सेन्ट्रल डिपार्टमेन्ट, टियुमामा अध्ययनरत अर्थशास्त्रका विद्यार्थी सुजन भट्टराई गैरआख्यानका पुस्तकहरूको ठूलो प्रशंसक हुन् । सँगैका साथीहरु उपन्यास तथा कथाका पात्रका कुरामा मग्न रहिरहँदा उनलाई भने ती कुराले पट्यार लाग्छ ।
‘आख्यान फिटिक्कै नपढ्ने त होइन तर आख्यानकै पात्रहरुमा बहस चलाउन भने मलाई पट्यार लाग्छ,’ बन्दाबन्दीका बेला साहित्यपोस्टसँग कुरा गर्दै सुजनले भने, ‘साथीहरु उपन्यासमा रमाइरहेका बेला म भने गैरआख्यानका पुस्तकहरु पल्टाइरहेकाे हुन्छु । मलाई गैरआख्यानको माध्यमबाट संसार अवलोकन र मनन गर्न मन पर्छ ।’
सुजन अर्थतन्त्रका अतिरिक्त इतिहास, भूगोल, राजनीति लगायतका विषय पढ्न विशेष रुचि राख्छन् । उनी भन्छन्, “आख्यान पनि पढ्न त मजा नै आउँछ । आख्यान सत्य र तथ्यको भन्दा भावना र संवेदनाको नजिक हुन्छन् तर गैरआख्यान तथ्यपरक हुने भएकाले यसले बुझाइ र सोचाइको सीमालाई फराकिलो बनाउँछ ।”
उनलाई सबैजसो गैरआख्यान नेपालीमै पढ्न मज्जा आउने भए पनि नेपाली गैरआख्यान पुस्तकको अभाव खट्कने गरेको छ। नेपाली गैरआख्यानको असुलभताप्रति उनको गुनासो रहेको छ । भन्छन्, “नेपालमा आख्यानको तुलनामा ज्यादै न्यून गैरआख्यान लेखिन्छन् । फेरि लेखिएका पुस्तकहरु पनि सहज रुपमा उपलब्ध हुन्नन् । कति गैरआख्यानको पुनः प्रकाशन नै नगरिएकाले पनि कतिपय पुराना पुस्तक नै पाइँदैनन् । काठमाडौँमा सबैजस्तो पुस्तक पसल चाहारेर पनि कहिलेकाहीँ चाहेको पुस्तक नपाएर रित्तै हात फर्किनु पर्छ ।”
गत वर्ष अन्नपूर्णपोस्ट दैनिकले पढ्नैपर्ने १०० पुस्तकको सूची सार्वजनिक गर्योे । उक्त सूचीमा केहीको विमति रहनु नौलो कुरा त होइन तर त्यहाँ उल्लेखित अधिकांश पुस्तक ‘आउट अफ स्टक’ रहेको पनि प्रस्ट भयो ।
सूची प्रकाशन लगत्तै सुजनजस्ता अनेकन् पाठकले ती पुस्तक खोजी गर्दा केही पुस्तक मात्र उपलब्ध भए।
गैरआख्यानमा बढ्दो रुचि
२०७५ सालमा निस्किएका पुस्तकहरुमध्ये गैरआख्यानका पुस्तकहरुलाई पाठकले बढी रुचाएको साहित्यपोस्टको सानो सर्भेले देखाएको छ ।
फाइन प्रिन्टले प्रकाशन गरेको डा. सन्दुक रुइतको जीवनी, बुकहिलले बजारमा ल्याएको ओशोमाथि स्वामी आनन्द अरूणको पुस्तक ‘यस्तो अचम्म जो देखेँ’ तथा मञ्जरी प्रकाशनबाट प्रकाशित डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’जस्ता गैरआख्यानहरु यस पटक सफल साबित देखिए । यस प्रकारले हेर्दा विभिन्न प्रकाशन गृह तथा लेखक स्वयंले पुस्तक बजार घटेको जिकीर गरिरहँदा पनि गैरआख्यानको बजार भने स्थिर प्रायः रहेको देखिन्छ ।
प्रकाशक तथा वितरक पुष्पराज पौडेल आख्यानको तुलनामा गैरआख्यानको बजार स्थिर रहेको बताउँछन् तर बजार स्थिर रहँदा पनि गैरआख्यानप्रति लेखककै आकर्षण भने कम्ती रहेको उनी स्वीकार गर्दछन् ।
“आख्यानमा भावनात्मक उडान मात्रले पनि काम गर्छ तर गैरआख्यान भनेको तथ्य र अनुसन्धानपरक हुन्छन् । त्यसैले पनि आख्यानका तुलनामा गैरआख्यान कम आएका हुनसक्छन्,” पौडेलको आँकलन छ, “अब प्रकाशककै हैसियतमा बोल्दाचाहिँ कतिपय तथ्यांकपरक गैरआख्यानलाई पुनःमुद्रण गर्न सकिँदैन । त्यसको कारण भनेको एक समयको तथ्यांक अर्काे समयमा गलत बनिदिन्छ । यसै कारणले पनि पाठकले खोजेका गैरआख्यान नपाएका हुन् । तर समयले प्रभाव नपार्ने गैरआख्यानको प्रकाशन तथा पुनः मुद्रणमा म सम्बद्ध शिखा बुक्सले भने प्राथमिकताका साथ प्रकाशन गरिरहेकै छ ।”
विधा नै फरक भएकाले आख्यान र गैरआख्यानलाई तुलना गर्न नमिल्ने मत छ पौडेलको । आख्यानमा संवेदनशीलता बढी हुने भएकाले यसले पाठकलाई छिटो छुन्छ तर गैरआख्यानमा त्यस्तो हुँदैन । आख्यानको तुलनामा गैरआख्यान कम्ती लेखिएकै कारणले बजारमा पनि कम्ती पुगेको मत उनै पौडेलको छ । उनी भन्छन्, “योचाहिँ स्वीकार्नु पर्छ, हामीले पनि आख्यानको तुलनामा गैरआख्यान कम्ती नै निकालेका छौँ ।”
लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरल गैरआख्यानको बजार पछिल्लो समय बढेको बताउँछन् । आख्यान लेखनको नाममा जस्तो पनि लेख्ने प्रवृत्तिका कारण पाठकहरुको विश्वास आख्यानले गुमाउँदै गएको, र गैरआख्यानमा आकर्षण क्रमशः बढ्दै जान थालेको अविरलको तर्क छ ।
“तर गैरआख्यानमै पनि पुरानाजस्ता पुस्तक नयाँ निस्किएका छैनन्,” अविरलो भनाइ छ, “आख्यानमै पनि इतिहास भेटिन्छ । जस्तो कि जनकलाल शर्मा, राहुल सांकृत्यनको लेखाइ । तर अहिले गैरआख्यानमा पनि टापटिपे प्रवृत्ति हावि छ । धैर्यताको कमी छ ।”
अविरल भन्छन्, “कुनै गैरआख्यानको गहिरो अध्ययन गरेर त्यसको काउण्टर दिने क्षमता पनि कसैमा छैन । जसले गर्दा पनि हाम्रा इतिहासहरु जति हुनुपर्ने थियो, त्यो मात्रामा उत्खनन हुन सकेका छैनन् ।”
गैरआख्यान लेख्नेलाई प्रश्नः गैरआख्यान लेख्न गाह्रो छ हो ?
अघिल्लो पुस्ताको कुरा गर्दा शंकर लामिछाने, तारानाथ शर्मा, उत्तम कुँवर, जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी लगायत थुप्रै लेखकले गैरआख्यानमा आफ्नो दर्बिलो उपस्थिति जनाए । लक्ष्मीप्रसाद देवकोटा, बैरागी काइलाजस्ता नामहरु पनि छन्, जसले काव्य, आख्यान र गैरआख्यानमा उत्तिकै हस्तक्षेप गरेका थिए ।
पछिल्लो पुस्ताका नरेन्द्रराज पौडेल, माधव काफ्ले, माधवप्रसाद पोख्रेल, युवराज नयाँघरे, सुजित मैनाली, रोशन सेरचन, रमेश सायन लगायतका लेखकले गैरआख्यान लेखनीमा प्रभावकारी हस्तक्षेप जनाइरहेको समय हो यो । तर के पनि साँचो हो भने, आख्यानको तुलनामा गैरआख्यानका लेखकहरु हिजो पनि कम नै थिए, आज पनि कम नै छन् । संख्याको हिसाबमा हेर्दा गैरआख्यान आख्यानको तुलनमा हिजो पनि थोरै नै छापिन्थे, अहिले पनि ।
अहिलेका प्रभावशाली गैरआख्यानकार सुजित मैनालीका अनुसार, गैरआख्यान भनेको भावना प्रवाह मात्र होइन । यस विधाको लेख्नका लागि समय, अध्ययन, अनुसन्धानमा आफूलाई हदसम्म खर्चनु पर्छ भने आर्थिक रुपमा पनि ठूलो मात्रामा लगानी गर्नुपर्ने हुन्छ । यसको लागि अध्ययनको भोक तथा धैर्य पनि हुन आवश्यक हुन्छ ।
गैरआख्यान लेख्नेहरु कम छन् भन्ने तर्कमा भने सहमत छैनन् मैनाली तर संग्रह र पुस्ताकाकारकै रुपमा बजारमा आएकाहरु चाहिँ आख्यानको तुलनामा कमै रहेको उनी स्वीकार्छन् । लेखक प्रशस्त भएर पनि किताब किन कम छापिन्छन् त ? भन्ने प्रश्नमा उनी भन्छन्, “अध्ययन अनुसन्धानको विषय भनेको काठमाडौँबाट पोखरा गएर बसेर ३० दिनमा सक्छु भनेर गरिने पनि हैन । गैरआख्यान भने वार्षिक रुपमा एउटा प्रकाश गर्छु भनेर लाग्ने विधा पनि होइन । अध्ययन तथा अनुसन्धानको क्रममा कहिलेकाहीँ एउटा लेख पूरा गर्न पनि ६ महिना लागिदिन्छ । अब यसरी हेर्दा पहिलो कुरो त अध्ययनलाई पुस्तकको रुप दिनै गाह्रो छ । दिए पनि समय लामो लाग्छ । अब संख्या त कम हुने नै भयो ।”
उत्कृष्ट गैरआख्यानका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको अध्ययन र अनुसन्धानको परिधि नै रहेको मत छ मैनालीको । पश्चिमा मुलुकका लेखकहरुले एउटै गैरआख्यानका लागि पूरा जिन्दगी खर्चिएका पनि छन् । नेपालकै कुरा गर्ने हो भनेचाहिँ, कुनै पनि अध्ययन अनुसन्धानमा उसको समय खर्च भइरहेको हुन्छ, त्यसमाथि खर्च पनि उठाउन उसले सक्दैन । अहिले आएर त्रिविको अध्ययन तथा अनुसन्धान क्षेत्र पनि गैरआख्यानमा खरो उत्रिन सकेको छैन ।
्चर्चित पत्रकार तथा लेखक युग पाठक गैरआख्यान कम लेखिन्छन् भन्ने कुरामा विमति राख्छन् । तर पुस्तकाकारकै रुपमा पाठकसामु आइपुग्ने गैरआख्यानचाहिँ न्यून रहेको बताउँछन् । उनी भन्छन्– “पत्रपत्रिका, एनजीओ र आइएनजीओ, विश्वविद्यालय तथा सरकारका विभिन्न तह तथा क्षेत्रले पनि विभिन्न अध्ययन तथा अनुसन्धानको आधारमा रिपोट तयार पारिरहेका हुन्छन् । तर पुस्तकको रुपमा पाठमाझ पुग्ने भनेको न्यून नै छन् । अनुसन्धानका लागि स्थानीयदेखि राष्ट्रिय तहसम्मै बजेट बिनियोजन हुन्छ, तर काम झारो टार्ने मात्र । त्यसले कुनै बहसको रुपमा काम गर्न सक्दैन ।”
युग पाठकका अनुसार मान्छेले लेखन क्षेत्रमा कविताबाट यात्रा सुरु गर्छ । पछि रहरमै आख्यानमा हामफाल्छ । तर गैरआख्यानमा हामफाल्ने आँट जोकोहीले गर्न सक्दैन । यसका लागि अध्ययन, अनुसन्धान तथा विचारको परिधि बृहत हुन आवश्यक हुन्छ । उनी भन्छन्– “गैरआख्यान, त्यसमा पनि अनुसन्धानमा आधारित गैरआख्यान रहरले मात्र लेखिन्न । यसका लागि स्रोतसाधन र सहजताको वतावरण पनि आवश्यक हुन्छ । अनुसन्धानको क्षेत्रमा प्रकाशन गृह तथा अन्य क्षेत्रहरुले लगानी बढाउने हो भने उत्कृष्ट पुस्तकहरु पाठकले पाउन सक्छन् ।”
साँच्ची, गैरआख्यान किन कम लेखिन्छन् हँ ?
पछिल्लो समय नेपाली साहित्यको समिपमा रहेर पत्रकारितामा संलग्न निर्भिक जंग रायामाझी अहिले उत्कृष्ट आख्यान लेखिरहेकै लेखकहरुले निसंकोच मनले सामाजिक सरोकारका विषयमा कलम चलाउने हो भने उत्कृष्ट गैरआख्यान बजारमा आउन सक्ने मत राख्छन् । तर त्यसका लागि हाम्रा लेखकहरुले आफ्नो अध्ययनको परिधिलाई बढाउन जरुरी छ ।
उनी भन्छन्, “अधिकांश राम्रा साहित्यकारको अध्ययन र ज्ञान छैन । गैरआख्यानका लेख्नका लागि अध्ययन र ज्ञानका अलावा तीक्ष्ण बुद्धि र विश्लेषणात्मक क्षमता पनि आवश्यकता पर्छ । इतिहास, विज्ञान, तथ्यांकशास्त्र र लोजिकल स्टेटमेन्टहरु दिन सक्नुपर्यो । नेपाली लेखन संस्कृतिमा भावुकता र स्वरकल्पनामै अल्झिरहेको यही अवस्थामा उत्कृष्ट गैरआख्यानहरु आख्यानको तुलनामा आउन सक्दैनन् ।”
उत्कृष्ट आख्यानमा लेखिरहँदा गैरआख्यानमा पनि खरो उत्रिएका लेखकहरु पनि छन् । उदाहरणका लागि खगेन्द्र संग्रौला, आहुति, बैरागी काइँला आदिलाई लिन सकिन्छ । आख्यानको तुलनामा गैरआख्यान कम आएका र गैरआख्यानले पाठकको भोक मेट्न नसकेको रायामाझीले पनि अनुभूति गरेका छन् ।
गैरआख्यानका कलम चलाउनेहरुमध्ये अधिकांश त्रिविसँग सम्बद्ध व्यक्ति तथा अन्य क्षेत्रका खोजकर्ताहरु छन् । जसरी स्वतस्फूर्त रुपमा आख्यानमा कलम चलाउनेहरु आइरहेका छन्, ठीक त्यसैगरी गैरआख्यानमा काम हुन सकिरहेको छैन । यस अर्थमा गैरआख्यानलाई आख्यानभन्दा गाह्रो विधाको रुपमा पनि व्याख्या गर्न सकिन्छ ।
त्रिविका सहायक प्रोफेसर तथा समालोचक महेश पौड्याल भन्छन्, “आख्यान बढीमा भावतरंगहरुको कथास्वरुप हो । यो लेख्नमा र पढ्नमा पनि खासै अवरोध हुँदैन । तर गैरआख्यान भनेको पूर्णत बौद्धिक विधा हो । यसले सत्य, तथ्य, विज्ञान, सटिकता, अध्ययन, अनुसन्धान, सबै माग्छ । अँ, कष्टचाहिँ अनुसन्धानात्मक आख्यान लेख्नमा पनि छ ।”
पौड्यालको मतमा आख्यान होस् या गैरआख्यान, राम्रो लेख्न दुवै गाह्रो छ । र काम चलाउ लेख्न दुवै सजिलो । नेपालमा कहिल्यै पनि आख्यानको तुलनामा गैरआख्यानको संख्या बढी थिएन । पौड्याल भन्छन्, “यो केको द्योतक हो भने, बौद्धिक क्रियाकलाप, अध्ययन र अनुसन्धान निकै कम हुन्छ नेपालमा ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।