कवि, निबन्धकार, नियात्राकार र उपन्यासकारको समेत परिचय स्थापित गरेका भीष्म उप्रेतीको नवीनतम कृति हो ‘हिमाल, शेर्पा र यती’ । यो नियात्रासङ्ग्रह हो । यसमा सगरमाथा आधारशिविरसम्मको यात्राका भोगाई तथा तीता–मीठा अनुभव र अनुभूतिहरू सँगालिएका छन् ।
यसो त कवि भीष्म उप्रेतीका भावनाका हत्केलाले कैयौं चोटि सुमसुम्याइसके सर्वोच्च शिखर सगरमाथालाई । कैयौं चोटि चुमिसके सगरमाथाको चिसो हिउँका डल्लालाई । तर त्यही सर्वोच्च शिखर सगरमाथाको आधारशिविरसम्म प्रत्यक्ष पुगेर अघाउन्जेल सगरमाथालाई हेर्ने र भावनाको सागरमा अघाउन्जेल डुबुल्की मार्ने धोको भने बाँकी नै थियो । त्यही पुरानो धोको मनमा साँचेर बसेका भीष्म उप्रेतीलाई जीवनसंगिनी इन्दुजीकी आयरल्याण्ड निवासी साथी कोलेटको इमेलले थप ऊर्जा बढाइदिन्छ । सगरमाथाको आधारशिविरसम्मको यात्रा गर्न इच्छुक कोलेटलाई मद्दत गर्ने बहानामा उनलाई पनि सगरमाथा आधारशिविरसम्मको रोमाञ्चक यात्रा गर्ने सुनौलो अवसर जुर्छ, चिठ्ठा परेजस्तै ।

कोलेट र उनकी साथी कोनेसँगै भीष्म उप्रेती आफ्ना साथी रवि भट्टराई, जो ट्राभल एजेन्सी चलाउँछन्, सँगै सगरमाथा आधारशिविरसम्मको यात्रामा निस्कन्छन् । सन् २०१७ अक्टोबर २२ को बिहान सबेरै घरबाट सुरु भएको सगरमाथा आधारशिविरसम्मको यात्रा एघारौं दिन बेलुका पश्चिमको डाँडापारि पुगेर घाम डुब्नुभन्दा केही पहिले आफ्नै घरमा पुगेर टुङ्गिएको छ । यसो त पुस्तकमा एघार दिने यात्राको विवरण प्रस्तुत गरिएको भए पनि लेखकले १३ दिने यात्रा भनेका छन् (पृष्ठ ११) ।

एघारौं दिनसम्मको यात्रामा आफूले देखेका, भोगेका, अनुभूति गरेका र अनुभव गरेका कुरालाई मीठोसँग पस्केका छन् लेखक भीष्म उप्रेतीले । सगरमाथा आधारशिविरसम्मको यात्राका लागि निकै उत्सुक र भावनात्मक भइरहेका लेखक सन् २०१७ अक्टोबर २२ का दिन बिहानै अघिल्लो साँझमै मिलाएर ठिक्क पारिराखिएको ब्याकप्याक बोकेर घरबाट निस्कन्छन् । एअरपोर्टमै भेट हुन्छ कोलेट र कोनेसँग । त्यहीं नै कोलेटले सिकाउँछन् समयको महत्वको पाठ, ‘हामीलाई ६ बजे बोलाएर आफूहरू चाहिँ ६ः४५ मा मात्र एअरपोर्ट आउने ?’ भनेर । समयको महत्व नबुझ्ने नेपालीका लागि यो कडा व्यंग्य पनि हो ।

रत्न प्रजापति

लुक्ला विमानस्थलमा मौसम खराबीका कारण उडान स्थगित हुन्छ । यो यहाँको नियमित आकस्मिकता नै हो । त्यसपछि हेलिकप्टर चढेर जाने तारतम्य मिलाउँछन् । तारतम्य मिल्छ पनि । बडो उत्साहका साथ हेलिकप्टरमा बस्छन् । हेलिकप्टरले टेकअफ् गर्ने बेलामा अकस्मात् चालकले आज जान नसक्ने बताउँछन् लुक्ला पुगेर फर्कन भिजिबिलिटी नपुग्ने भनेर । त्यसपछि झमक्क साँझ बोकेर घर फर्कन्छन् । मीठो लाग्छ यो कवितात्मक अभिव्यक्ति । पुस्तकभरि यस्ता कवितात्मक अभिव्यक्ति धेरै छन् र कविता पनि छन् । कविता र कवितात्मक अभिव्यक्तिले यो पुस्तकलाई मीठो र स्वादिलो बनाएको छ ।

दोस्रो दिन पहिलो हेलिकप्टर चढेर लुक्ला पुग्छन् भीष्म उप्रेती । अरू नआउन्जेल उनी गाउँ डुल्न जान्छन् । अर्को हेलिकप्टरमा रवि भट्टराई, कोलेट र कोने आइपुग्छन् । आएर त्यहाँको प्याराडाइज होटलमा बस्छन् । त्यही होटलमा खाना खाएर नाम्चेका लागि प्रस्थान गर्छन् । मोन्जोमा पुगेर होटलमा बास बस्छन् ।

तेस्रो दिन मोन्जोबाट यात्रा सुरु हुन्छ नाम्चेबजारसम्मको । नाम्चे पुगेर एक रात त्यहीँ बस्छन् । विदेशी कोलेट र कोनेले भरिया मिथुनलाई जुत्ता र ज्याकेट किनिदिन्छन् । तर नेपाली भीष्म र रविले दिंदैनन् । गरिबीले ग्रस्त देखेर विदेशीले नेपालीमाथि माया र मानवता प्रदर्शन गर्दा पनि स्वयं नेपालीले त्यो माया र मानवता प्रदर्शन गर्न नसकेकाले अलिकति खल्लो महसुस हुन्छ ।

चौथो दिन पनि सबेरै भुकभुके उज्यालोमै ब्रेकफास्ट खाएर हिँड्छन् । समूहमा हिँडेको भए पनि आफू एक्लै हिँडेजस्तो, सहयात्रीहरूको उपस्थितिको कुनै अनुभूति नै नदिने लेखाई अलि कस्तो–कस्तो लाग्छ । सहयात्रीसँगको बाचचितलाई पनि यथास्थानमा उल्लेख गरेको भए स्वादिलो हुने थियो यात्रावर्णन । प्रकृतिसँग संवाद गर्ने लेखकले आफ्ना सहयात्रीसँग कुनै संवाद नगर्नु अलि स्वाभाविक लाग्दैन । यो दिन देबुचुको होटलमा बास बस्छन् । होटलमा सहयात्री विदेशी कोलेट र कोनेलाई छोडेर भीष्म र रविमात्रै छुट्टै ह्विस्की र चिकेन अनि चाउचाउको सितनमा रमाउनु पनि उचित लाग्दैन । दिङबोचेमा पुगेपछि छैठौं दिनमा मात्रै लेखकले सहयात्री कोलेटसँग दोहोरो कुराकानी गरेका छन्, उनको जीवनको बारेमा बुझ्न खोजेका छन् ।

पाँचौं दिन देबुचुमा बिहान राम्ररी झर्न नपाउँदै बाक्लो ज्याकेट, पञ्जा, टोपी र मफलर लाएर हिँड्छन् आधारशिविरतिर थामसेर्कु, अमादब्लम आदि हिमालको सुन्दरता हेर्दै, रमाउँदै र पाङबोचे गुम्बा नजिक हुँदै । दिङबोचेमा पुगेर भारी बिसाउँछन् र त्यहीं बास बस्छन् ।

छैठौं दिन दिङबोचेमै बस्छन् । यात्रा अघि बढ्दैन । उचाईको वातावरणसँग घुलमिल हुन एक दिन दिङबोचेमै बस्ने चलन रहेछ । लेखकले कोलेटका जीवनका बारेमा सुनेर र भोलिको यात्राका लागि मानसिक र शारीरिक तयारी गरेर बिताउँछन् । स्थानीय र पर्यटकसँग गफगाफ पनि गर्छन् ।

सातौं दिन दिङबोचेबाट हिँड्छन् । दूधकोशी, थुक्ला, लोबुचे हुँदै अघि बढ्छन् । लोबुचेको इको हिमालयन रिसोर्टमा बास बस्छन् । आठौं दिनमा लोबुचेबाट हिँड्छन् सगरमाथा आधारशिविर ताकेर । त्यहींबाट विश्वकै सर्वोच्च शिखर सगरमााथ देख्छन् । सगरमाथा देखेर रमाउँछन् । सोही दिन आधारिशिविर पुग्छन् । लेखक आधारशिविर पुग्दा कोलेट र कोने पहिलै पुगिसकेका हुन्छन् । हामीभन्दा पहिला विदेशी पर्यटक आधारशिविर पुग्छन् । विदेशीले नै सगरमाथा चढ्छन् । हामी चढ्न सक्दैनौं । यो ठूलो विडम्बना हो ।

हामी हिमालको काखमा जन्मेर हुर्केका, बढेका । हिमालको काखमा कुद्दै, खेल्दै जवान भएका । त्यो आधारशिविरि त हामी कुद्दैकुद्दै पुग्नुपर्ने, तर पुग्दैनौं, पुग्न सक्दैनौं । किनभने हामीले त्यहाँ पुग्दा प्राप्त हुने आनन्द, उत्तेजना र उत्सुकतालाई चिन्नै सकेका छैनौं । बुझ्नै सकेका छैनौं । बरु विदेशीले चिनेका छन्, बुझेका छन् । यस्तै अनुभूति हुन्छ पुस्तक पढ्दा ।

भोलाजीले सन् २०१४ अप्रिल १८ मा घटेको दुखद् घटनाबारे बेलिबिस्तार लाउँछन् । त्यस दिन हिमपहिरोमा परी १६ जनाले ज्यान गुमाएका हुन्छन् । यसैगरी सन् २०१५ अप्रिल २५ को दिन विनाशकारी भूकम्पले हल्लिएर झरेका हिउँका ढिक्काले पुरिएर १८ जनाको ज्यान गएको हुन्छ । त्यहीं मार्कले सुनाएको स्वीस डाक्टरको कथा रोचक छ । यतीका बारेमा लेखिएका किंवदन्ती पनि रोचक छन् ।

कोलेट बिरामी परेकाले यात्राको रोमाञ्चकतामा अलिकति कमी आएको महसुस हुन्छ । कोलेटलाई अलि आराम भएपछि सोही दिन कालापत्थरबाट फर्कन्छन् र फेरिचेको होटलमा बास बस्छन् ।

नवौं दिन आधारशिविरबाट कालापत्थर प्रस्थान गर्छन् । तर कालापत्थरको शिखरमा नपुगी बीचबाटै फर्कन्छन् । हिमालको सुन्दरता र सूर्योदयको मनमोहक दृश्यलाई क्यामरामा कैद गरेर । यहाँ भने कोनेभन्दा लेखक अघि पुग्छन् कालापत्थरको आधा उचाईसम्म भए पनि । कोलेटलाई बीच बाटोमै बिसन्चो भएको कारण आधारशिविरमै फर्काइएको हुन्छ । उनी मृत्युको मुखबाट फर्केकी हुन्छिन् । कोलेट त्यति गम्भीर विरामी हुँदा पनि कोनेचाहिँ उनलाई छोडेर कालापत्थरको यात्रामा एक्लै हिँड्नुले अनेक प्रश्न उठाउँछन् । कोलेट बिरामी परेकाले यात्राको रोमाञ्चकतामा अलिकति कमी आएको महसुस हुन्छ । कोलेटलाई अलि आराम भएपछि सोही दिन कालापत्थरबाट फर्कन्छन् र फेरिचेको होटलमा बास बस्छन् ।

दशौं दिन लेखक र अर्का सहयात्री रविजी फेरिचेबाट सबेरै हिँड्छन् र नाम्चे आइपुग्छन् । कोलेट र कोने भने खुम्जुङ भ्रमणमा गएका हुन्छन् । त्यहाँ जानका लागि उनीहरूले पैसा पनि तिरिसकेका हुन्छन् । तर कोलेट र कोने जसको आशा र भरोसामा यो यात्रामा आएका थिए, उनै अर्थात् लेखक भीष्म उप्रेती र रवि भट्टराई भने सँगै जाँदैनन् । मिथुन (भरिया) को साथ लगाएर पठाउँछन् । के यस्तो गर्नु उचित थियो ? पाठकको मनमा प्रश्न उठ्न सक्छ । नेपालीको यस्तै व्यवहारले पर्यटकको मनमा नराम्रो छाप पर्ने गर्दछ ।

एघारौं दिनको बिहानै हिँड्छन् लेखक र सहयात्री रविजी, स्याङ्बोचेमा हेलिकप्टर चढ्न । हेलिकप्टरले फाप्लु विमानस्थलमा ओरालिदिन्छ । त्यहाँबाट हिँडेर सल्लेरी आइपुग्छन् । त्यहाँबाट तीन घण्टा हिँडेर ओखलढुङ्गा आइपुग्छन् । अनि त्यहाँबाट गाडीमा चढेर काठमाडौं फर्किन्छन् । बेलुका पश्चिमको डाँडापारि पुगेर घाम डुब्नुभन्दा केही पहिले नै उनीहरू आफ्नो घर पुग्छन् – एउटा न्यानो, ढुक्क र सुरक्षित वासस्थानमा ।

संक्षेपमा ‘हिमाल, शेर्पा र यती’ पुस्तकभित्रको यात्रावर्णन यति नै हो । तर यसभित्र पनि धेरै वर्णनहरू यथास्थानमा यथोचित रूपमा गरिएका छन् । जसले यात्रालाई सार्थक र रोमाञ्चकसमेत बनाएको अनुभूति हुन्छ । यात्रावर्णन भएर पनि यात्राको वर्णनमात्रै होइन, उपयोगी सूचना, जानकारी र तथ्यहरू पनि प्रस्तुत गरिएका छन् । प्रसङ्गबस उल्लेख गरिएका घटना–सन्दर्भहरूले यात्रावर्णन रोचक र मीठासयुक्त बनेको छ । यद्यपि यो पुस्तकमा भीष्म उप्रेतीको अघिल्लो पुस्तक ‘तपाईंको पहाड कहाँ हो ?’ निबन्धसङ्ग्रहमा जस्तो वैचारिक पक्ष सबलरूपमा आएको छैन । विचारभन्दा वर्णनले नै प्रधानता पाएको छ । यद्यपि कतैकतै विचारपक्षले लेखनमा सौन्दर्य नथपेको भने होइन । ‘सम्भावना रहुन्जेलसम्म हामीले त्यसलाई पछ्याइरहनुपर्छ । हार्ने कुरा आउँदैन । जीवन सम्भावनाहरूकै जोडघटाउ हो आखिर’ (पृष्ठ १८); ‘चुचुरा मान्छेका लागि चुनौती र अवसर दुवै हुन् । त्यही चुनौतीबाट प्रेरणा लिएर त्यही अवसरलाई छोप्न सक्नेले नै चुचुरालाई टेक्न पुग्छ र चुचुरोभन्दा एक मान्छे अग्लो हुन्छ’ (पृष्ठ ७८); ‘पाइलाले गतिशीलता सम्झाउँछ । गतिशीलताले जीवनका आयामहरू कोर्न मद्दत पुग्दछ’ (पृष्ठ १२६); ‘शेर्पाहरूले जीवनलाई बाजी थापेर जोखिम नमोल्ने हो भने सगरमाथाको महत्व चाहिँ कति रहला ?’ (पृष्ठ १५७) ।
‘चे’ भनेको शेर्पा भाषामा चुचुरा हो । त्यसैले हिमालतिर धेरै नामको पछाडि चे जोडिँदो रहेछ, जस्तैः नाम्चे, दिङ्बोचे, फेरिचे, लोबुचे, स्याङबोचे, तेङबोचे आदि । यस्तै शेर्पा भाषामा ‘लुङ’ को अर्थ हावा र ‘ता’ को अर्थ फर्फराउनु हुने रहेछ । यसैबाट लुङता बनेको रहेछ, जुन हावामा फर्फराइरहन्छ । यसो त लुङतालाई लुङदर पनि भनेको सुन्न पाइन्छ । यसबारेमा चाहिँ लेखकले केही उल्लेख गरेका छैनन् । यसरी पाठकले स्थानीय नामको पछाडि किन चे जोडिएको होला भन्ने जिज्ञासा मेट्ने अवसर पनि पाउनेछन् यो पुस्तकबाट ।

कविहृदयका लेखकको यात्रालेखनमा कवितात्मक अभिव्यक्तिले यथेष्ट स्थान पाएको छ र लेखनलाई मीठासयुक्त बनाएको छ । पुस्तकभित्र रोमाञ्चक पक्षमात्रै होइन, मार्मिक र संवेदनशील पक्षहरू पनि धेरै छन् । चासो र चिन्ताका कुरा पनि छन् । कोलेटले छोरा मरेको सन्दर्भमा सुनाएको कथा होस् वा भारी बोक्ने राजकुमारले सुनाएको आफ्नो घर र गाउँको गरिबीको कथा होस्, अथवा हिमालमा भारी बोक्ने शेर्पाको दुख होस्, यी सबैले पाठकलाई संवेदित बनाउँछन् । विशेषगरी हिउँसँग पौँठेजोरी खेल्दाखेल्दै हिउँमै पुरिएर जीवन–लीला समाप्त भएका शेर्पाहरूको कथाले मन अमिलो बनाउँछ, संवेदित बनाउँछ । एक खेप भारी बोकेर आएको पैसाले वर्षभरिको पढाई खर्च बेहोर्ने राजकुमार भाइको कथाले मन कटक्क खान्छ । राजकुमार नेपालका सबै गरिबक छोराछोरीको प्रतिनिधि पात्र हो ।

ओखलढुङ्गादेखि आएर पर्यटकलाई हिमाल डुलाउने पथप्रदर्शक भाइको भनाइले गाउँको गरिबीमात्रै उजागर गर्दैन, सरकारको कृषि, अर्थ, व्यापार र रोजगारसम्बन्धी नीति र नीतिनिर्मातालाई पनि व्यङ्ग्य गरेको भान हुन्छ । यसैगरी होटल मालिकहरूले पर्यटक लिएर आउने पथप्रदर्शकलाई निशुल्क खाना खुवाउने, तर पर्यटकको भारी बोक्ने गरिब भरियासँग चाहिँ खानाको पैसा असुल्ने प्रवृत्तिले गरिब र निमुखा जनता जहाँ पनि विभेद र बञ्चितीमा पर्ने यथार्थ यो पुस्तकभित्र उजागर भएको छ । काठमाडौं कीर्तिपुरको मान्छे नाम्चेमा तरकारी व्यापार गर्न पुगेको सन्दर्भले नेपालमा जीविकोपार्जनको समस्या निकै चर्को रहेको देखाउँछ ।

पुस्तकको नामाकरण आकर्षक लागे पनि पुस्तकभित्रको विषयवस्तु सुहाउँदो भने लाग्दैन । विषयवस्तुअनुसार पुस्तकको नाम राखिएको छैन र पुस्तकको नामअनुसार विषयवस्तु समावेश भएको पनि छैन ।

पुस्तक तयारीका क्रममा शुद्धाशुद्धीमा त्यति ध्यान पुगेको देखिंदैन । धेरै ठाउँमा शब्दहरू अशुद्ध बन्न पुगेका छन् । अक्षर उछिट्टिएर धेरै शब्दहरू अपूरा बनेका छन् । कतै वाक्यको बीचमा शब्द नै गायब छन् । जस्तैः ‘हामीलाई ६ बजे बोलाएर आफूहरू चाहिँ ६ः४५ मात्र एअरपोर्ट आउने ?’ (पृष्ठ ११); ‘मैले आफ्नो अवस्था वहाँहरू भनेँ’ (पृष्ठ ११८) । यसैगरी कतै कोलेट हुनुपर्ने कोटेल भएको छ । कतै कोने हुनेपर्नेमा काने भएको छ । कतै लुक्ला हुनुपर्नेमा थुक्ला भएको छ । सगरमाथा हुनुपर्नेमा सगर माथा भएको छ । पाठकले बुझेर पढ्नुपर्ने अवस्था छ ।

पुस्तकको नामाकरण आकर्षक लागे पनि पुस्तकभित्रको विषयवस्तु सुहाउँदो भने लाग्दैन । विषयवस्तुअनुसार पुस्तकको नाम राखिएको छैन र पुस्तकको नामअनुसार विषयवस्तु समावेश भएको पनि छैन । पुस्तकको नाम हेरेर हिमाल, शेर्पा र यतीका बारेमा लेखिएको भनेर पाठक झुक्किने सम्भावना प्रबल छ । तर यस पुस्तकमा न नेपालका हिमालहरूका बारेमा विस्तृत विवरण छ, न शेर्पा जातिकै विषयमा विस्तृत विवेचना छ । दुर्लभ जीव यतीको बारेमा पनि थोरै मात्र जानकारी प्रस्तुत गरिएको छ । सन्दर्भबश मात्रै केही जानकारी आएका छन्, जनश्रुति अथवा पुरानै अध्ययन र अनुभवका आधारमा । शेर्पा जातिको सभ्यता, संस्कृति र जीवनशैलीका बारेमा खासै जानकारी दिइएको छैन । हिमाल, शेर्पा र यतीको उत्पत्ति, उद्भव र उद्विकासका बारेमा अनुसन्धानात्मक र अन्वेषणात्मक विवेचना गरिएको अवस्थामा मात्रै पुस्तकको शीर्षक ‘हिमाल, शेर्पा र यती’ राख्नु अर्थपूर्ण हुनसक्छ । सामान्य अवस्थामा, आफ्नो भोगाई, अनुभव र अनुभूतिलाई प्राथमिकता दिएर पुस्तक तयार पारिएकाले सोहीअनुरूप पुस्तकको शीर्षक राखेको भए उपयुक्त हुने जस्तो लाग्दछ ।

जे होस्, पाठकले यो पुस्तक आद्योपान्त पढेपछि आफैँ सगरमाथा आधारशिविर पुगेर फर्केको अनुभूति भने अवश्य गर्नेछन् ।