलो बनाएर बसेका छन् । बेलाबेलामा साहित्यिक जमघटमा दौडिन्छन् । पत्रिकाहरूमा समाचार लेख्छन् अनि कहिलेकाहीँ साहित्यिक रचना पनि पस्कन्छन् भावनालाई शब्दमा घोलेर मिठासपूर्ण ढङ्गले । कहिले सामुदायिक एफ.एम.मा आवाज दिन्छन् अनि बढीचाहिँ निमुखा ‘वीरबहादुर’हरूका पीडालाई साहित्यिक रूप दिएर सीमान्तकृतहरूको समस्यालाई पाठकसामु सार्वजनिक गरिदिन्छन् । कृतिलाई सरसर्ती हेर्दा दोलखाका अधिकांश स्थानका बारेमा साहित्यिक शब्दचित्र खिचेर पाठकलाई ‘निर्दोषी मान्छे’ पुस्तक दिएका रहेछन् । यसमा न कुनै वादको गन्ध छ, न विश्लेषणका लागि कसी लगाउन भनेर मैले कुनै ‘वाद’को चस्माले हेर्ने धृष्टता गरेको छु ।
‘निर्दोषी मान्छे’ कवितासङ्ग्रह
कवि जीवन लामाको यो पहिलो कृति हो । २०५३ देखि फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका अधिकांश रचनाहरू हुन् भनिए तापनि कुन पत्रिका र कहिले प्रकाशित भएका थिए भन्ने जानकारी छैन । तर विषयवस्तु अधिकांश स्थान वा दोलखाकै भौगोलिक परिवेशमा बढी केन्द्रित र केही विविध विकृतिका बारेमा र केही प्रेम–विछोडका बारेमा लेखिएका हुनाले सर्वकालिक नै लाग्ने रचनाहरू छन् । जम्माजम्मी ४० थान कविताहरू सङ्गृहीत यस पुस्तकमा विषयगत विविधता समेटिएको छ । प्रकृतिपरक रचनालाई छाडेर बाँकी विषयवस्तु केलाउँदा मूलतः राजनीतिक विकृति र विसङ्तिप्रति तीखो व्यङ्ग्य प्रहार देखिन्छ । प्रेमप्रणयका छिटफुट रचना भए तापनि समग्र कृतिका रचनाहरूले तिनीहरूलाई गौण बनाइदिएका छन् । यो उनको कृतिको सबलता नै मान्नुपर्छ किनकि युवावयका कविका अधिकांश रचनाले प्रेम र विछोड विषयलाई नै बढी प्राथमिकता दिएका हुन्छन् र कोरा भावुकताले भरिएका शब्दका पहाड बनेका हुन्छन् ।
पुष्कर लोहनीका दृष्टिमा कवि जीवन
पुस्तकको भूमिकामा लोहनीले नवकविलाई पथप्रदर्शनमा निम्ति आग्रह र कवि जीवनको सरल भावको प्रभावले केही शुभेच्छा दिएको बताएका छन् । खासमा अग्रज स्रष्टा लोहनीे नेपाली साहित्यमा मौलिक परिचय बोकेका व्यक्तित्व हुन् । उनी लेख्छन्– ‘…आशावादी स्वर निकाल्न पनि पछि परेका छैनन् । प्रकृतिलाई पनि मानवीय रूप दिन तथा सबै धर्म र आस्थालाई उत्तिकै मात्रामा समानताका आँखाले हेर्न खोज्नु उनको चाहाना हो ।’ लोहनी थप्छन्– ‘मानवप्रेमका शाश्वत स्वरयुक्त कविता छन् । प्रेममा धोका पाएपछिको अवस्थाले निराश हुनुका सट्टा उल्टो प्रेयसीलाई प्रश्न गर्नसक्ने हिम्मत भएका कवि हुन् । संवेदनाहरूलाई सँगालेर जीवनरूपी बगैँचामा रोपेर फूल फुलाउने रहर नमेटिने गरेर जन्मेको अनि भीर र अक्करमा फुलेको सुनगाभालाई उनले बिर्सन नसकेको’ दृष्टान्त कविताकै हरफमार्फत् बताएका छन् । ‘चेर्दुङ’लाई आस्थाको केन्द्र मान्ने, आफ्नो गाउँको अथाह माया, शान्तिका खातिर बुद्धको आवश्यकता बोध, समावेशी भावना, आदिवासीमाथि प्रश्न, भीमेश्वरको पसिना र शीतलताको प्रतिनिधित्व गर्दै राष्ट्रिय इतिहासप्रतिको समर्पण लिएर कविहरूका भीडमा एउटा कवि जीवन लामा प्रवेश गरेको सन्दर्भ पुस्तकका भूमिका लेखक लोहनीले उल्लेख गरेका छन् ।
श्रीबाबुका दृष्टिमा कवि जीवन
प्रस्तुत कविताको पुस्तक निर्माणमा श्रीबाबुले उल्लेख्य भूमिका निर्वाह गरी एक नवकविलाई पुस्तकाकारमा ल्याउन सहयोग गरेको जीवनले बताएका छन् । दुवै स्रष्टा एउटै जिल्लाका हुनुका नाताले पनि सहयोग हुने नै भयो । त्यसमा पनि अग्रज हुुनु र केन्द्रीय साहित्यिक परिधिमा परिचित र मोफसलमा विविध उत्प्रेरित कार्यमा रमाउने श्रीबाबुले प्रस्तुत पुस्तकको भाषा सम्पादनसमेत गरिदिएकाले श्रीप्रति कविको कृतज्ञता भाव कृतिमा भेटिन्छ ।
श्रीबाबु कवि लामाबारे ‘ब्लर्ब’मा लेख्छन्– ‘कविता निर्वैयक्तिक हुँदाहुँदै पनि जीवन आफैँले हिँडेका पैतालाका डोबहरूबाट यी कविता सिर्जिएका छन् । उनका कविता सरल अनि सहज रूपमा मानिसका चेतनाका अन्तरकुन्तर विचरण गर्छन् र हृदयमा गहकिलो झङ्कार छाडेर जान्छन् । अनुभूतिको अकलुष भाव भिन्न स्वरूपमा उद्घाटन गर्ने सामथ्र्य भएका जीवनका कवितामा मातृभूमिप्रति गर्ने आदर विशिष्ट छ । यी कविता पढ्दा कतै चराहरूको मनोरम गीत त कतै निर्मल झरनाको चित्ताकर्षक सुसाइएको अनुभूति गर्न सकिन्छ । सरस्वतीका वरदपुत्र जीवनलाई आगामी यात्राका लागि शुभकामना ।’
कवि लामा र सिङ्गो कृतिमा सङ्गृहीत समग्र भावलाई ‘ब्लर्ब’का यत्ति कुराले कृतिलाई सजिलै पर्गेल्न सकिन्छ ।
मोफसलका समीक्षकका दृष्टिमा
‘दोलखाली सर्जक समीक्षा पुस्तक’मा कवि जीवन लामाको व्यक्तिवृत्तमा केही प्रतिनिधिमूलक रचनाबाट लघु आकारको समीक्षामा सर्मिला बुढाथोकीले खासै नयाँ कुरा गरेकी छैनन् । उनी भन्छिन्– ‘…सम्पूर्णतामा समावेशीता, आधुनिकतामा देखिएको विकृति र विसङ्गति, दोषरहित मानिसको जोस, जीवन र जगत्को भोगाइलाई यथार्थताको धरातलबाट उभ्याएर साहित्यिक सिर्जनालाई उर्वर पार्न खोज्ने कवि’ भनेकी छन् । उनी थप्छिन्– ‘कवि लामाले युगयुग बाँचौँ, एकै भएर बाँचौँ र मजस्तै निर्दोष भएर बाँच, बुद्धको भूमिमा शान्तिको झन्डा फहराउन बाँचौँ भन्ने अठोट मागेका छन्, आम पाठकसँग । …राजनीतिमा हुने विकृतिप्रति कविको आक्रोश, झुटको खेतीमा व्यस्त र स्रोत–साधनका दुरूपयोगमा नेताहरू राजनीतिलाई मागिखाने भाँडो बनाएको गुनासो गर्दै सहज जीवनयापनको आग्रह छ । अनेकतामा एकतालाई बाँध्ने छाताको आवश्यकता बोध’को माग गरिएको छ ।
अन्त्यानुप्रास लयात्मकताको प्रयोगमा जोड
गद्यकवि भूपि शेरचनका अधिकांश कवितामा अन्त्यानुप्रासको अधिकतम् प्रयोग हुन्छ । यसले कवितालाई गेयात्मकताका साथै सरल र सहज भाव पाठकमा सञ्चरण गर्दछ । यस्तै प्रयोगको अधिकतम् प्रयास कवि जीवन लामा यात्राका प्रस्तुत कृतिमा समाविष्ट निकै सङ्ख्यामा भेटाउन सकिन्छ । केही उदाहरण हेरौँ–
कोही निद्रामा त कोही चहलपहल
अनि कोही झुपडी त कोही महल (पृ.८)
आजैदेखि क्षणिक स्वार्थ त्याग्नुपर्छ
सहरदेखि ग्रामीण तह जाग्नुपर्छ
खाली छन् युवाका हातहरू
खोजेका छन् अग्रजका साथहरू
सुकेका छन् हरिया पातहरू
भुलेका छन् रसमा मौरीहरू
ब्युँझिन खोज्दैछन् वैरीहरू (पृ.९)
फेरि आउँछु भनीकन बिदा पनि मागे
अन्तै पाइला सार्दा पनि आँखा त्यतै लागे (पृ.४०)
सधैँको हतारो
सधैँको चटारो
जुटिरहेछ माटोसँग
जुधिरहेछ आँटोसँग (पृ.४६)
यी केही नमुना मात्रै हुन् । यस्तै प्रशस्त लयात्मक शब्दावलीहरू प्रयोगले कृतिलाई गजब पठनीय बनाएको छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा, कृतिमा सङ्गृहित ४० थान कविताले पाठकलाई निराशा दिँदैनन् । पहाडमा जन्मे–हुर्केका कविले देउराली, शैलुङ, चेर्दुङ, कालिन्चोक, भीमेश्वर र जन्मथलोका प्रशस्त प्राकृतिक तथा सांस्कृतिक विम्बको प्रयोग गरेका छन् । युवामा स्वदेशको माया र श्रम–सिपको प्रयोेग खोजेका छन् । मायाप्रेमका कुरा गर्छन् तर शारीरिक प्रेमका पक्षपाती देखिँदैनन् । प्रेममा हुनसक्ने वा हुने धोकाबाट पाठ सिकेर आशावादी जीवन बाँच्नुपर्ने सन्देश दिन्छन् । राजनीतिक विकृति र विसङ्गतिप्रति तिखो प्रहार गर्छन् । मानवताको मूल्यको खोजी गर्दै मानवीय संवेदनाहरूमा हार्दिकता र सुवास फैलाउन सकियोस् भन्ने सदाशयता व्यक्त गर्छन् । मलको पर्खाइमा हप्तौँ लाइनमा बस्नुपर्ने अवस्था आजका दिनमा पनि उस्तै भएको पाठकले अनुभूत गर्छन् । नारामा सीमित समावेशी र टाठाबाठाले आदिवासीका नाममा शोषण गरेका रहस्य खोल्छन् ।
एकाध ‘ब्रान्डेड, सिलप्याक’ बाहेक आगन्तुक शब्दको प्रयोगमा सचेत रही तद्भव नेपाली शब्दको बाहुल्यताले कृति बोधगम्य बनेको छ । दोलखाको गौरव मानिने तामाकोसीको सन्दर्भ किन कविले ४० थान कविताभित्र कतै समेट्न सकेनन् होला ? भन्ने मात्रै एउटा प्रश्न पङ्तिकारको रहेको छ । याम्बुरी बुक प्वाइन्ट, अनामनगर, काठमाडौँ प्रकाशक रहेको प्रस्तुत पुस्तकको मूल्य रु. १००।– राखिएको छ । कविको यो पहिलो कृति भएकाले आगामी पुस्तकहरू थप परिष्कृत र परिमार्जित रूपमा आउनेमा आशावादी हुन सकिन्छ ।
कवि जीवन लामा यात्राको साहित्यिक यात्राको उन्नयनको शुभकामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।