नियात्राकार सरिता अर्यालको ‘मेरो अपहरण’ जति पढ्दै जान्थें मेरो आङ जिरिङ भएर आउँथ्यो  । एक महिला लेखिकाले आफ्नै जीवनमा भोगेको त्यो जीवन कति कहालीलाग्दो छ ! माओवादीले जनयुद्ध चलाइरहेको समयमा पत्रकारको रूपमा कालीकोट पुगेकी अर्यालले त्यो समयमा उनले भोगेको अनुभूति नियात्राको रूपमा प्रस्तुत गरेकी छन् । उनले लेखेको उक्त पुस्तक निजात्मक नियात्रा हो, तर पनि पुस्तकको स्वरूपमा सार्वजनिक भएपछि अब यो उनको नीजि भएन । सबैको नियात्रा भएको छ ।

सावित्री पराजुली खनाल

रिपोर्टिङको लागि कालीकोट पुगेकी पत्रकार तथा लेखक अर्यालले उक्त ठाउँमा जाँदा आफूले जे  देखिन, जे भोगिन्, त्यसलाई इमान्दरीपूर्वक प्रस्तुत गरेकी छन् । आफूसंगै सम्पुर्ण पाठकका साथै हामी जस्ता कालीकोट नपुगेकाहरूलाई पनि आफूसंगै घुमाउन उनी सफल भएकी छन्  ।  पुस्तक पढ्दा लाग्दछ , यात्रामा आधारित कुनै फिल्म हेरिरहेकी छु ।

लेखिका अर्यालले  कालीकोटको यात्रा शुरू गरेदेखि घर नफर्कदा सम्मको  बाटोमा भोगेका साना-ठूला घटनाहरू  नछुटाईकन  उतार्न  सफल भएकी छिन् । लेखनीमा मिठास छ । मिठासको  कारण होला जुनसुकै शीर्षक वा पेज पढ्दा पनि बोर लाग्दैन । लेखिका सरिताको कलमको जादुगरी यसैमा देखिन्छ ।

सरिता अर्याल  एउटी कुसल पत्रकार हुन् । पत्रकारबाट साहित्यकार भएकी हुनाले पनि होला घटनालाई हेर्ने, विश्लेषण गर्ने र प्रस्तुत गर्ने शैली विशुध्द नियात्राकार लेखकको  भन्दा फरक छ  । यो उनको  लेखनमा पाइएको विशिष्टता हो ।

‘मेरो अपहरण’मा पत्रकारको आँखाले देखिन् र साहित्यकारको मनले लेखिन्  | त्यसैले गर्दा कृति पठनीय बन्न सक्यो । मनले लेखिएकै कारणले होला, सबैको मनभित्र ‘मेरो अपहरण’ बस्न सकेको  छ  ।  मेरो अपहरण पढिसकेपछि हरेक पाठकले  नियात्राकार सरिता अर्याल र ‘मेरो अपहरण’ लाई  आफ्नो मुटुको कुनामा राख्न सक्ने छन् । यो अमीट छाप अपहरणले  छोडेको छ ।

तत्कालीन माओवादी द्वन्दले  नेपाली समाज थिलोथिलो भएको थियो । थिलोथिलो भएको समाज पढ्ने रहर जस्लाई पनि थियो । तर रहरले मात्र त्यो समाज पढ्न कहाँ सकिन्थ्यो र ?  त्यो समयमा ग्रामीण समाजभित्र पसेर पढ्न हिम्मत चाहिन्थ्यो । काठमाडौंमा बसेर सम्पादकको  भूमिकामा रहेकी सरिताले आँट गरिन् र सफलता पनि चुमिन् । उनले त्यतिबेला काठमाडौंको  छलकपट र चाप्लुसी समाजलाई छोडेर यथार्थ रिपोर्टिङको सपना च्यापेर  कालीकोट पुगेकी थिइन् । त्यो बेला आफूले चलाएको पत्रिकामा नयाँ र बिलकुल भिन्न किसिमको समाचार दिने हेतु मात्र थियो उनीसँग । तर त्यतिबेला त्यै समाचार पनि समाचार बन्न सकेन । अहिले त्यही घटना विवरण नियात्राको रूपमा प्रकाशित भएर आयो ।

कालीकोट माओवादी द्वन्दको उद्धगम स्थलमध्यकै एक हो । द्वन्दकालको माओवादी इलाका भनेर चिनिएको क्षेत्रमा एउटी महिला रिपोर्टिङ गर्छु भनेर प्रवेश गर्नु समान्य कुरा थिएन । त्यै असामन्य कुरो अहिले ’’मेरो अपहरण’ को नामले हाम्रो हातमा आएको छ । लाग्छ, अहिले उनले  सबैलाई चकित पार्न सफल भएकी छन् ।

तत्कनलीन समयमा भर्खरै शान्ति सम्झौता भएको थियो | त्यही मौका छोपेर सरिता अर्याल कालीकोट गएकी  थिइन् ।  पत्रिकाको लागि केही नयाँ सामग्री खोजेर  र पठनयोग्य बनाएर   पत्रकारितामा उचाई थप्ने हेतुसंगै पाठकलाई खुशी पार्न मात्र उनी कालीकोट गएकी हुन् । उनको साथमा अरू दुईजना साथी पनि थिए । जब उनीहरू  कालीकोटतर्फ लागे, त्यतिबेलादेखि नै उनीहरू  माओबादीको निगरानीमा परे । शान्ति सम्झौता भए तापनि कालीकोटका कर्णालीपारीका गाउहरूमा उनीहरू कै राज थियो । त्यहाँ उनीहरूले आफ्नो  इलाका भनी माखो छिर्न दिएका थिएनन् । त्यस्तो अवस्थामा त्यहाँ जानुभनेको सानो कुरा थिएन ।

शान्ति  सम्झौता भए तापनि त्यहाँको गतिविधि उस्तै थियो । राम्रोसँग नबुझी त्यहाँ   जानुभनेको लेखकको  अलि  मुर्खता नै थियो या जिद्दिपना ? माओवादी नेतालगायत त्यहाँका बासिन्दाले उनलाई भनेको कुरा, देखाएको व्यवहारसँग डिलिङ गर्न सक्नु उनको ठूलो आँट हो । अपहरण  पढ्दै जाँदा उनीमा एक बिरंगनाको चरित्र भेटिन्छ । आँटी लेखिका, नवीन श्रोतकी  प्रेरणा | माओवादी द्वन्द्वको जरोमा पुगेर गरिएको खोज तथा जिज्ञासा यसमा पाइन्छ ।

लेखनमा स्पष्टता र रोचक शैली ‘मेरो अपहरण’को विशेषता हो । प्रत्यक्षकथन, शृङ्खला बद्ध शीर्षकहरू,   कथात्माक प्रस्तुति  । सामाजिक मनोविज्ञान, युद्ध, महिला र समाज परिवर्तनको अध्ययन तथा अवलोकनसहितको प्रस्तुतिले लेखिका अर्याललाई परिपक्क देखाएको छ । क्रान्ति र समाजरूपान्तरणको सपना काँचझैँ झर्यामझुरुम भैसकेको अहिलेको अवस्थामा प्रस्तुत नियात्रा पढ्दा र त्योबेलाको सकसपूर्ण जीवन सम्झदा अहिले पनि आग सिरिङ हुन्छ ।

शीर्षकहरू जस्तै कालीकोट पुग्ने रहर, ट्रकमा उडेर मान्म, गाई गोठे अस्पताल, विस्थापितका पिडा, कहालीलाग्दो पुल,सान्नी गाउँकी सुकी, आक्रमक युवती, भाटे कारवाहीको अन्तरकथा, जीतबहादुरको रत्याली सपना, ट्वबाटइकै चिन्ता (कालीकोट तिरको भाषा), जोशिला दुई किशोर, अचानक बन्दी, महिला जागरणको उत्कर्ष, जनसरकारको कठघरामा, कमरेड युद्वका कुरा, दोस्रोपटक जनअदालतमा, सीता शाहीले सुनाएको कथा, पिंजडा तोडेको त्यो दिन, भरोसाको त्यो माला, र खुल्ला आकाशको अंगालोमा जस्ता शीर्षक समेटिएको कृतिमा शीर्षकहरू आफैँ बोलेका छन ।सम्पादन नपुगेको र भाषिक परिमार्जनको कमी स्वभाविक लाग्यो । कही स्थानीय भाषा र लवज समेट्न खोज्दा अलमल देखिए पनि लेखनकलाले जितेका कारण गौण बनाइदिएको छ ।

द्वन्द्वको कारण र त्यसले समाजमा पारेको असरबारे गम्भीर रूपमा नलिएको जस्तो लाग्यो | शान्ति प्रकृयामा आएर शासनसत्तामा बसिसकेको माओवादीले कालीकोटलाई कस्तो बनाएको होला भन्ने पाठकको जिज्ञासा पनि समेट्न सकेको भए सुनमा सुगन्ध हुने थियो । लेखिका सरिता यहाँनेर चुकेकी छन् । तर उनको लेखन चतुर्यले त्यो कुरा सम्झिन दिएकी छैन । नियात्रा, संस्मरणको नाममा लेखिएको उपन्यास भनिदिएको भए यति पनि भन्ने ठाउँ रहने थिएन ।

अन्तमा, ‘मेरो अपहरण’ महिला सचेतना जगाउन, दूरदराजमा बसोवास गरेका नेपालीको जीवन कहर थाहा पाउन, समाजशास्त्रीय अध्ययन गर्न खोज्नेहरूलाई निर्देश गर्न, र भाषा, साहित्य, संस्कृति  र समाजमा व्याप्त अशिक्षा, गरिबीमाथि बुझ्न र बुझाउन सफल देखिएको छ ।