साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सालको रुख र हाम्रो पिरती

संस्मरण

लेखराम सापकोटा

वीरेन्द्र क्याम्पस अगाडि सालका ठूला रूख थिए । धेरैजसो पर्खालभित्रै थिए भने केही बाहिर । पर्खाल बाहिरका रूख सडकसम्मै थिए । सडक किनारामा तिनै रुखको छेउ लागेर कयौं बटुवा गाडी पर्खन्थे । आफन्त साथीभाइ पर्खन्थे । घामपानी छेल्थे । पर्खालभित्रका रूखका फेदमा वीरेन्द्र क्याम्पसमा पढ्दै अनेक सपना बनाएका सपनाप्रेमीहरू सुस्ताउँथे । झोला बिसाएर किताब कापी फर्काउँथे । बदाम फुटाउँथे । सुन्तलाका केस्रा बाँडीचुँडी खान्थे । खासमा यी रुख यिनै सपनाप्रेमी र तिनै बटुवाका साक्षी थिए । सहयात्री र सहयोगी पनि ।

मुख्य सडकसँगै जोडिएर वर्षौंदेखि उभिएको एउटा बडेमानको सालको रुख केही वर्ष अगाडि ढल्यो, गर्लम्म ! रूख ढलेको आवाज नारायणगढ बजारभरि सुनियो । हाकिमचोकसम्म पनि सुनियो होला ! खासमा रूख त्यसै ढलेको थिएन, त्यसलाई ढलाइएको थियो । एक समय बाटोमा उभिएर धेरैलाई सहारा बनेको त्यो रूख कालान्तरमा धेरैलाई बाधक बन्यो, ढलाइयो ।

bahulako diary small and inside post

काम विशेषले भरतपुर उक्लँदै थिएँ । मेरै साइडमा रहेको उक्त रूख लम्पसार सुतेको देख्दा मन बेचैन बन्यो । साठी सालभन्दा थोरै अगाडि प्रजातन्त्र दिवसमा उक्त रूख मेरो एउटा अध्यायको साक्षी बनेको थियो । कुनै बेला आफैँसँग सन्तोष नहुँदा त्यही रूखलाई हेरेर सन्तोकी बन्थें । एकाएक आफ्नो उचाइ गुमाएको रुख देखेर अभिभावक गुमाएको महसुस गरें । एकैछिन उभिएर रूखका जरादेखि टुप्पैसम्म नियालेँ । मन सम्हाल्न सकिनँ, आँखाभरि सागर उर्लिए । त्यही टिलपिल आँखा लिएर गन्तव्यतर्फ हान्निएँ ।

हिजोआज बाटो फराकिलो छ । फराकिलो बाटोमा दैनिक हजारौं गाडी कुद्छन् । वरिपरि रूख छैनन् । बजारका रूखको उचाइ भवनहरूले लिएका छन् । तै पनि ती भवनले रूखको महत्त्व कहिल्यै बुझ्ने छैनन् । भूइँबाट उखेलेर फाले पनि मेरो मनबाट भने कहिल्यै नउखेलिने गरी जरा फैलाएको छ त्यो रुखले ।

गीतासँग पहिलोपटक त्यही सालको फेदमा भेट भएको हो । रूख हरियो थियो । त्यसका हाँगाबिँगा पनि फैलिएका थिए । फोनमार्फत दुवैजनाले हुलिया बतायौं । भेट्ने स्थल बनायौं, उही साल । म फोनिक्स साइकल चढेर नारायणगढबाट उकालो चढेँ । एकैपटक रूखमुनि बसेर गीतालाई पर्खने सोच बनेन । गीता नै पहिले आएर रूखमुनि कुरिरहून् भन्ने लाग्यो । त्यसै गरेँ । पारिपट्टि बसेर रूखको फेदतिर नियाल्न थालेँ ।

घडी हेरेँ । भेट्नलाई तय गरेको समय लगभग हुनै लागेको थियो । मैले घडी र रूख पालैपालो हेरिरहेको थिएँ । कुर्दाकुर्दै निर्धारित समय आयो । मैले रूखको छेउछाउ एकटकले हेरिरहेको थिएँ । उनले बताएको हुलिया अनुसारको मान्छे यतिञ्जेल त्यहाँ देखिएको थिएन । घडीको सुई अलिकति मात्रै अगाडि कोल्टिँदै थियो । गीताले भनेको हुलिया अनुसारको मान्छे रूखको नजिक देखा पर्यो । नयाँ लेडिज साइकलमा पिङ्क कलरको कुर्ता–सलवार र पहेँलो सलमा सजिएकी अलि–अलि अग्ली कोकाकोला फिगरकी एउटी सुन्दर युवती रुखमा आएर टक्क अडिइन् । दायाँबायाँ हेर्न थालिन् । मैले पारिबाटै नियालेँ उनलाई । गीता उनै हुन् भन्ने निश्चित भएपछि बाटो काटेर उनको अगाडि पुगेँ ।

आँखाले आँखामा हेरेर निमेषभरमै आँखाबाटै संवाद गर्न थाल्यौं । ‘गीता,’ पहिले मै बोलेँ, ‘लेख ।’ उनले पनि ठम्याइन् । मैले उनको हातमा मेरा हात राखेँ । दुवै हातलाई एकैपटक मुठ्ठीमा कसेँ । अनुहार नियालेँ, खुसीले धपधपी बलेको थियो, उज्यालो ! ओठ सुन्तलाका केस्राझैं कलिला थिए । त्यसमाथि पिङ्क लिपिस्टिकले ओठलाई झनै सुन्दर देखाएको थियो ।

हामी अब कता जाने भनेर अलमलमा थियौँ । कतै बसेर चिया पिउने सल्लाह भयो । नजिकैको चिया पसलमा पस्यौँ । अलि–अलि भोक पनि लागेको थियो । केही खाउँ है ? भन्दै गीतालाई आग्रह गरेँ । उनले सहमति जनाइन् । चाउमिन मगायौँ । चिया पनि पिउने ? भनेर सोधेँ । गीताले हुन्छ भनिन् । खाजा खाइवरी होटलबाट निस्कियौँ । साइकल डोहोर्याउँदै अघि बढ्यौं । केहीबेरमा रमाइलो चोक पुग्यौँ । रमाइलो चोकबाट अघि बढेनौँ । चोकको छेवैमा चौतारी थियो । त्यही चौतारीमा साइकल अड्याएर साइकलको पैडलमा एउटा खुट्टा टेकेर गफ गर्न थाल्यौँ । गफ के–के गरियो कुन्नी, अहिले याद आएन । तर, पढाइलेखाइ र साहित्य सिर्जनाको बारेमा कुराकानी गरेका थियौँ ।

हामी चौतारीमा लगभग आधा घण्टा बस्यौँ होला । दिन ढल्किसकेको थियो । पश्चिमतिर हेर्दा घामलाई रुखले छेकिसकेका थिए । अब हामी छुट्टिनुपर्ने थियो । पहिलो भेट पनि हामीले एक घण्टाभन्दा बढी बिताइसकेका थियौँ । मैले पहिलो भेटको चिनो भनेर डायरी र पाइलट पेन लगेको थिएँ । छुटिने बेलामा र्यापिङ गरेर लगेको उक्त उपहार गीताको हातमा राखिदिएँ । उनी मुसुक्क मुस्कुराइन् । उनले पनि मेरो लागि केही ल्याएकी थिइन् । उक्त उपहार मेरो हातमा राखिदिइन् । उपहार समातेर म पनि मुस्कुराएँ । हामी दुवै प्रफुल्ल थियौं ।

अब छुट्टिऔं भन्दै साइकल चढेर गीता बाइपासतिर लागिन् । मैले गीताले दिएको उपहार खुसी भएर समातिरहेको थिएँ । अब म पनि फर्कनुपर्यो । उपहार अलि ठूलो थियो । ठूलो उपहार पाएर मनमनै बेस्सरी खुसी थिएँ । साइकलको क्यारियरको च्याप्ने तानेर उपहार राखें र च्याप्ने छाडिदिएँ । च्याप्नेले उपहार झर्याम्म गरेको आवाज सुनें । उपहार फुट्यो कि भन्ने शंका लाग्यो । शंकै शंकामा म सरासर घरमा आएँ । साइकल पालीमा राखेर सोझै कोठामा गएँ । गीताले दिएको उपहार जतनसाथ खोलें । उपहार पाउँदा जति खुसी थिएँ, खोलेर हेर्दा खुसी हुन सकिनँ । मेरो अनुहारको चमक एकाएक हरायो । सिसाको फ्रेमिङमा भएको आकर्षक सिनको चकनाचुर अवस्था देखेर मेरो मन पनि उतिबेलै टुक्रियो । गीताले त्यत्रो प्यारले दिएको उपहारलाई मैले जतन गर्न सकिनँ ।

त्यसपछि गीतासँग करिब–करिब ६ वर्ष सम्बन्धमा रहेँ । यसबीचमा हामी सयौंपटक भेट्यौं । त्यति नै पटक चिया खायौँ । चिया मात्रै खाएनौँ, दुई ज्यान एक हुने वाचा पनि खायौँ । सँगै जीवन बिताउने योजनाका बारेमा हामीले पटक–पटक सरसल्लाह गर्यौँ । तर, हामी एक हुन सक्ने अवस्थामा आउन सकेनौँ । के मिलेन के ! हामी आफैँले पनि जान्न सकेनौँ । अन्ततः उनले आफ्नो बिहे अन्यत्रै हुन लागेको जानकारी दिइन् । केही दिनपछि त उनको बिहेको निम्तो पाएँ । उनको बिहे भएको चार महिनापछि मैले पनि बिहे गरेँ ।

हिजोआज कहिलेकाहीँ गीताको सम्झना आउँदा मेरो आँखामा सबैभन्दा पहिला चकनाचुर भएको उपहार झलझली देखिन्छ ।

प्रतिक्रिया
Loading...