पदयात्रामा यात्रा नसकिउन्जेल हरेक दिन हिँड्ने काम हुन्छ । देबुचेमा बिहान राम्ररी झर्न नपाउँदै हामीले बाक्लो ज्याकेट, पञ्जा, टोपी र मफलरले आपूmलाई चिसोबाट सुरक्षित ग¥यौँ । त्यसपछि पिठ्यूँमा रूकस्याक बोक्यौँ । एउटा नयाँ दिनको, नयाँ सपनाको, नयाँ प्राप्तिको अभिलाषाको प्रारम्भको बेला थियो, उत्साहले भरिएर केही बेर रुखहरूको फेदफेदबाटै केही आरोलो झरेको बाटोमा थियौँ । निकैबेर ओरालो झरेपछि सानो झोलुङ्गे पुल आइपुग्यो । पुरानो पुल काम नलाग्ने गरेर चुँडिएको थियो । त्यसको अलि मास्तिर एउटा नयाँ झोलुङ्गे पुल भर्खरको किशोरमा फुर्ती देखिएजस्तो बडो ठाँटका साथ उभिएको थियो । हामी त्यही पुल तरेर पारि गयौँ । यहाँदेखि उकालो शुरु भयो । पहाडी र हिमाली क्षेत्रमा मानिसको जीवन उकालो र ओरालोमै सकिन्छ – मनमनै सोचेँ ।

लामोलामो सास तान्दै एकछिन उकालो उक्लेपछि पछाडि फर्केको त वाह ! हामीलाई पर्खिरहेको, हामीलाई हेरेर मुस्कुराइरहेको यस अघि कहिल्यै नदेखेको हिमाल देखियो । बिहानको कलिलो घामको प्रकाशले सेतो हिउँलाई सिनित्तै पखालेपछि त हिउँको चमक पनि अचम्मकै हुने रहेछ– मनमोहक, आकर्षक । हामीमा त्यही हिमाललाई पृष्ठभागमा पारेर फोटो खिच्ने होडबाजी चल्यो । नेपाली हुन् कि विदेशी, सबैजना हिमालको जादूगरीले समान किसिमले मात्तिएका थिए, समान किसिमले रमाइरहेका थिए, समान किसिमले छोइएका थिए ।

“यो हिमालको नाम के हो ?” बच्चाजस्तो उत्ताउलिँदै कोलेटले सोधिन् ।

मलाई थाहा थिएन । त्यसैले म भोलाजीतिर फर्किएँ । भोलाजीलाई मानिस त के, त्यहाँका रुख, बुट्यान, ढुङ्गा, खोला र हिमालहरूले समेत मज्जाले चिन्थे । उहाँले भन्नुभयो– “थामसेर्कू ।” थामसेर्कू हिमाल हाम्रो यो पदयात्रामा जम्काभेट भएको पहिलो हिमाल थियो ।

“यो त शुरुवात मात्र हो, अब त हिमालैहिमाल देख्ने हो हामीले ।” भोलाजीले भन्नुभयो ।

भीष्म उप्रेती

थामसेर्कु हिमालको धेरै नाम सुनेको हुँ मैले । आजै मात्र देखेँ । नीलो आकाशमुनिको एकदम सफा मौसममा स्फटिकभैmँ सेतो हिमालमा घामको सफा किरण पोखिँदाको सौन्दर्य कल्पनाभन्दा बाहिरको थियो । आँखामा, मनमा, भावनामा, अनुभूतिमा र दुःखमा समेत हिमाल बोकिहिँड्ने मलाई त थामसेर्कु हिमालको सौन्दर्य अवर्णनीय लाग्यो भने यहाँबाट त्यति टाढा समुद्रको छेउमा बस्ने कोलेट र कोनेलाई कस्तो लाग्यो होला ! मैले अनुमान मात्र गर्न सक्ने कुरा थियो । उनीहरूले फेर्दाफेर्दैको सास रोकेर फोटो खिचेको अर्थ मैले बुभेmँ ।

थामसेर्कुलाई पछाडि पारेर त्यसैको अप्रतीम सौन्दर्यमा हेलिँदै अगाडि गइरहेका थियौँ, अर्को अद्वितीय सुन्दर हिमाल मुस्कुरायो अलि पर । कुनै दाग नलागेको सेता पङ्खहरू उचालेर उडिहाल्ला जस्तो हिमाल आँखाबाट हटाउनै मन नलाग्ने गरी सुन्दर थियो । हामीहरू फेरि हिँड्न भुलेर फोटोहरू खिच्न थाल्यौँ । भोलि यहाँबाट फर्केर आफ्नो गुँडमा, आफ्नो काममा फर्केपछि हामीसँग रहने यिनै सम्झनाहरू हुन् । सम्झनाहरू पनि मानसमै मात्र रहे भने बिस्तारै धमिला हुँदै जान्छन् । ती सम्झनाहरूलाई बेला बेलामा जगाएर ताजा बनाउन र हामीलाई बितेका हाम्रा अनुभव र स्मृतिहरूमा बाँच्न सहज बनाउन यस्ता
फोटाहरू चाहिन्छन् ।

हामीले फोटाहरू खिच्यौँ, खुशीले रमायौँ, नाच्यौँ तर हिमालको नाम त हामीलाई थाहै थिएन । कोलेट र कोने त यति नजिकैबाट हिमालको सौन्दर्य देख्न पाउँदा दङ्ग परेका थिए, हिँड्न बिर्सेर फोटाहरू मात्र खिचिरहेका थिए । हुन पनि त्यस हिमालको सौन्दर्य अतुलनीय थियो, अद्वितीय ।

“भोलाजी, यो कुन हिमाल हो ?” सोधेँ ।

“यो अमादब्लम हो ।” भोलाजीले भन्नुभयो ।

कति धेरै नाम सुनेको अमादब्लम हिमाल मेरो ठिक अगाडि थियो मुस्कुराइरहेको । अलि माथि उठेर छोइहालूँजस्तो, नजिकै गएर कानमा बिस्तारै साउती गरूँजस्तो– हेर, हिमालको प्रेमले मलाई ल्याइछाड्यो तिम्रो समिपमा आज । तिम्रो सौन्दर्यको रहस्यलाई नअघाउन्जेल हेर्न देऊ है ।
हेरेँ, अमादब्लमको चुचुरो तिखो थियो माथि आकाशै छेडुँलाजस्तो गरेर उठेको । यस्तो चुचुरोमा मान्छेहरू कसरी चढ्दा हुन्, कसरी शिखरमा पुगेको आनन्द र उत्तेजनाले भरिएर रमाउँदा हुन् । हुन त चुचुरो पनि टाढाबाट हेरेजस्तो हुँदैन त्यहीँ पुग्दा । आरोहण गरिसकेपछि त्यो चुचुरो पनि रहँदैन । त्यो त पाइतला अड्याउने जमिन हुन्छ ।

मैले घरि थामसेर्कू र घरि अमादब्लम हिमाललाई हेरेँ । ठ्याक्कै आमनेसामने परेर एकअर्कालाई मुस्कुराउँदै हेरिरहेका थिए यी दुई हिमालहरू । यिनीहरूको सौन्दर्य पनि को उन्नाईस र को बीस हो भन्न सकिने थिएन । यिनीहरूमा तर कोभन्दा को सुन्दर, को अग्लो वा को मूल्यवान भन्नेजस्ता दम्भ रत्तिभर पनि देखिएन । मान्छेले यी हिमालहरूबाट यो कुरा पनि सिके हुने रहेछ ।

चुचुराहरू मान्छेका लागि चुनौती र अवसर दुवै हुन् । त्यही चुनौतीबाट प्रेरणा लिएर त्यही अवसरलाई छोप्न सक्नेले नै चुचुरालाई टेक्न पुग्छ र चुचुरोभन्दा एक मान्छे अग्लो हुन्छ । फेरि अर्को सत्य के पनि हो भने चुचुरोको आरोहणपछि त फेरि तल झर्नैपर्छ फेदितिर । चुचुरोमा सधैँभरि अडिरहने हो भने त्यो चुचुरो रहँदैन । त्यसैले मान्छेले चुचुरो र फेदी दुवैलाई उत्तिकै आदर गर्न र सम्झन बिर्सनु हुँदैन । जसले यी दुईमध्ये कुनै एकलाई बिर्सन्छ वा अनादर गर्छ ऊ यात्रा वा जीवनमा सर्वथा सफल हुन सत्तैन ।

बाटो छुट्टियो । बायाँतिरको अलिअलि उकालो बाटो पाङबोचे गुम्बा हुँदै अगाडि जाने र दायाँतिर अलि तेर्सो बाटो चाहिँ गाउँतिर जाने रहेछ । त्यसो त पाङबोचे गुम्बाभन्दा पनि माथि गाउँ रहेछ । यहाँका स्थानीय मानिसहरू वर्षौंवर्षदेखि बसेको त्यस गाउँमा गएर स्थानीयहरूसँग सुखदुःखका कुरा गर्न पाए उनीहरूका अनुभवले जीवनलाई बुझ्न र अझ सहज बनाउन कति धेरै मद्दत हुन्थ्यो होला । मैले सगरमाथा आरोहण गरिसकेका बचेन्द्री पाल, आङछिरिङ शेर्पा र यात्रा लेखक जोन क्रकरले लेखेका सगरमाथा आरोहण सम्बन्धी पुस्तकहरू पढेको छु । ती सबैले सगरमाथा आरोहण गर्न जाँदा पाङबोचे गुम्बामा पूजा गरी लामाबाट आशीर्वाद लिएर गएको लेखेका छन् । मलाई पनि त्यस गुम्बामा गई दर्शन गर्न र लामाजीबाट आशीर्वाद लिन मन लाग्यो । आधारशिविरतर्फकाे बाटो पाङबोचे गुम्बा हुँदै जान्छ भन्ने लागेको थियो । तर धेरै पर्यटकहरू गुम्बातिर उकालिएको बाटो नगई दाहिनेतिर तेर्सिएको बाटोतिर गइरहेका थिए । म दोबाटोमा आइपुगेपछि अलमलिएँ ।

“हामी गुम्बातिरको बाटो जाने हो ?” मैले भोलाजीलाई सोधेँ ।

“होइन, दाहिनेतिरको बाटो जाने ।” उहाँले भन्नुभयो ।

“गुम्बामा दर्शन गर्ने होइन र ?”

“त्यो बाटो लामो छ । केही पर गइसकेपछि यी दुवै बाटाहरू मिसिएर एउटै हुन्छन् । फेरि हामी हिमाल चढ्न गएका होइनाँै । हिमाल चढ्नेले पो लामासँग आशीर्वाद लिन्छन् । लामा पनि गुम्बामा बस्दैनन्, माथि गाउँमा बस्छन् । गएर बोलाएर ल्याउनुपर्छ । हामीलाई ढिलो हुन्छ ।” उहाँले फेरि भन्नुभयो ।

भोलाजी र उहाँका पर्यटकहरू यतिबेला पछाडि नै थिए । उनीहरू एउटा डाँडाको टुप्पामा बसेर थामसेर्कु हिमाललाई पृष्ठभागमा राखेर फोटो खिचिरहेका थिए ।

मैले केही भनिनँ । भोलाजीको सल्लाह बमोजिम गुम्बातिरको होइन, उहाँको पछिपछि दायाँतिरको तेर्सो बाटो समातेर अघि बढेँ । मेरो पछिपछि आइरहेका कोलेट, कोने र रविजीले पनि मलाई पछ्याउन थाले ।

एकछिनपछि कोने र कोलेटले अघि जान खोजे । मैले बाटो छोडिदिएँ । मलाई बिस्तारै दृश्यहरू हेर्दै, हिमाली सौन्दर्यको आनन्द लिँदै, दृश्यचित्रहरूलाई मनमा अङ्कित गर्दै हिँड्न मन लाग्यो । मैले हिँड्ने गतिलाई अलि कम गरेँ । रविजी पनि अघि जानुभयो । पदयात्रामा छिनछिनमा अघिपछि अघिपछि भइरहिन्छ । भोलाजी र उहाँका पर्यटकहरू यतिबेला पछाडि नै थिए । उनीहरू एउटा डाँडाको टुप्पामा बसेर थामसेर्कु हिमाललाई पृष्ठभागमा राखेर फोटो खिचिरहेका थिए । भोलाजी भने आउँदै हुनुहुन्थ्यो ।

====

अलिअलि उकालो परेको सानो बाटोमा म उभिएँ । भोलाजी आइपुग्नुभयो । बाटोको दाहिनेतिर अलि होचो थियो । त्यहाँ दुइटा घरहरू थिए । काठ र ढुङ्गाले बनेका ती दुईतल्ले घरका छाना टिनले छाएको थियो । तीनैमध्येको एउटा घरलाई देखाउँदै भोलाजीले भन्नुभयो – “हिमाल चढ्दा चाहिने सबै सामानहरू हाम्रो कम्पनीले यही घरमा राखेको छ । यो घरका शेर्पा दाइ हाम्रै कम्पनीमा काम गर्थे । उनको नाम मिङ्मा नूर शेर्पा हो । सन् २००५ मा अमादब्लम हिमालको आरोहणमा हाम्रो टोलीसँग गएका थिए । क्याम्पमा राति सुतेको बेलामा हिमपहिरो गएछ । उनीहरूले थाहै पाएनन् । उनीहरू बिहान उठेनन् । उनीहरूको पाल रहेको ठाउँमा हिउँको धेरै चिसो र कुरुप थुप्रो थियो । हाम्रो लागि काम गर्दागर्दै उनी बिते । त्यसैले उनको परिवारलाई पनि केही नियमित आम्दानी होस् भनेर हामीले उनकै घरको भुइँ तल्ला भाडामा लियौँ र हाम्रा सामानहरू राख्यौँ । यसो गर्दा घरकी महिलाले उनको लोग्नेले प्रयोग गरेका ती सामानहरूको विशेष रेखदेख पनि गर्छिन् ।”

मैले अहिले भने विशेष ध्यान दिएर हेरेँ त्यस घरलाई । त्यहाँ “नमस्ते” नामको रेष्टुरेन्ट पनि चलाएको रहेछ ती महिलाले ।

उनी घर बाहिर आँगनमा निस्किइन् । भोलाजीले नमस्कार गर्नुभयो । “सञ्चै हुनुहुन्छ ?” सोध्नुभयो ।

“ठीकै छ । बेसक्याम्प जानु हिँडेको हो ?” उनले भनिन् ।

“हो । एउटा सानो ब्रिटिश टोली छ । हाम्रो सामान त ठिकै छ नि ?” भोलाजीले सोध्नुभयो ।

“ठिकै छन् । कहिलेकाहीँ हेर्छु ढोका खोलेर । नहेर्दा पनि मन मान्दैन, हेर्दा पनि मिङ्माकै याद आउँछ ।” उनले भनिन् ।

भोलाजीले केही भन्नुभएन । शायद यसको जवाफ उहाँसँग थिएन । मसँग झन हुने कुरै भएन । यसको जवाफ कसैसँग छैन भन्ने कुरा शायद ती

शेर्पिनी महिला पनि जान्दथिन् । त्यसैले उनले एकछिनको सन्नाटालाई पन्छाएर भनिन् – “आउनुस्, चिया खाएर जानुस् ।”

मन अमिलो भयो । म फरक्क अगाडि फर्कें र हिँडेँ खुरुखुरु ।

आफ्ना केही साथीहरू अगाडि गइसकेकोले धेरै अलमल नगर्ने कुरा भन्नुभयो भोलाजीले र पछि फर्कंदा पसेर चिया पिउँछु पनि भन्नुभयो ।

मैले ती महिलालाई हेरेँ । उनको लोग्नेलाई हिमालले खायो वा लिएर गयो । के ऊ हिमालकै लागि जन्मिएको थियो? त्यसोभए उसको यी महिला र यिनका साना नानीहरूप्रति जिम्मेवारी थिएन ? होइन, उसले त यिनीहरूप्रतिको पूर्ण जिम्मेवारी वहन गर्नकै लागि पर्यटकको भारी बोक्ने निर्णय गरेको थियो, पर्यटकको गाइड हुने निर्णय गरेर मृत्युले मुख बाएर बसेको जान्दाजान्दै पनि हिमालसँग पौँठेजोरी खेल्न, विदेशी पर्यटकको कीर्तिमान कायम गरिदिन जोखिमपूर्ण हिमाल उक्लने निर्णय गरेको थियो । ऊ हिँडेको थियो मनमनै श्रीमती र छोराछोरीलाई छिट्टै भेट्न आउने र कमाएको पैसाले सकेको सुख दिने कल्पना गरेर ।

यति धेरै माया गर्ने मान्छेप्रति नै हिमाल पनि यति धेरै निष्ठुर भइदिँदो रहेछ कहिलेकाहीँ । मन अमिलो भयो । म फरक्क अगाडि फर्कें र हिँडेँ खुरुखुरु ।

====

अलिअलि उकालो र फेरि तेर्सो बाटो झन्डै एक घन्टा हिँडेपछि अघि हामीलाई छोडेर पाङ्बोचे गुम्बातिर लागेको बाटो फेरि ओरालो झर्दै आएर हामी हिँडिरहेको बाटोमै मिसियो । हामीले त्यस बाटोलाई स्वागत गर्याैं ।

हामी हिँडिरहेको धागोजस्तो बाटोको दायाँतिर तल सेतो सफा नदी बगिरहेको थियो । यस बाटोमा हिँड्दा हावा सुसाएको आवाज मात्र होइन, दूधकोशी नदीले गीत गाएको पनि सुन्न पाइन्थ्यो । त्यस गीतको भाखालाई भने पर्यटकहरूले आ–आफ्नो थकावटको अवस्था, मानसिक तथा अध्यात्मको अवस्था अनुसार फरकफरक रूपले बुझे होलान् भन्ने लाग्छ ।

हामी सोमारे भन्ने ठाउँमा पुग्यौँ । यहाँ बाटाको दायाँबायाँ दुवैतिर केही होटेलहरू थिए ।

बाटाको बायाँपट्टि सम्म परेको खुला ठाउँमा एउटा चिटिक्क परेको आकर्षक होटेल थियो । तर त्यो होटेल बन्द थियो । यति धेरै पर्यटकहरूको दोहोरीलत्ता चलेको सिजनमा त्यस होटेलमा पनि खचाखच पर्यटकले वास बस्ने थिए, खाना खाने थिए र जीवनका केही रमाइला पलहरू बिताउने थिए । किन यसरी बन्द गरेको होला? मेरो मनमा जिज्ञासा उठ्यो । मैले यो जिज्ञासा भोलाजी समक्ष व्यक्त गरेँ ।

“यो होटलको भाइ हाम्रै कम्पनीबाट सगरमाथा चढ्ने टोलीसँग काम गर्थे । उनको नाम थेनदोर्जी शेर्पा हो । उनकी श्रीमतीले यहाँ होटेल चलाउँथिन् । धेरै राम्रो चलेको थियो होटेल । सोमारेमा भएका होटेलहरूमा यो होटेल नयाँ पनि र राम्रो पनि हो । तर सन् २०१४ को कुरा हो । थेनदोर्जी भर्खर ३२ वर्षका मात्र थिए । उनको घरमा ४ वर्षको छोरो थियो । उनकी आमा थिइन् तर बाबु मरिसकेका थिए । आमा, श्रीमती र छोरालाई छोडेर उनी पैसा कमाउन हिँडे ।”

मैले निकै पर पुगुन्जेल पनि फर्केर हेरिरहेँ त्यस बन्द होटेललाई । अचानक भन्न पुगेँ – कठै !

“एक पटक सगरमाथा गएर आउँदा रु. १० लाख जति कमाइ हुन्छ, पोहोर कमाएको रु. १० लाख जोगाएर राखेको छु । जम्मा रु. २० लाख भएपछि काठमाडौँमा सानो घर बनाउँछु” उनी भन्थे । त्यही लोभले तानिएर उनी सगरमाथा आरोहणको एउटा टोलीको गाइड भएर गए । क्याम्प १ तिर जाँदाजाँदै ठूलो हिउँ पहिरो खस्यो र त्यसले उनलाई पनि पुर्यो । उनी सगरमाथाको काखमा अनन्त निद्रामा सुते, फर्केर घर आएनन् । छोरा स्वर्गे भएको पीरले गर्दा उनकी आमाले धेरै रक्सी पिउन थालिन् । त्यही धेरै रक्सी पिएको कारणले पोहोर उनी पनि स्वर्गे भइन् । लोग्ने र सासु दुवैको मृत्युपछि उनकी श्रीमती साह्रै शोकसन्तापमा परिन् । उनलाई यस ठाउँप्रति विरक्ति लाग्यो, एक्लो पनि भइन् । पछि उनले त्यति राम्ररी चलेको होटेल नै बन्द गरिन् र काठमाडौँ गइन् । उतै बस्छिन् र छोरा पढाउँछिन् ।” भोलाजीले भन्नुभयो ।

भोलाजीको कुरा सुनेपछि मेरो मन अमिलो भयो । नरमाइलो लाग्यो । एउटी भर्खरकी भर्भराउँदी शेर्पिनीको काल्पनिक अनुहार मेरो स्मृतिमा खडा भयो । शोकले मुस्कुराउन नसकेको, सपना ओइलाएको, निरीह र बच्चाहरूको लागि मुस्कुराउनुपर्ने र बाँच्नुपर्ने बाध्यता बोकेको त्यस अनुहारप्रति असिम स्नेह जागेर आयो । मैले निकै पर पुगुन्जेल पनि फर्केर हेरिरहेँ त्यस बन्द होटेललाई । अचानक भन्न पुगेँ – कठै !

भोलाजीले मलाई हेर्नुभयो तर केही भन्नुभएन ।

जहाँकै माटोमा पनि मानिसले छोडिगएका, भोगिरहेका घामपानीका केही न केही कथाहरू त हुन्छन् भन्ने मलाई थाहा थियो । यहाँको माटोमा पनि यस किसिमका दुःखले भरिएका कथाहरू थुप्रै भेटिने रहेछन् । यात्रुहरूले कति कथालाई नजरअन्दाज गर्दै र कति कथाले दर्फरिँदै, दुख्दै हिँड्नुपर्ने रहेछ । केही बेर अघि भोलाजीले हिमाल चढ्दा प्रयोग गर्ने सामान राखेको मिङ्मानुरको घरको कथाले दर्फर्याएको पीडा पूरै सकिन नपाउँदै फेरि अर्को कोक्याउने कथा सुन्नुपर्यो ।

“हामीले आजको खाना खाने यहीँ हो ।” भोलाजीले भन्नुभयो र बाटोको दायाँतिरको एउटा होटेलभित्र जानुभयो । हामी उहाँको पछिपछि लाग्यौँ ।

घाम लागेको थियो झलमल्ल । वातावरण चिसो थियो । माथि नीलो आकाश प्रदुषणविहीन एकदम सफा देखिन्थ्यो । ठाउँठाउँमा बादलका ससाना गुच्छाहरू थिए विभिन्न आकार बनाएर बसेका । चिसो हावाले हाम्रो तातेको शरीरलाई स्पर्श गर्दा अभूतपूर्व आनन्दको अनुभव हुन्थ्यो । होटेलको आँगनमा कुर्सी टेबुल मिलाएर राखेको देखेपछि यति सुन्दर अनुभव गर्न छाडेर होटलभित्र गइहाल्न मन लागेन । हामी रुकस्याक बिसाएर तिनै कुर्सीहरूमा बस्यौँ ।

होटेलकी बहिनीले थर्मसभरि तातोपानी र लसुनचिया ल्याइदिइन् । हामीले थपेर तीन, चार कप पियाैं। नाम्चेबाट उकालो लागेदेखि नै लसुनचिया र लसुन सुप हाम्रो प्रिय खानेकुरा भएका थिए । यो क्रम अब आधारशिविर पुगेर नफर्कुन्जेल जारी नै रहने छ ।

पछाडि फर्केर हेरेँ । त्यो बन्द होटेल त्यसरी अनन्त शून्यता बोकेर उभिएको थियो । हेर्दाहेर्दै मन भरिएर आयो, आफैलाई आफ्नो मन भारी भएर आयो ।

“खाना तयार भयो, भित्र आउनुस् ।” होटेलकी साहुनीले आएर बोलाएपछि पो झसङ्ग भएँ । हेरेँ, उनी मलाई हेरेर मुस्कुराइरहेकी थिइन् । सँगै बसेका साथीहरू अघि नै उठेर भित्र गइसकेछन् । त्यो पनि थाहा भएन । अलिअलि शरम पनि लाग्यो । म उठेँ, जीउ तन्काएँ र उनको पछिपछि होटेलभित्र लागेँ ।

====

यो शेर्पाको होटेल थियो । यतातिर अधिकांश होटेल शेर्पाहरूले नै चलाएका रहेछन् ।

हामी भित्र गयौँ । भोलाजी र मार्क ब्रान्ड अघिदेखि होटेलभित्रै थिए । भोलाजीलाई होटेलकी साहुनीले अल्कोहल अफर गरिन् । भोलाजीले मेरो राय लिन खोज्नुभयो । मैले उहाँहरूलाई इच्छा भए पिउन भनेँ । म आफूले चाहिँ पिउने मन गरिनँ । भोलाजी, रविजी र भोलाजीको टोलीका अर्का एकजनाले पिए । मैले लसुनपानी नै पिएँ दोहोर्याएर ।

“दाइ खोइ त?” भोलाजीले होटेलकी साहुनीलाई सोधे ।

“उहाँ त नाम्चे गा’को छ आजै बिहान ।” उनले भनिन् ।

भोलाजीले मलाई भन्नुभयो – “यो होटेलको दाइले पनि सगरमाथा चढिसकेका छन् नि । आज यहाँ भएको भए तपाईंले उहाँसँग मज्जाले कुरा गर्नुहुन्थ्यो होला ।”

उनीहरूसँग उताको बाटो कति लामो छ, हामी पुग्छौँ कि पुग्दैनौँ भनेर सोध्नु र त्यसैको आधारमा अगाडि जान आफूलाई अझ तयार पार्नु वाह ! यात्राको ठूलो आनन्द हो ।

मलाई थकथक लाग्यो उहाँलाई भेट्न नपाएकोमा । मलाई सगरमाथा आरोहीबाट प्रत्यक्ष रूपमा आरोहणको बेला अनुभूत गरेका भावना, अनुभूति, जोखिम र त्यसबाट उत्पन्न हुने उत्तेजना–प्रतिक्रिया सुन्ने मन छ । मैले भोलाजीलाई यो इच्छा नाम्चेमै भनेको थिएँ । त्यसैले होटेलका साहुजीलाई भेट्न पाएको भए मेरो यात्रामा अर्को रोमान्चकता थपिने थियो ।

खाना खाएपछि हामी फेरि उठ्यौँ र रुकस्याक बोक्यौँ ढाडमा ।

बाटोजस्तै फैलिएर हिँड्नु, नदीजस्तै सुसाउनु भावनाभरि, जङ्गली किराहरूको झ्याउँझ्याउँ सङ्गीत सुन्दै हिँड्नु, बाटोमा बेलाबेलामा भेटिने हिमाली यातायात खच्चडहरूलाई आफू भित्तातिर उभिएर बाटो छोडिदिनु, उनीहरूको घाँटीमा झुन्डेको घन्टीको आवाजमा जीवनको लय खोज्नु र गुन्गुनाउनु मज्जाको कुरा हो । यसमाथि अर्कोतिरबाट आइरहेका पर्यटकहरूलाई अभिवादन गर्दै मुसुक्क मुस्कुराउनु झनै आनन्दको कुरा हो । उनीहरूसँग उताको बाटो कति लामो छ, हामी पुग्छौँ कि पुग्दैनौँ भनेर सोध्नु र त्यसैको आधारमा अगाडि जान आफूलाई अझ तयार पार्नु वाह ! यात्राको ठूलो आनन्द हो ।

नेपालका अन्य हिमाली क्षेत्रहरूमा जस्तै यहाँ पनि बाटामा भेटिएका अग्ला टाकुराहरूमा, थुम्कोहरूमा मन्त्र लेखिएका झन्डाहरू फर्फराइरहेका थिए । बाटोमा भेटिने ठूलाठूला ढुङ्गामा बौद्ध मन्त्रहरू खोपिएका थिए र मानेहरू घुमाउनका लागि राखिएका थिए । सानासाना गुम्बाहरू पनि ठाउँठाउँमा भेटिन्थे । मान्छेको विश्वास र आस्था भनेको पनि वास्तवमा टाकुरो नै हो, सबैभन्दा अग्लो चुचुरो । त्यो टाकुरो चढ्नु पो हो त आरोहण भनेको वास्तवमा ।

बाटोमा रविजी र म मात्र सँगै हिँडेको बेलामा हामी नेपाली भाषामै कुरा गथ्र्यौं । कोही कोही बेलामा त कोलेट र कोने सँगै वा नजिकै चूपचाप हिँडेको बेलामा समेत नेपालीमै कुरा गथ्र्यौं । हामी जब नेपाली बोल्न थाल्थ्यौँ, कोनेलाई हामी उनकै कुरा गर्दैछौँ वा यात्राको योजनामा केही फेरबदल गर्दैछौँ जस्तो लाग्दो रहेछ शायद । उनी हामीलाई रोकेर भन्थिन्– अङ्ग्रेजीमा कुरा गर, नेपालीमा होइन । हामी हाँस्थ्यौँ धेरैजसो र भन्थ्यौँ– हुन्छ । तर जब हामी नितान्त व्यक्तिगत कुरा गरिरहेका हुन्थ्यौँ वा नेपाली राजनीतिको विसङ्गत कुनै पक्षलाई लिएर कुरा काटिरहेका हुन्थ्यौँ, हामी अङ्ग्रेजीमा बोल्नुपर्ने कारण देख्दैनथ्यौँ । आफ्नो भाषा र माटोको सुगन्धजस्तो सर्वप्रिय के होला र मान्छेलाई ? कोलेटले केही भन्दिनथिन् तर कोनेलाई के हुन्थ्यो कुन्नि, विरोध गरिहाल्थिन् । उनी साह्रै शङ्का गर्दिरहिछिन् भनेजस्तो पनि लाग्यो हामीलाई । कोही कोही बेलामा त हामी भनिदिन्थ्यौँ – “हामीले हाम्रो निजी कुरा गरेको । तपाईंले सुनिरहनुपर्ने विषय नभएकोले नेपालीमा बोलेको ।” उनी त्यसपछि चूप लाग्थिन् । तर, फेरि अर्को ठाउँमा पुग्दा नपुग्दा उनको उही स्वभाव प्रकट भइहाल्थ्यो ।

हामी आजित भएर उनी छेउछाउमा छिन् भन्ने थाहा पाउने बित्तिकै अङ्ग्रेजीमा कुरा गर्न शुरु गथ्र्यौं । मनमनै कोनेप्रति रिसाउँथ्यौँ पनि । तर उनीसँग देखादेख हुने बित्तिकै मुस्कुराइहाल्थ्यौँ मानौँ केही भएको छैन ।

====

आधा घन्टाजति हिँडेपछि एउटा बाटो हिमालको बायाँतिर र अर्को बाटो सोही हिमालको दायाँतिर छुट्टियो । कुन बाटो जाने ? एउटा प्रश्नले बाटो छेक्यो । मैले उभिएर भोलाजीलाई कुरेँ । मानिसहरू दाहिनेतिरको बाटोमा पनि हिँड्दै थिए भने देब्रेतिरको बाटोमा पनि हिँड्दै थिए ।

म उभिएको ठाउँमा रविजी आइपुग्नुभयो, कोलेट, कोने र भोलाजीकै टोलीका बेलाइती दम्पति पनि आइपुगे । हामी सबै उभियौँ । भोलाजी र मार्क अलि पछाडि हुनुहुन्थ्यो । भोलाजीले हामी अलमलमा परेको कुरा बुझ्नुभयो क्यार, अलि ठूलो स्वरले भन्नुभयो – “हामी दायाँतिरको बाटोबाट जाने । हामी दिङ्बोचेमा बस्ने हो आज । बायाँको बाटोबाट गयो भने फेरिचे पुगिन्छ । पछि फर्कँदा चाहिँ फेरिचेको बाटोबाट फर्कने हो ।”

हामीले दायाँतिरको बाटो नाप्न थाल्यौँ ।

दिङ्बोचेमा पुग्नलाग्दा माथि अमादाब्लम हिमालबाट साँझ ओर्लेर नजिकै आइसकेको थियो । साँझले छोप्नु अगाडि नै दिङ्बोचे पुग्ने मन थियो । दाह्रा किटेर बल गर्दै जब दिङ्बोचे गाउँको पुछारमा आइपुगियो, मनमा अलिअलि हर्ष त थपियो । तर साँझसँगै हामीमा थकाइ कसरी चढेको थियो भने आपूmले बोकेको रुकस्याकलाई सकेजति जोडले मिल्काइदिएर त्यही बाटैमै लतमन्न सुत्न पाए हुन्थ्यो जस्तो लागेको थियो । बरू घरहरू र गाउँ नदेखेसम्म हिँड्न सकिएको थियो । जब घरहरू देखिए केही सय मिटर पर, गोडाहरू हिँड्दै हिँडेनन् । हामी गोडालाई घिसार्दै हिँड्यौँ । हरेक पाइलामा खुइय्य लामो सास फेर्दै घस्रिँदै थियौँ । हाम्रो अघि कोने भने हामीलाई इख्याउँदै ठिमठिम हिँडिरहेकी थिइन् । उनको अगाडि हामी त हिमाली देशका मान्छे, यस्ता हिमाली बाटोमा कति डिंड्यौं कति भन्ने सम्झँदा समेत लाज लागेजस्तो भयो ।

कोलेट केही बेर अघिसम्म हाम्रो अघिअघि नै थिइन् । अहिले कता ओझेल परिन् ।

कोनेले पछाडि फर्केर सोधिन्– “कोलेट खोई?” उनलाई पनि यतिबेला उनकी साथी कोलेटको याद आएछ ।

कोलेट केही बेर अघिसम्म हाम्रो अघिअघि नै थिइन् । अहिले कता ओझेल परिन् । त्यहीँबाट एउटा बाटो तेर्सैतेर्सो गाउँतिर गएको थियो भने अर्को बाटो अलिअलि उकालिएर दाहिनेतिर अलि माथि रहेको सानो चैत्यतिर गएको थियो । मैले त्यतातिर हेरेँ । त्यहाँ दुई, तीन जना मानिसहरू भएको देखियो । ती को थिए चिन्न भने सकिएन ।

“ऊ त्यो चैत्यतिर पो जानुभो कि ! त्यहाँ केही मानिसहरू छन् ।” भनेँ । थकाइले लेथ्नो भएको मलाई त्यता राम्रोसँग हेर्ने आँट पनि आइरहेको थिएन, त्यहाँसम्म जाने कुरा त परै जाओस् ।

“त्यसोभए तपाईंहरू जाँदै गर्नुस् । म हेरेर आउँछु ।” कोनेले भनिन् र त्यतैतिर लागिन् ।

हामी आज बस्ने होटेल गाउँको पल्लो छेउमा रहेछ । बल्लबल्ल हामी आज वास बस्ने ठाउँ याक लजमा पुग्यौँ । होटेलको लबी कम डाइनिङ हल स्वदेशी विदेशी पाहुनाले झन्डै झन्डै भरिएको थियो ।

(यसै साता प्रकाशित भीष्म उप्रेतीको नियात्रासङ्ग्रह हिमाल, शेर्पा र यतीको एक अंश)