२० चैत्र २०७६ (अप्रिल २, २०२०)

आज अलिक अबेला भयो, ५ः२० मा मात्रै माथि चढेँ । चिया तयार गरेर टेबल सामु पलेँटी कस्ता ५ः४० भयो । एकपल्ट मेसेन्जर सर्भे गरेँ, दुई कुरा देखियो— ऋचा छोरी वाशिङ्टनमा डेरा सरेकी । सानो, चिटिक्क घरमा लिभिङ, बेड, किचनेट, ट्वाइलेट, बुक–¥याक, फ्रीज, स्टोर सबै खिचेर देखाउँदै लाइव भिडियो बोल्दै पनि । सबै सामान थन्क्याएर व्यवस्थित गरेकी त्यो क्याथरिन म्यान्स्फिल्ड ‘डल्स हाउस’मा । मनमा अति ढुक्क भयो— अब छोरीहरु संसारका जुनसुकै कुनामा जाउन् एक्लै बाँच्न सक्ने भइसके छन् । एउटीले अमेरिकामै पढेर त्यो पचाएर आएकी हुन्; अर्कीले पनि थालिन् ।

यता ठूली छोरीलाई दिनको आधीघण्टा समय निकाल्न मुस्किल छ । नयाँ बेहुली छोरी । बिहेको महीना दिन नपुगी हाम्रो क्वारेन्टाइन रक्षार्थ कीर्तिपुर आइन्, उनको मण्डिखाटार एक्लै छ । यहाँ आएर रात बसेकी भोलिपल्टैदेखि आइसोलेशन छ । दिनभरि शिर नउठाई काम गरेको देख्ता म छक्कै पर्छु तर मेरो पनि त्यही बिमारले ६७ वर्ष सिध्याउन लाग्यो । त्यसमा १० वर्ष बाल्यकाल घटाए पनि ५७ वर्षदेखि मेरो शरीर नित्य घोप्टिएकै छ तर कुप्रिएको छैन । कुप्रिए पनि काम छोड्ने छैन । एक दशकदेखि २.५ चस्माले काम गर्दैछ ।

अञ्जनाले पनि यो विमार आफूमा सारिन र त उनका राम्रा दुई पुस्तक आए सिर्जनाका, यतिखेर तेस्रो बन्दैछ । हिजो डाइनिङ टेबलमा बसेर सुनाइन् — लेयखनाथ गौतमका आगामी कृतिको भूमिका उनैले लेखेको । कति सुन्दर र प्रभावकारी भाषामा छ । उनको सरलता र प्रत्यक्षता अर्कै छ । यस प्रकार छः

 

मृत्युवेदनामा सम्वेदित जीवनको सरल चित्र

— डा. अञ्जना भट्टराई

सर्वविदित सत्य— मानव शरीर वा भनौँ जीवनका स्थूल र सूक्ष्म दुई रुप छन् । स्थूलरुप नाशवान हुने, सूक्ष्म रुप अमर हुने वृत्तान्त हिन्दू धर्मशास्त्रले समेटेका छन् । यी नै धर्मशास्त्रले सूक्ष्म जीवन एउटा स्थूल शरीरको विनाशपशचात् अन्य स्थूल आकारमा प्रवेश गरी पुनः जन्मलिने धारणाको व्याख्या गरेका छन् । यो आत्मा अजरअमर जीवले ८४ लाख स्थूलकाय फेर्ने कथा पनि यिनै धमै शास्त्रमा पाइन्छ ।

स्थूल कायको मृत्यु अकाट्य छ । जन्म र मृत्युको अटुट सम्बन्ध चेतनशील मानव जातिको स्मरणको भित्री तहमा सदैव सुसाइरहन्छ । यो चेतनशील प्राणी मृत्युलाई विस्मृतितिर धेकेल्न मै आनन्दी हुन्छ र त मानवता खोपीमा सिउरेर मानवहानी कर्ममा लिप्त हुन्छ । यो धराका आधा जसो मनुष्य मानवहानी र प्रकृतिहानीका कर्ममा आफ्ना अवसर खोज्ने हुनाले यो धरतीले दिनानुदिन आफ्नो सौन्दर्य र मानव लाभका अवसर गुमाइरहेछ । यस्ता समाज र पर्यावरण विनाशी मनुष्यको पनि मृत्यु त अवश्यम्भावी छ । तर तिनका मृत्यु स्मरणमा न काव्य लेखिन्छन्, न गीत रचिन्छन्, न पुस्तक प्रकाशित हुन्छन् न त कसैले उनका गुणगान नै गाइरहन्छन् ।

सरल जीवन यापन गर्ने स्वावलम्बी मानिसका मृत्युले परिवार, आफन्त, इष्टमित्र र साथीभाइ भावविह्वल हुनु स्वाभाविक हुन्छ । मृतकका स्मरणमा कविता÷काव्य लेखिन्छन्, स्मृति पुस्तक छापिन्छन्, चित्र कोरिन्छन्, पाटी पौवा निर्माण गरिन्छन् र चौतारा चिनिन्छन् । आफ्नी पत्नीको असामयिक निधनमा भावविह्वल भएर नेपालका राष्ट्रकवि श्री माधव घिमिरेले रचना गरेको शोक काव्य गौरी नेपाली हृदयको स्पन्दन बनेको छ । यस काव्यले यस्तै प्रकृतिका मृत्युको सामना गरेका आफन्तलाई मलमको कार्य गरेको छ भने शोक अभिव्यक्तिको प्रयत्न गर्नेका लागि प्रेरणा स्रोत बनेकोछ । यसै काव्यका प्रेरणाले आआफ्ना माता–पिता, पति–पत्नी, सन्तान र मित्रका मृत्युमा कति रचना सृजना भए हुन् !

शोक मानवीय वेदना भएकाले यस धरतीका हरेक भाषामा शोक साहित्य रचित छन्, चाहे ती मौखिक हुन् वा लिखित । परापूर्वकालदेखि आजसम्म शोक–सृजना अनवरत बगिरहेछ । ती सबै मध्ये उन्नाइसौँ शताब्दीका प्रशिद्ध कवि अल्फ्रेड लर्ड टेनिसले आफ्नो युवक साथी अर्थर ह्यालमको असामयिक निधनमा रचेको लामो कविता इन मेमोरियम ए.एच.एचले हरेक कालखण्डमा विश्वभरि नै प्रशिद्धी पाएको छ । यसै कारण मैले अंग्रेजी एम ए पढ्दा ( २०३८–२०४० को ब्याचमा) यो कविता पाठ्यक्रममा समाविष्ट थियो ।

उपरोक्त दुवै रचना (टेनिशन र माधव घिमिरे) एक व्यक्तिसँगका नितान्त निजी सम्बन्धले प्रेरित भएर लेखिएका हुन् । यी दुवै रचनामा मृतकका सकारात्मक पक्ष अनि ती व्यक्ति गुमाउनुपर्दाका पीडा मात्र नभएर यो सृष्टिमा जीवन–मृत्युको सम्बन्ध नङमासुको जस्तो भएको अभिव्यक्ति समेत समेटिएको छ ।

मृत्युले सृजना गराएको शोक अभिव्यक्ति पद्यमा मात्र नभएर संसारका विभिन्न भाषामा गद्यमा पनि लेखिएका होलान् । यस्तै मर्मश्पर्शी गद शोक अभिव्यक्ति मैले नेपाली पत्रकार देवेन्द्र भट्टराईले आफ्नी जन्मदातृको मृत्युमा रचना गरेको आमा जानुभो शीर्षक लेखमा पढ्ने अवसर प्राप्त गरेँ । यसमा मृतकको स्मरण, लेखकको पीडा मात्र नभएर तात्कालीन समाजमा मौलाउँदै गएको शोक सन्तप्त परिवार सामु गरिने लिखित समवेदना वाचनले स्रोतामा सृजना गर्ने वितृष्णाको स्वरुपको समेत चर्चा गरिएको छ । फलस्वरुप यस लेखले एउटा कालखण्डको मृत्यु–संस्कृतिको प्रतिनिधित्व गर्ने निश्चित छ ।

यसरी मृत्यु सृजित शोक रचनाबारे मन्थन गर्दैगर्दा मेरा काखबाट श्री लेखनाथ गौतमद्वरा लिखित स्मृतिका ती दिनको पाडुलिपिले मेरो ध्यान आकर्षित गर्दा शीर्षकमा सरर आँखा डुलाएँ । त्यहाँ क्रमबद्ध गरिएका छवटा लेख मध्ये पाँचवटा मृत्यु सम्बन्धी पढिएकाले यो पाण्डुलिपि शोक अभिव्यक्तिको सँगालो रहेछ भन्ने ठानेँ । यस भित्रका छवटा आलेख मध्ये एउटामा आफ्नी माताजीको औषधी उपचारमा काठमाडौँ बसाइ समेटिएको छ, अर्काेमा उहाँको मृत्युले ल्याएको तरंग अनि अर्काेमा उहाँको वार्षिकीको चर्चा । बाँकी तीनमध्ये दुईवटामा दुई फुपूहरुका देहवसानले ल्याएका चोट छन् भने अर्काेमा आफ्नी सानीआमा (आमाकी बहिनी) को मृत्युले दिएको पीडा ।

आफ्नी जन्मदातृलाई केन्द्रबिन्दुमा राखिएका तीनवटा लेख मध्ये दुईवटा आमाका उपचारका अविस्मरणीय दिनहरु र माताजीको महायात्रा छ दैनिकीको शैलीमा अठार दिनको । पहिलो लेखमा श्री लेखनाथले आफ्नी आमाको अस्वस्थ शरीर देख्ता उर्लिएको वेदना र उपचाराक्रममा सामना गर्नुपरेका चुनौतीहरुको सटिक चित्र उतारेका छन् । विराटनगरबाट प्लेनमा आएकी आमालाई ह्वीलचेयरको सहयोगमा एयरपोर्ट बाहिर ल्याई एम्बुलेन्समा चढाएर सिधै अस्पताल पु¥याइएको वर्णन हृदयविदारक छ। बाह्रदिन आमालाई अस्पतालमा (छ दिन आइसियुमा, छ दिन साधारण कक्षमा राख्नु पर्दाका मानसिक ताप, आफ्नो व्यावसायिक र सामाजिक जीवनको घर्षण, बुबाको साथ छुटेपछि सन्तानका लागि आमाले गरेको संघर्षको स्मरण, अहिलेको विषय परिस्थितिमा भाइ भतिजाबाट प्राप्त सहयोगको वर्णन मर्मश्पर्शी लाग्छ । लेखकको “बाहिर निस्केँ, ह्याम्स अस्पतालमा बिहानको पारिलो घाम लागिरहेको थियो तर ममाथि थिएन ।” भन्ने उद्गारले आफ्नी जन्मदात्रीलाई अस्पताल राख्ता छोराको मनमा उठ्ने उद्विग्नता दर्शाउँछ।

निमोनियाले ग्रस्त आमालाई आइसीयूमा राखेको दुईदिन पश्चात् विराम क्रमिक रुपमा सुधार हुँदै गएको जानकारीले चिन्ताको तह ओर्लिइ अस्पताल बसाइमा पठनप्रति आकर्षण बढ्दा तारिणिप्रसाद कोइरालाको उपन्यास फालिएको सामान र डा तुलसीप्रसाद भट्टराईकृत बर्माका नेपालीबारेको बाहिर सुखी छौँ तर खुसी छैनौँ कृतिको पठन भ्याइएको छ । दोस्रो पुस्तकले धनसम्पत्ति, ऐश्वर्य भन्दा ठूलो आफ्नो मातृभूमिको बसाइमा हुने चिन्तनलाई बल मिलेको तथ्य दर्शाइएको छ । लेखक श्री लेखनाथको पठनमा अभिरुचि रहेको तथा पठनले चिन्तनलाई सहयोग गर्ने गरेको तथ्य उपरोक्त दुई कृतिको पठनले झल्काउँछ ।

आमालाई साधारण कक्षमा सारेपछि पत्नी ममताले उठाएको दोहोरो जिम्मेदारी (राति आमासँग अस्पताल बस्ने र अन्य समय कोठामा खानपिन तयार गर्ने) ले उनमा आएको शिथिलतालाई लेखकले स्वाभाविक ठानी उनीप्रति कोमल भाव दर्शाएका छन् । उनको त्यस्तो अभिव्यक्तिले पत्नीप्रतिको प्रेम झल्कन्छ ।

लेखकको कुकुर भुकाइ र परेवा घुराइको वर्णनले उनको पशु पंक्षीप्रतिको सचेतता दर्शाउँछ भने प्रभातकालीन सूर्य र बाटा वरपरका रुख विरुवाको चर्चाले प्रकृतिप्रेम । हरेक दिन आफ्नो कोठाबाट अस्पताल जाँदा बाटामा देखिएका दृश्यको चित्रणले उनमा भएको सूक्ष्म नीरीक्षण क्षमताको उजागर गर्छ ।

उनको विस्तृत जनसम्पर्कलाई तारन्तार आउने स्वास्थ्यलाभको कामनाका फोन तथा आमालाई भेट्न अस्पताल आएका शुभचिन्तकले दर्शाएको छ ।

दोस्रोले माताजीको महायात्रामा आफ्नी जन्मदातृले राति एक बजे “तँ कहिले आउने” भनी गरेको फोन प्रश्नले मन उद्वेलित भएको प्रसङ्ग शुरु भै आउँछ । त्यस समय आफू काठमाडौँ भइरहँदा आमालाई ताप्लेजुङ अस्पताल पु¥याएको फेरि राति घर लगेको अनि अन्त्यमा आमाको देहावसान भएको खबर प्राप्त गर्दाका लेखकका पीडा अनुभूतिका अभिव्यक्तिले पाठकको मन समेत कम्पित गराइदिन्छ । उनले आमासँग अघिल्लो रात वार्ता अगाडि बढाउन नसक्नुको ग्लानि प्रस्ट रुपमा नलेखे पनि पाठक उनीसँगै पीडा, अत्यास र ग्लानिको भावनामा मर्माहत हुन्छन् । त्यसपछि लेखकले बिस्तारै आफूलाई मर्मान्तक खबर सुन्ने बित्तिकैको वेदनाबाट बाहिर निकाल्छन् । समालिँदै समालिँदै जीवन र मृत्यु सम्बन्धमा चिन्तन गर्न थाल्छन् । आफ्नो वेदना समनका लागि उनले श्रीमदभागवत् गीताको श्रीकृष्णले अर्जुनलाई जन्म हुनेको मृत्यु र मृत्यु हुनेको पुनर्जन्म निश्चित छ भनी सम्झाएको सत्रौ श्लोकको सहारा लिएका छन्ः

जातस्य हि धु्रवो र्मृत्यु धु्रव जन्म मृतस्य च
तस्मादपरिहार्येर्थे न त्वं शोचितुमर्हसि

मानिसले बुझ्नु पर्ने सत्य यही हो र बुझेको पनि हुन्छ तर आफ्ना निकटस्थको मृत्युमा शोकको आवेगले वशीभूत पारी सारा बिर्साइदिन्छ । त्यस आवेगलाई जितेर धैर्य धारण गर्न सक्नु नै मानव जीवनको परीक्षामा उत्तिर्ण हुनु हो । लेखकले यही चिन्तनको अनुशरण गरेको पाइन्छ ।

यस लेखमा आमाको जीवनकालमा छोराको कर्तव्य गर्न नसकिएको ग्लानिले पनि अभिव्यक्ति पाएको छ । आजको नेपालमा विभिन्न उद्देश्ये विदेशिएका (देशभित्र या बाहिर) प्रत्येक सन्तानले जीवनको कुनै न कुनै मोडमा यस्तो भावनाको सागना गर्नुपर्छ । त्यसर्थ यो भावना हरेकका जीवनको एक सत्य हो ।

लेखक आमाको मृत्युस्थल ताप्लेजुङका लागि विराटनगरसम्म हवाइ यात्रा अनि जीप यात्रा गर्दा घटनास्थलबाट आएका पार्थिव शरीरलाई दाह संस्कारका लागि तमोरतिर लगिएको खबरले उनका मनमा त्यो शवयात्रको हुबहु खिचिएको चित्रले जो कोहीलाई भावविह्वल बनाउँछ । उनले घरदेखि शवदाहस्थलसम्मको यात्रा अनि दाहसंस्कारको त्रिायकलापलाई आफ्नो मानसिक यात्रा बनाएर पाठकलाई एकाहो¥याएका छन् । यसरी हरेक गतिविधिको चित्रणले आफ्नो शोकलाई शक्तिमा बदल्न गरिएको उनको प्रयास अनुकरणीय छ ।

वर्तमान वैश्विकीकरणको समयमा वैदेशिक रोजगारी, अध्ययन र भ्रमणले कति सन्तान आफ्ना जन्मदाताको मृत्युमा प्रत्यक्ष उपस्थित हुन नसक्ता लेखकको जस्तो वेदना र ग्लानिको सामना गर्नुपर्छ । उनको जस्तै गरी घटनाको चित्र आफ्ना मस्तिष्कमा खिच्न सक्ता ‘भर्चुअल संसार’ले दिने शान्ति देला कि ! हुन त भिडियो खिचेर शेयर गर्ने प्रचलन बढ्दै छ ।
लेखकको पहिलो दिनदेखि तेह्रौँ दिनसम्म चल्ने मृत्युपछिका कर्मको र गरुड पुराणको वर्णनले हाम्रो संस्कार बुझ्न सघाउ पु¥याउँछ । उनको विश्वास यो संस्कारपालना गर्नु पर्नेमा देखिन्छ । हरेक दिन मृत वियोगमा कल्पेको र संसार निसार भएको अभिव्यक्तिले उनीभित्रको रिक्तता प्रकट गरेको छ । उनको प्रकृति प्रेम बारम्बार कंचनजंगा र कुम्भकर्ण हिमाल अनि पाथीभरा माताको चर्चाले झल्काएको छ । पन्ध्रौँ दिनसम्म पनि मृत्युपछिका कर्मको निरन्तर चित्रण सोह्रौँ दिन आफू जन्मे हुर्केको गाउँ भ्रमणले उनको बाल्यावस्था ब्यूँझाएको छ । हरेक व्यक्तिको बाल्यावस्था स्मरणले सुखानुभूति ल्याउने यथार्थ चरितार्थ भएको छ । बाल्याकालमा आफू डुलेको रनवन, बाटाघाटा, विद्यालयको सेरोफेरो र मान्छे नवस्नाले उजाडिएको आफ्नो घरको सजिव चित्रले पाठकलाई मन्त्रमुग्ध बनाउँछ भने लेखकको त्यस स्थलप्रतिको प्रेम टडकारो पार्छ ।
तेस्रो लेख आमाको वार्षिकीमा एकवर्षपछि ताप्लेजुङ जाँदाको प्रसङ्ग कैद गरिएको छ । चारभाइ दाजुभाइ एकै ठाउँमा भेला भएर वार्षिकी सम्पन्न गर्नु पर्ने तर त्यो हुन नसक्ता उनले आफ्नो विवशता अनि आमाको छहारी गुमेको विषद चिन्ता प्रस्ट व्यक्त गरेका छन् । आमा गुमाउँदाको रिक्ताताले र दाजुभाइमा सामञ्जस्य स्थापित हुन नसक्नुले लेखकलाई बढी नै उद्वेलित गराएको छ । परिस्थिति अनुसार दुईतिर मासिक कर्म हुन गएको अनि अन्तमा आमाका नाउँमा सप्ताह लगाएकाले आमाप्रतिको अगाध श्रद्धा र कर्तव्य परायणता अनि संस्कारप्रति प्रेम र विश्वास झल्काउँछ ।

अर्काे लेख फुपूदिदीको बैकुण्ठ यात्रामा आफ्नी कान्छी फुपूको मनमोहन मेमोरियल कार्डियो थोरासिक, शिक्षण अस्पताल महाराजगंजमा भएको मृत्युको हृदयविदारक प्रस्तुति छ । फुपूले “तेरा घर लैजा” भनेको तर आफूले घरलानु अगावै उहाँ ब्रह्मलीन हुनभएकोमा पश्चात्ताप, शोकाकुल भाइहरुलाई ढाढस दिँदै मातृ वियोगमा क्रन्दनरत बहिनी छेउ जान हिच्किचाएको प्रसंगहरु समेटिएका छन् । त्यसैगरी शवदाहको तयारी, शवदाह र भाइबैनीलाई तेह्रथुम घरतिर पठाउने व्यवस्था अनि आफ्नो दैनिकीमा सबै कुराको मिहिन तस्वीर प्रस्तुत गरेका छन् ।

यो संसारको निस्सारता अनि मानव आत्माको चिन्तन नै यस लेखको मर्म हो ।

अर्काे मृत्यु पनि दुई महिनाको अस्पताल बसाइपछि मनमोहन मेमोरियल कार्डियो थोरासिक मै भएको वृत्तान्त श्रद्धान्जली ः सानीआमालाईमा उल्लिखित छ । अघिल्लो राति नै थाहा पाएको मृत्युको खबरले विचलित हुँदै अस्पताल पुग्दा त्यहाँ देखिएको आफन्तजनको पीडा, वेदना र विलापको वर्णन वृत्तचित्र झैँ लाग्छ । त्यसपछि लेखक शवदाहको व्यवस्थामा लागेको शवदाहका क्रममा सानाबाको व्यथित अवस्थाको लामो विवरण छ । यस्ता दुःखद घडीमा ताप्लेजुङ सरोकार समाजको ठूलो योगदान रहेको चर्चा गरिएको छ ।

आफ्नो जीवन संघर्ष, जीवनको क्षणभंगुरता र मलामीले बेलुका नून नखाने संस्कार अनि मृतकका सन्तानको कर्तव्य पालनाको चर्चा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

भ्यान्टिलेटरबाट फुपू दिदीको महायात्रामा लेखकले आफ्नी काइँली फुपूको मृत्यु वर्णनको शुरुवात, उहाँका सद्गुणको, ताप्लेजङ जिल्लाको भूगलको स्मरण गर्दै गरेका छन् । मृत्युको तेह्रौँ दिन लेखिएको यस लेखमा फुपूलाई इटहरीबाट हेलिकप्टरमा ग्रान्डी अस्पताल ल्याइएको समाचार पाउनु अगाडि आफूले त्यो दिन गरेका र समाचार पाएपछि गरेका कार्यहरुको चर्चा गरेका छन् । फुपूको पार्थिव शरीरलाई इटहरी नै लाने निर्णय भएपछि एम्बुलेन्सको पछाडि सीटमा उक्त पार्थिव शरीर बाँधेर आफू अगाडि सीटमा बसी गरेको यात्रा विवरण मार्मिक छ। घर पुगेपछि फुपाजु, भाउजू बुहारी र दिदीबहिनीको विलापले हृदायविदारक स्थितिलाई धैर्यसाथ सम्हाल्दै शवदाहका लागि इटहरी बजारको पूर्वपट्टि रहेको बुढीगंगा घाट लगिएको वर्णन छ । बाटामा धेरैजसो मलामीको उद्गार रोग नदेखिइकन छोटो विमारले जीवन अन्त्य गराएकोले लेखकमा केही विचलन देखिए पनि उनी मृत्युको शास्वत सत्यता सम्झेर धैर्यवान बनेका छन् ।

लेखकले मृतककी छोरी इन्दिराको क्रन्दन अनि आफ्नो जीवनको संघर्षलाई कारुणिक रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी हाम्रो सामाजिक संस्कारले मृतकका घरमा भेला भएका धेरैलाई मृतकका सन्तानलाई आदेशात्मक स्वरमा खाना खान लगाउनुपर्छ भन्ने सिकाएकोमा विद्रोही स्वर उठाएका छन् । इन्दिरा बुझ्ने छन्, सम्हालिए पछि खान लाग्नेछन् भन्ने उनको विश्वास छ । लेखक काठमाडौ फर्किने क्रममा विराटनगर एयरपोर्टमा अमेरिकाबाट आइपुगी देखादेख भएकी अर्की बहिनी मन्दिरासँग त्यो शोकका घडीमा सान्त्वनाका शब्द उच्चारण गर्न नसक्नुको पीडा गहिरो छ ।

काठमाडौँ फर्किएपछि आफ्नी पत्नी ममताले फुपूको आकस्मिक मृत्युमा आशचर्य प्रकट गर्दा लेखकको उत्तर “काबु भन्दा बाहिरको … भनेका छन् । लेखकले स्मृतिका ती दिनहरुमा आफन्तहरुले आफूलाई नितान्त एक्लो बनाएको पीडा व्यक्त गरेका छन् । छोटो अवधिमा परिवारका उल्लेख्य व्यक्तको निधनले ल्याउने वेदना मैले पनि भोगेको हुनाले लेखकका अनुभूति मेरै जस्ता लागेका छन् । मैले २०६९ देखि २०७१ सम्ममा (३ वर्षभित्रमा ) आमा, बुबा, मामा र ठूली आमा गुमाएकी थिएँ। त्यसैगरी लेखकले जन्म पश्चात मृत्यु अपरिहार्य भन्ने लेखमा निकट सम्बन्धीको मृत्युमा मानवले धैर्य धारण गर्ने शक्ति बटुल्नु पर्ने सन्देश दिएका छन् । लेखकले यी लेख मार्फत नेपालमा आमा मात्र नभई फुपू, सानीआमासँगको पारिवारिक सम्बन्ध पनि आमा सरह बलिष्ठ हुने तथ्यलाई अगाडि सारेका छन् । प्रचलनमा रहेको प्रायः एक व्यक्तिको मृत्युमा लेखिने शोक अभिव्यक्तिलाई उछिन्दै उनले चार जना जनाको मृत्युमा लिखित आफ्ना शोक रचनालाई संग्रहका रुपमा ल्याएका छन् । मृत्यु संवेदित भएर लेखिएका यी लेखले पाठकबाट माया प्राप्त गरुन् । तथा भविष्यमा लेखनाथको लेखनीले विविध प्रकारका सृजना गर्न सकुन भन्ने शुभकामना साथ रोकिन चाहन्छु ।
२०७६ साल फाल्गुन
सुकर्मटोल काठमाडौँ

धन्य आफूले पढ्नु पर्ने, सन्तानलाई पढाउनै पर्ने एउटा कुरा रहेछ, भाषा । एउटै अन्तिम कुरा रहेछ— अंग्रेजी भाषा । विज्ञान गणित प्रविधि पढाएर उनीहरु जीवनका अनेक पाटामा सफल होलान् तर मानवीय सम्वेदना–रिक्त हुन्छन् ती । त्यसो गर्दा प्रायसः द्रव्यको मात्र प्रार्थना गर्न सक्षम, सफलताको मात्र नाम जप्न सफल हुन्छन् हाम्रा सन्तान । त्यसले जीवन ढुट्याउँछ । विशेष गरी तिनीहरुसँग भाषा हुँदा मात्रै सारा मनोभाव संचार गर्न समर्थ हुन्छन् । हामीलाई जोड्ने शक्ति, छुने शक्ति भाषा मात्र हो । त्यसकारण भाषा साहित्यको शक्तिको बोध गर्ने, हृदयङ्गम गर्ने सन्तान बनाउनोस् भन्छु । भाषा, साहित्य, मानविकी नै पढाउनोस् भन्छु ।

त्यसमाथि पनि यो ग्लोबल आँगनमा निस्कने हो भने अंग्रेजी भाषामाथिकै सफलता चाहिन्छ । हिजो भर्खर उज्यालो फाट्तै गर्दा (यताको साँझमा) ऋचाले कल गरिन्— यसरी सबै सूटकेशमा प्याकिङ गरिसकेँ आमा । अब एकछिन पर्खेर नयाँ घारतिर बसैँ जानुपर्छ ।
किन ?

हेर्नु नि तलतिर बाटामा बेञ्चीमा ‘होमलेशहरु’ छन्, ‘माम्, वान डलः’ भन्छन् । यतिखेर तिनको बिजोक छ । विश्वको महाशक्तिको आँगनमा त्यस्तो छ, उता प्रगति गर्दाे छ के अर्थ भयो ? तर मेरा लागि मूल कुरा तिनको बोली, टोन, भाषा बुझ्ने हुनुप¥यो । तब मात्र त्यो स्थान र कालसित संचार हुन्छ नत्र ‘एलियन’ जस्तो भइयो भने के हुन्छ ! तर नेपालमा सिकेको भाषा–साहित्यले अमेरिका पुगेर पनि गरिखान सक्छु भन्ने आँट दिने रहेछ, खुसी लाग्यो ।
अरुको भाषा राम्ररी जान्नैपर्यो । त्यस्तै गरी नेपाली वा मातृभाषा बिर्से भूले झन् कुन गति हुन्छ; सोचौँ भन्न चाहन्छु । आफ्नी आमाको मन र शरीरको राम्रो ख्याल गर्न सक्ने हुनुपर्छ । नेपालीमा लेख्नेहरुले मनपरी वा अशुद्ध लेखेको अष्पष्ट कुरा व्यक्त गरेको, व्यक्त गर्न नसकेको देख्ता पनि त्यत्तिकै दुःख लाग्छ ।
हिजो राजेन्द्र भण्डारी विषयक लेख धरै अघि बढाउन सकँे; आज पूरा गर्ने प्रयत्न गर्नेछु । अनि भोलिदेखि अर्कै विषयमा ओर्लिन्छु शायद खिमानन्दको अमेरिकी यात्रा ।
आज बिहानै काम थाल्नुभन्दा पहिले प्रा. यामबहादुर पौडेलले पोखराबाट फोन गरेर भने— ‘सर दुईटा एपिसोड’ सुन्यौँ सपरिवार बसेर (दुई एपिसोड भनेको मेरो सम्झनाको सागरमा केही दिनका दुई लेख) । अत्यन्तै गहिरो छुने लाग्यो । प्रेरणाप्रद— यस्तो लेख्ने केही शक्ति पाए हुन्थ्यो जस्तो लाग्दैछ । त्यसपछि उनले अलिक बौद्धिक र वैश्विक कुरा निकाले । उनले संस्कृत भाषाको उच्चता र महानता अनि वैश्विकताको चर्चा गर्दै भने— यसबारेका दुइटा उच्च लेख नेपालीमा अनुवाद गरेको छु ।
मलाई पठाइदिनस् है ।
हवस गुरु ।

आजको दिन मैले राजेन्द्र भण्डारीको बारेमा र उनको कवितासंग्रह शब्दहरुको पुनर्वासको बारेमा लेख्तै बिताउने निधो गरेको थिएँ । त्यसो त हिजो पाँच पृष्ठ लेखेको हुँ । एउटा राम्रो लेखको अन्तिम तयार गर्न ५–६ भन्दा बढी दिन लाग्छ ।
खाना खाएर स्टडीमा आएको, एकछिन यहीँ ढल्केँ । उठेर चिया पकाउने तयारी गर्दै थिएँ अञ्जनाले दूध–चिया ल्याइन् धेरै दिनमा । लकडाउनमा दूध चिया एक सौभाग्य थियो । त्यसपछि स्नान गर्ने विचार गरेँ । आज बिहान मात्र पानी ट्याङ्कीमा झरेको तर सौर्य तापले मजाले तातेछ बीच तलामा ।

तर निकैदिन भएको थियो यो स्नानागारले केही सफाइ खोजेको । एकघण्टा लगाएर त्यसको कायाकल्प गरिदिएँ । नयाँ झैँ टल्केपछि स्नान गरेर एकछिन घाममा बसेँ । फेरि भित्रै पसेँ । मौसम ठिक छ, सारा सर्बत्र निर्जन शान्ति छ । डरलाग्दो शान्ति ।

बेलाबेला सारा आवाज ठोकेर मोबाइलको ढोकामा मेसेन्जरले नक गर्छ । खासगरी एपिसोड– ३ सम्मका प्रतिक्रिया आइरहन्छन् । त्यसपछि खाजा खान झरेँ । ओट र तातो पानी । माथि आएर फेरि चिया बनाएर पिएँ । आज कतै फोन गरिनँ । एकमन यस्तै शान्तिमा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ फेरि निकै समय बितेपछि कतैबाट आइदिए हुन्थ्यो जस्तो लाग्छ फेरि मेरो समय खाइदेलान् नआइदिए हुन्थ्यो भन्ने पनि । एउटा आयो— ज्ञानबहादुरको हिजोको निबन्धबारेको समीक्षालाई लिएर अनि एकछिन बोल्यौँ । अरु यस्ता थपेर दश पार्नाेस् भनेँ । त्यसपछि एकछिन घरमा गरेँ दाजु र खगेन्द्र भाइलाई । यता ठूल्दाजुलाई गरेँ भाउजूका पाण्डुलिपि तयारीमा छन् भन्नुभयो । अनि लेख्तै गएँ, फेरि लेख्तै गएँ ।
चार बजे सेवा आउँछिन् तलबाट आमालाई लिएर । सामुन्ने कुर्सीमा आफ्नो ट्याब्लेट खोल्छिन् ठड्याएर । उनले देखाएको व्यायामको एक्सन हेरेर त्यस्तै क्रियाकलाप गर्न खोज्छौँ । खासगरी हात र ढाडको । ठ्याक्कै आधी घण्टा पसिना आउन खोज्छ ।

त्यो सकेपछि फेरि बसेर पढ्छु र लेख्छु र लेख्छु र पढ्छु । राजेन्द्र भण्डारीको कवितासंग्रहको कविताको भूमिका पढेँ । कत्रो उच्चकोटीको छ त्यो विचारपुञ्ज । त्यसरी कविताका नयाँ चेत भएका शब्दशक्तिको पूरा अभ्यास गर्न सक्ने समकालीन नेपाली कवि अरु कोही छैन जस्तो लाग्छ । म त्यति प्रभावित भएँ । त्यसो त अघि पनि पढेकै थिएँ । फेरि आज मिहीन तरिकाले पढेँ । त्यो सूत्रात्मक छ फेरि उद्धरण गरेँ, व्याख्या गरेँ । मेरो मनोभावसितको नयाँ समय–चेतना बारेमा तरङ्गदैर्घ (वेभ लेङ्थ्) मिल्ने मानिस पाएँ । सबै सूत्रमा छ नयाँ दर्शन ।

मैले उत्तरआधुनिक ऐना र विमर्शमा प्रस्तुत गरेका नवीन कुराहरु पनि छन् यसमा । त्यसैले मैले त्यो भूमिका खण्ड छिचोलेर टाढा जान सकिनँ । त्यो सक्ता साँझ प¥यो, रात ओर्लियो, दुई रोटी खान झरेँ । आज सेवाले साग, फर्सी, धनियाँ, तोरीको तेल आदि ल्याइछन् । रोटी सेवन गरेर अध्ययन कक्षमा चढेँ । एकछिन ऋचासँग भिडियो ग¥यौँ । त्यसपछि एकछिन् ज्ञानबहादुरजीसँग बोल्यौँ । दिनभरिको लेखापढीबारे । एकछिन नेत्र पौडेल माओलीले लेखेको टाँकीका फूलबारे शीर्षक समीक्षा लेखको कुरा गरेँ । यो हङकङका स्रष्टा दाजु गुरुङको कथासंग्रहबारेको लेख हो । त्यसपछि । एकछिन् भोलि लमजुङबाट गोर्खा जाने अनितासित बोलेँ अनि त सन्ध्या समाप्त भयो ।

सम्झनाको सागरमा केही दिनका इपिसोड— ४ सुनेर खुसी भएका कमेन्ट, थुप्रै आए । केही राखेको छु यहाँ:
सर सुने, चौथो चाहिँ सागर जस्तै रहेछ गहन अनि अथाह सम्झनाका तरंगहरु भएको । बधाइ र सम्झना पनि— बिर्ख कार्की, डुअर्सेली– सिलिगुडी

तपाईंको अतीत मोहक रहेछ, दुखद भएर पनि होला, शायद कसले सोचेका थिए होलान् ती मूला चोर कुनै दिन नेपाली साहित्यमा विश्वमै प्रसिद्ध हुनेछन् । अति राम्रो सम्प्रेषणीय भाषा छ दाजु— इन्दुप्रभादेवी– गुवाहाटी ।

बाल मानोवज्ञान राम्रो लाग्यो मामा । पहाडको मेला बजार यस्तै हुँदोरैछ, जस्तो लाग्यो । त्यो अभाव देख्ता चिसोले खुट्टा मरे जस्तै स्तब्ध भए एकैछिन— देवी तिम्सिना– काठमाडौँ ।

कति सुन्दर भनेर साध्य छैन । बाल्यकालको जीवनलाई लिएर लेखिएको सस्मरण यति सुन्दर पनि हुनसक्छ भन्ने थिएन मलाई । गाउँले शब्दहरुको भरमार प्रयोग । सम्झना बुढेसकालबाट बाल्यकालतिर राजधानीबाट पछ्याउँदै च्याङ्थापुतिर ! सग्लो उत्रिएको पाएँ मैले । घरबाट मेला हेर्न हिँडेपछि रातभरि मेलामै बिताइएको सुन्दर सम्झना हार्दिक बधाइ गुरु ! ज्ञानेन्द्र खतिवडा–सिलिगुडी

नमस्कार, हजुरआमाहरुले कुरा गरेको ठाउँ । तम्मरखोला आदि सुन्दा पनि मन तरङ्गित हुने । शब्दहरु कहाँबाट निस्कन्छन् । मन जिरिङ्ग हुन्छ । बाल्यकाल जुध्न खोज्छ । हामीले पनि उस्तै उस्तै भोगेका । तर हामीले शब्दको रंगी विरंगी माला कहाँ उन्न सक्छौँ !

श्रीमतीको उपचारमा बैंगलोरमा थुनिएको छु । यो खोराक मलाई पनि लाभदायक भएको छ । मणिपुरकै नेपाली गाउँ आफ्ना अगाडि नाच्दछन् । खालि त्यो मेलामा नेपाली वातावरण हाम्रो भन्दा अलग लाग्छ । पैसा नहुनु र ब्रतबन्धपछि केही खान नहुनु सबै सबै उस्तै । गाउँको विद्यालय र लौरा भाँच्ने गुरुहरु सबै मिल्न खोज्छन— भवानी खतिवडा–मणिपुर ।

सर ४ सुनेँ, रोचक छ । धेरै जनाको अतीतसित मिल्छ वाचन र पाश्र्व संगीत मिलेको छ मिठो । सरको वचपन र वर्तमानमा आकाश पाताल फरक रहेछ, सर अर्काे पनि अंक आओस् है— डा. खगेन शर्मा– गुवाहाटी

डा. गोविन्दराज भट्टराई “मंसिरको त्यो चीसो स्याँठ र मादेउस्थानको जात्रा बजार” शीर्षक आत्मसंस्मरणमा तत्कालीन पूर्वी नेपालको जनजीवनको सजीव चित्रण देख्न सकिन्छ । तत्कालीन जीवन शैलीको सुगन्ध देख्न सकिन्छ । लेखकको बाल मनोविज्ञान बुझ्न मद्दत गरेको छ यो संस्मरणले अभावका बाबजुद आशावादी भएर जे छ त्यसमै रम्ने र जीवनमा संघर्ष गरी यो जीवनलाई सार्थक पार्नुपर्ने सन्देश यसले दिन्छ । अभाव पीडामा पनि रम्न सक्ने ऊर्जा यसले दिन्छ— गोपाल संग्रौला– सुरुङ्गा ।

भाग ४ यो सुन्दर कथासँग मिल्ने जादई स्वर नभएको भए अधूरो नै हुन्थ्यो कि ? बाध्यतावश, परिवार यायावरीय बनेका क्षणहरु, लुगाहरु खरानीमा धुनुपर्ने अवस्था, बजारमा खानेकुरा देख्ता यत्नपूर्वक लोभ संवरण गर्ने दुरावस्था, बाइस्कोप हेर्न पनि पैसाको अभाव, महादेवस्थान जात्रा बजारको उत्साहपूर्वक यात्रा, मधेशका अप्राप्त मिठाईहरुको दुःखद सम्झना, पैसाको अभावले गर्दा भएको पनि खर्च नगर्ने प्रवृत्ति भोकै पनि आनन्द मनाउने प्रवृत्ति, मूला चोरेको आरोपजन्य लज्जास्पद स्थिति र आमाबाट हुने गालीको संत्रास आदिले मन छोयो । मन रोयो । मार्मिकताले भरिपूर्ण सम्झना छ । धन्यवाद सर— अयोध्यानाथ चौधरी– जनकपुर ।

मामा चौथो भागले मन लोभ्यायो । पहाडतिर उहिलेको जमानामा आफैँ पुगेर घुमेजस्तो । मेलामा पुगेर घुमेको वर्णन नि आफैँ घुमे जस्तो । अर्काे भागको अधैर्य प्रतीक्षा छ— डा. योगेन्द्र पौडेल— अमेरिका

च्याङथापू विद्यालयको सानो बाल्यानुभव, हीनताबोधी मनोग्रन्थीको बालानुभव साधारणीकृत स्वरुप सिङ्गै ग्रामीण परिवेशको जीवन्त प्रस्तुति एउटा गुहारको अनुभवलाई अन्तर्राष्ट्रिय विम्बतुलनाको बेजोड अनुभूति, धनी–गरीब बीचका भिन्नताभित्र गरीबी, मनोजगत कसरी कुण्ठित हुन्छको मनोजगत जीवन्त चित्रण— सुबेदी काकाको प्रसङ्गबाट ग्राम्य प्रकृतिका आल्हादक सौन्दर्यपक्षको साक्षीभावमा जीवन्त चित्रण नै यस भागका साहित्यिक गहना हुन्— कलानिधि दहाल– काठमाडौँ ।

***
तर आजदेखि कोरोना विषयक फेसबुके डाक्टरका तमासा घोचपेच रचना आउन छोडे । अचानक यी चीन–अमेरिका बीचका आरोप प्रत्यारोप अलिक कम हुँदैछन् । काबुलबाट स्रष्टा भाइ केदार संकेतको एक रचना (कविता) आयो जो निम्नानुसार छः

सालिक र समय

शताब्दीयौँ पुरानो
उस्कै छोराले ठड्याएको सालिक
इतिहासले रोपेको सालिक
फेरि शताब्दीयौं पश्चात
उस्कै नातिनातिनाले उखेल्दो रहेछन्

समयले मान्छेलाई हैन
मान्छेले समयलाई जितेपछि
विश्वकै राम्रा छालाका खातिर
पटक पटक संसारमा
जुलुस भएर फिँजिदो रहेछ
आगो भएर लप्किन्दो रहेछ
र बस्दो हरेछ
नश्लीय विभेदीकरणको राग
रगतको कणकणमा निरन्तर ।

हिजो मात्र
दास व्यापारी एडवर्ड कोलस्टनको सालिक
ब्रिस्टलको बन्दरगाहमा बगाएर सेलाए
जातिवादी फ्रान्क रिजोको सालिक
फिलाडेल्फियाको शहरमा लडाए
यस्तै विन्स्टन चर्चिलको सालिक पनि
‘रेसिस्ट’ भन्दै हिजो
झन्डैले ढालेर थेम्समा फालिदिए

सवैको प्रतिमा ढलून्
रित्तो प्रतीक ढलुन्
विभूतिका समर्पित मूर्ति छन् भने
अनन्तसम्म उभिरहुन्

इतिहासले भनिरहेछ कि
सालिक बन्नु भनेको
पुनः मृत्यु स्वीकार्नु हो

जुगजुगसम्म बाचिरहन त
युगयुगसम्म उभिरहन त
दर्शनको चन्दन घोट्नु पर्दोरहेछ

खैः कहिले मरे प्लेटो
कहिले मरे डेरिडा
पिकासो र भिन्सिको कुचिलाई
सोध्नु छ मैले एकदिन ।