रेडियोबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नातिकाजीको स्वर सङ्गीतमा “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे….” गीत गुञ्जिरहेको थियो । वास्तवमा त्यो गीतको मूलभाव सोच्दै गर्दा मोबाइलमा सामाजिक सञ्जाल प्रयोगकर्तामध्येबाट साथी बन्ने सन्देश आएको थियो । हातमा नयाँ पुस्तक लिएर वर्तमान परिप्रेक्ष्यमा घटित अधिकारको माग र सम्बोधन गर्नेको आश्वासन गणितीय समीकरण जस्तै समाचारमा म घोत्लिरहेको थिएँ ।

अब सन्दर्भलाई हातमा परेको उही पुस्तकतर्फ मोडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा नेपाली शिक्षा अन्तर्गत अध्यापनरत तथा अनुसन्धान समितिका संयोजक प्रा.डा. रोजेन्द्रप्रसाद पौडेल र आदर्श बहुमुखी क्याम्पस गजुरी–१ धादिङमा नेपाली भाषा शिक्षा विभागमा विभागीय प्रमुख रमेश भट्टराई ‘सहृदयी’ द्वारा लिखित “नेपालको भाषानीति र योजना आधार” को प्रथम संस्करण पुस्तकलाई इन्टेलेक्चुअल्ज बुक प्यालेसले प्रकाशन गरी बजारमा ल्याएको कुरा थाहा भयो । मलाई पनि लाग्यो– यो विषय पक्कै पनि बजारमा आइरहेकामा नयाँ नै हो । लेखक भट्टराईसँग नै चिनजान भएकाले मैले पुस्तक प्राप्त गर्न असहज भएन । मैले आफ्ना लागि भनेर एक प्रति सुरक्षित गरिहालेँ । २८३ पृष्ठ सङ्ख्याभित्र आठ एकाइमा राखेर लेखिएको यस पुस्तकले मलाई भाषिक गरिमा र स्वाभिमानको एक बिन्दुमा बसेर सोच्न बाध्य बनायो । विषय र सन्दर्भ साहित्यको होइन तर साहित्यको आत्मारूपी भाषाको बारेमा भने अवश्य नै हो । तसर्थ पनि म नामले गम्भीर मान्छेलाई कामले नै पो गम्भीर बनायो किनकि भाषिक गरिमाको सन्दर्भसँग व्यक्ति, समाज र राष्ट्रको सिङ्गो पहिचान जोडिएको हुन्छ । यद्यपि यो विषय नै छायामा रहेछ नि त !

विश्वविद्यालयका शिक्षाशास्त्र संकायमा पठनपाठन गराउने हस्तीका यो पुस्तकभित्रका सबै कुराहरू केलाएर गुणदोष प्रतिक्रिया स्वरूप यो कनिष्ठ पाठकले दिन सक्ला वा नसक्ला त्यो आफ्नै ठाउँमा रह्यो । अझ नेपाल अधिराज्य र नेपाली भाषासँगै मातृभाषाको संरक्षणमा सम्बन्धित सरोकारवाला निकायले गर्न सक्ने कदम राख्ला नराख्ला, त्यो यसै भन्न सकिन्न । यसमा निराशाभन्दा आशा जगाउने पर्याप्त आधारहरू लेखकका पूरै पुस्तक अध्ययन गरेपश्चात् पाउन सकिन्छ । यसभित्रका विषयमा पाठकभन्दा पनि प्रयोक्ताको तह बलियो हुनुपर्ने भएकाले म यस क्षेत्रमा कमजोर हुनु स्वाभाविकै हो ।

गम्भीर दुवाडी

प्रा.डा. पौडेल र भट्टराईको संयुक्त मिहिनेतद्वारा सिञ्चित “नेपालको भाषानीति र योजना आधार” पुस्तक लिएर चौतारीको वरपीपलको छहारीमा बसेको थिएँ । यत्तिकैमा स्थानीय मा.वि. तहसम्म नेपाली विषय पढाउनुहुने शिक्षक छेवैमा आइपुग्नुभयो । मेरो हातको उक्त पुस्तक बालकले नयाँ खेलौना हेरेको जस्तो गरी ओल्टाइपल्टाइ गर्नुभयो । विशेष गरी बाहिरी आवरण, साजसज्जादेखि पृष्ठसङ्ख्या र मूल्यसूचीसम्म एक नजर लगाएर मन्तव्य राखिदिनुभयो– “पुस्तकले मात्र गर्ने के हो र !” उहाँको एक वाक्यले मलाई अर्कै कित्तामा ढल्मलाइदियो । आफ्नो भनाइलाई विसर्जन गर्दै उहाँ भन्नुहुन्छ– “यहाँ जे कुरा पनि राजनीतिक खतराबाट सुरक्षित छैन ।” उहाँ त आफ्नै गन्तव्यतर्फ लाग्नुभयो तर म यसै कुरामा पनि पो निकै सोचमग्न हुन पुगेँछु ।

वास्तवमा मलाई ठीक बेठीक, असल खराब, राम्रो नराम्रो, सत्य असत्य, धर्म अधर्म आदि विविध पक्षमा सन्दर्भ सापेक्ष गुणदोष केलाउने वा छुट्याउने चेतनशील तर्कको आधारमा आउने विवेकशक्ति नै समालोचना हो भन्ने लाग्छ । मानिसमा यस्तै ज्ञानको स्फुरण भएदेखि राम्रा नराम्रा भनौँ दूधको दूध, पानीको पानीमा पानी छुट्याउन सक्ने चेतनाको प्रादुर्भाव भएको हुँदो हो । यसर्थ सन्तोष हुनु, सुख वा दुःख मन पर्नु वा नपर्नु जस्ता अनुभूति जब क्रमशः प्रतिक्रियात्मक भनौँ या त प्रतिक्रिया स्वरूप व्यक्त हुन्छ तब त्यो आलोचना हुन जान्छ । सकारात्मक आलोचना र नकारात्मक आलोचना जे होओस्, त्यो हुन्छ ।

वास्तवमा कुरैकुरामा पनि कति कुराको आलोचना गरिन्छ । हिँड्दाहिँड्दै पनि टीकाटिप्पणी गर्ने बानी आफैँमा पुरातन सोच होला र यस्तै भएका होलान् । आफ्ना आङमा भैंसी कुदेको नदेख्ने र अरूको आङमा देख्छु भन्ने सोचमा हामी अनायास अभ्यस्त रहेछौँ क्यार । कसैको उछितो काढ्ने प्रवृत्ति हाबी नभएको पक्कै होइन । साँच्चै भाषा र सभ्यता अन्योन्याश्रित छ भन्दा अत्युक्ति नहोला । यो उछितो काढ्ने सन्दर्भ होइन । यस मानेमा हेरेर भन्दा– सभ्यता पनि बर्बरताकै समालोचना हो । यो भाषानीति र योजना आधार पुस्तक पनि सङ्घीय शासन प्रणाली अन्तर्गत बहुभाषा, बहुसंस्कृति उपर सकारात्मक आधार सूत्र साबित भएर आएको हो । यसमा समालोचकीय धारभन्दा सोचगत पृष्ठाधारको जग बलियो हुनैपर्ने देखियो ।

मुलुकमा विभिन्न कुराको माग र त्यसलाई सम्बोधन गर्न दबाब स्वरूप सडक आन्दोलनसम्मका हर्कत नभएका पनि त होइनन् । मनले भन्यो– बहुभाषा भएको देशमा भाषाको संरक्षण र प्रवद्र्धनमा सम्बन्धित सरोकारवालाहरूको चासो गएको छ त ? जसरी अधिकारको माग भइरहेको छ के त्यसै गरी नेपालका बहुभाषाको उन्नयनका लागि व्यावहारिक बन्दै छौँ त ! हर कुराको पहिचानका लागि राजनीतिक आश्वासन पाएझैँ के मूर्त रूपमा कम्मर कसेर कटिबद्ध भएका छौँ त !

संवैधानिक सर्वोच्चको साख जोगाउन प्रभावकारी भाषानीति/भाषाविनिमय, भाषानीति र योजना सार्थक रूपमा नै चाहिन्छ । के यो विषयलाई पनि प्राथमिकतामा राखिएको छ त ! नेपालको बहुभाषा बहुसांस्कृतिक, सामाजिक रहनसहन लगायत विविध भेषभूषा आदि क्रमशः लोपोन्मुख हुँदै गएकोमा दुःख मान्ने हाम्रो सङ्ख्या ज्यादै थोरै छ । बहुभाषा-मातृभाषाको विकास एवम् भाषिक अधिकारहरूका सम्पूर्ण सवाललाई सही दिशा–निर्देश गराउने आधारविना यी विषयले गन्तव्यमै सीमित भइरहनुपर्ने हुन सक्छ । जति अन्य राजनीति तरङ्गले ठाउँ पाउँछन् त्यसको तुलनामा यो भाषिक सम्पदाको विषय पहिलो प्राथमिकतामा त पर्दै पर्दैन । यो त बत्तीमुनिको अँध्यारो भनेझैँ सम्भावना बिर्सिएको एउटा गहन सन्दर्भ हो । यही ढङ्गले अघि बढिरहँदा हाम्रा भोलिका सन्ततिले कतै हामीलाई औँला ठड्याउने अवस्थाको वातावरण त आउने होइन ? अनि पहिचान हराउनुको परिणतिलाई कसरी सम्याउने !

नेपाली भूमिमा विभिन्न कालखण्डमा चेपिएर रहेका जातीय मातृभाषाको दिउल उमे्रर वर्तमानमा आइपुग्दा कतिपय रैथाने भाषाहरू प्रतिकूल संस्कारका कारण पलायन भइरहेको अवस्था छ । भावी पुस्ताले त परै रह्यो वर्तमान हामीले पनि त्यो असल संस्कार पाउन नसक्नु दुःखद कुरा होइन र !

यो भाषा संरक्षण गर्ने दायित्वबाट राज्य पन्छनु भने सान्दर्भिक रहँदैन भन्ने सारलाई पुस्तकले समेटेको छ । यो चानचुने विषय नै होइन ।

व्यवहारतर्फ भन्दा आदर्शतर्फ आजको समाज रफ्तारमा हुइँकिएको छ । हाम्रा पूर्वीय संस्कृति अनि पूर्वीय मूल्य मान्यता जसरी आयातित संस्कृतिमा फस्दै छन् त्यसैगरी हाम्रो सान, ठान, मान सबै धरापमा परेका छन् । शिक्षातर्फ एकैखाले नीति नदेखिनु पनि अर्थात् सरकारी (सामुदायिक) देखि निजी विद्यालयतर्फ अङ्ग्रेजीले सभ्य समाज निर्माण गर्ने भ्रम हाबी भएकै छ । पहिलो पाठशाला घर भनिएझैँ भाषा जोगाउने पहिलो दायित्व घर–परिवारदेखि समुदायकै हो । यसपछि राज्यको जिम्मेवारी हो । जुन कुराले सकारात्मक परिवर्तन ल्याउँछ ती कुरालाई अनुसरण गर्नुचाहिँ उपयुक्त हुने होला नि त । जुन कुराले हाम्रो भाषा संस्कृतिलाई विनासतर्फ धकेल्छ भने त्यसबाट कसरी जोगिने भन्ने चुनौती खडा हुनु चाहिँ सबैभन्दा ठूलो खतरा होइन र ! भाषानीतिको महत्त्व र आवश्यकतालाई हेरी हाम्रा बहुभाषालाई समयपरक ढङ्गले बुझी यथासक्य संरक्षणमा जुट्ने सबैको दायित्व बराबर नै छ । यो भाषा संरक्षण गर्ने दायित्वबाट राज्य पन्छनु भने सान्दर्भिक रहँदैन भन्ने सारलाई पुस्तकले समेटेको छ । यो चानचुने विषय नै होइन ।

राजनीतिक तरङ्गसँगै तरङ्गित हुँदै वर्तमानसम्म आइपुग्दा नेपाली भाषा र नेपालका मातृभाषालाई जुन अर्थ बोकेर संविधानको गर्भभित्र सजाइयो त्यस रूपमा व्यावहारिक प्रदान गरिएजस्तो लाग्दैन । जनगणना गर्ने क्रमसँगै भाषा गणना गर्ने कार्यदक्षता भएकाहरूले नगरी टालटुले नीति अवलम्बन गरेर अगाडि बढेको जगजाहेर नै छ । माथि एकजना मा.वि. तहका नेपाली विषय पढाउनुहुने शिक्षकले भन्नुभएझैँ जे कुरा पनि राजनीतिक खतराबाट मुक्त छैन । वास्तवमा भन्ने हो भन्ने जसरी घर बलियो हुन जग बलियो हुनुपर्छ त्यसरी नै शिक्षा राम्रो भयो भने त्यसको प्रभाव भावी पुस्तासम्म पनि सकारात्मक हुन्छ । देश बलियो हुनका लागि देश सञ्चालन गर्न पुगेका राजनीतिककर्मीहरू सम्बन्धित क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी दक्ष हुनु पर्दैन त ! यसका लागि शिक्षित हुनु पर्ला कि नपर्ला यो सोचनीय विषय छ । सबै जनप्रतिनिधिहरूलाई एकै कसीले हेर्नु पनि अन्याय हुन सक्छ । यहाँ भन्न खोजेको विषय के हो भने योजना, नीति नियम लगायत राष्ट्रका विविध पक्षमा काम गर्न जाने जनप्रतिनिधिले हर विषयमा त्रुटिपूर्ण नहोओस् भन्नका खातिर सर्वप्रथम शिक्षित हुनु नितान्त आवश्यक छ । यदि त्यसो नहुँदो हो त घुम्ने मेचमाथि अन्धो मान्छे भनेझैँ दूरदृष्टिमा फराकिलो आँत र आँट नभएकाले सबैलाई सम्बोधन गरी कसरी देश सञ्चालन गर्न सक्छन् ?

रातारात परिवर्तन आउने भाषा संस्कृतिलाई समयोचित जगेर्ना गर्नका लागि हचुवाको भरमा नीति र आधार योजना बुन्नु पनि अँध्यारोमा दहमा ढुङ्गा हान्नु शिवाय अरू केही होइन । यी सबै सन्दर्भलाई पुस्तक पढेपछि उब्जिएका कार्यान्वयनका तहभित्र लगेर जोड्नु सान्दर्भिक हुन्छ । पुस्तक पढ्दै जाँदा केही आकर्षण अर्थात् सबल पक्ष र सुझावहरूलाई बुँदागत रूपमा नै केलाउने मन भयो ।

सबल पक्षहरू
– मातृभाषाको उन्नयनका लागि दियो बाल्ने कार्य भएको छ ।
– नौलो विषयमा बहुभाषाको चेतना दिने कार्य भएको छ ।
– भाषा र यसको महत्त्वबारे प्रष्ट पारिदिने कार्य भएको छ ।
– समयानुकूल भाषानीतिको प्रसङ्ग उठाउनु सह्राहनीय कार्य भएको छ ।
– २०७८ को जनगणनाका लागि भाषाभाषीको पनि राज्यले सही ढङ्गले बहुभाषानीति अपनाएर अघि बढोस् भनी राज्यलाई सकारात्मक ऊर्जा दिइएको छ ।
– पुस्तकका माध्यमबाट भाषाको संरक्षण, संवद्र्धन र विकासका पक्षमा आम नागरिक, सरोकारवाला र सरकारलाई घच्घच्याउने सैद्धान्तिक काम भएको छ ।
– बहुभाषिक गरिमा र मातृभाषाको रक्षामा एकताको शङ्खघोष गरिएको छ ।

यति कुरा राखिसकेपछि सुधारात्मक सुझावहरूलाई पनि नराखीकन यस पुस्तकको समीक्षामा एकाङ्की व्याख्याको आरोप लाग्ला भन्ने भयले सतायो । तब केही सुझावहरूलाई बुँदामा राख्ने प्रयास गरेको छुः

– यति राम्रो भाषानीतिको सन्दर्भमा लेखकको जन्ममिति र जन्मस्थान लगायतका चिनारी खुलस्त हुँदा अझ राम्रो हुने देखिन्छ ।
– केही तथ्याङ्कहरू दोहोरिएकाले सायद पाठकले सो कुरालाई झिँजो मान्न सक्छन् ।
– पुस्तकको साजसज्जामा हिमाल, पहाड, तराईका सामाजिक भेषभूषा झल्कने आवरणभित्र तस्बिर भएमा अझै सुन्दर देखिने कुरा महसुस भयो ।
– मूल्यसूची र पृष्ठ सङ्ख्यालाई हेर्दा सबै सामान्य वर्गका पाठकलाई केही महङ्गो पर्ने देखिन्छ ।
– भाषानीतिको सम्बन्धको चर्चा गरिरहँदा नेपाली भाषाको जननी मानिएको संस्कृत भाषाको सन्दर्भ तथा त्यसको सम्बन्धको चर्चा पनि भए अझै राम्रो हुने देखिन्छ ।

उल्लिखित पक्षहरू एउटा प्रतिनिधिमूलक आकलन मात्र हुन् । वास्तवमा भाषा समाजको निधि हो । केही हदमा हेर्दा राष्ट्रिय सञ्चार माध्यमद्वारा विभिन्न भाषाभाषीहरूमा समाचार आउनु लगायत विविध कार्यक्रमलाई सह्राहना गर्नुपर्छ । यो राम्रो पक्ष हो । बोलीचाली भाषाको जीवन्त अवस्था हो । यो भाषाको प्राकृतिक र कथ्य रूप हो । भाषालाई जति व्यवहारमा ल्यायो त्यति नै विकास र विस्तार हुँदै जान्छ भन्ने लेखकको तर्कसँग म त यसै पनि सहमत छु । मननीय विषय त नेपालको सङ्घीय शासन व्यवस्थामा पदार्पण हुनका निम्ति जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायत विविध कुरालाई भञ्ज्याङ बनाई माथि उक्लिए त्यसैगरी आन्दोलनताका अघि सारिएका सम्पूर्ण मुद्दाप्रति सम्बोधन गरी कार्यान्वयनमा ल्याइएको कुरा न्यून बाहेक अरू महसुस गर्न पाइएको छैन । यसतर्फ नै राज्य मौन देखिन्छ ।

मातृभाषाकै रूपमा शिक्षा लिन नपाउँदा विद्यालयबाट टाढिएका बालबालिकाको अवस्थाले चाहिँ कटक्क मन कुँडिन्छ । यसर्थ भाषाहरूलाई सबै भाषिक समुदाय र भाषाका बारेमा अध्ययन अनुसन्धान गर्ने अध्येता तथा अनुसन्धानकर्मीहरूको सक्रियताविना बचाउन सकिँदैन । यस सन्दर्भमा अगाडि बढ्दै गरेका पाइलालाई निरन्तर सशक्त बनाएर लम्किरहनुपर्छ । भाषानीति र योजना आधारतर्फ नेपालीहरूको ध्यान जानु आवश्यक छ । यो त तेरो र मेरो भन्ने विषय नै होइन केवल हाम्रो भन्नुपर्ने सन्दर्भ हो ।

आयातित संस्कृतिको भूमरीमा पर्नबाट सचेत तुल्याउनका निम्ति प्रदेश, सङ्घ र स्थानीय तीनै तहको समन्वकारी भूमिकाको खाँचो छ । हाम्रा बहुभाषाका बारे स्थानीय स्रोत साधन उपयोग हुनुपर्छ ।

सयौँ थुङ्गा फूलमा हामी एउटै माला नेपाली….. राष्ट्रगानमा जसरी देशले सम्बोधन गरेको छ त्यसै गरी राज्यले स्पष्ट नीति लिएर भाषा र संस्कृति संरक्षणमा बढीभन्दा बढी ध्यान दिनु आवश्यक देखिन्छ । राज्यलाई सहयोग गर्नु सबै भाषाभाषीको उत्तिकै दायित्व हुन जान्छ । आयातित संस्कृतिको भूमरीमा पर्नबाट सचेत तुल्याउनका निम्ति प्रदेश, सङ्घ र स्थानीय तीनै तहको समन्वकारी भूमिकाको खाँचो छ । हाम्रा बहुभाषाका बारे स्थानीय स्रोत साधन उपयोग हुनुपर्छ । नेपाली बहुजातिगत समाजको बहुभाषिक अवस्था र त्यसप्रतिको गौरवभित्रका मौलिक, भौगोलिक, सांस्कृतिक गाथा तथा पहिचानलाई बचाइराख्न कुनै पनि कसर बाँकी राख्नु हुन्न ।

जो जसले जति सकिन्छ र जति गरिन्छ आफ्नै देश, भेष, संस्कृति र भाषा आदिलाई प्राथमिकता दिऊँ भन्ने अभिप्रायले लेखकद्वारा प्रयोग गरिएका ६९ ओटा सन्दर्भ सूचीबाट के कुरा स्पष्ट हुन्छ भने यो पुस्तक अनुसन्धानात्मक धारमा समेत लेखिएको छ । वर्तमान परिप्रेक्ष्यमा यो पुस्तक आउनु भनेको आउँदो जनगणना २०७८ सँगै हुने भाषिक गणना, तथ्याङ्कको सत्यापन र प्रस्तुतिकरणका लागि पनि पूर्वतयारी र मार्गदर्शक बन्नु हो । एक हदमा यो पुस्तकले निदाएर बसेकालाई ब्युँझाउने कार्य गरेको छ । घरपरिवार, समाज अनि राज्य सबैको साझा पहिचानको समाज भनेको भाषा हो । हरेक सहसम्बन्धका समाज बहुभाषामा समाहित भइरहेको हुन्छ । तसर्थ, यो भाषिक विकासको खातिर बहुभाषाका सबै बाहुहरू एकढिक्का भएर जुट्नुपर्ने र एकै लक्ष्यमा अडिग हुन यो पुस्तकले सम्बन्धित पक्षलाई अनुरोध गरिरहेको छ ।

देश सङ्घीयताको दिशातर्फ बामे सर्दै छ । लेखकद्वारा उठान गर्न खोजिएको विषयले बहुभाषिक विनिमय प्रणालीमा विकेन्द्रीकरणको विकास सिद्धान्त अनुरूप देशको समृद्धिसँग नातो गाँस्न सक्छ । नेपालको नीति र योजनामा यस सन्दर्भले एक नवीन आधारलाई प्रदान गरेको कुरालाई सहजै महसुस गर्न सकिन्छ । नयाँ नेपालको सङ्घीय शासन प्रणाली सामु यो विषयले ठाउँ पाउनु अर्थात् यो भाषानीति र योजना आधार आउनु एउटा छुट्टै नयाँ शिल्प, शैली र सोचको थालनी हो भन्दा अत्युक्ति नहोला । लेखकप्रति सामान्य पाठकको तर्फबाट जे जति बुझेँ र त्यसकै आधारमा एक दृष्टि लाउने चेष्टा राखेँ । यहाँहरूप्रति हार्दिक साधुवाद र असीम शुभकामना व्यक्त गर्दछु ।

द्रष्टव्य
पुस्तक: नेपालको भाषानीति र योजना आधार
लेखक: प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र रमेश भट्टराई ‘सहृदयी’
प्रकाशक: इन्टेलेक्च्युअल्ज बुक प्यालेस, कीर्तिपुर, काठमाडौँ
पृष्ठ सङ्ख्या: २८३
मूल्य: रु. ४२५।–
संस्करण: प्रथम, २०७७