तीर्थ सिग्देलको प्रकाशोन्मुख कृति

बुर्ज खलिफा, दुबई मलबाट सुरु भएको हाम्रो यात्रा कहिले पाम जुमेरातिर मोडिन्थ्यो त कहिले फरारी वल्र्डको रोलरकोस्टरमा । कहिले होटलहरुमा चीसो बियरसँग हिन्दी गीतको लाइभ सुन्दै मजा त कहिले डेजर्ट सफारीमा तातो बालुवासँग खेल्दै गरेको अनुभव ।

डेजर्ट सफारीसँगै बेली डान्स र ऊँटको सफारीसँगै बालुवामा बाइक राइडिङ । बालुवाको खानीबाट अस्ताउँदो सूर्यको निक्कै दुर्लभ दृश्य । दुबई मल पछाडि र बुर्ज खलिफाको अगाडि उभिएर वाटरडान्स हेर्दा मनै रमाउने ।

कुनै दिन आबुधाबी त कुनै दिन फूजेरा र शारजहाँ । जता पुगे पनि संसारमै नमूना विकासको अभ्यास भइरहेको दृश्य हाम्रा आँखामा कैद भइरहेका थिए । छिटो र छरितो शैलीमा मुलुकको विकास कसरी गर्ने भन्ने सिक्ने र सिकाउने थलोको रुपमा विकसित भइरहेको दुबईले गरेको प्रगतिको कथा त कुनै दिन यसरी लेख्नु नै थियो ।

मैले यसकै लागि दुबईका सकेसम्म सबै महत्वपूर्ण ठाउँ घुम्ने प्रस्ताव साथीहरुलाई गरेको थिएँ । र उनीहरुलृ स्वीकारेका थिए । झापाली भाइ मणिराम रामानुजदास पर्याप्त साथ दिएका थिए ।

एउटा सपनाको सहर । संसारकै तिव्र गतिमा विकसित हुँदै गरेको देश । विश्वमै सबैभन्दा बढी पर्यटक तान्ने मुलुक । ठूलो, अनौठा र भयानक चिजहरु निर्माण गरेर विश्वसँग प्रतिस्पर्धा गरिरहेको मुलुक । युएई सयर गर्ने हाम्रो सपना यसरी पूरा भइरहेको थियो ।

बुर्काको देशमा बेली डान्स ?

धेरै रोमाञ्चक र रमाइलो क्रियाकलापहरूमा सम्लग्न हुनुभन्दा पनि बेडौइन शैली तम्बुमा दुई घण्टा खर्च गरेर बालुवाको सागरमा बेली डान्स हेर्नुको मजा बेग्दै थियो । डेजर्ट सफारीबाट फर्केपछि बालुवाको तम्बुभित्र बसेर बियर र स्न्याक्सको स्वादमा अफगानिस्तानी युुवतीहरुको बेली डान्स हेर्ने रहर पूरा भयो ।

बुर्काको देशमा बेली डान्स ? यो संसारमै प्रसिद्ध छ । हामीले सोचेको खाडी मुलुक, त्यसमा पनि मुस्लिम देश । हामी जे सोचेर दुबई पुगेका हुन्छौं, त्यसको ठीक उल्टो पाउँछौं । पर्यटकहरुका लागि सबै प्रकारका सुविधा दिने प्रचलन रहेछ, त्यहाँ । त्यो देखेर छक्क पर्छौं ।

जिन्दगी त्यो रफ्तार हो, त्यहाँ जो दौडन सक्छ । त्यही अगाडि जान्छ । भोलि कहिल्यै आउँदैन, आजको एकदिन नै जीवन हो । जति वर्ष बाँचे पनि जिन्दगीको गन्तव्य एक दिनले नै तय गर्छ । त्यो एकदिन, त्यो एकपलले भावी दिनको निर्धारण गर्छ । त्यही एकदिनले फैसला गर्नेछ, बाँकी जीवनको । त्यही एकदिन हामी त्यहाँ पुगेका थियौं ।

जिन्दगीमा कति दिनसम्म मरिमेट्नु ? कमसेकम केही दिनलाई भए पनि आनन्द लिन पाए हुन्थ्योजस्तो सबैलाई लाग्छ । हामी पनि यही लालसा बोकेर त्यहाँ पुगेका थियौं ।

त्यहाँको डेजर्ट सफारी संसारमै डरलाग्दो र जोखिमपूर्ण छ । डराइडराई हामीले डेजर्ट सफारी गर्यौं । ठूलो मरुभूमिभित्र तातो हावासँगै चिसो बालुवामा खालीे खुट्टाले हिँड्नुको मजा बेग्लै हँुदो रहेछ ।

शरीरले बाफ लिएजस्तो लाग्ने । हात खुट्टा र जिउ दुखेर लखतरान भएको बेला तातो पानीमा खुट्टा चोबेजस्तो, बाथरुममा पसेर तातेपानीले नुहाएजस्तो, समुद्रमा नुहाइसकेपछि बाहिर निस्केर बालुवामा ढाड फर्काएर सुतेजस्तो भान हुने । त्यहाँ हामी सबैले आकासमा उडेजस्तो गरेर फोटो खिच्यौं । जता हेरे पनि रातो र तातो बालुवाबाहेक केही देखिन्न । पारी साउदीको बोर्डर र त्यतातिर देखिएको सेतो पहाडले आँखा तानिरहन्थ्यो ।
पठानीहरु डेजर्ट सफारीका लागि माहिर मानिन्छन् । वर्षौँदेखि उनीहरुको कामै यही हो । ल्याण्डरोभर गाडीमा विदेशीहरुलाई बोकेर बालुवामा गाडी नै पल्टिने गरी कुदाउँदा पनि उनीहरुलाई डरै लाग्दैन । बरु हामीले शरीरमा बेल्ट बाँधेका छौँ ।

कमसेकम गाडी पल्टिए पनि लड्न त लडिदैन । कहिले बालुवाको पहाडको टुप्पोमा त कहिले तराईको फाँटमा हामी चढेको गाडीले लड्न चै लडाएन ।

डरै डर बोकेर झण्डै दुई घण्टाभन्दा बढी हामीले बालुवामा रैफाँडो गर्यौं । कतिबेला गाडी पल्टिएर मरिएलाजस्तो भएपनि हामीले डराउँदै डराउँदै, कराउँदै कराउँदै पठानीहरुको ड्राइभको प्रशंसा गर्यौं ।

जात, धर्म, संस्कार, संस्कृति एउटा कुरा हो । मान्छेले सोच्ने र भोग्ने अर्को कुरा हो ।

यस्तो भावना मनमा खेलिरहेको बेला अबुधाबीमा रहेको शेख जाइद ग्रेन्ड मस्जिदबाहिर टहलिँदै गर्दा एक हुल महिलाहरु देखिए । गोरागोरा अनुहार परेका तर सबैले बुर्का लगाएका । म छक्क परें । खासमा उनीहरु चाइनिज रहेछन् । बुर्का लगाएर मस्जिद आएका ।

यसको अर्थ मैले डेजर्ट सफारीमा गाडीको सफारी गर्नुअघि टाउकामा बाँध्न आग्रह गर्दै गाडी चालकले दिएको रुमाल सम्झिएँ ।

त्यो सब पर्यटक तान्ने योजना रहेछ । जहाँ जे पहिचान छ । खासमा पर्यटन त्यही हो । त्यो वस्तु र स्थानको प्रवर्धन नै पर्यटन हो । शेख जाइद ग्रेन्ड मस्जिद गैरमुस्लिमलाई पनि खुल्ला छ । यो उनीहरुको पर्यटन रणनीति हो ।

स्थानीयलाई बाहेक विदेशीलाई त्यहाँ जस्तोसुकै फेसन गर्न प्रतिबन्द छैन । नत्र सरकारले मरुभूमिमा बेली डान्स गर्ने अनुमति नै दिने थिएन । जहाँ अफगानी महिलाले देखाएको नृत्य हेर्न पर्यटकहरु तँछाडमँछाड गरिरहेका हुन्छन् ।

बाहिर देख्दा खुल्ला समाजजस्तो देखिन्छ । तर, हरेक मुस्लिम देशभित्र धर्मको शासन हुन्छ । पर्यटकहरुको आकर्षणका लागि त्यो कडाई नदेखिएजस्तो भए पनि त्यहाँ कानुन कडा छ ।

हामीलाई यात्रा गराउने रत्न भाइ भन्दै थिए, “सर…यो उनीहरुको पर्यटक तान्ने योजना मात्र हो । खासमा यहाँ शासन कडा छ ।”

अकल्पनीय लाग्न सक्छ, यो दुबईको पर्यटक तान्ने योजना हो । देशको कानुन आफ्नो ठाउँमा छ । तर, पर्यटकहरुका लागि सबै सुविधा छ ।

डरको शासन

हाम्रातिर यत्रतत्र सडकमा देखिने ट्राफिक न त्यहाँ थिए, न प्रहरी नै । केवल ट्राफिक कन्ट्रोलका लागि सडकमा जताततै राखिएको प्रविधिले चलेका छन्, सवारीका साधनहरु । रत्न भाइको अनुभवमा त्यहाँ डरको शासन चलिरहेको छ । खासमा डर पनि एकप्रकारले कानुन परिपालनका लागि जरुरी हुँदो रहेछ । हाम्रो देशमा न डर छ न कसैको भर छ । यदाकदा हाम्रो देशमा रक्षक नै भक्षक भएका घटना पनि छन् ।

खासमा त्यस्तो नहुनुपर्ने हो । कानुन र नियम भनेकै मान्नका लागि हो । त्यो पालन नगर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन ।

दुबईका चौडा सडकहरु नाप्दै गर्दा देखिएका दृश्यहरुले हाम्रो देशको, खासगरी काठमाडौंको ट्राफिक समस्याको याद आउँछ । जहाँ न कानुन छ, न शासन छ । ट्राफिक आइल्याण्डमा एउटा ट्राफिक प्रहरीले सिटी फुकेको भरमा कसरी ट्राफिक कन्ट्रोल होला ?

त्यहाँ कसैले पनि सडकमा ट्राफिक नियम उलंघन गर्दैन । राजपरिबारकै सदस्य किन नहोस् ? उसले पनि ट्राफिक नियम उलंघन गरेमा कारबाही भोग्नु पर्छ । कुनै कारणवश कसैले ट्राफिक नियम उलंघन गरेको भए त्यो सूचना तत्कालै त्यहाँ जोडिएको प्रविधिले पठाउँछ । र, त्यही सूचनाका आधारमा स्वतः उसको नाममा फाइन गरिन्छ । त्यो फाइनको बिल उसको घरमा वा कार्यालयमा पुग्छ । त्यसपछि उसले अनिवार्यरुपमा फाइन बुझाउनै पर्छ ।

हाम्रो मुलुकमा पनि यस्तो नियम बन्ला ?

मलाई यता फर्केपछि यस्तो लाग्यो, हाम्रो देशमा यदि यस्तो नियम बन्ने हो भने काठमाडौंतिर चल्ने सवारीका साधनहरु र तराईतिरका कतिपय सार्वजनिक बस कति दिनसम्म सडकमा गुडिरहलान् ? मलाई लाग्छ, ती गाडीले फाइन तिरेर नै सक्ने छैनन् । कमसेकम एक महिनामा त उनीहरुले फाइन तिर्नकै लागि सवारीका साधन बिक्री गर्नुपर्ने हुन्छ ।

संसारमा कुनै पनि एउटै वादले मात्र विकास गरेको उदाहरण छैन । लोकप्रिय शासन पद्धति भनेको लोकतन्त्र हो । अहिलेको संसारकै सफल अभ्यासको रुपमा यसलाई लिइन्छ । लोकतन्त्र बिना विकास सम्भव छैन, लोकतन्त्र बिनाका देशले प्रगति गर्न सक्दैनन् भन्ने बुझेर बसेका हामीहरुको दिमाग त्यहाँ पुगेपछि मात्र खुल्छ ।

(प्रकाशोन्मुख नियात्रा संग्रह “एकदिनः समयकथा” बाट)