कालिदास चौथो र पाँचौँ शताब्दीका संस्कृत साहित्यकार मानिएका छन् । उनका साहित्यमा अनुपम अलङ्कारसहित प्रकृतिको वर्णन पाइन्छ । त्यस्तै वर्णन यस अध्यायको आरम्भमा उल्लेख भएको उनको प्रशिद्ध महाकाव्य कुमारसम्भवम्को पहिलो सर्गको पहिलो श्लोकमा छ । उक्त श्लोकको अर्थ हुन्छ ‘उत्तर दिशामा देवताहरुको आत्मा रहेका पर्वतहरुका राजा हिमालय छन्, जुन पूर्व र पश्चिम दुबैतिर समुद्रमा पानीको प्रवाह गर्दै पृथ्वीलाई मापन गर्ने मापदण्डका रूपमा रहेका छन् ।’

कालिदास कहाँका थिए भन्ने स्पष्ट छैन, विभिन्न विद्वान्हरुले उनका नाटकहरु – अभिज्ञानशाकुन्तलम्, विक्रमोर्वशीयम् र मालविकाग्निमित्रम्; महाकाव्यहरु – रघुवंशम् र कुमारसम्भवम्; तथा खण्डकाक्यहरु – मेघदूत र ऋतुसंहारमा भएका विभिन्न वर्णनका आधारमा उनको जन्मस्थान खोज्ने प्रयास र आआफ्ना दाबी गरेको पाइन्छ । त्यसै आधारमा उनको जन्म नेपाल, भारतको उज्जैन, काश्मिर र कुमाउँ–गढवाल, वा श्रीलङ्का हुने दाबी विद्वान्हरुले गरेको पाइन्छ । त्यसरी दाबी गर्नेमा नेपाली, भारतीय र श्रीलङ्काका विद्वान् रहेका छन् । त्यसक्रममा नेपालको अर्घाखाँचीमा कालिदासको जन्मस्थान रहेको दाबी गरिएको पाइन्छ ।

माथिको श्लोकको वर्णन हिमालयको हो । नग अधिराज अर्थात् पर्वतका राजा हिमालय भनेर उनी पक्कै पनि अग्लो वा ठुलो मनोरम हिमालमा केन्द्रित भएका हुन् भन्ने बुभ्mन सकिन्छ । हिमालयका नाम धेरै छन् तर यसमा उत्तरदिशामा रहेका पर्वतहरुका राजा हिमालय भनेर वर्णन गरिए अनुसार उनले ‘अस्युत्तरस्यामं’ अर्थात ‘अस्माकं उत्तरस्यां’ भनेर हिमालयको दक्षिण क्षेत्रलाई आफ्नो भनी वर्णन गरेका छन् । त्यस आधारमा त्यो दक्षिणी क्षेत्र नेपाल, काश्मिर वा कुमाउ–गढवालको वर्णन हो भन्ने बुझिन्छ । तर उनले स्थानको नाम नदिएकाले विद्वान्हरु अनुमानतर्फ लागेको अनुमान गर्न सकिन्छ ।

हिमालयहरुमध्ये सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालभन्दा उत्तर रहेका आधारमा उक्त श्लोक सगरमाथाको दक्षिणी क्षेत्रको वर्णन हो भन्ने अर्थ हामी लगाउन सक्छौँ, यसले उनको जन्मस्थलसँग सरोकार राख्दैन । तर पक्कै पनि हिमालयभन्दा तल्लो जलाधारीय क्षेत्रको वर्णन हो भन्ने चाहिँ पुष्टि हुन्छ । जसलाई अरब स्रोतका सामग्रीले नितल र कालिदासपूर्वका संस्कृत स्रोतमा तल्लो वा होचो भाग बुझाउने नीप भनेर उल्लेख भएको पाइन्छ । यिनैका आधारमा पनि नेपाल नामकरण भएको हो भन्ने तर्कमा कालिदासको योगदानले अरू बल दिएको छ ।

पुराण र संस्कृत साहित्यहरुमा ठुला हिमालका रूपमा कैलाशको वर्णन हुने गरेको पाइन्छ तर यसमा कैलाशको प्रत्यक्ष वर्णन छैन । त्यो नै भएको भए पनि कैलाश पनि नेपालको उत्तरी भागमा अवस्थित छ । भारतीय तीर्थयात्रीहरु पनि कैलाश जाने सबैभन्दा छोटो मार्ग मध्य नेपाल हुँदै तीर्थाटनमा जाने गरेका छन् । वर्णित अर्घाखाँची पनि मध्य नेपालमा नै पर्दछ ।

भारतको उत्तराखण्डमा रहेका कुमाउँ–गढवाल पनि नेपालमा नै रहेका थिए र पूर्वमा पनि नेपालको क्षेत्र विस्तार सिक्किमसम्म थियो । यस आधारमा हिमाल पूर्वापश्चिम फैलिएको विश्वको मानदण्डका रूपमा नेपालको क्षेत्रबाट वर्णन थियो भन्न सकिने हुन्छ ।

यी विश्लेषण र प्राप्त सामग्रीको कालिदासपूर्व र समकालीन अन्य स्रोतहरुसँग र कालिदासका अन्य रचनाका विभिन्न वर्णनको तुलनात्मक विश्लेषण गर्दा त्यसले नेपाल र नेपाली भाषाको अध्ययनका लागि महत्त्वपूर्ण आधार प्रदान गर्दछ ।

नेपाली भाषाको पूर्वरूप

कालिदासको जन्मस्थल नेपाल हो भन्ने तर्क गरेर विश्वलाई तरङ्गित पार्ने विद्वान् पण्डित मुरलीधर भट्टराई
हुन् । उनले संस्कृतका श्लोकहरु उद्धरण गर्दै तिनको व्याख्या अङ्ग्रेजी गरी लेखेको Nepal: Birth Place of Kalidasa (Synopsis) नेपाल: कालिदासको जन्मस्थल (सारसङ्क्षेप) नामक पुस्तक सन् १९७६ मा मनोहर प्रेस बनारसबाट प्रकाशित छ । उक्त पुस्तक निकै पुरानो भए पनि यसको अध्ययन त्यति भएको पाइँदैन । क्यालिफोर्निया विश्व विद्यालय पुस्तकालयले उनको यस पुस्तकलाई अनलाइन अर्काइभमा राखको छ ।

पण्डित भट्टराईले कालिदासका कृतिहरुको सूक्ष्म अध्ययन गरेर विभिन्न दृष्टिबाट कालिदासको जन्मस्थल नेपाल रहेको तर्क पेस गरेको पाइन्छ । तीमध्ये भाषिक आधारका तर्क नेपाली भाषाको अध्ययनमा महत्त्वपूर्ण रहेका देखिन्छन् । त्यस्तै, नेपालको नामकरणका लागि माथि उल्लेख गरिएको श्लोक र समकालीन स्रोत मेलखाँदै पुष्टि गर्ने बलियो आधार बनेको बुझिन्छ ।

संस्कृतमा खाने र पिउने कर्मका लागि पदार्थका आधारमा पाँच शब्द प्रयोगमा आउँछन्: भक्ष, भोज्य, पेय, लेह्य र चुस्य । यस आधारमा निकै नै चबाएर खाने ठोस खाद्य पदार्थ (उदा. काँचो अम्बा वा मकै–भटमास वा मासु) भक्ष्य हो भने अलि सहज रूपमा नै चबाएर खाने (उदा. पाकेको अम्बा वा भात) भोज्य हो । पेयमा तरल वा झोल (उदा. पानी वा दूध) पदार्थ, लेह्यमा चाटेर खाने तथा चोस्य चुसेर खाने पर्दछन् ।

नेपालीमा भने खाने तरिकामा त्यस्ता भेद अचम्म लाग्दा छन् । भक्ष र भोज्य दुवै मात्र होइन पेय पनि नेपालीमा खाइन्छ । त्यति मात्र होइन वायुलाई पनि हामी खान्छौँ अर्थात् हावा खान्छौँ, बिँडी वा चुरोट वा हुक्का पनि खान्छौँ । खासमा बिँडी, चुरोट र हुक्काको पनि वायुको रूप धुँवा खाइन्छ । यो नेपाली भाषाका क्रियाको मौलिक विशेषता हो । अरू भाषामा पनि तरल पदार्थ खाने वा खुवाउने गरिन्छ तर सीमित प्रयोगमा । उदहरणका लागि बङ्गाली भाषामा जलखाई वा अङ्ग्रेजीमा ब्रेस्ट फिडिङ (दुध खुवाउने वा चुसाउने) । हिन्दीमा भने पानी, दुध र चुरोट सबै पिइन्छ । नेपालीमा पनि चुरोट पिउने चलन भए पनि त्यो हिन्दीकै प्रभाव मानिन्छ ।

मुरलीधर भट्टराईले कालिदासको महाकाव्य रघुवंशको एउटा श्लोक उद्धृत गर्दै दुध पनि खाने प्रसङ्ग रहेको र त्यो नेपाली भाषाको पूर्वरूप रहेको जनाएका छन् । श्लोक यस्तो छ:

सन्तान कामाय तथेति कामं राज्ञे प्रतिश्रुत्य पयस्विनी सा ।
दुग्ध्वा पयः पत्रपुटे मदीयं पुत्रोपभुङ्क्ष्वेति तमादिदेश ।। २/८५

कौशिकी (नेपालको कोसी) नदी तटमा रहेको वशिष्ठ ऋषिको आश्रममा रहेको कामधेनु गाईले राजा रघु र उनकी रानी सुदक्षिणालाई (पातको) खोचीमा आफ्नो दुध दुहेर खान भनेको उल्लेख पाइन्छ ।

मैथिली र बङ्गाली भाषामा जलखई र पनखई हुने भए पनि तिनका साथमा चिउरा र रोटी जस्ता केही चबाएर खाने कुरा हुनु पर्ने मत उनको पाइन्छ । पिना भन्नाले पिउने र खान वा खानाले खाइनु पर्ने स्पष्ट हुने भट्टराईको तर्क छ । यो नेपाली भाषा विशेषकै आधारमा कालिदासले रघुवंशमा प्रयोग गरेको भनी उनले भनेको पाइन्छ ।

कालिदासको अर्को कृति शाकुन्तलम्मा पनि नेपाली भाषाको पूर्व प्रयोग रहेको देखाइएको छ । शाकुन्तलम्को चौथो दृश्य/अङ्कमा हवन गर्ने समय वा हवनसमयलाई ‘होमबेला’ भन्ने समस्त शब्दका राखिएको र त्यो नेपाली विशेषतासँग ठ्याक्कै मिल्ने रहेको पण्डित भट्टराईको मत पाइन्छ । नेपाली भाषाको ‘हवन समय’ भनेर कहिल्यै नभनिने बरु होम (गर्ने) बेला भनिने जनाइएको छ । यो कालिदासको नेपालीपन रहेको उनको मत छ ।

कुमारसम्भवम्को पहिलो सर्गको १४औं श्लोकमा पनि नेपाली भाषाको गुढ मर्म रहेको विश्लेषण भट्टराईको छ ।

यत्रांशुकाक्षेपविलज्जितानां यदृच्छया किम्पुरुषाङ्गनानाम् ।
दरीगृहद्वारविलम्बिबिम्बास्तिरस्करिण्यो जलदा भवन्ति ।। १/१४

यसको श्लोकको दोस्रो हरफको ‘तिरस्करिण्यो जलदा भवन्ती’ ले गुफामा रहेका किरातका लागि बादलले गुफाको पर्दाको बनाइ दिए जस्तो भनी गरिएको वर्णनले ‘लीला यो हरि को बादल को फरिको न छेक मलाई’ भन्ने नेपाली लोकगीतलाई प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।

यस आधारमा के भन्न सकिन्छ भने कालिदासका कृतिले हिमालभन्दा दक्षिणका क्षेत्र र भाषाबारे वर्णन गरेका छन् । ती वर्णनले नेपालको नाम र भूक्षेत्र निर्धारण गर्ने अन्य समकालीन स्रोतलाई र त्यस्ता स्रोतले ती वर्णनलाई पुष्टि गर्ने आधार प्रदान गर्दछन् ।

(लुम्बिनी कपिलवस्तु दिवस डिसेम्बर १ को अवसर पारेर मंगलवार सार्वजनिक भएको केदार वाशिष्ठको अनुसन्धानात्मक कृति नेपाल विद्या: सिद्धान्त र प्रयोगबाट)