पहाडको फेदमा पराले छानो भएको घरमा भदौरे झरीमा जन्मेँ म । मेरो बाल्यकाल त्यति दुखद् थिएन । मैले थाहा पाउँदा धेरै गाई, बस्तु, भेडाबाख्रा थिए। ठूलो जहान । खेतीकै काम थियो सबैको तर म पढ्न जान्थेँ । पढ्नु पर्छ भन्ने लागेर । छोराछोरी सबै जान्थे पढ्न । दिदीहरूको सानैमा बिहे भइसकेको थियो । चलन नै त्यस्तै । त्यो पनि मगनी । ठूला मान्छेले भनेको मान्नु पर्ने । आफैँ रोज्ने त के, कुरा काट्ने पनि आँटै हुँदैनथ्यो। छोरी धेर बाठा भए भने पोइल जान्छन्, छिटो बिहे गरेर पखेटा काटिदिनु भन्थे । बिहे नै विकल्प थियो । पढाइ गर्न नपाउँदा पाएको पीडा र दुःखले छोरी पढाउनुको रहस्य बुझ्दथेँ म । आमाले दुःख गरेर पनि आफूलाई पढ्न पठाएकोमा अत्यन्तै खुशी थिएँ ।
पढाइ र खेतीका काम बराबर गरिन्थ्यो तर आज काम गर्नुछ नजाओ भनेर कहिल्यै रोक्नु भएन । दुःखसुख गरेर स्कुल स्तरीय पढाइ सकियो । आफ्नो मनले चाहेको केही कुरा प्राप्त गर्नु परे देवीदेउतासँग शक्ति माग्ने चलन थियो । काम बनोस्, म यो चढाउँछु ऊ चढाउँछु भनेर भगवानलाई घुस ख्वाउने गरिन्थ्यो । कत्ति कुरा विश्वास पनि लाग्थ्यो । पास भए पाथिभरा देवीको दर्शन गर्न आउँला भनेर भाकल गरेकी थिएँ मैले पनि । भाकल गरेरै पास भएको हो भन्ने विश्वास लाग्थ्यो ।
पास भइयो पाथीभराको भाकल छँदैथियो। गाउँबाट ठूलै टोली त्यसतर्फ जाने भयो । त्यही हुलमा मिसिने भयौँ हामी पनि। सबैले आ–आफ्ना भाकलअनुसार फूलपाती, अक्षता, बाख्राका पाठा, कुखुराका भाले, हाँस, परेवाका बच्चा आदि डोहोर्याउन थाले । कसैको परेवा उडाउने भाकल, कसैको कालो पाठी चढाउने भाकल । कसैको अण्डा मात्र चढाउने पनि भाकल रहेछ। मेरो त फूलपाती चढाउने मात्र थियो । दुई-तीन दिनको यात्रा थियो। खाजासामल, ओढ्ने ओछ्याउने, पकाउने पस्किने, सबै कुरा भारी हालेर बाटो लागेँ ।
बाटोमा तिर्खा लाग्छ भनेर उसै दिनको लागि घरमा पारेको बाक्लो मोही एउटा तुम्लेटमा हाली माल्दाइ (घरमा काम गर्न राखेको) को ढाकरको खकन छेउमा तुर्लुङ्ग झुण्ड्याइएको थियो । जति हिँड्यो उति त्यो तुम्लेट लिख्रिक लिख्रिक हल्लिरहन्थ्यो । भारी बिसाएका ठाउँमा अलिअलि पिउँदै घटाउँदै पनि थिएँ । माल्दाइ गाईभैँसीको भन्दा अन्नको मोही पिउँदा रमाइला देखिन्थे । यात्रा गर्दा प्रायः उनलाई अलिकति पैसा खल्तीमा छुट्टयाइदिनु पर्थ्यो। बाटोमा लेक नलागोस् भनेर आमाले मकै भट्मासको सातु, चिउरा, अदुवा, टिम्मुर, अमिलो, धुले अचार आदि र खाजाका लागि चिउरामा कुराउनी र मह मोलेर ठीक पार्दिनु भएको थियो ।
लहलह बयली खेलेको धानको खेतैखेतैको हिलाम्मे करिम-करिम ओरालो बाटो । तुम्लेटमा आधा मोई छचल्किरहेको थियो ढाकरको बिटमा । घाम नचर्की बाटो काटनु पर्छ भनेर छिटोछिटो हिँडिदै थियो । एक्कासि बम पड्केको जस्तो भयानक आवाज आयो । झुण्डिएको तुम्लेटको बिर्को उडेर पर उछ्ट्टियो र ह्वात्तत् पिचकरी हान्यो मोहीले । आवाजले झस्याङ्ग भएका बटुवा र खेतमा काम गर्ने किसानहरू मरिमरी हाँसे । तुम्लेट रित्तियो, बिर्को हरायो । तुम्लेट पड्किएर सातोपुत्लो गएका माल्दाइलाई समाल्न हाँस्तै छेउमा पुग्दा, उनले त अघि नै कत्तिखेर अन्नको मोई पो सोड्क्याई सकेका रहेछन् । उनको यो रूप देखेर फेरि एकपल्ट सबैको मुखबाट हाँसोको फोहोरा छुट्यो ।
पाथीभरा जाँदा भने, ‘अन्नको मोई खाएर गएमा, अपशब्द बोलेमा अनिष्ट हुन्छ । सङ्कट हुन्छ । तुरुन्त हानी नोक्सानी ब्योर्नु पर्छ । भाकल पूरा हुँदैन । शुद्ध मनले देवीमाताकै सम्झनामा भजनकीर्तन गर्दै दर्शन गर्न गए सारै हल्कासँग यात्रा गरेर फर्कन्छन् । जीवनमा जानी नजानी गरेका गल्तीप्रति क्षमायाचना गर्दै अन्त मन गए पनि खैँचिएर काबुमा ल्याई म तिम्रै शरणमा छु भनेर एकचित्त हुनुपर्छ । यति बेला मादक पदार्थ लिनु हुन्न’ भन्ने मान्यताअनुसार उनले पनि यही मोहीमा चित्त बुझाउलान् भन्ने सबैलाई लागेको थियो ।
‘साक्षात् देवी पाथीभरा माताले रुचाएको छ भने पाठाहरू पनि खुरुखुरु हिँड्छन्, नरुचाएको भए बाटैमा बिरामी भएर मर्छन् । कसैका पाठा त डोर्याएको डोरी नै खुस्काएर ठाउँको ठाउँ अलप हुन्छन्,’ भन्ने भनाइ पनि थियो । त्यसैले पाठाको डोरी नारीमा बाँधेर दरोसँग पक्डन लगाउने गर्दथे ।
बाटो मन्दिरसम्म पुगिन्जेल नै ठाउँठाउँमा करिम-करिमबाहेक उकालो थियो। ओरालो सकेर तमोरको खड्कुले पुल तरी सर्पजस्तो नागबेली उकालो तोक्मेसम्म नै हिँड्नु पर्ने थियो, पिठ्युँको भारीलाई वास्ता नगरी जंगलको बाटो, पत्करको सर्याक्सुरुक र चराचुरुङ्गीका मीठा आवाजसँगै झर्दै बिलाइ रहे पसिनाका धारा । डोबिल्काको पानी र ठाउँठाउँका तिरतिरे धारासँगै मेटिदै गए अतृप्त र अनगिन्ती प्यासहरू ।
रातको बास बस्न ताप्लेजुडको तोक्मे डाँडामा पुग्न सकिएन। अलि तल गाउँमै बसियो। भोलिपल्टको शनिबारे हाट रहेछ तोक्मे डाँडामा । मान्छेहरूको निकै चहलपहल थियो । झुरुप्प झुरुप्प बसेर किनमेल गर्दै खाजापानी खाइरहेका थिए । छेवैमा आर्मीको ब्यारेक थियो काँढेतारले घेरिएको। आकर्षक सुन्दर पोशाकमा सजिएका सेनाहरू देख्दा सालबोटे काकालाई सम्झी रहेँ। उनले गाउँमा आएका बेला त्यस्तै पोशाक लगाएका हुन्थे।
०००
बाटो हिंड्नेहरूको भीड छिचोल्दै पाडो तान्दै गरेको एउटा समूह हतारहतार बजार पस्यो । पाडो मुखभरि फिँज निकालेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आत्तिएर कता भागौँ जस्तो गर्दै थियो । बाँच्न खोज्ने त्यसलाई तान्दै लगेर एउटा किलोमा टम्क्याए । उतापट्टि मान्द्रो ओछ्याए । पाडोले फुत्किन धेरै प्रयास गर्यो तर केही लागेन । एउटाले बन्चरोको पासोपट्टिबाट पाडाको दुई सिङ्गका बीचमा लगातार तीन चारपटक मच्चाएर प्रहार गरियो। पाडो भूइँमा पछारियो । उनीहरूले एकैछिनमा छाला काढेर रातै मासु फिँजाइसकेका थिए मान्द्रोमा । आफ्नै अगाडि पाडो मारेको कहिल्यै नदेखेकी मैले सानोमा छिमेकी भाउजूले दिएको ठूलो खसीको मासु सम्झेँ तर आजको दृश्य हेर्न सकिने खालको थिएन । मासु खाएकी भए पनि यसरी मारेकै त देखेकी थिइनँ ! दशैँमा खसीको आन्द्राभुँडी धुन लगाउँदा पनि काट्ने बेलामा भने आइमाई-केटाकेटीलाई हेर्न दिँदैनथे ।
उभिएर हेर्न खोज्दै गर्दा हतार लगाउनेहरू भन्दै थिए, ‘माथि सुकेटार गिरानमा हावाजाज हेर्ने मन भए छिटो पाइला चाल ।’ तमोर तरेर उकालो लाग्दा चाँदीजस्तो टल्कने कञ्चनजङ्घाको छायाँ आफू सँगसँगै हिँडिरहेको जस्तो लाग्दै थियो । कोही कोही गाउन थाले रेडियोबाट बज्ने त्यो गीत–
औँशी र पूर्णे हाट भर्नु मात्रै राम्रो तोक्मे बजार लौ है हजुर
सिनामे साइली नि हाँगपाङ्गे माइली ल्याउने हाम्रो रहर लौ है हजुर
सुकेटार गिरान बादलले घेर्यो जहाजै नबस्ला कि लौ है हजुर
मायालु ज्यानको भरपरी बस्दा उमेरै पो जान्छ कि लौ है हजुर
सुकेटार गिरान………घर सोध्दै आऊ है नि लै लै देउराली सिरान ।

पहिला तोक्मेमा बस्दा पनि सुकेटार गिरान पुग्ने मौका परेको थिएन । आज मौका पर्यो भन्ने पनि थिए धेरैजना । कहिल्यै घर नछाडेकालाई भने नौलो र अनौठो थियो त्यो । मलाई भने तीर्थमा हिँडेको बेला यस्ता मायाप्रीतिका गीत नगाए पनि हुने भन्ने लागिरहेको थियो ।
सुकेटार पुग्दा भर्खरै जहाज आएर पनि गई सकेछ । रित्तो चौर मात्र थियो । अघि उनीहरूले मायाप्रीतिको गीत गाउँदा मलाई मनमा लागेको डर यत्तिमै टरेजस्तो खुसी लाग्यो । मलाई मनमा एउटै डर थियो, ‘देवी रिसाएर केही अनिष्ट होला कि !’ उनीहरूको गीतको बोल सुन्दा बेलाबेला झर्को लागेर आउँथ्यो र भन्थेँ– ‘गीत नगाउनु नि हौ तीर्थ जाँदा त ! बरु भजन गाउँदै पो हिँड्नु नि!’
‘सुकेबाट हिडेपछि एकरात जंगलको पाटीमा बिताउनु पर्छ । जाँदा जस्तो गारो हुँदैन आउँदा । बास बस्न सुके आइपुगिन्छ,’ भनेर दुई छाक खाना र सुत्ने मात्र सामान बोकेर बोकी गह्रौँ सामान त्यहीँको पसलमा राखिदिन अनुरोध गरी सामान छाडेर चिसो, ओसिलो, चिप्लो उकालोतिर लागियो । हिँड्दा हिँड्दै थाहै नपाई लेक लाग्छ है तैनाथ हुनुपर्छ भनेर आमाले भनेको कुरा याद आयो। एक हातमा झोलाबाट झिकेर टिम्मुर,सातु, अदुवाको पोको र अर्को हातमा लठ्ठी टेक्दै उकालो हिँडिरहेँ । ‘बाघभालुको डर हुन्छ सबै समूहमै हिँड्नू नि!’ आमाका कुरा पनि झल्झली सम्झना आइरहेको थियो ।
‘भोलि बिहान माथिल्लो फेदीमा खाना खान पुग्ने हिसाबले छिटोछिटो हिँड्नु पर्छ,’ अनुभवीहरू भन्दै थिए ।
घाम छँदै भेटेका धेरै पाटीपौवाहरू छाड्दै हिँडिरह्यौं । झमक्कै साँझ परेर बाटो नदेख्ने बेला भैसक्दा पनि बास बस्ने पाटी भेटिएको थिएन । सिमसिम पानी पर्न थाल्यो । पानी त के शीत झरिरहेको थियो । बाटोभन्दा केही पर पिल्पिल बत्तीको उज्यालो देखियो । त्यहाँ पुग्दा त्यो त निकै सानो पाटी थियो, एकपाखो लडिसकेको । एक झर पानी पनि नधान्ला जस्तो । त्यहीँ पनि अघि नै एउटा बटुवा आएर बसिसकेको रहेछ । हाम्रो त्यत्रो ठूलो समूह त्यहाँ अट्ने सम्भावना थिएन । तैपनि अरू विकल्प नभएपछि अलिकति रहेको खाली ठाउँमा सबैले भारी बिसायौं । राति बास बस्दा चाहिन्छ भनी बोकी ल्याएको ठूलो प्लाष्टिक फैलाएर त्यसमाथि राडी, बुर्काशन, दरी के के थिए ओछ्याए सबैले । कम्बल, धूसा, मजेत्राहरू ओढ्न ठीक पारे । झोलाबाट चिउरा, सातु, पुवा, सेलरोटीका टुक्रा, बाबर, निकालेर खान थाले ।
अलिक परको डोबिल्काबाट उघाएर ल्याएको पानी धमिलो र बालुवा मिसिएको थियो। एकछिन टक्याएँ। सातु चिउराको साथी बनाउन अघिल्लो बटुवाले बनाएको अगेँनामा आगो जोरेँ। चिया पानी बन्यो।
‘त्यो पिंधको छोक्रा चाहीँ सबै यता लेऊ है कान्छी ! निक्कै गुलियो रच। मीठो हुन्छ,’ माल्दाइको यो भनाइमा सबै जना गलल्ल हाँसे। उनका मुखमा दाँत भने थिएनन्। मैले कुराउनीको अलिकति धुलो सातुमा छर्की दिएँ। थोते मुख मज्जाले चलाइचलाई चिया र सातुमा रमाए माल्दाइ।
त्यस्तो जीर्णे पाटीको बासमा कोही पनि राम्ररी निदाउन सकेन। प्रायः सबैजना रातभरि बोली नै रहेका थिए। भुरा केटाकेटीलाई बीचमा पारेर छेउछेउमा लाठेहरू सुते पनि त्यति भयमुक्त भने कोही थिएनन्। जाडोले गर्दा केटाकेटीहरूले ओछ्यानमै सुइँक्याएछन्। बिहान सबेरै हिँड्नुपर्ने भएकोले सबैजना जर्याकजुरुक उठेर तयार हुँदै, रातिका आआफ्ना अनुभव बताउन लागे ।
‘आफ्नो त कम्मर तिरबाट तातो आयो। न्यानो भएछ एकछिन त मजाले सुतिएछ। एकछिन पछिदेखि त चिसो भएर बूढो मुत डुंगडुंगती गनाउन थाली गो नि! केको सुत्न पाउनु र ! फेरि मसिनेले टेक्ने हातले देको देई। उसको खाने हात पन्छाउनु कि टेक्ने हात पन्छाउनु? म त पूरा खेतालो नि! मुतको न्यानो सकिएपछि मतिरै टाँसिन्छ फेरि। जम्माजम्मी एक झप्को निदाइयो होला!’रविनले नहाँसी भने पनि सुन्ने जति सबै मजैले हाँसे।
आ–आफ्ना झोला पोको पारेर झिसमिसेमै फेरि लागियो उकालो। त्यति नगरे मध्याह्नमा पूजा गर्न मन्दिर पुगिदैनथ्यो । सेपिलो, जंगलैजंगलको बाटो । हातखुट्टा ठिहिर्याएर पानीजस्तै भएका थिए । नाकबाट अविरल तमोर बगिरहेको थियो ।
‘अब पूजा नगरी केही खान मिल्दैन रे! यो दुई तीन घण्टाको बाटो त देवीको शक्तिले पनि तान्छ रे! सबैजना बोल्दै हिँड्नु पर्छ, थाहा नपाइकन लेक लाग्छ नि,’ गुन्गुनाहट सुनिदैथियो। नभन्दै अघिदेखि चुपचाप हिँडिरहेकी कमला थुचुक्कै भूइँमा बसी। आँखा सेता पारेर पल्टाई। साग ओइलाएको जस्तो लुलो भई। त्यसै पनि कमजोर लाग्ने। पहिलादेखि नै सानो ठक्कर वा चोट लागेमा वा रङ्गीचंगी चीज देखे अचानक बेहोस हुने मान्छे।
झोलाबाट सातु, अदुवा, कागती, टिम्मुर निकालेर पालैपालो अनुहारमा, शरीरमा दलिदिन थाले। फुक्को सातु मुखमा पनि हालिदिए। कहाँ निलिनु? चिसा पसिना पो आए! त्यसमा पनि पूजा नगरी खानु हुँदैन भन्ने मान्यता थियो। पातमा जमिरहेको तुषाराको झुप्पाले निधार र हत्केला पुछिदिइन्, कान्छी दिदीले। तातोले सेक्नु पर्नेमा चिसोले के काम गर्थ्यो? अगाडि जाने अरूलाई थाहै भएन। एकछिनपछि बिस्तारै आँखा खोली।
‘झण्डै पो बोकाइन् है !’ पुरुले हाँस्तै भने।
‘धन्न छिट्टै छाड्यो,’ कान्छी दिदीले राहतको श्वास थपिन्।
उसको झोला पनि आफैँ खप्टिएँ, ‘बिस्तारै हिँड्नु पर्छ, अब पुगिन लाग्यो ।’
कमलाले हिँड्ने साहास बटुल्दै भनी, ‘खुट्टै पो नटेकिँदा रछन् त !’
‘मैले त झण्डै ढाकर पो ठीक गरेको !’ पुरुले जिस्क्याए र सँगसँगै हतेर्न थाले। बाटाभरि हँसाउने रमाइला मान्छे थिए उनी। पुरु र रविन भएपछि बाटो काटेकै थाहा नहुने। माथि पुगेका रविनहरू पर्खिरहेका थिए।
‘किन ढिला गरेको नि ?’
पुरुले हाँस्तै भने, ‘यी तिम्री फुपूले झण्डै ढाकर भरेकी । कति छिटो हिँड्या नि यार ?’
रविनले भने, ‘हिड्नु पर्छ । लौ हिडौं हिडौं । अलिक जीउ तातिन्छ ।’
सानो फेदी मास्तिर पुगेर शुद्ध पानी अचाएर मन्दिर परिसरमा प्रवेश गरियो। शुद्ध मन र पवित्र भावनाले क्रमैसँग देवीको दर्शन, पूजा आराधना गर्न थाले । जम्ला हात गर्दै, घोप्टो परेर आफ्ना भाकलहरू बिसाउन थाले– धुपबात्ती, नैबेद्य, अबीर र अक्षताका साथ । रङ्गीबिरङ्गी ध्वजापताका, भेटी अनि भाकलमा उठाइएका फूलपाती अक्षताहरू पवित्र मनले चढाए सबैले । अरूहरूले पठाएका फूलपातीहरू पनि जजस्को नाममा थियो सबै चढाइदिए । यसरी चढाइएका सामान र रङ्गले छपक्कै छोपेकाले शक्तिकी देवी भगवतीको मूर्ति प्रष्टसँग देखिदैनथ्यो । मन्दिरमा सानो भएर बसे तापनि सबैका हृदयमा विराट भएर बसेकी शक्तिकी देवीको नामै मात्र उच्चारण गर्दा वा सम्झिदा पनि हृदय पुलकित भएर आउँथ्यो। झन् अहिले पूर्णरूपमा समर्पित मनले पूजा र दर्शन गर्न आउन पाउँदा म हर्षले भरिएकी थिएँ ।
बली खाने र नखाने देवीको अलगै पूजा हुँदोरहेछ । फूलपातीसहित दर्शन मात्र गर्ने थियो मेरो। आफूले भाकल बुझाउन लगेका साना पाठा, परेवाका बच्चा क्रमैसँग बली दिइरहेथे मान्छेहरू । भन्थे, ‘बली दिनेबित्तिकै बली दिइएका पशुहरूको रगत त्यत्तिकै सुक्छ । बिलाउँछ भूइमा । बग्दैन ।’
आफूले गरेको भाकल पुग्नेमा ठूलो विश्वास थियो। आफूलाई सारोगारो परेको दुःख बिसाउन, आफ्नो नराम्रो बानी परिवर्तन गर्न कबुल गर्ने विशेष पवित्र स्थल हो पाथीभरा माताको मन्दिर। मागेको चीज अवश्य पाइन्छ अनि माताको प्रसाद ग्रहण गरे अनिष्टबाट बचिन्छ भन्ने विश्वास थियो सबैको। आफूलाई अप्ठेरो लागेको कुरा चढायो भने त्यो आफैँ सजिलो हुँदै जान्छ भन्ने विश्वासले होला, त्यहाँ किताबहरू पनि चढाइएका रहेछन्। मलाई गाह्रो लाग्ने गणित विषय चढाउन मन लाग्यो तर लगेकी थिइनँ। मनमनै चढाएँ। हराएका चिज पनि भेटिउऊ भनेर मन नै चढाई दिएँ ।
पहिला आइरहनेहरूले भने, ‘आफूले ल्याई चढाएका फूलपातीहरूको बदला अरू फूलपाती र सामानहरू प्रसादको रूपमा लान पाइन्छ । यहाँ चढाएका अरू कुराहरू पनि लान मन लागे पैसा राखेर लान सकिन्छ। त्यसै लग्यो भने चोरेको हुन्छ, त्यो मान्छे कि घरै पुग्दैन कि पुगी गए पनि वर्ष दिन काट्दैन।’ मलाई पनि यहाँको चिनो केही लान पाए हुने भन्ने लाग्यो। अघिदेखि नै मेरा आँखा भने त्यहाँ चढाइएका किताबमै परिरहेका थिए। त्यहाँ कसैले चढाएका मध्ये दुई किताब छानेर ती पुस्तकका मूल्य बराबरको पैसा त्यही छाडी दिएँ र लक्ष्मी निबन्ध संग्रह र गीतको एउटा किताब प्रसादको रूपमा लिएर फर्किएँ।
अरूले के-के मागे, मनमा जिज्ञासा आइरह्यो ।
आफ्नो भाकलअनुसार पूरा भएको विश्वासमा सबैको मन चंगा भएको थियो । भर्खरै बलि दिएका टाउका छिनिएका पशुका शरीरहरूलाई घिसार्दै अघिकै बाटो फर्कियौं सबै । अलिक तल्तिर सानो तिर्तिरे धारो थियो । त्यहीँ छेउमा ल्याएर शीत चुहुँदै गरेका दाउराको उरुङ्गमा आगो सल्काई पाठाको भुत्ला डढाउन थाले । अर्कातिर पानी तातिरहेको थियो– परेवा कुखुरा भुत्ल्याउने। काटकुट गरी पकाउन तयार गर्दै थिए। महिलाहरूलाई पाठाका आन्द्राभुँडी धुने काम दिएका थिए। कोही अरूले गरिरहेको काम हेरेर टोलाएर बसिरहेका थिए । म भने यताउता पानी हाल्दिने, पखालपुखुल गर्न सहयोग गरी रहेकी थिएँ ।
आफूले भोग दिन पशुहरू नलगेकोले त्यसको व्यवस्थापनको कुनै चिन्ता थिएन । बरू चिन्ता त मासुभात कहिले पाक्छ र जाडोलाई चुनौती दिउँको मात्र थियो । चिसो मौसममा मासुभात प्रसादको रूपमा खाइयो। साना कलिला लुते पाठापाठीको झोल र भातले निकै तरान थप्यो।
‘खाना खाएर बास बस्न तोक्मे डाँडा मुनिको गाउँ पुग्नुपर्छ,’ भन्दै थिए पुरु र रविन।
‘ठूलो हुद्दा देखेर बास नदिन सक्छन् । कोही आफन्त कहाँ, कोही कहाँ छरिनु पर्छ। तीन-तीन वटा पाठाको मासु हामीले मात्र खाएर सकिँदैन । बोकेर तमोर तार्नु पनि हुँदैन । हामी जहाँजहाँ बास बस्छौँ, त्यहीँ दिनुपर्छ,’ पनि भनी रहेका थिए ।
मासुका झोलसँग धानको भात र धुले अचार पेट भरी खाएर, आ–आफ्ना पोका पन्तुरा बोकी लागे ओरालो सुकेटारतिर। पुरु र रवीन भन्थे, ‘छिटो हिँडौ है, आज भने हवाइजहाज देख्नै पर्छ ।’
बाटो ओसिलो, शिताम्मे र चिप्लो थियो । गोडा थामेर हिँड्नु पर्ने । उकालोजस्तो सजिलो थिएन ओरालो झर्नु । प्रायःले लौरोको सहारा लिएका थिए । निकै तल झरेपछि एउटा छाप्रो आयो । चिया र केही बिस्कुट, चारपाँच प्याकेट चाउचाउ पनि राखिएका थिए । उनीहरूको बासस्थान नै त्यही हो भन्ने प्रष्ट देखिन्थ्यो । राम्रो कुरा त त्यहाँ पानीको धारो थियो । पाठाको मासुले खरिएकाहरू सबैले पेट भरी पानी पिए र थकाई मारे। माल्दाई त ठूलो फल्याकको बेन्चीमा तमतन्न परेर एकछिन् ढल्किए पनि । कोही चौरीमा टक्य्राक् टुक्रुक् बसे, छेउछाउका सुकेका स्याउला ओछ्याएर अलिक अग्ला थुम्कामा । माथिबाट असाध्यै सुन्दर देखिन्थ्यो ताप्लेजुङ बजार । आफूले सानैमा पढेको भानु स्कुल पनि देखिएजस्तो लाग्थ्यो र आफ्नो अतित पनि झलझली आउँदै थियो दिमागमा । आज पनि देख्न पाइएन हवाइजहाज । भरखरै उडिसकेछ । लौ लौ हिँडी हालौँ भरे बासमा पुगिदैन भन्दै सबै लाग्यौँ ओरालैओरालो ।
ओरालो बाटो कत्ति छिटो कटिएछ, आइपुगियो तोक्मे । पुरुहरू आफन्तका तिर लागे । हाम्रो हुद्दा बराल बाजेकोमा । प्रसादका रुपमा मासुका टुक्रा दिएपछि त्यो घरका भुराहरू अचम्मै खुशी भए । आमा बुबाले पनि हाम्रो राम्रै स्वागत गरे । बिहान खाना खान घरै पुग्नुपर्छ सबैको भनाइ थियो ।
बिहानै भालेका डाकमा हिँडियो । उकालो भन्दा ओरालो चाँडै हुने त्यसमा पनि कहीँ जानु भन्दा घर आउनु धेरै छिटो हुन्छ भन्ने लाग्छ मलाई । भाकल पूरा गरेर घर आइपुगेपछि शरीरै फूलको थुंगो जस्तो हल्का भएको थियो । अब उच्च शिक्षाको लागि बाटो खोलियो । कल्पनामा आइरह्यो कलेजको चित्र।