साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उपल्लो थलोः  पढ्नैपर्ने पुस्तक

उषा थपलिया

Chovar Blues Mobile Size
उषा थपलिया

अरू पुस्तकभन्दा यात्रासम्बन्धि पुस्तक पढ्न लगभग आधा नै बढी समय चाहिन्छ मेरा लागि । उपन्यास, कथा र अन्य आख्यानका झैँ सरर दौडिदैनन् हरफहरू । भौगोलिक होस् या सामाजिक अनि सुन्दर प्रकृति होस् या प्रकृतिले खडा गरेका असंख्य कठिनाई, लेखकले गरेका प्रत्येक वर्णनभित्र आफैँ विचरण गर्ने लालसा जागिहाल्छ । लेखकका कठिनतम् भोगाइमा दुःखी, उल्लासमा रोमाञ्चक, वर्णित प्रकृतिको सुन्दरतामा लठ्ठ अनि यात्रा र स्थानीय जनजीवनका कष्टप्रति समवेदित हुन सकिएन भने ती पुस्तक पढ्नुको के मज्जा ? यस्तै लाग्छ मलाई ।

पढ्न हरबखत प्रेरित गरिरहने एक अग्रजमार्फत् केहीअघि पीडिएफ भर्सनको यात्रा सम्बन्धि एक पुस्तक इनबक्स भित्रियो । पुस्तकको नाम- उपल्लो थलो । लेखक- मोहन मैनाली ।

खोजपत्रकारिताका लागि ख्याती कमाएका लेखकबारे धेरथोर जानकारी त थियो नै, धेरै वर्षअघि उनकै विषयको एक सेसन लेक्चर सुनेको यादसमेत जुरमुरायो । तर कृति  पढ्ने मेसो जुरेको थिएन । पीडिएफ पाउनुअगावै बुकाहोलिक्समा उनीसँगको साक्षात्कारसम्बन्धि जानकारी हुँदाहुँदै पनि सहभागि हुन सकिनं । पुस्तक पढिसकेको थिएँ भने केही जिज्ञासाकासाथ चाँजोपाँजो मिलाउँथे होला, पुस्तकमा सरसर्ती आँखा दौडाउँनेबित्तिकै यस्तै सोचाई आईहाल्यो । लेखकसम्बन्धि यिनै विशेषताका कारण २ सय ७१ पृष्ठको पुस्तकले पनि धेरै समय लिने मैले सुरुमै ठम्याएको थिँए । त्यसमाथि पीडिएफ अनुभव पहिलो थियो ।

पन्ना फट्कार्दै पुस्तकको भौतिकरूप पढ्नुमा जति मजा पिडिएफले नदिने रहेछ । तैपनि कसैको सदासयले लकडाउनमा जे अवसर जुटेको थियो त्यसप्रति अनुगृहित नहुनु कसरी ?

उत्तरी गोरखाका जटिल समस्या र त्यसको समाधानका लागि भैरहेका केही प्रयासबारे भिडियो रिपोर्ट तयार गर्न ३ चरणमा भएका कठिन यात्राको विवरण पुस्तकका तीन खण्डमा पाइन्छ । चौथो खण्डमा मानसरोवरको यात्रा पनि कम रोचक छैन । तर गोरखा यात्राअन्र्तगतका खण्डमा मात्र यो आलेख केन्द्रित छ । उत्तरी गोरखाका दुःख, अप्ठेरो, संगती, विसंगती, सम्भावना, भैरहेका प्रयास आदि समेटेर भिडियो डकुमेन्ट्री बनाउन खोजपत्रकारीता केन्द्रले २०५१, ०५२ र ०५९ मा गरेको सतत् प्रयास नै पुस्तकको मुल विषयवस्तु हो ।

sagarmani mobile size

पहिलो यात्रा मंसिरको ठण्डीमा, दोस्रो र तेस्रो यात्रा मध्य साउन र भदौरे झरीमा । हरेक पटकको यात्राका उस्तै प्रतिकुलता । तत्कालीन समयका असजिला र गह्रुंगा क्यामरा, ट्राईपड, व्याट्री, डेक, जेनेरेटर, एक डोको टेप, २७\२८ दिने यात्राका लागि पाँच छ जना यात्रीका तमाम सर्जाम । यी सबैका लागि ५ जना भरीयाको लस्कर । बर्खाको झरी, चिप्लो बाटो, ठाउँठाउँमा उर्लने भेल, अनि हिउँदको ठण्डीमा अप्ठेरो लेकको यात्राका कष्ट प्रत्येक हरफले झल्काउँछन् । स्थानीयका दुःख-दर्द, प्राकृतिक सुन्दरता, भौगोलिक विकटतालगायतका दृश्य बेलाबेलामा कैद गरिरहन उपकरणलाई साथमै बोकेर हिँड्नुपर्ने यात्रीका बोझ पाठक आफैँले थेगेको आभास भैदिन्छ । अझ उहियाबाट अघि लागेपछि अत्यन्तै ठण्डीका लागि आवश्यक खानेबस्ने सामान, पकाउने भाँडाकुँडा र दाउरासमेत बोकेर हिँड्नुपर्ने स्थिति सजिलो कसरी हुन सक्थ्यो ?

लेकसम्बन्धि धेरै जानकारी नभएकोले नै होला पैदलयात्रा सुरु भएदेखि गोरखाको सुदुर उत्तर, जहाँबाट हिमाल नै दक्षिण दिशातर्फ पर्दछ, पाँच हजार एकसय मिटर उचाईसम्मका सबै यात्रा विवरण रोमाञ्चक लागे, तर स्थानीयका दुःख कष्टको वर्णन भने उत्ति नै पीडादायी । भ्रमण यताको २५ वर्षे अवधिमा अवस्था परिवर्तन केही भएकै होला, तर मस्तिष्कले भने त्यो ठाउँका लागि अहिले पनि त्यही तस्वीर हुबहु देखिरहेको छ ।

माथिको अत्यधिक चिसो लेक र तलको औल, दुवैतर्फ भेडा ओहोरदोहोर गराउँदा भेंडा गोठाला जुत्ताविहिन । लेकको आलु बोकेर तल झर, आलुसँग साटिएको अन्न बोकेर फेरि माथि चढ । उकाली र ओराली दुवैमा थाप्लोको गह्रुँगो भारी कहिल्यै नछुट्ने महिला र बालबालिका जुत्ताविहीन । तिनका चरचरी चिरिएका पैताला र कुर्कुच्चा पाठक आफ्नै आँखाले प्रत्यक्ष देख्दछ ।

६ महिना हिउँ जमेर बस्ती खाली हुने लेकका तल्ला भेगमा खानेपानीको हाहाकार पत्याउनै गारो । मन भारी बनाउने एक पानी प्रसंग पढिसकेपछि नपत्याउनु कसरी ? टाढाबाट ल्याएको एक गाग्रो पानी घरमा राखेर मेला गएका फौदसिंह कार्कीको गाग्रो साँझ घर फर्कदा रित्तो हुन्छ । बाटा छेउको घर भएकाले बटुवाले खाएरै सकिदिन्छन् । फेरि लिन जाने अवस्थै रहन्न । पानीको अभावमा डिनर कालागि भुटेको मकै भन्दा अर्को विकल्प देख्दैनन् उनी । मकैले खानाको गर्जो त ट¥यो तर रातको समयमा सुख्खा मकैले जगाएको छोराछोरीको प्यास कसरी मेटिदिने ? कार्की समक्ष अर्को विलखबन्द आईलाग्यो । अन्ततः केराको दाम्चो काटेर निकालिएको रसलाई पानीको नाममा पिलाउनु भन्दा अर्को उपाय निक्लेन । के त्यसले ति लालाबालाको प्यास मेट्ने सामथ्र्य राख्यो होला त ? एक बाबुको मनस्थिति कस्तो हुँदो हो त्यतिवेला ? पाठक सुस्केरा हाल्न बाध्य हुन्छ ।

हिमालबाट ६ महिनाका लागि तल्लो भेक भेंडा खेदिरहेका गंगाबहादुर गूरुङ एकाएक कृतिकारको समुहलाई आफ्नो अन्तरवार्ता लिइदिन जोडबलसहितको आदेश दिन्छन् । आफूभित्रका उकुसमुकुसरुपी पत्र फिजाँउनकैलागि उनी त्यो हदसम्म उक्लिएका थिए । कुरा ओकल्ने अग्रसरता धेरै ठूलो तर माग या आकांक्षा भने अति सामान्य । भारी बोकेर हिड्न मिल्ने गोरेटो बाटोको निर्माण, जसले भारी बोकेर हिंड्दै गर्दा साँघुरो बाटोकै कारण भीरबाट खसेर मृत्युवरण गर्ने मान्छेको मृत्यु श्रृङ्खला अन्त्य गरोस्, एउटा हाईस्कुल÷छात्रावास, सामान्यस्तरको प्राथमिक उपचार केन्द्र । यो उनको मात्र नभएर उत्तरी गोरखाका १५ वटै गाविसबासीको प्रतिनिधि आवाज थियो । यी न्यूनतम आधारभूत आवश्यकता परिपुर्तिकालागि प्रजातान्त्रिक सरकारलाई के जनताले सन्देश पठाई रहनु पर्ने थियो र ? अहिलेको अवस्था के कस्तो छ, थाहा छैन । यदि अझैँ पनि समय अनुसारको परिवर्तन स्थानीयबासीले अनुभूत गर्न पाएका छैनन् भने तीन दशकदेखि प्रजातान्त्रिक र डेढ दशकदेखि लोकतान्त्रिक भनिएको सरकारको यो जति ठूलो लज्जा अरू के होला ? 

उपस्वास्थ्य चौकी भएका ठाउँको हालत त्यस्तै लाजमर्दो । हाकिमहरू नबिराई मासिक तलब थाप्ने तर सातआठ महिनामा एकपटक मात्र कार्यालय पुग्दा हुने । त्यहाँ बसिन्जेलको तीनचार दिन जाँडरक्सी सहित भरपुर मनोरञ्जन गर्ने अनि फेरि हिडिहाल्ने । अझ उदेकको कुरा, कार्यालय पुगेको दिन भोलीपल्ट बिरामी जाँच्छु भन्दै मान्छे जम्मा पार्न तल्ला कर्मचारीलाई आदेश दिने हाकिम, भोलीपल्ट बिरामी लाईनमा बसिसकेपछि हाकिमले बोलाएको भन्दै झोला बोकेर जिल्ला सदरमुकाम हानिन समेत सरम मान्दैनन् । हाकीमका यस्ता रवैयाका कारण तल्ला तहका स्वास्थ्य कर्मचारी र स्थानीयको विवशता आफैँ अनुमान गर्न सकिन्छ । त्यस्तै नमुनाको अर्को स्वास्थ्य चौकी जहाँ, दुईवर्षदेखि स्वास्थ्यचौकी हाकिरहेका थिरबहादुर खत्री स्थानीय सबैको नजरमा डाक्टर तर स्वास्थ्य मन्त्रालयले दिएको नियुक्तिपत्रमा उनको पद पियन । अन्यत्रका स्वास्थ्य चौकीको हालत पनि प्रायः उस्तै । केटाकेटीको पोलियो थोपा खुवाउने कार्यक्रम धरी स्वास्थ्य कर्मचारीको जाँड र मोजमस्तीको अवसरमा परिणत भैदिँदा उत्तरी गोरखाका २५ प्रतिशत बालबालिका १ वर्ष नपुग्दै मर्ने गरेको तथ्य पुस्तकमा पाईन्छ । घाँटीमा झुण्ड्याईने जडिवुटीकै बुटीले मात्रै अरू बालबालिकालाई बचाएको रैछ है ? उल्लेखित तथ्यबाट पाठकले अनुमान गर्ने नै यही हो ।

शिक्षा क्षेत्रको अवस्था त्यस्तै दुरुह । शिक्षकहरूको मासिक तलब पाकिरहने, मसलन्द खर्च गईरहने तर विद्यालयमा शिक्षक वस्दै नबस्ने । स्कुल खुलेको ३४ वर्षमा एक विद्यार्थीले ५ कक्षा पास गर्दा शिक्षकहरूकालागि उत्सव मनाउने विषयवस्तु भैदिने । शिक्षकको चरम लापरवाहीकै कारण ०३३ सालमा खुलेको स्कुलका कुनैपनि विद्यार्थीले २०५२ सालसम्म ३ कक्षा पास नगरेको अवस्था लगायतका धेरै शैक्षिक विसंगती पुस्तकले उजागर गरेको छ तर यी कुनै पनि तथ्यप्रति जिल्ला शिक्षा कार्यालय लगायत अन्य तालुक केन्द्रिय निकाय चिन्तित र जागरुक बनेको देखिएन ।

समग्र जनजीवन नै कष्टप्रद भएका स्थानमा महिलाका पीडा अझ चोटीलो हुनु अनौठो भएन । पुस्तकभित्रको एउटै प्रसंगले आममहिलाको अवस्था चरितार्थ गर्ने खुवी राख्दछ । खोर्लाबेशीमा घुँडाघुँडा अग्लो कोदोबालीभित्र टुक्रुक्क बसेर महिलाहरू टण्टलापुर घाममा दुवै हातले कोदो गोडिरहेका । कोदोको पातले नाङ्गा पाखुरा पाछेर बनाएका घाउ र ति घाउमा टन्टलापुर घामको रापसंगै नुनिलो पसिना बग्दा हुने चरचराहटप्रति मत्लव राख्ने र्फुसद उनीहरूसँग छैन । पुस्तकभित्र यी कर्मयोगी महिलाहरूको वर्णनले, ‘दशनंग्रा खियाईको वास्तविक तस्वीर पाठककै आँखामा ठोक्किन आईपुग्छ । अझ आधाजसो महिलाका पिठ्युँमा थाङ्ना सहितका ससाना कोक्रा र कोक्राभित्र सुताईएका बच्चा । खपिनसक्नु गर्मीले बच्चा रोएपछि कामकै दौरान शरीर हल्लाएर बच्चा फुल्याउने कोशिस, नफुलिनेलाई कोक्रो विसाएर दुध चुसाउने तत्परता अनि मातृममत्वको गर्व झल्काउदै मकैको खोष्टामा बेरिएको सुर्तिको सर्कोबाट अथाह दुःखवीच मुस्काउन सक्ने खुवी । महिलाका भुक्तमान प्रष्ट्याउन अहिलेसम्म महिलाअधिकार संस्थाहरूले जति कारुणीक तस्वीरहरू प्रचारमा ल्याए र त्यसका आधारमा जति चुरीफुरी गरेपनि खोर्लाबेशीको त्यो दृश्यबिना महिला जिम्मेवारीका विषयवस्तु प्रष्ट्याउन के कुनै जेण्डरविज्ञ सफल भए होलान् त ?   

टिभीका स्क्रिनमा भेडाका बथान देख्दा हेर्नेहरूकालागि त्यो केवल मनोरञ्जनको दृश्य बनिदिन्छ । त्यसभित्रको पीडा गोठालालाई भन्दा अरू कसलाई थाहा होला ? हिउँदमा लेकको तुसारोबाट बच्न औल झर्ने र बर्खामा औलको गर्मीबाट जोगिन लेक चढ्ने । हरेक वर्षको अनिवार्य उपक्रम हो यो । ती अग्ला ठाउँमा वर्षमा फेरिने ऋतुहरू जम्मा दूईवटा मात्रै । अन्यत्रकालागि छुट्ट्याईएका बाँकी ४ ऋतुहरू हिउँद, बर्खाकै चेपुवामा परेर सकिन्छन् । यी दुई याम पानी फेरिने कारण साना पाठाहरू ज्वरोले ग्रसित हुने गर्दछन् । मान्छेकै स्वास्थ्य निकायको त्यो हविगत हुने ठाउँमा पशु उपचार केन्द्रको भर पर्ने कुरै भएन । आफूले जानेका जडीबुटी खुवाएर पाठा जोगाउने प्रयत्नमा लागिपर्छन् गोठालाहरू । त्यसले केही काम गरे मात्र हो, नत्र सालमा एउटा भेडा बढाउन पनि मुश्किल पर्नेरहेछ । पुस्तकभित्र भुक्तभोगी गोठालाको रूपमा देखा परेका छन् स्थानीय उरसिंह गुरुङ । नौ वर्षको उमेरमा गोठका नौदशवटा भेडाबाट चरन सुरु गरेका गुरुङले उनान्सत्तरी वर्षमा आईपुग्दा भेडाको संख्या ६०७० वटा मात्र पु¥याउन सके । जीन्दगीभरीको आर्जन यो भन्दा अरू केही थिएन । पुस्तकभित्रको यो प्रसंगले सोचमग्न बनाउँछ पाठकलाई ।

मान्छेका मात्र हैन, ति भेकमा पशुका दुःख पनि कति कति ! स्यालाको जंगल विनास भएर जति पनि काठ निस्कन्छन्, त्यसको गन्तव्य तिब्बत हुने गर्दछ । तिब्बती बजारमा काठ पु¥याउने सबै जिम्मेवारी चौंरीमाथि । ढाँडको दुबैतर्फ चारचार वटाको दरले कसिने फलेक । ६ दिनको यात्राकोलागि मान्छेका खानेकुरा, भाँडाकुँडा, ओढ्ने÷ओछ्याउने, पाल लगायत यावत सामाग्री र चौंरी स्वयंका खानेकुरा, सबैको भार थेग्नुपर्ने केवल चौंरीले । त्यसमाथि कठिन र १५ हजार फिटको उकालो यात्रा । तिब्बतमा काठ बेचेर किनिएका चामल र पिठोका बोरा फर्कदा पनि चौंरीका ढाँडमाथि  यथावत । तिनकालागि उकालो जति सास्तीपुर्ण ओरालो पनि उस्तै । कठिन ओरालोमा पनि ढाँडमाथिको भारीले खुट्टा थरथराउँदै झरेका चौंरीको वर्णन पुस्तकमा जसरी गरिएको छ, त्यसले असैह्य वेदना उमाल्छ । विरगञ्जबाट रक्सौल जाँदा आफू चढेको टाँगा तान्ने घोडाप्रति उस्तै स्नेह जाग्दथ्यो । मालिकले घोडामाथि कोर्रा बजार्दा प्रहार आफैँले खेपेको अनुभूतिसहित घोडा नकुट्न मालिकप्रति चर्को स्वर निस्किहाल्थ्यो । अनि घोडालाई धेरै भार नपरोस् भन्ने हेतुले आफ्नो शरीरलाई हदैसम्मको हलुँगो बनाउन आफूले खेपेको सकस पुस्कत पढ्दा स्मृतिमा आईरह्यो । मान्छे सरह पशुप्रति पनि मेरै जस्तो स्नेह जाग्ने जो कोहीलाई भेंडाचांैरीका दुःखपुर्ण नियतीले पक्कै विक्षिप्त बनाउँछ । त्यति दुःखसाथ तिब्बत पु¥याएका काठ सस्तो दरमा बेच्नुपर्ने बाध्यता, एकभारी काठ बेच्दा आएको पैसाले आधाभारी अन्न मात्रै किन्न सकिने । स्थानीयबासीको यो विवशता उस्तै चोटिलो लाग्दछ ।

लार्केभञ्ज्याङ्मा विरामी साथी रुँङ्दै जीवन मृत्युवीच कृतिकारले झेलेको संघर्ष उस्तै संवेदनशील लाग्दछ  । नजिकैको धरतीमा ल्याण्ड गर्दै गरेको हेलिकप्टर झैँ मनासलुबाट खस्ने हिमपहिरोको भयंकर आवाज खेप्दै एक्लै बिरामी साथी कुर्नुको त्रासद चित्रण मजासँग गरिएको छ । तर पुस्तकभित्र यात्री र स्थानीयका दुःखका फेहरिस्त मात्र छैनन् । प्राकृतिक सुन्दरताको मनमोहक वर्णन छ, हिँड्नेहरूलाई रुझाउला झैँ बाछिटा फाल्दै छङ्छङ बग्ने सेता झरना छन्, हावामा बयेली खेल्दै झुल्ने करुका मनमोहक बालाहरू छन् । पुङ्गेन गुम्बामा लगाइने मित-मितनीको अनौठो बान्की वर्णन छ । दुःखदर्दलाई भुलाउन मद्दत गर्ने मौलिक पाराका गीत, नाच र जमघटका प्रसंग छन्, हातमा अलिअलि पैसा खेलाउन दिने जंगलका जडीबुटी चर्चा छन्, भुइँलाई रंगिन बनाएर बादलसंगै बयेली खेल्ने सुन्दर फूलका गलैचाहरू छन् । जिङ्ग्रिङ्ग बोटका मनमोहक लालीगुँरासहरू छन् । लालीगुँरासको कुरूप बोट र सुन्दर फूलबीचको अन्तरविरोध सम्बन्धमा आफ्नो मनभित्र जे कुरा खेल्ने गर्दछ, लेखकको विवेचना दुरुस्त पाउँदा पुस्तकभित्रको गुँरासप्रसंग अझ बढी रोचक लाग्यो ।

मामाघर नमोबुद्ध जाँदा होस् या दामनको बाटो हुँदै राजधानी बाहिरिदा, गुँरासको थुङ्गाले मन प्रफुल्ल बनाईहाल्छन् तर बोटमा आँखा पर्ने बित्तिकै प्रफुल्लित मन क्षणभरमै भरङ्ग भैहाल्ने । न काठकालागि काम लाग्ने सुरिला रुख, न त छायाँ दिने झ्याम्म हागाँविगा, न त हावाको बहावसंगै झुलेर शितलता दिने सुकोमल पातहरू नै । सानोतिनोे काटकुटकोलागि हतियारकै काम गर्ला झैँ कडा अनि धारिला पात र जतासुकै गाँठागुँठीले भरिएको जिङ्ग्रिङ्ग स्वरूप । आफ्नो कुरूप शारिरीक बनावटप्रतिको अथाह वेदनामा सँधै विक्षिप्त भए झैं लाग्छन् हरेक गुँरासका बोटहरू । कतिमा राम्रो मयुर पङ्खी, पाउ देख्दै भरङ्ग…. गुँरासको बोट देख्नासाथ आमाको यो गीतिअंश सँधै याद आउने गर्दछ । सुुन्दर प्वाँख र अपुर्व नाच्ने कलाले मयुर जति मनमोहन देखिन्छ, त्यसका खुट्टा त्यत्तिकै कुरूप हुन्छन्, आफ्नो खुट्टा देखेर उ आफैँ लजाउँछ रे । गीतको अंश सम्वन्धमा आमाको स्पष्टोक्ति हो यो । मयुरको नाच र सुन्दरतामाथि कुनै शंका छैन, तर आमाले भने झैँ उसका खुट्टाप्रति ध्यान दिएर हेर्ने मेसो अझैँ जुरेको छैन । यदि यस्तै हो भने गुँरास र मयुरको नियतीमा तात्वीक भिन्नता के रह्यो र ? यस्तै सोचेँ ति हरफहरू पढ्दा पनि मैले ।

स्थानीय बोलीचालीमा प्रयोग हुने विशेष शब्दहरूको अर्थ पाठकले बुझ्नेगरी स्पष्ट पारिएको छ । यसले पाठकलाई छुट्टै स्वाद दिलाउँछ । सुन्दर र सुन्दै पृथक लाग्ने गाउँ-ठाउँका नामहरू मलाई झैं सबै पाठकलाई पक्कै प्रिय लाग्नेछ ।

आफैँ पदयात्रामा सामेल भए सरह ठाउँठाउँका स्थानीय मौलिक परिकार र पेय पदार्थको स्वाद चाखेको अनुभूतिसमेत गर्न पाइन्छ । स्थानीयबासीन्दाको जीवन भोगाइलाई केही सहज बनाउन विकास निर्माणको परियोजना चलाएका संघसंस्थाको योगदान पुस्तकमा मजाले दर्शिएको छ । सरकारले ध्यान दिने हो भने पर्यटन प्रवर्धनबाट उत्तरी गोरखाको कायापलट हुने सन्देश सायद सरकारी निकायले पुस्तकमार्फत् ग्रहण गरिसकेको हुनुपर्छ ।

लोभलाग्दा प्राकृतिक छटाहरू अन्तराष्ट्रिय जगतमा समेत फैलाउन कृतिकार सफल भएको जानकारी पनि पुस्तकमा पाउन सकिन्छ । विभिन्न भौगोलिक प्रतिकुलताका बिच आफ्ना अनेकौं छटा फिँजाउदै उत्तरी गोरखाकी सुन्दर प्रकृति जसरी हाँसेकी छिन्, उसैगरी दैनन्दिन जीवनका अनेकौं कष्ट झेलेर थोरै खुशीमा समेत रमाउन त्यहाँका बासिन्दाले प्रकृतिबाटै सिकेका छन् । यसको स्पष्ट चित्रण पाठकलाई गराउन सक्नु पुस्तकको अर्को दर्विलो पक्ष ठानेकी छु मैले ।

यिनै उल्लेखित विभिन्न कारणले गर्दा उपल्लो थलो कृति जन्माउन लेखकले धेरै गारोसारोको सामना गरे होलान्, तर कृतिलाई पढ्नैपर्ने पुस्तकको कोटीमा पु¥याउन लेखकले कुनै कसर बाँकी नराखेको निश्कर्ष निकाल्न मलाई भने गारो भएन ।

सबैलाई एकपटक पढ्न अनुरोध गर्दछु ।            

प्रतिक्रिया
Loading...