वंशावलीहरूमा पृथ्वीनारायण शाह सम्बन्धी अनेक ऐतिह्य तथा कथाहरूको वर्णन पाइन्छ । ती मध्ये केही ता यो पुस्तकमा ठाउँ–ठाउँमा परेका छन् । यो अध्यायमा यसता केही अरू कथाहरूको संग्रह गरियेको छ । इन बाट पृथ्वीनारायण शाहका व्यक्तित्वका विषयका पनी धेर थोर प्रकाश हुनाले ई कुराको आफ्नै अनुपम मूल्य छ ।

मकवानपुरका राजा हेमकर्ण सेनले बिहे पछी लगत्तै छोरी विदा गर्न अस्वीकार गरेको हुँदा पृथ्वीनारायण शाह रिसाई आफ्ना मानिस सहित गोर्खा फर्कन लागेका थिये । चन्द्रागिरिका टाकुरामा उभियेर नेपाल उपत्यकाका तीन शहर देख्दा उनका मनमा तीनै शहरको राजा हुन पाये हुँदो हो भन्ने परेछ । साथमा दुई जना ज्योतिषी पनी रहेछन् । उनीहरूले एक्कासि हजुरको अभिलाषा पुग्ने छ भनी भने छन् । यो कुरा सुनी पृथ्वीनारायण शाहलाई आश्चर्य लागेछ र तिमीहरूले मेरा पेटका कुरा कसरी जान्यौ भनी सुध्यायेछन् । उनीहरूले तीन शहर नेपाल हेर्दा हजुरको हात जुंघा मुसार्न पुगेको हुँदा हजुरलाई नेपालको राजा हुने मन लागेको रहेछ भनी हामीले भनेको हो भनी उत्तर दियेछन् । मेरो इच्छा कहिले पुग्ला त भनी उनले सोद्धा हजुर गो–ब्राह्मण, अतीत, फकिर, देवदेवतालाई बडो मान्नु हुन्छ, यो कारणले हजुरको इच्छा अवश्य पुग्नेछ भनी उनीहरूले भनेछन् ।

०००

नरभूपाल शाहलाई उन्माद रोग लागेका वेलामा उनकी रानी चन्द्रप्रभावती देवीले राज्यको सबै काम चलायेकी थिइन् तथा यसैले उनी चौतारा महारानी भनी प्रसिद्ध भयेकी थिइन् । उनले राज्यको प्रबन्ध गर्दा केशव द्वारे नामक एक जना अफीसर निकै शक्तिशाली भयेका थिये । एक दिन बालक पृथ्वीनारायण शाह आफ्ना साथीहरूलाई लियेर पौडी खेल्न दरौंदी गयेका रहेछन् । बाटामा केशव द्वारेका खेतमा उखु देखी पृथ्वीनारायण शाह समेत उनका साथीहरूले उखुका लाँक्रा ल्याई बाँडेर खायेछन् । यो कुरा केशव द्वारेले चौतारा महारानीलाई सुनायेछन् । चौतारा महारानीले प्रजा भनेको ता आफ्ना छोराछोरी जसता हुन्, इनका डिही बाट किन बलजफ्ती उखु ल्यायेको भनी पृथ्वीनारायण शाहलाई भनी छन् । यत्ती सानो कुरो पनी भन्ने त्यो केशव द्वारे बडो दुस्कर रहेछ भनी पृथ्वीनारायण शाहले मुवालाई भनेछन् तथा तेसलाई जागीरबाट खारेज गर्न पर्छ पनी भने छन् । अन्त्यमा केशव द्वारे जागीर बाट खारेज गरियो ।

०००

पृथ्वीनारायण शाहलाई धेरै उखान टुक्काहरू आउँथे भनी वंशावलीहरूमा लेखियेको छ । उनको प्रिय यौटा उखान यो थियो– “बाहुनको खेल, खसको झेल, मगरको पेट, कसैले न भेट” ।

०००

यो कुरा बेलकोटको लडाईंको हो । जयन्त रानालाई पृथ्वीनारायण शाहले आफुतिर मिल्न आउन भनी पत्र लेखेका थिये । जयप्रकाश मल्लको मैले नुन खाई हालें, अब म उनैको सेवा गर्छु, आउन्न भनी उनले उत्तर पठाये । यो उत्तर पाई एक दिन बेलकोट माथी तुरून्त आक्रमण गर्ने निश्चय गरेर पृथ्वीनारायण शाह हिंडी हाले । पल्टन तथा अफीसरहरू पनी हतार–हतार तैयार भयेर उनका पछी लागे । घोर घाटमा कालु पाँडे पनी उनी सित मिल्न आई पुगे । यसरी हडबडाई काम गर्न हुँदैन भनी कालु पाँडेले भन्दा तैंले लडाईं गर्न सिकाउलास् र म लडाईं गरूँला भनी पृथ्वीनारायण शाह उनी सित रिसाये । बेलकोटको लडाईंमा जीत भयो औ जयन्त राना पक्रिये । लडाईंमा विजय भये ता पनी पृथ्वीनारायण शाहको मुख अंध्यारो देख्दा खुशी हुने वेलामा मुहार किन मलिन भयो भनी सोद्धा पृथ्वीनारायण शाहले भने– लडाईंको कुरा म भन्दा तँ बढी जान्दो रहेछस् । ई सबै जती घाइते भयेका छन् ती मध्ये यौटै सरदारलाई लस्कर दी पठायेको भये पनी फत्ते हुने रहेछ । आज सबै सरदार मारियेको भये मेरा हातले गोर्खा डुबाई हाल्थें । इष्ट देवताका कृपाले इज्जत रह्यो । तैंले ता घोर घाटमा भनेको नै थिइस् । अब देखी सल्लाह विना म कटक गर्ने छैन भनी पृथ्वीनारायण शाहले कालु पाँडेका पीठमा धाप दिये ।

०००

कीर्तिपुरको प्रथम आक्रमण गर्ने पृथ्वीनारायण शाहको विचार भये पछी उनले यो सम्बन्धमा आफ्ना भारदारहरू सँग सल्लाह गरे । धेरै जसोले आक्रमण गरे विजय हुन्छ भन्ने मत व्यक्त गरे तर कालु पाँडेले भने यसको विरोध गरे । अहिले तीन शहर नेपालका राजाहरू मिलेका छन्, कीर्तिपुर आक्रमण गर्ने यो वेला उचित होइन भनी उनले भने । दहचोकको तैनातमा बसेका हरिवंश उपाध्यायले पनी यसको विरोध गरे । कुलानन्द ज्योतिषीले लडाईं जीत्ने साइत छैन भने । पृथ्वीनारायण शाहले यो आक्रमणको सेनापतित्व कालु पाँडेलाई दियेका थिये । यो युद्धमा गोर्खालीको हार भयो तथा कालु पाँडे औ अनेक भारादार मारिये । पृथ्वीनारायण शाह पनी भागाभाग गरी दहचोक पुगे । दहचोकमा पुगे पछी उनले दुःख प्रकट गर्दै भने– “कालेले ता भनेथ्यो, मेरा हातले सेनापतित्व लडाईं बिग्र्यो ।”

००

मकवानपुर माथी बंगालका नवाब मीर कासिमले आक्रमण गरे । गोर्खालीहरूले आक्रमण गरी नवाबको सेनालाई हराई भगाये । नवाबका सेनाका १७०० मानिस मारिये । तै पनी पृथ्वीनारायण शाह प्रसन्न भयेनन् र भने– “जाबाहरूले १७०० मानिस मात्र मारेछन्, अरूलाई उम्कन दियेछन् ।” विजय गरी फर्कने अफीसरहरूले पृथ्वीनारायण शाहको दर्शन पनी पायेनन् । पछी युद्धस्थल हेर्न पृथ्वीनारायण शाह स्वयं गये तथा वहाँ मीर कासिमका डेरा औ उनीहरूले भात पकाउन बनायेका चुलाको संख्या धेरै भयेको देखी मीर कासिमको सेना माथी विजय प्राप्त गर्ने अफीसरहरू सँग उनी खुशी भै उनीहरूको प्रशंसा गरे ।

०००

मकवानपुरका लडाईंमा हार भये पछी मकवानपुरका राजा दिग्बन्धन सेन भागे तर उनका रानी औ छोरा भने समातिये । यो कुरा थाहा पाई पृथ्वीनारायण शाहले फेला पार्नु पर्ने मान्छे उम्की गयेछ भनी भने । बाङ्गे बस्नेत नामक उनका एक जना अफीसर तेही रहेछन् । उनले भने छन्– ढोई हतिनीले हात्ती पक्रन्छे; रानी औ साहेब पक्रिये पछी राजा कहीं जाँदैनन् । यो कुरा सुनी पृथ्वीनारायण शाहले बाङ्गे बस्नेतलाई रानीका वशमा परेको राजा तैंले कहाँ देखिस् भनी उसलाई अप्रसन्नतापूर्वक भनेछन् । यसका केही दिन पछी दिग्बन्धन सेन आफैं आई आत्मसमर्पण गरे । यो समाचार सुनी प्रसन्न भै पृथ्वीनारायण शाहले भने– बाङ्गेले भने जसतै भयो ।

०००

पृथ्वीनारायण शाहका निजी मानिसहरू मध्ये ज्योतिर्विद कुलानन्द ढकाल बडा प्रसिद्ध थिये । इनको घर लमजुङ्ग भये ता पनी इनी पृथ्वीनारायण शाहका विश्वासपात्र थिये । पृथ्वीनारायण शाहले काशीयात्रा गर्दा इनी पनी उनका साथमा गयेका थिये । काशीबाट फर्की नुवाकोट हान्ने आयोजन पृथ्वीनारायण शाहले गर्न लाग्दा उनी गोर्खामा थिये । एक चोटी इनले पृथ्वीनारायण शाहलाई म साइत हेर्छु, नुवाकोट माथी आक्रमण गरे हुन्छ भनी भने छन् । पृथ्वीनारायण शाहले इनका कुरा न मान्दा इनी झोंकिई यसता काफर राजाका मुलुकमा पानी पनी खान्न भनी आफ्नो घर लमजुङ्ग गै वहीं बसे छन् । पछी पृथ्वीनारायण शाहले नुवाकोट माथी आक्रमण गर्ने पूर्ण सैनिक प्रबन्ध मिलाई सके पछी इनलाई झिकाई इनैले हेरेका साइतमा नुवाकोट आक्रमण गरे । आफुले दियेका साइतमा हिंडे त्रिशूल गण्डकी तर्दा डुंगामा माछा पर्ला भनी उनले भनेका थिये औ सोही बमोजिम त्रिशूल गण्डकी तर्दा यौटा माछा पानी बाट उफ्री डुंगामा प¥यो ।

पृथ्वीनारायण शाहले कीर्तिपुरको प्रथम आक्रमण गर्ने विचार गरी कुलानन्दलाई आक्रमण गर्ने साइत हेर्न भन्दा उनले भने– अहिले दिन पनी उसता छैनन् र कीर्तिपुर हान्ने उद्योग न गर्नु बढिया छ । कीर्तिपुर हान्ने साइत म विचार गर्दै छु । जहिले ठहर्ला म बिन्ती गरौंला । उसै वेला उद्योग गर्न पर्छ । ज्योतिषीका कुरा पृथ्वीनारायण शाहलाई मन न पर्दा गोर्खामा अरू पनी ज्योतिषी छन्, बालकृष्णलाई साइत देखाई म काम गरौंला भन्दा कुलानन्दले झोंकियेर भने– बालकृष्ण ता मेरा लेखा केटाकेटी हो । तेसले साइत हेर्ला र हजुर काम गर्नु होला । केटाकेटी आये गुलेली खेलाये भने जसतो होला । कीर्तिपुर अहिले हान्न हुँदैन, फुट्दैन । कुलानन्दको यसतो ठाडो उत्तर सुन्दा पृथ्वीनारायण शाह केही अप्रसन्न भयेछन् र उनी विदा भै आफ्नो घर लमजुङ्ग गयेछन् । नेपाल उपत्यका हान्ने समय हुँदा पृथ्वीनारायण शाहले कुलानन्दलाई साइत हेर्न बोलायेछन् तथा उनको प्रशंसा गरी उनलाई साइत हेर्न लायेछन् । उनैले हेरेका साइतमा हिंडी नेपाल विजय गरियो । नेपाल विजय गरे पछी पृथ्वीनारायण शाहले उनलाई बिर्ता प्रदान गरेका कुराको वर्णन वंशावलीहरूमा छ ।

०००

काजी महेश्वर पन्त तथा बलि बानियाँले लक्ष्मण थापा नामक यौटा मान्छेलाई भेटेछन् । उनीहरूलाई त्यो मान्छे सुरो भये जसतो लागेछ र तेसैले यसलाई ल्यायेको भनी पृथ्वीनारायण शाहका समीपमा लगेछन् । पृथ्वीनारायण शाहले उसलाई पजिनी आउँदै छ तेतिन्ज्याल सम्म पर्खी भने छन् । पजिनी पर्खेर बस्ता त्यो मान्छे गोर्खाका सबै सित सानो सानो कुरामा पनी झगरा गर्न लागेछ औ शेखीका कुरा पनी त्यो गर्दो रहेछ । यो कुरा थाहा पायेर पृथ्वीनारायण शाहले उसलाई मझुवा गाउँको द्वारे नियुक्त गरी पठाये छन् । यो गाउँका निवासी बाहुनहरू ठाडा भनी प्रसिद्ध थिये । आफ्ना बानी अनुसार लक्ष्मण थापा मझुवामा पनी शेखी गर्न थालेछ र वहाँका बाहुनहरूले उसलाई ठटाई उसको ढाल तरवार पनी खोसेछन् । दसैंमा बोकाको टाउको बाँड्दा उसलाई छनौटा पर्यो भनी जयकृष्ण थापा सित पनी उ शेखी गर्न लागेछ । के शेखी गर्छस्, मझुवाका बाहुनहरूले ता तेरो ढाल तरवार खोसे भनी जयकृष्ण थापाले उसको ढाल तरवार खोसी उसलाई धपाई दियेछन् । यो समाचार सुनी पृथ्वीनारायण शाहले उसलाई भनेछन्— ‘ए, तँ ता सुरो मान्छे होस् भनी सुनेको थियें । तैंले ता आफ्ना हातको ढाल तरवार पनी खोसाइछस् नि त ।’ उसले भनेछ– ‘गोर्खाका राजा पृथ्वीनारायण शाहको मन कसैले बुझेर बुझी सक्नु रहेन छ । सुरोलाई काफर गराउन, काफरलाई सुरो गराउन सक्ने उनै मात्र रहेछन् । मानिसको परीक्षा गर्न जान्ने मैले हजुरलाई मात्र देख्याँ ।’

(नेपाली भाषामा लेखिएको इतिहास विषयको यो पहिलो पुस्तक हो । पाठकलाई यस किस्साहरुको अध्ययन गरिरहँदा भाषिक त्रुटिले गिजोल्न सक्छ । तर यो लेखक ज्ञवालीको पुस्तकमा प्रयोग भएको मौलिक भाषा हो । वि.सं. १९९२ मा पहिलोपटक दार्जिलिङबाट छापिएको यो पुस्तकलाई मञ्जरी पब्लकेसनले यसै सातादेखि बजारमा ल्याएको छ ।)