सरिता अर्याल

आज किताबहरू मिलाउँदै थिएँ, धेरै पहिले सरसरती पढेर राखेको किताब हात लाग्यो । आफूले भ्रमण गरेर फर्केको देश बेलायत सम्झें । नियात्राकार गीता रेग्मीले लेखेको किताब सम्झें । धेरै पहिलेदेखि किताबको र्याकको मात्र शोभा भएर बसेको त्यही नियात्रा संग्रह पश्चिमाहरूको देशमाझ दोहोर्याएर पढें । यो लकडाउनले गर्दा पढने मौका जुराइदियो । महिला नियात्राकारलाई घर र यात्राको बिचमा तालमेल मिलाउन कतिसम्म गाह्रो हुन्छ भन्ने कुरा पहिलो शीर्षक अन्तरगत रहेको यात्रा आरम्भको सेरोफेरोमा शब्दहरूको बिस्कुन नै सुकाइदिएकी छन् नियात्राकार गीता रेग्मीले ।

घरमा छोरीले नखाने भने तापनि सन्तानलाई नखुवाई खाना नखाने आमा पश्चिमाहरूको देशमा पुग्नासाथ पुर्णरुपमा नियात्राकार हुन पुग्दछिन् । थाकेको शरीर डोराउछिन् र बाहिरको दृश्य हेर्न पुग्छिन् । यसले देखाउँछ एउटा नियात्राकारमा कस्ता कस्ता स्वभावहरू लुकेर बसेका हुन्छन् भन्ने कुरा ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन बेलायत पुगेकी लेखकले आफूले भोगेको र अनुभव गरेको विषयवस्तुलाई प्रत्येक पाठकको आफ्नै भोगाइ र अनुभवसँग साक्षात्कार गराउन सफल भएकी छिन् । नदेखेको अर्थात् सहभागी नभएको साहित्यिक समारोहमै उपस्थित भएजस्तो अनुभव गराउन लेखिका सफल भएकी छिन् । तीन दिने सो समारोहका साना साना कुरालाई पनि टिपेर अक्षरको माला बनाएकी छन् लेखक रेग्मीले ।

शेक्सपियरलाई भेट्न गएकी नियात्राकारले कलम कापी बोकेकी थिइन् या आँखाले नै सबै तस्बिर खिचेकी थिइन् ? भन्न सकिन्न, तर उनले नियात्रा वर्णनमा अचम्मलाग्दो गरी केही कुरा पनि छुटाएकी छैनन् । बालमस्तिष्कमा आफ्नै बुवाले सुनाउनुभएका शेक्सपियरका नाटकका पात्रलाई जीवन्त बनाएर निरुत्तरित प्रश्नहरूको ओइरो लगाएको देख्दा उनी शेक्सपियरको घरभित्र पुगेर कतिसम्म गहिराइमा पुगिछन् भन्ने प्रष्ट हुन्छ । बेलायती सरकारले होस् या जनताले नै होस् शेक्सपियरलाइ दिएको सम्मान हेर्दा आफ्नै आदिकवि र महाकविलाई सम्झेर नमिठो मन बनाउँदै फर्किएकी छिन् लेखिका । शेक्सपियरको जन्मस्थान जाँदाआउँदाका साथीहरूमा नेपालका पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदिप नेपाल पनि साथै हुँदा देशको राजनीतिका तितामिठा कुराले पनि उनलाई पिरोलेको देखिन्छ ।

बेलायतमा घुम्दा जंगबहादुरलाई नसम्झने सायद नै कोही नेपाली हुन्छ होला । त्यसमा पनि लेखकपछि परेको देखिदैन । रानी भिक्टोरियालाई दिएको उपहारको प्रसंगले यात्रा संस्मरणलाई रोचकता दिएको छ । हामी नेपालीहरू आफ्नै संस्कार र संस्कृतिमा हराउने गर्दछौँ । नेपाली महिलाको लागि तिज महत्वपूर्ण चाडको रूपमा लिने गर्दछौँ । त्यही तिजको बेलामा लेखक देशबाहिर हुँदा आफ्नै घर, समाज सम्झिन पुग्नु,नयाँ ठाउँ घुम्नुभन्दा पनि मन्दिर जान पाए हुन्थ्यो भन्ने चाहना देखाउनुले ,लेखकलाई कतिसम्म संस्कृति र संस्कारले अंगालेको रहेछ भन्ने कुरा देखाउछ । यो प्रसंग लेखकको मात्र होइन समग्र महिलाहरूको हो । लेखक त प्रतिनिधि पात्र मात्र भएकी छन् । लेखकले आफूलाई देखाएर विदेशमा भएका नेपाली महिलाहरूको भावनालाई उजागर गरिदिएकी छन् । यो लेखकको लेखकीय विषेशता हो । लेखकीय कला र शैली हो । जसले पाठकलाई तानिरहेको छ ।

पेरिस पुगेको मानिस आईफिल टावरमा नचढी त को पो फर्किएका होलान र ? तर पेरिस नपुगेका नेपालीलाई पनि राम्रोसित टावरमा चढाउन सफल भएकी छन् लेखक । युरोपको इतिहास नपढेकाको लागि क्रान्ति र युध्दको केन्द्र बिन्दु भर्साइल दरबारमार्फत् केही जानकारी दिन पनि सफल भएकी छन नियात्राकार रेग्मी ।

बेल्जियम, नेदरल्याण्ड र जर्मनीको यात्रा छोटो छ, नियात्राकारले ती देशको माटोमा टेकेर छोटोमा भए पनि पनि पाठकलाई आफूसँगसँगै डुलाउने कोशिस गरेकी छन् । आफूले जसरी हेरिन् त्यसरी नै प्रस्तुत गरेर आफ्नो इमान्दारिताको परिचय दिएकी छिन् ।

भुपरिबेष्ठित देशमा जन्मी हुर्की बढेका धेरै नेपालीले समुद्र देखेका हुँदैनन् । नियात्राकार रेग्मी स्वयमले समुद्रमा पुग्दाको अनुभूति जीवन्त प्रस्तुत गरेकी छिन् । उनको लेखनकला यहाँ पनि देखिन्छ । नियात्राकारले पश्चिमाहरूको मुलुकमा पुगेर त्यहाँका विषयवस्तुलाई मात्र टिपेकी छैनन्, उनले एउटा नियात्रा पढ्ने पाठकका लागि रसास्वादन गरिदिन त्यहाँको सामाजिक, राजनैतिक, प्राकृतिक ऐतिहासिक कुराहरूलाई पनि समावेश गरेकी छिन् । जसले गर्दा पुस्तक पठनीय र संग्रहणीय छ ।

पहिलोपल्ट बेलायतमा पाइला टेक्ने जंगबहादुर राणा थिए । अहिले बेलायतमा लाखौं नेपालीहरूले टेकिसकेका छन् । जंगबहादुरको बेलायत यात्राबाट शुरू भएको लेखनले धेरै पुस्तकहरू पनि हाम्रो सामु आइसकेका छन् । ती पुस्तकहरूको प्रतपस्पर्धात्मक दौडमा कुनै कोणबाट हेर्दा पनि पछि नपर्ने देखिन्छ गीता रेगमीको पश्चिमाहरूको देशमाझ नामक नियात्रा संग्रह ।

नेपालमा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुग्दा नेपाली भाषामा धेरै फरक लवज र शब्दहरू छन् ।उच्चारण पनि अलग अलग गरेको पाइन्छ । पश्चिमाहरूको देशमा पनि नियात्राकारले प्रयोग गरेका शब्दहरू कतिको अर्थ सबैले बुझ्दैनन् ।

“काला र गोराको बिचमा टुरिष्ट बनेर आएका हामी खिनौरा बनेर एउटा कुनामा बसिरह्यौ ।”, खिनौरा जस्ता केही शब्दले कतैकतै पाठकलाई के भनेको होला भनेर सोच्न बाध्य बनाउछ ।

समग्रमा भन्नू पर्दा पश्चिमाहरूको देशमाझ नियात्राकारले बुनेका अक्षररूपी माला पाठकको मन मस्तिष्कमा सजाउन सफल भएकी देखिन्छिन् नियात्राकार गीता रेग्मी ।