आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध “यार” पढिसकेपछि समीक्षा गर्ने हुटहुटी चल्यो । आफ्नो थाकथलो नेपालगन्जदेखि कर्मथलो काठमाडौंसम्म, सोच्न र बुझ्न सक्ने उमेरदेखि हालसम्म भेटिएका साथीहरुसँग भए गरेका व्यवहारहरुलाई लेखकले “यार”मा खुलस्त गरेका छन् । जसमा २५ वटा संस्मरणहरु सङ्ग्रहित गरिएको छ भने पुस्तक हार्ड कभरमा प्रकाशित गरिएको छ । प्रत्येक संस्मरणको अगाडि एउटा श्यामश्वेत पेन्टिङ राखिएको छ, जुन निबन्धसँग सम्बधित रहेको पाइन्छ । झट्ट पढ्दा कथा जस्ता लाग्ने यी संस्मरणहरुलाई उनी आफ्नो जीवनका वास्तविक परिदृश्य मान्दछन् । जसले लेखकलाई प्रभावित पारेको देखिन्छ । पाण्डेले यस कृतिमा सानो छँदा बिताएका पलहरु, साथीहरुसँग घुमेका, खाएका, गीत गाएका, कविता वाचन गरेका, निर्देशन गरेका, पटकथा लेखेका सुरुवाती दिनदेखि अहिलेसम्मका संस्मरणहरु समावेश गरेका छन् ।

बालापनको संस्मरणदेखि सुरु हुन्छ यारको यात्रा । उनले नेपाल भारतको बोर्डर र चेकपोस्टका प्रहरी अनि भन्सारका कर्माचारीहरुले गर्ने गरेको व्यवहारलाई उजागार गरेका छन् । कसरी कालो छाला हुने र गोरो छाला हुनेहरु बीच असमान व्यवहार गरिन्छ, चेकपोस्ट र भन्सारमा भन्ने यथार्थ चित्रण गरेका छन् । यारका सबै संस्मरणहरुमा कतै न कतै स्थानीय शब्दको प्रयोग गरिएको छ ।

“मजाक“ शीर्षकको संस्मरणमा लेखकले आफ्ना अन्य कृतिहरुमा पस्कने कथाका वास्तविक पात्रहरुको बारेमा उल्लेख गरेका छन् । जसका बारेमा लेखिएको छ, उनीहरुलाई थाहै हुँदैन । सलीमजस्ता पात्रहरुको कथा पहिल्यै उलार, लु, घामकिरी जस्ता उपन्यासमा लेखिसकेको कुरा खोलेका छन् ।  बाल्यकालको आफ्नै साथी सालीमलाई आफू कुन पुस्तकको कुन शीर्षकमा छु, पत्तै हुँदैन । उनले अनुभव गरेका कुराहरुलाई आफ्नो आँखाको पानी सुकाएर रचनामार्फत् पाठकहरुलाई रुवाउने गरेको कटुसत्य बोलेका छन् । ’नपढ्नूस् मलाई’ समेत भनेका छन् ।

खिम लामिछने ‘काजी’

कतिपय संस्मरणहरु भूमिकाबाट सुरु हुन्छन् । कथा कहाँबाट सुरु हुन्छ पत्तै हुँदैन । एक्कासी अन्तमा पुग्न लाग्दा सुरुको भूमिकाको सन्दर्भसँग मेल खान्छ । कतिपय संस्मरणहरु सुरुको लाइन जुन शब्द/वाक्यबाट सुरु गरिएको छ अन्त पनि त्यही नै शब्द र वाक्यमा गएर टुङ्याइएको छ ।

पढ्दै जाँदा संस्मरणको अन्त्य यसरी होला भन्ने पाठकको पूर्वानुमान कल्पना भन्दा बाहीर गएर टुंगिएकोछ । लेखकका कतिपय गोप्य कुराहरु समेत सार्बजनिक गरेका छन । सफलताले मान्छेलाई दम्भ उत्पन्न गराउछ । दम्भका बादल मन र मस्तिस्कका तन्तुमा अल्झिएर बसिदिन्छन । हाम्रो विवेकलाई अँध्यारोमा पारिदिन्छन् । लेखेको संस्मरणमा पनि यस्तै परिवेशलाई “ताल्चा“ मार्फत् प्रस्तुत गरेका छन् । सायद बुद्धिमा बिर्को लागेको अवस्थाको घटना हो यो । आफैँ अपहरणमा परेको, आफैँ कानूनको विद्यार्थी भएर पनि झूटो बयानमा हस्ताक्षर गर्नु परेको, प्रतिकार गर्न नसकेको उनको संस्मरण पढ्दा कुनै फिल्मी कहानी झैँ लाग्दछ ।

प्रेम गर्नु महापाप एवं जघन्य अपराध जस्तै मानिने युगको कथा लेखेका छन् “यार“ मा । सत्य प्रेम कथा आफ्नै हो । आफ्नै शिक्षिकासँग एकोहोरो प्रेम गरेको, आफ्नै सहपाठीलाई उनले कवितामा प्रेमपत्र लेखेको बताएका छन् । “बाटोमा जब देख्छौ मलाई किन, हिँड्छौ तर्की तर्की ! अलिक टाढा पुगी फेरि किन हेर्छौ फर्की फर्की !! अहिलेका युवा युवतीहरुलाई केही दशक अगाडि कसरी प्रेम गरिन्थ्यो भन्ने कुराको जानकारी गराउने छ यो संस्मरणले । प्रेमपत्र जसको लागि लेखिएको थियो तर अर्कैले प्राप्त गरेपछाडि उत्पन्न हुने परिस्थिति बडो अनौठो छ । त्रिकोणात्मक प्रेम कथाभन्दा हुन्छ । जीवन सहज किसिमले चलयामान बनाउनका लागि सम्बन्धहरु एकदमै आवश्यक हुँदा रहेछन् भन्ने जीवनोपयोगी शिक्षा “यार”मार्फत् पाठकहरुलाई दिएको देखिन्छ । सम्बन्ध बनाउनु ठूलो कुरा होइन, सम्बन्धलाई सधैँ निरन्तरता दिनु र जीवन्त बनाइराख्नु ठूलो कुरा हो । सम्बन्ध बनाउनु, सम्बन्धको महत्व बुझ्नु र सम्बन्ध स्थायी राख्न सम्बन्धको व्यवस्थापन गरिरहनु पर्ने कुरामा जोड दिएका छन् । हामी सम्बन्ध बनाउन हतार गर्छौँ, सम्बन्ध जोड्न निकै उत्साहित पनि हुन्छौँ तर सम्बन्धलाई व्यवस्थापन गर्न नजान्दा सम्बन्धलाई निरन्तरता दिन सक्दैनौँ । अनि पछुताउँछौँ । अहिलेका युवा युवतीहरुको जीवनमा प्रत्यक्ष देखिएको यथार्थ हो यो ।

यारमा लेखक नयन शब्दहरुलाई उनेर माला बनाउँछन् । आख्यान पढेको हो कि कविता हो, कुनैबेला छुट्याउनै मुस्किल पर्छ । कतै छन्द नमिलेका कविता त कतै छन्द मिलेका आख्यान झैँ लाग्दछ ।  शब्द शब्दमा खेल्ने उनको कला हो । कविताको हार बुनेका कतै । “रहिमन घागा प्रेमका, मत तोडो चटकाय ! टुटे से फिरना जुडे, जुडे गाठ परी जाय !!” प्रेमको धागो कसैगरी पनि टुटाउनु हुँदैन । यो टुट्यो भने जोडिन गाह्रो हुन्छ र जोडियो भने पनि गाठो त यथावत रहिरहन्छ । साथी साथी बीच हुने गरेका असमझदारी र त्यसले निम्त्याएको पिडालाई, आँसुको कथा लेखेका छन् । विगतमा साथीसँग गरेको गलत व्यवहार वा गल्तीप्रति क्षमायाचना गरेका छन् । उनी स्मरण गर्दछन्, न्युरोडमा पहिलोपटक पाइन्ट किनेको, ममचा खाएको । प्रायःजसो जीवनमा पहिलोपटक गरिएको कामहरुको जीवनभरि स्मरण हुने गर्दछ । उनको पहिलोपटक रेस्टुरेन्ट छिरेर धेरैबेर मेनु हेरेर मःमः अर्डर गरेको कुरा लेखेका छन् । हुन पनि हो, हामी प्रायः रेस्टुटेन्टमा गएर निकैबेर मेनु पढिसकेपछि अन्तमा मःमः या चाउमिन नै अर्डर गर्ने गर्दछौँ ।

“बर्जित“ शीर्षकको संस्मरणमा लेखकले “सत्यकथा“ पत्रिका घरमा ल्याउन बर्जित भएको र लुकीलुकी पढ्ने गरेको यथार्थता खोलेका छन् । अहिले पनि समाजमा यौनकथाका पुस्तकहरु लुकीलुकी नै पढ्ने गरेको पाइन्छ ।

निकै पहिले समाचारमा पढेको सुनेको थिएँ, फेवातालमा ढुङ्गा बाँधेर युगल जोडीले आत्महत्या गरेको घटना । प्रेममा समस्या आएपछि छुट्टिएर बस्न नसक्ने त्यो जोडी उनै लेखकको आफ्नै मिल्ने घनिष्ट साथी पो रहेछ ।

यार पढ्दै जाँदा ’फेवाताल’ शब्दले मन तानिहाल्यो । सानैदेखि फेवातालमा खेल्दै हुर्केको भएकाले होला फेवातालसँगको आत्मीयता झल्केको । लेखकको फेवातालसँग अनौठो कनेक्सन रहेछ । फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छाया…  भन्छन् तर डुंगामा बसेर फेवाताल सयर गर्दा उनी पानीमा साथी प्रकाशको छाया देख्दा रहेछन् । निकै पहिले समाचारमा पढेको सुनेको थिएँ, फेवातालमा ढुङ्गा बाँधेर युगल जोडीले आत्महत्या गरेको घटना । प्रेममा समस्या आएपछि छुट्टिएर बस्न नसक्ने त्यो जोडी उनै लेखकको आफ्नै मिल्ने घनिष्ट साथी पो रहेछ । यो स्मरणले सबैलाई भावुक बनाउँछ । उनी भन्छन्, फेवातालमा साथी प्रकाशको आँसु मिसिएको छ ।

तेस्रोलिङ्गीहरुको जीवनलाई समाजले हेर्ने दृष्टिकोण एउटा र उनीहरुले भोग्ने गरेको कथा व्यथा अर्को । समाजले उनीहरुले कुरा नबुझिदिँदा लेखका आफ्नै मिसनसार साथीले आत्महत्या गर्नु परेको सस्मरण निकै मार्मिक छ । कहिलेकाहीँ सानो असमझदारीले गर्दा वर्षाैँदेखिको साथीत्त्व पनि क्षणभर मै टुक्रिन्छ । कुनै साथीले अन्जानमा गरेको सानो भुललाई अर्को साथीले धोका सम्झेर बदला लिन समय पर्खिबसेको हुन्छ । यस्तै भएको रहेछ लेखकलाई पनि, जतिबेला उनी नाटकको निर्देशक बन्न कँस्सिएका थियो । नाटक त मञ्चन भएछ तर बदला लिनको लागि साथीले टिकट नै नबेची दराजमा राखिदिएछ । निर्देशक बन्ने सपनामा ठेस लागेको कुरा आफैँले व्यक्त गरेका छन् । साथीसँग वैमनस्यता उत्पन्न भएर छुट्टिसकेपछि लेखकले साथीलाई गुमायो कि साथीले लेखकालाई उनी आफैँसँग प्रश्न गर्छन् ।

“पेटीकोट“ शीर्षकको संस्मरणमा “पोखरा“ शब्द रहेछ । पोखराले फेरि ध्यान खिचिहाल्यो । यो संस्मरण मनोवैज्ञानिक पाराको छ । साथीको बिहे भइसकेपछि घरिघरि साथीको घरमा जान अलि अफ्ठ्यारो हुने गर्दछ । यहाँ लेखकलाई साथीको कोठामा जाने आउने गर्दा साथीकै श्रीमतीसँग लाग्यो भन्ने शंका उत्पन्न भएको रहेछ । बडो रोचक ढङ्गले प्रस्तुत गरेका छन् संस्मरण ।

सबैले काठमाडौंमा प्रगतिका अनेकौँ सम्भावनाहरु हुन्छ भन्ने ठान्छन् । लेखकलाई पनि साहित्यमा स्थापित हुने सम्भावना र अवसरहरु छन् भन्ने कुरा लागेको रहेछ । भर्खर नेपालमा टेलिभिजनको सुरुवात भएको समयमा उनलाई पनि पटकथा लेखक, कलाकार र निर्देशक बन्ने ठूलै रहर जागेछ । त्यसैले काठमाडौंप्रति आकर्षण बढेछ । कपासको होइन रहरको जाली बनेर बनाइएको टिम्बा सिरक ओढेर र रहरकै सिरानी बनाएर सुत्ने गर्दथे रे उनी । तीनताक थाकका थाक रहरहरु थिए रे । तर जब लेखक काठमाडौँ आएर त्यहाको परिवेशसँग घुलमिल हुन्छन् तब बल्ल उनी वास्ताविक काठमाडौंको बारेमा थाहा पाउँछन् । काठमाडाैँले उनका पुराना रहरहरुलाइ तोडिदिन्छ । नयाँ रहर र सपनाहरु जागृत गराइदिन्छ । नयाँ भ्रमहरु निर्माण गरिदिन्छ । सत्यतामा सपना भात्किएको आफैँ मुकदर्शक बनिरहन्छन् । हरेक विहान नयाँ आशा पलाउने र हरेक साँझ पुराना विस्वास ढल्दै जान्छन् । उनी भन्छन्, “सहर एक नशा हो । यसले धेरैलाई आनन्दमा रमाउने अम्मली बनाइदिन्छ ।”

पैसा नभएको बेला भोड्का र सेकुवा खान निकालेको जुक्ति सारै रोचक छ । रक्सी पिएर रोएको कुरा निकै अनौठो लाग्छ । नयनराज पाण्डे जस्तो लेखकले पनि यस्तो गरे होलान् र जस्तो पनि लाग्छ । काठमाडौंमा डेरा गरिबस्नुको पीडा, खाएको हण्डर र संघर्षको संस्मरण बढो मार्मिक छ । कतिपय स्मरणहरु पढ्दा सुरुमा निकै रोमान्टिक कथाबाट तानाबाना बुनिएको हुन्छ तर अन्तमा आँसु नै झारिदिने भावुकतामा कथा मोडिन्छ ।

त्यसैगरी, २०४६ सालको जनआन्दोलनमा आफूले गरेको योगदान र सहभागिताबारे पनि खुलाएका छन् यारमा ।  देहव्यापारसँग सम्बन्धित एउटा संस्मरण निकै अनौठो छ । पत्याउनै गाह्रो । “अप्रिय” शीर्षक अन्तर्गत लेखिएको स्मरणमा लेखकले भनेका छन्, “म सानो, ऊ ठुलो, या म ठूलो ऊ सानो भन्ने आभास हुन थालेको क्षण नै मित्रताको असामयिक निधन भएको हुँदो रहेछ ।” मान्छेका मित्र घट्दै जानु, व्यक्ति एकांकी बन्दै जानु भनेको समाजमा मान्छे–मान्छे बीच सौहार्दता घट्दै जानुको संकेत हो । कुनै समय निकै आत्मीय साथी, हरपल सँगै रमाउन र साथ रहन मरिहत्य गर्ने तर समय र परिस्थितिले उही साथीसँग पानी बाराबारको स्थिति समेत आएको हामीले देखे र भोगेका छौँ । लेखकको जीवनमा पनि यस्तै परिस्थतिको सृजना भएको स्मरण गरेका छन् । लेखकले मित्रता सम्बन्धी गहिरो विवेचना र विश्लेषण गरेका छन् । कहिलेकाहीँ हामी आफूले गरेका सहयोग मात्र देख्दछौँ र त्यसलाई ठूलो कुरा ठान्दछौँ । अरुले पनि त्यसैगरी सहयोग गरेको थियो वा गर्नेछ भन्ने कुरा बिर्सिन्छौँ । हामी कतिबेला कुन साथीसँग आत्मीय हुनुपर्ने हो, कतिबेला व्यवसायिक हुनुपर्ने हो, त्यो नबुझी व्यवहार गर्दछौँ र असमझदारी उत्पन्न हुन्छ । हार्दिकता र व्यवसायिकताबीच सन्तुलन मिलाउन नजान्दा भैरहेको साथित्व गुमाउन पुग्छौँ । हामी थरीथरीका साथीहरुसँग थरीथरी कुरा गर्छौ । तर कहिलेकाहीँ यो साथीसँग यो गर्न पाए, त्यो साथीसँग घुम्न जान पाए, ऊसँग बसेर पिउँदै मनका कुरा खोल्न पाए भन्ने हुन्छ । कतिपय अवस्थामा समय र परिवेशले त्यो मनको इच्छा पूरा नै हुँदैन । यस्तै साथीसँग रक्सीको प्याला चियर्स गर्ने मनको इच्छा पूरा हुन नसकेको एउटा स्मरण “पण्डित” मा उल्लेख गरेका छन् ।

राजनीतिमा सिद्धान्त, आदर्श र इमान्दारिता सबैभन्दा ठूलो ठानेर राजनीतिको फोहोर सफा गरेर यसलाई  सम्मानित कर्म बनाउछु भन्ने महत्त्वकांक्षा रहेको तर आफ्नै साथीले काँधमा बन्दुक राखेर पड्काएर धोका दिएको संस्मरणमा लेखेका छन् ।

उनले विद्यार्थी जीवनमा नेवि संघको कार्यसमितिमा र साहित्यिक दुनियाँमा सांस्कृतिक संघको चुनावमा सभापतिको पदमा उम्मेदवारी दिएको संस्मरणमा उल्लेख गरेका छन् । राजनीतिमा सिद्धान्त, आदर्श र इमान्दारिता सबैभन्दा ठूलो ठानेर राजनीतिको फोहोर सफा गरेर यसलाई  सम्मानित कर्म बनाउछु भन्ने महत्त्वकांक्षा रहेको तर आफ्नै साथीले काँधमा बन्दुक राखेर पड्काएर धोका दिएको संस्मरणमा लेखेका छन् । राजतीनिमा कुनबेला मित्र दुश्मन र कुनबेला दुश्मन मित्र भइदिन्छ थाहै हुँदैन, जुन कुरा नेपालको राजतीनिक परिवेश हेर्दा थाहा हुन्छ ।

साथीको व्यवहारले गर्दा उसलाई सम्मानित गर्ने कि दुत्कार्ने भन्ने कुराको विश्लेषण उनले यार संस्मरणमार्फत् गरेका छन् । हरियो साइकलका लेखक गोविन्द वर्तमानसँगको फोन वार्ता, अन्तर्मुखी व्यक्तित्व र सापटी लिएको पैसा फिर्ता सम्बन्धीको प्रसङ्ग निकै रोचक छ ।

एउटा निधारमा दुई दुईवटा नाम्लो पर्ने परिस्थितिको सिर्जना भएपछि लेखक नास्तिक मान्छे पनि ज्योतिषी र तान्त्रिकको शरणमा पुगेको कुरा बताउछन् । “मनलाई बलियो बनाइसकेकी छु, शरीरका लागि प्लास्टिकका खेलौनाहरु बजारमा थुप्रै पाइन्छन् । साह्रै खाँचो भयो भने किनेर काम चलाऊँला ।” सस्मरणमा उल्लेख गरिएको यो वाक्यले घरमा श्रीमती हुँदाहुँदै अर्को स्त्रीसँग सम्बन्ध बनाउँदा घरमा उत्पन्न हुने परिस्थितिबारे उजागर गरेको छ ।

यसरी आख्यानकार नयनराज पाण्डेको “यार“ संस्मरणमा जीवनका विविध आयामहरुलाई सङ्गालिएका छन् । लेखकका अन्य कृतिहरुभन्दा यो निकै फरक छ । पाण्डेले यसलाई जीवनको एउटा कालखण्डमा मभित्र रहेको अलिखित दस्ताबेज हो भनेका छन् ।  जुन लेखेर उनको मन हल्का भएको बताएका छन् । बच्चादेखि युवा र अहिलेको अवस्थासम्म देखेका र भोगेका रमाइला, दुःख, पीडा, खुसीका पलहरुलाई समेटिएको छ । समग्रमा भन्नुपर्दा जीवनका हरेक कालखण्डमा भेटिएका साथीहरुसँग गरेका व्यवहार र साथीले गरेको व्यवहारको फेरिस्त प्रस्तुत गरिएको छ ।

“यार” पढेर लेखकको  जीवनलाई बुझ्न मद्दत मिल्नुको साथै हामीले साथीसँग गर्ने गरेको व्यवहारमा पनि परिवर्तन गर्न सजग गराउने छ । एक साथीले अर्को साथीको कमिकमजोरीको पनि सहर्ष स्वीकार्नु पर्दछ भन्ने बोध पनि गराउँछ ।