पृष्ठभूमि
विजयकुमारले ‘सम्बन्धहरू’ (२०७७) नामको पुस्तक बजारमा ल्याएका छन् । उनी यसअघि ‘खुसी’ पुस्तकका माध्यमले किताबी प्रकाशनका दुनियाँमा प्रवेश गरेका हुन् । उनको पहिलो कृतिले २०७१ सालको मदन पुरस्कार पायो । नेपाली साहित्यमा विशेष महत्त्व राख्ने सम्मानित रूपमा लिइने उक्त पुरस्कारको महत्ता पहिलेझैँ छ वा छैन त्यो अर्कै पाटो हो । यस लेखमा कुनै पुरस्कार वा विजयकुमारको व्यक्तिवृतमा धेरै केन्द्रित नभई भर्खरै बजारमा चर्चा बटुल्दै गरिरहेको ‘सम्बन्धहरू’ पुस्तकका विषयमा केही सकारात्मक पाटा र यसका सीमालाई पाठकीय दृष्टिकोणबाट हेर्ने जमर्को गरिएको छ ।

‘खुसी’को सन्दर्भ
यस पुस्तकको धेरै हिस्सा आफू ‘अल्कोहलिक’ भएकै कुरामा केन्द्रित रहेको छ । पुस्तकको अन्तमा पुग्दा मुख्यतः सन्तानका कारण खुसी मिलेकाले सायद ‘खुसी’ नामकरण गरिएको हुनुपर्छ । एक युवक पाँच तारे होटलको पार्किङ लटमा अत्यधिक मदिराकै कारण रातभर चिसोमा लडिरहेको थियो । सोही व्यक्ति कसरी असल व्यावहारिकताभित्र समेटिएर जिम्मेवार व्यक्ति बन्न पुग्यो भन्ने सन्देशात्क प्रस्तुति ‘खुसी’ हो । खुसी केमा मिल्छ भन्ने गहन प्रश्न लिएर सांसारिक भौतिकता वा आधुनिक प्रविधिले दिने होइन रहेछ । बरु छोरीले आफूप्रति राखेको सोचका कारण आत्मपीडाबोध भएको बताउँछन् । अन्ततः आफू हिजोका दिनमा गलत मार्गमा रहको आत्मस्वीकारोक्ति र खुसी आफ्नै सोचमा रहेको भन्दै–
‘यो संसारमा जति पनि खुसी छ, त्यो सबै अरूको भलो होस् भन्ने चाहनाबाट उत्पन्न हुन्छ । यो संसारमा जति पनि दुःख छ, त्यो सबै आफ्ना मात्र इच्छा पुगोस् भन्ने महत्वांकाङ्क्षाबाट जनित हुन्छ । दुःखी मानिस आफ्नो लागि मात्र सोच्छ । खुसी मानिस अरूको भलाइका निम्ति पनि सोच्छन् । अरूको स्थानमा आफूलाई राखेर हेर्ने अभ्यास नै खुसीको उच्चतम बिन्दु हो ।’

‘सम्बन्धहरू’ पुस्तकका केही सन्दर्भहरू
‘सम्बन्धहरू’ पुस्तक विजयकुमारले सत्रओटा शीर्षकमा विभाजन गरेर लेखेका छन् । यीमध्ये कुनै पनि शीर्षकमा ‘सम्बन्धहरू’ शब्द भेटिदैँन । तर उनको यस पुस्तकलाई पूरा पढिसकेपछि कुनै पनि पाठकले किन उक्त शीर्षक राखियो त भन्ने प्रश्नको उत्तर अनुमान लगाउन सक्छ । लेखकका व्यक्तिगत सम्बन्धहरू, व्यक्ति र देशसँगको सम्बन्ध, भौतिकता र जीवनबोधको आध्यात्मिक सम्बन्ध, पारिवारिक वा सन्तानसँगको सम्बन्ध, पेसागत सम्बन्धजस्ता विविध कुरालाई जोड्न खोजेको र यही आधारमा लेखकले पुस्तकको नामकरण गरिएको प्रस्ट हुन्छ । सीमित पात्रहरूसँगको निरन्तर संवादबिच यो पुस्तक तयार भएको छ ।

सुम्निमा उदास अमेरिकी टिभी च्यानल सिएनएनमा पत्रकारिता गरी लुम्बिनीमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय बनाउन लागेकी भारतीय मूलकी व्यक्तिसँगको सम्बन्धबाट आफू उत्प्रेरित भएको सन्दर्भबाट पुस्तकको सुरुवात गरेका छन् । अर्की पात्र चिली मूलकी नतालिया चीनमा वाइनको गुणस्तरमा अनुसन्धान र अध्यापन गर्न आएकी युवती हुन् । कुनै बेला अत्यधिक मदिरा सेवनले तारे होटलका पार्किङ लटमा रातभर रहेर चौध वर्षदेखि त्यागेका विजयकुमारको जीवन, यौन, रूप, सुन्दरता आदि विषयमा आदर्शपूर्ण कुराबाट नतालियासँग बन्न पुगेको सम्बन्धको चर्चा गरिएको छ ।

‘फर्पिङ’ र ‘योगिनी’ यी दुई शीर्षकका रूपमा रहे तापनि सिङ्गो पुस्तकभरि प्रासङ्गिक/अप्रासङ्गिक रूपमा दोहोरिन्छन् । फर्पिङ काठमाडौँको दक्षिण भेगमा रहेको स्थानको गुम्बामा सशुल्क कोठा लिएर आफू बसेको जनाएका छन् । नेतालाई टेलिभिजन स्क्रिनमा ताछ्ने ट्रेनिङको साटो बेलैमा, आलु ताछ्न सिकेको भए, आलु ताछ्दा औँलामा घाउ लागेको सन्दर्भबाट आफूले पढेको र अनुभवबाट प्राप्त प्रमाणपत्रले जिजीविषाको कुनै सम्बन्ध नबनेको व्यङ्ग्य आफैँलाई गरेका छन् । सोही स्थानमा आकस्मिक भेटिएकी योगिनीसँगको सम्बन्धको चर्चा गर्दै लेखकले उनलाई सिङ्गो पुस्तकभरि विविध सन्दर्भमा उपस्थित गराएका छन् । नेपाली आमा र इटालियन बाबुकी सन्तान आन्द्रिया स्मिथ नै योगिनी रहेकी र पूर्वीय दर्शनको पतञ्जली योग र अनुशासनबाट अतिप्रभावित भएकी बताइएको छ । ऊ हतारमा बनेका सम्बन्धहरू हतारमै समाप्त हुने बताउँदै धैर्यको सन्देश लेखकलाई दिन्छे ।

वैदेशिक रोजगारीमा जान चाहने र जानेहरूका लागि आकाश एक प्रतिनिधि पात्र हो । ऊ परिवारको खुसीका लागि आफू खाडीमा दुःखको भुवरीमा फस्न चाहनेहरूको पनि प्रतिनिधित्व गर्छ । वैदेशिक रोजगारीका सकारात्मक र कारुणिक पीडाका विषयमा केन्द्रित रहेर लेखिएको पुस्तक जनकराज सापकोटाको ‘कहर’ (२०७३) ले खाडीका श्रमिकका पीडाको जीवन्त चित्रण गरेको छ । नौ अध्यायमा बाँडिएको पुस्तकमा १२ जिल्लाका १८ विभिन्न घटनाको कथात्मक व्याख्याचित्र रहेको छ । तसर्थ आकाशको कथा कुनै नौलो सन्दर्भ होइन ।

योगिनीका माध्यमले विश्व परिवेशका महिलावादी आन्दोलनका सन्दर्भलाई पनि प्रस्तुत गरिएको छ । योगिनी भन्छे, ‘कलेज छँदा म आफूलाई कट्टर फेमिनिस्ट ठान्थेँ । नारीको दुःखका एक मात्र कारण पुरुष हुन् भन्ने नारामा विश्वास गर्थेँ । त्यही नाराको वकालत गर्थेँ । आफ्ना विचारसित रतीभर असहमतलाई तथानाम गाली गर्थें । …पुरुष निन्दाको एकसूत्रीय मन्त्रले हामीलाई समाधान दिँदैन भन्ने बुझ्न थालेको छु ।…महिला वा पुरुषमध्ये कुनै एक जना मात्र बन्दी हुनेबित्तिकै अर्को पनि स्वतन्त्र रहन सक्दैन ।’(पृ.८७–८८) । यसको सम्बन्ध सायद लेखकले नेपाली ‘महिलावादी’हरूलाई सन्देश दिँदै पितृसत्तात्मक सोचलाई बदल्न चाहेका हुन् । योगिनी थप्छे, ‘सबै पुरुष खराब हुँदैनन् । सबै स्त्री असल छैनन् । हाम्रो आन्दोलन सुरुमा प्रतिक्रियात्मक वा आक्रोशात्मक बढी भयो । हामीले ब्रा जलायौँ । बिचरा, ब्राको के दोष भन्ने ख्याल गरेनौँ !’

नेपालका हरेक क्षेत्र खराब बनेका छन् वा बनाइएका छन् भन्ने कुरामा विज्ञ भनिएका व्यक्तिहरूले पाखण्डको पहाडमा आलोचना मात्रै गर्न जानेको तर आफ्नो सक्षमताको प्रस्तुति नगरेकाले त्यस्ता यथार्थलाई ‘म्याजिकल रियालिज्म शैलीमा (पृ.११०)’ यो पुस्तक लेखिएको जिकिर विजयकुमारको रहेको छ । अर्को कुरा सामाजिक सञ्जालका कारण मान्छे घोप्टे युगमा पुगेको बताइएको छ । छिटो जानकारी दिने र पाउने होडको लतमा मान्छे फसेका बताउँदै भन्छन्, ‘मलाई सनकी, घमन्डी, नासमझ, फुटपाथे, केही नजान्ने गधा, जँड्याहा…जे भने पनि हुन्छ तर, बिन्ती मलाई बुद्धिजीवी, बौद्धिक वा पत्रकार नभनिदिनुस् !’ (पृ.१५७) । दशकौँ पत्रकारिता गरेर ख्याति कमाएका लेखकले आफू पत्रकार हुनुमा किन यस्तो हीनताबोध गरेका होलान् ? फरक प्रसङ्गमा जीवनलाई परिभाषित गर्दै उनी भन्छन्–‘…जीवनको अर्को नाम भ्रम पनि हो । जीवन भन्नुको साटो, भ्रम भन्दा हुन्छ । अर्थ फरक पर्दैन ।…मान्छेको जीवनका सात आयाम छन् । सम्बन्ध, पेसा, रुचि, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र आध्यात्मिक विकास ।’

एक सन्दर्भमा संविधानले के गर्न सक्छ भन्ने कुरामा मत दिएका छन् । ७० वर्षसम्म एउटै संविधानले चीनलाई विश्वमा महाशक्ति बनायो तर हर १० वर्षमा नयाँ क्रान्ति गरेर हामीले कति थान संविधान बनाइसकेको तितो यथार्थ प्रस्तुत गर्दै धर्मबारे संविधान मौन बस्नुपर्ने र धेरै देशमा त्यही अवधारणा रहेको बताएका छन् । स्टाटसको घोप्टे संसारबाट बाहिर निस्की योग साधना र धैर्यले कार्य गर्न, सञ्जाले लतबाट मुक्ति नभएसम्म प्रगति अपवादबाहेक हुन नसक्ने कुरा आफूले सन्तानबाट सिकेको बताएका छन् ।

पुस्तकमा बाँकी अंश आफ्नै पारिवारिक गन्थनलाई ‘खुसी’कै सेरोफेरोमा थोरै अपडेट गर्दै दोहोर्याएका छन् । जीवन–मृत्युको सम्बन्ध र सन्तानका कुरालाई सन्देशात्मक रूपमा सकेसम्म आफूलाई प्रभाव पारेको बौद्धमार्गी दर्शनका माध्यमले पुस्तक बनाएका छन् ।

‘सम्बन्धहरू’ आख्यान कि गैरआख्यान
‘सम्बन्धहरू’ पुस्तक किनेका पाठकले झट्ट हातमा लिएर हेर्दा ‘सिर्जनात्मक गैरआख्यान’ शब्द भेटिहाल्छन् । यसले आख्यानको पुस्तक होइन भन्ने लेखकले प्रस्ट्याउन खोजेको देखिन्छ; जब कुनै पनि पाठकले यस पुस्तकलाई अद्योपान्त पढ्छ तब सजिलै आख्यानकै आस्वादन पाएको अनुभूति हुन्छ । लेखककै कुरालाई विश्वास गर्ने हो भने जादुयी यथार्थ (म्याजिकल रियालिज्म, पृ.११०) शब्दको अर्थ कसरी गैरआख्यान हुन सक्छ ? म्याजिकल भनेको वास्तविक यथार्थ हो र ? देश–विदेश घुमेर नेपालमै पनि कुटनीतिक क्षेत्रका धेरैजसो मानिस आफ्नै सम्बन्धमा रहेका उल्लेख गर्नुले पनि लेखकलाई यति सामान्य कुरामा अनभिज्ञ हुनसक्छन् भनी कसरी विश्वास गर्ने पाठकले ? नयाँ पत्रिका दैनिकको एक रिपोर्टमा राजु स्याङतान लेख्छन्, ‘आख्यान भनेको लेखकले कल्पनाद्वारा निर्माण गर्ने नयाँ संसार हो । त्यस्तो संसार निर्माण गर्न कल्पनाको तीव्रता चाहिन्छ । कल्पनाको तीव्रताले सिर्जना जन्मिन्छ, अनुसन्धान बढी भयो भने शोधग्रन्थ बन्छ ।’

माथिको तर्कलाई मान्ने हो भने बर्सौसम्म छापा र श्रव्य–दृश्य माध्यममा पत्रकारिताको शिखर आरोहण गरेका एक अनुभवी व्यक्ति फर्पिङको एक डरलाग्दो भिरको पर्खालमा शरीरलाई सन्तुलित बनाई पल्टिएको, फर्पिङबाट केही पर पिलपिले बत्ती बलेको तारा पो हो कि भन्दै खोज्न हिँडेको र दैवी उपस्थितिझैँ योगिनीसँग भेटेको कुरा होस् वा आकाश नामको एक युवकसँग बारम्बार देशका खासगरी आर्थिक पाटो र बेरोजगारी एवम् जिजीविषाका सन्दर्भमा गफिएका छन् । कहिले आफू र कहिले त्यो युवक अबोध बालकझैँ प्रश्नोत्तर गरिरहँदा उनको मनोदशा बुझिनसक्नुको हुन्छ । कतिपय पात्रहरू त उनले ‘पैतालाका’ लेखक गनेस पौडेलले प्रयोग गरेका अतिकाल्पनिक तिलस्मी पात्रहरूझैँ प्रतीत हुन्छन् । विजयकुमारले लेखन शैलीलाई जादुयी यथार्थवाद म्याजिकल रिजालिज्म भनेका छन् । उनले स्टिभ जब्सका शब्द सापटी लिएर ‘छरिएका बिन्दुहरूलाई जोड्न सक्नु नै सिर्जनात्मकता हो । मलाई पनि लाग्छ । फलेका, फ्याकिएका, झरेका, झारिएका फूल टिपेर माला उन्नु सिर्जनात्मता हो ।’ (१०५–६) भनेका छन् । ‘सम्बन्धहरू’मा उनले त्यस्तै सिर्जनात्मकतागरेका हुन् त ?

यस पुस्तकका सत्रमध्ये केही शीर्षकलाई छाडेर अधिकांश पात्रहरूको नाम र परिवेशलाई विश्वसनीय बनाउन वास्तविक नाम राखे तापनि धेरैजसो ‘हंश’ (२०७६) पुस्तकका लेखक सञ्जीव उप्रेतीलेझैँ काल्पनिकतालाई यथार्थको जलप लगाएर पाठकलाई विषयवस्तुमा तानिरहन सफल बनेका छन् । पाठकले सन्देश पनि पाउन सक्ने र यथार्थ पनि अनुभूत हुने भएकाले यस शैलीको गहिरो प्रभाव विजयकुमारलाई परेको देखिन्छ । यस्तै पौराणिक सन्दर्भलाई लिएर लीलालेखन भन्दै आख्यानकार कृष्ण धरावासीले ‘राधा’(२०६२) उपन्यासमा मदन पुरस्कार र पाठकीय सफलता पाएका छन् भने अर्को मदन पुरस्कारप्राप्त ‘अलिखित’(२०४०) ध्रुवचन्द्र गौतमको अतिकाल्पनिक उपन्यास हो । यिनीहरूमा फरक के छ भने विजयकुमारले आफ्नो कार्यक्षेत्र पत्रकारिता छाडेपछि फर्पिङ बसाइँका क्रममा गुम्बामा रहेर बौद्धमार्गी ज्ञान तथा पूर्ववत् गुरु रिम्पोचेबाट पाइरहेका आशीर्वचन एवम् अन्तश्चेतनाका कुराहरूलाई समेटेका छन् ।

‘सोफी’, ‘मोरी’ र ‘सम्बन्धहरू’

अच्युत कोइराला साहित्यपोस्टमा विजयकुमारको पुस्तक ‘सम्बन्धहरू’को समीक्षामा लेख्छन्–‘…विजयकुमारलाई विजयी बनाउने सम्बन्ध के–कस्ता थिए…।’ कोइराला थप्छन्– ‘सम्बन्धहरू पढ्दै गर्दा तीन पुस्तक दिमागमा आए र तीमध्ये हरिवंश राय बच्चनको आत्मकथाको तेस्रो भाग ‘बसेरेसे दूर’…। तथा अमेरिकी लेखक मिच एल्बमको ‘ट्युस्डे विद् मोरी’ र जस्टिन गार्डरको ‘सोफिज वल्र्ड’ ।’ यी तीन पुस्तकको सन्दर्भ जोडेर समीक्षा गर्नु मात्रै कोइरालाको अभीष्ट पक्कै होइन । बरु कोइराला यी पुस्तकका फरकफरक शैली र विषयवस्तुले जे दिन खोजिरहेका छन् त्यही कुरालाई आफूले पत्रकारका रूपमा काम गर्दा भेटिएका केही चर्चित पात्रहरू तथा केही काल्पनिक पात्रहरू एवम् परिवारिक परिवेशमा अजा, सुषमा र सन्तानहरू सारा र सारांशका सन्दर्भबाट ‘खुसी’ मा समेटिएका कुराहरूमा आलोचकका भूमिका र अहिले ‘सम्बन्धहरू’ मा द्रष्टा बनेको समीक्षात्मक प्रतिक्रिया उल्लेख गर्दै पाठकलाई नै मूल्याङ्कन गर्न छोडिदिन्छन् तर उक्त पुस्तकहरूबाट विजयकुमार कति मात्रामा प्रभावित छन् भन्नेतर्फ समीक्षक कोइराला मौन देखिन्छन् ।

आफूबाहेक किन सबै गलत लाग्छन् ?

विजयकुमारका दुइटै पुस्तक पढिसक्दा कुनै पनि पाठक एउटा सरल निष्कर्षमा पुग्छ र प्रश्न गर्न सक्छ ‘किन विजयकुमारलाई आफूबाहेक सबै खराब लाग्छन् ?’ ‘खुसी’मा आफू अल्कोहलिक हुनुबाहेक सर्वगुणसम्पन्नझैं प्रस्तुत भएका छन् । उनीभन्दा माथि कोही छैन वा उनलाई प्रश्न गर्न कसैले सक्दैनझैँ किन लाग्दछ ? जस्तै आफूलाई बिहे गर्न खर्च नपुगेर धनाढ्य विनोद चौधरीका घरमा पुगेर सापटी माग्दा केके कुरामा खर्च हुने हो प्रस्ताव वा लिस्ट देऊ भनेकाले सम्बन्ध तोडेर हिँडेको प्रसङ्ग उल्लेख गरेका छन् । त्यस्तै सेतो गुम्बाका रिम्पोचेले तिमी विजयकुमार हौ वा विजयकुमार तिम्रो नाम हो ? भनी प्रश्न गर्दा अनुत्तरित भएको सन्दर्भ किताबको सुरुमै उल्लेख गरेका छन् । ‘सम्बन्धहरू’ पुस्तकमा पनि सन्दुक रुइत, भगवान कोइराला, पुष्पा बस्नेत जस्ता केही व्यक्तित्वबाहेक यस देशमा सबै व्यक्ति वा प्रवृत्ति वा प्रणाली नै खराब भएको उल्लेख गरेका छन् । यससँगै सबैलाई खराब भन्नेले आफू असल बनेर किन देखाउन नसकेको भनी प्रश्न गरेका छन् तर आफू त्यस्तो असल बनेर देखाउन सक्ने वा नसक्ने भन्नेमा मौन देखिन्छन् । आफूबाट त्यस्तो हुन नसक्नेतर्फ सङ्केत गर्दै ‘कलाकार वा पत्रकारले आजसम्म संसारमा कुनै देश बनाएको छैन ।’ (पृ.१८९) भन्छन् । यही पुस्तकलाई पनि गैरआख्यानात्मक मात्र नभनेर ‘सिर्जनात्मक’ विशेषण थपेर अरूभन्दा मौलिक रहेको पुष्टि गर्न खोजेका छन् ।
किन एउटै कुरा दोहोर्याउँछन् विजयकुमार ?

विजयकुमारले करिब छ वर्षअघि ‘खुसी’ (२०७१) प्रकाशनमा ल्याए र सफलता पनि हात पारे बिक्रीका हिसाबले बेस्ट सेलर बन्यो र वर्षको सर्वाधिक राशिको मदन पुरस्कार पनि कुम्ल्याए । कार्यक्षेत्र होइन कार्यशैली परिवर्तन चाहने भनेर चिनिएका विजयकुमारले देशकै ठुला भनिएका सञ्चारगृहमा प्रभावशाली पदमा रही कार्य गरे । ‘सम्बन्धहरू’मा राम्रो पैसा र पद हुँदाहुँदै पनि लेखनकै लागि भनेर राजिनामा दिएर हिँडेको भनेका छन् । वैश्य युग भनेर सञ्चारगृहलाई व्यापारगृहका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई थोरै व्यङ्ग्य गरे तापनि भोलि अनिश्चित भएकाले पुनः सोही क्षेत्रमा फर्कने सक्ने सम्भावनालाई पटकपटक पुस्तकमा सङ्केत गर्दै क्या. रामेश्वर थापालाई उदार मानवतावादी भावनाका मान्छे भनेर प्रशंसा गरेका छन् ।

‘खुसी’मा व्यापारीहरू विनोद चौधरी र उपेन्द्र महतोका प्रशंसामा शब्दहरू मन खोलेर लेखेका छन् भने यस ‘सम्बन्धहरू’ मा क्या. रामेश्वर थापाको उदार भावको उल्लेख गरेका छन् । यहाँनिर कसको प्रशंसा गरेको भन्दा पनि किन एउटै कुरा दोहोरिएका भेटिन्छन् भन्नेतिर हेरौँ । उदाहरणका रूपमा योगिनीसँगका संवादमा प्रायः एउटै कुरा दोहोरिएको पाइन्छ भने नतालियासँगको सम्पर्क र सम्झनामा पनि उस्तै अवस्था भेटिन्छन् । अर्को पात्र आकाश पनि उही पारिवारिक समस्या र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका सन्दर्भहरू दोहोरिएर आएको पाइन्छ ।

मार्सल म्याक्लुहानले ‘हर प्रविधिको आविष्कार मान्छेकै इन्द्रिय र अहंको विस्तारित रूप हो ।’ भनी सोसल मिडियासम्मको विकासको कुरा त अनुच्छेद नै दोहोरिएको भेटिन्छ (पृ.१७० र पृ.२०२) । यस्तै सामाजिक सञ्जाललाई कतै लत बनेको त कतै घोप्टे युगको संज्ञा दिएका उनैले ‘सम्बन्धहरू’को तेह्रौं शीर्षक ‘बालै फरर…’ मा सामाजिक सञ्जालमा जतातै भेटिने कौवा र चिलको कथालाई अक्षरशः राखेर पाना भरेका छन् । यी र यस्ता प्रशस्त तथ्यहरूलाई विद्यालय वा विश्वविद्यालयको शिक्षकले एउटै कुरालाई विद्यार्थीलाई बुझाउन घुमाएर विविध सन्दर्भबाट व्याख्यान दिएको प्रवचनजस्तो लाग्छ–‘सम्बन्धहरू’ पुस्तक ।

निष्कर्ष
विजयकुमारको ‘सम्बन्धहरू’ महामारीका वर्षमा बजारमा सीमित पुस्तकहरू प्रकाशन सम्भावना हुँदा पाठकमाझ आएको छ यद्यपि महामारीको सुरुवात हुनुभन्दा दुई महिनाअघि नै तयार भइसकेको भनिएको छ । विश्वव्यापी महामारीको असहजतामा पुस्तक बजारमा ल्याउनु पनि उपलव्धि मान्नुपर्छ । यो पुस्तक युवा पुस्तालाई सही मार्गनिर्देश गर्ने उद्देश्यले लेखिएको भनिएकाले पनि एक परिपक्व ५७ वर्षे उमेरका लेखकले पक्कै पठनीय पुस्तक लेखेका हुनुपर्छ । तर, पुनरावृत्ति र अरू केही सामान्य दोष नभइदिएको भए अझै उत्तम हुन्थ्यो । आगामी दिनमा लेखकले यस तथ्यलाई मनन गर्नेछन् भन्ने आशयले यो पाठकीय दृष्टिकोण प्रस्तुत गरिएको हो । साहित्यिक पठनका हिसाबले यस पुस्तकलाई गैरआख्यानको रूपमा मान्न पाठकलाई अलि कठोर हुनसक्छ ।

पुस्तकको अन्त्यमा आभार व्यक्त गर्ने क्रममा लेखकले ‘खुसी र सम्बन्धहरूबिच पाँच वर्षको अन्तर छ तेस्रो किताब बजारमा ल्याउन मैले एक वर्षको टार्गेट राखेको छु ।’ भनेका छन् । यसले एउटा संशय जन्माउँछ । यसअघि फिक्सन डिजाइनर उपाधि दिइएर प्रकाशनगृहहरूले एक लेखकलाई पुस्तक उत्पादक ‘मेसिन’ बनाउँदा एकपछि अर्को पुस्तक गुणस्तर खस्कँदै गएर अन्ततः बजारबाट केही समयलाई हराएका छन् । दोस्रो किताब लेख्दा त विजयकुमारले पहिलेकै धेरै सन्दर्भहरू दोहोर्याएका छन् भने यसपछि आउने पुस्तकमा कतै त्यही रोग बल्झने हो कि भन्ने पाठकीय चिन्ता मात्रै हो । पाठकका प्रिय लेखक विजयकुमारलाई हार्दिक शुभकामना, नेपाली साहित्यको भण्डारलाई विस्तार गर्ने सुकर्ममा सदैव सफलता मिलोस् ।

(पुनः सम्पादन गरिएको)