सुरेश हाचेकाली

लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् ।
प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) को ऐकिक पद्दतिको परियोजना अन्तर्गत यो समालोचकीय लेखमा कवि तथा गीतकार श्रवण मुकारुङका जीवनको लय (२०६१) तथा बिसे नगर्चीको बयान (२०६७) कवितासङ्ग्रहभित्र समेटिएका कविताहरूलाई अङ्ग्रेजी कवि तथा समालोचक टि.एस. एलियटको ‘वस्तुगत सादृष्य’ (Objective Correlative) को दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयत्न गरिनेछ । साथमा ‘इमेजिष्ट’ आन्दोलनको प्रसङ्ग पनि प्रयोग गरिने छ ।
बीसौं शताब्दीको सुरुवातसँगै अङ्ग्रेजी कवितामा प्रारम्भ भएको ‘इमेजिष्ट मुभमेण्ट’ (Imagist Movement) ले कवितालाई ठोस र विम्बमय बनाउन ठूलो भूमिका खेल्यो । विलियम कार्लोस विलियम्स, एज्रा पाउण्डहरूका कविता जापानी हाइकुबाट प्रभावित थिए । हाइकुमा हुने ठोस विम्बहरूको प्राधान्यले ती अङ्ग्रेजी कविहरूलाई पनि ठोस विम्बहरूको खोजी कार्यमा अभिप्रेरित गर्‍यो । कविताको ‘इमेजिष्ट स्कूल’ समयक्रममा विकसित हुदै वस्तुगत समीकरण (Objective Correlative) को आवश्यक्तालाई बोध गर्ने चरणमा पुग्यो । स्वच्छन्दतावादी कविहरूको धाराप्रवाह भावावेशको प्रतिवादमा इमेजिष्ट कविताले जन्म लियो । भावुकता र अतार्किक उडानलाई कविताको आधारभूत तत्वका रुपमा ग्रहण गरिएको अवस्थाबाट कविता मुक्त हुनुपर्थ्यो किनकि यो अवस्था आफैँमा एक अतिवाद हो । इमेजिष्ट मुभमेण्टले एक अतिवादका ठाउँमा अर्को अतिवादको प्रतिस्थापन गरेको कुरा सजिलै प्रमाणित हुन्छ । एकातिर भावुकतै भावुकताको उच्छलनलाई कविता मान्नु र अर्कोतिर कठोर स्थुल पदार्थको ‘ग्यादरिङ’ लाई कविता मान्नुको बीचमा समन्वयको अभाव छँदै थियो शुरुको चरणमा इमेजिष्ट आन्दोलनबाटै साहित्यिक करियर प्रारम्भ गरेका कवि टि.एस. इलियटले आफ्नो लेखन र चिन्तनको परिपक्वतासँगै भावुकता र स्थुलतालाई संयोजन गरेर त्यसको प्रयोग दुवै सृजनात्मक र समालोचनात्मक लेखनमा गरे । वस्तुगत सादृष्यको आशय बुझ्न प्रारम्भिक अवस्थामा बुझ्नुपर्छ कि भावना भावात्मक (Abstract) हुन्छ । यो वस्तुगत (Objective) वा स्थुल हुँदैन । कवितामा भावनाको बाहुल्य हुन्छ । तर त्यो भावनालाई आकारसहित प्रस्तुत गर्नका लागि स्थुल वस्तु (Object) चाहिन्छ । भावनालाई प्रतिनिधित्व गर्न प्रयोग हुने स्थुल बस्तु नै वस्तुगत सादृष्य हो । अमेरिकी कवि एज्रा पाउण्डले सन् २०१३ मा लेखेको ‘मेट्रो स्टेशनमा’ कविता एक उत्कृष्ट ‘इमेजिष्ट’ कविता हो । यो कविताले स्थूल र कङ्क्रिट विम्बद्वारा भावनाको आयाम स्पर्श गरेको छ । तर त्यो भावात्मक पक्षको अन्वेषण अलि जटिल छ । वस्तुगत सादृष्यको अवधारणालाई अलि बढी प्रष्ट पार्नका लागि हामी शक्तिशाली गद्यकवि भूपि शेरचनको ‘मैनबत्तीको शिखा’लाई अब्बल दर्जाको उदाहरणका रुपमा लिन सक्छौँ । नारी जीवनका तीन महत्त्वपूर्ण चरणहरू (प्रथम रजस्वला, मातृत्व सफलीभूत भएको क्षण र बैधव्य) लाई व्यक्त गर्न उनले मैनबत्तीलाई वस्तुगत सादृष्यको रुपमा उभ्याएका छन् । यो उनको अनुपम कौशल हो । विराट काव्यिक प्रतिभाले मात्र यसो गर्न सक्छ । अझ विचित्रको कुरो त एउटै वस्तुगत प्रतिरुपभित्र तीन भिन्न र परस्पर विरोधी अवस्थाहरू पहिल्याउन सक्ने सामर्थ्य राख्नु हो ।
नेपाली कविताको परम्परालाई अन्वेषण गर्दा वस्तुगत सादृष्यसहित भावनालाई प्रतिनिधित्व गरेका कविताहरू त्यति धेरै पाइँदैनन् । वि.सं. २०४६ सालको वरिपरि हुँदै नेपाली कविता र गहन भावका काव्यिक गीत लेखनको फाँटमा एउटा ‘प्रोमिसिङ’ युवा जिनियसको प्रवेश हुन्छ । समयक्रममा त्यो प्रतिभा श्रवण मुकारुङको रुपमा स्थापित हुन्छ । कविता र गीत दुवै विधामा सफल श्रवणका कतिपय गीत उच्च कोटीका छन्, जसमा उनले वस्तुगत सादृष्यको प्रयोग गरेका छन् । उदाहरणका लागि कवि मुकारुङका देहाय बमोजिमका पङ्क्तिहरू हेरौंः

कुमारीको वैंशजस्तो कुन फूल हाँसेको छ

तिमी तारेभीर म त लहरा
तिमीमै म लहराउँछु तिमी सहारा

यी दुई उद्यृतांशहरू दुई फरक गीतबाट लिइएका हुन् । यी हरफभित्र एकातिर स्थूल विम्ब छन् भने अर्कोतिर ती विम्बहरूले शक्तिशाली भावना सञ्चार गरेका छन् । सरलताभित्र सत्यको संरचना यी दुवै गीतले बोकेका छन् ।
बुँदागत रुपमा भन्नुपर्दा श्रवणको काव्यिक तागत तलका तीन कुरामा अडिएको भेटिन्छ । प्रथमतः उनी वस्तुगत सादृष्य पहिल्याउन खप्पिस छन् । वस्तुगत प्रतिरुपको तारेभीरमा उनका भावनाका लहराहरू लहरिन्छन् । क्रङ्किट विम्बको आडमा उनी भावना सजाउँछन् । द्वित्तीयतः उनको सरलीकृत अभिव्यक्तिमा मर्मस्पर्शी काव्यिकता तैरिएको पाइन्छ । र तृत्तीयतः उनी आम जनता र समाजका ‘अर्जेन्ट’ समकालीन मुद्दाहरूको उजागर गर्दछन् ।
नेपाली कविताको इतिहासमा मोहन कोइराला र आयामेलीहरूले अभिव्यक्तिको भरमग्दुर जटिलीकरण गरेपछि त्यसको प्रतिकृया स्वरुप सरलीकरणको एउटा धार भएर अगाडि बढ्यो । तर यो सरलीकरण सदैव काव्यमय (Poetic) रहन सकेन । यता कवि मुकारुङको हकमा उनको पहिलो सङ्ग्रह देश खोज्दै जाँदादेखि नै सरलताको बहाव उद्भव भएको पाइन्छ । भूपि शेरचन, बासु शशी, दिनेश अधिकारी, जसराज किराती, विमल निभा, मीनबहादुर विष्ट, विष्णुविभु घिमिरे लगायतका कविहरूले निर्माण गर्दै ल्याएको सरलताको मार्गलाई कवि मुकारुङले अगाडि बढाएको पाइन्छ । उनको सरलता कवितात्मक गुणले भरिपूर्ण छ ।
‘ह्याम्लेट र उसका समस्याहरू’ निबन्धमा इलियटले वस्तुगत सादृष्य सिद्धान्तको व्याख्या र उपादेयता प्रस्तुत गरेका छन् । पुनर्जागरणकालीन नाटककार विलियम शेक्सपियरको नाटक ह्याम्लेटलाई साहित्यिक हिसाबले असफल (Artistic Failure) भन्दै त्यसमा वस्तुगत सादृष्यको अभाव रहेको कुरो इलियटले बताएका छन् । उनका अनुसार “कलाको स्वरुपमा भावनालाई अभिव्यक्त गर्ने एक मात्र तरिका भनेको वस्तुगत सादृष्यको प्रयोग हो । अर्को शब्दमा वस्तुगत सादृष्यलाई वस्तुहरूको सेट, विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलाको रुपमा बुझ्न सकिन्छ । जसले निश्चित भावनालाई अभिव्यक्त गर्न सूत्रको रुपमा काम गर्दछन् । जब यी बाह्य तथ्यहरू (External Facts) प्रयोग गरिन्छ, तिनले भावनालाई उजागर गरिदिन्छन्” (१०९०ः लेइच) ।
वि.सं. २०६२/०६३ को ऐतिहासिक वसन्त विप्लव पूर्व लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ मा कविले निरङ्कुश राजतन्त्रप्रतिको रोष, आक्रोष र वितृष्णालाई व्यक्त गर्न वस्तुगत सादृष्यको सिद्धान्तले भने जस्तै विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलालाई प्रस्तुत गरेका छन् । मौलिक रुपमा रोष, आक्रोष र वितृष्णा मानवीय भावना (Emotion) हुन् । भावुकतापूर्वक यी भावनाको बिना वस्तुगत सादृष्य अभिव्यक्ति हुनु कमजोर कविताको लक्षण हो । तर कवि मुकारुङ लहरा (Creeper)जस्ता भावनालाई वस्तुगत सादृष्यको थाँक्रोमा अडेस लगाएर कविताको संरचना तयार गर्दछन् । इतिहासको गर्तबाट लिइएको पात्र बिसे नगर्चीको रोष, आक्रोष, हत्तोत्साह वितृष्णाको एकोहोरो आलाप नभएर त्यसका कारणहरूको सूची पनि कविताभित्र छरिएको पाइन्छ । अनाहकमा उसकी स्वास्नी मारिनु, छोरी बलात्कृत हुनु, झुप्रो जालइनु केही वस्तुगत सादृष्य हुन् जसले उसको भावनालाई उद्वेलित बनाएको छ । यसैगरी राजाका भारदारहरूको लबेदा सिउन नसक्नु, नरसिंगा फुक्न र सहनाइ बजाउन नसक्नु, कुनै मङ्गलगान वा ऋतुगान गाउन नसक्नु, राज्यको पहरा गर्न नसक्नु जस्ता केही अवज्ञावादी तथ्यहरूको प्रस्तुतिले कवितालाई वस्तुगत सादृष्य सहित शक्तिको नयाँ उचाइमा पुर्‍याएका छन् । तत्कालीन निरङ्कुस राजतन्त्रको उपादेयता कसरी समाप्त हुँदैछ भन्ने कुरोलाई स्थापित गर्न उनको यो कवितामा केही शक्तिशाली तर्कहरू कलात्मक तरिकाले प्रष्फुटित भएका छन् । राज्यका अघिल्तिर उभिएका अग्ला पहाडहरू होचिदै जानु, दरौंदी नदी उल्टो बग्नु, दरबार आफ्नो गौरव गुमाउँदै खण्डहरजस्तो देखिनु केही यस्ता वस्तुगत सादृष्यहरू हुन् जसले कविको वितृष्णामय भावनालाई तर्कसँग सन्धी गराएका छन् । यो कवितामा पागलपनको जुन ‘अपियरेन्स’ छ, त्यो विशुद्ध आयोजित बहाना हो । विद्रोहका स्वरुपहरूको तथ्यगत प्रस्तुति पनि कवितामा भेट्टाइन्छ । जस्तै अन्याय र विस्मृतिको गर्तमा पुरिएको बिसे नगर्ची देश आर्जिनुमा आफ्नो भूमिका रहेको दाबी गर्छ । उसले प्रयोग गरेको सियो श्रमको औजार हो । भानुभक्तले सुरु गरेको भाषिक एकीकरणको अभियानसँग बिसे आफ्नो सीपलाई कमकक्षमा राख्छ । हुनेखानेलाई आफ्नो नाङ्गो आङ देखाएको स्वीकार्छ । विभेदकारी राज्यप्रति आक्रोश व्यक्त गर्न ऊसँग पर्याप्त तर्क र तथ्यहरू छन् । तत्कालीन राजाको तुलना कविले राक्षससँग गरेका छन् । तर यो तुलना अत्यन्तै परोक्ष छ । रामायणेली दृष्टिविन्दुबाट हेर्ने हो भने लङ्काको राजा रावणका दशवटा शीर थिए, ऊ एक अराजक र अधर्मी दैत्य थियो । मिथकीय रुपमा ऊ दशटाउके थियो । कविले पनि यो कवितामा राजाको शीर दशवटा देख्छन् । यसरी पनि अर्थ लगाउन सकिन्छ— अढाई सय वर्षपछि राजामा दैत्यत्व सवार भएर उसको व्यवस्था जीर्ण भएको हो ।
मुकारुङको ‘यौटा योद्धाको सम्बोधन छोरीलाई’ कवितामा एक भूतपूर्व योद्धाको विसङ्गतपूर्ण वर्तमान र उसकी छोरीको अनिश्चित भविष्यलाई शक्तिशाली वस्तुगत प्रतिरुपद्वारा देखाइएको छ । उसको सङ्घर्षपूर्ण जीवनको उत्तरार्ध अपमानित छ । उसकी छोरीका निम्ति सम्मानजनक जीवनको त कुरै छोडौं, नागरिकता पनि उपलब्ध हुने छैन । ऊ एक इमान्दार योद्धाकी छोरी भए पनि संसारका सत्ताहरूले उसको परिचय खोज्नेछन् । उसको बाबुले युद्ध लड्न प्रयोग गरेको बन्दुकलाई न कसैले सम्मानपूर्वक सङ्ग्रहालयमा राख्नेछ, न त उसको युद्धकौशलकै व्याख्या कसैले गर्नेछ । यो अचिनारु र अलपत्र अवस्थालाई कविले केवल आवेगमा व्यक्त गरेका छैनन् । उनले त युद्ध लड्दा लड्दा थकित बन्दुक, त्यसमाथि लागेको युएनओको छाप, भोका कमिला र हरिया झिँगाहरूको एकीकृत समीकरणद्वारा वस्तुगत प्रतिरुपको निर्माण गरी कवितालाई तर्क र भावनाको सङ्गम बनाएका छन् । यी हरफहरू हेरौं —

तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरी छेउ
युएनओको आलो छाप लागेको छ
जसको वरिपरि—
भोका कमिला
र हरिया झिंगाहरू घुमिरहेका छन् (१६, बिसे… )

श्रवण मुकारुङका कविताको दर्बिलो पक्ष भन्नु नै सूक्ष्म तर बलियो महत्त्व राख्ने घटना, परिघटना र सन्दर्भहरूलाई भावनासँग जोड्नु हो । उनको यस्तो काव्यमय जोडाइमा दमित र सीमान्त सत्यहरू मन छुने गरी पाठकको चेतनामा झङ्कृत हुन्छन् । भावनालाई दरिलो आधार दिने वस्तु र तथ्यको प्रवेशले नै कवितालाई शक्तिशाली र लोकप्रिय बनाउँछ भन्ने कुराको प्रमाण स्वयं श्रवणका कविताहरू हुन् । इतिहासको निर्माता भनेर परम्परागत इतिहासले एक वा केही नायकहरूलाई मान्दछ र तिनीहरूको गुणगान शदीयौं मात्र हैन युगौंयुगसम्म गरिन्छ, गराइन्छ । इतिहासका हजारौं लिखित पानाहरू अन्धभक्तिको भजनले भरिएका हुन्छन् । यो कुरा धेरैले अनुभूत गरेको र आ–आफ्नै शैलीमा व्यक्त गरिसकेको कुरा हो । तर कवि मुकारुङले यही अनुभूत सत्यलाई केही सूक्ष्म वस्तुगत तथ्यहरूको काव्यमय चित्रणद्वारा पाठकलाई उद्वेलित गराउन सक्ने यी हरफहरूको निर्माण ‘उत्खनन’ कवितामा गरेका छन्ः

यो माटोभित्र उम्लिरहेको रगतको आवेग
— कस्को हो ?
यो महलको चोटाचोटाबाट
आइरहेको पसिनाको गन्ध
— कस्को हो ?
यी दरबारका भव्य झ्याल–ढोकाहरूमा
— कस–कसका हातका रेखाहरू छन् ?
यी मन्दीरका मूर्ति
र गुम्बाका गजुरहरूमा
— कस–कसका औंठाका शङ्ख–चक्रहरू छन् ? (१८/१९, जीवनको …)

भाषिक सरलीकरणको माध्यमद्वारा आम जनता र उनीहरूको स्वार्थप्रति हलचल नहुने प्रतिवद्धता देखाएको पाइन्छ श्रवणका कविताले ।
स्वच्छन्दतावादी अङ्ग्रेजी कवि शेलीले कविलाई अस्वीकृत विधायक (Unacknowledged Legislator) भनेको पनि तीन सय वर्षभन्दा बढी समय गइसक्यो । तर यो भनाइलाई नेपाली सन्दर्भमा जोडेर हेर्दा वर्तमान वर्षहरूमा ध्रुवसत्य जस्तो लाग्दछ । कवि मानव समुदायका अरु व्यक्तिहरूभन्दा फरक के अर्थमा हुन्छ भने ऊसँग ‘भिजन’ हुन्छ । अरुको मर्मबोध गर्न सक्ने अद्वित्तीय प्रतिभा हुन्छ । त्यसैले ऊ कवि हो । कवित्व एउटा दुर्लभ बरदान हो । तर उसको कवित्व र भिजनलाई समाजले सजिलै ग्रहण गर्दैन यसको कारण प्रष्ट छ— समाज रुढ कार्यतालिकामा चल्न चाहन्छ । अधिकांश सामाजिक कार्यव्यापार संवेदनहीनताले चलेका हुन्छन् । कवि यसको उल्टो हुन्छ । उसले आसन्न विपत्तिलाई पहिले नै देखिसकेको हुन्छ । ऊ यी सबै क्षमताका बाबजुद पनि अस्वीकृत हुन्छ किनकि उसले बोल्ने भाषामा मान्छेको चेतनालाई उद्वेलित गराउन सक्ने सामर्थ्य हुन्छ । त्यो सामर्थ्यसँग सामाजिक संस्थापन सदैव त्रसित हुन्छ । त्यसैले कवि सत्ताका लागि ‘अरुचिकर’ र ‘अस्वीकृत’ हुन्छ । माघी पर्व मनाउन पाउने आफ्नो सांस्कृतिक अधिकार, खसी खान पाउने सम्प्रदायगत अधिकार, घुँघी टिप्न पाउने जातीय अधिकार र माछा मार्न पाउने प्राकृतिक अधिकार संकुचित भएको एक आदिवासी थारुको अन्तर्पीडालाई कविले केही वस्तुगत प्रतिरुपहरूको सहयोगद्वारा ‘मुक्तिगीत’कवितामा तलका हरफहरूमा यसरी व्यक्त गरेका छन् —

जसरी उनीहरूले
यो रुखका कलिला हाँगाहरू लुछे
त्यसरी नै—
मेरो हात, खुट्टा, गिदी
र आँखाहरू लुछे
मेरा छातीका आदिम करङहरू भाँचेर
आफ्ना लागि सुरक्षित घर बनाए
मेरो आवाज लुछेर उनीहरूले
आफ्नो भाषा बनाए
मेरो रुवाइ लुछेर उनीहरूले
आफ्नो गीत बनाए
मेरो आक्रोस लुछेर उनीहरूले
आफ्नो हतियार बनाए
मेरो आँसु लुछेर उनीहरूले
आफ्नो प्यास मेटाए (२१, बिसे…)

वस्तुगत सादृष्यको प्रचुरता मात्र हैन श्रवणका कवितामा तिनीहरू मौलिक, मर्मस्पर्शी र ग्राम्यवासनायुक्त छन् । यी वस्तुगत सादृष्यहरू कतिपय अवस्थामा समपुस्ता र उत्तरपुस्ताका कविहरूका निम्ति अनुकरणीय भएका छन् । कतिपयका निम्ति यो अनुकरण अपरिमार्जित छ भने अरु कतिका निम्ति परिमार्जित र प्रेरणादायी छ । यो अनुकरणको विषय अध्ययनका लागि एउटा छुट्टै पाटो हुनसक्छ । ‘आफ्नै देशसँग’ कवितामा कवि श्रवणले आफ्नो असन्तुष्टीलाई व्यक्त गर्दा माथि भनिए झैं सूक्ष्म र बिशेष घटनासन्दर्भ भित्र्याएका छन् । यहींनिर कवि श्रवण आफ्ना कवितामा अरु कविहरूको सापेक्षमा भिन्न भेटिन्छन् । देशप्रतिको आक्रोस नग्न, प्रत्यक्ष र नाराबाजी प्रकृतिको नभएर कलात्मक, परोक्ष र लक्षणात्मक बनाउन सकेका कारण नै श्रवणका कविता प्रियकर छन् । आजभन्दा ३२ बर्षअघि ‘सुश्री काली खवासले लिपेको हरियो भुइँ’ भन्ने पदावलीले एउटा सामाजिक र आर्थिक पृष्ठभूमिलाई बोकी ल्याएको छ । गाईको गोबरले लिपेको भुइँ हरियो हुन्छ । एउटी सीमान्त समुदायकी अविवाहित केटी र उसको कृषिप्रधान समाजलाई पनि चित्रित गरेको छ यो पदावलीले । यसरी नै तल उद्धृत हरफहरूले आक्रोस, विद्रोह र असन्तुष्टीको वेगवान भावनालाई विशेष वस्तुगत प्रतिरुपको सहयोगमा प्रकट गरेका छन् —

मैले तिम्रो एक ढिको नून सित्तै खाएको छैन
एक खिली सुर्ती बेहिसाब पिएको छैन
एक हरक श्वास त्यसै फेरेको छैन (२३/२४, जीवनको …)

एक ढिको नून, एक खिली सुर्ती र एक हरक श्वास सूक्ष्म र मिहिन वस्तुगत प्रतिरुपहरू हुन् जुन मूलतः विम्ब प्रसाधनका मूलधारबाट वञ्चित छन् । मोहन कोइराला, बैरागी काइँलाजस्ता आधुनिकतावादी कविको सम्भ्रान्त छविलाई समातेर उनीहरूको छविको विनिर्माण गरी कङ्क्रिट वस्तुगत समीकरणको सहारामा कवि श्रवणले श्रमिक नेपालीको कथा सुनाएका छन् । ‘मोहन कोइराला’ कवितामा भारी बोकेर पहाडको उकालो ओरालो र धुलाम्य बाटोमा हिड्ने भरिया मोहन कोइरालाको चित्र कवि मुकारुङले निधारका निमुखा पसिनाहरू निमोठ्दै, नुन, पानीका नाला र कर्कटपाता ओसार्ने श्रमिकको रुपमा उभ्याएका छन् । यसैगरी ‘बैरागी काँइलाको लास’ कवितामा आधुनिकतावदी घरानियाँ कवि बैरागी काइँलाको छविको विनिर्माण गर्दै कवि मुकारुङले बाबुआमाको टुङ्गो नभएको र बाल्यकालमा रत्नपार्कमा भिक्स बेचेर जीवन गुजारेको तथा धरान–काठमाडौं रात्रीबसको खलाँसी हुँदै जादा कविता लेख्न र रक्सी खान सुरु गरेको एवं पुनमायालाई बिहे गरेर परिवार नियोजन नगरी थुप्रै सन्तानको बाबु भएको बैरागी काइँला अन्तमा शिवरात्री मेलाबाट फर्किदै गर्दा मारिएको कथानकभित्र स्मरणमा रहिरहने विम्बहरूको प्रयोगद्वारा एक सीमान्त नेपालीको शाब्दिक चित्र खिचेका छन् ।
पुरानो पुस्ताका स्थापित कविहरूको छवि विनिर्माणको मोह कवि श्रवणका मनमा अलि बलियो गरी बसेको प्रतित हुन्छ । ‘भानुभक्त’ शीर्षकको कवितामा वैदेशिक रोजगारीको खोजी गर्दै सस्तो मूल्यमा मलेसियामा आफ्नो श्रम बेच्न जान लागेको एक कवि (जसले धेरै कविहरूको प्रतिनिधित्व गर्छ) को चित्र छ । सौन्दर्यशास्त्रमा रुचि भएको त्यो श्रमिक कविलाई आदिकवि भानुभक्तको पछिल्लो संस्करणको रुपमा कवि श्रवणले देहाय बमोजिमको वस्तुगत बिम्बको सहारामा उभ्याएका छन्—

बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनी गोल्डस्टार सुज
झोलामा टावेल, गञ्जी, कट्टु
एसएलसीको सर्टिफिकेट र श्री प्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट र रु. सातसय पचास
र आमाको सादा तस्वीर (४८, बिसे … )।

श्रवण मुकारुङको यो संस्कारित आदिकवि भानुभक्त रामायण लेख्न मलेसिया उड्दैछ । मलेसिया पुगेर रामायण लेख्नुछ भन्ने कथनमा तीक्ष्ण व्यङ्ग्य र ‘डिजेनेरेसन’ को उपस्थिति छ ।
प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscince) को सैद्धान्तिक प्रारुपअन्तर्गत वस्तुगत सादृष्यको ऐकिक दृष्टिविन्दुबाट हामी कवि श्रवण मुकारुङका कविताको विश्लेषण गरिरहेका छौं । उनका कवितामा प्रचुर मात्रामा वस्तुगत प्रतिरुप छन् जो मूलतः ग्राम्य जीवनका हिउँदबर्खाहरूबाट आयातित छन् । कुनै भौगोलिक क्षेत्रमा जो मानिसहरू आदिम कालदेखि बसोबास गर्दै आएका छन्, तिनीहरू त्यो क्षेत्रका पुराना मानिस हुन् । अर्को शब्दमा आदिवासी हुन् । तिनीहरू एउटा सनातन परम्परा बोकेर आएका छन् र अदम्य छन् । कवि मुकारुङले तिनीहरूलाई खेतमा धानको गन्ध, पहाडमा बतासको गन्ध र समुद्रमा पानीको गन्धको वस्तुगत प्रतिरुपसँग जोडेका छन् ।
‘पुरानो मानिस’ शीर्षकको कवितामा कविको आक्रोशको काँचो अनुभूति विम्बको सहारामा झाँगिएको छ । प्रोफेसर शर्माको चित्र पाठकका आँखामा झल्झली नचाउन सक्ने गरी यो कवितामा केही वस्तुगत बिम्बहरूको प्रयोग भएको छ । चप्पलभित्र छिप्पेको इस्कुसजस्तो खुट्टा र डेरा सर्दै गर्दा प्रोफेसर शर्माले खुद्रा पसलेलाई पटक पटक गरेको नमस्कार कविता पढिसकेपछि चीरकालसम्म पाठकका दिमागमा अमिट बिम्ब भएर बस्छन् ।
बिसे नगर्चीको बयान सङ्ग्रहको अन्तमा पुग नपुग ४०० हरफको ‘९८ को आत्मकथा’ नामको लामो कविता पनि समेटिएको छ । नामुद शिकारी राजवीरको नाति, विश्वयुद्धको सिपाही भगिवीरको छ वटी श्रीमतीबाट जन्मिएका बाह्र भाइ छोरामध्येको सबैभन्दा कान्छो छोरो जाँचवीर राई यो कविताको मुखपात्र हो । सन् १९५९ मा ऊ ब्रिटिस गोर्खा सेनामा भर्ना भएर अरु योद्धा सैनिकहरूसँगै मलेसिया र ब्रुनाइका घनाजङ्गलमा कथित आतङ्ककारी, डाकु, लुटेरा र कम्युनिष्ट खोज्दै युद्धमा सामेल हुन्छ । फेरि युद्ध सोच्नै नसक्ने भएर तथा फेरि हतियार उठाउनै नसक्ने भएर सन् १९७१ मा पूर्वी पहाडको आफ्नै किराती गाउँ फर्कन्छ । पुनः १९९१ मा ऊ आफ्ना अधुरा आर्थिक सपनाहरूको इमान्दार कार्यकर्ता भएर हङकङ जान्छ । पछि फर्केर नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिन्छ । वि.सं. २०६७ सालमा ७२ वर्ष उमेर पुगिसकेको जाँचवीर नेपालको धोखेबाज राजीति मात्र हैन, सुगौली सन्धी, जङ्गबहादुरको खसी बजार, अवसरविहीन छोराछोरी, भोलिको दर्केपानी वा चर्को घाम, दूताबासको साँघुरो झ्याल लगायतका वस्तुगत बिम्बहरू सम्झिरहेको छ ।
यो कवितामा नेपाली युवा विशेष गरी जनजाती युवाको पीडा र चर्केको सपनालाई किराती विम्ब मिथक भित्रका वस्तुगत समीकरणलाई समातेर एउटा मार्मिक कथानक प्रस्तुत गरिएको छ । सिस्नुको फेटा, लहराको जुत्ता, दगुरिरहेको हुरी, हिमाली गाईका बहर, बाटो छेक्ने पुर्खाको सेहें, शरीरभित्र गर्जिरहेको घाइते बाघ जस्ता विम्बहरू कवितामा मर्मस्पर्शी भएर आएका छन् । यो कविताले एउटा भूगोल, एउटा लामो इतिहास, एउटा आदिवासी संस्कृति र नेपाली राष्ट्रियताको खण्डित र अपुरो सङ्कथनलाई विष्फोटक रुपमा प्रस्तुत गर्न सकेको छ । नेपाली लामा कविताहरूको विधाभित्र राखेर अध्ययन गर्न सकिने यो कवितामा काव्यमय शैलीको किनारैकिनार वस्तुगत सादृष्यको छहारीकै कथानकको खोलो दगुरेको छ ।
नेपाली कविताको ५० र ६० को दशकमा अत्यन्तै प्रखर र एउटा शक्तिशाली धारको नेतृत्व गरेका कवि श्रवण मुकारुङ धेरै कविहरूका निम्ति अनुकरणीय थिए र छन् । उनका विचार र बिम्ब कवितामा एकल जातीय नभएर बहुजातीय नेपालको आत्मसम्मानमा चोट नपुग्ने गरी बहुआयामिक छन् । उनले हिन्दू ब्राह्मण संस्कृति, जनजाति संस्कृति, मधेसी संस्कृति र दलित समुदायप्रति सहानुभूति राख्ने थुप्रै प्रसङ्गहरूको कवितात्मक अभिव्यञ्जना तयार गरेका छन् । वर्तमान समयमा काव्यसाधना गरिरहेका कतिपय कविहरूको जातीय र सांस्कृतिक सङ्कीर्णताले श्रवण मुकारुङका बहुलावादी सोच र अन्तरसांस्कृतिक उदारता बोकेका कविताबाट बिस्तारै प्रेरणा ग्रहण गर्नेछन् भनेर आशा गर्न सकिन्छ किनकि बहुसांस्कृतिक नेपाली समाजमा घृणा संस्कृति (Hatred Culture)ले न त काव्यमा न त राजनीतिमा भलो गर्नेछ ।
श्रद्धेय पाठक ! श्रवण मुकारुङका कवितामाथि यो लेखमा गरिएको पठन एउटा दृष्टिकोण हो अरु दर्जनौं दृष्टिकोणबाट पठन गर्न सकिने आत्मशक्ति बोकेका यी कविताहरू बिम्बप्रशाधन र समसामयिक मुद्दा उद्वोधनको दृष्टिले अत्यन्तै सफल छन् । कवि मुकारुङका कविताभित्र अर्थका अरु कैयौँ प्रक्षेपहरु अवश्य छन् । यो सानो लेखमा ती सबैको निरुपण सम्भव छैन । दोहोर्‍याएर भन्नु पर्दा “काव्यकृति र अर्थको सम्बन्धलाई हनुमान–सुरसाको रामायणेली मिथकका आधारमा पनि बुझ्न सकिन्छ” (१७५, ऐकिक…) । सौन्दर्यशास्त्र बुझ्ने भावकलाई उनका हरफ र पदावलीले आजीवन हल्लाइरहन्छन् ।

अर्थ महोत्सव – जिन्दावाद !
Semantic Carnival – Jindabad !

सन्दर्भसूचीः
मुकारुङ, श्रवण, जीवनको लय, ललितपुरः साझा प्रकाशन, २०६१ ।
…., बिसे नगर्चीको बयान, काठमाडौंः साङ्ग्रिला बुक्स, २०६७ ।
लेइच, भिन्सेन्ट, बि., सम्पा., “टि.एस. इलियट”, द नर्टोन एन्थोलोजी अफ थियरी एन्ड क्रिटिसिज्म, लण्डनः
डब्ल्यू. डब्ल्यू. नर्टन एण्ड कम्पनी लिमिटेड, २००१ इ.सं. ।
हाचेकाली, सुरेश, ऐकिक चक्रव्यूह समालोचना, ललितपुरः साझा प्रकाशन, २०७४ ।